परिच्छेद ३ आयको गणना
६. सानातिना रकमको भुक्तानी
ऐनको दफा ८ को उपदफा (३) को खण्ड (घ) वा दफा २१ को स्पष्टीकरणको खण्ड (क) को उपखण्ड (२) को (ग) मा उल्लिखित सानातिना रकमको भुक्तानी गर्दा चिया खर्च, स्टेशनरी, बक्सिस, पुरस्कार, आपतकालीन औषधोपचार तथा विभागले तोकेका यस्तै प्रकारका भुक्तानी बापत भुक्तानीकर्ताले एक पटकमा पाँच सय रुपैयाँसम्म भुक्तानी गर्न सक्नेछ ।
७. ह्रास आधारमा समावेश नगरिने
ऐनको दफा १६ को उपदफा (२) बमोजिमको सीमा गणना गर्ने प्रयोजनको लागि कुनै आय वर्षको अन्त्यमा कुनै सम्पत्तिको कुनै समूहको ह्रास आधार गणना गर्दा ऐनको दफा १६ को उपदफा (३) बमोजिम हुने अधिक खर्च वा सोको भागलाई समावेश गरिने छैन ।
८. लेखाङ्कनको तरिका
(१) ऐनको दफा २२ बमोजिम कर लेखाङ्कन गर्दा प्रचलित कानून बमोजिम लेखामानको व्यवस्था भए सोही बमोजिम गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै लेखामानको व्यवस्था नभएको अबस्थामा प्रचलित कुनै अन्तर्राष्ट्रिय सिद्धान्त वा प्रचलनको आधारमा विभागले तोकेको लेखामान अनुसार कर लेखाङ्कन गर्नु पर्नेछ ।
९. डुबेको वा खराब ऋणमा परिणत हुने मापदण्ड
ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) र दफा ४० को उपदफा (३) को खण्ड (ग) को उपखण्ड (१) को प्रयोजनको लागि बैङ्क वा वित्तीय संस्थाको ऋण डुबेको वा खराब ऋणमा परिणत हुने सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको मापदण्ड अनुसार हुनेछ ।
१०. प्रतिफल विलम्बित हुने करार
कुनै करारको पक्षले करार प्रारम्भ भएपछि प्रत्येक ६ महिनाको अवधिमा अनुमानित लाभ र अनुमानित हानि सम्बन्धमा बिभागले तोकेका कुराहरू नदेखाएमा त्यस्तो करार प्रतिफल विलम्बित हुने करार हुनेछ ।
११. समावेश नभएको करार (एक्स्क्लुडेड कन्ट्राक्ट)
देहाय बमोजिमको करार समावेश नभएको करार (एक्स्क्लुडेड कन्ट्राक्ट) हुनेछः
(क) कुनै निकायमा हित निहित भएको वा अवकाश कोषको सदस्यता प्राप्त गरेको कारणले उत्पन्न कुनै करार, वा
(ख) लगानी बीमाको कुनै करार ।
१२. दीर्घकालीन करार सम्बन्धी अन्य व्यवस्था
(१) कुनै समयमा कुनै व्यक्तिको लगानी, रोजगारी वा व्यवसायबाट आर्जित आयलाई कुनै समयमा सामान्य आय वर्ष सरह गणना नगरी सो वा सोभन्दा अघिल्लो समयमा आय गणना गर्दा समावेश हुने रकमहरू क्रमबद्ध वृद्धिको योग अनुसार समावेश हुने रकम हुनेछन्।
(२) कुनै समयमा कुनै व्यक्तिको व्यवसाय वा लगानीबाट आर्जित आयलाई कुनै समयमा सामान्य आय वर्ष सरह गणना नगरी सो वा सोभन्दा अघिल्लो समयमा आय गणना गर्दा कट्टा गर्न पाइने रकमहरू क्रमबद्ध वृद्धिको योग अनुसार कट्टा गरिने रकम हुनेछन् ।
(३) कुनै खास समयमा ऐनको दफा २६ को उपदफा (२) मा उल्लिखित करारको सम्पन्न प्रतिशत निर्धारण गर्दा देहाय बमोजिम निर्धारण गरिनेछः
(क) उत्पादन, निर्माण वा जडानसँग सम्बन्धित करार वा सोसँग सम्बन्धित सेवाहरू पूरा गर्ने करारको सम्बन्धमा सो समयमा क्रमबद्ध वृद्धिको योग अनुसार कट्टा गरिने रकमलाई करार अन्त्य हुने समयमा क्रमबद्ध वृद्धिको योग अनुसार कट्टा गरिने रकमसँग तुलना गरेर, वा
(ख) खण्ड (क) बाहेकका अवस्थामा सो खण्डको अधीनमा रही विभागले तोके बमोजिम ।
(४) ऐनको दफा ९५ बमोजिम कुनै आय वर्षमा अनुमानित करको विवरण दाखिला गर्नु नपर्ने व्यक्तिको हकमा ऐनको दफा २६ मा गरिएको दीर्घकालीन करारको व्यवस्था लागू हुने छैन ।
(५) देहायको करारलाई ऐनको दफा २६ मा गरिएको दीर्घकालीन करारको व्यवस्था लागू हुनेछः
(क) ऐन लागू हुँदाका बखत उत्पादन, निर्माण वा जडानसँग सम्बन्धित करार वा सो विषयसँग सम्बन्धित सेवाहरू पूरा गर्ने करार, र
