परिच्छेद ६: कर लेखाङ्कन र समय
२२. कर लेखाङ्कन गर्ने तरिका
(१) कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्त अनुरूप हुनेछ।
(२) प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्नेछ ।
(३) कम्पनीले कर प्रयोजनको लागि एकुयल आधारमा लेखाङ्कन गर्नु पर्नेछ ।
(४) विभागले लिखित सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक कुनै व्यक्तिले आयकर प्रयोजनका लागि उपदफा (१), (२) र (३) को अधीनमा रही नगद वा एकुयल आधारमा लेखाङ्कन गर्न सक्नेछ ।
(५) कुनै व्यक्तिले कर प्रयोजनको लागि उपदफा (२) र (३) को अधीन रही कर लेखाङ्कन गर्ने तरिकामा परिवर्तन गर्न निवेदन दिन सक्नेछ । त्यस्तो व्यक्तिको आम्दानी स्पष्ट देखाउन लेखाङ्कन राख्ने तरिकामा परिवर्तन गर्न आवश्यक छ भन्ने विभागलाई लागेमा विभागले लेखाङ्कन गर्ने तरिकामा परिवर्तन गर्ने स्वीकृति दिन सक्नेछ ।
(६) कर प्रयोजनको लागि कुनै व्यक्तिको लेखाङ्कन तरिका उपदफा (५) बमोजिम परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरूमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ ।
२३. नगद आधारको लेखाङ्कन
कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही रोजगारी, व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन नगद आधारमा गर्दा देहाय बमोजिम गर्नु पर्नेछः-
(क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानी समावेश गर्नु पर्नेछ ।
(ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्च बापत कट्टी गर्नु पर्नेछ ।
२४. एकुयल आधारको लेखाङ्कन
(१) कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन एकुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानी निजको आयको गणनामा समावेश गर्नु पर्नेछ।
(२) उपदफा (१) मा उल्लेख भए बमोजिम [कुनै व्यक्तिको आय गणना गर्दा] 1 कट्टी गर्ने प्रयोजनको लागि देहायका खर्चहरू व्यहोरेको मानिनेछ:-
(क) कुनै अर्को व्यक्तिबाट भएको भुक्तानीको सट्टामा त्यस्तो खर्च समावेश भएको कुनै भुक्तानी गरिएको भएमा देहायको अवस्थामा खर्च व्यहोरेको मानिनेछ:-
(१) सो व्यक्तिमा सो भुक्तानी गर्ने दायित्व रहेकोमा,
[(२) त्यस्तो दायित्वको मूल्य यथार्थपरक ढङ्गले अनुमान गर्न सकिने भएकोमा, र] 2
(३) अर्को व्यक्तिबाट भुक्तानी प्राप्त भएकोमा, वा
(ख) खण्ड (क) मा उल्लिखित अवस्था बाहेक अन्य सबै अवस्थामा भुक्तानी गरिएको समयमा खर्च व्यहोरेको मानिनेछ ।
[(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैकिङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ तथा बैकिङ्ग सम्बन्धी प्रचलित कानूनको अधीनमा रही नेपाल राष्ट्र बैङ्कले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ ।
तर सहकारी संस्थाले ब्याज आयको लेखाङ्कन नगद आधारमा समेत गर्न सक्नेछ ।] 3
[(४) व्यवसाय वा लगानीबाट भएको कुनै व्यक्तिको आय एक्रुयल आधारमा गणना गर्दा सो व्यक्तिले आफूले पाउनु पर्ने कुनै भुक्तानी समावेश गरेकोमा वा आफूले व्यहोर्नु पर्ने कुनै भुक्तानी कट्टा गरेकोमा सटही दरको फरकको कारण समेतले गर्दा सो व्यक्तिले भुक्तानी पाउँदा वा भुक्तानी दिँदा फरक पर्न गएमा फरक रकमलाई भुक्तानी प्राप्त हुँदा वा दिँदा समायोजन गर्नु पर्नेछ ।] 4
२५. डुबेको ऋण लगायतका रकमहरूको रिभर्स
