परिच्छेद २१ लगानीबाट भएको आयको गणना
२१.१
आयकर ऐन, २०५८ मा व्यवसाय, रोजगारी, लगानी तथा आकस्मिक लाभलाई आयको शीर्षकको रूपमा उल्लेख गरेको छ । उल्लिखित आयका शीर्षकमध्ये लगानीको आय एक रहेको छ । सामान्यतयाः लगानीको आय प्राकृतिक व्यक्तिले गर्ने गर्दछन् । लगानीको सन्दर्भमा लगानी गर्ने व्यक्ति सामान्यतयाः निस्क्रिय (Passive) हुने र कम्पनी आय आर्जन गर्ने कार्यमा निस्क्रिय (Passive) नरहने हुनाले कम्पनीको सामान्यतयाः लगानीको आय हुँदैन । लगानीको आय गणना गर्ने प्रयोजनको लागि आयआर्जन गर्ने कार्यसँग सम्बन्धित खर्चलाई ऐनमा स्पष्ट रूपमा अन्यथा उल्लेख भएको अवस्थामाबाहेक खर्चको रूपमा कट्टी दाबी गर्न सकिने व्यवस्था रहेको छ । यसरी खर्च कट्टी दाबी गर्ने प्रयोजनको लागि ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्तअनुरूप हुने व्यवस्था गरेको छ । लगानीबाट भएको आयको गणना तथा खर्चको व्याख्या यस परिच्छेदमा गरिएको छ ।
२१.२ मुख्य परिभाषा
२१.२.१ लगानीको परिभाषा
आयकर ऐन, २०५८ को दफा ५ बमोजिम कुनै आय वर्षको आय व्यवसाय, रोजगारी, लगानी र आकस्मिक लाभशीर्षकमा वर्गीकरण गरेको छ । ऐनको दफा २ (कख) ले “लगानी” लाई निम्नानुसार परिभाषित गरेको छ :
२(कख) “लगानी” भन्नाले देहाय बमोजिमबाहेक एक वा एक भन्दा बढी सम्पत्ति धारण गर्ने वा त्यस्तो सम्पत्ति लगानी गर्ने कार्य सम्झनुपर्छ:
(१) सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य,
(२) रोजगारी वा व्यवसाय ।
तर गैर व्यावसायिक करयोग्य सम्पत्ति राख्ने कार्य लगानी मानिने छ ।
सम्पत्ति धारण (Holding) गरी आयआर्जन गर्ने कार्यलाई लगानी भनिन्छ । सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य वा रोजगारी वा व्यवसायमा प्रयोग गरिएको सम्पत्तिबाहेकका सम्पत्तिमा स्वामित्व राख्ने एवम् गैर व्यावसायिक करयोग्य सम्पत्ति राख्ने कार्य जस्ता कार्यलाई लगानी भनिन्छ । सामान्यतयाः लगानीको आय आर्जन गर्ने कार्यमा आय आर्जन गर्ने व्यक्तिको निरन्तर सहभागिता (Active Engagement ) रहदैन । लाभांश, व्याज, प्राकृतिक स्रोत वापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्ग (Disposal) बाट प्राप्त खुद लाभ जस्ता आय लगानीको आय वा प्रतिफल हुन्छ । सामान्यतयाः यस्ता आय आर्जन गर्ने व्यक्तिको सो आय आर्जन गर्ने सन्दर्भमा निरन्तर सहभागिता अनिवार्य छैन ।
कुनै कारोबार लगानी मानिन सम्पत्ति धारणको प्रकृतिलाई ध्यान दिनुपर्छ । सामान्यतयाः लगानीको प्रयोजनको लागि धारण गरिएको सम्पत्ति लामो समयसम्म धारण गरिन्छ । लगानीमा सोही सम्पत्तिबाट आय हुने तथा व्यवसायमा सो सम्पत्ति किनबेच वा अन्य तवरले प्रयोग गरी आय आर्जन गरिने हुन्छ । लगानी र व्यवसायको आयमा धेरै हदसम्म समानता रहे पनि लगानी वा व्यवसायको लागि धारण गरिने उद्देश्य (Intention) महत्वपूर्ण रहन्छ । तथापि निकायको हकमा भने सामान्यतयाः लगानीको आय हुँदैन ।
२१.२.२ गैर व्यावसायिक करयोग्य सम्पत्ति
ऐनको दफा २ को खण्ड (द) अनुसार " गैर व्यावसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्ति बाहेकका जग्गा, घरजग्गा तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्झनु पर्छ:
२(द)(१) व्यावसायिक सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापारिक मौज्दात,
(क) व्यावसायिक सम्पत्ति: व्यावसायिक सम्पत्ति भन्नाले व्यवसायमा प्रयोग गरिएका Trading stock अर्थात बिक्रीको प्रयोजनको लागि रहेको सम्पत्ति र ह्रासयोग्य सम्पत्ति बाहेकका सम्पूर्ण सम्पत्तिलाई जनाउँछ । उदाहरणका लागि व्यवसायको स्वामित्वमा रहेको जग्गा, व्यवसायले लगानी गरेको शेयर, डिबेन्चर, व्यवसायले असुल गर्नुपर्ने आसामी आदिव्यावसायिक सम्पत्ति हुन् ।
(ख) ह्रासयोग्य सम्पत्ति: ह्रासयोग्य सम्पत्ति भन्नाले आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट वा पुरानो हुँदै गएको वा समय व्यतित हुँदै गएको कारणबाट मूल्यमा ह्रास हुने सम्पत्तिलाई सम्झनु पर्दछ । तर, यस शब्दले व्यापारिक मौज्दातलाई भने जनाउँदैन ।
उदाहरण २१.२.१
मानौं, हरिसले आफ्नो निजी प्रयोगको लागि पोखरामा घर किनेको रहेछ । उक्त घरबाट आय आर्जन गर्ने हेतुले हरिस लगानी केन्द्र खोली उक्त घर भाडामा दिई आय आर्जन गर्ने गरेको रहेछ । उक्त घरको मूल्यमा ऐन अनुसार हास खर्च कट्टा गरेको र ह्रास खर्च कट्टा गरी बाँकी हुन आउने रकम वासलातमा देखाएको रहेछ । यस्तो अवस्थामा लगानी प्रयोजनका लागि प्रयोग गरिएको सम्पत्ति अर्थात घरको प्रयोग गरे वापत हुन आउने टुटफुट वापत उपलब्ध गराइएको ह्रास खर्च कट्टा गरी देखाइएको घरको किताबी मूल्य अनुसारको सम्पत्तिलाई हासयोग्य सम्पत्ति भनिन्छ ।
(ग) व्यापारिक मौज्दात (Trading Stock): बिक्री गर्ने वा उत्पादन गर्नको लागि उपभोग गरिने उद्देश्यले राखिएको सम्पत्तिलाई व्यापारिक मौज्दात भनिन्छ । कुनै व्यक्तिको स्वामित्वमा रहेको एवम् निजद्वारा सञ्चालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति (Work in progress ) र यस्ता सम्पत्तिमा प्रयोग हुने सामग्री, जस्तै Packing Materialको मौज्दातलाई व्यापारिक मौज्दात बुझिन्छ ।
उदाहरण २१.२.२
मानौं, हाडा फर्निचर प्रा. लि. ले फर्निचर खरीद बिक्री गर्ने कार्य गर्दछ । निजले आ.व.२०६५/०६६ मा रु.१,००,०००/- को दश वटा मेच खरीद गरेको रहेछ र सोमध्ये ६ वटा मेच रु.७०,०००/- मा बिक्री गरेको रहेछ भने सो आ.व.मा बिक्रीको लागि राखिएको १० वटा मेच उक्त प्रा. लि. को व्यापारिक मौज्दात हो । सो व्यापारिक मौज्दातमध्ये ६ वटा मेच निजले बिक्री गरेको हुँदा बाँकी हुन आउने अन्तिम मौज्दातमा रहेको मेच थान ४ वटा भने व्यापारिक मौज्दात मानिन्छ ।
२(द)(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन:
(क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र
(ख) त्यस्तो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको,
स्पष्टीकरणः यस उपखण्डको प्रयोजनको लागि निजी भवन भन्नाले भवन, भवनले ओगटेको जग्गा र सो भवनले ओगटेको क्षेत्रफल बराबरको थप जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ त्यसलाई सम्झनु पर्छ ।
गैर व्यावसायिक करयोग्य सम्पत्तिमा जग्गा, भवन तथा कुनै निकायमा रहेको हित (जस्तै, शेयर, डिबेञ्चर, आदि) पर्दछन् भने सुन, चाँदी, मोटर आदि अन्य सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्तिमा पर्दैनन् ।
- व्यावसायिक प्रयोजनमा उपभोग भएका सम्पत्ति अन्तर्गत ह्रासयोग्य (Depreciable) सम्पत्ति (जस्तैः भवन, मेशिनरी, गाडी, आदि) तथा गैर ह्रासगोग्य (Non-depreciable)सम्पत्ति (जस्तैः जग्गा, शेयर, आदि) पर्दछन् । तर व्यवसायको आयआर्जन गर्ने कार्यमा प्रयोग नभएको अर्थात सो व्यक्तिले धारणमात्र गरेको गैर ह्रासयोग्य सम्पत्ति (जस्तै, जग्गा, शेयर, आदि) भने गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छन् । यसको अलावा व्यापारिक मौज्दात ( Stock in Trade) अर्थात बिक्रीको प्रयोजनको लागि धारण गरिएको सम्पत्तिलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैन ।
- कुनै प्राकृतिक व्यक्तिको अविच्छिन्न (लगातार) दश वर्ष वा सो भन्दा बढी स्वामित्व (Ownership) रहेको र सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको निजी भवन ( Personal House) लाई व्यक्तिगत सम्पत्ति मानिएको छ । कुनै व्यक्तिको निजी भवन गैर व्यावसायिक करयोग्य सम्पत्ति नमानिन सो व्यक्तिले सो भवन अविच्छिन्न दश वर्ष वा सो भन्दा बढी आफ्नो स्वामित्व (Ownership)मा राखेको हुनुपर्ने र सो व्यक्ति त्यस्तो भवनमा अविच्छिन्न वा पटक पटक गरी दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको (दुवै अवस्था पूरा गरेको) हुनु अनिवार्य रहेको छ ।
- कुनै प्राकृतिक व्यक्तिको दश लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग (Dispose) गरेको जग्गा तथा निजी भवन पनि गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैन ।
- तीनपुस्ताभित्र भएको खरीद बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति | अन्य किसिमले हस्तान्तरण भन्नाले सामान्तयाः अंशबण्डा, अपुताली, बकसपत्र, आदि पर्दछ । तीनपुस्ता बाहेक अन्यबाट बकसपत्र जस्ता प्रकृयाबाट हस्तान्तरण गरिएको सम्पत्तिको हकमा भने त्यस्ता सम्पत्तिलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ ।
- तर निजी भवन भएको जग्गाका हकमा भवनले ओगटेको जग्गा र सो भवनले ओगटेको क्षेत्रफल बराबरको थप जग्गावा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ सो जग्गामात्र निजी भवनको मूल्यांकनमा समावेश हुन्छ । गैर व्यावसायिक करयोग्य सम्पत्ति सम्बन्धमा विस्तृत व्याख्या यस निर्देशिकाको परिच्छेद २ मा गरिएको छ ।
२(द)(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,
अवकाश कोषमा योगदान गर्ने हरेक व्यक्ति अवकाश कोषमा रहेको लगानीको सन्दर्भमा हिताधिकारी हुन्छन् । यसरी हिताधीकारीको उक्त अवकाश कोषमा रहेको हितलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैन । उक्त व्यक्तिको अवकाश कोषबाहेक अन्यत्र निकायमा रहेको लगानीलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ ।
उदाहरण २१.२.३
मानौं, राम प्रसादले रोजगारदाताबाट स्वतन्त्र रूपमा सञ्चालित अवकाश कोषमा हरेक महिना रु.४,०००/- योगदान गर्ने गरेका रहेछन् । साथै, निजले कुनै एक वित्तीय संस्थामा रु. १ लाखको शेयर खरीद गरेका रहेछन् भने अवकाश कोषमा योगदान गरी जम्मा रहेको रकमलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैन । तर, निजको वित्तीय संस्थाको शेयरमा लगानी भने गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ ।