(ख) खण्ड (क) बाहेकको अवस्थामा विभागले तोकिदिएको समय र अवस्था अनुसारका करार ।
१३. निजी प्रयोजनको सवारी साधन तथा भवन सम्बन्धी व्यवस्था
(१) कर्मचारी वा कामदार लगायतको कुनै हिताधिकारीको लागि कुनै व्यक्तिबाट पूर्ण वा आंशिक रूपमा निजी प्रयोजनको लागि प्रयोग भएको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधनलाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम कुनै आय वर्षको लागि देहाय बमोजिम रकम निर्धारण हुनेछ:
(क) कर्मचारी वा कामदार वा मासिक रूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई उपलब्ध गराएकोमा निजले खाइपाई आएको तलबको शून्य दशमलव पाँच प्रतिशतले हुने रकम ।
(ख) खण्ड (क) मा उल्लेख भएको अवस्थामा बाहेक सवारी साधनको प्रचलित बजार मूल्यको वार्षिक एक प्रतिशतले हुने रकम ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “सवारी साधन” भन्नाले मोटर. कार, जीप र यस्तै किसिमको अन्य सवारी साधन सम्झनु पर्छ ।
(२) कर्मचारी वा कामदार लगायतको कुनै हिताधिकारीको लागि कुनै व्यक्तिबाट निजी प्रयोजनको लागि प्रयोग भएको वा प्रयोगको लागि उपलब्ध भएको भवनलाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ख) को उपखण्ड (२) बमोजिम कुनै आय वर्षको लागि देहाय बमोजिम रकम निर्धारण हुनेछः
(क) भवन उपलब्ध गराउने व्यक्तिले कर्मचारी वा कामदार वा मासिक रूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई भवन उपलब्ध गराएकोमा निजले खाइपाई आएको तलबको दुई प्रतिशतले हुने रकम,
(ख) भवन उपलब्ध गराउने व्यक्तिले घर भाडामा लिई खण्ड (क) मा उल्लेख भए बाहेकको व्यक्तिलाई भवन उपलब्ध गराएकोमा भाडा बापत भुक्तानी गरेको रकमको पच्चीस प्रतिशतले हुने रकम,
(ग) भवन उपलब्ध गराउने व्यक्तिले भाडा तिर्नु नपर्ने घर खण्ड (क) मा उल्लेख भए बाहेकको व्यक्तिलाई भवन उपलब्ध गराएकोमा प्रचलित घरभाडाको पच्चीस प्रतिशतले हुने रकम ।
१४. चानचुन हिसाब गणना नगरिने
कुनै भुक्तानीलाई ऐनको दफा २७ बमोजिम परिमाणीकरण गर्दा वा ऐनको दफा २८ बमोजिम नेपाली रुपैयाँमा परिवर्तन गर्दा रुपैयाँभन्दा बढी भएको चानचुन पैसालाई गणना गरिने छैन ।
१५. अग्रिम रूपमा मूल्य निर्धारण गर्ने
(१) ऐनको दफा ३३ को उपदफा (१) बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा समावेश वा कट्टी गरिने रकम सम्बन्धमा सामान्य बजार मूल्य (आर्म्स लेन्थ) को आधारमा विभागले वितरण, विनियोजन वा बाँडफाँड गर्ने सम्बन्धमा स्पष्ट हुन एक वा एकभन्दा बढी व्यक्तिले लिखित रूपमा अनुरोध गरेमा विभागले देहाय बमोजिम लिखित सूचना जारी गर्न सक्नेछ:
(क) लिखित सूचनाको अवधि एक पटकमा पाँच आय बर्षभन्दा बढी नहुने गरी,
(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो लिखित सूचना नवीकरण हुन सक्ने गरी ।
(२) उपनियम (१) बमोजिमको लिखित सूचना विभाग तथा अनुरोध गर्ने पक्षलाई बाध्यात्मक हुनेछ ।
तर सम्बन्धित निवेदकले गरेको अनुरोधमा विभाग सहमत भएमा सो लिखित सूचना निष्कृय हुनेछ ।
१६. प्रतिस्थापन सहितको अस्वेच्छिक निःसर्ग सिर्जना हुने अवस्था
(१) कुनै निकायको एकीकरण वा पुनःसंरचना भई कुनै व्यक्तिको सो निकायमा रहेको हित सोही निकायको अर्को हितबाट वा कुनै अर्को निकायको हितबाट प्रतिस्थापन भएमा अस्वेच्छिक निःसर्ग सिर्जना भएको मानिनेछ ।
(२) उपनियम (१) बमोजिम अस्वेच्छिक निःसर्ग सिर्जना भएमा सो निकाय वा सो व्यक्तिले विभाग समक्ष स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दिएको निवेदनमा विभागले स्वीकृति दिन सक्नेछ ।