परिच्छेद २ दर्ता सम्बन्धी व्यवस्था
३. दर्ताको लागि दरख्वास्त
(१) ऐन प्रारम्भ हुँदाका बखत कुनै कारोबारमा संलग्न रहेको व्यक्तिले ऐन प्रारम्भ भएको मितिले नब्बे दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष अनुसूची १ बमोजिमको ढाँचामा दर्ताको लागि दरखास्त दिनु पर्नेछ।
(२) ऐन प्रारम्भ भएपछि कुनै कारोबारमा संलग्न हुन चाहने व्यक्तिले कारोबार सुरु गर्नुभन्दा अघि सम्बन्धित कर अधिकृत समक्ष अनुसूची-१ बमोजिमको ढाँचामा दर्ताको लागि दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम दर्ताको लागि दरखास्त दिने व्यक्ति साझेदार भएमा [अनुसूची १] 1 बमोजिमको ढाँचामा साझेदारीको पूर्ण विवरण समेत दरखास्त साथ संलग्न राखी पेश गर्नु पर्नेछ ।
४. दरखास्तको जाँचबुझ
(१) नियम ३ बमोजिम परेको दरखास्तसाथ संलग्न विवरण तथा कागजातहरू जाँचबुझ गर्दा आवश्यक देखिएका अन्य थप विवरण तथा कागजातहरू समेत पेश गर्न सम्बन्धित कर अधिकृतले दरखास्तवालासँग माग गर्न सक्नेछ । यसरी मागिएको थप विवरण तथा कागजातहरू माग गरिएको मितिले सात दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष पेश गर्ने कर्तव्य दरखास्तवालाको हुनेछ।
(२) ऐनको दफा १० को उपदफा (३) मा उल्लेख भए बमोजिम दर्ता गर्नु नपर्ने कारोबार दर्ता गर्नको लागि कसैको दरखास्त पर्न आएको रहेछ भने सम्बन्धित कर अधिकृतले दर्ता गर्नु नपर्ने व्यहोरा उल्लेख गरी सोको जानकारी दरखास्त परेको मितिले सात दिनभित्र दरखास्तवालालाई दिनु पर्नेछ ।
५. दर्ताको प्रमाणपत्र दिनु पर्ने
नियम ३ बमोजिम दर्ताको लागि परेको दरखास्त उपर सम्बन्धित कर अधिकृतले नियम ४ बमोजिम जाँचबुझ गरी दर्ता गर्न उपयुक्त हुने देखेमा दरखास्त परेको मितिले तीस दिनभित्र दरखास्तवालाले गरेको वा गर्न चाहेको कारोबारलाई दर्ता गरी अनुसूची- ३ बमोजिमको ढाँचामा दरखास्तवालालाई दर्ता नम्बर सहितको दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
६. सानो कारोबार गर्ने व्यवसायीले दर्ता गराउनु नपर्ने
[(१) नियम ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ९ मा उल्लेख भए बमोजिम विगत बाह महिनामा वस्तुको हकमा [पचास लाख रूपैयाँसम्म] 3 र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा बीस लाख रूपैयाँसम्मको कारोबार गर्ने व्यक्तिले आफ्नो कारोबार दर्ता गराउन पर्ने छैन । यसरी कारोबार दर्ता गराउन नपर्ने व्यक्तिले आफ्नो कारोबार स्थलमा वस्तुको हकमा [पचास लाख रूपैयाँसम्म] 4 र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा [बीस लाख रूपैयाँसम्मको] 5 कारोबार मात्र भएकोले दर्ता हुनु नपर्ने भन्ने सूचना सबैले देख्ने गरी राख्नु पर्नेछ ।] 2
[तर नेपालभित्र कर छुटको कारोबार गर्ने व्यक्तिको आफ्नो उपयोगका लागि आफै पैठारी गर्नेदेखि बाहेक अन्य कुनै पनि व्यक्तिले एक पटकमा दश हजार रूपैयाँ भन्दा बढीको करयोग्य वस्तु पैठारी गर्दा आफ्नो कारोबार दर्ता गराउनु पर्नेछ ।] 6
[(१क) कुनै आपूर्तिको खरिद बिक्री, मौज्दात र गोदाम छुट्टिन नसक्ने भएमा करको प्रयोजनको लागि कर अधिकृतले त्यस्तो आपूर्तिको खरिद बिक्री र मौज्दातलाई एउटै कारोबार सीमा मानी कर निर्धारण गरी असुल उपर गर्न सक्नेछ ।] 7
[(१ख) ..........] 8
[(१ग) ..........] 9
[(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सानो कारोबार गर्ने व्यवसायीले स्वेच्छाले आफ्नो कारोबार दर्ता गराउन चाहेमा नियम ३ बमोजिम दरखास्त दिन सक्नेछ । यसरी स्वेच्छाले कारोबार दर्ता गराउन दरखास्त परेमा कर अधिकृतले नियम ४ बमोजिमको जाँचबुझ प्रक्रिया पूरा गरी ऐनको दफा ९ को अधीनमा रही कारोबार दर्ता गरिदिनु पर्नेछ ।] 10