२(द)(४) कुनै प्राकृतिक व्यक्तिको दश लाख रुपैयाँ भन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा, घर जग्गा तथा निजी भवन,
कुनै प्राकृतिक व्यक्तिले जग्गा तथा निजी घर निःसर्ग गर्दा रु.१० लाख भन्दा कम मूल्यमा निःसर्ग गरेको छ भने त्यस्तो सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैन । सो भन्दा बढी मूल्यमा निःसर्ग गरेको भए सो सम्पत्ति निःसर्गबाट प्राप्त रकमलाई गैर व्यावसायिक करयोग्य आय मानिन्छ ।
उदाहरण २१.२.४
मानौं, सुरेशले मिति २०६०।०३।३२ मा रु. २० लाखमा एक घर किनेका रहेछन् र उक्त घर मिति २०७५ । ५ १० गते रु.८० लाखमा बिक्री गरेका रहेछन् भने यसरी रु.१० लाख भन्दा बढी मूल्यमा निःसर्ग गरेको हुँदा यसरी प्राप्त गरिएको रकमलाई गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्ग मानिन्छ र ऐनको दफा ३७ अनुसार गणना गरी हुन आउने | लाभलाई गैर व्यावसायिक करयोग्य आय मानी लगानीको आय गणना गर्दा समावेश गर्नुपर्दछ । तर यदि निजले सो घर रु.१० लाख भन्दा कम मूल्यमा बिक्री गरेका रहेछन् भने त्यस्तो घर भने गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैन र निजको लगानीको आयमा समावेश गर्नु पदैन ।
२(द)(५) तीनपुस्ताभित्र भएको खरीद बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति ।
साधारणतया तीनपुस्ताभित्र खरीद बिक्री नभई अंशबण्डा, बकसपत्र आदि मार्फत सम्पत्तिको हस्तान्तरण गर्ने गरिन्छ । तर कहिलेकाँही तीनपुस्ताभित्र पनि सम्पत्तिको खरीद बिक्री हुने हुँदा यसरी बिक्री गरिएको सम्पत्तिको बिक्री मूल्य रकमलाई गैर व्यावसायिक करयोग्य आय मानिन्छ । तर तीन पुस्ताभित्र बिक्री गरिएको सम्पत्तिको मूल्य रु.१० लाखभन्दा कम भएमा सो सम्पत्तिलाई व्यावसायिक करयोग्य नमानी निजी सम्पत्ति मानिन्छ ।
२१.३ लगानीको आयको लेखाइन
२१.३.१ कर लेखाइन र समय
प्राकृतिक व्यक्तिले आफ्नो रोजगारी र लगानीको आयको लेखाइन नगद आधार (Cash Basis) मा गर्नु पर्दछ । कम्पनीले आफ्नो आय Accrual Basisमा नै लेखाङ्कन गर्नुपर्ने हुन्छ । अन्य व्यक्तिको हकमा भने प्रचलित लेखा व्यवस्थाको अधारमा नगद वा एकुलको आधारमा लेखाड़न गर्न सकिन्छ । यसरी प्रयोग गरिने लेखाङ्गन नीति लेखाको सर्वमान्य सिद्धान्त बमोजिम निरन्तर रूपमा (Consistently) पालन गर्नुपर्ने हुन्छ । प्रचलित लेखामान अनुसार एवम् ऐनको दफा२२ को उपदफा (५) बमोजिम समेत लेखाइन तरिकामा सामान्यतयाः परिवर्तन गर्न पाईदैन । तथापि प्रचलित Industrial Practices को आधारमा लेखाइन तरिका परिवर्तन गर्न आवश्यक लागेको खण्डमा प्राकृतिक व्यक्तिले विभाग समक्ष निवेदन दिन सक्नेछ र सो कुरा विभागलाई उचित लागेमा कर प्रयोजनको लागि लेखाडून तरिका परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ । कम्पनीको कर प्रयोजनको लागि लेखाइन Accrual Basis मा नै हुनुपर्ने हुनाले कम्पनीले भने लेखाङ्कन परिवर्तन गर्न निवेदन दिन सक्ने छैनन् । यसरी कर प्रयोजनको लागि लेखाङ्कन तरिका विभागको स्वीकृति लिई परिवर्तन गरेको खण्डमा त्यस्तो परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकममा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ ।
२१.३.२ नगद आधारको लेखाइन (Cash basis of accounting)
नगद प्राप्त भएपछि आम्दानीमा समावेश गर्ने एवम् नगद भुक्तानी भएपछि मात्रै खर्च लेख्ने प्रणालीलाई नगदको आधारमा लेखाड़न गर्ने पद्धति मानिन्छ । ऐनको दफा २३ बमोजिम नगद आधारको लेखाइन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छः
२३ कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही रोजगारी, व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन नगद आधारमा गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:
(क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानी समावेश गर्नु पर्नेछ ।
(ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्च वापत कट्टी गर्नु पर्नेछ ।
२१.३.३ एकुयल आधारको लेखाइन (Accrual Basis of Accounting)
एकुयल आधारको लेखाडून (Accrual Basis of Accounting ) अन्तर्राष्ट्रिय प्रचलनमा रहेको लेखाइन पद्धति हो । नेपाल लेखामान (Nepal Accounting Standard - 1: Presentation of Financial Statement) ले निकायको नगद प्रवाह (Cash Flow Statement)बाहेक अन्य आर्थिक विवरण Accrual Basis मा राख्नुपर्ने उल्लेख गरेको छ । ऐनको दफा २२ को उपदफा (३) मा कम्पनीले कर प्रयोजनको लागि Accrual Basisमा नै लेखाङ्कन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। Accrual Basis of Accounting मा कुनै आर्थिक घटना वा कारोबार हुनासाथ नै लेखाङ्कनगरिन्छ । अर्थात कारोबार जुन समयसँग सम्बन्धित छ सोही समयमा नै लेखाइन गरिने पद्धतिलाई एक्रुयल आधारको लेखाइन भनिन्छ । यस्तो पद्धतिले आम्दानी र खर्चबीचको Matching Conceptलाई समेत पुष्ट्याई गर्न सहयोग पुग्ने हुन्छ । यस पद्धतिमा आय लेखाड़न गर्दा भुक्तानी पाउने अधिकार सिर्जना (Right to Receive) भएको अवस्थामा आय लेखाङ्कन गरिनुपर्छ भने खर्चको सन्दर्भमा भुक्तानी दिनुपर्ने दायित्व (Obligation to Pay)सिर्जना हुनासाथ खर्च भएको मानी लेखाङ्कन गरिनुपर्दछ । अर्थात यस किसिमको लेखाङ्कन पद्धतिमा नगद प्राप्ति वा भुक्तानीलाई मात्र आधार मानिदैन । ऐनको दफा २४ बमोजिम एकुयल आधारको लेखाइन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छः
२४(१) कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कनएकुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानी निजको आयको गणनामा समावेश गर्नु पर्नेछ ।
२४(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी गर्ने प्रयोजनको लागि देहायका खर्चहरु व्यहोरेको मानिनेछ:
(क) कुनै अर्को व्यक्तिबाट भएको भुक्तानीको सट्टामा त्यस्तो खर्च समावेश भएको कुनै भुक्तानी गरिएको भएमा देहायको अवस्थामा खर्च व्यहोरेको मानिनेछ:
(१) सो व्यक्तिमा सो भुक्तानी गर्ने दायित्व रहेकोमा,
(२) त्यस्तो दायित्वको मूल्य यथार्थपरक ढङ्गले अनुमान गर्न सकिने भएकोमा,
(३) अर्को व्यक्तिबाट भुक्तानी प्राप्त भएकोमा, वा
(ख) खण्ड (क) मा उल्लिखित अवस्थाबाहेक अन्य सबै अवस्थामा भुक्तानी गरिएको समयमा खर्च व्यहोरेको मानिनेछ ।२४(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैंकिङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंकिङ्ग सम्बन्धी प्रचलित कानुनको अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ । तर सहकारी संस्थाले ब्याज आयको लेखाङ्कन नगद आधारमा समेत गर्न सक्नेछ ।
२४(४) व्यवसाय वा लगानीबाट भएको कुनै व्यक्तिको आय एक्रुयल आधारमा गणना गर्दा सो व्यक्तिले आफूले पाउनुपर्ने कुनै भुक्तानी समावेश गरेकोमा वा आफूले व्यहोर्नुपर्ने कुनै भुक्तानी कट्टा गरेकोमा सटही दरको फरकको कारण समेतले गर्दा सो व्यक्तिले भुक्तानी पाउँदा वा भुक्तानी दिँदा फरक पर्न गएमा फरक रकमलाई भुक्तानी प्राप्त हुँदा वा दिँदा समायोजन गर्नु पर्नेछ ।
कर लेखाइन तरिका, समय एवम् आधारहरुका बारेमा यसै निर्देशिकाको परिच्छेद ७ मा र सटही नाफा वा नोक्सानका सम्बन्धमा परिच्छेद ८ मा विस्तृत व्याख्या गरिएको छ ।
२१.४ लगानीबाट भएको आयको गणनामा समावेश हुने रकम
ऐनको दफा ९ मा लगानीबाट भएको आयको गणनाका सम्बन्धमा समावेश हुने रकम उल्लेख गरेको छ । उपदफा (१) मा कुनै व्यक्तिको लगानीको आयको सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ ।
९(१) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट गरेको मुनाफा र लाभहरु सो व्यक्तिको सो लगानीको सो वर्षको आय हुनेछ ।
मुनाफा तथा लाभ गणना गर्ने प्रयोजनका लागि लगानीबाट प्राप्त हुने लाभांश, व्याज, भाडा, रोयल्टी, गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ आदि समेत राखी गणना गरिन्छ । कुनै पनि व्यक्तिको लगानीको आय गणना गर्दा ऐनको दफा ९ को उपदफा (२) मा उल्लिखित निम्नानुसार रकम समावेश गर्नुपर्दछ :
९(२) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानी गरे वापत गरेको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षमा प्राप्त गरेका देहायका रकमहरु समावेश गर्नु पर्नेछ:
९(२)(क) सो लगानीबाट प्राप्त लाभांश, ब्याज, प्राकृतिक स्रोत वापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, दफा ६३ को उपदफा (१) बमोजिम स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी,
कुनै व्यक्तिले शेयर लगानी गरे वापत प्राप्त गर्ने लाभांश, निक्षेप जम्मा गरे वापत वा कर्जा लगानी गरे वापत प्राप्त गरिने व्याज, घरभाडा लगाए वापत प्राप्त गरिने भाडा वा अन्य भाडा, स्वीकृत अवकाश कोषबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट प्राप्त गरिएको अवकाश भुक्तानी सबै लगानीको आय गणना गर्ने प्रयोजनको लागि आयमा समावेश गर्नुपर्दछ । तर, ऐनको दफा ९२ अनुसार अन्तिम रूपमा करकट्टी भई भुक्तानी भएको मानिने रकमलाई लगानीको आयमा समावेश गर्नुपर्दैन ।
उदाहरण २१.४.१
मानौं, हरिसले ABC Company Ltd. मा रु.१,००,०००/- कर्जा लगानी गरेको रहेछ । उक्त कम्पनीले सो वापत १० प्रतिशतले हुन आउने ब्याज रु.१०,०००/- मा ऐनको दफा ८८(१) अनुसार १५ प्रतिशतका दरले हुने रु.१,५००/- अग्रिम करकट्टी गरी बाँकी रु.८,५००/- भुक्तान गरेको रहेछ । यस अवस्थामा निजको रु.१०,०००/- लगानीको आय मानिन्छ ।
९(२)(ख) परिच्छेद-८ बमोजिम गणना गरिएको सो व्यक्तिको सो लगानीको गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ, यस सम्बन्धी उदाहरण तल खुलाइएको छ ।
उदाहरण २१.४.२
