अनुसूची २ दफा १९ सँग सम्बन्धित ह्रास कट्टीको निर्धारण
१. ह्रासयोग्य सम्पत्तिको वर्गीकरण र समूहीकरण:
(१) हासयोग्य सम्पत्तिको वर्गीकरण देहाय बमोजिमको हुनेछः-
| वर्ग | सम्पत्तिको विवरण |
|---|---|
| "क" | भवन, स्ट्रक्चर र स्थायी प्रकृतिका यस्तै प्रकारका अन्य बनौटहरु | |
| "ख" | कम्प्युटर, तथ्याङ्क केलाउने उपकरण, फर्निचर, फिक्स्चर र कार्यालय उपकरणहरू । |
| "ग" | अटोमोबाइल्स, बस तथा मिनीबसहरू । |
| "घ" | निर्माण तथा उत्खनन् सम्बन्धी उपकरणहरू र दफा १७ को उपदफा (३), दफा १८ को उपदफा (३) र यस अनुसूचीको उपदफा (३) समेत अन्य कतै समावेश नभएका ह्रासयोग्य सम्पत्तिहरू । |
| "ङ" | वर्ग घ मा उल्लेख भएका ह्रासयोग्य सम्पत्तिहरू बाहेकका अदृश्य सम्पत्तिहरू । |
(२) कुनै व्यक्तिले कुनै आय वर्षमा निजको स्वामित्वमा रही व्यवसाय वा लगानीबाट आय आर्जनको लागि प्रयोग गरेको कुनै ह्रासयोग्य सम्पत्तिलाई पहिलो पटक स्वामित्वमा आएको वा प्रयोग भएको समयमा निम्नानुसारको समूह राख्नु पर्नेछ र सो समूहहरूलाई सो वर्षमा उक्त व्यक्तिको ह्रासयोग्य सम्पत्तिहरूको समूह मानिनेछ:
(क) सो व्यक्तिको स्वामित्वमा रहेको वा प्रयोगमा रहेको उस्तै सम्पत्तिहरूको सम्बन्धमा वर्ग "क", "ख", "ग" वा "घ" का ह्रासयोग्य सम्पत्ति सोही वर्गका अन्य सम्पत्तिहरूको उही समूहमा ।
(ख) वर्ग "ङ" का ह्रासयोग्य सम्पत्तिको सम्बन्धमा उही वर्गको सम्पत्तिहरू भए तापनि बेग्लाबेग्लै समूहमा राख्नु पर्छ ।
(३) व्यवसायबाट आय आर्जन गर्ने सिलसिलामा प्राकृतिक स्रोतको उत्खनन्, खनिज निकाल्ने कार्य तथा सोको विकासको लागि परेको लागत सो आयसँग सम्बन्धित व्यवसायको लागि सम्पत्ति खरिद गर्दा परेको लागत सरह मानिनेछ ।
२. ह्रास खर्च
(१) कुनै पनि व्यक्तिले कुनै आय वर्षमा सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिका समूहहरू बापत यस दफाको उपदफा (२) र (६) बमोजिम गणना गरिएका प्रत्येक समूहमा रहेका सम्पत्तिको सो वर्षमा भएको ह्रास बराबरको खर्च कट्टी गर्न पाउनेछ।
(२) कुनै व्यक्तिले आफ्नो आय वर्षमा समूहमा रहेका सम्पत्तिको ह्रास कट्टीको गणना देहाय बमोजिमको सूत्रको प्रयोग गरी निकाल्नु पर्नेछ ।
क X ख
"क" भन्नाले सो आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको हास आधार रकमलाई जनाउँनेछ,
"ख" भन्नाले सो समूहको हकमा लागू हुने यस अनुसूचीको दफा ३ मा उल्लिखित हास कट्टी दरलाई जनाउँनेछ ।
(३) कुनै आय वर्षको अन्त्यमा वर्ग "क", "ख", "ग" वा "घ" मा रहेका ह्रासयोग्य सम्पत्तिको हास आधार रकम देहाय बमोजिमको खण्ड (क) र खण्ड (ख) को योगबाट खण्ड (ग) को रकम घटाई कायम गर्नु पर्नेछ ।
