Skip to content

परिच्छेद २०: कर सङ्कलन, मिनाहा र फिर्ता

१०३. कट्टी गरी बुझाउनु पर्ने कर बापतको सुरक्षण

(१) अग्रिम कर कट्टी गर्नु पर्ने व्यक्तिले परिच्छेद १७ बमोजिम कट्टी गर्नु पर्ने करलाई अदालतको आदेश वा अन्य कुनै कानून बमोजिम वा अन्य कुनै किसिमले गर्नु पर्ने भुक्तानीलाई भन्दा अग्राधिकार दिनु पर्नेछ ।

(२) अग्रिम कर कट्टी गर्नु पर्ने व्यक्तिले परिच्छेद १७ बमोजिम कडा गरेको कर सम्बन्धमा देहाय बमोजिम हुनेछ:-
(क) त्यस्तो व्यक्तिले कट्टी गरेको कर र त्यस्तो कर बापत कुनै सम्पत्ति प्राप्त गरेको भए सो समेत नेपाल सरकारको निमित्त रोक्का राखेको मानिने,
(ख) सो कट्टी गरिएको कर रकम त्यस्तो व्यक्तिको ऋण वा दायित्वसँग आबद्ध गर्न नसकिने, र
(ग) त्यस्तो अग्रिम कर कट्टी गर्ने व्यक्ति टाट पल्टिएको वा विघटन भएको अवस्थामा सो कर कट्टी रकम त्यसरी विघटन भएको वा टाट पल्टेको जेथाको भाग नमानिने र त्यसरी विघटन भई वा टाट पल्टिई भाग लगाउनु पर्दा कट्टी गरिएको कर वा सो सम्पत्ति उपर विभागको पहिलो दाबी रहने ।

१०४. सम्पत्ति माथिको दाबी

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कर दाखिला गर्नु पर्ने मितिसम्ममा सो कर दाखिला नगरेमा सो कर बक्यौता राख्ने व्यक्तिको सम्पत्तिमा नेपाल सरकारको दाबी सिर्जना भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम दाबी सिर्जना हुने सम्पत्ति माथि दाबी गर्दा विभागले देहायका कुराहरू खुलाएको लिखित सूचना सो व्यक्तिलाई दिनु पर्नेछः-
(क) दाबी गरिएको सम्पत्तिको विवरण,
(ख) उपदफा (३) मा उल्लेख गरिए बमोजिमको दाबीको सीमा,
(ग) सो दाबीसँग सम्बन्धित कर, र
(घ) अन्य कुनै कुरा भए सो कुरा ।

(३) उपदफा (२) बमोजिम सम्पत्ति माथि दाबी गर्दा त्यस्तो व्यक्तिले पर्ने कर, त्यस्तो करका सम्बन्धमा दफा ११९ बमोजिम बुझाउनु पर्ने बुझाउनु व्याज, हुनेछ । दाबी र लिलाम बिक्री गर्दा लागेका खर्चहरूको हदसम्म मात्र दावी सिर्जना हुने छैन:-

(४) उपदफा (२) बमोजिम गरिएको दाबी देहायका कार्य नभएसम्म लागू हुने छैन:
(क) भवन तथा जग्गा जमिनको सम्बन्धमा उपदफा (६) बमोजिम दाबी दर्ता गराउन विभागले जानकारी नदिएसम्म,
(ख) अन्य प्रत्यक्ष सम्पत्तिका सम्बन्धमा विभागले दफा १०५ को उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जा नगरेसम्म, र
(ग) अन्य जुनसुकै अवस्थामा कर बक्यौता रहेको व्यक्तिलाई उपदफा (२) बमोजिमको सूचना नदिएसम्म ।

(५) कर बक्यौता रहेको व्यक्तिले बुझाउनु पर्ने उपदफा (२) बमोजिम गरिएको दाबीबाट खामिएको उपदफा (३) बमोजिमको सम्पूर्ण रकम विभागलाई बुझाएमा दाबी गरिएको सम्पत्ति फुकुवा हुनेछ।

(६) उपदफा (२) बमोजिम विभागले कुनै जग्गा, जमिन वा भवन उपर दाबी गरेमा सम्बन्धित मालपोत कार्यालयलाई जानकारी दिनु पर्नेछ र उक्त कार्यालयले त्यस्तो जग्गा जमिन वा भवन कसैलाई बेचबिखन वा स्वामित्व हस्तान्तरण नहुने गरी रोक्का राख्नु पर्नेछ ।

