परिच्छेद १३: अन्तर्राष्ट्रिय कर
६७. आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानी
(१) कुनै व्यक्तिको कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको स्रोतमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ ।
(क) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरू,
(ख) सो आय गणना गर्दा कट्टी गरिएका नेपालमा स्रोत भएका रकमहरू ।
(२) कुनै व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट हुन गएको नोक्सानीमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ ।
(क) सो व्यवसाय वा लगानीको आय गणना गर्दा कट्टी गरिने नेपालमा स्रोत भएका रकमहरू,
(ख) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरू ।
(३) आय गणना गर्दा समावेश गरिने रकमको देहायको अवस्थामा नेपालमा स्रोत भएको मानिनेछ:-
(क) नेपालमा स्रोत रहेका सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभबाट नेपालमा स्रोत रहेको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानी घटाई हुन आउने दफा ७ को उपदफा (२) को खण्ड (ग) वा दफा ९ को उपदफा (२) को खण्ड (ख) बमोजिमका खुद लाभ,
(ख) नेपालमा रहेका सम्पत्ति वा नेपालमा बहन गर्नु पर्ने दायित्व समावेश भएकोमा दफा ७ को उपदफा (२) को खण्ड (घ) वा दफा ९ को उपदफा (२) को खण्ड (ग) मा उल्लेख भए बमोजिम आय गणना गर्दा समावेश गरिने लाभ र रकमहरू, (ग) खण्ड (क) र (ख) को अधीनमा रही नेपालमा स्रोत रहेका प्राप्त भुक्तानीहरू ।
(४) नेपालमा रहेका सम्पत्ति वा नेपालमा बहन गर्नु पर्ने दायित्व समावेश भएकोमा सो सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको लाभ वा नोक्सानीको स्रोत नेपालमा रहेको मानिनेछ ।
(५) आय निर्धारण गर्दा कट्टी गरिएका रकमहरूमा देहायका रकमहरू समावेश भएकोमा त्यस्ता रकमहरूको स्रोत नेपालमा भएको मानिनेछ:-
(क) नेपालमा रहेका सम्पत्तिहरूका सम्बन्धमा दफा १५ को उपदफा (१) मा उल्लिखित लागतको खर्च कट्टी गर्न पाउने रकम,
(ख) नेपालमा रहेका सम्पत्तिका सम्बन्धमा दफा १६ को उपदफा (१) बमोजिमका खर्चहरू तथा दफा १९ बमोजिम कट्टी गर्न पाउने हदसम्मका खर्च रकमहरू, र
(ग) खण्ड (क) र (ख) का अधीनमा रही नेपालमा स्रोत रहेका भुक्तानीहरू।
(६) देहायका भुक्तानीहरूको स्रोत नेपालमा रहेको मानिनेछ:
(क) बासिन्दा निकायबाट भुक्तानी दिइएको लाभांशहरू,
(ख) बासिन्दा व्यक्तिबाट तिरिएको ब्याज,
(ग) नेपालमा रहेको जमिनबाट प्राप्त प्राकृतिक स्रोतका सम्बन्धमा गरिएको वा त्यस्तो स्रोतको सन्दर्भमा गणना गरिएको प्राकृतिक स्रोत बापतको भुक्तानी,
(घ) नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग बापत भुक्तानी गरिएको बहाल रकम,
(ङ) कुनै व्यक्तिले नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग कसैलाई गर्न दिए बापत वा सम्पत्ति प्रयोग गर्न अधिकार वा त्यस्तो सम्पत्ति प्रयोग नगर्ने बन्देज माने बापत प्राप्त गरेको रोयल्टी,