[६क. ठेक्का सम्बन्धी व्यवस्था] 11
(१) सरकारी निकाय, सार्वजनिक सङ्घ संस्था वा दर्ता भएको व्यक्तिले आफूले गरेको ठेक्का सम्झौता र कर भुक्तानीको जानकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दिई सम्बन्धित ठेकेदारलाई कर भुक्तानी गर्नु पर्नेछ ।
(२) सरकारी निकाय वा सार्वजनिक सङ्घ, संस्था वा दर्ता भएको व्यक्तिले वार्षिक पाँच लाख रूपैयाँभन्दा बढीको ठेक्कापट्टा दिँदा वा परामर्श सेवा लिँदा दर्ता भएको व्यक्तिसँग मात्र दिनु लिनु पर्नेछ ।
[६ख. निर्माण सेवा सम्बन्धी विशेष व्यवस्था] 12
कुनै व्यक्तिले व्यावसायिक प्रयोजनको लागि पचास लाख रूपैयाँभन्दा बढी लागतको भवन, अपार्टमेन्ट, सपिङ्ग कम्प्लेक्स वा विभागले तोकेको अन्य यस्तै प्रकारका संरचना निर्माण गर्दा दर्ता भएको व्यक्तिबाट मात्र गराउनु पर्नेछ ।
[६ग. ठेक्का वा करार अन्तर्गत वस्तु वा सेवा आपूर्ति बापतको कर भुक्तानी सम्बन्धी विशेष व्यवस्था] 13
(१) सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको सङ्घ संस्थाले ठेक्का सम्झौता वा करार अन्तर्गत आपूर्ति हुने वस्तु, सेवा वा दुवै आपूर्ति गरी सो बापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने कर रकमको [तीस प्रतिशतले] 14 हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शीर्षकमा जम्मा गरी बाँकी रहने कर बापतको रकम मात्र भुक्तानी गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम भुक्तानी गर्ने निकायले राजस्व शीर्षकमा जम्मा गरिदिएको व्यहोराको जानकारी सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्ताले बुझाउनु पर्ने करमा मिलान गर्न पाउनेछ ।
७. कारोबार दर्ता गराउनु पर्ने विशेष अवस्था
[(१) कुनै व्यक्तिको वार्षिक कारोबार वस्तुको हकमा पचास लाख रूपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवा व्यवसायको हकमा बीस लाख रूपैयाँ नाघ्ने अनुमान गर्न सक्ने अवस्था भएमा त्यस्तो अवस्था खुलाई अनुसूची १ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।] 15
[(२) उपनियम (१) बमोजिम अनुमान गर्न सकिने अवस्था नभई कसैले गरेको कारोबारको रकम बस्तुको हकमा पचास लाख रूपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवा व्यवसायको हकमा बीस लाख रूपैयाँ नाघ्न गएमा त्यसरी नाघेको मितिले तीस दिनभित्र त्यस्तो कारोबार गर्ने व्यक्तिले अनुसूची १ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।] 16
[(३) ..........] 17
[(४) ऐनको दफा १० को उपदफा (२) बमोजिम दर्ता गर्नु पर्ने वस्तु वा सेवाको कारोबार गरेका व्यक्तिले यो उपनियम प्रारम्भ भएको मितिले तीस दिनभित्र त्यस्तो कारोबार दर्ता गर्नु पर्नेछ ।] 18
[(५) ..........] 19
[(६) दर्ता हुनु पर्ने व्यक्तिले दर्ता नगरी कारोबार गरेको पाइएमा कर अधिकृतले आधार तथा कारण उल्लेख गरी तीस दिनभित्र दर्ता हुन सम्बन्धित व्यक्तिलाई आदेश दिनु पर्नेछ र त्यस्तो आदेश प्राप्त भएमा सम्बन्धित व्यक्तिले सो अवधिभित्र कारोबार दर्ता गराउनु पर्नेछ ।] 20
[७क. अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्था] 21
