परिच्छेद ३ आपूर्ति स्थान र समय
१५. वस्तुको आपूर्ति स्थानको निर्धारण
देहायको स्थानलाई वस्तुको आपूर्ति भएको स्थान मानिनेछ,
(क) बिक्री गरी हस्तान्तरण गरिएको चल वस्तुको आपूर्तिको स्थान जहाँ त्यस्तो वस्तु बिक्री गरिएको वा हस्तान्तरण गरिएको छ सोही ठाउँ,
(ख) स्वामित्व परिवर्तन गरिए पनि स्थान परिवर्तन गर्न नसकिने अचल वस्तुको सम्बन्धमा त्यस्तो वस्तु रहेको ठाउँ,
(ग) आयात गरिएको वस्तुको सम्बन्धमा त्यस्तो वस्तु नेपाल [..........] 1 भित्र आयात गरिने नेपाल [..........] 2 को भन्सार बिन्दु,
(घ) कुनै उत्पादक वा बिक्रेताले कुनै वस्तु स्वयं आफूलाई आपूर्ति गरेमा त्यस्तो वस्तुको उत्पादक वा बिक्रेता रहेको स्थान ।
१६. सेवाको आपूर्ति स्थानको निर्धारण
सेवाको आपूर्ति स्थान सेवाबाट लाभ प्राप्त गर्ने ठाउँ हुनेछ ।
[१६क. विद्युतीय सेवाको आपूर्ति स्थान] 3
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामध्ये कुनै एक अवस्था पूरा भएमा गैरबासिन्दा व्यक्तिले उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको आपूर्तिको स्थान नेपाल मानिनेछ: (क) नेपालभित्र सेवा प्राप्त गरेमा, (ख) नेपालको ठेगानामा बीजक जारी गरेमा, (ग) नेपालको बैकमा भएको बैक खाता र रकम भुक्तानीका लागि अनुमति प्राप्त संस्था तथा निकायबाट रकम भुक्तानी भएमा, (घ) नेपालको बैक तथा अनुमति प्राप्त भुक्तानी प्रदायक संस्था तथा निकायबाट जारी भएको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य यस्तै कार्ड मार्फत भुक्तानी भएमा, (ङ) नेपालभित्र भएको इन्टरनेट पहिचान ठेगाना (इन्टरनेट प्रोटोकल एड्रेस) प्रयोग गरी सेवा प्राप्त गरेमा, (च) नेपालको कोड भएको सिम कार्ड वा नेपालको ल्याण्डलाईन टेलिफोन प्रयोग गरी सेवा प्राप्त गरेमा ।