मानौं, हरिसले नेपाल स्टक एक्स्चेन्जमा दर्ता भएको ABC Company Ltd. को १०० कित्ता शेयर मिति २०७०।२।२० मा रु.२०,०००/- मा खरीद गरेका रहेछन् । निजले उक्त शेयरमिति २०७१।१०।१५ मा रु.२५,०००/- मा बिक्री गरेका रहेछन् । प्राकृतिक व्यक्तिको व्यवसायसँग असम्बन्धित शेयरअर्थात गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ अर्थात रु.५,०००/- लाई निजले आफ्नो आय विवरणमा लगानीको आयमा समावेश गरी विवरण दाखिल गर्नु पर्ने हुन्छ ।
९(२)(ग) सो व्यक्तिले गरेको लगानीको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्दा अनुसूची-२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको लागि गरिएको खर्चहरू (आउटगोइङ्गस) सहितको बाँकी मूल्यभन्दा प्राप्त हुने आम्दानीहरु (इनकमिङ्गस) बढी भएमा सो बढी भएजति रकम,
लगानीमा उपयोग गरिएको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्दा लाभ भए त्यस्तो लाभलाई लगानीको आयमा समावेश गर्नुपर्दछ ।
९(२)(घ) लगानीका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको उपहार, लगानीको सन्दर्भमा प्राप्त उपहारलाई लगानीको आयमा समावेश गर्नुपर्दछ ।
उदाहरण २१.४.३
मानौं, हरिसले सम्पन्न बैंक लि.मा रु. २ करोडको निक्षेप लगानी गरेका रहेछन् । कुनै आय वर्षमा बैंकले रु.१ करोडभन्दा बढी निक्षेप भएका लगानीकर्तालाई दशैंमा एक तोलाको सुनको सिक्का उपहार स्वरुप दिएको रहेछन् भने निजले प्राप्त गरेको उक्त सुनको सिक्का लगानी गरेर उपहार पाएको हुँदा, सो उपहार बजार मूल्यमा मूल्यांकन गरी लगानीको आयमा समावेश गर्नुपर्दछ ।
९(२)(ङ) सो लगानीका सम्बन्धमा गरिएको अवकाश भुक्तानी र सो व्यक्तिको लागि अवकाश कोषमा जम्मा गरिएको रकम समेतको अवकाश योगदान,
लगानी वापत प्राप्त हुने अवकाश भुक्तानी, जस्तै पेन्सन फण्डबाट प्राप्त हुने पेन्सन जस्ता रकमलाई समेत लगानीको आयमा समावेश गर्नुपर्दछ ।
९(२)(च) लगानीका सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे वापत प्राप्त गरिएका रकमहरु, र
लगानी नगर्ने शर्तमा वा यस्तै कुनै शर्त वा बन्देजका कारण प्राप्त रकम लगानीको आयमा समावेश गर्नुपर्दछ ।
९(२)(छ) परिच्छेद-६वा ७ वा दफा ५६ बमोजिम समावेश गरिनुपर्ने अन्य रकमहरु ।
ऐनको परिच्छेद-६ मा उल्लेख भए बमोजिमकर प्रयोजनको लागि कुनै व्यक्तिले लेखाइन तरिका विभागबाट स्वीकृति लिई परिवर्तन गरेको खण्डमा वा सोही परिच्छेदका अन्य दफामा भएको व्यवस्थाको कारणबाट लेखाइन तरिका परिवर्तन भएमा परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकममा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नुपर्नेछ ।
ऐनको परिच्छेद-७ मा उल्लेख भए बमोजिम कुनै व्यक्तिद्वारा गरिएको कारोबारको भुक्तानी नगदमा मात्रै नभई सम्पत्तिको हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकमलाई आयमा समावेश गर्नुपर्दछ । यसरी हस्तान्तरित सम्पत्तिको मूल्य दुई पक्षबीच भएको सम्झौतामा उल्लेख गरिएको मूल्य वा किताबी मूल्यलाई आधिकारिक कारोबार मूल्य नमानी सो बखत हस्तान्तरित सम्पत्तिको बजार अनुसार यकिन गरिएको मूल्यलाई ऐनको प्रयोजनको लागि आधिकारिक मूल्य मानी आयमा समावेश गर्नुपर्दछ । यसरी गरिएको कारोबार लगानीसँग सम्बन्धित भए लगानीको आय गणना गर्दा समावेश गर्नुपर्दछ ।
ऐनको दफा ५६ अनुसार निकाय र हिताधिकारीबीचको कारोबारमा भएको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभलाई यस खण्ड अन्तर्गत आयमा समावेश गरी विवरण भर्नुपर्दछ । यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ तथा २२ मा उल्लेख गरिएको छ ।
२१.५ लगानीको आयमा समावेश नहुने रकम
ऐनको दफा ९ को उपदफा (३) मा लगानीको आयमा समावेश नहुने रकमका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरिएको छः
९(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले लगानीबाट प्राप्त गर्ने मुनाफा तथा लाभको गणना गर्दा देहायका कुराहरु समावेश गरिने छैनन्:
९(३)(क) दफा १०, ५४, र ६९ बमोजिम छुट पाउने रकम र अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी, र
ऐनको दफा १० बमोजिम निम्नानुसारको रकमलाई आयमा समावेश गर्नुपर्दैन ।
१०(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,
नेपाल सरकार र अन्य कुनै पनि विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय सन्धिमा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने व्यक्तिले सो सन्धिको अधीनमा रही प्राप्त गरेको रकम कर छुटको रकम हुनेछ ।
१०(झ) नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहको जुनसुकै प्रकारको आय
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको आय सम्पूर्ण रूपमा कर छुट हुने आय मानिएको छ । तसर्थ नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई भुक्तानी गर्ने रकममा स्रोतमा कर कट्टीसमेत गर्नुपर्ने छैन । नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले पुँजी लगानी वा ऋण लगानी वा प्राकृतिक स्रोतको प्रयोग गरे वापत प्राप्त लगानीजन्य भुक्तानी आयकर प्रयोजनको लागि छुट हुन्छ । यस सन्दर्भमा नेपाल सरकारको पूर्ण स्वामित्व भएको व्यावसायिक निकाय (जस्तै, राष्ट्रिय वाणिज्य बैंक) को आय भने यस खण्डको आधारमा छुट हुने आय मानिदैन ।
कम्पनी वा साझेदारी फर्मबाट वितरण गरिएको लाभांश
ऐनको दफा ५४ अनुसार बासिन्दा कम्पनी वा साझेदारी फर्मबाट वितरण गरिएको लाभांशमा अन्तिम रूपमा कर कट्टी गर्ने विधिद्वारा कर लाग्ने हुँदा उक्त लाभांश आय गणना गर्ने प्रयोजनका लागि समावेश गर्नु पर्दैन । यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ।
नियन्त्रित विदेशी निकायद्वारा वितरण हुने रकम
नियन्त्रित विदेशी निकायद्वारा ऐनको दफा ६९ को उपदफा (१) अनुसार वितरण हुने लाभांश रकम बाहेक अन्य लाभांश आय गणना गर्ने प्रयोजनको लागि आयमा समावेश गर्नुपर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १४ मा उल्लेख गरिएको छ ।
अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी
अन्तिम रूपमा कर कट्टी हुने ऐनको दफा ९२ अनुसारका भुक्तानीबाट प्राप्त भएको रकमलाई आयमा समावेश गर्नुपर्दैन । जस्तैः नेपाल स्रोत भएको भुक्तानीमा कर कट्टी गरी प्राप्त गरेको लाभांश रकमलाई ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी भुक्तानी गरिएको रकम मानिएको हुँदा यस्तो भुक्तानी रकमलाई आयमा समावेश गर्नुपर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १६ मा उल्लेख गरिएको छ ।
९(३)(ख) सो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम ।
कुनै व्यक्तिको लगानी आय गणना गर्ने प्रयोजनको लागि समावेश गरिने रकम दोहोरो नपर्ने गरी सो व्यक्तिले ऐनको दफा ७ अनुसार व्यवसायको आय गणना गर्दा समावेश गरिएको आय र दफा ८ अनुसार रोजगारीको आय गणना गर्दा समावेश गरिएका आयलाई लगानीको आय गणना गर्दा समावेश गर्नु पर्दैन ।
२१.६ कट्टी हुने रकम (Deductions)
२१.६.१ सामान्य कट्ट
कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै लगानीको आय निर्धारण गर्दा सामान्यतयाः कारोबारसँग सम्बन्धित सम्पूर्ण खर्च कट्टी दाबी गर्न पाउँनेछ । सो सम्बन्धमा ऐनको दफा १३ मा निम्नानुसारको व्यवस्था गरेको छ :
१३ कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि यस ऐनको अधीनमा रही कारोबारसँग सम्बन्धित देहायका खर्चहरु कट्टी गर्न पाउनेछ:
(क) सो आयवर्षमा भएका,
(ख) सो व्यक्तिबाट भएका, र
(ग) व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका ।
लगानीबाट आय आर्जन गर्ने कार्यसँग सम्बन्धित सो वर्ष भएको र सो व्यक्तिले गरेको खर्च सामान्य कट्टीको रूपमा खर्च दाबी गर्न सक्ने व्यवस्था रहेको छ । माथि उल्लिखित तीनवटै अवस्था पूरा नभएको खण्डमा भने खर्च दाबी गर्न सकिदैन ।
उदाहरण २१.६.१
मानौं, गोबिन्द नेपालले कुनै निकायमा कर्जा लगानी गरेका रहेछन् । उक्त कर्जा वापतको ब्याज उठाउने एवम् हिसाब राख्ने प्रयोजनको निमित्त आ.व. २०६४/६५ मा एक जना कर्मचारी नियुक्त गरेका रहेछन् र सो आय वर्षमा निजलाई रु.३० हजार पारिश्रमिक भुक्तानी गरेका रहेछन् । यस्तो खर्च सो आय वर्षमा लगानीको आय आर्जन गर्ने कार्यमा भएको हुँदा निजले सो पारिश्रमिक भुक्तानी आ.व. २०६४/६५ मा खर्च कट्टीदाबी गर्न सक्दछ ।
२१.६.२ ब्याज कट्टी
कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै लगानीको आय निर्धारण गर्दा सामान्यतयाः कारोबारसँग सम्बन्धित व्याज सम्पूर्ण खर्च कट्टी दाबी गर्न पाउनेछ । सो सम्बन्धमा ऐनको दफा १४ मा निम्नानुसारको व्यवस्था गरेको छ :
१४(१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सिर्जना भएको देहायको ऋण दायित्व अन्तर्गत सो वर्षमा लागेका सबै ब्याज कट्टी गर्न पाउनेछ:
(क) कुनै रकम ऋण लिए वापत सो ऋण दायित्व सिर्जना भएकोमा सो रकम सोही वर्ष प्रयोग गरिएको वा सो वर्षमा प्रयोग गरिएका कुनै सम्पत्ति खरीद गर्न प्रयोग गरिएको, वा
(ख) अन्य कुनै अवस्थामा सो ऋण दायित्व सिर्जना हुन गएको ।
ऐनको दफा १४ को उपदफा (१) अनुसार कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट भएको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले सो वर्षमा प्रयोग गरिएका कुनै सम्पत्ति खरीद गर्न प्रयोग गरिएका ऋण दायित्व वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सिर्जना भएको ऋण दायित्व अन्तर्गत सो वर्षमा लागेका सबै ब्याज कट्टी गर्न पाउँनेछ ।
उदाहरण २१.६.२
