Skip to content

परिच्छेद ७ करको निर्धारण र असुल उपर

२९. कर अधिकृतले कर निर्धारण गर्न सक्ने

(१) ऐनको दफा २० को उपदफा (१) मा उल्लिखित अवस्था परी सोही दफाको उपदफा (२) बमोजिमका आधारहरूका अतिरिक्त बजार मूल्य वा कर निर्धारण गरिनु पर्ने कारोबारसँग सम्बन्धित अन्य कुनै सूचना वा जानकारीका आधारमा समेत कर अधिकृतले कर निर्धारण गरी अनुसूची १२ को ढाँचामा कर निर्धारण आदेश जारी गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम कर अधिकृतले जारी गरेको कर निर्धारण आदेश उपर आफ्नो सफाइमा प्रमाण पेश गर्न सम्बन्धित करदातालाई [पन्ध्र दिनको] 1 म्याद दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको म्यादभित्र सम्बन्धित करदाताबाट सफाइमा पेश हुन आएको प्रमाणहरू उपयुक्त देखेमा सोही आधारमा कर अधिकृतले उपनियम (१) बमोजिम कर निर्धारण गरी कर निर्धारण आदेश जारी गर्नु पर्नेछ । यसरी कर निर्धारण आदेश जारी गर्दा सो आदेशमा आदेश जारी भएको मितिसम्म ऐनको दफा १९ को उपदफा (२) [..........] 2 बमोजिम लाग्ने थप दस्तुर र दफा २६ बमोजिम लाग्ने व्याजको रकम समेत समावेश गर्नु पर्नेछ। स्पष्टीकरणः ब्याजको गणना गर्दा प्रति महिना बाह्र खण्डको एक खण्डको आधारमा गरिनेछ ।

[३०. कर, जरिवाना, थप दस्तुर र व्याजको रकम बुझाउनु पर्ने] 3

नियम २९ बमोजिम जारी भएको कर निर्धारण आदेश बमोजिमको रकम सम्बन्धित करदाताले त्यस्तो आदेशमा उल्लिखित मितिभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्नेछ ।

[३१. कागजातको तामेली] 4

(१) ऐन बमोजिम कुनै व्यक्तिलाई दिनु वा बुझाउनु पर्ने कुनै पनि कागजात देहायको अवस्थामा सो व्यक्तिलाई रीतपूर्वक दिएको वा बुझाएको मानिनेछ:
  (क) कुनै व्यक्तिको ठेगानामा फ्याक्स, इमेल वा त्यस्तै अन्य विद्युतीय माध्यम मार्फत पठाएको,
  (ख) व्यक्तिगत रुपमा जसलाई बुझाउनु पर्ने हो उसैलाई वा निजको प्रतिनिधि वा कर्मचारीलाई बुझाएको तथा निकायको हकमा निकायको प्रबन्धक वा निजले तोकेको प्रतिनिधि वा कर्मचारीलाई बुझाएको, वा
  (ग) व्यक्तिको थाहा भएसम्मको आवास, कार्यालय, व्यवसाय वा अन्य ठेगानामा हुलाकबाट रजिष्ट्री गरी पठाएको ।

(२) विभागको अधिकारप्राप्त अधिकृतको नाम र पद खुल्ने गरी दस्तखत गरिएको, कम्प्युटर प्रविधिबाट इनक्रिप्ट वा इनकोड गरिएको, छाप लगाइएको वा सो कागजातमा लेखी यस नियम बमोजिम तामेल गरिएको वा दिइएको कागजातलाई रीतपूर्वकको मानिनेछ ।

(३) उपनियम (१) र (२) बमोजिम कागजात तामेल हुन नसकेमा सम्बन्धित व्यक्तिको नाममा रेडियो, टेलिभिजन वा राष्ट्रियस्तरको कुनै दैनिक पत्रपत्रिकाबाट तत्सम्बन्धी आदेशको सूचना प्रसारण वा प्रकाशन गरी सोको जानकारी गराउन सकिनेछ । त्यसरी गराएको जानकारी सम्बन्धित व्यक्तिले पाएको मानिनेछ ।

३२. दर्ता नभएको व्यक्तिले उठाएको करको निर्धारण र असुली

(१) दर्ता नभएको कुनै व्यक्तिले कर उठाएमा निजले ऐनको दफा १५ को उपदफा (२) बमोजिम उठाएको करको निर्धारण नियम २९ मा उल्लेख भए बमोजिमको प्रक्रिया अपनाई करको निर्धारण गरिनेछ ।

(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको कर त्यस्तो कर उठाउने दर्ता नभएको व्यक्तिले कर निर्धारण आदेश जारी भएको मितिले [पन्ध्र दिनभित्र] 5 बुझाउनु पर्नेछ ।