(१) कुनै व्यक्तिले कुनै रोजगारी, व्यवसाय वा लगानीबाट प्राप्त गरेको आयको गणनामा प्राप्त गरेको रकम र व्यहोरेका खर्चको लेखा राख्दा देहायको कुनै अवस्थामा सो व्यक्तिले सोधभर्ना, असुल उपर, दाबी त्याग, अपलेखन वा मिनाहा गरिएको समयमा उपयुक्त समायोजन गर्नु पर्नेछः- (क) पछि गएर सो व्यक्तिले अवस्था अनुसार सो [रकम फिर्ता] 5 गरेमा वा खर्च असुल उपर गरेमा, (ख) प्राप्त गरिएको रकमको लेखा एकुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले सो रकम प्राप्त गर्ने आफ्नो अधिकार छाडिदिएमा वा सो रकम सो व्यक्तिको ऋण दाबी भएको अवस्थामा निजले सो ऋणलाई डुबेको ऋण मानी अपलेखन गरेमा, वा (ग) खर्च गरिएको रकमको लेखा एकुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले त्यस्तो खर्च गर्ने दायित्व छाडिदिएमा वा सो खर्च ऋण दाबी भएको अवस्थामा जुन व्यक्तिलाई सो ऋण तिर्नु पर्ने हो सो व्यक्तिले ऋण मिनाहा दिएमा ।
(२) कुनै व्यक्तिले देहायका अवस्थामा मात्र कुनै रकम प्राप्त गर्ने अधिकार त्याग गर्न वा सो व्यक्तिको ऋण दाबीलाई डुबेको ऋणको रूपमा अपलेखन गर्न पाउनेछः- (क) कुनै वित्तीय संस्था वा बैकको ऋण दावीका हकमा सो ऋण दाबी तोकिएको मापदण्डहरू अनुसार डुबेको ऋणमा परिणत भएमा, र (ख) खण्ड (क) मा उल्लिखित अवस्थामा बाहेक अन्य अवस्थामा भुक्तानी प्राप्त गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरू अपनाएपछि सो व्यक्ति सो अधिकार वा ऋण दाबी असुल उपर हुन नसक्ने कुरामा मनासिब रूपमा विश्वस्त भएमा ।
२६. दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरूमा औसत निकाल्ने तरिका
(१) कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय बा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको दीर्घकालीन करार अन्तर्गत करारको सम्पन्न प्रतिशत अनुसार क्रमबद्ध वृद्धिको योग अनुसार समावेश हुने र क्रमबद्ध वृद्धिको योग अनुसार कट्टी गरिने अनुमानित रकम प्राप्त गरिएको वा खर्च गरिएको मानिनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "दीर्घकालीन करार" भन्नाले देहाय बमोजिमको अवस्थाको करार सम्झनु पर्छः-
(क) सो करारको बहाली अवधि बाह्र महिना भन्दा बढी भएको, र
(ख) सो करार उत्पादन, जडान वा निर्माणका लागि वा त्यस्तो प्रत्येक कामका सम्बन्धमा सम्बद्ध सेवाको सम्पादनका लागि गरिएको वा समावेश नभएको करार बाहेकको प्रतिफल विलम्बित हुने करार ।
(२) प्रतिफल बिलम्बित हुने करार क्रमबद्ध वृद्धिको योग अनुसार समावेश हुने, क्रमबद्ध वृद्धिको योग अनुसार कट्टा गरिने, समावेश नभएको करार (एक्स्क्लुडेड कन्ट्राक्ट) र सम्पन्न प्रतिशतको करार तोकिए बमोजिम हुनेछ ।
-
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा थप कायम । संशोधन हुनुअघिको व्यवस्थाः “कुनै व्यक्तिले गरेको आय गणनामा” । ↩
-
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन । मूल ऐनको व्यवस्थाः “(२) त्यस्तो दायित्वको मूल्य उचित र यथार्थपरक ढङ्गले यकिन गर्न सकिने भएकोमा” । ↩
-
आर्थिक ऐन, २०६३ द्वारा संशोधन भई त्यसपछिका आर्थिक अध्यादेश तथा ऐनहरुबाट देहाय बमोजिम संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको ।
(१) मूल ऐनको व्यवस्थाः “(३) कुनै लगानी वा व्यवसायबाट भएको आयको गणना गर्न एक्रुयल आधारमा लेखा राख्ने व्यक्तिलाई देहायका अवस्थाहरूमा विभागले लिखित सूचना दिई कर घट्ने भएमा कर प्रयोजनको लागि भुक्तानीलाई पछि सार्ने वा घटाउने कार्यलाई रोक्न सो भुक्तानी दिने समयलाई समायोजन गर्न सक्नेछः-