मानौं, गोबिन्द नेपालले कुनै निकायमा रु.१० लाख कर्जा लगानी गरेका रहेछन् । उक्त कर्जा लगानी गर्न निजले कुनै बैंकबाट रु.५ लाख कर्जा लिएका रहेछन् । आ.व. २०६४/६५ मा निजले सो लगानी वापत रु.१ लाख २० हजार ब्याज आम्दानी गरेका रहेछन् र कर्जा वापत रु ५० हजार ब्याज भुक्तान गरेका रहेछन् । यस्तो व्याज भुक्तानी | लगानीको आय आर्जन गर्न निजले सो वर्ष खर्च गरेको हुँदा निजले सो ब्याज भुक्तानी लगानीको आय आर्जन गर्ने कार्यसँग सम्बन्धित भएकोले आ.व. २०६४/६५ मा ब्याज खर्च कट्टीदाबी गर्न सक्दछ ।
१४(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमानियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई व्याज भुक्तानी गरेमा उपदफा (१) बमोजिम कट्टी गर्न पाउने त्यस्तो ब्याज रकम देहायका रकमहरुको जम्मा भन्दा बढी हुने छैन:
(क) सो निकायको करयोग्य आयको गणनामा समावेश गरिने सो वर्षमा प्राप्त गरेको सबै ब्याज रकम, र
(ख) सो निकायबाट प्राप्त गरिएको कुनै ब्याज समावेश नगरी वा सो निकायबाट बुझाइएको कुनै ब्याज कट्टी नगरी गणना गरिएको सो निकायको सो वर्षको समायोजित करयोग्य आयको पचास प्रतिशत रकम ।
दफा १४ मा दिइएको स्पष्टीकरणमा कर छुट पाउने संस्थालाई निम्नानुसार स्पष्ट पारिएको छ
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै आय वर्षको लागि “कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकाय” भन्नाले सो वर्षमा बासिन्दा निकाय भई सो बासिन्दा निकायमा सो वर्षको कुनै समयमा देहायका व्यक्ति वा संस्थाहरुको पच्चीस प्रतिशत वा सोभन्दा बढी निहित स्वामित्व वा नियन्त्रण रहेको निकाय सम्झनु पर्छ:
(क) कर छुट पाउने संस्था र सोसँग सम्बद्ध व्यक्ति,
(ख) सो वर्षमा दफा ११ बमोजिम कर छुट पाउने व्यक्ति वा त्यस्तो व्यक्तिसँग सम्बद्ध व्यक्ति,
(ग) गैर बासिन्दा व्यक्ति वा गैर बासिन्दा व्यक्तिसँग सम्बद्ध व्यक्ति, वा
(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित व्यक्तिहरुको कुनै संयोजन ।
ऐनको दफा १४ को उपदफा (२) अनुसार कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई गरेको ब्याज भुक्तानी खर्च दाबी गर्दा सो निकायको करयोग्य आयको गणनामा समावेश गरिने सो वर्षमा प्राप्त गरेको सबै व्याज रकम र सो निकायको ब्याज खर्च तथा प्राप्त व्याज आम्दानी समावेश नभएको समायोजित करयोग्य आयको पचास प्रतिशतको योगसम्म मात्र सो वर्ष व्याज कट्टा गर्न पाइन्छ । ऐनको दफा २ को खण्ड (कन१) मा समायोजित करयोग्य आयलाई निम्नानुसार परिभाषित गरिएको छ:
२(कन१) “समायोजित करयोग्य आय” भन्नाले कुनै व्यक्तिको कुनै आयवर्षको करयोग्य आयको गणना गर्दा दफा १२ बमोजिम कुनै रकम नघटाई तथा दफा १४ को उपदफा (२), दफा १७ वा १८ बमोजिम कट्टी नगरी गणना गरिएको करयोग्य आय सम्झनु पर्छ ।
अर्थात, कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमानियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई गरेको ब्याज भुक्तानी, प्रदूषण नियन्त्रण खर्च वा अनुसन्धान र विकास खर्च कट्टी दाबी गर्नुअघि एवम् चन्दा खर्च दाबी अगाडिको करयोग्य आयलाई समायोजित करयोग्य आय भनिन्छ ।
१४(३) उपदफा (२) बमोजिम कट्टी गर्न नदिएको वा नगरिएको कुनै ब्याजलाई आगामी आय वर्षमा जिम्मेवारी सार्न र खर्च भएको देखाउन पाउँनेछ ।
कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमानियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई गरेको ब्याज भुक्तानी ऐनको दफा १४ को उपदफा (२) मा तोकिएको सीमा भन्दा बढी भएमा यसरी बढी भएको ब्याज खर्चलाई आगामी आय वर्षमा जिम्मेवारी सार्न र खर्च दाबी गर्न पाइन्छ ।
२१.६.३ मर्मत तथा सुधार खर्च
कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै लगानीको आय निर्धारण गर्दा सामान्यतयाः कारोबारसँग सम्बन्धित मर्मत तथा सुधार खर्च कट्टी दाबी गर्न पाउनेछ । सो सम्बन्धमा ऐनको दफा १६ को उपदफा (१), (२) तथा (३) मा निम्नानुसारको व्यवस्था रहेको छ:
१६(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय गणना गर्दा सो व्यवसाय वा लगानीबाट आय आर्जन गर्न सो वर्षमा स्वामित्व भएको र प्रयोग गरिएको ह्रासयोग्य सम्पत्तिको मर्मत वा सुधार गर्दा भएको सबै खर्चहरु कट्टी गर्न पाउनेछ । १६(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उक्त उपदफा बमोजिम गर्न पाउने खर्च कट्टी गर्दा उक्त आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार रकमको सात प्रतिशतभन्दा बढी हुने छैन । तर हवाई यातायात सेवा उपलब्ध गराउने व्यक्तिले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम हवाइजहाजको परीक्षण गर्दा लागेको मर्मत सम्भार खर्चमा यस्तो सीमा लागू हुने छैन ।
१६(३) उपदफा (२) बमोजिमको सीमाको परिणाम स्वरुप कट्टी गर्न नपाइने मर्मत तथा सुधार वापत कुनै अधिक खर्च वा त्यसको भाग आगामी आयवर्षको सुरुमा सम्बन्धित सम्पत्तिको समूहको ह्रास आधार रकममा जोड्न पाउँनेछ ।
ऐनको दफा १६ को उपदफा (१) अनुसार कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीको आय गणना गर्दा निम्नानुसार सम्पूर्ण अवस्था पूरा भएमा मर्मत सम्भार खर्च कट्टी दाबी गर्न पाउनेछ
- सो सम्पत्ति लगानीबाट आयआर्जन गर्ने कार्यमा प्रयोग भएको,
- सो व्यक्तिको स्वामित्व भएको, र
- प्रयोग गरिएको सम्पत्ति ह्रासयोग्य भएको ।
उपदफा (२) मा तोकिए बमोजिम यसरी कट्टी दाबी गरिएको मर्मत वा सुधार खर्च सो आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको हास आधार रकमको सात प्रतिशतभन्दा बढी हुनु हुँदैन ।
उदाहरण २१.६.३
मानौं, आ.व. २०६५/६६ मा गोबिन्द लामाले नेपाल व्यापार विकास प्रा.लि.लाई कार भाडामा दिएका रहेछन् र सम्झौताबमोजिम सो कारको मर्मत सुधार खर्च निजले नै गर्नुपर्ने रहेछ । सो आ.व.मा उक्त कारको मर्मत सुधार खर्च तथा सम्पत्तिको अवस्था निम्नानुसारको रहेछ:
१. सो आ.व. मा निम्नानुसार मर्मत सुधार खर्च भएको रहेछ: “ग” अटोमोवाइल्स समूह रु.१,१५,०००/-
२. सो सम्पत्तिको ह्रास आधार (Depreciation Base) निम्नानुसार रहेछ: “ग” अटोमोवाईल्स समूह रु.१५,००,०००/-
३. निजले सो आय वर्षमा निम्नानुसार हुने मर्मत सुधार खर्च दाबी गर्न सक्नेछन्: “ग” अटोमोवाईल्स समूह ७ प्र.श. ले रु.१,०५,०००।-
४. कट्टी नहुने मर्मत सुधार खर्च (ह्रास आधारमा समावेश हुने रकम): आ.व. २०६५/६६ मा रु.१,०५,०००/- मात्र खर्च कट्टी दाबी गर्न सकिने हुँदा खर्च कट्टी नहुने रकम रु.१०,०००।- (रु.१,१५,००० - रु.१,०५,०००) आगामी आय वर्षको सुरु ह्रास आधारमा समावेश हुन्छ ।
२१.६.४ ह्रासकट्टी खर्च
कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै लगानीको आय निर्धारण गर्दा सामान्यतयाः कारोबारसँग सम्बन्धित ह्रासकट्टी खर्च कट्टी दाबी गर्न पाउनेछ । सो सम्बन्धमा ऐनको दफा १९ को उपदफा (१) तथा (२) मा निम्नानुसारको व्यवस्था रहेको छ:
१९(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यवसाय वा लगानीबाट सो व्यक्तिको आय आर्जन गर्न सो वर्षमा आफनो स्वामित्वमा रही प्रयोग गरेको ह्रासयोग्य सम्पत्तिको ह्रास भए वापत अनुसूची - २ बमोजिम ह्रास खर्च कट्टी गर्नु पर्नेछ ।
१९(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायले सार्वजनिक पुर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरु र विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने आयोजनाहरुमा जडान भएका संयन्त्रहरु, उपकरणहरु, र अन्य मेशिनरीहरुको ह्रास कट्टी सम्बन्धमा निम्नानुसार हुनेछ:
(क) साविकमा जडान भई रहेका संयन्त्रहरु, उपकरणहरु र अन्य मेशिनरीहरु पुरानो वा जीर्ण भई काम नलाग्ने हुन गई सोको सट्टा नयाँ संयन्त्रहरु, उपकरणहरु र अन्य मेशिनरीहरु जडान गर्नुपर्ने भएमा यसरी जडान गरेको आय वर्षमा साविकमा जडान भएका पूरानो वा जिर्ण भई काम नलाग्ने सम्पत्तिको लागतबाट सो आयवर्षसम्मको ह्रास कट्टी घटाउदा बाँकी हुने मूल्य खर्चको रूपमा कट्टी गर्न पाउनेछ ।
(ख) खण्ड (क) बमोजिम फेरिएका पुराना सम्पत्ति बाहेकका अन्य सम्पत्तिहरुका सम्बन्धमा सो निकायले त्यस्ता आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समयमा सो सम्पत्तिको लागतबाट हस्तान्तरण हुने आयवर्षसम्मको ह्रासकट्टी घटाउँदा मूल्य बाँकी रहन आएमा त्यस्तो बाँकी मूल्य खर्चको रूपमा कट्टी गर्न पाउनेछ ।
ऐनको दफा १९ को उपदफा (१) अनुसार कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीको आय गणना गर्दा निम्नानुसार सम्पूर्ण अवस्था पूरा भएमा ह्रास कट्टी खर्च दाबी गर्नुपर्नेछ:
- सो सम्पत्ति लगानीबाट आयआर्जन गर्ने कार्यमा प्रयोग भएको,
- सो व्यक्तिको स्वामित्व भएको, र
- प्रयोग गरिएको सम्पत्ति ह्रासयोग्य भएको ।
उपदफा (१) मा उल्लेख भए बमोजिम ह्रास कट्टी खर्च दाबी ऐनको अनुसूची २ मातोकिए बमोजिम गर्नुपर्नेछ । सो सम्बन्धमा ऐनको अनुसूची २ मा निम्नानुसारको व्यवस्था रहेको छः
१. ह्रासयोग्य सम्पत्तिको वर्गीकरण र समूहीकरण: ऐनको अनुसूची - २ को दफा १ बमोजिम हासयोग्य सम्पत्तिको वर्गीकरण र समूहीकरण सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छः
अ.२.१(१) ह्रासयोग्य सम्पत्तिको वर्गीकरण देहाय बमोजिमको हुनेछ:
वर्ग सम्पत्तिको विवरण
क" भवन, स्ट्रक्चर र स्थायी प्रकृतिका यस्तै प्रकारका अन्य बनौटहरु ।
"ख" कम्प्यूटर, तथ्याङ्क केलाउने उपकरण, फर्निचर, फिक्स्चर र कार्यालय उपकरणहरु
"ग" अटोमोबाइल्स, बस तथा मिनीबसहरु
"घ" निर्माण तथा उत्खनन् सम्बन्धी उपकरणहरु र दफा १७ को उपदफा (३), दफा १८ को उपदफा (३) र यस अनुसूचीको उपदफा (३) समेत अन्य कतै समावेश नभएका द्वासयोग्य सम्पत्तिहरु ।
"ड" वर्ग “घ” मा उल्लेख भएका ह्रासयोग्य सम्पत्ति बाहेकका अदृश्य सम्पत्तिहरु ।
