परिच्छेद ५ करलाग्ने मूल्य
कुनै पनि वस्तु वा सेवाको कर लाग्ने मुख्य आधारलाई कर लाग्ने मूल्य भनिन्छ । कर लाग्ने मूल्यलाई करको दरले गणना गरी वास्तविक कर दायित्व निर्धारण गरिन्छ । मूल्यको आधारमा करारोपण गर्ने पद्दतिका लागि वस्तु वा सेवाको कारोबार मूल्य निर्धारण गर्न कानूनले स्पष्ट व्यवस्था गरेको हुन्छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २ को खण्ड (घ) ले “कर लाग्ने मूल्य" भन्नाले कुनै वस्तु वा सेवाको सम्वन्धमा दफा १२ र १२क. वमोजिम कायम गरिने मूल्य हुने भनी परिभाषित गरेको छ । वस्तु वा सेवाको उत्पादन देखि उपभोगसम्मको चरणमा लागत मूल्य, संचालन खर्च, ढुवानी भाडा, बीमा प्रिमियम, सेवा शुल्क, दस्तुर, व्यवसायिक मुनाफा आदिको कारणले मूल्य अभिवृद्धि भई रहने हुँदा वस्तु वा सेवा वितरणका प्रत्येक चरणमा कर लाग्ने मूल्य पनि परिवर्तन भइरहन्छ ।
५.१ कर लाग्ने मूल्यमा समावेश हुने रकमहरु
ऐनको दफा १२ मा कर लाग्ने मूल्यको सम्बन्धमा व्यवस्था गरेको छ । वस्तु वा सेवाको उत्पादन लागत वा पैठारी मूल्य वा खरिद मूल्यका अतिरिक्त मूल्य अभिवृद्धि गर्ने विभिन्न लागतहरु जस्तैः आपूर्तिकर्ताले व्यहोरेको ढुवानी भाडा, बीमा प्रिमियम, वितरण सम्बन्धी खर्चहरु, नाफाको रकम, अन्तःशुल्क, भन्सार महशुल, स्वामित्व शुल्क र वस्तु तथा सेवा प्राप्त गर्ने सन्दर्भमा भुक्तानी गर्नुपर्ने अन्य त्यस्तै किसिमका कर खर्च रकमहरु कर लाग्ने मूल्यमा समावेश गर्नुपर्दछ ।
यस सम्बन्धमा ऐनको दफा १२ को उपदफा (१) र (२) मा देहाय बमोजिमको व्यवस्था रहेको छः
१२ कर लाग्ने मूल्यः
(१) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक नगद मात्र प्रतिफल भएको अवस्थामा आपूर्तिकर्ताले प्रापकसँग लिएको मूल्य मात्र कर लाग्ने मूल्य हुनेछ।
(२) कर लाग्ने मूल्यमा देहायका रकमहरु समेत समावेश हुनेछन्ः (क) कारोबारको सिलसिलामा आपूर्तिकर्ताले व्यहोरेको ढुवानी र वितरण सम्बन्धी खर्चहरु र नाफाको रकम, (ख) यस ऐन बमोजिमको कर बाहेक अन्तःशुल्क, स्वामित्व शुल्क र अन्य कर रकम ।
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “अन्य कर रकम” भन्नाले सालबसाली आर्थिक ऐनले तोके बमोजिम लाग्ने महशुल, दस्तुर वा अन्य शुल्क सम्झनु पर्दछ ।
नेपालको संविधानले मूल्य अभिवृद्धि करलाई संघीय सरकारको अधिकार सूचीमा समावेश गरेको छ । ऐनको दफा १२ ले आपूर्तिकर्ताले प्रापकसँग लिने मूल्यको दायरालाई संकुचन नगरी कराधारमा आपूर्तिका सबै लागतहरु समावेश गर्न खोजेको छ। ऐनको दफा १२ को उपदफा (३) मा उल्लेख गरिएका मूल्यमा समावेश नगरिने खर्च शिर्षकहरु (Exclusion) दफाको अध्ययनबाट पनि यसको पुष्टि हुन्छ । तसर्थ स्थानीय करलाईसमेत कर आधारमा समावेश गर्नुपर्दछ।
“अन्य कर रकम” भन्नाले सालवसाली आर्थिक ऐनले तोके वमोजिम लाग्ने महशुल, दस्तुर वा अन्य शुल्क सम्झनु पर्दछ भनी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १२ को स्पष्टीकरण खण्डमा उल्लेख भएको छ । उक्त खण्डमा उल्लेख गरिएका करहरु व्यवसायिक कारोबारसँग सम्बन्धित रहेको र विशेष गरी ती करहरु वस्तुका लागतसँग सम्बन्धित रहेका छन् । कर लाग्ने वस्तु वा सेवाको कारोवारसँग प्रत्यक्षरुपमा सम्बन्धित स्थानीय तहले संकलन गर्ने करहरु समेत उक्त वस्तु वा सेवाको कारोबारमा सिर्जना हुने मूल्य अभिवृद्धिका कारक तत्व वा अवयव मानिन्छ । यदि स्थानीय तहहरुले आफ्नो कराधिकार प्रयोग गरी कुनै करार वा सम्झौताको माध्यमबाट अन्य व्यक्तिलाई शुल्क वा दस्तुर संकलन गर्ने अधिकार दिएको छ भने त्यस अवस्थामा समेत कर संकलन गर्ने अधिकार पाएका व्यक्तिले शुल्क वा दस्तुरमाथि मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ। उदाहरणको रुपमा स्थानीय तहले संकलन गर्ने पार्किङ्ग शुल्कलाई लिन सकिन्छ । यसै गरी स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने वस्तु वा प्राकृतिक श्रोत बिकी वापत गरिने भुक्तानीमा पनि मूल्य अभिवृद्धि कर भुक्तानी गर्नुपर्दछ । किनकी यो व्यवसाय गर्न पाएको अधिकार वापतको भुक्तानी हो । यस्तै कुनै व्यक्तिले प्रदान गर्ने सेवाभित्र स्थानीय कर समेत समावेश भएको छ भने त्यस अवस्थामा त्यस्तो कर समेत सेवा वा वस्तुको मूल्यमा समावेश गरी मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ । यस सम्बन्धमा निम्न उदाहरणले स्पष्ट पार्नेछः
उदाहरण ५.१
मानौं उत्तम एडभरटाइजिङ्ग एजेन्सीले नेपाल फेशन स्टोरको विभिन्न मोडलको गार्मेण्टको बिक्री प्रवर्द्धन गर्न काठमाण्डौ महानगरपालिकाका विभिन्न स्थानमा होर्डिङ्ग वोर्ड राख्ने गरी नेपाल फेशन स्टोरसंग करार गरेको रहेछ । उक्त करार अन्तर्गत होर्डिङ वोर्डहरु निर्माण गर्न लाग्ने लागत, होर्डिङबोर्ड राखे वापतको भाडा र स्थानीय कर समेत उत्तम एडभरटाइजिङ्ग एजेन्सीले भुक्तानी गर्ने र नेपाल फेशन स्टोर्ससँग प्रति होर्डिङ्ग बोर्ड वापत रु. दुई लाख लिने सम्झौता गरेको रहेछ । यस अवस्थामा उत्तम एडभरटाइजिङ्ग एजेन्सीले प्राप्त गर्ने प्रति होर्डिङ वोर्डको मूल्यमा नगरपालिकाले लगाएको कर समेत संलग्न भएको हुनुपर्दछ । उक्त मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ ।
५.२ कर लाग्ने मूल्यमा समावेश नहुने रकमहरु
मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १२ ले कुन कुन लागत वा खर्चलाई कर लाग्ने मूल्य गणना गर्दा समावेश गर्ने र कुन कुन खर्चहरुलाई समावेश नगर्ने भन्ने विषयमा व्यवस्था गरेको छ । बिक्रेताले बिक्री प्रवर्द्धन गर्न विभिन्न स्वरुपमा व्यापारिक छुट वा कमिशन दिने गर्दछन् । वस्तु वा सेवा विक्री वा हस्तान्तरण गर्दाका बखत बिक्रेताले क्रेतालाई प्रदान गरेका परिमाणात्मक छुट वा व्यापारिक छुट वा कमिशनलाई करयोग्य मूल्यमा समावेश गर्नु नपर्ने व्यवस्था ऐनको दफा १२ को उपदफा (३) मा देहाय बमोजिमको गरिएको छः
