Skip to content

परिच्छेद ५ कारोबारको अभिलेख

२३. अभिलेख राख्नु पर्ने

(१) दर्ता भएको व्यक्तिले ऐन र यस नियमावलीको प्रयोजनको निमित्त देहायका सूचना, कागजात तथा विवरणहरूको अभिलेख राख्नु पर्नेछ:
  (क) अनुसूची ७ बमोजिमका सूचनाहरू,
  (ख) व्यापार, लेखा, नगद प्राप्ति र भुक्तानी सम्बन्धी अभिलेख,
  (ग) आफूले जारी गरेका कर बीजक तथा संक्षिप्त कर बीजकहरू,
  (घ) आफूले प्राप्त गरेका कर बीजक तथा संक्षिप्त कर बीजकहरू,
  (ङ) आफूले गरेको आयात र निर्यातसँग सम्बन्धित सम्पूर्ण कागजातहरू,
  (च) आफूले खरिद र बिक्री गरेका वस्तु तथा सेवाको मूल्यमा घटबढ भएको प्रमाणित गर्ने सम्पूर्ण डेबिट तथा क्रेडिट नोट र अन्य तत्सम्बन्धी कागजातहरू,
  [(छ) अनुसूची ८ बमोजिमको खरिद खाता,] 1
  [(ज) अनुसूची ९ बमोजिमको बिक्री खाता ।] 2

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष प्रकारको व्यापार वा व्यवसायका निमित्त उक्त उपनियममा उल्लेख भएकामध्ये कुनै अभिलेखहरू मात्र दर्ता भएको व्यक्तिले अभिलेखको रूपमा राख्नु पर्ने गरी विभागले तोक्न सक्नेछ ।

(३) दर्ता भएको व्यक्तिले यस नियम बमोजिम राख्नु पर्ने अभिलेखहरू बिभागको अनुमति लिई कम्प्युटर वा यस्तै अन्य यान्त्रिक प्रणाली वा विभागले तोकिदिए बमोजिमको तरिका अपनाई राख्न सक्नेछ ।

(४) यस नियम बमोजिम दर्ता भएको व्यक्तिले राखेको अभिलेख कर अधिकृतले कारोबार समयमा जुनसुकै बखत हेर्न सक्नेछ । स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि "कारोबार समय" भन्नाले सार्वजनिक बिदा बाहेक कारोबार खुल्ने तथा बन्द हुने समयको बीचको अवधि सम्झनु पर्छ ।

(५) उपनियम (४) बमोजिम कर अधिकृतले अभिलेख जाँच गर्ने सिलसिलामा मागेको अभिलेखसँग सम्बन्धित विवरण तथा कागजात दर्ता भएको व्यक्तिले आफ्नै खर्चमा मुद्रण गरी उपलब्ध गराउनु पर्नेछ ।

(६) उपनियम (४) बमोजिम कर अधिकृतले अभिलेख जाँच गर्दा निजलाई सहयोग पुयाउनको निमित्त आवश्यक कर्मचारीहरू उपलब्ध गराउने कर्तव्य दर्ता भएको व्यक्तिको हुनेछ ।

(७) यस नियम बमोजिम राखिएका अभिलेखहरू दर्ता भएको व्यक्तिले ६ वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।

२४. नमूनाको लागि वितरण गरिएको वा बिना मूल्यमा प्राप्त वस्तुको विवरण

नियम २३ मा उल्लिखित अभिलेखहरूका अतिरिक्त दर्ता भएको व्यक्तिले कारोबारसँग सम्बन्धित देहायका विवरणहरू समेत राख्नु पर्नेछः
(क) व्यवसाय प्रवर्द्धनको लागि नमूनाको रूपमा [प्राप्त भएका तथा] 3 वितरण गरिएको वस्तुको विवरण |
(ख) बिना मूल्य प्राप्त भएका [तथा वितरण गरिएका] 4 वस्तुको विवरण |

[२५. खरिद तथा बिक्री खाता प्रमाणित सम्बन्धी व्यवस्था] 5

(१) ऐनको दफा १६ को उपदफा (३) बमोजिम खरिद तथा बिक्री कारोबारको प्रत्येक कर अवधिको अभिलेख करदाता स्वयंले प्रमाणित गरेको खरिद तथा बिक्री खातामा राख्नु पर्नेछ ।

(२) विद्युतीय माध्यमबाट बीजक जारी गर्न अनुमति लिएको करदाता विभागले तोकेको अन्य करदाताले नियम २६ बमोजिम प्रत्येक कर अवधिको कर विवरण पेश गर्दा खरिद तथा बिक्री कारोबारको विवरण विभागले तोकेको ढाँचामा विद्युतीय माध्यमबाट पेश गर्नु पर्नेछ ।


  1. तेइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि "(छ) अनुसूची ८ र अनुसूची ९ मा उल्लेख भए बमोजिमका खरिद तथा बिक्री खाताहरू ।" भन्ने शब्दहरु रहेका। 

  2. तेइसौं संशोधनद्वारा थप । 

  3. दशौं संशोधनद्वारा थप । 

  4. दशौं संशोधनद्वारा थप । 

  5. तेइसौं संशोधनद्वारा संशोधित ।
    (१) मूल नियमको व्यवस्था “ २५ खरिद तथा बिक्री खाता प्रमाणित सम्बन्धी व्यवस्थाः ऐनको दफा १६ को उपदफा (३) बमोजिम कर अधिकृतले खरिद तथा बिक्री खाता प्रमाणित गर्दा देहाय बमोजिम प्रमाणित गर्नु पर्नेछ:
    (क) करदाताले खरिद तथा बिक्री खाता प्रमाणित गर्नको लागि कार्यालयमा निवेदन दिएमा,
    (ख) कर परीक्षण वा जाँचको अवधिमा,
    (ग) निरीक्षणको समयमा ।

    (२) सत्रौं संशोधनद्वारा देहायको प्रतिबन्धात्मक व्यवस्था थपः “तर कम्प्युटर बीजक जारी गर्न अनुमति लिएको करदाताको कम्प्युटर प्रणालीबाट नै स्वतः बिक्री खाता तयार हुने भएमा बिक्री खाता प्रमाणित गराउनु पर्ने छैन ।

    (३) बाइसौं संशोधनद्वारा “कम्प्युटर बीजक जारी गर्न” भन्ने शब्दहरुको सट्टा “विद्युतीय माध्यमबाट बीजक जारी गर्न" भन्ने शब्दहरु र "कम्प्युटर प्रणालीबाट” भन्ने शब्दहरुको सट्टा “विद्युतीय प्रणालीबाट” भन्ने शब्दहरु राखी संशोधन भएको ।