(७) उपदफा (५) बमोजिम जग्गा, जमिन र भवन उपरको दाबी फुकुवा गर्नु पर्ने भएमा विभागले सोको जानकारी मालपोत कार्यालयमा दिनु पर्नेछ। त्यस्तो जानकारी प्राप्त भएपछि मालपोत कार्यालयले त्यस्तो रोक्का भएको जग्गा जमिन र भवनको फुकुवा गरिदिनु पर्नेछ ।

(८) उपदफा (३) बमोजिम लाग्ने खर्चका सम्बन्धमा विभागले यथाशीघ्र कर बक्यौता रहेका व्यक्तिलाई देहायका कुराहरू खुलाई सूचना दिनु पर्नेछ:-
(क) त्यस्तो सूचना दिनु अगाडि कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत विभागले गरेका खर्चहरू, र
(ख) त्यस्ता खर्चहरू कर बक्यौता रहेको व्यक्तिले विभागलाई बुझाउनु पर्ने मिति ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च भन्नाले देहाय बमोजिम विभागले गरेको वा गर्नु पर्ने खर्च सम्झनु पर्छ :-
(क) सो सम्पत्ति उपरको दाबी सिर्जना वा फुकुवा गर्ने सम्बन्धमा यस दफा बमोजिम विभागले गरेको वा गर्नु पर्ने खर्च, वा
(ख) दावी गरिएको सम्पत्ति कब्जामा लिने, आफूसँग राख्ने र लिलाम बिक्री गर्ने सम्बन्धमा दफा १०५ बमोजिम विभागले गरेको वा गर्नु पर्ने खर्च ।

१०५. दाबी गरेको सम्पत्तिको लिलाम बिक्री

(१) कर बक्यौता रहेको व्यक्तिसँग रहेको दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्ने सूचना विभागले कर बक्यौता रहेको व्यक्तिलाई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दिइएको सूचनालाई दफा १०४ को उपदफा (२) बमोजिम दिइएको सूचनामा समावेश गर्न वा त्यस्तो सूचनासँग संलग्न गरिदिन सकिनेछ। यस्तो सूचनामा देहायका कुराहरू स्पष्ट रूपमा खुलाई कर बक्यौता रहेको व्यक्तिलाई दिनु पर्नेछ:-
(क) दाबी गरेको सम्पत्ति, सो सम्पत्ति लिलाम वा बिक्री गरिने तरिका र समय र
(ख) मूर्त सम्पत्तिको सम्बन्धमा विभागले सो सम्पत्ति कब्जामा लिने तरिका र स्थान ।

(३) विभागले उपदफा (१) वा (२) बमोजिमको सूचना कर बक्यौता रहेको व्यक्तिलाई दिएपछि देहाय बमोजिम गर्न सक्नेछ:-
(क) कुनै पनि समयमा सो सूचनामा उल्लिखित मूर्त सम्पत्ति कब्जामा लिने,
(ख) मूर्त सम्पत्ति कब्जामा लिने प्रयोजनको लागि उपदफा (१) को सूचनामा उल्लिखित कुनै परिसरमा कुनै पनि समयमा प्रवेश गर्न, र
(ग) जग्गा जमिन वा भवन बाहेकका मूर्त सम्पत्तिका सम्बन्धमा त्यस्ता सम्पत्तिहरू कर बक्यौता रहेका व्यक्तिको खर्चमा विभागले उपयुक्त सम्झेको कुनै पनि स्थानमा राख्न ।

(४) विभागले उपदफा (१) बमोजिमको सूचना कर बक्यौता रहेको व्यक्तिलाई दिएकोमा देहायको समयमा त्यस्ता दाबी गरेको सम्पत्ति सार्वजनिक रूपमा लिलाम बिक्री गर्न वा उपयुक्त सम्झेको तरिकाबाट त्यस्तो सम्पत्तिको बेचबिखन वा चलन गर्न सक्नेछ:-
(क) दाबी गरेको सम्पत्ति जग्गा जमिन वा भवन भएमा उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जामा लिएको मितिले तीस दिन पछि,
(ख) दाबी गरेको सम्पत्ति नाश हुने मूर्त सम्पत्ति भएमा उपदफा (३) बमोजिम कब्जामा लिएको एक दिन पछि,
(ग) दाबी गरेको सम्पत्ति खण्ड (क) वा (ख) मा उल्लिखित सम्पत्ति बाहेकका मूर्त सम्पत्ति भएमा उपदफा (३) बमोजिम कब्जामा लिएको दश दिन पछि, र
(घ) अन्य कुनै किसिमको सम्पत्ति भएमा उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जामा लिएको दश दिन पछि ।