दफा १२ को उपदफा (३) वस्तु वा सेवा आपूर्ति गर्दा मूल्यमा दिइएको डिस्काउण्ट कमिशन वा यस्तै अन्य व्यापारिक छुटको रकमलाई कर लाग्ने मूल्यमा समावेश गरिने छैन ।
सम्बन्धमा निम्न उदाहरणले स्पष्ट पार्नेछः
उदाहरण ५.२
अम्बे नुडल्स भन्ने एक उद्योगले आफ्नो उत्पादन नगदमा बिक्री गर्दा बिक्री मूल्यको ५ प्रतिशतले डिस्काउण्ट दिने नीति सार्वजनिक गरेको रहेछ र एक पटकमा एक लाख रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरी खरिद गर्ने व्यक्तिलाई थप ५ प्रतिशत कमिशन पनि दिने व्यवस्था गरेको रहेछ । यस्तो अवस्थामा उद्योगले कर बीजक जारी गर्दा कै अवस्थामा डिस्काउण्ट वा कमिशन बापतको रकमलाई घटाई बाँकी हुने रकममा मात्र मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ कारोबार भएपछि कुनै नगद छुट लगायत अन्य कुनै योजना ( Scheme) को कारणबाट घटी प्राप्त गरेको रकममा भने मूल्य अभिवृद्धि कर समायोजन गर्न मिल्दैन ।
बिक्री प्रवर्द्धनको लागि बिक्री पश्चात पनि विभिन्न बोनस वा कमिशन दिने गरिन्छ । निश्चित शर्त वा मापदण्ड पूरा गरे पश्चात खरिदकर्तालाई भविष्यमा प्रदान गरिने यस्ता बोनस वा कमिशनलाई बीजक जारी गर्दाको समयमा पूर्वानुमान गरी कर लाग्ने मूल्यमा घटाउन सकिंदैन । यस्तो भुक्तानीलाई बिक्रेताको बिक्री प्रवर्द्धन सम्बद्ध खर्च मानिने हुँदा खरिदकर्तालाई बिक्री पश्चात प्रदान गरिने यस्तो भुक्तानीमा मूल्य अभिवृद्धि कर आकर्षित हुँदैन।
मोबाइलको रिचार्ज कार्ड बिक्री सम्बन्धमाः मोबाइल रिचार्ज कार्डको कारोवार गर्ने व्यवसायीले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएर कारोबार गर्नुपर्दछ। त्यसैगरी कर लाग्ने वस्तुको हकमा वार्षिक पचास लाखभन्दा बढीको र सेवाको हकमा वार्षिक वीस लाख भन्दा बढीको कारोबार गर्नेले मूल्य अभिवृद्धि करमा समेत दर्ता भएर कारोबार गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । जस अनुसार आफू अन्तर्गतका डिलर र सव डिलरले रिचार्ज कार्ड बिक्री गर्दा स्थायी लेखा नम्बर भएका करदातालाई अन्तिम उपभोक्ता मूल्य (MRP) उल्लेख गरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १२ को उपदफा (३) बमोजिम दिने डिस्काउण्ट घटाएर ऐ. ऐनको दफा ५ को उपदफा (२) वमोजिम कायम हुने कर लाग्ने मूल्यमा कर बीजक जारी गर्न र डिलर तथा सव डिलरले स्थायी लेखा नम्बर नभएका खरिदकर्तालाई बिक्री गरेको अवस्थामा भने कर बीजक जारी गर्दा तोकिएको उपभोक्ता मूल्य कायम हुने गरी गर्न मूल्य सोही ऐनको दफा १४ को उपदफा (६) बमोजिम तोकिएको छ । आफू अन्तर्गतका डिलर र सव डिलरसँग सम्झौता गर्दा वा कारोबार गर्दा सोही अनुसार गर्नु गराउनु पर्नेछ । कर बीजकमा नै छुट दिएको रकममा अग्रिम कर कट्टी गर्नुपर्ने छैन ।
मोबाइलको रिचार्ज कार्ड खरिद बिक्रीको कारोबार गर्ने करदाताहरुले देहाय बमोजिम गर्नुपर्नेछः
१. अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएर मात्र कारोबार गर्नुपर्नेछ,
२. मूल्य अभिवृद्धि कर लाग्ने सीमा भन्दा बढीको कारोवार गर्ने करदाताले मूल्य अभिवृद्धि करमा दर्ता भएर कारोबार गर्नुपर्नेछ,
३. नेपाल टेलिकम एनसेल जस्ता सेवा प्रदायक निकायहरुले मूल्य अभिवृद्धि करमा दर्ता भएका आफू अन्तर्गतका नेशनल डिलर, डिलरलाई रिचार्ज कार्ड बिक्री गर्दा अन्तिम उपभोक्ता मूल्य (MRP) उल्लेख गरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १२ को उपदफा (३) बमोजिम दिने डिस्काउण्ट घटाएर ऐनको दफा ५ को उपदफा (२) बमोजिम कायम हुने कर लाग्ने मूल्यमा कर बीजक जारी गर्नुपर्नेछ,
४. नेशनल डिलर, डिलरले सव डिलर लगायत मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नेलाई रिचार्ज कार्ड विक्री गर्दा अन्तिम उपभोक्ता मूल्य (MRP) उल्लेख गरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १२ को उपदफा (३) बमोजिम दिने डिस्काउण्ट घटाएर ऐनको दफा ५ को उपदफा (२) बमोजिम कायम हुने कर लाग्ने मूल्यमा कर बीजक जारी गर्नुपर्नेछ,
५. डिलर र सव डिलरले स्थायी लेखा नम्बर नभएका खरिदकर्तालाई बिक्री गरेको अवस्थामा भने कर बीजक जारी गर्दा तोकिएको उपभोक्ता मूल्य कायम हुने गरी कर बीजक जारी गर्नुपर्नेछ,
६. कर बीजकमा दिइएको छुट रकममा अग्रिम कर कट्टी गर्नुपर्ने छैन,
७. नेपाल टेलिकम एनसेल जस्ता सेवा प्रदायक निकायहरुले आफू अन्तर्गतका नेशनल डिलर, डिलर र सव डिलरसँग रिचार्ज कार्डको खरिद बिक्रीको सम्झौता गर्दा उपर्युक्त बमोजिम गर्नुपर्नेछ ।
यस सम्बन्धमा निम्न उदाहरणले स्पष्ट पार्नेछः
उदाहरण ५.३
कुनै दूरसंचार कम्पनीले मोबाइलको रिचार्ज कार्ड बिक्री गर्न विभिन्न मध्यस्थकर्ता वा एजेण्ट वा डिलरलाई नियुक्त गरेको रहेछ । यसरी नियुक्त गरिएका मध्यस्थकर्ता वा एजेण्ट वा डिलरहरु मूल्य अभिवृद्धि करमा दर्ता भएका रहेछन्। दूर संचार कम्पनीले ती मध्यस्थकर्ता वा एजेण्ट वा डिलरलाई रु. १००० ( मूल्य अभिवृद्धि कर समेत) पर्ने रिचार्ज कार्ड बिक्री गरेको रहेछ भने सोको बीजक जारी गर्दा उक्त रु.१००० मूल्य अभिवृद्धि कर समेतको रकम भएकाले यस रकमबाट मूल्य अभिवृद्धि कर रु. ११५।०५ कट्टा गरी रु. ८८४ । ९५ मूल्य उल्लेख गरी सो रकममा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १२ को उपदफा (३) बमोजिम रु. ५० डिस्काउण्ट दिइने रहेछ भने सो रकम घटाई बाँकी हुने रकम रु.८३४ । ९५ मा १३ प्रतिशतले हुने मूल्य अभिवृद्धि कर रु.१०८ । ५४ समेत रु.९४३ । ४९ को कर बीजक जारी गर्नुपर्दछ ।
उदाहरण ५.४