(१) अस्थायी रूपमा आयोजना गर्ने प्रदर्शनी, मेला तथा यस्तै प्रकृतिका कार्यक्रम गर्ने मूल्य अभिवृद्धि करमा दर्ता नभएकाले ऐनको दफा १०क. बमोजिम कारोबार दर्ता गर्न सम्बन्धित आयोजकको सिफारिस सहित कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा त्यस्तो कार्यक्रमबाट प्राप्त हुने आयको पूर्वानुमान गरी सो आयको दुई प्रतिशतले हुने रकम सो कार्यालयमा धरौटी राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा कर अधिकृतले त्यस्तो कारोबार मूल्य अभिवृद्धि करमा दर्ता गरी निवेदकलाई दर्ता नम्बर सहितको प्रमाणपत्र दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम दर्ता भएकाले प्रदर्शनी मेला तथा यस्तै प्रकृतिका कार्यक्रम समाप्त भएको सात दिनभित्र कारोबार दर्ता गर्नेले कर अधिकृत समक्ष मूल्य अभिवृद्धि कर विवरण र मूल्य अभिवृद्धि कर दाखिला गरी अस्थायी दर्ता खारेजीका लागि स्थायी लेखा नम्बरको सक्कल प्रमाणपत्र, अस्थायी दर्ता भएको अवस्थाको कर चुक्ता प्रमाणपत्र र आयोजकको सिफारिस सहित निवेदन दिनु पर्नेछ।
[७ख. अभिलेख अद्यावधिक गर्ने अवधि] 22
दर्ता भएका व्यक्तिले आफ्नो अभिलेख [..........] 23 ऐनको दफा १०ग बमोजिम बायोमेट्रिक प्रणालीमा अद्यावधिक गराउनु पर्नेछ ।
८. कारोबारको रकमको निर्धारण
कारोबार दर्ता गर्ने प्रयोजनको निमित्त कुनै कारोबारको रकमको निर्धारण सो कारोबारको विगत बाह्र महिनाको खरिद वा बिक्री मूल्यमध्ये जुन बढी हुन्छ सोको आधारमा गरिनेछ । दर्ता भएको व्यक्तिले कारोबार रकम पुष्ट्याई गर्ने अभिलेख कारोबार स्थलमा राख्नु पर्नेछ र कर अधिकृतले मागेको बखत देखाउनु पर्नेछ ।
९. स्थान परिवर्तनको सूचना दिनु पर्ने
(१) कुनै दर्ता भएको व्यक्तिले आफ्नो कारोबारको स्थान परिवर्तन गर्नु पर्ने भएमा त्यस्तो परिवर्तन गर्नुभन्दा पन्ध्र दिन अगावै सो कुराको जानकारी सम्बन्धित कर अधिकृतलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि सम्बन्धित कर अधिकृतले परिवर्तन हुने कारोबार स्थान अर्को कर कार्यालयको कार्य क्षेत्रभित्र पर्ने देखेमा सम्बन्धित कार्यालयलाई सो कुराको जानकारी त्यस्तो सूचना पाएको मितिले सात दिनभित्र दिनु पर्नेछ ।
१०. कारोबारको प्रकृति वा उद्देश्य परिवर्तन गर्न सूचना दिनु पर्ने
(१) कुनै दर्ता भएको व्यक्तिले आफ्नो कारोबारको प्रकृति वा उद्देश्य परिवर्तन गर्नुभन्दा पन्ध्र दिन अगावै सम्बन्धित कर अधिकृतलाई सो कुराको सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त गरेपछि सम्बन्धित कर अधिकृतले दर्ता भएको व्यक्तिको कारोबारको प्रकृति वा उद्देश्यलाई परिवर्तन गरी त्यसको जानकारी त्यस्तो दर्ता भएको व्यक्तिलाई दिनु पर्नेछ ।
११. कारोबारको हस्तान्तरण
(१) कुनै दर्ता भएको व्यक्तिले आफूले गर्दै आएको कारोबार अन्य कुनै व्यक्तिलाई पूर्ण वा आंशिक रूपमा हस्तान्तरण गरेमा त्यसरी कारोबार हस्तान्तरण गरेको मितिले सात दिनभित्र अनुसूची ४ बमोजिमको ढाँचामा सम्पूर्ण विवरणहरू खुलाई सो कुराको जानकारी सम्बन्धित कर अधिकृतलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कारोबारको हस्तान्तरण भएमा हस्तान्तरणका शर्तहरूका अधीनमा रही हस्तान्तरणकर्ताको हक, अधिकार तथा दायित्वहरू समेत हस्तान्तरण हुनेछ ।
(३) सम्बन्धित कर अधिकृतले कारोबार हस्तान्तरणसँग सम्बन्धित दुवै पक्षलाई आफ्नो रोहवरमा राखी ऐन र यस नियमावली बमोजिम निजहरूले पूरा गर्नु पर्ने दायित्वका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ । यसरी दिइएको निर्देशनको पालना गर्नु निजहरूको कर्तव्य हुनेछ ।
[१२. दर्ता खारेजीको प्रक्रिया] 24