३३. प्रयोग भइसकेका वस्तुहरूको कर निर्धारण तरिका

(१) प्रयोग भइसकेका वस्तुहरूको कर निर्धारण त्यस्ता वस्तुहरूको बिक्री मूल्य र खरिद मूल्य बीचको बचतमा मात्र गरिनेछ । त्यस्ता वस्तुको बिक्रेताले देहाय बमोजिमका स्थायी अभिलेख त्यस्ता वस्तु खरिद वा बिक्री गर्दाकै अवस्थामा तयार गरी राख्नु पर्नेछ:
  (क) खरिद सम्बन्धी:
    (अ) खरिद मिति,
    (आ) वस्तुको पूर्ण जानकारी हुने किसिमको व्यहोराको उल्लेख,
    (इ) कर बाहेकको खरिद मूल्य,
    (ई) करको दर,
    (उ) करको रकम,
    (ऊ) तिरेको कुल रकम ।
  (ख) बिक्री सम्बन्धीः
    (अ) बिक्री भएको मिति,
    (आ) कर बाहेकको बिक्री मूल्य,
    (इ) खरिद मूल्य र बिक्री मूल्य बीचको फरक,
    (ई) करको दर,
    (उ) करको रकम,
    (ऊ) प्राप्त गरेको कुल रकम ।

(२) उपनियम (१) मा उल्लेख गरेको खरिद मूल्य भन्नाले कर सहितको मूल्यलाई जनाउनेछ ।

[(३) प्रयोग भइसकेका प्रत्येक वस्तुहरू बिक्री गर्दा बीजक जारी गरी खरिद र बिक्रीको छुट्टाछुट्टै अभिलेख राख्नु पर्नेछ ।] 6

(४) दर्ता भएको व्यक्तिले उपनियम (१), (२) र (३) मा उल्लेख भएको अभिलेख सन्तोषजनक ढङ्गले राखेको नपाइएमा त्यस्तो करदाताले बिक्री गरेको कुल बिक्री मूल्यमा कर लगाई अर्को कर विवरणसँगै त्यस्तो कर दाखिल गर्ने गरी कर अधिकृतले लिखित आदेश दिन सक्नेछ ।

३४. पुनरावेदन दिनुअघि कर विवरण पेश

गर्नु पर्ने नियम २९ बमोजिम गरिएको कर निर्धारण उपर करदाताले पुनरावेदन दिनुअघि आफ्नो सो अवधिको कर विवरण सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

३५. काबु बाहिरको परिस्थिति

(१) ऐनको दफा १९ को उपदफा (४) को प्रयोजनको लागि देहायको अवस्थालाई काबु बाहिरको परिस्थिति मानिनेछः
  (क) कर बुझाउनु पर्ने व्यक्ति बिरामी परी अशक्त भएमा निको भएको मितिले सात दिनसम्म,
  (ख) कर बुझाउनु पर्ने व्यक्तिले क्रिया बस्नु परेमा क्रिया समाप्त भएको मितिले सात दिनसम्म,
  (ग) कर बुझाउनु पर्ने स्वास्नी मानिस सुत्केरी भएमा सुत्केरी भएको मितिले पैंतीस दिनसम्म,
  (घ) कर बुझाउनु पर्ने व्यक्तिको मृत्यु भएमा वा बहुलाएमा वा बेपत्ता भएमा त्यस्तो भएको मितिले पैंतीस दिनभित्र निजको हकवाला वा संरक्षकले निवेदन गरेमा त्यस्तो निवेदन प्राप्त भएको मितिले सात दिनसम्म,
  (ङ) बाढी, पहिरो, हिउँ वा अन्य त्यस्तै कारणबाट बाटो बन्द भई आन्तरिक राजस्व कार्यालयमा आउन नसकेको अवस्थामा बाटो खुलेको मितिले सात दिनसम्म,
  (च) यातायातको साधन पूर्ण रूपमा बन्द भई आउन नसक्ने अवस्था भएमा त्यस्तो बन्द समाप्त भएको भोलिपल्टसम्म,
  [(छ) आगलागी, भूकम्प जस्ता दैवी विपत्तिका कारण काबु बाहिरको परिस्थिति सिर्जना भएमा सो विपत्ति परेको मितिले तीस दिनसम्म ।] 7

(२) उपनियम (१) को खण्ड (ख), (ग), [(घ), (ङ) र (छ)] 8 मा उल्लेख भए बमोजिम काबु बाहिरको परिस्थिति परी थप म्याद माग्नु परेमा सम्बन्धित [गाउँपालिका] 9 वा नगरपालिकाको सिफारिस समेत पेश गर्नु पर्नेछ ।

