Skip to content

परिच्छेद ४ प्राकृतिक व्यक्ति र निकाय सम्बन्धी विशेष व्यवस्था

१७. स्वीकृत औषधि उपचार खर्च र सीमा

(१) ऐनको दफा ५१ बमोजिम औषध उपचार बापत कर मिलानको गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको औषधि उपचार खर्चलाई स्वीकृत औषधि उपचार खर्च मानिनेछः
  (क) [..........] 1
  (ख) कुनै प्राकृतिक व्यक्तिलाई मान्यता प्राप्त अस्पताल, नर्सिङ्ग होम, स्वास्थ्य केन्द्र वा चिकित्सकले उपचार गर्दा लागेको औषधि लगायतका बिल बमोजिमको रकम ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका खर्चहरू स्वीकृत औषधि उपचार खर्च मानिने छैनन्:
  (क) सौन्दर्य शल्यचिकित्सा ( कष्मेटिक सर्जरी) मा भएको खर्च, र
  (ख) [ऐनको अनसची-१ को दफा १ को उपदफा (१६) मा] 2 उल्लिखित बीमाबाट क्षतिपूर्ति प्राप्त भएको उपनियम (१) को खण्ड (ख) मा उल्लिखित खर्च ।

(३) ऐनको दफा ५१ को उपदफा (३) बमोजिम कर मिलान गर्न सकिने रकमको सीमा सात सय पचास रुपैयाँ हुनेछ ।

१८. लाभांशको रकमलाई निकायको आय गणना गर्दा समावेश गर्न नपर्ने

(१) ऐनको दफा ५६ को उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांशको प्रयोजनको लागि कुनै निकायले देहायको कार्यको लागि कुनै हिताधिकारीलाई सो निकायको व्यवसाय सञ्चालनको सिलसिलामा नभई अन्य कारणले मुनाफा बाहेकको लाभांश वितरण गरेमा आय गणना गर्दा समावेश गर्नु पर्ने छैनः   (क) सो निकायबाट हिताधिकारीलाई उपलब्ध गराइएको सेवा वा   (ख) हिताधिकारीको प्रयोगको लागि उपलब्ध गराइएको सो निकायको स्वामित्वमा रहेको सम्पत्ति ।

(२) उपनियम (१) बमोजिमको अवस्थामा त्यस्तो सेवा वा सम्पत्तिको सम्बन्धमा ह्रास कट्टी लगायत कुनै पनि खर्च कट्टी गर्न पाइने छैन ।

[१९. ..........] 3

..........


  1. पाँचौं संशोधनद्वारा झिकिएको । मूल नियमको व्यवस्था: "(क) कुनै प्राकृतिक व्यक्तिले स्वास्थ्य बापत भुक्तानी गरेको बीमा प्रिमियम," 

  2. पाँचौं संशोधनद्वारा संशोधित । मूल नियममा “उपनियम (१) को खण्ड (क) मा भन्ने शब्दहरु रहेका ।" 

  3. दोस्रो संशोधनद्वारा खारेज। मूल नियमको व्यवस्थाः
    “१९. बैङ्किङ्ग वा सामान्य बीमा व्यवसायको विगतका आय वर्षहरूको आयबाट नोक्सानी घटाउनेः
    (१) बैङ्किङ्ग वा सामान्य बीमा व्यवसायले विगतका पाँच आय वर्षहरूको आयबाट नोक्सानी घटाउँदा देहाय बमोजिम गर्नु पर्नेछ:
      (क) कुनै बैङ्किङ्ग वा सामान्य बीमा व्यवसायको कुनै आय वर्षमा नोक्सानी भई विगतका आय वर्षहरूको आयबाट घटाउने भएमा विगतका आय वर्षहरूमा खर्च मिनाहा भएको जोखिम व्यहोर्ने कोषमा रकम जगेडा भएमा सो नोक्सानी सो जगेडा रकमबाट कट्टी गरी बाँकी रहेको नोक्सानी मात्र विगतका आय वर्षहरूको आयबाट घटाउने ।
      (ख) खण्ड (क) बमोजिम घटाई बाँकी रहेको नोक्सानी सर्वप्रथम विगतका पाँचौं वर्षको नाफाबाट घटाउने र त्यसपछि पनि नोक्सानी बाँकी रहेमा क्रमशः त्यसपछिका वर्षहरूको नाफाबाट त्यस्तो नोक्सानी घटाउने ।
    (२) उपनियम (१) को खण्ड (क) र (ख) बमोजिम नोक्सानी घटाउँदा यसरी घटाइएको रकम जुन आय वर्षको नाफाबाट घटाइएको हो सो आय वर्षको करको दरले हुने रकम नोक्सानी दाबी गर्ने व्यक्तिबाट लिनु पर्ने अन्य कुनै रकम भए सोमा मिलान गरी बढी रकम ऐनको दफा ११३ बमोजिम फिर्ता दिनु पर्नेछ ।”