(१) ऐनको दफा ११ को उपदफा (१) मा उल्लिखित अवस्थाको कारणबाट कुनै दर्ता भएको व्यक्तिको दर्ता खारेज हुने भएमा त्यस्तो दर्ता भएको व्यक्ति वा निज नरहेको अवस्थामा निजको हकवालाले दर्ता खारेज हुने अवस्था सिर्जना भएको मितिले तीस दिनभित्र दर्ता खारेज गर्नको लागि दर्ता खारेज हुने अवस्था खुलाई अनुसूची ११ बमोजिमको कर विवरण तथा बुझाउनु पर्ने कर रकम समेत संलग्न राखी सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिएमा वा दफा ११ को उपदफा (१) मा उल्लिखित अवस्था विद्यमान रही दर्ता भएको व्यक्तिको दर्ता खारेज गर्नु पर्ने कुरामा सम्बन्धित कर अधिकृत विश्वस्त भएमा बाँकी कर रकम बुझाउन लगाई त्यस्तो व्यक्तिको दर्ता खारेज गरी सो कुराको जानकारी सम्बन्धित दर्ता भएको व्यक्ति वा निजको हकवाला र विभागलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दर्ता खारेजीको लागि दरखास्त दिएपछि दर्ता खारेजीको जानकारी नभएसम्म वा ३ महिनासम्म कर विवरण पेश गर्नु पर्नेछ ।
(३) दर्ता खारेजीको दरखास्त परेको मितिले ३ महिनाभित्र दर्ता खारेज भएको वा नहुने भए सो विषयको जानकारी दिनु सम्बन्धित कर अधिकृतको कर्तव्य हुनेछ ।
[(४) मूल्य अभिवृद्धि करमा दर्ता भएको तर यो उपनियम प्रारम्भ भएपछि मूल्य अभिवृद्धि कर लाग्ने सीमाभन्दा घटी कारोबार भएको करदाताको खारेजी तथा त्यस्ता करदाताको कर मिलान गर्न बाँकी रकम (क्रेडिट) को व्यवस्थापन महानिर्देशकले तोकेको प्रक्रिया बमोजिम हुनेछ ।] 25
१३. दर्ता नम्बरको प्रयोग
ऐनको दफा १० को उपदफा (६) मा उल्लिखित कारोबारहरूको अतिरिक्त दर्ता भएको व्यक्तिले आफ्नो दर्ता नम्बरको प्रयोग आफूले गर्ने कारोबारसँग सम्बन्धित देहायका कागजातहरूमा समेत गर्नु पर्नेछ:
(क) आयकर सम्बन्धी कागजातमा,
(ख) बैङ्क तथा वित्तीय संस्थाहरूमा व्यापारिक तथा औद्योगिक प्रयोजनको लागि एक लाख रुपैयाँभन्दा बढी ऋणको लागि दिइने निवेदन सम्बन्धी कागजातमा,
(ग) आयात तथा निर्यात सम्बन्धी कागजातमा ।
१४. प्रतिलिपि दिने
(१) दर्ता भएको व्यक्तिले नियम ५ बमोजिम प्राप्त गरेको कारोबार दर्ताको प्रमाणपत्र च्यातिएमा, हराएमा वा अन्य कुनै किसिमबाट नासिएमा त्यस्तो प्रमाणपत्रको प्रतिलिपि लिनको लागि प्रतिलिपि दस्तुर बापत लाग्ने एक सय रुपैयाँ समेत संलग्न राखी सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त प्राप्त भएपछि दरखास्त प्राप्त भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित कर अधिकृतले कारोबार दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिनु पर्नेछ ।
[१४क. कर पाटीको व्यवस्था] 26
करदाताले यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र कारोबार स्थलमा सबैले देख्न सक्ने गरी विभागले तोकेको ढाँचामा कर पाटी राख्नु पर्नेछ ।
[१४ख कर सहितको मूल्य उल्लेख गर्नु पर्ने] 27
दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।
-
बाइसौं संशोधनद्वारा संशोधित । मूल नियममा “ अनुसूची २” भन्ने शब्दहरु रहेका । ↩
-
एघारौं संशोधनद्वारा संशोधित ।
(१) मूल नियम ६ को उपनियम (१) को व्यवस्थाः “(१) नियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ९ मा उल्लेख भए बमोजिम विगत बाह्र महिना पैतालीस लाख रुपैयाँसम्मको कारोबार गर्ने व्यक्तिले आफ्नो कारोबार दर्ता गराउनु पर्ने छैन । तर नेपाल अधिराज्यभित्र व्यापारिक प्रयोजनको लागि एक पटकमा दुई लाख रुपैयाँभन्दा बढी वा वार्षिक बाह्र लाखभन्दा बढी पैठारी मूल्यको वस्तु भारत र तिब्बतबाट आयात गर्ने व्यक्तिले आफ्नो कारोबार दर्ता गराउनु पर्नेछ ।”(२) दोस्रो संशोधनद्वारा उपनियम (१) को सट्टा देहायको उपनियम (१) राखिएको “(१) नियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ९ मा उल्लेख भए बमोजिम विगत बाह्र महिना बीस लाख रुपैयाँसम्मको कारोबार गर्ने व्यक्तिले आफ्नो कारोबार दर्ता गराउनु पर्ने छैन । तर नेपाल अधिराज्यभित्र घरेलु उद्योगले स्वःप्रयोजनको लागि आफैं पैठारी गर्नेदेखि बाहेक अन्य कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा उद्योगले एक पटकमा दश हजार रुपैयाँभन्दा बढीको करयोग्य वस्तु पैठारी गर्दा आफ्नो कारोबार दर्ता गराउनु पर्नेछ । "
