परिच्छेद ९ आयात निर्यात सम्बन्धी व्यवस्था
४८. आयातमा कर लाग्ने
(१) नेपाल [..........] 1 भित्र आयात हुने [वस्तु वा सेवामा] 2 नेपालभित्र आपूर्ति भएको [वस्तु वा सेवामा] 3 लाग्ने दरले कर लाग्नेछ ।
(२) आयात हुने वस्तु वा सेवामा कर निर्धारण गर्ने प्रयोजनको लागि मूल्य कायम गर्दा ऐनको दफा को उपदफा (५) र (६) बमोजिमको प्रक्रिया अपनाई मूल्य कायम गरिनेछ ।
(३) आयात भएको वस्तुको मूल्य आयात हुँदाका अवस्थामा कायम गर्न नसकिएमा त्यस्ता वस्तुहरूमा लाग्ने सबै प्रकारका कर वा महसुललाई पुग्ने गरी धरौटी लिएर मात्र त्यस्ता वस्तु नेपाल [..........] 4 भित्र ल्याउने अनुमति दिइनेछ । दर्ता भएको व्यक्तिले आयात गरेको वस्तु वा सेवाको मूल्य कायम नभएसम्म त्यस्तो वस्तु वा सेवामा तिरेको कर कट्टी गर्न पाउने छैन ।
(४) कुनै वस्तु आयात गर्दा धरौटी राखी आयात गरिएको भए मूल्य यकिन भएको मितिले एक वर्षसम्म मात्र कर कट्टी दाबी गर्न सकिनेछ ।
४९. अस्थायी आयात सम्बन्धी व्यवस्था
(१) भन्सार महसुल नलाग्ने गरी पछि फिर्ता हुने शर्तमा आयात भएका बस्तुहरूमा भन्सारले कायम गरेको अनुमानित मूल्यका आधारमा पछि माल वा वस्तु फिर्ता भएपछि धरौटी रकम फिर्ता हुने गरी लाग्ने कर बापत धरौटी लिई आयात गर्न अनुमति दिइनेछ ।
(२) अस्थायी आयात महसुल लाग्ने गरी अस्थायी रूपमा आयात भएका माल वा वस्तुमा महसुलमै कर लाग्नेछ ।
५०. महानिर्देशकले रेखदेख र व्यवस्थापन गर्न सक्ने
ऐनको दफा २८ बमोजिम असुली हुने करको रेखदेख र व्यवस्थापन महानिर्देशकबाट [हुनेछ ] 5 । महानिर्देशकले आवश्यक देखेमा आयात भएको वस्तु वा सेवाको सम्बन्धमा अनुगमन गर्ने प्रयोजनको लागि देहाय बमोजिमको काम कारबाही गर्न कर अधिकृतलाई आदेश दिन सक्नेछ:
(क) आयात भएको माल वा वस्तुको नमूना लिई उचित र पर्याप्त किसिमबाट कर लगाइएको कुराको निश्चित गर्ने र त्यस्तो नमूना लिएको सामान उचित समयभित्र सम्बन्धित करदातालाई फिर्ता दिने,
(ख) उचित समयमा कारोबारसँग सम्बन्धित स्थल, घर, गोदाम, पसल आदिमा प्रवेश गर्ने, निरीक्षण गर्ने, तलासी लिने तथा सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने,
(ग) खरिद, बिक्री वा पैठारीसँग सम्बन्धित कागजातहरू आफ्नो कब्जामा लिने, नक्कल लिने, निरीक्षण गर्ने, हटाउने तथा सम्बन्धित करदाताको अनुरोधमा उचित देखिएमा उचित समयभित्र हटाइएका कागजातहरूको सूची र अन्य कागजातहरू फिर्ता दिने ।
५१. आयातमा प्राप्त भएको रकमको विशेष व्यवस्था
(१) ऐनको दफा २४ र २५ को प्रयोजनको लागि भन्सार बिन्दुमा सङ्कलित सम्पूर्ण कर रकम मूल्य अभिवृद्धि कर कोषको खातामा दैनिक रूपमा जम्मा गर्नु पर्नेछ र सोको विवरण भन्सार कार्यालयले तीन दिनभित्र नजिकको [आन्तरिक राजस्व कार्यालयमा] 6 पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको कोषमा जम्मा हुन आएको रकमबाट विभागले आदेश दिएको रकम फिर्ता दिई बाँकी रहने रकम दैनिक रूपमा तोकिएको राजस्व खातामा जम्मा गर्नु पर्नेछ ।
(३) कोषको सञ्चालन गर्ने, बैङ्क खाता खोल्ने, कोषबाट खर्च लेख्ने र राजस्व जम्मा गर्ने कार्यविधि महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिम हुनेछ ।
-
चौधौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि रहेको “अधिराज्य" भन्ने शब्द झिकिएको । ↩
-
सातौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “वस्तुमा” भन्ने शब्द रहेको । ↩
-
सातौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “वस्तुमा” भन्ने शब्द रहेको । ↩
-
चौधौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको । ↩
-
दोस्रो संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “हुने व्यवस्था गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोक्न सक्नेछ” भन्ने शब्दहरु रहेका । ↩
-
अठारौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “मूल्य अभिवृद्धि कर कार्यालय” भन्ने शब्दहरु रहेका । ↩