(क) निम्न अनुसार भएमा,-
(१) कुनै आय वर्षको लागि आयको गणना गर्दा कुनै खर्च कट्टी गर्न पाउने तर सो व्यक्तिले कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु परेको भए सो खर्च कुनै आगामी आय वर्षमा मात्र कट्टा गर्न पाउँदथ्यो, वा
(२) सो आय वर्षमा आगामी आय वर्षको आय गणना गर्दा मात्र समावेश गर्नु पर्ने कुनै भुक्तानी पाएको तर सो व्यक्तिले कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु परेको भए सो भुक्तानीको रकम सो भुक्तानी पाएकै आय वर्षमा समावेश हुन्थ्यो, र
(ख) कुनै व्यक्तिले कुनै आय वर्षमा भुक्तानी दिँदा वा पाउँदा तिर्नु पर्ने कुल करलाई घटाउने भएमा ।”(२) आर्थिक अध्यादेश, २०५९ द्वारा उपदफा (३) पछि देहायको उपदफा (३क) थपः “(३क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्किङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ तथा बैङ्किङ्ग सम्बन्धी प्रचलित कानूनका अधीनमा रही नेपाल राष्ट्र बैङ्कले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ।”
(३) आर्थिक अध्यादेश, २०६० द्वारा उपदफा (३) झिकिएको । साविकको व्यवस्थाः "(३) कुनै लगानी वा व्यवसायबाट भएको आयको गणना गर्न एक्रुयल आधारमा लेखा राख्ने व्यक्तिलाई देहायका अवस्थाहरूमा विभागले लिखित सूचना दिई कर घट्ने भएमा कर प्रयोजनको लागि भुक्तानीलाई पछि सार्ने वा घटाउने कार्यलाई रोक्न सो भुक्तानी दिने समयलाई समायोजन गर्न सक्नेछः-
(क) निम्नानुसार भएमा,
(१) कुनै आय वर्षको लागि आयको गणना गर्दा कुनै खर्च कट्टी गर्न पाउने तर सो व्यक्तिले कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु परेको भए सो खर्च कुनै आगामी आय वर्षमा मात्र कट्टा गर्न पाउँदथ्यो, वा
(२) सो आय वर्षमा आगामी आय वर्षको आय गणना गर्दा मात्र समावेश गर्नु पर्ने कुनै भुक्तानी पाएको तर सो व्यक्तिको कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु परेको भए सो भुक्तानीको रकम सो भुक्तानी पाएकै आय वर्षमा समावेश हुन्थ्यो, र
(ख) कुनै व्यक्तिले कुनै आय वर्षको आय वर्षमा भुक्तानी दिँदा वा पाउँदा तिर्नु पर्ने कुल करलाई घटाउने भएमा,"(४) आर्थिक ऐन, २०७१ द्वारा देहायको प्रतिबन्धात्मक वाक्यांश समावेश गरी संशोधनलाई निरन्तरता ।
“तर सहकारी संस्थाले ब्याज आयको लेखाङ्कन नगद आधारमा समेत गर्न सक्नेछ ।” ↩ -
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनबाट संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको । मूल ऐनको व्यवस्थाः “(४) व्यवसाय वा लगानीबाट आर्जित कुनै व्यक्तिको आय एक्रुयल आधारमा गणना गर्दा देहायका अवस्थाहरूमा हुन सक्ने फरकलाई भुक्तानी प्राप्त हुँदा वा दिइँदा उपयुक्त समायोजन गर्नु पर्नेछः-
(क) सो व्यक्तिले आफूले पाउन सक्ने परिमाणको कुनै भुक्तानी समावेश गरेमा वा आफूले व्यहोर्नु पर्ने परिमाणको कुनै भुक्तानी कट्टा गरेमा, र
(ख) खण्ड (क) मा उल्लिखित कार्य भए पश्चात मुद्राको मूल्याङ्कनको फरकको कारण समेतले गर्दा सो व्यक्तिले फरक परिमाणमा भुक्तानी पाई वा भुक्तानी दिई सो प्राप्त गरेको वा व्यहोरेको रकममा फरक पर्न गएको भएमा ।" ↩ -
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधित । संशोधन अघि “रकमको सोधभर्ना” भन्ने शब्दहरु रहेका । ↩