ह्रास खर्च गणना गर्ने प्रयोजनका लागि “क” वर्गमा स्थायी संरचना, जस्तै, भवन, Approach Road, Compound wallजस्ता सम्पत्ति समावेश गरिनुपर्दछ । निश्चित अवधिको लागि जग्गा भाडामा लिई निर्माण हुने संरचना एवम्व्यावसायिक भवनमा ठाउँ लिई निर्माण हुने संरचना भाडामा लिनेदिनेबीचको सम्झौताका आधारमा अवधि निर्धारण भएको हुन्छ । यसरी निमाण भएको संरचनाको लागत “ङ” वर्गमा समावेश गरी सो सम्झौताको अधीनमा रही ह्रास कट्टी खर्च दाबी गर्नुपर्दछ ।
अ.२.१(२) कुनै व्यक्तिले कुनै आय वर्षमा निजको स्वामित्वमा रही व्यवसाय वा लगानीबाट आय आर्जनको लागि प्रयोग गरेको कुनै द्वासयोग्य सम्पत्तिलाई पहिलो पटक स्वामित्वमा आएको वा प्रयोग भएको समयमा निम्नानुसारको समूह राख्नुपर्नेछ र सो समूहहरुलाई सो वर्षमा उक्त व्यक्तिको ह्रासयोग्य सम्पत्तिहरुको समूह मानिनेछ:
(क) सो व्यक्तिको स्वामित्वमा रहेको वा प्रयोगमा रहेको उस्तै सम्पत्तिहरुको सम्बन्धमा वर्ग “क”, “ख”, “ग” वा “घ” का ह्रासयोग्य सम्पत्ति सोही वर्गका अन्य सम्पत्तिहरुको उही समूहमा |
अनुसूची-२ को दफा १ (२) (क) बमोजिम कुनै समूह अन्तर्गतको सम्पत्ति खरीद गर्दा सोही समूहमा थप गर्नुपर्दछ । अर्थात आयकर प्रयोजनको लागि सम्पत्तिको छुट्टाछुट्टै गणना नगरी समूहमा गणना गर्नुपर्दछ ।
उदाहरण २१.६.४
मानौं, आ. व. २०६५/६६ मा मनोज कश्यपले लगानी कार्यमा प्रयोग गर्न निम्नानुसारको सम्पत्ति खरीद गरेको रहेछ ।
| सि.नं. | मिति | सम्पत्तिको विवरण | रकम रु. |
|---|---|---|---|
| १ | २०६५।४।६ | टेवल | १०,०००/- |
| २ | २०६५।५।५ | कम्प्यूटर | ६०,०००/- |
| ३ | २०६५।५।७ | साइकल | ५,०००/- |
| ४ | २०६५/६/८ | जेनेरेटर | १,००,०००/- |
| ५- | २०६५।९।१७ | दराज | १२,०००/- |
| ६ | २०६५/११/१ | मेच | १५,०००/- |
| ७ | २०६५/१२/३ | कार | १८,००,०००/- |
| ८ | २०६६।१।४ | मोटर साईकल | १,२०,०००/- |
| ९ | २०६६।३।५ | पानी तान्ने पम्प | ९,०००/- |
उक्त समूहलाई आयकर प्रयोजनको लागि छुट्टाछुट्टै गणना नगरी निम्नानुसार समूहमा गणना गर्नुपर्दछ ।
समुह "ख"
२०६५।४।६ टेवल १०,०००/-
२०६५।५।५ कम्प्यूटर ६०,०००/-
२०६५।९।१७ दराज १२,०००/-
२०६५।११।१ मेच १५,०००/-
जम्मा समुह "ख" ९७,०००/-
समुह "ग"
२०६५/१२/३ कार १८,००,०००/-
२०६६।१।४ मोटर साईकल १,२०,०००/-
जम्मा समुह “ग” १९,२०,०००/-
समुह “घ”
२०६५।५।७ साईकल ५,०००/-
२०६५/६/८ जेनेरेटर १,००,०००/-
२०६६।३।५ पानी तान्ने पम्प ९,०००/-
जम्मा समुह "घ" १,१४,०००/-
(ख) वर्ग "ड" का ह्रासयोग्य सम्पत्तिको सम्बन्धमा उही वर्गको सम्पत्तिहरु भए तापनि बेग्लाबेग्लै समूहमा राख्नुपर्छ ।
अनुसूची-२ को दफा १ ( २ ) (ख) बमोजिम वर्ग “ङ” का ह्रासयोग्य सम्पत्ति, जस्तै, पेटेण्ट राईट, ट्रेडमार्क आदि प्रत्येक सम्पत्तिको हैसियत फरक फरक हुने हुनाले यी सम्पत्तिलाई सोही वर्गको भए तापनि छुट्टाछुट्टै समूहमा राखी गणना गर्नुपर्दछ ।
अ.२.१(३) व्यवसायबाट आय आर्जन गर्ने सिलसिलामा प्राकृतिक स्रोतको उत्खनन, खनिज निकाल्ने कार्य तथा सोको विकासको लागि परेको लागत सो आयसँग सम्बन्धित व्यवसायको लागि सम्पत्ति खरीद गर्दा परेको लागत सरह मानिनेछ ।
प्राकृतिक स्रोतको उत्खनन, खनिज निकाल्ने कार्य तथा सोको विकासको लागि परेको लागतनै यस्ता कार्यको लागि आवश्यक सम्पत्ति मानिएको छ र यस्तो सम्पत्तिलाई वर्ग “घ” अन्तर्गत राखिएको छ ।
२. ह्रासको दर:
ऐनको अनुसूची-२ को दफा ३ बमोजिम ह्रासयोग्य सम्पत्तिको वर्गको आधारमा निम्नानुसारको दर प्रयोग गर्नुपर्दछ:
अ.२.३(१) उपदफा (२) को अधीनमा रही यस अनुसूचीको दफा २ को उपदफा (२) मा उल्लिखित प्रत्येक समूहको हकमा लागू हुने ह्रासको दर देहाय बमोजिम हुनेछ:
- "क" ५ प्रतिशत
- "ख" २५ प्रतिशत
- "ग" २० प्रतिशत
- "घ" १५ प्रतिशत
- "ङ" सम्पत्ति खरीद गर्दाको बखतमा उक्त सम्पत्तिको लागतलाई सम्पत्तिको प्रयोगावधिले भाग गरी मिलानगरी हुन आउने दर निकटतम आधा प्रतिशतमा ।
अ.२.३(२) यस ऐनको दफा १९ को उपदफा (२) मा उल्लेख गरिएका आयोजनाहरुले र ऐनको दफा ११ को उपदफा (२ख), (३), (३) र अनुसूची-१ को दफा २ को उपदफा (३) मा उल्लेख गरिएका निकायले यस अनुसूचीको उपदफा (१) मा उल्लेख गरेका वर्ग "क", "ख", "ग" र "घ" मा उल्लिखित ह्रासयोग्य सम्पत्तिका लागि लागू हुने ह्रासकट्टीको दरमा एक तिहाइले थप पाउनेछन् । ह्रास कट्टीको गणना गर्दा आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकममा ह्रास कट्टीको दरले गणना गर्नुपर्दछ । तर थप ह्रास कट्टीको व्यवस्था लगानीको सन्दर्भमा लागूहुँदैन ।
३. ह्रास खर्च:
ऐनको अनुसूची-२ को दफा २ बमोजिम ह्रासयोग्य सम्पत्तिको वर्गको आधारमा निम्नानुसारको दर प्रयोग गर्नुपर्दछ :
अ.२.२ (१) कुनै पनि व्यक्तिले कुनै आय वर्षमा सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिका समूहहरु वापत यस दफाको उपदफा (२) र (६) बमोजिम गणना गरिएका प्रत्येक समूहमा रहेका सम्पत्तिको सो वर्षमा भएको ह्रास बराबरको खर्च कट्टी गर्न पाउनेछ ।
अ.२.२(२) कुनै व्यक्तिले आफ्नो आय वर्षमा समूहमा रहेका सम्पत्तिको ह्रास कट्टीको गणना देहाय बमोजिमको सूत्रको प्रयोग गरी निकाल्नु पर्नेछ: क Xख
"क" भन्नाले सो आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकमलाई जनाउँनेछ,
“ख” भन्नाले सो समूहको हकमा लागू हुने यस अनुसूचीको दफा ३ मा उल्लिखित ह्रासकट्टी दरलाई जनाउँनेछ ।अ.२.२(६) वर्ग “क”, “ख”, “ग” वा “घ” का समूहको ह्रासयोग्य सम्पत्तिहरुको ह्रास कट्टी आधार रकमबाट यस दफाको उपदफा (२) बमोजिम गणना गरिने ह्रास खर्च कटाउँदा दुईहजार रुपैयाँभन्दा कम भएमा अतिरिक्त ह्रास खर्च वापत सो बाँकी रकम सबै गणना गर्नु पर्नेछ ।
ह्रास खर्च कटाउँदा कुनै वर्गमा रहेको सम्पत्तिको ह्रास आधारमा सो वर्गको ह्रास कट्टी दर प्रयोग गरी हुन आउने रकम दाबी गर्नुपर्नेछ । उक्त व्यवस्था तल उदाहरणमा खुलाइएको छ ।
उदाहरण २१.६.५
मानौं, गोबिन्द लामाको आ.व. २०६५/६६ को अन्त्यमा समूह “ग” को ह्रास आधार रु.१५,००,०००/- रहेछ भने सो आ.व. मा सो समूहको ह्रास खर्च निम्नानुसार गणना गर्नुपर्दछ ।
(क) सो आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकम रु.१५,००,०००/-
(ख) ह्रासकट्टी दर २० प्रतिशत
ह्रास खर्च क X ख रु.३,००,०००/-
“क”, “ख”, “ग” वा “घ” का समूहको ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टी आधार रकमबाट कुनै वर्षको ह्रास खर्च कटाउँदा दुईहजार रुपैयाँभन्दा कम भएमा अतिरिक्त ह्रास खर्च वापत सो बाँकी रकम सबै गणना गर्नुपर्छ । उक्त व्यवस्था तल उदाहरणमा खुलाइएको छ ।
उदाहरण २१.६.६
मानौं, दिनेश छतकुलीको लगानीको कारोबार रहेछ । निजको आ.व. २०६५/६६ को अन्त्यमा वर्ग "ख" को ह्रास आधार रु. २,४००/- रहेछ । सो वर्ष उक्त वर्गको दर २५% ले रु.६००/- ह्रास कट्टी गरी बाँकी रु.१,८००/- हुन्छ । उक्त रकम रु.२,०००/- भन्दा कम भएकोले सोही आ.व.मा अतिरिक्त ह्रास खर्च वापत कट्टी दाबी गर्न पर्नेछ ।
अ.२.२ (३) कुनै आय वर्षको अन्त्यमा वर्ग “क”, “ख”, “ग” वा “घ” मा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार रकम देहाय बमोजिमको खण्ड (क) र खण्ड (ख) को योगबाट खण्ड (ग) को रकम घटाई कायम गर्नुपर्नेछ । तर यसरी घटाइएपछिको रकम शून्य भन्दा कम हुने छैन:
(क) अघिल्लो वर्षको अन्त्यको सो समूहको ह्रास कट्टीआधार रकमबाट उपदफा (२) र (६) बमोजिम गणना गरिएको सो समूहको ह्रास खर्च कट्टी गरी बाँकी हुने रकम ।
(ख) सो वर्षमा सो समूहको ह्रास कट्टी आधार रकममा सो समूहमा थपिएका सम्पत्तिको लागि गरिएको सो समूहमा थप गरेको सो आय वर्षभित्र यस अनुसूचीको उपदफा(५) बमोजिमको खर्च वा समूहमा जोडिएको खर्च ।
(ग) सो समूहको कुनै सम्पत्तिको सो वर्षमा भएको निःसर्गबाट प्राप्त कुनै रकम ।
कुनै आय वर्षको अन्त्यमा वर्ग “क”, “ख”, “ग” वा “घ” अन्तर्गतका समूहमा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार निम्नानुसार कायम गर्नुपर्दछ :
| क. | - | अघिल्लो आय वर्षको अन्त्यको सो समूहको ह्रास आधार रकमबाट सो वर्षको ह्रास कट्टी गरी बाँकी रकम रु.२,००० भन्दा कम भएमा सो समेत कट्टा पछिको रकम (Opening Depreciation Base) |
|---|---|---|
| ख. | जोड्ने | अघिल्लो आय वर्षमा थपिएका सम्पत्ति तर दफा १९ को प्रयोजनको लागि सो आय वर्षको ह्रास आधारमा समावेश नहुने रकम |
| - | - | अघिल्लो आय वर्षको दफा १६ अनुसार यस आय वर्षको हास आधारमा थप हुने रकम (“घ” वर्गको सम्पत्तिको हकमा दफा १७ र १८ बमोजिम थप भएका रकम समेत) |
| - | - | यस आय वर्षभित्र सो समूहमा थपिएका समय अनुसारको सम्पत्तिको लागत वा समूहमा जोडिएको खर्च |
| ग. | घटाउने | सो आय वर्षभित्र सो समूहको सम्पत्तिको निःसर्गबाट प्राप्त रकम |
अ.२.२ (४) कुनै आय वर्षको अन्त्यमा वर्ग "ड" अन्तर्गतका प्रत्येक ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टीको आधार रकम देहाय बमोजिमको रकमको कूल योग हुनेछ:
(क) अघिल्लो आय वर्षको अन्त्यमा समूहमा रहेका ह्रासयोग्य सम्पत्तिहरुको ह्रास कट्टीको आधार रकम, र
(ख) त्यस आर्थिक वर्षमा सो ह्रास कट्टी आधार रकममा सो समूहभित्रको सम्पत्तिको लागि उपदफा (५) बमोजिम थपिएको रकम ।
कुनै आय वर्षको अन्त्यमा वर्ग “ङ” अन्तर्गतका समूहमा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार निम्नानुसार कायम गर्नु पर्दछ:
क. अघिल्लो आय वर्षको अन्त्यमा समूहमा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रासकट्टीको आधार रकम, र
ख. त्यस आर्थिक वर्षमा सो ह्रास कट्टी आधार रकममा सो समूहभित्रको सम्पत्तिको लागि ( समय अनुसार) थपिएको रकम ।