उदाहरण ५.३ मा उल्लेख भएका मध्यस्थकर्ता वा एजेण्ट वा डिलरले स्थायी लेखा नम्बर भएका करदातालाई रु.१००० अंकित रिचार्ज कार्ड बिक्री गर्दा उक्त रु. १००० मूल्य अभिवृद्धि कर समेतको रकम भएकाले यस रकमबाट मूल्य अभिवृद्धि कर रु.११५ । ०५ कट्टा गरी रु. ८८४ । ९५ मूल्य उल्लेख गरी सो रकममा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १२(३) बमोजिम रु. ४० डिस्काउण्ट दिइने रहेछ भने सो रकम घटाई बांकि रहने रु. ८४४ । ९५ मा १३ प्रतिशतले हुने मूल्य अभिवृद्धि कर रु. १०९ । ८४ समेत रु. ९५४ । ७९ को बीजक जारी गर्नुपर्दछ ।
यदि स्थायी लेखा नम्बर नभएका खरिदकर्तालाई बिक्री गरेको अवस्थामा भने कर बीजक जारी गर्दा कर लाग्ने मूल्य रु.८८४।९५ मा १३ प्रतिशतले हुने मूल्य अभिवृद्धि कर रु. ११५।०५ समेत रु.१००० को बीजक मध्यस्थकर्ता वा एजेण्ट वा डिलरले जारी गर्नुपर्दछ ।
५.३ पैठारी गर्दा कायम गरिने कारोबार मूल्य
पैठारी गरिने वस्तुको कर लाग्ने मूल्य कानून वमोजिम व्यवस्थित गरिएको छ । पैठारी हुने वस्तुको मूल्यमा भन्सार बिन्दूसम्म वस्तु ढुवानी गर्दा लाग्ने ढुवानी भाडा, बीमा खर्च, एजेन्ट र अन्य व्यक्तिलाई कुनै किसिमको कमिशन प्रदान गरेको भए सो कमिशन खर्च आदि जोडी कायम हुने पैठारी मूल्यमा पैठारी महशुल, समीकारक महशुल पैठारीमा लाग्ने अन्य शुल्क समेत जोडी मूल्य अभिवृद्धि कर प्रयोजनको लागि कर लाग्ने मूल्य निर्धारण गरिने व्यवस्था रहेको छ। अर्थात् पैठारी हुने वस्तुको कर लाग्ने मूल्य निर्धारण गर्दा वस्तुको मूल्य, विविध खर्च, भन्सार महशुल लगायत प्रचलित कानून बमोजिमका लाग्ने अन्य महशुल, शुल्क, दस्तुर समावेश गर्नुपर्दछ। ऐनको दफा १२ को उपदफा (५) मा देहायबमोजिमको व्यवस्था रहेको छः
दफा १२ को उपदफा (५): यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक आयात गरेको वस्तुको कर लाग्ने मूल्य कायम गर्दा मूल्य अभिवृद्धि कर बाहेक ढुवानी, बीमा, एजेण्ट र अन्य व्यक्तिहरुको कमिशन आदि समेतको पैठारी मूल्य, पैठारी महशुल, समीकारक महशुल र पैठारीमा लाग्ने अन्य कुनै कर भए सो समेत जोडी कर लाग्ने मूल्य कायम गरिनेछ ।
यस सम्बन्धमा निम्न उदाहरणले स्पष्ट पार्नेछः
उदाहरण ५.५
मोहित स्टोरले भारतबाट गाडीका टायर पैठारी गरी स्थानीय बजारमा आपूर्ति गर्ने गरेको रहेछ । टायर करयोग्य वस्तु भएकाले टायरको खरिद मूल्य भन्सार बिन्दूसम्म टायर ल्याउँदा लाग्ने सम्पूर्ण खर्चहरु, भन्सार महशुल, अन्य शुल्क, दस्तुर आदि जोडी कायम हुने कारोबार मूल्यमा सम्बन्धित भन्सार कार्यालयले १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ । मोहित स्टोरले उक्त टायर भन्सार बिन्दूबाट आफ्नो कारोबारस्थानसम्म ल्याउँदा लाग्ने भाडा भरोट, टायर लोड अनलोड तथा भण्डारण गर्दा लाग्ने फुटकर खर्च, गोदामको भाडालगायत कार्यालय शिरोभार लागत बैंक ऋणको व्याज तथा केही मुनाफा आदि जोडी कर लाग्ने मूल्य कायम गर्दछ ।
कुनै आयातकर्ताले कहिलेकाहीं आयातित वस्तुहरुलाई तोकिएको समयभन्दा बढी समयसम्म भन्सार जाँचपास नगरी भन्सार परिसरमा थन्काई राख्ने गरेको पाइन्छ। यस्तो अवस्थामा भन्सार अधिकृतले भन्सार ऐन बमोजिम आयातकर्ताबाट Demurrage Charge असुल गर्ने गर्दछ । यस्तो Demurrage बापतको रकम पैठारी हुने वस्तुको मूल्यमा समावेश गरिन्छ । यसरी पैठारी मूल्यमा भन्सार Demurrage वापतको रकम समावेश गरी कायम हुने कर लाग्ने मूल्यमा तिरेको मूल्य अभिवृद्धि कर उक्त वस्तु बिक्री गर्दा संकलन गरेको करबाट मिलान गर्न सकिन्छ।
५.४ अस्थायी पैठारी गर्दा कायम गरिने कारोबार मूल्य
निश्चित उद्देश्य पूरा भएपछि फिर्ता हुने शर्तमा विशेष प्रकृतिका माल वा वस्तुहरु कहिलेकाँही विदेशबाट नेपालमा अस्थायी रुपमा पैठारी गरिन्छ । वैदेशिक सहयोगमा संचालित ठूला आयोजना संचालन गर्न आवश्यक पर्ने मेशिनरी, उपकरण, सवारी साधनहरु आयोजना समाप्त भएपश्चात विदेशमा फिर्ता लाने शर्तमा पैठारी गर्ने गरिन्छन्। यसैगरी व्यापार मेला, प्रदर्शनी आदिको लागि विदेशबाट विभिन्न वस्तु तथा उपकरणहरु पनि अस्थायी रुपमा पैठारी गर्ने गरिन्छ । अस्थायी पैठारीमा ती माल वा वस्तुको स्वामित्व नेपालमा हस्तान्तरण भएको हुँदैन। सो माल वस्तुलाई विशेष प्रयोजनको लागि निश्चित अवधिसम्म नेपालमा राखी सेवा उपभोग गर्ने र सो प्रयोजन समाप्त भए पश्चात पुनः सोही मुलुकमा फिर्ता लैजाने शर्तमा पैठारी गरिएको हुन्छ । यस्तो अस्थायी प्रकृतिको पैठारीमा माल वस्तुहरुको अनुमानित मूल्य कायम गरी सो मूल्यमा मूल्य अभिवृद्धि कर वापतको रकम धरौटीमा राखी पैठारी गर्न दिने व्यवस्था गरिएको छ । सो वस्तु नेपालबाट फिर्ता भएपछि यसरी राखिएको धरौटी फिर्ता गरिन्छ । अस्थायी रुपमा पैठारी गरिएका वस्तुहरु नेपालमा बिक्री वा हस्तान्तरण भएमा वा फिर्ता नलगेमा उक्त वस्तुमा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ । यस सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ४९ को उपनियम (१) मा देहायबमोजिमको व्यवस्था रहेको छः
नियम ४९ को उपनियम (१): भन्सार महशुल नलाग्ने गरी पछि फिर्ता हुने शर्तमा आयात भएका वस्तुहरुमा भन्सारले कायम गरेको अनुमानित मूल्यका आधारमा पछि माल वा वस्तु फिर्ता भएपछि धरौटी रकम फिर्ता हुने गरी लाग्ने कर वापत धरौटी लिई आयात गर्न अनुमति दिइनेछ ।
कुनै सम्पत्ति अस्थायी पैठारी गरिएको अवस्थामा उक्त सम्पत्तिको अस्थायी पैठारीमा एकमुष्ट भन्सार महशुल वा अन्य महशुल लाग्ने व्यवस्था रहेको भएमा महशुल भुक्तानीको आधारमा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्ने व्यवस्था नियमावलीको नियम ४९ को उपनियम (२) मा रहेको छ ।
नियम ४९ को उपनियम (२) : अस्थायी आयात महशुल लाग्ने गरी अस्थायी रुपमा आयात भएका मालवा वस्तुमा महशुल मै कर लाग्नेछ ।
५.५ निकासी फिर्ता गर्दा कायम गरिने कारोबार मूल्य