(५) उपदफा (४) बमोजिम लिलाम विक्रीबाट प्राप्त रकमबाट सर्वप्रथम लिलाम बिक्री गरिएको सम्पत्तिको दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च कटाइनेछ। यसरी खर्च कट्टी गरिसकेपछि बुझाउनु पर्ने कर र दफा ११९ बमोजिम सो करका सम्बन्धमा बुझाउनु पर्ने ब्याज कटाइनेछ र त्यसपछि कुनै रकम बाँकी रहन आएमा त्यस्तो रकम कर बक्यौता रहेका व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।

(६) लिलाम बिक्रीबाट प्राप्त रकम उपदफा (५) बमोजिम मिलान गरिसकेपछि विभागले सो मिलानको प्रक्रिया खुलाइएको लिखित सूचना कर बक्यौता रहेका व्यक्तिलाई दिनु पर्नेछ ।

(७) लिलाम बिक्रीबाट प्राप्त रकमलाई उपदफा (५) बमोजिमको प्रक्रिया अपनाई मिलान गर्दा सो उपदफामा उल्लिखित खर्च, कर र ब्याज बापतको रकम पूर्ण रूपमा भुक्तानी गर्न अपर्याप्त भएमा विभागले नपुग रकम असुल उपर गर्न दफा १०४,१११ वा यस दफा बमोजिम पुनः कारबाही प्रारम्भ गर्नु पर्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,-
(क) "दाबी गरेको सम्पत्ति भन्नाले अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा १०३ को उपदफा (२) वा दफा १०४ को उपदफा (२) मा उल्लिखित कर बक्यौता रहेको व्यक्तिको सम्पत्ति सम्झनु पर्छ ।
(ख) "दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च भन्नाले दफा १०४ बमोजिम दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च सम्झनु पर्छ ।
(ग) "कर बक्यौता रहेको व्यक्ति" भन्नाले दफा १०३ र १०४ मा उल्लिखित अग्रिम कर कट्टी गर्ने व्यक्ति समेतलाई सम्झनु पर्छ ।

१०६. नेपाल बाहिर जान रोक लगाइने

नेपाल [..........] 1 बाहिर जान रोक लगाइने

(१) कुनै व्यक्तिले कर दाखिला गर्नु पर्ने मितिभित्र कर दाखिला नगरेमा [..........] 2 विभागले त्यस्तो व्यक्तिलाई कर दाखिला गर्न सूचना दिएको समय भुक्तानी भएको मितिदेखि ७२ घण्टासम्मका लागि नेपाल सरकारको सम्बन्धित कार्यालयलाई लिखित सूचना दिई सो व्यक्तिलाई देशबाट बाहिर जानबाट रोक्ने आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित समयावधिमा थप गर्नु पर्ने भएमा विभागले सम्बन्धित पुनरावेदन अदालतको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको व्यक्तिले कर दाखिला गरेमा वा कर दाखिल गर्ने सम्बन्धमा सन्तोषजनक व्यवस्था गरेको विभागलाई लागेमा उपदफा (१) बमोजिम सम्बन्धित कार्यालयलाई सूचना दिई त्यस्तो आदेश फिर्ता लिन सक्नेछ ।

१०७. निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने

(१) कुनै निकायले यस ऐन बमोजिम पालन गर्नु पर्ने कुनै कुरा पालन नगरेमा सो समयमा सो निकायको अधिकृतको रूपमा कार्य गर्ने प्रत्येक व्यक्ति सोको निमित्त जिम्मेवार हुनेछन्।

