परिच्छेद ११ विविध
[५६. दर्ता भएको व्यक्तिसँग खरिद गर्नु पर्ने] 1
नेपाल सरकार, संवैधानिक निकाय वा प्रदेश वा नेपाल सरकार वा प्रदेश अन्तर्गतको कुनै सरकारी निकाय वा सङ्गठित संस्था वा स्थानीय तहले नेपालभित्र एक पटकमा बीस हजार हजार रुपैयाँभन्दा बढीको कर लाग्ने वस्तु वा सेवाको खरिद गर्दा दर्ता भएको व्यक्तिसँग मात्र खरिद गर्नु पर्नेछ ।
५७. कूटनीतिक सुविधा सम्बन्धमा
ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क) को प्रयोजनको लागि कूटनीतिक सुविधा प्राप्त व्यक्तिले परराष्ट्र मन्त्रालयले दिएको निस्सा समेत संलग्न राखी करको रकम फिर्ता पाउन विभाग समक्ष दरखास्त दिनु पर्नेछ ।
५८. निःशुल्क सहयोग र सूचना
नेपाल सरकारले देहायका सहयोग तथा सूचना निःशुल्क प्रदान गर्नेछ:
(क) कर प्रयोजनको निमित्त अपनाउनु पर्ने प्रक्रियाहरूको जानकारी,
(ख) करदाता शिक्षा सम्बन्धी प्रकाशनहरू ।
[५८क. ..........] 2
५९. मूल्य अभिवृद्धि कर सम्बन्धी बहस पैरवी
कर सम्बन्धी कुनै मुद्दाको बहस पैरवी गर्नु पर्ने भए सरकारी वकिलबाट हुनेछ ।
६०. परिचयपत्रको ढाँचा
कर अधिकृतको परिचयपत्रको ढाँचा अनुसूची २१ बमोजिम हुनेछ ।
६१. निर्देशिका बनाउने
ऐन तथा यो नियमावली कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयले आवश्यक निर्देशिकाहरू बनाई जारी गर्न सक्नेछ ।
६२. अनुसूचीमा थपघट तथा हेरफेर
[अर्थ मन्त्रालयले] 3 नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीहरूमा आवश्यक थपघट तथा हेरफेर गर्न सक्नेछ ।
६३. खारेजी र बचाऊ
(१) देहायका नियमहरू खारेज गरिएका छन्:
(क) मनोरञ्जन कर नियमहरू, २०१८,
(ख) बिक्री कर नियमहरू, २०२४,
(ग) ठेक्का कर नियमावली, २०२४ ।
(२) उपनियम (१) मा उल्लिखित नियमहरू बमोजिम भए गरेको काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिनेछन् ।
-
उन्नाइसौं संशोधनद्वारा संशोधित ।
(१) मूल नियमको व्यवस्थाः “५६. नेपाल ... भित्र आपूर्ति हुने वस्तु वा सेवाको सम्बन्धमाः नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको सङ्घ, संस्था वा कार्यालय वा संवैधानिक निकायले नेपाल भित्र एक पटकमा दश हजार रुपैयाँभन्दा बढीको कर लाग्ने वस्तु खरिद गर्दा वा सेवा प्राप्त गर्दा दर्ता भएको व्यक्तिसँग मात्र गर्नु पर्नेछ ।
(२) पाँचौं संशोधनद्वारा मूल नियममा रहेका “दश हजार रुपैयाँ" भन्ने शब्दहरुको सट्टा “पाँच हजार रुपैयाँ” भन्ने शब्दहरु राखिएको ।
(३) चौधौं संशोधनद्वारा मूल नियममा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको । ↩ -
एक्काइसौं संशोधनद्वारा खारेज । आठौं संशोधनद्वारा मूल नियमावलीमा देहाय बमोजिम नियम ५८क. थपिएको:
५८क. कर सहयोगी राख्नेः
(१) करदाताले कर सम्बन्धमा आवश्यक जानकारी तथा सहयोग लिन कर सहयोगी राख्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको कर सहयोगीको लागि आवश्यक पर्ने योग्यता, निजको स्तर लगायत अन्य व्यवस्था विभागले तोके बमोजिम हुनेछ ।” ↩ -
बाइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “नेपाल सरकारले” भन्ने शब्दहरु रहेका । ↩