नेपालभित्र उत्पादन भएको वा तयार भएको मालवस्तुहरु निकासीको प्रक्रिया पूरा भइसकेपछि वा विदेशमा पुगिसकेपछि सम्बन्धित पार्टीले व्यवसायिक रुपले प्रयोग गर्न नसक्ने अवस्थाको कारणबाट उक्त वस्तु लिन अस्वीकार गर्न सक्दछ। साथै अन्य कुनै कारणले त्यस्ता वस्तुहरु सम्बन्धित पार्टीलाई हस्तान्तरण नगरी फिर्ता ल्याउनु पर्ने अवस्था सिर्जना हुन सक्दछ । यस सम्बन्धमा परिच्छेद ४ मा पनि ब्याख्या गरिएको छ । यस्तो अवस्थामा वा अन्य कारणले गर्दा एक पटक निकासी भएको माल वस्तु पुनः पैठारी गर्नुपर्ने अवस्था सिर्जना हुन सक्दछ । यसरी एक पटक निकासी भएका माल वस्तु पुनः पैठारी गरी ३ महिनाभित्र पुनः निकासी गर्ने घोषणा गरेमा यसरी फिर्ता ल्याउँदाका बखत भन्सार कार्यालयले मूल्य अभिवृद्धि कर गणना गरी धरौटीमा राखी पैठारी गर्ने अनुमति दिन सक्दछ र त्यस्तो मालवस्तु पुनः निकासी भएपछि उक्त धरौटी फिर्ता दिनुपर्दछ । यसरी धरौटीमा राखिएको र फिर्ता गरिएको रकमको विवरण सम्बन्धित भन्सार कार्यालयले आन्तरिक राजस्व विभागमा दिनुपर्दछ । यस सम्बन्धमा ऐनमा देहाय बमोजिमको व्यवस्था गरिएको छः
दफा २८ को उपदफा (१क): नेपालभित्र उत्पादन भएको वा तयार भएको मालवस्तु भन्सार कार्यालयबाट निकासीको प्रक्रिया पूरा भइसकेपछि वा विदेशमा पुगिसकेपछि सम्बन्धित पार्टीले लिन अस्वीकार गरी वा अन्य कारणले पुनः पैठारी गरी ल्याई त्यस्तो मालवस्तु पैठारी भएको तीन महिनाभित्र निकासी गर्ने भएमा यसरी फिर्ता ल्याउँदाको बखत लाग्ने मूल्य अभिवृद्धि कर धरौटीमा राखी छाड्न सकिनेछ र त्यस्तो मालवस्तु पुनः निकासी भए पछि उक्त धरौटी फिर्ता दिइनेछ । यसरी धरौटीमा राखिएको र फिर्ता गरिएको रकमको विवरण सम्बन्धित भन्सार कार्यालयले आन्तरिक राजस्व विभागमा दिनु पर्नेछ ।
यसरी पैठारी हुन आएको माल वस्तुको कर प्रयोजनको लागि मूल्य कायम गर्दा सो वस्तुको निकासी मूल्यमा सो वस्तु निकासी भए पश्चात विक्रेताले व्यहोरेको सम्पूर्ण खर्चहरु समावेश गरी कायम गर्नुपर्दछ ।
५.६ पुनः पैठारी गर्दा कायम गरिने कारोबार मूल्य
कुनै कर लाग्ने वस्तु जस्तैः मेशिन, उपकरण आदि नेपालमा मर्मत सम्भार गर्न नसकिने अवस्थामा उक्त वस्तु बिदेश लगी मर्मत सम्भार गरी पुनः स्वदेशमा फिर्ता ल्याउनु पर्ने हुन्छ । वस्तुहरुको सामान्य मर्मत सम्भार मात्र नभई कहिलेकाँही उक्त वस्तुको मूल स्वरुप, आकार गुणस्तर वा मूल्यमा नै परिवर्तन भएको हुन सक्दछ। यस्तो अवस्थामा ती वस्तुको मर्मत सम्भार एवं सुधारमा भएको सम्पूर्ण खर्चलाई कर लाग्ने मूल्य कायम गरी मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ । यस सम्बन्धमा निम्न उदाहरणले स्पष्ट पार्नेछः
उदाहरण ५.६
रु.१० लाख पर्ने एउटा मेशिन नेपालमा मर्मत गर्न संभव नभई विदेश लगिएको रहेछ र सो मर्मत गर्दा विदेशमा रु.५० हजार खर्च भएको रहेछ । सो मेशिन रु. १० लाखमा खरिद गर्दा तिरेको कर दफा १७ बमोजिम कर कट्टी दावी गरिसकेको छ । उक्त मेशिन विदेशवाट मर्मत गरी पुनः पैठारी गर्दा भन्सार कार्यालयले मर्मत खर्च रु. ५० हजारलाई कर लाग्ने मूल्य कायम गरी सो मूल्यमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ ।
५.७ नमूना (Sample) को कारोबार मूल्य
व्यवसायिक प्रतिष्ठानहरुले नमूनालाई व्यवसाय प्रवर्द्धनको माध्यम मान्दछन् । नयाँ वस्तुको उत्पादन गर्दा होस् वा पुरानै वस्तुमा समसामयिक रुपान्तरण वा गुणस्तरमा सुधार गरी बिक्री प्रवर्द्धन गर्न विभिन्न बिक्रेताहरुलाई ती वस्तुको नमूनाहरु निःशुल्क रुपमा वितरण गर्ने गर्दछन् । नमूनाको रुपमा वितरण गरिने यस्ता वस्तुको बाहिरी भागमा स्पष्ट रुपले देखिने गरी नमूना (Sample) भनी उल्लेख गरिएको हुनुपर्दछ । नमूनाको रुपमा वितरण गरिने वस्तुमा करदाताले कुनै किसिमको प्रतिफल लिई बिक्री, विनिमय, हस्तान्तरण गरेको हुनु हुँदैन। नमूनाको रुपमा यसरी वितरण गरिने वस्तुमा मूल्य अभिवृद्धि कर आकर्षित हुँदैन । यसरी नमूनाको रुपमा वितरण गरिएका वस्तुको सम्बन्धमा कर बीजक जारी गरी सो कर बीजकमा नमूनाको रुपमा वितरण गरिएको भन्ने उल्लेख गरी यस्ता वस्तुको उत्पादन तथा वितरणको अभिलेख अद्यावधिक राख्नुपर्दछ । बिक्री प्रवर्द्धनको लागि वितरण गर्ने करदाता र नमूनाको रुपमा प्राप्त गर्ने करदाता दुवै पक्षले नमूनाको रुपमा प्रयोग भएका वस्तुको अभिलेख अद्यावधिक राख्नुपर्दछ । नमूनाको रुपमा प्राप्त गर्ने व्यक्तिले उक्त वस्तु अन्य कुनै व्यक्तिलाई प्रतिफल लिई बिक्री, विनिमय वा हस्तान्तरण गर्नु हुँदैन । प्रतिफल लिई बिक्री गरेमा मूल्य अभिवृद्धि कर आकर्षित हुन्छ। नमूनाको कारोबार सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २४ मा देहाय बमोजिमको व्यवस्था गरिएको छः
नियम २४. नमूनाको लागि वितरण गरिएको वा विना मूल्यमा प्राप्त वस्तुको विवरणः नियम २३ मा उल्लिखि अभिलेखहरुका अतिरिक्त दर्ता भएको व्यक्तिले कारोबारसँग सम्बन्धित देहायका विवरणहरु समेत राख्नु पर्नेछः
(क) व्यवसाय प्रवर्द्धनको लागि नमूनाको रुपमा प्राप्त भएका तथा वितरण गरिएको वस्तुको विवरण ।
(ख) बिना मूल्य प्राप्त भएका तथा वितरण गरिएका वस्तुको विवरण ।
५.८ उपहार (Gift) को कारोबार मूल्य
व्यवसायिक प्रतिष्ठानहरुले व्यवसाय प्रवर्द्धन गर्ने सिलसिलामा आफ्ना उत्पादन तथा बिक्री वितरण गर्ने वस्तुहरु उपहारको रुपमा वितरण गर्ने गर्दछन् । व्यवसायिक प्रवर्द्धनको लागि देहाय बमोजिम उपहार वितरण गरेको पाइन्छः
(क) जुन वस्तु विक्री गरेको हो सोही वस्तुको केही थप संख्या दिने,
(ख) एउटा वस्तुको कारोबार गर्ने व्यक्तिले अन्य प्रकृतिका वस्तु उपहारको रुपमा वितरण गर्ने,
(ग) वस्तु बिक्री गर्दा कुपन समेत वितरण गर्ने र सो कुपनमा परेको उपहार (वस्तु वा नगद) क्रेतालाई तत्काल उपलब्ध गराउने,
(घ) वस्तु बिक्री गर्दा कुपन समेत दिई सो कुपनलाई चिट्टाको रुपमा व्यवहार गरी सो बमोजिमको वस्तु कुनै निश्चित समय पछि हस्तान्तरण गर्ने,