(२) कुनै निकायले कर बुझाई सक्नु पर्ने मितिसम्म कर नबुझाई कसुर गरेमा सो निकायका तत्काल बहाल रहेका वा ६ महिना अघिसम्म बहाल रहेका प्रत्येक अधिकृतहरू संयुक्त वा छुट्टाछुट्टै रूपमा सो कर बुझाउन जिम्मेबार हुनेछन्।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाहरू देहायका अवस्थामा लागू हुने छैनन्:
(क) सो व्यक्तिको जानकारी वा मञ्जुरी बिना सो निकायले त्यस्तो कसुर गरेको अवस्थामा, र
(ख) त्यस्तो कसुर हुन नदिन सो व्यक्तिले त्यस्तै समान परिस्थितिहरूमा सामान्य मानवीय विवेक प्रयोग गर्ने व्यक्तिले अपनाउनेसम्मको होसियारी, परिश्रम र सीप अपनाएको वा प्रयोग गरेको भएमा ।

(४) कुनै व्यक्तिले उपदफा (२) बमोजिम बुझाउनु पर्ने कर दाखिला गरेमा सो व्यक्तिले देहाय बमोजिम गर्न सक्नेछ:
(क) निजले त्यसरी दाखिला गरेको रकम सो निकायबाट असुल उपर गर्न,
(ख) खण्ड (क) को प्रयोजनको लागि त्यसरी दाखिला गरेको रकमभन्दा बढी नहुने गरी निजको कब्जामा रहेको वा रहन आउने सो निकायको द्रव्य समेतका सम्पत्ति आफ्नो अधीनमा राख्न ।

(५) उपदफा (४) को खण्ड (ख) बमोजिम कुनै व्यक्तिले कुनै सम्पत्ति अधीनमा लिएमा त्यस्तो व्यक्ति उपर सो निकाय वा अन्य कुनै व्यक्तिले कुनै दाबी गर्न पाउने छैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "कुनै निकायका अधिकृत" भन्नाले सो निकायको व्यवस्थापक वा सो हैसियतमा कार्य गर्ने कुनै व्यक्ति सम्झनु पर्छ ।

१०८. प्रापकबाट करको असुली

(१) प्रत्येक प्रापकले प्रापकको पदमा नियुक्त भएको मिति वा नेपालस्थित कुनै सम्पत्ति कब्जामा लिएको मितिमध्ये जुन अघिल्लो हुन्छ सो मितिले पन्ध्र दिनभित्र विभागलाई लिखित रूपमा सो कुराको सूचना दिनु पर्नेछ ।

(२) कर बक्यौता राख्ने व्यक्तिले दाखिला गर्नु पर्ने रकमको सम्बन्धमा विभागले लिखित सूचना प्रापकलाई दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको सूचना प्राप्त गरेपछि प्रापकले देहाय बमोजिम गर्नु पर्नेछ:-
(क) प्रापकको कब्जामा आएको सम्पत्तिको आवश्यक हिस्सा बिक्री गरी आएको रकमबाट दफा १०३ को उपदफा (२) को खण्ड (ग) को अधीनमा रही उपदफा (२) बमोजिम दाखिला गर्नु पर्ने करभन्दा अग्राधिकार रहेको कुनै ऋण भए त्यस्तो ऋण बापत भुक्तानी गरी सो उपदफा अन्तर्गत विभागले सूचित गरेको रकम छुटयाई राख्नु पर्ने, र
(ख) कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट निजको कर दायित्व बापत त्यसरी छुटयाइएको रकम विभागमा दाखिला गर्नु पर्ने ।

(४) प्रापकले उपदफा (३) बमोजिम कुनै रकम छुट्याई नराखेको हदसम्म त्यस्तो कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट दाखिला गर्नु पर्ने कर दायित्व बराबरको रकम विभागमा दाखिला गर्ने व्यक्तिगत दायित्व प्रापकको हुनेछ । तर दाखिला गरेको रकम कर बक्यौता रहेको व्यक्तिबाट प्रापकले असुल उपर गरिलिन सक्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,
(क) "प्रापक" भन्नाले देहायका कुनै व्यक्ति सम्झनु पर्छ:
  (१) लिक्विडेटर,
  (२) कुनै सम्पत्ति वा निकायका सम्बन्धमा प्रापकको रूपमा अदालत बाहिरबाट वा अदालतबाट नियुक्त व्यक्ति,
  (३) बन्धकी लिई सम्पत्ति कब्जामा राख्ने व्यक्ति,
  (४) मृतक प्राकृतिक व्यक्तिको सम्पत्तिको प्रत्यक्ष हकवाला, प्रशासक वा दामकाम गर्ने व्यक्ति, वा
  (५) असक्षम प्राकृतिक व्यक्तिको काम कारबाही गरिदिने कुनै व्यक्ति ।
(ख) "कर बक्यौता राख्ने व्यक्ति" भन्नाले जसको सम्पत्ति प्रापकको कब्जामा आएको हो सो व्यक्ति सम्झनु पर्छ ।