अ.२.२(५) कुनै व्यक्तिको ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा समावेश भएको कुनै ह्रासयोग्य सम्पत्तिको लागि गरिएको लागतलाई सम्बन्धित समूहको ह्रास आधार रकममा देहाय बमोजिम जोड्नु पर्नेछ :- (क) सो सम्पत्ति यस अनुसूचीको दफा १ बमोजिम समूहमा समावेश गरिने समय वा सो सम्पत्ति प्राप्त गर्न खर्च गरेको समयमध्ये जुन पछि आउँछ सो समयमा निम्न सूत्र अनुसार गणना गरी पहिलो मान मानी जोड्नु पर्नेछ । क / ३ X ख यस खण्डको प्रयोजनको लागि “क” लाई देहायको अवधिको लागि देहायको मान हुनेछ: (अ) आय वर्षको सुरुदेखी पुष मसान्तसम्मको अवधिको अन्त्यको समय तीन हुनेछ, (आ) माघदेखि चैत्रमसान्तबीचको अवधि दुई हुनेछ, र (इ) बैशाखदेखि आय वर्षको अन्त्यसम्मको अवधि एक हुनेछ । "ख" भन्नाले सो लागत रकम जनाउँनेछ । (ख) लागतको बाँकी भाग पहिलो भाग थप गरिएको आय वर्षपछिको आय वर्षमा जोडिन्छ तर सो अवधिको बीचमा यस अनुसूचीको दफा ४ को उपदफा (२) बमोजिम उक्त समूह विघटन भएको हुनुहुदैन ।
ह्रास आधार प्रयोजनको लागि समय अनुसार सम्पत्तिको लागतको गणना गर्दा अवधिमा समावेश भएमा सो निम्नानुसारको रकम ह्रास आधारमा जोड्नु पर्दछ,
- आय वर्षको सुरुदेखि पुष मसान्तसम्मको सम्पत्तिको लागत रकम पूरै,
- माघदेखि चैत्र मसान्तबीचको अवधिमा समावेश भएमा सो सम्पत्तिको लागतको दुई तिहाई रकम,
- बैशाखदेखि आय वर्षको अन्त्यसम्मको अवधिमा समावेश भएमा सो सम्पत्तिको लागतको एक तिहाई रकम,
- उपरोक्तानुसार समावेश भई बाँकी रहने लागत रकम आगामी आय वर्षको सुरु ह्रास आधारमा जोडिन्छ ।
उक्त व्यवस्था तल उदाहरणमा खुलाइएको छ ।
उदाहरण २१.६.७
मानौं, हिमलाल डंगोलको लगानीको आय रहेछ । निजले सो कारोबारको लागि आ.व. २०६५/६६ मा रु.६०,०००/- को कम्प्यूटर खरीद गरेका रहेछन् । उक्त आ.व. को ह्रास आधार गणना गर्दा “ख” समुहको सम्पत्ति रु.६०,०००/- पर्ने कम्प्यूटर २०६५ पौष महिनाभित्रमा थप भएको रहेछ भने पूरै रकम अर्थात रु.६०,०००/- नै हास आधारमा समावेश गर्न पाइन्छ । त्यस्तै सो कम्प्यूटर २०६५ माघदेखि चैत्र मसान्तसम्ममा थप भएको रहेछ भने दुई तिहाई रकम अर्थात रु.४०,०००/- तथा सो कम्प्यूटर २०६६ बैशाखदेखि आषाढ मसान्तसम्ममा थप भएको रहेछ भने एक तिहाई रकम अर्थात रु.२०,०००/- ह्रास आधारमा समावेश गर्न पाइन्छ ।
४. ह्रासयोग्य सम्पत्तिको निःसर्ग:
ऐनको अनुसूची-२ को दफा ४ बमोजिम ह्रासयोग्य सम्पत्तिको निःसर्गको सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ:
अ.२.४(१) कुनै व्यक्तिको सो आय वर्षमा व्यवसाय वा लगानीमा प्रयोग भएका ह्रासयोग्य सम्पत्ति वा सम्पत्तिहरुको निःसर्गबाट भएको आयको गणना गर्दा खण्ड (ख) भन्दा खण्ड (क) बढी भए यस्तो बढी भएजति रकम सो आयमा समावेश गर्नुपर्नेछ ।
(क) कुनै व्यक्तिको समूहको "क", "ख", “ग” वा “घ” वर्गमा पर्ने कुनै आय वर्षमा निजको सो वर्ष ह्रासयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त भएका आयहरु,
(ख) निःसर्गबाट प्राप्त आयलाई समावेश नगरी यस अनुसूचीको दफा २ को उपदफा (३) बमोजिम समूहको सो वर्षको अन्त्यमा रहेको ह्रास कट्टी आधार रकम ।
सम्पत्तिको निःसर्गवापत हुने आय सम्बन्धी अवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २१.६.८
मानौं, नेपाल व्यापार विकास प्रा. लि. को आ.व. २०६४/६५ अन्तमा वर्ग “ग” र “घ” मा निम्नानुसारको सम्पत्ति रहेछ । सो प्रा. लि. ले आ.व. २०६५/६६ माघमा रु.१,००,०००/- को मोटरसाइकल थप गरेको रहेछ । आ.व. २०६५/६६ मा सो प्रा. लि. ले आफूसँग भएको कार रु १७ लाख र मेशिन रु. ९ लाखमा बिक्री गरेको रहेछ । मोटर साइकल दुर्घटनामा परी काम नलाग्ने भएकाले अब कुनै सम्पत्ति बाँकी रहेनछ भने सो समुहको कट्टी हुने खर्च | (Outgoings) र आयमा समावेश हुने रकम (Incomings) निम्नानुसार रहन्छ ।
| समूह | - | - | - |
|---|---|---|---|
| वर्षको शुरुको ह्रास आधार | १,५००,००० | १,०५०,००० | २,५५०,००० |
| यो वर्ष थप (अवधि अनुसार) | १००,००० | - | १००,००० |
| यो वर्षको निःसर्ग | १,७००,००० | ९००,००० | २,६००,००० |
| समूहमा सम्पत्ति बाकी | छैन | छैन | - |
| आयमा समावेश हुने रकम (Balancing Charge) | १००,००० | - | १००,००० |
| विघटन हुदाको ह्रास (Terminal Depreciation) | - | १५०,००० | १५०,००० |
| ह्रास आधार | - | - | - |
माथि उल्लिखित अवस्थामा वर्गमा सम्पत्ति बाँकी नरहेकाले ह्रास आधारभन्दा बढी प्राप्त बमोजिम ह्रास खर्च (Terminal Depreciation) पाउँदछ । वर्गका सम्पत्तिको बिक्री वर्षको सुरुमा नै नभई बीचमा वा वर्षान्तमा भएमा सो वर्गमा मर्मत खर्च भएको हुन सक्तछ । तर उल्लिखित अवस्थामा सम्पत्ति रहेको तर सो सम्पत्तिको वर्गमा बाँकी रकम नरहेको कारण त्यस्तो सम्पत्तिमा हुन आउने मर्मत सुधार खर्च भएमा वर्ग विघटन नभएकाले सो सम्पत्तिको ह्रास आधारमा थप हुन जान्छ र आगामी वर्ष ह्रास आधारमा समावेश गरी ह्रास खर्च दाबी गर्नुपर्नेछ ।
अ.२.४(२) कुनै व्यक्तिले कुनै आय वर्ष समाप्त हुनुभन्दा अगाडि सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिको समूहमा रहेका सबै सम्पत्तिहरु निःसर्ग गरेमा सो समूह विघटन भएको मानिनेछ र देहाय बमोजिम हुनेछ:
(क) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुने ह्रास कट्टी रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिले सो वर्षको लागि सो बढी भएजति रकम प्राप्त गरे सरह मानिनेछ । वा क - ख
(ख) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम हास गणना गर्दा हुन आउने रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिलाई सो वर्ष सो बढी भएजति खर्च रकम मिनाहा हुनेछ ख - क
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि:
(१) “क” भन्नाले कुनै व्यक्तिले सो सम्पत्तिको निःसर्गबाट सो वर्ष प्राप्त गरेको वा प्राप्त गर्ने आम्दानीहरु (इनकमिङ्गस) सम्झनु पर्छ ।
(२) “ख” भन्नाले खण्ड (अ), (आ) र (इ) को जम्मा रकम सम्झनु पर्छ
(अ) सो वर्षमा समूहको घट्दो प्रणालीको बाँकी मूल्य,
(आ) समूहको ह्रास रकममा जोडिएका सो वर्षका खर्चहरु आधार (आउटगोइङ्गस), र
(इ) समूहको ह्रास आधार रकममा यस अनुसूचीको दफा २ को उपदफा (५) बमोजिम आगामी वर्षमा जोडिने खर्चहरु (आउटगोइङ्गस) ।
सम्पत्तिको समूहको निःसर्गको अवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २१.६.९
मानौं, गोबिन्द लामाको आ.व. २०६४/६५ को अन्त्यमा समूह “ग” मा निम्नानुसारको सम्पत्ति रहेछ । निजले आ.व. २०६५/६६ मा कुनै सम्पत्ति थप गरेको रहेनछ । आ.व. २०६५/६६ मा निजले आफूसँग भएको कार रु.१४ लाखमा बिक्री गरेको रहेछ भने सो समूहको Outgoingsर Incomings निम्नानुसार रहन्छ ।
(क) जम्मा समुह "ग" रु.१५,००,०००/- (ख) आ.ब. २०६४/६५ ह्रास आधार रु.१५,००,०००/- (ग) आ.ब. २०६४/६५ को ह्रास खर्च रु.३,००,०००/- (घ) ह्रास आधारबाट ह्रास खर्च पछिको रकम (ख-ग) रु.१२,००,०००/- (ङ) आ.ब. २०६५/६६ ह्रास आधार, समायोजन अघि (Outgoings) रु.१२,००,०००/- (च) सम्पत्ति बिक्रीबाट प्राप्त रकम (Incomings) रु.१४,००,०००/- (५) आयमा समावेश गर्नु पर्ने रकम (च-ङ) रु.२,००,०००/-
यसरी सो सम्पत्तिको समूहमा बाँकी रकम (Outgoings) भन्दा Incomings बढी भएको र सो समूहमा अन्य सम्पत्ति समेत नरहेको कारण त्यस्तो सम्पत्तिको समूह निःसर्ग भएको मानिन्छ र Outgoings भन्दा Incomings बढीको रकम रु. २ लाख लगानीको आयमा समावेश गर्नुपर्नेछ । यदि निजले सो कार रु ११ लाखमा मात्र बिक्री गरेको भए Incomingsभन्दा Outgoings रु. १ लाखले कम भएको हुँदा दफा १९ अन्तर्गत सो आ.व. मा खर्च दाबी गर्न पाउँथ्यो ।
अ.२.४(३) यस अनुसूचीको प्रयोजनको लागि कुनै आय वर्षमा ह्रासयोग्य सम्पत्तिको समूहको घट्दो प्रणालीको बाँकी रहेको मूल्य भन्नाले निम्नानुसारको रकमलाई जनाउँछ:
(क) समूहको वर्ग “क”, “ख”, “ग” वा “घ” को हकमा, सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो वर्षको लागि सो समूहको यस अनुसूचीको दफा २ को उपदफा (२) र उपदफा (६) बमोजिम गणना गरिएको कुनै ह्रास भए सो घटाए पछि हुने रकम,
(ख) समूहको वर्ग “ङ” को सम्बन्धमा सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो व्यक्तिलाई यस अनुसूचीको दफा २ को उपदफा (१) बमोजिम कट्टी गर्न दिइएका विगतका आय वर्षहरुका सबै खर्चहरु घटाएपछि हुने रकम ।
प्रत्येक आ.व.मा ह्रास खर्च घटाइसकेपछि कायम हुने बाँकी मूल्यलाई घट्दो प्रणालीको बाँकी रहेको मूल्य (Written Down Value) भनिन्छ । यस व्यवस्थालाई स्पष्टपार्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २१.६.१०
मानौं, गोबिन्द लामाको आ. व. २०६४/६५ को अन्त्यमा समूह “ग” मा निम्नानुसारको सम्पत्ति रहेछ । निजले आ.व. २०६५/६६ मा कुनै सम्पत्ति थप गरेको रहेनछ (क) जम्मा समूह “ग” रु.१५,००,०००/- (ख) आ.व. २०६४/६५ ह्रास आधार रु.१५,००,०००/- (ग) आ.व. २०६४/६५ को ह्रास खर्च रु.३,००,०००/- (घ) घट्दो प्रणालीको बाँकी रहेको मूल्य (Written Down Value) (ख-ग) १२,००,०००/-
२१.७ विदेशमा तिरेको आयकर
आयकर ऐन, २०५८ ले बासिन्दा व्यक्तिको वैदेशिक आय छ र सोमा विदेशमा आयकर तिरेको छ भने नेपालको करको औसत दरको सीमाभित्र रही वैदेशिक कर मिलान गर्न सक्ने व्यवस्था गरेको छ । तर कुनै बासिन्दा व्यक्तिले कुनै आय वर्षमा वैदेशिक आय वापत विदेशमा कर तिरेको छ भने त्यसरी तिरेको कर उक्त विदेशको आय र नेपालको आय समेत समावेश गर्दा लाग्ने करमा मिलान नगरी विदेशमा दाखिला गरेको कर रकम बराबरको रकमलाई खर्च दाबी गर्न सक्ने व्यवस्था ऐनको दफा ७१ को उपदफा (४) मा रहेको छ ।
७१ (४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षको लागि कुनै व्यक्तिले सो वर्षमा पाउने विदेशी कर मिलानको दाबी छोडी यस्तो मिलान सुविधा उपलब्ध रहेको विदेशी आयकर वापतको रकम खर्च दाबी गर्न पनि सक्नेछ ।
२१.८ लगानीबाट नोक्सानी
ऐनको दफा २० मा लगानीबाट भएको नोक्सानी निम्नानुसार कट्टी गर्न पाउने व्यवस्था रहेको छः