(ङ) वस्तु बिक्री गर्दा सो वस्तुभित्रै नगद वा नगद सरहको वस्तु वा सोको कुपन राखी बिक्री गर्ने र उपभोक्ताले सो कुपन फिर्ता गरेपछि सो बराबरको वस्तु वा नगद प्राप्त गर्ने अवस्था,
(च) निश्चित समयभित्र कुनै निश्चित परिमाण विक्री गरेमा उत्पादक वा वितरकले आफ्नो डिलर एजेण्ट वा खुद्रा बिक्रेतालाई कुनै निश्चित वस्तु वा रकम उपहारको रुपमा उपलब्ध गराउने, वा
(छ) कुनै उत्पादक वा सेवा प्रदायकले आफ्नो व्यवसाय प्रवर्द्धनमा विभिन्न सुविधा तेस्रो पक्ष मार्फत उपलब्ध गराउने अवस्थामा ।
माथि खण्ड (क) मा उल्लेख भएको अवस्थामा जुन वस्तु बिक्री गरेको हो सोही वस्तुको केही थप संख्या दिईएको हुन्छ । यस्तो अवस्थामा उक्त वस्तु दर्ता नभएका व्यक्ति वा अन्तिम उपभोक्ताले प्राप्त गरेको भएमा त्यस्ता उपभोक्ताबाट कर असुल गर्न नपर्ने, तर यस्तो उपहार दर्तावाला व्यक्तिले प्राप्त गरेको भएमा दर्तावाला व्यक्ति बीच भएको यस्तो कारोबारमा मूल्य अभिवृद्धि कर असुल नगरी उपहार स्वरुप दिइएको वस्तुको अभिलेख दुबै पक्षले राख्नु पर्दछ । उपहार पाउने दर्तावाला व्यक्तिले उपहारस्वरुप प्राप्त भएका वस्तु बिक्री गरेको छ भने त्यस अवस्थामा कर असुल गर्नुपर्दछ ।
माथि खण्ड (ख) मा उल्लेख भए जस्तै एउटा वस्तुको कारोबार गर्ने व्यक्तिले अन्य प्रकृतिका वस्तु उपहारको रुपमा वितरण गरेको अवस्थामा बिक्री भएको वस्तु र उपहारको रुपमा दिइने वस्तु पनि साथ साथै हस्तान्तरण भएको भए दर्ता नभएको व्यक्ति वा अन्तिम उपभोक्तालाई उपहारको रुपमा दिइएको त्यस्तो वस्तुमा कर असुल गर्नुपर्दैन। तर यस्तो उपहार दर्तावाला व्यक्तिले प्राप्त गरेको भएमा दर्तावाला व्यक्तिबीच भएको यस्तो कारोबारमा मूल्य अभिवृद्धि कर असुल नगरी उपहारस्वरुप दिइएको वस्तुको अभिलेख दुबै पक्षले राख्नु पर्दछ । उपहार पाउने दर्तावाला व्यक्तिले उपहार स्वरुप प्राप्त भएको वस्तुहरु कर लाग्ने वस्तु भए सो बिक्री गर्दा कर असुल गर्नुपर्दछ।
माथि खण्ड (ग) मा उल्लेख भए जस्तै वस्तु विक्री गर्दा कुपन समेत वितरण गर्ने र सो कुपनमा उपहार स्वरुप वस्तु रहेको खण्डमा उपर्युक्त खण्ड (क) बमोजिम मूल्य अभिवृद्धि कर आकर्षित हुन्छ । तर कुपनमा नगद उपहार प्राप्त भएमा, कुपन प्राप्त गरेको वस्तु हस्तान्तरण गर्नु अगाडि नै कुपनमा कति रकम उल्लेख भएको छ सो जानकारी हुन्छ भने सो नगद रकम कर लाग्ने मूल्यबाट घटाई डिस्काउण्टको रुपमा कर वीजकमा उल्लेख गर्नुपर्दछ।
माथि खण्ड (घ) मा उल्लेख भए जस्तै वस्तु विक्री गर्दा कुपन समेत दिई सो कुपनलाई चिट्टाको रुपमा व्यवहार गरी सो बमोजिमको वस्तु कुनै निश्चित समयपछि हस्तान्तरण गरिएको अवस्थामा त्यस्तो वस्तु प्राप्त गर्ने व्यक्तिले मूल्य अभिवृद्धि कर तिर्नु पर्दैन ।
माथि खण्ड (ङ) मा उल्लेख भए जस्तै वस्तु बिक्री गर्दा सो वस्तु भित्रै नगद वा नगद सरहको वस्तु वा सोको कुपन राखी बिक्री गर्ने र उपभोक्ताले सो कुपन फिर्ता गरेपछि सो बराबरको वस्तु वा नगद प्राप्त गर्ने अवस्था भएमा साविकको कर बीजकमा छुटको रुपमा व्यवहार गरी मूल्य समायोजन गर्न पाईंदैन ।
माथि खण्ड (च) मा उल्लेख भए जस्तै निश्चित समयभित्र कुनै निश्चित परिमाण बिक्री गरेमा उत्पादक वा वितरकले आफ्नो डिलर एजेण्ट वा खुद्रा बिक्रेतालाई कुनै निश्चित वस्तु वा सेवा उपहारको रुपमा उपलब्ध गराएको अवस्थामा त्यस्तो कर लाग्ने वस्तु वा सेवा हस्तान्तरण हुँदा वस्तुको बजार मूल्यमा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ । माथि खण्ड (छ) मा उल्लेख भए जस्तै कुनै उत्पादक वा सेवा प्रदायकले आफ्नो व्यवसाय प्रवर्द्धनमा विभिन्न सुविधाहरु तेस्रो पक्षमार्फत उपलब्ध गराएमा तेस्रो पक्षले उपलब्ध गराएको सुविधा वापतको रकममा उत्पादक वा सेवा प्रदायकबाट मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ । जस्तैः कुनै एयरलायन्सले आफ्नो सेवा उपभोग गर्ने दुई जना ग्राहकलाई ठमेलको कुनै दर्तावाला रेष्टुरेण्टमा एक साँझ डिनरको व्यवस्था गरेको रहेछ भने उक्त रेष्टुरेण्टले ती ग्राहकलाई उपलब्ध गराएको डिनर वापतको वीजक सो एयरलायन्सको नाममा जारी गरी कर असुल गर्नुपर्दछ । यदि सो एयरलायन्सले दुई जनालाई निजहरुले उपभोग गरेको खाना तथा पेय पदार्थमा ४० प्रतिशतले छुट दिएको अवस्थामा उक्त ४० प्रतिशत वापतको रकमको बीजक एयरलायन्सको नाममा जारी गर्नुपर्नेछ । बाँकी ६० प्रतिशत बराबरको रकमको बीजक सम्बन्धित उपभोक्ता वा सेवाग्राहीको नाममा जारी गर्नुपर्नेछ । यसैगरी उक्त एयरलायन्सले जारी गरेको सुविधा कार्ड (Privilege Card) बाट नयाँ सडकस्थित रेडिमेड सेन्टरबाट खरिद गरेको करयोग्य सामानमा २० प्रतिशत छुट प्राप्त गरेको रहेछ भने सो रेडिमेड सेन्टरले कार्ड धारकलाई उपलब्ध गराएको उक्त छुट रकम वापत एयरलाइन्सबाट कुनै रकम प्राप्त गरेको वा कुनै खर्च शोधभर्ना प्राप्त गरेको भएमा सो रकममा एयरलायन्सबाट मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेछ ।
उपहारको रुपमा वितरण गरिने वस्तु वा नगदको दर्तावाला विक्रेता तथा खरिदकर्ता दुवैले उपहार दिए लिएको विवरणको अभिलेख अद्यावधिक राख्नुपर्दछ । साथै सो उपहारसम्बन्धी जानकारी सबैले प्राप्त गर्ने गरी सूचना जारी गरेको हुनुपर्दछ। यस्ता उपहार योजनाको जानकारी कारोबार हुनु पूर्व भएको हुनुपर्दछ ।
५.९ कर लाग्ने मूल्य समायोजन