(३) तेस्रो संशोधनद्वारा उपनियम (१) को अन्त्यमा “यसरी कारोबार दर्ता गराउन नपर्ने व्यक्तिले आफ्नो कारोबार स्थलमा वार्षिक बीस लाख रुपैयाँसम्मको मात्र कारोबार भएकोले दर्ता हुनु नपर्ने भन्ने सूचना सबैले देख्ने गरी राख्नु पर्नेछ ।” भन्ने वाक्यांश थपिएको ।
(४) आठौं संशोधनद्वारा नियम ६ को उपनियम (१) मा रहेको प्रतिबन्धात्मक वाक्यांश झिकिएको ।
(५) एघारौं संशोधनद्वारा उपनियम (१) को सट्टा देहायको उपनियम (१) राखिएकोः (१) नियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ९ मा उल्लेख भए बमोजिम विगत बाह्र महिनामा वस्तुको हकमा बीस लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा दश लाख रुपैयाँसम्मको कारोबार गर्ने व्यक्तिले आफ्नो कारोबार दर्ता गराउनु पर्ने छैन । यसरी कारोबार दर्ता गराउन नपर्ने व्यक्तिले आफ्नो कारोबार स्थलमा वस्तुको हकमा वार्षिक बीस लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारेबार र सेवाको हकमा दश लाख रुपैयाँसम्मको कारोबार मात्र भएकोले दर्ता हुनु नपर्ने भन्ने सूचना सबैले देख्ने गरी राख्नु पर्नेछ ।” तर आफैँले पैठारी गर्ने घरेलु उद्योग बाहेकका अन्य कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा उद्योगले एक पटकमा दश हजार रुपैयाँभन्दा बढीको करयोग्य वस्तु व्यापारिक प्रयोजनको लागि पैठारी गर्दा आफ्नो कारोबार दर्ता गराउनु पर्नेछ ।”
(६) चौधौं (पन्ध्रौं हुनु पर्नेमा नेपाल राजपत्रमा चौधौं भएको) संशोधनद्वारा उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांशको सट्टा देहायको प्रतिबन्धात्मक वाक्यांश राखिएकोः “तर नेपालभित्र कर छुटको कारोबार गर्ने व्यक्तिले आफ्नो उपयोगका लागि आफैँले पैठारी गर्नेदेखि बाहेक अन्य कुनै पनि व्यक्तिले एक पटकमा दश हजार रुपैयाँभन्दा बढीको करयोग्य वस्तु पैठारी गर्दा आफ्नो कारोबार दर्ता गराउनु पर्नेछ ।
(७) सत्रौं संशोधनद्वारा उपनियम (१) मा रहेका “बीस लाख रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “पचास लाख रुपैयाँ” भन्ने शब्दहरु राखिएको ।
(८) अठारौं संशोधनद्वारा उपनियम (१) मा रहेका “दश लाख रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “बीस लाख रुपैयाँ” भन्ने शब्दहरु राखिएको । ↩
-
सत्रौं संशोधनद्वारा संशोधित । साविकमा “बीस लाख रुपैयाँ” भन्ने शब्दहरु रहेका । ↩
-
सत्रौ संशोधनद्वारा संशोधित । मूल नियममा “बीस लाख रुपैयाँ” भन्ने शब्दहरु रहेका । ↩
-
अठारौ संशोधनद्वारा संशोधित । ↩
-
पन्ध्रौ संशोधनद्वारा संशोधित । ↩
-
पहिलो संशोधनद्वारा थप भई आर्थिक ऐन, २०५६ द्वारा खारेज भएकोमा दोस्रो संशोधनद्वारा थप ।
(१) उपदफा (१क) थप भएको व्यवस्था: “(१क) भारत र तिब्बतबाट व्यापारिक कारोबार गर्न चाहने व्यक्तिले प्राप्त गरेको आयकर दर्ता प्रमाणपत्रमा भारत र तिब्बतबाट व्यापारिक कारोबार गर्ने व्यहोरा स्पष्ट रुपमा उल्लेख भएको हुन पर्नेछ । यसरी कारोबार गर्ने व्यक्तिले प्राप्त गरेको आयकर दर्ता प्रमाणपत्रमा भन्सार अधिकृतले आयात गरेको वस्तुको विवरण, मूल्य र आयात गरेको मिति समेत जनाउनु पर्नेछ ।”