(च) कुनै व्यक्तिबाट नेपालमा रहेको जोखिमको बीमा सम्बन्धमा भुक्तानी गरिएको साधारण बीमा बापतको रकम र सो व्यक्तिलाई साधारण बीमा बापत बुझाइएको प्रिमियम,
(छ) कुनै व्यक्तिले अन्तर चलान (ट्रान्ससिपमेन्ट) गरेको परिणाम स्वरूप बाहेक नेपालमा स्थल सामुद्रिक वा हवाई यातायात वा चार्टर सेवा व्यवसाय सञ्चालन गरी देहाय बमोजिम प्राप्त गरेको भुक्तानी:-
(१) प्रस्थान गर्ने यात्रुहरूको ओसारपसार गर्ने, वा
(२) डाक, पशुपंक्षी वा अन्य प्रत्यक्ष चल सम्पत्ति चलान गर्ने ।
(ज) तार, रेडियो, अप्टिकल फाइबर वा भू-उपग्रह जस्ता सञ्चारको माध्यमबाट खबर वा सूचना सम्प्रेषण गर्ने व्यवसाय सञ्चालन गर्ने व्यक्तिले त्यस्ता खबर वा सूचना नेपालमा उत्पत्ति भएको वा नभएको जे भए पनि नेपालमा स्थापित संयन्त्रहरूबाट खबर वा सूचनाको सम्प्रेषणका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको भुक्तानी,
(झ) [रोजगार] 1 गर्न वा सेवा प्रदान गर्न वा सो कार्यहरूमा बन्देज माने बापत खण्ड (छ) वा (ज) मा उल्लेख नगरिएका किसिमका सेवा शुल्क लगायतका देहायका अवस्थाका भुक्तानीहरू:-
(१) भुक्तानीको स्थान जहाँसुकै भए पनि नेपालमा सो कार्यहरू भएमा, वा
(२) रोजगार जहाँसुकै भए पनि नेपाल सरकारले भुक्तानी दिने भएमा ।
(ञ) बासिन्दा व्यक्तिबाट भुक्तानी गरिएका खण्ड (झ) भित्र नपर्ने वार्षिक वृत्तिको रकम, लगानी बीमा बापतको रकम र अवकाश भुक्तानीको रकम तथा त्यस्तो रकमहरू सुनिश्चित गर्न बासिन्दा व्यक्तिलाई दिएको कुनै प्रिमियम वा अन्य भुक्तानी,
(ट) नेपालमा रहेको सम्पत्तिबाट सञ्चालित व्यवसाय वा लगानीका सम्बन्धमा प्राप्त गरिएका उपहारहरू, र
(ठ) माथि खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (झ), (ञ) र (ट) मा उल्लेख भए बाहेकका देहायका भुक्तानीहरू:-
(१) नेपालमा रहेको सम्पत्तिको निःसर्गको सम्बन्धमा वा नेपालमा बहन गर्नु पर्ने दायित्व प्राप्त गर्ने सम्बन्धमा गरिएका भुक्तानीहरू, वा
(२) नेपालमा सञ्चालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरू।
(७) माथिका उपदफाहरूमा लेखिए बमोजिम नेपालमा स्रोत भएका मानिने बाहेक कुनै आय, नोक्सानी, रकम लाभ वा भुक्तानीलाई विदेशी स्रोत भएको मानिनेछ र त्यस्तो आय, नोक्सानी, रकम, लाभ वा भुक्तानीको स्रोत कुन विदेशी मुलुकमा रहेको छ भन्ने कुरा यकिन गर्ने प्रयोजनका लागि यस ऐनमा नेपाल भनी उल्लेख भएका सन्दर्भहरू कुनै खास विदेशी मुलुकको हकमा उल्लेख भएको सन्दर्भ सरह मानी लागू हुनेछन् ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,-
(क) "नेपालमा रहेको सम्पत्ति भन्नाले नेपालमा रहेका जग्गा जमिन वा भवनहरू तथा बासिन्दा व्यक्तिको कुनै विदेशी राष्ट्रमा रहेका जग्गा जमिन वा भवन बाहेकका सम्पत्ति वा सो व्यक्ति दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकायसँग सम्बद्ध रहेमा सो निकायमा रहेको निजको हित समेत सम्झनु पर्छ ।