वस्तु वा सेवा बिक्री भई बीजक जारी गरिसके पश्चात कहिलेकाँही ती वस्तु वा सेवाको कर लाग्ने मूल्य र कर रकममा समायोजन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । विक्री भई सकेका वस्तुमा कुनै प्राविधिक त्रुटि देखिएमा खरिदकर्ताले सो वस्तु फिर्ता गरेको हुन सक्दछ । यसै गरी अर्डर गरे बमोजिमको स्पेसिफिकेसन, मात्रा, गुणस्तर एवं समयभित्र वस्तु आपूर्ति नभएको कारणले कहिलेकाँही आपूर्ति गरिएका वस्तुको सबै वा आंशिक परिमाण बिक्रेतालाई फिर्ता गर्ने गरेका हुन सक्छ । यस्तो अवस्थामा खरिदकर्ताले वस्तु सम्बन्धित विक्रेतालाई फिर्ता गरेमा उक्त वस्तुको कर लाग्ने मूल्यमा समायोजन गर्नुपर्दछ । यसरी कारोबार मूल्यमा समायोजन गर्न डेविट नोट र क्रेडिट नोटको प्रयोग गर्नुपर्दछ । एकपटक विक्री भई सकेको वस्तु फिर्ता भएको अवस्थामा विक्रेताले क्रेडिट नोट जारी गर्नुपर्दछ भने खरिदकर्ताले डेविट नोटको माध्यमबाट कर समायोजन गर्नुपर्दछ । साथै यसरी फिर्ता लिने दिने दुवै पक्षले विक्री फिर्ताको परिमाण मौज्दात कितावमा समेत अद्यावधिक गर्नुपर्दछ । देहायका अवस्थाहरुमा यस प्रकारको स्थिति सिर्जना हुन सक्दछः
(क) बिक्री भएका सम्पूर्ण वस्तु फिर्ता भई क्रेतालाई पूरा मूल्य फिर्ता गर्नु परेमा क्रेडिट नोट जारी गर्नुपर्दछ। तर पहिलेको मूल्य भन्दा बढी मूल्यको वस्तुसँग साट्दा फिर्ता भएको वस्तुको लागि क्रेडिट नोट जारी गरी नयाँ वस्तुको लागि कर बीजक जारी गर्नुपर्दछ । यसैगरी बिक्री भएको वस्तुको कुनै जायज कारणले बिक्रेता र खरिदकर्ताबीच वस्तु फिर्ता नगरी मूल्यमा मात्र परिवर्तन (घटी वा बढी) भएमा सोको समायोजन डेविट नोट वा क्रेडिट नोटबाट गर्नुपर्दछ ।
(ख) वारेण्टी अवधि भित्र पहिले बिक्री गरिएको वस्तु फिर्ता भई सोको मूल्य समायोजन गर्नु परेमा पनि आवश्यकता अनुसार क्रेडिट नोट वा डेविट नोट जारी गर्नुपर्दछ ।
(ग) खरिदकर्ताले प्राप्त गरेको सम्पूर्ण वस्तुहरु फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको र उक्त वस्तुको कर बीजकलाई खरिद खातामा प्रविष्टि नगरेको र मौज्दात अभिलेखमा पनि प्राप्ति नजनाएको अवस्था रहेमा खरिदकर्ताले खरिद गरिएका सम्पूर्ण वस्तु र सोको सक्कल कर बीजक फिर्ता गर्नुपर्दछ । यस्तो अवस्थामा खरिदकर्ताले माथि उल्लेख भए जस्तो डेविट नोट जारी गर्नुपर्दैन । तर बिक्री भएका वस्तु र सोको सक्कल कर बीजक फिर्ता पाएको अवस्थामा सम्बन्धित बिक्रेताले क्रेडिट नोट जारी गर्नुपर्दछ र खरिदकर्ताले फिर्ता गरेको सक्कल बीजक समेत सुरक्षित रुपमा राख्नु पर्दछ ।
(घ) एउटै कर बीजक मार्फत धेरै परिमाणमा वस्तु खरिद भएको र ती वस्तुहरुमध्ये केही वस्तु तत्कालै वा केही अवधिपछि कुनै जायज कारणले सम्बन्धित विक्रेतालाई फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएमा उक्त कर बीजक बमोजिमको कारोबारलाई खरिद खातामा प्रविष्टि गरी मौज्दात किताबमा समेत प्राप्ति जनाई सो मध्ये फिर्ता गर्नुपर्ने वस्तुको पूर्ण विवरण, संख्या, करलाग्ने मूल्य र कर समेत उल्लेख गरी सम्बन्धित कर बीजकको फोटोकपी समेत राखी सम्बन्धित विक्रेतालाई फिर्ता गर्नुपर्दछ । यसरी फिर्ता गर्दा फिर्ता भएका वस्तु र कारोबार मूल्य खुलाई डेविट नोट जारी गर्नुपर्दछ । यसरी आंशिकरुपमा फिर्ता भएका वस्तुको सम्बन्धमा बिक्रेताले पनि क्रेडिट नोट जारी गरी दुवै पक्षको अभिलेख अद्यावधिक राख्नुपर्नेछ ।
(ङ) बिक्रेताले जारी गर्ने क्रेडिट नोटलाई विक्री खातामा पनि अभिलेख जनाई सो कर अवधिको कुल विक्री कारोबारमा घटाउनु पर्दछ भने खरिदकर्ताले पनि आफूले जारी गरेको डेविट नोटलाई खरिद खातामा अभिलेख जनाई खरिद कारोबारलाई घटाउनु पर्दछ ।
(च) कुनै उत्पादक वा वितरकले आफ्ना डिलर, एजेण्ट वा खुद्रास्तरका विक्रेतालाई वस्तु आपूर्ति गरिसके पछि विभिन्न जायज कारणले गर्दा पूर्व निर्धारित मूल्यमा वस्तु उपभोक्ता समक्ष बिक्री हुन नसक्ने अवस्था सिर्जना भई उत्पादक वा वितरकले आफ्ना डिलर, एजेण्ट वा खुद्रा बिक्रेतालाई केही प्रतिशत रकम मूल्यमा घटाई विक्री गर्न र पहिलेको मूल्यमा फरक परेको हदसम्म मूल्य फिर्ता दिने वा अन्य कुनै तरिकाले समायोजन गरिदिने गरी व्यवसायिक प्रबन्ध गरेको अवस्थामा सो मूल्य वापतको उत्पादक वा वितरकले क्रेडिट नोट र खरिद गर्ने डिलर, एजेण्ट वा खरिदकर्ताले डेविट नोट जारी गर्नुपर्दछ ।
(छ) मूल्य अभिवृद्धि करमा दर्ता नभएको व्यक्तिले खरिद गरेको वस्तु कुनै जायज कारणले बिक्रेतालाई फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएमा बिक्रेताले क्रेडिट नोट जारी गरी कर समायोजन गर्नुपर्दछ । यसरी समायोजन गर्दा सो वस्तुको कर वीजकको फोटोकपी खरिदकर्ताले लिनु दिनु पर्ने रकम समायोजन गर्नको लागि जारी गरेको डेविट नोट एवं पत्रको आधारमा समायोजन गर्नुपर्दछ । मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २० ले देहाय बमोजिमको व्यवस्था गरेको छ ।
नियम २० क्रेडिट वा डेविट नोट : (१) दर्ता भएको व्यक्तिले आपूर्ति गरेको वस्तु वा सेवाको मूल्यमा परिवर्तन भई क्रेडिट वा डेविट नोट जारी गर्नु परेमा त्यस्तो नोटमा स्पष्टसँग क्रेडिट वा डेविट नोट लेखी देहायका कुराहरु समेत खुलाउनु पर्नेछः-
(क) क्रमागत संख्या,
(ख) जारी भएको मिति,
(ग) आपूर्तिकर्ताको नाम, ठेगाना र दर्ता नम्बर,
(घ) प्रापकको नाम, ठेगाना र निज दर्ता भएको व्यक्ति भएमा दर्ता नम्बर,
(ङ) कारोबारसँग सम्बन्धित कर बीजकको संख्या र मिति,
(च) वस्तु वा सेवाको विवरण र क्रेडिट वा डेविटको कारण,
(छ) क्रेडिट वा डेविट भएको रकम,
(ज) क्रेडिट वा डेविट भएको करको रकम ।
करयोग्य मूल्यमा आएको परिवर्तन मिलान गर्दा वस्तु वा सेवा आपूर्ति गर्दाको समयमा कायम रहेको करको दर अनुसार मिलान गर्नुपर्ने हुन्छ । यसरी कर मिलान गर्दा डेविट नोट वा क्रेडिट नोटको माध्यमबाट मिलान गर्नुपर्ने र सोको मासिक लेखा राख्नु पर्दछ । यस सम्बन्धमा नियमावलीको नियम २० को उपनियम (२) मा देहायको व्यवस्था रहेको छः
नियम २० को उपनियम (२) दर्ता भएको करदाताले उपनियम (१) बमोजिमको क्रेडिट वा डेविट नोटको मासिक लेखा राख्नु पर्नेछ ।
नियमावलीको उपर्युक्तानुसार जारी गर्नुपर्ने डेविट क्रेडिट नोटको ढाँचा देहाय वमोजिम रहेको छ ।
डेविट क्रेडिट नोट
डेविट / क्रेडिट नोटको सि.नं.