(२) पहिलो संशोधनद्वारा थप भएको उपनियम (१) पछि देहायका उपनियम (१क), (१ख) र (१ग) थपिएको:
(१क) भारत र तिब्बतबाट व्यापारिक कारोबार गर्न चाहने व्यक्तिले प्राप्त गरेका आयकर दर्ता प्रमाणपत्रमा भारत र तिब्बतबाट व्यापरिक कारोबार गर्ने व्यहोरा स्पष्ट रूपमा उल्लेख भएको हुनु पर्नेछ । यसरी कारोबार गर्ने व्यक्तिले प्राप्त गरेको आयकर दर्ता प्रमाणपत्रमा भन्सार अधिकृतले आयात गरेको वस्तुको विवरण, मूल्य र आयात गरेको मिति समेत जनाउनु पर्नेछ।
(ख) भारत र तिब्बतबाट व्यापारिक कारोबार गर्ने व्यक्तिले त्यसरी कारोबार गर्दा अग्रिम आयकर बापत पाँच प्रतिशतका दरले हुने रकम भन्सार कार्यालयमा बुझाउनु पर्नेछ ।
(१ग) यस नियममा माथि जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले आयकर दर्ता प्रमाणपत्र नलिई एक पटकमा तीन हजार रुपैयाँसम्मको पैठारी मूल्यको वस्तु भारत र तिब्बतबाट आयात गर्न पाउनेछ । ↩ -
पहिलो संशोधनद्वारा थप भएकोमा यो उपनियम आर्थिक ऐन, २०५६ द्वारा खारेज गरिएको । ↩
-
पहिलो संशोधनद्वारा थप भएकोमा यो उपनियम आर्थिक ऐन, २०५६ द्वारा खारेज गरिएको । ↩
-
सत्रौं संशोधनद्वारा संशोधित ।
(१) मूल नियमावलीको नियम ६ को उपनियम (२) को व्यवस्थाः
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सानो कारोबार गर्ने व्यवसायीले स्वेच्छाले आफ्नो कारोबार दर्ता गराउन चाहेमा नियम ३ बमोजिम दरखास्त दिन सक्नेछ । यसरी स्वेच्छाले कारोबार दर्ता गराउन दरखास्त परेमा कर अधिकृतले नियम ४ बमोजिम जाँचबुझ प्रक्रिया पूरा गरी कारोबार दर्ता गरिदिनु पर्नेछ ।”(२) नियम (१) पछि देहायको उपनियम (१क) थपिएको:
“(१क) कुनै आपूर्तिको खरिद, बिक्री, मौज्दात र गोदाम छुट्टिन नसक्ने भएमा करको प्रयोजनको लागि कर अधिकृतले त्यस्तो आपूर्तिको खरिद बिक्री र मौज्दातलाई एउटै कारोबार सीमा मानी कर निर्धारण गरी असुल उपर गर्न सक्नेछ । ” ↩ -
दोस्रो संशोधनद्वारा थप भई उन्नाइसौं तथा एक्काइसौं संशोधनद्वारा संशोधित ।
(१) दोस्रो संशोधनद्वारा थप भएको व्यवस्थाः
“६क. ठेक्का सम्बन्धी व्यवस्थाः ठेक्का दिने सरकारी निकाय, सार्वजनिक सङ्घ संस्था वा दर्ता भएको व्यक्तिले आफूले गरेको ठेक्का सम्झौता र कर भुक्तानीको जानकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दिई करको भुक्तानी सम्बन्धित ठेकेदारलाई गर्नु पर्नेछ । सरकारी निकाय, सार्वजनिक सङ्घ संस्था वा दर्ता भएको व्यक्तिले वार्षिक बीस लाख रुपैयाँ बढीको ठेक्का पट्टा दिँदा वा वार्षिक एक लाख रुपैयाँभन्दा बढीको परामर्श सेवा लिँदा दर्ता भएको व्यक्तिसँग मात्र दिनु लिनु पर्नेछ ।"(२) उन्नाइसौं संशोधनद्वारा नियम ६क. मा कायम भएको संशोधनः
“६क. ठेक्का सम्बन्धी व्यवस्थाः
(१) सरकारी निकाय, सार्वजनिक सङ्घ संस्था वा दर्ता भएको व्यक्तिले आफूले गरेको ठेक्का सम्झौता र कर भुक्तानीको जानकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दिई सम्बन्धित ठेकेदारलाई कर भुक्तानी गर्नु पर्नेछ ।
(२) सरकारी निकाय वा सार्वजनिक सङ्घ संस्थाले वार्षिक पाँच लाख रुपैयाँभन्दा बढीको ठेक्का पट्टा दिँदा वा वार्षिक एक लाख रुपैयाँभन्दा बढीको परामर्श सेवा लिँदा दर्ता भएको व्यक्तिसँग मात्र दिनु लिनु पर्नेछ ।" ↩ -
एघारौं संशोधनद्वारा थप । ↩
-
एक्काइसौं संशोधनद्वारा थप । ↩
-
तेइसौं संशोधनद्वारा संशोधित । एक्काइसौं संशोधनद्वारा थप हुँदा “ पचास प्रतिशत” भन्ने शब्दहरु रहेका । ↩
-
अठारौं संशोधनद्वारा संशोधित ।