२०(१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको नोक्सानी कट्टी गर्न पाउनेछ:
(क) सो व्यक्तिले अन्य कुनै व्यवसायबाट व्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी, र
(ख) त्यस्तो व्यक्तिले कुनै व्यवसायबाट व्यहोर्नु परेको विगत सात आय वर्षहरुको कट्टी हुन नपाएको नोक्सानी ।
तर सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजना, विद्युत गृह निर्माण, उत्पादन तथा प्रसारण गर्ने आयोजना र नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको हकमा विगत बाह्र वर्षको कट्टी हुन नपाएको नोक्सानी ।
कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भए को आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले अन्य कुनै व्यवसायबाट व्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी र सो व्यक्तिले कुनै व्यवसायबाट व्यहोर्नु परेको विगत सात आय वर्षको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाइन्छ । यस अर्थमा व्यवसायको नोक्सानी लगानीको आयमा कट्टी दाबी गर्न सकिने भएतापनि लगानीको नोक्सानी भने व्यवसायको आयबाट कट्टी दाबी गर्न सकिदैन । त्यस्तै व्यवसाय वा लगानीबाट भएको नोक्सानी पारिश्रमिकको आयबाट घटाउन सकिदैंन । नोक्सानी समायोजन खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २१.८.१
मानौं, गणेश सिंखडाको आ.व. २०६५/६६ मा होटल व्यवसायबाट रु.१० लाख नोक्सानी भएको रहेछ । निजले सो वर्ष एक सूचिकृत कम्पनीको शेयर बिक्री (लगानीको आय) गरेका रहेछन् र सो वापतरु १५ लाख लाभ भएको रहेछ । निजको सो आ.व.मा शेयर निःसर्गबाट भएको खुद लाभ गणना गर्दा होटल व्यवसायबाट भएको नोक्सानी रु.१० लाख कट्टी दाबी गरी बाँकीरु ५ लाख मात्र खुद लाभ हुने हुन्छ । माथि उल्लिखित उदाहरणमा होटल व्यवसायबाट भएको आयबाट भने लगानीको नोक्सानी कट्टी दाबी गर्न पाइदैन ।
२०(२) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि त्यस्तो व्यक्तिले अन्य कुनै लगानीबाट व्यहोर्नु परेको उक्त वर्षको कट्टी हुन नपाएको नोक्सानी र त्यस्तो व्यक्तिको उक्त लगानी र अन्य कुनै लगानीबाट व्यहोर्नु परेको विगत सात आय वर्षहरुको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाउनेछ ।
कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले अन्य कुनै लगानीबाट व्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी र सो व्यक्तिले कुनै लगानीबाट व्यहोर्नु परेको विगत सात आय वर्षको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाइन्छ । लगानीमा भएको नोक्सानी समायोजन खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २१.८.२
मानौं, गणेश सिंखडाले आ.व. २०६४/६५ मा एक सूचीकृत कम्पनीको शेयर बिक्री (लगानीको आय) गरेका रहेछन् र सो वापतरु. ६ लाख नोक्सान भएको रहेछ र त्यस्तो नोक्सानी सो वर्ष समायोजन हुन सकेको रहेनछ । आ.व. २०६५/६६ मा निजले एउटा जग्गा (गैर व्यावसायिक करयोग्य सम्पत्ति) रु.१ करोडमा बिक्री (लगानीको आय) गरेका रहेछन् र सो वापतरु. २० लाख लाभ भएको रहेछ । निजको सो आ.व.मा गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट भएको खुद लाभ गणना गर्दा आ.व. २०६४/६५ मा लगानीमा भएको नोक्सानी रु.६ लाख कट्टी दाबी गरी बाँकीरु. १४ लाख मात्र खुद लाभ हुन्छ ।
२०(३) उपदफा (१) र (२) को अधीनमा रही सो उपदफाहरुको प्रयोजनका लागि कुनै व्यक्तिले विदेशी स्रोतका सम्बन्धमा व्यहोर्नु परेको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको विदेशी स्रोतबाट भएको आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ र कुनै कर नलाग्ने आय प्राप्त गर्दा भएको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको कर नलाग्ने आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ
कुनै व्यक्तिले विदेशी स्रोतका सम्बन्धमा व्यहोर्नु परेको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको विदेशी स्रोतबाट भएको आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ र कुनै कर नलाग्ने आय प्राप्त गर्दा भएको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको कर नलाग्ने आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ । अर्थात कुनै व्यक्तिको पाकिस्तानमा भएको लगानीको नोक्सानी पाकिस्तानमा नै भएको लगानीको आयबाट मात्र कट्टी गर्न पाउनेछ ।
२०(७) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट व्यहोर्नु परेको नोक्सानीको गणना गर्दा यस दफाको प्रयोग नगरी सो व्यक्तिको व्यवसाय वा
२०(८) लगानीबाट भएको आय गणना गर्दा समावेश गरिने रकमहरु भन्दा कट्टी गरिने रकमहरु बढी भए यसरी बढी भए जतिको रकमको गणना गर्नु पर्नेछ । कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीको आयमा पूर्णकर छुट प्राप्त गरेको भए त्यस्तो आय वर्षमा भएको नोक्सानी आगामीआय वर्षमा सारी लैजान (क्यारी फरवार्ड) पाउने छैन ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “कट्टी हुन नपाएको नोक्सानी” भन्नाले उपदफा (१), (२) वा (४) बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी नगरिएको हदसम्मको नोक्सानी सम्झनु पर्छ ।
उदाहरणको लागि:
क. समावेश गरिने आय (मानौ) रु. १,००,००,०००/-
ख. कट्टी गरिने रकमहरु (मानौं) रु. १,१०,००,०००/-
ग. कट्टी हुन नपाएको नोक्सानी (ख - क) रु.१०,००,०००/-
कुनै व्यक्तिको आयमा पूर्ण कर छुट हुने रहेछ भने त्यस्तो व्यवसाय वा लगानीमा भएको नोक्सानी अन्य व्यवसाय वा लगानीको आयबाट घटाउन पाउने छैन । जस्तो, ऐनको दफा ११ बमोजिम पूर्ण कर छुट भएको व्यवसायको नोक्सानी अन्य व्यवसाय वा लगानीको आय गणना गर्दा कट्टी दाबी गर्न पाईंदैन र त्यस्तो नोक्सानी Carry Forward समेत गर्न सकिंदैन ।
graph LR
A("व्यवसायको <br> नोक्सानी") --> B("स्वोदेशी श्रोत")
A --> C("विदेशी <br> (सोहि देशको श्रोत)")
D("लगानी <br> नोक्सानी") --> E("स्वोदेशी श्रोत")
D --> F("विदेशी <br> (सोहि देशको श्रोत)")
B --> G("स्वोदेशी श्रोत")
B --> H("विदेशी <br> (सोहि देशको श्रोत)")
B --> I("स्वोदेशी श्रोत")
B --> J("विदेशी <br> (सोहि देशको श्रोत)")
C --> H
C --> J
E --> I
E --> J
F --> J
K("व्यवसायको आय") --> G
K --> H
L("लगानीको आय") --> I
L --> J
२१.९ घटाउन पाउने चन्दा रकम
आयकर ऐन, २०५८ को दफा १२ अनुसार चन्द्रा वापत खर्च गरिएको रकमलाई निम्नानुसार छुट दाबी गर्न सकिने व्यवस्था गरिएको छ:
(१) कुनै व्यक्तिले कुनै आय वर्षमा आफ्नो करयोग्य आय गणना गर्दा यस दफाको प्रयोजनको लागि विभागबाट स्वीकृति प्राप्त कर छुट पाउने संस्थालाई चन्दा उपहार दिएको रकम घटाउन दाबी गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि उक्त उपदफा बमोजिम कुनै आय वर्षमा घटाउन पाउने खर्च एक लाख रुपैयाँ वा त्यस्तो व्यक्तिको उक्त वर्षको समायोजित करयोग्य आयको पाँच प्रतिशतमध्ये जुन घटी हुन्छ त्यो भन्दा बढी हुने छैन ।
यस व्यवस्था अन्तर्गत खर्च छुट दाबी गर्न यस्तो चन्दा खर्च विभाग (कार्यालय बाट स्वीकृत प्राप्त कर छुट पाउने संस्थालाई दिइएको हुनु पर्दछ । विशेष गरी कर छुट पाउने संस्थामा परोपकारी संस्था, धार्मिक संस्थाका साथै सामाजिक कार्य गर्ने NGO हुन सक्छन् ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै व्यक्तिले खर्च गरेको वा चन्दा दिएको रकम सो व्यक्तिको आय निर्धारण गर्दा खर्च वापत पूर्ण वा आंशिक रूपमा कट्टी गर्न पाउने गरी तोक्न सक्नेछ ।
ऐनको दफा २ को खण्ड (कन१) अनुसार समायोजित करयोग्य आय भन्नाले कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आयको गणना गर्दा दफा १२ बमोजिम चन्दा रकम नघटाई तथा दफा १४ को उपदफा (२) को व्याज, दफा १७ को प्रदूषण नियन्त्रण खर्च वा १८ बमोजिम अनुसन्धान र विकास खर्च कट्टी नगरी गणना गरिएको करयोग्य आय सम्झनु पर्दछ । दफा १४(२) बमोजिमको ब्याज, दफा १७ बमोजिमको प्रदुषण नियन्त्रण खर्च र दफा १८ बमोजिमको अनुसन्धान र विकास खर्च नभएका करदाताका लागि निर्धारणयोग्य आयबाट कुनै अवकाश योगदान भए घटाई आउने रकम नै समायोजित करयोग्य आय हुन्छ ।
२१.१० सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्च
ऐनको दफा १२क. मा सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्चका दाबी गर्ने सन्दर्भ निम्नानुसारको व्यवस्था गरेको छ :
१२क. कुनै कम्पनीले कुनै आय वर्षमा विभागको पूर्व स्वीकृति लिई नेपालभित्र रहेका प्राचीन धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने वा खेलकूदको सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा गरेको खर्चमध्ये दश लाख रुपैंयाँसम्मको रकम वा निर्धारणयोग्य आयको दश प्रतिशतले हुने रकममध्ये जुन घटी हुन्छत्यस्तो रकम आफ्नो उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउने दाबी गर्न सक्नेछ ।
नेपालभित्र रहेका प्राचीन धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने वा खेलकूदको सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा कुनै कम्पनीले गरेको खर्च निम्न आधारमा निर्धारणयोग्य आयबाट घटाई पाउँन दाबी गर्न सक्छः
क. विभागबाट पूर्व स्वीकृति लिनु पर्नेः यसरी स्वीकृति माग्दा खर्च गर्ने प्रयोजन, खर्च गर्ने
अनुमानित रकम खर्च गर्ने समयसीमाएवम् खर्च गर्ने प्रक्रिया (जस्तैः सम्बन्धित निकायमा सिधा भुक्तानी गर्ने, आफै गर्ने वा ठेक्का मार्फत गर्ने) खोली खर्च गर्ने कम्तीमा ७ दिन अगाडि सम्बन्धितकार्यालय मार्फत विभागमा निवेदन दिनुपर्दछ । निवेदन उपर कार्यालयले निर्णय गरी करदातालाई निर्णयको जानकारी दिएको हुनुपर्दछ ।