जारी भएको मिति:-
आपुर्तिकर्ताको करदाता दर्ता नं. आपुर्तिकर्ताको नामः कर बीजकको सि.नं. ठेगाना: प्रापकको नामः
| वस्तु वा सेवाको विवरण | डेविट / क्रेडिट नोट जारी गर्नाको कारण | डेविट / क्रेडिट रकम | डेविट / क्रेडिट कर रकम |
|---|---|---|---|
जारी गर्नेको सही
५.१० बजार मूल्यः जारी गर्नेको सही
बजार मूल्य भन्नाले एक आपसमा असम्बन्धित बिक्रेता र क्रेता बीच स्वतन्त्र रुपले वस्तु वा सेवा आपूर्ति गर्दा निर्धारण गरिएको मूल्यलाई बुझ्नुपर्दछ । सामान्यतया बजार मूल्य र कर लाग्ने मूल्य समान हुन्छ । तर कहिलेकाँही कर लाग्ने मूल्य र बजार मूल्यबीच फरक भएको पनि पाइन्छ । करदाताले व्यवसायिक नीति सार्वजनिक गरी वस्तु वा सेवा आपूर्ति गर्दा सो नीतिको आधारमा डिस्काउण्ट वा छुट दिन सक्दछ । यसरी दिइएको डिस्काउण्ट वा छुटलाई बजार मूल्यमा घटाई कर लाग्ने मूल्य कायम गर्नुपर्दछ । समान वस्तुको कारोवार गर्ने अन्य करदाताले आफ्नो वस्तु बिक्री गर्दा कुनै किसिमको डिस्काउण्ट वा छुट दिने नीति अवलम्बन गरेको भएमा उस्तै उस्तै वा समान वस्तुको बजारमा मूल्य फरक फरक हुने अवस्था सिर्जना हुन सक्दछ। व्यवसाय प्रवर्द्धनको लागि डिस्काउण्ट वा छुट दिने व्यवस्थाले एउटा करदाता र अर्को करदाताको कर लाग्ने मूल्यबीच फरक भएको पाइन्छ । यसरी कहिलेकाँही कर लाग्ने मूल्य र बजार मूल्यबीचको फरक कानून बमोजिम स्वभाविक भए तापनि करदाताले फरक हुनुको कारण र आधारको पुष्टि गर्नुपर्दछ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १३ ले बजार मूल्यको सम्बन्धमा देहाय बमोजिमको कानूनी व्यवस्था गरेको छ ।
दफा १३. बजार मूल्यः
(१) कुनै दिनमा आपूर्ति गरिएको वस्तु वा सेवाको बजार मूल्यको निर्धारण असम्बन्धित व्यक्तिहरुकाबीच स्वतन्त्र रुपले आपूर्ति भएको त्यस्तै किसिमको वस्तु वा सेवा वापत प्राप्त हुने प्रतिफललाई ध्यानमा राखी निर्धारण गरिनेछ ।
(२) यस दफाको प्रयोजनको लागि बजार मूल्य निर्धारण गर्ने प्रक्रिया तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम कुनै वस्तु वा सेवाको बजार मूल्य निर्धारण गर्न नसकिएको अवस्थामा महानिर्देशकले तोकेको प्रक्रिया अनुसार त्यस्तो वस्तु तथा सेवाको बजार मूल्य निर्धारण गरिनेछ ।
बजार मूल्य निर्धारण गर्ने प्रक्रियाको सम्बन्धमा नियमावलीको नियम २२ मा देहाय वमोजिमको व्यवस्था रहेको छः
नियम २२. बजार मूल्य निर्धारण प्रकृया:
(१) ऐनको दफा १३ बमोजिम बजार मूल्य निर्धारण गर्नु पर्दा कर अधिकृतले समान प्रकारको कारोबारको सम्बन्धमा दर्ता भएका अन्य समान बिक्रेताहरुको कारोबार तथा मूल्य अध्ययन गरी बजार मूल्यको निर्धारण गर्नेछ ।
(२) ऐनको दफा १३ को उपदफा (३) मा उल्लेख भए बमोजिम कुनै वस्तु वा सेवाको बजार मूल्य निर्धारण गर्न नसकिएको अवस्थामा महानिर्देशकले तत्सम्बन्धमा समान प्रकारका दर्ता भएका व्यक्तिहरुबाट आफूलाई प्राप्त भएको जानकारी समेतका आधारमा मूल्य निर्धारण गर्नुपर्नेछ ।
ऐन तथा नियमावलीका उपर्युक्त व्यवस्था अनुसार कुनै व्यक्तिले बजार मूल्यभन्दा न्यून हुने गरी कर लाग्ने मूल्य कायम गरेर कारोबार गरेको अवस्थामा कर अधिकृतले बजार मूल्य निर्धारण गर्दा निम्न बमोजिम गर्नुपर्दछः
क. समान किसिमको कारोबार गर्ने अन्य दर्तावाल व्यक्तिहरुले निर्धारण गरेको कर लाग्ने मूल्य संकलन गर्नुपर्दछ।
ख. कर लाग्ने मूल्य संकलन गर्दा सकेसम्म समान स्थान, क्षेत्र, मिति र समयलाई ध्यान दिनुपर्दछ ।
ग. समान (Identical) वा उस्ता उस्तै (Similar) वस्तु वा सेवाको कारोबार मूल्यबीच तुलना गर्नुपर्दछ । समान वा उस्ता उस्तै वस्तुको कारोबार गर्ने करदाताहरुले कुनै डिस्काउण्ट वा छुट दिने नीति लागु गरेका छन् भने यस्ता डिस्काउण्ट वा छुट दिनु पूर्वको कारोबार मूल्यलाई आधार मान्नु पर्दछ ।
घ. बिक्रेता र क्रेता एक आपसमा असम्बन्धित हुनुपर्दछ ।
ङ. कर लाग्ने मूल्य स्वतन्त्ररुपले निर्धारण गरिएको हुनुपर्दछ ।
च. सन्दर्भको रुपमा लिइएको वस्तु वा सेवा आपूर्ति गरे वापत प्राप्त हुने प्रतिफल समान वा एकैनासको हुनपर्दछ ।
छ. बजार मूल्य भन्दा कममा गरिने कारोबारबाट समग्र रुपमा बिक्री प्रवर्द्धन हुने उद्देश्य हुनुपर्दछ ।
वस्तुको प्रकृति, परिमाण, गुण, स्पेसिफिकेसन आदिमा समानता हुनुको साथ साथै स्थान र समय पनि समान हुनुपर्दछ । यी पक्षहरुमा अध्ययन र विश्लेषण गरी समान किसिमको कारोबार गर्ने अन्य दर्तावाल व्यक्तिले निर्धारण गरेको कारोबार मूल्यको आधारमा बजार मूल्य निर्धारण गरिन्छ । माथि उल्लेख भए बमोजिम कुनै वस्तु वा सेवाको बजार मूल्य निर्धारण गर्न नसकिएको अवस्थामा महानिर्देशकले तत्सम्बन्धमा समान प्रकारका दर्ता भएका व्यक्तिहरुबाट आफूलाई प्राप्त भएको जानकारी समेतका आधारमा मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था नियम २२ मा गरिएको छ ।