(१) मूल नियमावलीको व्यवस्थाः (१) कुनै व्यक्तिको आगामी तीन महिनासम्म आफ्नो कारोबार दश लाख रुपैयाँ नाघ्न सक्ने अवस्था भएमा त्यस्तो अवस्था खुलाई अनुसूची १ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) पहिलो संशोधनद्वारा उपनियम (१) मा रहेका “दश लाख” भन्ने शब्दहरुको सट्टा “पैतालीस लाख" भन्ने शब्दहरु राखी संशोधन ।
(३) दोस्रो संशोधनद्वारा उपनियम (१) मा रहेका “पैतालीस लाख रुपैयाँ” भन्ने शब्दहरुको सट्टा "बीस लाख रुपैयाँ भन्ने शब्दहरु राखी संशोधन गरेको ।
(४) आठौं संशोधनद्वारा उपदफा (१) मा रहेका “आगामी तीन महिनामा आफ्नो” भन्ने शब्दहरुको सट्टा “वार्षिक” भन्ने शब्द राखिएको ।
(५) सत्रौं संशोधनद्वारा उपनियम (१) मा रहेका "बीस लाख" भन्ने शब्दहरुको सट्टा “पचास लाख" भन्ने शब्दहरु राखी सोही नियमावलीको उपनियम (५) को खण्ड (ख) र (ग) झिकिएको । ↩ -
अठारौ संशोधनद्वारा संशोधित । (१) मूल नियमावलीको व्यवस्थाः “(२) उपनियम (१) मा उल्लेख भए अनुसार अनुमान गर्न सकिने अवस्था नभै कसैले गरेको कारोबारको रकम दश लाख रुपैयाँ नाघ्न गएमा त्यसरी नाघेको मितिले तीस दिनभित्र त्यस्तो कारोबार गर्ने व्यत्तिले अनुसूची- १ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।”
(२) पहिलो संशोधनद्वारा उपनियम (२) मा रहेका “दश लाख” भन्ने शब्दहरुको सट्टा “पैतालीस लाख" भन्ने शब्दहरु राखी संशोधन ।
(३) दोस्रो संशोधनद्वारा उपनियम (२) मा रहेका “दश लाख रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “बीस लाख रुपैयाँ भन्ने शब्दहरु राखी संशोधन गरेको ।
(४) सत्रौं संशोधनद्वारा उपनियम (२) मा रहेका "बीस लाख" भन्ने शब्दहरुको सट्टा “पचास लाख " भन्ने शब्दहरु राखी सोही नियमावलीको उपनियम (५) को खण्ड (ख) र (ग) झिकिएको । ↩ -
आठौं संशोधनद्वारा थप भएकोमा दशौं संशोधनद्वारा झिकिएको । थप भएको व्यवस्था: (३) कुनै करदाताले आफ्नो कारोबारको सीमा बीस लाख रुपैयाँ नभएको दाबी गरेको विषय उपर कर अधिकृतलाई शङ्का लागेमा निजले त्यस्तो करदाताको स्वीकृतिमा पेशागत संस्थासँग परामर्श गर्न सक्नेछ।” ↩
-
आठौं संशोधनद्वारा थप । ↩
-
आठौं संशोधनद्वारा थप भएकोमा बाइसौं संशोधनद्वारा झिकिएको ।
(१) आठौं संशोधनद्वारा थप भएको व्यवस्थाः
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले गरेको कारोबारको सम्बन्धमा देहायको अवस्था भएमा त्यस्तो कारोबार कार्यालयमा दर्ता गर्नु पर्नेछः
(क) कर अधिकृतले निरीक्षण गर्दाका बखत कारोबार गर्ने व्यक्तिसँग रहेको वस्तुको प्रकृतिको आधारमा विभागले तोकेको रकमभन्दा बढी मूल्यको वस्तु मौज्दात भएमा,
(ख) कुनै व्यक्तिको टेलिफोन महसुल र घर बहाल गरी वार्षिक एक लाख रुपैयाँभन्दा बढी खर्च भएमा, वा
(ग) विभागले तोकेको बजार वा सडक क्षेत्रभित्रको विभागले तोकेको निश्चित क्षेत्रफलमा कुनै व्यक्तिको कारोबार स्थल भएमा । "(२) नवौँ संशोधनद्वारा नियम ७ को उपनियम (५) को खण्ड (क) को सट्टा देहायको खण्ड (क) राखी संशोधन गरेको: (क) कर अधिकृतले निरीक्षण गर्दाका बखत कारोबार गर्ने व्यक्तिसँग रहेको वस्तुको प्रकृतिको आधारमा विभागले तोकेको रकमभन्दा बढी मूल्यको वस्तु मौज्दात भएमा वा कुनै महिनामा दुई लाख वा सोभन्दा बढी रुपैयाँको बिक्री भएमा । "
(३) दशौं संशोधनद्वारा उपनियम (५) मा रहेका “कुनै व्यक्तिले गरेको” भन्ने शब्दहरु पछि “कर लाग्ने वस्तु वा सेवाको” भन्ने शब्दहरु थपी सोही उपनियमको खण्ड (क) मा रहेका “वा कुनै महिनामा दुई लाख वा सोभन्दा बढी रुपैयाँको बिक्री भएमा " भन्ने शब्दहरु झिकिएका । ↩