(ख) "नेपालमा बहन गर्नु पर्ने दायित्व" भन्नाले बासिन्दा व्यक्तिको दायित्व सम्झनु पर्छ ।
६८. विदेशी स्थायी संस्थापनहरू
(१) दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनका अन्य व्यवस्थाहरूको अधीनमा रही गैरबासिन्दा व्यक्तिको नेपालस्थित कुनै विदेशी स्थायी संस्थापनको आयमा लाग्ने कर दाखिला गर्ने जिम्मेवारी सोही संस्थापनको हुनेछ।
(२) विदेशी स्थायी संस्थापनको आयबाट दफा ६९ बमोजिम सो संस्थापनको स्वामित्व भएको व्यक्तिको आय छुट्याउनु पर्नेछ ।
(३) गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा दफा ३ को खण्ड (ख) मा उल्लेख भए बमोजिमको स्थायी संस्थापन उपर कर लाग्नेछ ।
(४) गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले कुनै आय वर्षमा विदेश पठाएको आय सो विदेशी स्थायी संस्थापनले सो वर्षमा वितरण गरेको लाभांश रकम बराबर हुनेछ ।
६९. नियन्त्रित विदेशी निकायहरू
(१) कुनै निकायले कुनै आय वर्षको अन्त्यमा नियन्त्रित विदेशी निकायको रूपमा सो निकायले सो वर्षमा भएको सम्बद्ध आयको लाभांश वितरण गरेमा आफ्ना हिताधिकारीहरूलाई समानुपातमा देहाय बमोजिम लाभांश वितरण गरेको मानिनेछ:-
(क) लाभांश वितरण गर्दा सो आयमा रहने सो हिताधिकारीहरूको अधिकार अनुसार, वा
(ख) ती अधिकारहरू मनासिव रूपमा निश्चित नभएमा विभागले परिस्थिति अनुरूप उपयुक्त ठानेको तरिका अनुसार ।
(२) कुनै आय वर्षको अन्त्यमा नियन्त्रित विदेशी निकायको रूपमा रहेको निकायबाट सो आय वर्षमा उपदफा (१) बमोजिम बाहेक वितरण गरिएका लाभांशहरूमा कर लाग्ने छैन ।
(३) लाभांश वितरणको समयमा नियन्त्रित विदेशी निकायसँग सम्बद्ध रहेका हिताधिकारीहरूलाई सो निकायबाट उपदफा (१) बमोजिम वितरण गरिएको मानिने लाभांशको सम्बन्धमा देहाय बमोजिम भएको मानिनेछः-
(क) सो निकायको सम्बद्ध आयको किसिम र स्रोत सरहको विशेषता भएको, र
(ख) सो निकायको सम्बद्ध आयको प्रत्येक किसिम र स्रोतमध्येबाट समानुपातिक रूपमा वितरण गरेको ।
(४) उपदफा (३) बमोजिम वितरण गरिएको मानिने रकमका सम्बन्धमा उपदफा (५) वा दफा ५२ को उपदफा (५) बमोजिम दाखिला गरिएको मानिने समेत कुनै नियन्त्रित विदेशी निकायबाट दाखिला गरिएको कुनै कर सो निकायसँग सम्बद्ध हिताधिकारीका लागि छुट्याउनु पर्नेछ ।
(५) बाँडफाँडको समयमा उपदफा (४) बमोजिम छुट्याइएको कर हिताधिकारीले दाखिला गरेको मानिनेछ र त्यस्तो करका लागि हिताधिकारीले दफा ७१ मा व्यवस्था गरिए बमोजिम कर मिलान गर्ने सुविधा पाउन सक्नेछ ।
(६) वितरणको समयमा उपदफा (१) बमोजिम हिताधिकारीलाई वितरण गरिएको मानिने रकमलाई सो प्रापक हिताधिकारीको सो वितरण गर्ने निकायमा हितको रूपमा रहेको कुनै सम्पत्ति वा दायित्व बापतको खर्चमा समावेश गर्नु पर्नेछ ।
(७) वितरणको समयमा उपदफा (२) बमोजिम कर छुट पाउने हिताधिकारीलाई वितरण गरिएको लाभांशलाई प्रापक हिताधिकारीको सो वितरण गर्ने निकायमा हितको रूपमा रहेको कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानीमा समावेश गर्नु पर्नेछ।