तर यसरी घटाइएपछिको रकम शून्यभन्दा कम हुने छैन:-
(क) अघिल्लो वर्षको अन्त्यको सो समूहको हास कट्टी आधार रकमबाट उपदफा (२) र (६) बमोजिम गणना गरिएको सो समूहको ह्रास खर्च कट्टी गरी बाँकी हुने रकम ।
(ख) सो वर्षमा सो समूहको हास कट्टी आधार रकममा सो समूहमा थपिएका सम्पत्तिको लागि गरिएको सो समूहमा थप गरेको सो आय वर्षभित्र यस अनुसूचीको [उपदफा (५)] 1 बमोजिमको खर्च वा समूहमा जोडिएको खर्च ।
(ग) सो समूहको कुनै सम्पत्तिको सो वर्षमा भएको निःसर्गबाट प्राप्त कुनै रकम ।
(४) कुनै आय वर्षको अन्त्यमा [वर्ग "ङ"] 2 अन्तर्गतका प्रत्येक ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टीको आधार रकम देहाय बमोजिमको रकमको कुल योग हुनेछ:- (क) अघिल्लो आय वर्षको अन्त्यमा समूहमा रहेका हासयोग्य सम्पत्तिहरूको ह्रासकट्टीको आधार रकम, र (ख) त्यस आर्थिक वर्षमा सो हास कट्टी आधार रकममा सो समूहभित्रको सम्पत्तिको लागि उपदफा (५) बमोजिम थपिएको रकम ।
(५) कुनै व्यक्तिको ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा समावेश भएको कुनै ह्रासयोग्य सम्पत्तिको लागि गरिएको लागतलाई सम्बन्धित समूहको हास आधार रकममा देहाय बमोजिम जोड्नु पर्नेछ:-
(क) सो सम्पत्ति यस अनुसूचीको दफा १ बमोजिम समूहमा समावेश गरिने समय वा सो सम्पत्ति प्राप्त गर्न खर्च गरेको समयमध्ये जुन पछि आउँछ सो समयमा निम्न सूत्र अनुसार गणना गरी पहिलो मान मानी जोड्नु पर्नेछ ।
क / ३ x ख
यस खण्डको प्रयोजनको लागि "क" लाई देहायको अवधिको लागि देहायको मान हुनेछ:-
(अ) आय बर्षको सुरुदेखि पुस मसान्तसम्मको अवधिको अन्त्यको समय तीन हुनेछ,
(आ) माघदेखि चैत्र मसान्तबीचको अवधि दुई हुनेछ, र
(इ) वैशाखदेखि आय वर्षको अन्त्यसम्मको अवधि एक हुनेछ ।
"ख" भन्नाले सो लागत रकम जनाउँनेछ ।
(ख) लागतको बाँकी भाग पहिलो भाग थप गरिएको आय वर्ष पछिको आय वर्षमा जोडिन्छ तर सो अवधिको बीचमा यस अनुसूचीको दफा ४ को उपदफा (२) बमोजिम उक्त समूह विघटन भएको हुनु हुँदैन ।
(६) वर्ग "क", "ख", "ग" वा "घ" का समूहको ह्रासयोग्य सम्पत्तिहरूको हास कट्टी आधार रकमबाट यस दफाको उपदफा (२) बमोजिम गणना गरिने ह्रास खर्च कटाउँदा दुई हजार रुपैयाँभन्दा कम भएमा अतिरिक्त ह्रास खर्च बापत सो बाँकी रकम सबै गणना गर्नु पर्नेछ ।
३. ह्रासको दर
(१) उपदफा (२) को अधीनमा रही यस अनुसूचीको दफा २ को उपदफा (२) मा उल्लिखित प्रत्येक समूहको हकमा लागू हुने ह्रासको दर देहाय बमोजिम हुनेछ:-
| वर्ग | दर |
|---|---|
| "क" | ५ प्रतिशत |
| "ख" | २५ प्रतिशत |
| "ग" | २० प्रतिशत |
| "घ" | १५ प्रतिशत |