-
पन्ध्रौ संशोधनद्वारा थप । ↩
-
चौबिसौं संशोधनद्वारा संशोधित । साविकमा सोह्रौं संशोधनद्वारा थप भएको देहाय बमोजिमको व्यवस्था रहेको ।
“७क. अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्थाः
(१) अस्थायी रूपमा आयोजना गर्ने प्रदर्शनी, मेला तथा यस्तै प्रकृतिका कार्यक्रम गर्ने मूल्य अभिवृद्धि करमा दर्ता नभएकाले ऐनको दफा १०क. बमोजिम कारोबार दर्ता गर्न सम्बन्धित आयोजकको सिफारिस सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा त्यस्तो कार्यक्रमबाट प्राप्त हुने आयको पूर्वानुमान गरी सो आयको दुई प्रतिशतले हुने रकम सो कार्यालयमा धरौटी राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयका कर अधिकृतले त्यस्तो कारोबार मूल्य अभिवृद्धि करमा दर्ता गरी निवेदकलाई दर्ता नम्बर सहितको प्रमाणपत्र दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम दर्ता भएकाले प्रदर्शनी, मेला तथा यस्तै प्रकृतिका कार्यक्रम समाप्त भएको सात दिनभित्र कारोबार दर्ता गर्नेले सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा मूल्य अभिवृद्धि कर विवरण र मूल्य अभिवृद्धि कर दाखिला गरी अस्थायी दर्ता खारेजीका लागि स्थायी लेखा नम्बरको सक्कल प्रमाणपत्र, अस्थायी दर्ता भएको अवस्थाको कर चुक्ता प्रमाणपत्र र आयोजकको सिफारिस सहित निवेदन दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम अस्थायी दर्ता खारेजीको निवेदन प्राप्त भएमा सम्बन्धित कर अधिकृतले करदाताले पेश गरेको मूल्य अभिवृद्धि कर विवरण तथा अन्य कागजात जाँचबुझ गरी पन्ध्र दिनभित्र अस्थायी दर्ता खारेज गरी सो को जानकारी निवेदकलाई दिनु पर्नेछ ।
(६) उपनियम (२) बमोजिम निवेदकले राखेको धरौटी उपनियम (४) बमोजिम बुझाउनु पर्ने मूल्य अभिवृद्धि करमा मिलान गर्न पाउनेछ ।
(७) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा थप कर निर्धारण हुन गएमा निवेदकलाई कर दाखिला गर्न तीन दिनको सूचना दिइनेछ । सो अवधिभित्र निवेदकले कर दाखिला नगरेमा निजले धरौटी राखेको रकमबाट असुल गरिनेछ र सो रकमबाट पनि नपुगेमा बाँकी रकम आयोजकबाट असुल गरिनेछ । ↩ -
एक्काइसौं संशोधनद्वारा थप । ↩
-
तेइसौं संशोधनद्वारा झिकिएको । एक्काइसौं संशोधनद्वारा थप भएकोमा बाइसौं संशोधनद्वारा “संवत् २०७७ साल असार मसान्तभित्र” भन्ने शब्दहरू भन्ने शब्दहरुको सट्टा “संवत् २०७८ साल असार मसान्तभित्र” भन्ने शब्दहरु राखी संशोधन भएको । ↩
-
दशौं संशोधनद्वारा संशोधित । मूल नियमावलीको व्यवस्थाः
“१२. दर्ता खारेजीको प्रक्रिया: ऐनको दफा ११ को उपदफा (१) मा उल्लिखित अवस्थाको कारणबाट कुनै दर्ता भएको व्यक्तिको दर्ता खारेज हुने भएमा त्यस्तो दर्ता भएको व्यक्ति वा निज नरहेको अवस्थामा निजको हकवालाले दर्ता खारेज हुने अवस्था सिर्जना भएको मितिले तीस दिनभित्र दर्ता खारेज गर्नको लागि दर्ता खारेज हुने अवस्था खुलाई अनुसूची - ११ बमोजिमको कर विवरण तथा बुझाउनु पर्ने कर रकम समेत संलग्न राखी सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिएमा वा दफा ११ को उपदफा (१) मा उल्लिखित अवस्था विद्यमान रही दर्ता भएको व्यक्तिको दर्ता खारेज गर्नु पर्ने कुरामा सम्बन्धित कर अधिकृत विश्वस्त भएमा बाँकी कर रकम बुझाउन लगाई त्यस्तो व्यक्तिको दर्ता खारेज गरी सो कुराको जानकारी सम्बन्धित दर्ता भएको व्यक्ति वा निजको हकवाला र विभागलाई दिनु पर्नेछ । " ↩ -
सत्रौं संशोधनद्वारा थप । ↩
-
आठौं संशोधनद्वारा थप । ↩
-
अठारौ संशोधनद्वारा थप । ↩