(८) यस ऐनको प्रयोजनको लागि दाखिला गरेको विदेशी आयकरलाई वा उपदफा (५) वा दफा ५२ को उपदफा (५) बमोजिम कुनै नियन्त्रित विदेशी निकायले दाखिला गरे सरह मानिएको विदेशी आयकरलाई सो निकायले यस ऐन बमोजिम दाखिला गरेको वा दाखिला गरे सरह मानिएको कर रकम मानिनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि, -
(क) "सम्बद्ध आय" भन्नाले कुनै आय वर्षमा कुनै नियन्त्रित विदेशी निकायको करयोग्य आय गणना गर्दा सो निकायलाई बासिन्दा निकाय भए सरह मानी गणना गरिएको करयोग्य आय सम्झनु पर्छ ।
(ख) "नियन्त्रित विदेशी निकाय" भन्नाले कुनै आय वर्षमा कुनै बासिन्दा व्यक्तिको प्रत्यक्ष रूपमा वा एक वा बढी मध्यस्थ गैरबासिन्दा निकायहरूको माध्यमबाट अप्रत्यक्ष रूपमा हित रहेको कुनै गैरबासिन्दा निकायलाई जनाउँछ र सो व्यक्ति सो निकायसँग सम्बद्ध रहेको छ वा सो सम्बद्ध मानिने व्यक्ति तथा अन्य बढीमा चार बासिन्दा व्यक्तिहरू सो निकायसँग सम्बद्ध भएको भए त्यस्तो निकायलाई पनि नियन्त्रित विदेशी निकाय सम्झनु पर्छ ।
७०. नेपालमा जल यात्रा हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैरबासिन्दालाई लाग्ने कर
(१) जलयात्रा सञ्चालन, चार्टर सेवा सञ्चालन वा हवाई यातायात सञ्चालन गर्ने गैरवासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा सो बर्षमा अन्तर चलान ( ट्रान्ससिपमेन्ट) बाट प्राप्त रकम बाहेक देहायका कार्यहरूबाट प्राप्त रकमहरू समावेश गर्नु पर्नेछ:-
(क) नेपालबाट प्रस्थान हुने यात्रुहरूको ओसारपसार, वा
(ख) नेपालबाट चलान गरिएको डाँक, पशुपंक्षी वा मालसामानको ओसारपसार ।
(२) तार, रेडियो, अप्टिकल फाइबर वा भू-उपग्रह सञ्चारको व्यवसाय सञ्चालन गर्ने गैरबासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा नेपालमा स्थापित संयन्त्रबाट गरिएको नेपालमा उत्पत्ति भएको वा नभएको खबर बा सूचनाको सम्प्रेषणबाट प्राप्त रकमहरू समावेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा समावेश गरिने रकमहरूमा अनुसूची-१ को दफा २ को उपदफा (७) मा तोकिएको दरले कर लाग्नेछ ।
तर,
(क) सो व्यक्तिको कुनै बाँकी करयोग्य आयका सम्बन्धमा दाखिला गर्नु पर्ने कर गणना गर्दा ती रकमहरूलाई गणना गर्नु पर्ने छैन,
(ख) ती रकमहरूको गणनासँग सम्बन्धित खर्चहरू सो बाँकी करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने छैन, र
(ग) ती रकमहरूका सम्बन्धमा यस दफा बमोजिम सो व्यक्तिबाट दाखिला गर्नु पर्ने कर रकमबाट सो व्यक्तिले कुनै पनि कर मिलान गर्ने सुविधा पाउने छैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "गैरबासिन्दा व्यक्ति" भन्नाले नेपाल बाहिर मुख्य कार्यालय रहेको सम्बद्ध निकायहरूको समूहभित्र रहेको बासिन्दा निकाय सम्झनु पर्छ ।
७१. वैदेशिक कर मिलान