| "ङ" | सम्पत्ति खरिद गर्दाको बखतमा उक्त सम्पत्तिको लागतलाई सम्पत्तिको प्रयोगावधिले भाग गरी निकटतम आधा वर्षमा मिलान गरी हुन आउने दर प्रतिशतमा । |
[(२) यस ऐनको दफा १९ को उपदफा (२) मा उल्लेख गरिएका आयोजनाहरूले र ऐनको दफा ११ को उपदफा (२ख), (३), (३) र अनुसूची- १ को दफा २ को उपदफा (३) मा उल्लेख गरिएका निकायले यस अनुसूचीको उपदफा (१) मा उल्लेख गरेका वर्ग "क", "ख", "ग" र "घ" मा उल्लिखित ह्रासयोग्य सम्पत्तिका लागि लागू हुने ह्रास कट्टीको दरमा एकतिहाईले थप पाउनेछन् ।] 3
[(३) कुनै व्यक्तिले आफ्नो व्यावसायिक प्रयोजनको निमित्त आवश्यक पर्ने उर्जाशक्ति उत्पादन गर्न पुँजीकृत गरेको सम्पत्तिको पुँजीगत रकमको पचास प्रतिशत सोही वर्ष ह्रास खर्च बापत कट्टी दाबी गर्न सक्नेछ ।] 4
(४) कुनै व्यक्तिले फिस्कल प्रिण्टर र क्यास मेशिन राखी बिल बीजक जारी गर्ने गरेमा त्यस्तो प्रिण्टर तथा क्यास मेशिनमा भएको खर्चको एकमुष्ट रकम ह्रास खर्च बापत सोही वर्ष दावी गर्न सक्नेछ ।
४. ह्रासयोग्य सम्पत्तिको निःसर्ग
(१) कुनै व्यक्तिको सो आय वर्षमा व्यवसाय वा लगानीमा प्रयोग भएका ह्रासयोग्य सम्पत्ति वा सम्पत्तिहरूको निःसर्गबाट भएको आयको गणना गर्दा खण्ड (ख) भन्दा खण्ड (क) बढी भए यस्तो बढी भएजति रकम सो आयमा समावेश गर्नु पर्नेछ:-
(क) कुनै व्यक्तिको समूहको "क", "ख", "ग" वा "घ" वर्गमा पर्ने कुनै आय वर्षमा निजको सो वर्ष ह्रासयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त भएका आयहरू,
(ख) निःसर्गबाट प्राप्त आयलाई समावेश नगरी यस अनुसूचीको दफा २ को उपदफा (३) बमोजिम समूहको सो वर्षको अन्त्यमा रहेको ह्रास कट्टी आधार रकम ।
(२) कुनै व्यक्तिले कुनै आय वर्ष समाप्त हुनुभन्दा अगाडि सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिको समूहमा रहेका सबै सम्पत्तिहरू निःसर्ग गरेमा सो समूह विघटन भएको मानिनेछ र देहाय बमोजिम हुनेछ:-
(क) हासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुने हास कट्टी रकम समूहको हास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिले सो वर्षको लागि सो बढी भएजति रकम प्राप्त गरे सरह मानिनेछः- क – ख, वा
(ख) हासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुन आउने रकम समूहको हास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिलाई सो वर्ष सो बढी भएजति खर्च रकम मिनाहा हुनेछ:- ख - क
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि:-
(१) "क" भन्नाले कुनै व्यक्तिले सो सम्पत्तिको निःसर्गबाट सो वर्ष प्राप्त गरेको वा प्राप्त गर्ने आम्दानीहरू (इनकमिङ्गस) सम्झनु पर्छ ।