(३) उपनियम (१) को खण्ड (च) मा उल्लेख भए बमोजिमको अवस्था परी थप म्याद माग्न आउँदा जुन ठाउँमा यातायातको साधन बन्द भएको हो सो ठाउँसँग सम्बन्धित [गाउँपालिका] 10 वा नगरपालिकाको सिफारिस समेत पेश गर्नु पर्नेछ ।

३६. थप दस्तुर मिनाहाको लागि निवेदन दिने म्याद

(१) ऐनको दफा १९ को उपदफा (४) बमोजिम थप दस्तुर मिनाहाको लागि कर तिर्नु पर्ने म्याद भुक्तान भएको मितिले तीस दिनभित्र महानिर्देशक समक्ष अनुसूची १३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको म्यादभित्र निवेदन नदिएमा थप दस्तुर मिनाहा दिइने छैन ।

३७. कर निर्धारणको अवधि

ऐनको दफा २० को उपदफा (४) बमोजिमको अवधि गणना गर्दा करको सम्बन्धमा कुनै अदालतमा निवेदन परी स्थगन आदेश जारी भएको अवस्थामा सोको निर्णय नभएसम्मको अवधि कटाई गणना गरिनेछ ।

३८. [..........] 11


  1. पाँचौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि सात दिन" भन्ने शब्दहरु रहेको । 

  2. सत्रौं संशोधनद्वारा झिकिएको । संशोधन हुनुअघि साविकमा र (३)” भन्ने शब्दहरु रहेको । 

  3. सोह्रौ संशोधनद्वारा संशोधित ।
    (१) मूल नियमको व्यवस्थाः “३०. कर, थप दस्तुर र ब्याजको रकम बुझाउनु पर्ने नियम २९ बमोजिम जारी भएको कर निर्धारण आदेश बमोजिमको कर, थप दस्तुर र ब्याजको रकम सम्बन्धित करदाताले त्यस्तो आदेश प्राप्त गरेको मितिले सात दिनभित्र सम्बन्धित कर कार्यालयमा दाखिल गर्नु पर्नेछ । 

  4. तेइसौं संशोधनद्वारा संशोधित
    मूल नियमावलीको व्यवस्थाः “३१. कर निर्धारण आदेशको सूचना पठाउने कार्यविधिः
    (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कर अधिकृतले करदातालाई नियम २९ बमोजिम कर निर्धारण आदेश जारी गर्दा त्यस्तो करदाताको ठेगानामा राखिएको टेलिफ्याक्स, टेलेक्स वा त्यस्तै अन्य विद्युतीय उपकरण मार्फत पठाएमा वा त्यस्तो आदेश निज वा निजको कार्यालयमा बुझाएमा वा निजको ठेगानामा रजिष्टरी गरी हुलाक मार्फत पठाएमा रीतपूर्वक तामेल भएको मानिनेछ ।
    (२) उपनियम (१) बमोजिम कर निर्धारण आदेशको सूचना तामेल हुन नसकेमा कर अधिकृतले सम्बन्धित करदातालाई रेडियो, टेलिभिजन वा राष्ट्रियस्तरको कुनै पत्र-पत्रिकामा तत्सम्बन्धी आदेशको सूचना प्रसारण वा प्रकाशन गरी सोको जानकारी गराउन सक्नेछ । त्यस्तो अवस्थामा सम्बन्धित करदाताले त्यस्तो जानकारी पाएको मानिनेछ ।" 

  5. तेह्रौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि "सात दिनभित्र” भन्ने शब्दहरु रहेका । 

  6. उन्नाइसौं संशोधनद्वारा संशोधित । मूल नियमावलीमा रहेको व्यवस्थाः (३) प्रयोग भइसकेका प्रत्येक वस्तुहरूको खरिद मूल्य दश हजार रुपैयाँभन्दा बढी भएमा छुट्टाछुट्टै खरिद वा बिक्री अभिलेख राख्नु पर्नेछ । 

  7. बाह्रौं संशोधनद्वारा थप । 

  8. बाह्रौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “(घ) र (ङ)" भन्ने शब्दहरू रहेका । 

  9. बीसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि गाउँ विकास समिति" भन्ने शब्दहरू रहेका । 

  10. बीसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “गाउँ विकास समिति" भन्ने शब्दहरू रहेका । 

  11. दशौं संशोधनद्वारा खारेज |
    (१) मूल नियमको व्यवस्थाः
    “३८. कर असुली गर्ने म्यादः ऐनको दफा २१ को उपदफा (२) बमोजिम म्यादको गणना गर्दा पुनरावेदन परेको भए त्यस्तो पुनरावेदन भएको मितिदेखि निर्णय नभएसम्मको अवधि समावेश हुने छैन । "