५.११ वस्तु वा सेवाको स्वः आपूर्तिमा कर लाग्ने मूल्य
दर्ता भएको व्यक्तिले आफूले आपूर्ति गर्ने वस्तु तथा सेवाहरुलाई आफ्नै प्रयोजनको निमित्त उपभोग गरेको खण्डमा वा प्राप्त गरेको वस्तु वा सेवाको प्रयोग आफैँले गरेमा त्यसलाई स्वः आपूर्ति भनिन्छ । कुनै व्यक्तिले बिक्री गर्ने उद्देश्यले खरिद गरेको वा उत्पादन गरेको वस्तु व्यापार मौज्दातको निर्माण वा उत्पादन बाहेक अन्य प्रयोजनका लागि आफैले प्रयोग गरेमा सोलाई स्वः आपूर्ति मानिन्छ । यसरी स्वः आपूर्ति गर्दा उक्त वस्तु वा सेवाको खरिद वा पैठारी वा उत्पादन मूल्यलाई कर लाग्ने मूल्य मानिन्छ । यदि ती बस्तु वा सेवाको खरिद मूल्य निर्धारण गर्न नसकिने अवस्था भएमा वा करदाता स्वयंले बीजक जारी गरी मूल्य अभिवृद्धि कर असुल नगरेमा बिक्री प्रयोजनका लागि निर्धारण गरिएको मूल्य वा बजार मूल्यलाई आधार मानी कर अधिकृतले कर निर्धारण गर्न सक्दछ।
५.१२ वस्तु विनिमयको माध्यमबाट कारोबार हुने वस्तुको कर लाग्ने मूल्य
मुद्रा बाहेक अन्य वस्तु वा सेवा प्रतिफलको रुपमा प्राप्त गर्ने गरी वस्तु तथा सेवा बिक्री, विनिमय, हस्तान्तरण गरिएको अवस्थामा त्यस्तो विक्रीलाई वस्तु विनिमयमा आधारित कारोबार भनिन्छ । यस्तो कारोबारमा प्रतिफलका रुपमा प्राप्त हुने वस्तु वा सेवाको बजार मूल्यलाई कर लाग्ने मूल्य मानी कर असुल गर्नुपर्दछ । यस सम्बन्धमा ऐनको दफा १२ को उपदफा (४) मा देहायबमोजिमको व्यवस्था रहेको छः
दफा १२ को उपदफा (४) : वस्तु विनिमय अन्तर्गत आदान प्रदान गरिएका वस्तु वा सेवाको कर लाग्ने मूल्य त्यसरी आदान प्रदान गरिएका वस्तु वा सेवाको बजार मूल्य बराबर हुनेछ । यस सम्बन्धमा निम्न उदाहरणले स्पष्ट पार्नेछः
उदाहरण ५.७
कुनै दर्तावाल व्यक्तिले नेपालबाट चीनको तिब्बतमा चाउचाउ निकासी गरी सोको बदलामा चीनमा उत्पादित कपडा पैठारी गर्ने गरेको रहेछ भने वस्तु विनिमयको यस्तो अवस्थामा चाउचाउको कर लाग्ने मूल्य कपडाको बजार मूल्य बराबर हुन्छ ।
५.१३ प्रयोग भैसकेका वस्तुको कर लाग्ने मूल्य
एक पटक उपयोगमा आइसकेका वस्तुको पुनः प्रयोग गर्ने गरी खरिद बिक्री हुन सक्दछ । प्रयोग भइसकेका वस्तुको कारोबार गर्ने व्यक्तिले यस्ता वस्तुको खरिद सामान्यतया वेदर्तावाल व्यक्ति (मूलतः उपभोक्ता) वा निकायहरुबाट गर्ने गर्दछन् । तर कहिलेकाँही दर्ता भएका व्यक्तिहरुबाट पनि यस्ता वस्तु खरिद गरिएको पाइन्छ। पुरानो सवारी साधन, ठूला मेशिनरी आदि विक्री गर्ने रिकन्डिशन हाउस यसका उदाहरण हुन् । यस्ता वस्तुहरुको कर लाग्ने मूल्य भन्नाले त्यस्ता वस्तुको विक्री मूल्य र खरिद मूल्यबीचको फरकलाई सम्झनुपर्दछ। पुराना वस्तुको कारोबार गर्ने व्यक्तिले प्रत्येक वस्तुको छुट्टा छुट्टै खरिद एवं बिक्री अभिलेख राख्नुपर्दछ। प्रयोग भैसकेका वस्तुहरुको कारोबार गर्ने व्यक्तिले पाउने कर कट्टी सुविधाका सम्बन्धमा ऐनको दफा १७ को उपदफा (५) मा देहाय बमोजिमको व्यवस्था रहेको छः
दफा १७ को उपदफा (५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रयोग भइसकेका वस्तुहरुको कारोबार गर्ने दर्ता भएको व्यक्तिले पाउने कर कट्टी सुविधा तोकिए बमोजिम हुनेछ ।
ऐनको उपर्युक्त व्यवस्था बमोजिम नियमावलीको नियम ३३ मा देहाय बमोजिमको व्यवस्था गरिएको छः
नियम ३३.प्रयोग भै सकेका वस्तुहरुको कर निर्धारण तरीका:
(१) प्रयोग भैसकेका वस्तुहरुको कर निर्धारण त्यस्ता वस्तुहरुको बिक्री मूल्य र खरिद मूल्य बीचको बचतमा मात्र गरिनेछ । त्यस्ता वस्तुको विक्रेताले देहाय बमोजिमका स्थायी अभिलेख त्यस्ता वस्तु खरिद वा बिक्री गर्दा कै अवस्थामा तयार गरी राख्नुपर्नेछ ।
(क) खरिद सम्बन्धी: (अ) खरिद मिति, (आ) वस्तुको पूर्ण जानकारी हुने किसिमको व्यहोराको उल्लेख, (इ) कर बाहेकको खरिद मूल्य, (ई) करको दर, (उ) करको रकम, (ऊ) तिरेको कूल रकम ।
(ख) विक्री सम्बन्धी: (अ) बिक्री भएको मिति, (आ) कर बाहेकको बिक्री मूल्य, (इ) खरिद मूल्य र बिक्री मूल्य बीचको फरक, (उ) करको रकम, (ई) करको दर, (ऊ) प्राप्त गरेको कूल रकम ।
(२) उपनियम (१) मा उल्लेख गरेको खरिद मूल्य भन्नाले कर सहितको मूल्यलाई जनाउनेछ ।
(३) प्रयोग भैसकेका प्रत्येक वस्तुहरु बिक्री गर्दा वीजक जारी गरी खरिद र बिक्रीको छुट्टा छुट्टै अभिलेख राख्नु पर्नेछ ।
(४) दर्ता भएको व्यक्तिले उपनियम (१), (२) र (३) मा उल्लेख भएको अभिलेख सन्तोषजनक ढंगले राखेको नपाइएमा त्यस्तो करदाताले बिक्री गरेको कूल बिक्री मूल्यमा कर लगाई अर्को कर विवरणसँगै त्यस्तो कर दाखिल गर्ने गरी कर अधिकृतले लिखित आदेश दिन सक्नेछ ।