ख. खर्च गर्न सक्ने सीमा: यस प्रयोजनकोलागि रु.१० लाखमा नबढ्ने गरी वा निर्धारणयोग्य आयको १० प्रतिशत भन्दाबढी हुन नहुने ।
२१.११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च
ऐनको दफा १२ख. मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको रकम खर्च कट्टी गर्न पाउने सन्दर्भमा देहायको व्यवस्था छ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च : कुनै व्यक्तिले कुनै आय वर्षमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन सक्नेछ ।
२१.१२ स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुँजी
ऐनको दफा १२ग. मा स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुँजीरकम खर्च कट्टी गर्न पाउने सन्दर्भमा देहायको व्यवस्था छ :
स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुँजी: कुनै व्यक्तिले सम्बद्ध व्यक्ति बाहेकका बढीमा पाँच वटा स्टार्ट अप व्यवसायलाई प्रति व्यवसाय एक लाख रुपैयाँसम्मको बीउ पुँजी अनुदान स्वरुप उपलब्ध गराएमा सो रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउनेछ ।
२१.१३ घटाउन पाउने अवकाश योगदान रकम
ऐनको दफा ६३(२) अनुसार प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा स्वीकृत अवकाश कोषमा गरेको अवकाश योगदान आयबाट घटाई पाउन दाबी गर्न सक्नेछ । तर दफा ६३(३) एवम् नियम २१ बमोजिम रु.३ लाख वा निजको निर्धारण योग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्नेछ । तर स्वीकृति प्राप्त नगरेका अवकाश कोषमा गरेको योगदान भने आयबाट घटाई पाउन दाबी योग्य हुँदैन । यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषमा योगदान गर्नेको हकमा नियम २१ बमोजिम रु. ५ लाख वा निजको निर्धारण योग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्नेछ ।
२१.१४ बोनस खर्च कट्टी
बोनस खर्च कट्टीका बिषयमा यस निर्देशिकाको परिच्छेद १८.१३ मा उल्लेख गरिए बमोजिम नै गर्नु पर्दछ ।
२१.१५ कट्टी गर्न नपाउने खर्च
सामान्यतयाः आयकर ऐन, २०५८ मा लगानीको आय गणना गर्दा सो लगानीको निमित्त सो व्यक्तिले गरेको आय आर्जनसँग सम्बन्धित खर्च कट्टी दाबी गर्न पाउने व्यवस्था भए पनि ऐनको दफा २१ मा केही विशेष व्यवस्था अन्तर्गत कट्टी दाबी गर्न नपाउने खर्च रहेको र सो सम्बन्धी प्रावधान तल खुलाइएको छ :
२१(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहायको खर्च वा रकम कट्टी गर्न पाइने छैन:
(क) घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च,
(ख) यस ऐन बमोजिम बुझाउनु पर्ने कर र कुनै देशको सरकार तथा सोको कुनै पनि स्थानीय निकायलाई कुनै कानुन वा सो कानुन अन्तर्गत बनेको कुनै नियम, विनियमको उल्लङघन गरे बापत बुझाइएको जरिबाना र यस्तै अन्य शुल्क, तर प्रदेश सरकार र स्थानीय तहमा तिरेको कर खर्चको रुपमा कट्टी गर्न पाइनेछ ।
(ग) दफा १० बमोजिम छुट पाउने रकमहरु प्राप्त गर्न कुनै व्यक्तिबाट खर्च गरिएको हदसम्मका वा अन्तिम रूपमा कर कट्टी गरिएका रकमहरु प्राप्त गर्न गरिएका खर्चहरु, (घ) उपदफा (२) मा लेखिएको भुक्तानी बापतको खर्च,
(घ१) पटके प्रकृतिको तीन हजार रुपैयाँसम्मको ज्याला भुक्तानी बाहेक स्थायी लेखा नम्बर नलिएका कर्मचारी तथा कामदारलाई वितरण गरेको पारिश्रमिक तथा ज्याला खर्च,
(घ२) स्थायी लेखा नम्बर उल्लेख नभएको दुई हजार रुपैयाँभन्दा बढीको बीजक बापतको खर्च, तर व्यावसायिक कारोबार नगर्ने प्राकृतिक व्यक्तिसँग सोझै गरिने कृषिजन्य, वनजन्य, पशुजन्य र अन्य घरायसी वस्तुको खरिदमा बिक्रेताले स्थायी लेखा नम्बर लिएको रहेनछ भने पनि त्यस्तो खरिद खर्च मान्य हुनेछ ।
(ङ) कुनै निकायबाट गरिएको मुनाफाको वितरण, वा
(च) यस परिच्छेद वा परिच्छेद६, ७, १०, ११, १२ वा १३ बमोजिम प्रदान गरिएका बाहेक खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा खर्च कट्टी गर्न नपाउने भनी नभनिएको भए तापनि यस्ता अन्य कुनै रकमहरु |२१(२) कुनै आय वर्षमा बीस लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने व्यक्तिले देहायका अवस्थामा बाहेक सो आय वर्षमा एक पटकमा पचास हजार रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरेमा सो कट्टी गर्न पाउनेछैन:
(क) नेपाल सरकार, संवैधानिक निकाय, नेपाल सरकारको स्वामित्व भएको संस्थान वा बैंक वा वित्तीय संस्थालाई गरिएको भुक्तानी,
(ख) प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषक वा उत्पादकलाई भुक्तानी गर्दा र त्यस्तो पैदावारको प्राथमिक प्रशोधन भइसकेको भए पनि कृषक आफैले प्रशोधन गरी भुक्तानी पाएको भए सो रकम,
(ग) अवकाश योगदान वा अवकाश भुक्तानी बापतको भुक्तानी,
(घ) बैकिङ्ग सेवाहरु उपलब्ध नभएको स्थानमा गरिएको भुक्तानी,
(ङ) बैकिङ्ग सेवा बन्द भएको दिनमा गरिएको भुक्तानी वा नगदमा नै गर्नुपर्ने कुनै अपरिहार्य बाध्यता भएको भुक्तानी, वा
(च) भुक्तानी पाउने व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम ।२१(३) दफा १४, १५, १६, १७, १८, १९, २० र ७१ का व्यवस्थाहरूको अधीनमा रही पुँजीगत प्रकृतिको खर्च वा विदेशी आयकरबापत कुनै पनि रकम कट्टी गर्न पाइने छैन ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,
(क) “घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च " भन्नाले देहायका खर्चहरु सम्झनु पर्छ :-
(१) कुनै प्राकृतिक व्यक्तिको निजी खर्च, ऋण लिएकोमा व्यक्तिगत प्रयोग भएको हदसम्मको ऋण बापतको ब्याज समेत देहायका खर्चहरु :-
(क) बासस्थान, खाना, खाजा, मनोरञ्जन वा आमोदप्रमोदका अन्य क्रियाकलापहरु उपलब्ध गराउने समेतका प्राकृतिक व्यक्तिको लागि भएका खर्च,
(ख) व्यवसाय वा लगानीको सिलसिलामा आवतजावत गर्ने बाहेक प्राकृतिक व्यक्तिले घरबाट व्यवसाय वा लगानी सञ्चालन गरिने स्थानमा आवत-जावत गरेबापतको खर्च,
(ग) काम गर्दाको समयबाहेक अन्य समयमा लगाउन उपयुक्त नभएका लुगाबाहेक प्राकृतिक व्यक्तिका लागि लुगाको खरिद गर्न भएको खर्च, र
(घ) शिक्षा वा तालिमको लागि गरिएको खर्च |
तर कुनै डिग्री वा डिप्लोमा हासिल नहुने किसिमका व्यवसाय वा लगानीसँग प्रत्यक्ष रूपले सम्बन्धित शिक्षाको लागिमात्र गरिएको खर्च कट्टी गर्न पाइनेछ ।
(२) देहायका अवस्थाहरु तथा सोको हदसम्म बाहेक कुनै व्यक्तिले कुनै प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको सम्बन्धमा लागेका खर्चहरु र तेस्रो व्यक्तिको लागि गरिएको खर्चहरु :-
(क) प्राकृतिक व्यक्तिको आयको गणना गर्दा सो भुक्तानीलाई समावेश गरिएको भएमा,
(ख) प्राकृतिक व्यक्तिले आफूले पाएको भुक्तानीको बजार मूल्य बराबरको सो व्यक्तिलाई प्रतिफलस्वरूप फिर्ता भुक्तानी गरेको भएमा,
(ग) हिसाब राख्न कठिन हुने वा प्रशासनिक रूपले अव्यावहारिक हुने तोकिएबमोजिमका सानातिना रकमको भुक्तानी भएमा ।
(ख) “बैकिङ्ग सेवा उपलब्ध स्थान” भन्नाले कुनै स्थान विशेषको दश किलोमिटर क्षेत्रभित्र बैकिङ्ग सेवा उपलब्ध भएकोमा सो स्थानलाई बैकिङ्ग सेवा उपलब्ध स्थान सम्झनुपर्छ ।
(ग) “नगद भुक्तानी” भन्नाले बैंक वा वित्तीय संस्थामार्फत प्रतितपत्र, एकाउण्ट पेयी चेक, ड्राफ्ट, धनादेश, टेलिग्राफिक ट्रान्सफर, मनी ट्रान्सफर (हुण्डी) द्धारा बैंक खातामा जम्माहुने गरी गरिएको भुक्तानी र बैंक वा वित्तीय संस्थाबीच अन्य कुनै किसिमबाट गरिएको स्थानान्तरण बाहेकका भुक्तानी सम्झनुपर्छ ।
(घ) “पुँजीगत प्रकृतिको खर्च” भन्नाले देहाय बमोजिमका खर्च सम्झनुपर्छ:
(१) प्राकृतिक स्रोतको सम्भाव्यता अध्ययन, अन्वेषण र विकासका सम्बन्धमा लागेको खर्च,
(२) बाह्र महिनाभन्दा बढी लाभप्रद आयु भएको कुनै सम्पत्ति प्राप्त गर्दा लागेको खर्च, वा
(३) दायित्वको निःसर्ग गर्दा लागेको खर्च |
ऐनको दफा २१ अनुसार कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहायको खर्च वा रकम कट्टी गर्न पाइनेछैन:
घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च,
“घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च” भन्नाले देहायका खर्च सम्झनुपर्छः-
कुनै प्राकृतिक व्यक्तिको निजीखर्च, ऋण लिएकोमा व्यक्तिगत प्रयोग भएको हदसम्मको ऋण बापतको ब्याज समेत देहायका खर्च:
(क) बासस्थान, खाना, खाजा, मनोरञ्जन वा आमोदप्रमोदका अन्य क्रियाकलाप उपलब्ध गराउने समेतका प्राकृतिक व्यक्तिको लागि भएका खर्च,
(ख) व्यवसायको सिलसिलामा आवतजावत गर्ने बाहेक प्राकृतिक व्यक्तिले घरबाट व्यवसायसञ्चालन गरिने स्थानमा आवतजावत गरेबापतको खर्च,
(ग) काम गर्दाको समयबाहेक अन्य समयमा लगाउन उपयुक्त नभएका लुगाबाहेक प्राकृतिक व्यक्तिका लागि लुगाको खरिद गर्न भएको खर्च, र
(घ) शिक्षा वा तालिमको लागि गरिएको खर्च ।
तर कुनै डिग्री वा डिप्लोमा हासिल नहुने किसिमका व्यवसायसँग प्रत्यक्ष रूपले सम्बन्धित शिक्षाको लागिमात्र गरिएको खर्च कट्टी गर्न पाइनेछ ।
यस ऐन बमोजिम बुझाउनुपर्ने कर र कुनै देशको सरकार तथा सोको कुनै पनि स्थानीय निकायलाई कुनै कानुन वा सो कानुन अन्तर्गत बनेको कुनै नियम, विनियमको उलङ्घन गरेबापत बुझाइएको जरिबाना र यस्तै अन्य शुल्क,
कर छुट पाउने आय प्राप्त गर्न गरिएको खर्च वा अन्तिम रूपमा कर कट्टी गरिएका रकम प्राप्त गर्न गरिएका खर्च,
कुनै आय वर्षमा बीस लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने व्यक्तिले ऐनमा तोकिएको अवस्थामा बाहेक एक पटकमा पचास हजार रुपैयाँभन्दा बढीको,
नगद भुक्तानीबापतको खर्च, कुनै निकायबाट गरिएको मुनाफाको वितरण,
दफा १४, १५, १६, १७, १८, १९, २० र ७१ को अधीनमा रही पुँजीगत प्रकृतिको खर्च वा विदेशी आयकर बापत कुनैपनि रकम कट्टी गर्न पाइदैन ।
दफा २१(१) (च) मा ऐनको कुनै दफाले स्पष्ट रूपमा खर्च कट्टी गर्न नपाउने भनी नभनिएको भएतापनि यस्ता अन्य कुनै रकम समेत खर्च कट्टी गर्न पाईनेछैन ।