(१) कुनै बासिन्दा व्यक्तिले कुनै आय वर्षमा दाखिला गरेको कुनै विदेशी आयकर सो व्यक्तिको निर्धारणयोग्य विदेशी आय बापत दाखिला गरिएको करको हदसम्म सो आय वर्षमा सो विदेशी आयकर बापत कर मिलानको दाबी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दाबी गरिएको विदेशी कर मिलानको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:-
(क) प्रत्येक देशको स्रोतको निर्धारणयोग्य विदेशी आयका लागि छुट्टाछुट्टै गणना गर्नु पर्नेछ, र
(ख) प्रत्येक गणनाका सम्बन्धमा सो वर्षमा उक्त व्यक्तिको नेपालको करको औसत दरभन्दा निर्धारणयोग्य विदेशी आयका हकमा बढी करको दरले सो विदेशी कर मिलानको दाबी गर्न पाइने छैन।
(३) उपदफा (२) को खण्ड (ख) मा व्यवस्था गरिएको सीमाको कारणले उपदफा (१) बमोजिम विदेशी कर मिलान गर्न पाउने सुविधा प्रदान नगरिने कुनै व्यक्तिको निर्धारणयोग्य विदेशी आयका सम्बन्धमा दाखिला गरेको कुनै विदेशी आयकरलाई देहाय बमोजिम गर्न पाइनेछः-
(क) आगामी वर्षमा सार्न सकिने, र
(ख) यस्तो विदेशी आय भएको देशमा स्रोत रहेको सो व्यक्तिको भावी आय वर्षको निर्धारणयोग्य विदेशी आयका सम्बन्धमा दाखिला गरेको मानिने ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षको लागि कुनै व्यक्तिले सो वर्षमा पाउने विदेशी कर मिलानको दाबी छोड़ी यस्तो मिलान सुविधा उपलब्ध रहेको विदेशी आयकर बापतको रकम खर्च दाबी गर्न पनि सक्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,-
(क) "निर्धारणयोग्य विदेशी आय भन्नाले कुनै आय वर्षमा कुनै बासिन्दा व्यक्तिको सो वर्षमा कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको सो व्यक्तिको निर्धारणयोग्य आयमा समावेश गरिने देहाय बमोजिमको आय सम्झनु पर्छ:-
(१) विदेशी स्रोतबाट भएको आय, वा
(२) जुनसुकै स्रोतको भए तापनि दफा ६९ अन्तर्गत सो बासिन्दा व्यक्तिलाई वितरण गरिएको मानिने गैरबासिन्दा व्यक्तिको आय ।
[(ख) "नेपालको करको औसत दर" भन्नाले कुनै आय वर्षमा कुनै विदेशी कर मिलान गर्नु अगावैको दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले त्यस्तो वर्षमा दाखिला गर्नु पर्ने करको रकमलाई त्यस्तो व्यक्तिको उक्त आय वर्षको करयोग्य आयले भाग गरी हुन आउने रकमलाई एक सयले गुणन गर्दा हुन आउने दर सम्झनु पर्छ । ] 2
-
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधित । साविकमाः “सो कार्यहरू” भन्ने शब्दहरु रहेका । ↩
-
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई त्यसपछिका आर्थिक अध्यादेश र आर्थिक ऐनहरुबाट निरन्तरता कायम भएको र आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम। मूल ऐनको व्यवस्थाः
“(ख) “नेपालको करको औसत दर” भन्नाले कुनै आय वर्षमा कुनै व्यक्तिको कुनै विदेशी कर मिलान गर्नु अगावै सो वर्षमा सो व्यक्तिको करयोग्य आयको दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले सो वर्षमा दाखिला गर्नु पर्ने करको गणना गरिने नेपालको करको दर सम्झनु पर्छ ।” ↩