Skip to content

परिच्छेद ६ कर विवरण तथा सङ्कलन

२६. कर अवधिको कर विवरण पेश गर्नु पर्ने

(१) दर्ता भएको व्यक्तिले विक्रम संवत् अनुसारको एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले पच्चीस दिनभित्र अनुसूची १० बमोजिमको ढाँचामा सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ । [..........] 1

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दर्ता भएको व्यक्तिले आफ्नो लेखा कम्प्युटर प्रणालीमा राखेको कारणले उपनियम (१) मा उल्लिखित कर अवधिको सट्टा छुट्टै कर अवधि कायम गरी पाउन कर अधिकृत समक्ष निवेदन दिएमा कर अधिकृतले जाँचबुझ गरी उपयुक्त देखेमा त्यस्तो दर्ता भएको व्यक्तिको हकमा आवश्यकता अनुरूप छुट्टै कर अवधि कायम गरिदिन सक्नेछ ।

[(३) ..........] 2

[(३क) ..........] 3

[(३ख) ईटा उद्योग, छापा, छापा[ तथा विद्युतीय प्रकाशन वा प्रसारण गृह, होटल,] 5 [पर्यटन तथा चलचित्र घरले] 6 चाहेमा विभागले विवरण पेश गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ ।] 4

(४) यसरी एक महिनाभन्दा घटी वा बढी कर अवधि कायम गरिएको दर्ता भएको व्यक्तिले सो अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले पच्चीस दिनभित्र अनुसूची १० बमोजिमको ढाँचामा कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

(५) पहिलो पटक कर विवरण पेश गर्दा दर्ता भएको व्यक्तिले कर अवधिको बाँकी अवधिलाई कर अवधि मानी सोही अवधिको कर विवरण पेश गर्नु पर्नेछ ।

२७. हकवाला वा कानूनी प्रतिनिधिबाट कर विवरण पेश गर्न लगाउन सकिने

दर्ता भएको व्यक्तिको मृत्यु हुन गएमा वा निज कर विवरण पेश गर्न शारीरिक वा मानसिक रूपमा असक्षम भएमा निजको मृत्यु भएको वा निज शारीरिक वा मानसिक रूपमा असक्षम भएको अघिल्लो दिनसम्मको अवधिसम्म निजले वस्तु वा सेवाको आपूर्ति गरेको अवधि मानी कर अधिकृतले सो अवधिको कर विवरण निजको हकवाला वा कानूनी प्रतिनिधिलाई पेश गर्न लगाउन सक्नेछ ।

२८. एक्लै वा संयुक्त रूपमा कर विवरण पेश गर्नु पर्ने

देहायको अवस्थामा देहायका व्यक्तिले एक्लै वा संयुक्त रूपमा कर विवरण पेश गर्नु पर्नेछ:
(क) कुनै करदाता कर विवरण पेश गर्न असक्षम भएमा वा निजको मृत्यु भएमा निजको हकवाला वा संरक्षकले,
(ख) करदाता कानूनी व्यक्ति भएमा त्यस्तो करदाताको तर्फबाट कुनै सञ्चालक, कार्यकारी प्रमुख वा व्यवस्थापनले तोकेको कुनै कर्मचारीले,
(ग) करदाता कानूनी व्यक्ति भएमा र त्यस्तो कानूनी व्यक्ति खारेज वा विघटन भएमा लिक्विडेटरले,
(घ) माथि उल्लेख भएको अवस्था बाहेक अन्य अवस्थामा कर अधिकृतले तोकेको करदातासँग सरोकार राख्ने व्यक्तिले ।


  1. पाँचौं संशोधनद्वारा थप भएकोमा अठारौं संशोधनद्वारा झिकिएको । थप भएको व्यवस्थाः “तर अघिल्लो बाह्र महिनाभित्र बीस लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार भएका करदाताले भाद्र, कार्तिक, पौष, फागुन, वैशाख र असार महिनाको पच्चीस गतेभित्र सम्बन्धित कर अधिकृत समक्ष कर विवरण पेश गर्नु पर्नेछ । " 

  2. सत्रौं संशोधनद्वारा झिकिएको ।
    (१) मूल नियमको व्यवस्था: “(३) ऐनको दफा ९ बमोजिम स्वेच्छाले दर्ता भई वार्षिक कारोबार दश लाख रुपैयाँसम्म हुने करदाताको कर अवधि चार महिना कायम गर्न सकिनेछ ।”
    (२) पहिलो संशोधनद्वारा नियम २६ को उपनियम (३) मा रहेका “दश लाख" भन्ने शब्दहरुको सट्टा “पैंतालीस लाख” भन्ने शब्दहरु राखिएका ।
    (३) दोस्रो संशोधनद्वारा नियम २६ को उपनियम (३) मा रहेका “दश लाख रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “बीस लाख रुपैयाँ” भन्ने शब्दहरू र "कार्तिक, फागुन र असार महिनाको " भन्ने शब्दहरूको सट्टा “श्रावण, मार्ग र चैत महिनाको” भन्ने शब्दहरू राखिएका ।
    (४) पन्ध्रौं संशोधनद्वारा नियम २६ को उपनियम (३) मा रहेका “त्यस्ता करदाता" भन्ने शब्दहरू पछि र ईटा उद्योगहरू" भन्ने शब्दहरू थपिएका । 

  3. दोस्रो संशोधनद्वारा थप भई बाइसौं संशोधनद्वारा झिकिएको । थप भएको व्यवस्थाः “(३क) होटल तथा पर्यटन व्यवसायीले चाहेमा विभागले विवरण पेश गर्ने कर अवधि दुई महिना कायम गर्न सक्नेछ ।” 

  4. सोह्रौ संशोधनद्वारा थप भई अठारौं संशोधनद्वारा संशोधित । थप भएको व्यवस्थाः “ ( ३ख) पत्रपत्रिका वा पत्रपत्रिका प्रकाशन गृहको कारोबार गर्ने व्यवसायीले चाहेमा विभागले विवरण पेश गर्ने कर अवधि चौमासिक कायम गर्न सक्नेछ । " 

  5. बाइसौं संशोधनद्वारा संशोधित ।
    (१) सोह्रौं संशोधनद्वारा थप भएको (क्र.सं. ५७ मा) व्यवस्थामा अठारौ संशोधनद्वारा कायम भएको व्यवस्था: "(३ख) ईटा उद्योग, छापा, छापा तथा विद्युतीय प्रकाशन एवं प्रसारण गृहले चाहेमा विभागले विवरण पेश गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ।"
    (२) अठारौं संशोधनद्वारा कायम भएको व्यवस्थाः “(३ख) ईटा उद्योग, छापा, छापा तथा विद्युतीय प्रकाशन एवम् प्रसारण गृहले चाहेमा विभागले विवरण पेश गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ । " 

  6. तेइसौं संशोधनद्वारा संशोधित । क्र.सं. ५८ मा उल्लेख भएकोमा बाइसौं संशोधनद्वारा कायम भएको “पर्यटन, चलचित्र घर तथा ढुवानी व्यवसायीले” भन्ने शब्दहरुको सट्टा “पर्यटन तथा चलचित्र घरले " भन्ने शब्दहरु रहेका ।