(२) "ख" भन्नाले खण्ड (अ), (आ) र (इ) को जम्मा रकम सम्झनु पर्छ :-
(अ) सो वर्षमा समूहको घट्दो प्रणालीको बाँकी मूल्य,
(आ) समूहको हास आधार रकममा जोडिएका सो वर्षका खर्चहरू (आउटगोइङ्ग), र
(इ) समूहको ह्रास अनुसूचीको दफा आधार रकममा २ को उपदफा यस (५) बमोजिम आगामी वर्षमा जोडिने खर्चहरू (आउटगोइङ्गस) ।
(३) यस अनुसूचीको प्रयोजनको लागि कुनै आय वर्षमा ह्रासयोग्य सम्पत्तिको समूहको घट्दो प्रणालीको बाँकी रहेको मूल्य भन्नाले निम्नानुसारको रकमलाई जनाउँछ:-
(क) समूहको वर्ग "क", "ख", "ग" वा "घ" को हकमा, सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो वर्षको लागि सो समूहको यस अनुसूचीको दफा २ को उपदफा (२) र उपदफा (६) बमोजिम गणना गरिएको कुनै ह्रास भए सो घटाएपछि हुने रकम,
(ख) समूहको वर्ग [ङ] 5 को सम्बन्धमा सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको हास आधार रकमबाट सो व्यक्तिलाई यस अनुसूचीको दफा २ को उपदफा (१) बमोजिम कट्टी गर्न दिइएका विगतका आय वर्षहरूका सबै खर्चहरू घटाएपछि हुने रकम ।
-
आर्थिक ऐन, २०६८ द्वारा “ दफा (५)” भन्ने शब्दहरुको सट्टा “उपदफा (५)” भन्ने शब्दहरु राखी संशोधन । ↩
-
मिति २०६०।२।२६ को नेपाल राजपत्र भाग ३ (खण्ड ५३, सङ्ख्या ९) को सूचना नं. १ अनुसार “घ” को सट्टा “ङ” राखिएको । ↩
-
आर्थिक ऐन, २०७७ द्वारा संशोधन । मूल ऐनको व्यवस्थाः “ ( २ ) यस ऐनको दफा १९ को उपदफा (२) मा उल्लेख गरिएका आयोजनाहरूले र अनुसूची - १ को दफा २ को उपदफा (३) र (४) मा उल्लेख गरिएका निकायले यस अनुसूचीको उपदफा (१) मा उल्लेख गरेका वर्ग “क”, “ख”, “ग” र “घ” मा उल्लिखित ह्रासयोग्य सम्पत्तिका लागि लागू हुने ह्रास कट्टीको दरमा एकतिहाईले थप पाउनेछन्।” ↩
-
आर्थिक ऐन, २०६७ द्वारा थप भई त्यसपछिका आर्थिक ऐनद्वारा देहाय बमोजिम निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम ।
(१) आर्थिक ऐन, २०६७ द्वारा थप भएको व्यवस्थाः “ ( ३ ) उत्पादनमूलक उद्योगहरूले आफ्नो उद्योगको निमित्त आवश्यक पर्ने उर्जाशक्ति उत्पादन गर्न पुँजीकृत गरेको सम्पत्तिको पुँजीगत रकमको पचास प्रतिशत सोही वर्ष ह्रास खर्च बापत कट्टी दाबी गर्न सक्नेछ।”
(२) आर्थिक ऐन, २०७२ द्वारा संशोधन भई कायम भएकोः “ ( ३ ) कुनै व्यक्तिले आफ्नो व्यावसायिक प्रयोजनको निमित्त आवश्यक पर्ने उर्जाशक्ति उत्पादन गर्न पुँजीकृत गरेको सम्पत्तिको पुँजीगत रकमको पचास प्रतिशत सोही वर्ष ह्रास खर्च बापत कट्टी दाबी गर्न सक्नेछ।” ↩ -
मिति २०६०।२।२६ को नेपाल राजपत्र भाग ३ (खण्ड ५३, सङ्ख्या ९) को सूचना नं १ अनुसार “घ” को सट्टा “ङ” राखिएको । ↩