१०९. रकम बुझाउनु पर्ने व्यक्तिबाट कर असुल उपर गर्ने

(१) कुनै कर बक्यौता राख्ने व्यक्तिले कर बुझाइसक्नु पर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा देहाय बमोजिमको कुनै पनि भुक्तानीकर्तालाई विभागले लिखित सूचना दिएर कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट बुझाउनु पर्ने करको हदसम्मको रकम सो सूचनामा उल्लिखित मितिभित्र विभागमा दाखिला गर्न आदेश दिन सक्नेछः-
(क) कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुझाउनु पर्ने व्यक्ति,
(ख) कर बक्यौता राख्ने व्यक्तिको लागि वा निजको तर्फबाट द्रव्य राख्ने व्यक्ति,
(ग) कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउने गरी कुनै तेस्रो व्यक्तिको तर्फबाट द्रव्य राख्ने व्यक्ति, वा
(घ) तेस्रो पक्षबाट सो द्रव्य कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउने अख्तियारी पाएको व्यक्ति ।

(२) विभागले उपदफा (१) बमोजिम भुक्तानीकर्तालाई दिएको सूचनाको प्रतिलिपि कर बक्यौता राख्ने व्यक्तिलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिमको सूचनामा उल्लिखित मिति खण्ड (क) र (ख) मा उल्लिखित मितिभन्दा अघिल्लो हुन सक्ने छैनः-
(क) सो रकम कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनु पर्ने मिति वा निजको तर्फबाट त्यस्तो रकम राखेको मिति, र
(ख) उपदफा (२) बमोजिम सूचना दिएको मिति ।

(४) उपदफा (१) बमोजिम भुक्तानीकर्ताले सो उपदफा बमोजिम दाखिला गरेको रकम कर बक्यौता राख्ने व्यक्तिलाई भुक्तानी गरे सरह मानिनेछ । यस्तो रकम कर बक्यौता राख्ने व्यक्ति वा अन्य कुनै व्यक्तिले भुक्तानीकर्तासँग दाबी गर्न पाउने छैन ।

११०. गैरबासिन्दा व्यक्तिको एजेण्टबाट कर असुल उपर गर्ने

(१) कुनै कर बक्यौता राख्ने गैरबासिन्दा व्यक्तिले कर बुझाई सक्नु पर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा विभागले त्यसरी कर बक्यौता राख्ने व्यक्तिको स्वामित्वमा रहेको कुनै पनि सम्पत्ति आफ्नो कब्जामा राख्ने कुनै व्यक्तिलाई लिखित सूचना दिएर सो सम्पत्तिको बजार मूल्य बराबरको रकमबाट त्यस्तो कर बक्यौता राख्ने व्यक्तिले बुझाउनु पर्ने करको रकमभन्दा बढी नहुने गरी सो तेस्रो पक्षको कर दायित्व सम्बन्धमा कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट सो सूचनामा उल्लिखित मितिभित्र कर बुझाउन आदेश दिन सक्नेछ ।

(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको आदेश अनुसार कर रकम बुझाएमा निजले देहाय बमोजिम गर्न सक्नेछ:-
(क) सो व्यक्तिले कर बक्यौता राख्ने व्यक्तिबाट त्यस्तो भुक्तानी रकम असुल उपर गर्न,
(ख) खण्ड (क) को प्रयोजनको लागि सो व्यक्तिको आफ्नो कब्जामा रहेको वा कब्जामा रहन आउने कर बक्यौता राख्ने व्यक्तिको रकम समेतको कुनै पनि सम्पत्ति त्यसरी भुक्तानी गरिएको रकमभन्दा बढी नहुने गरी आफ्नो अधीनमा लिन ।

(३) उपदफा (२) को खण्ड (ख) बमोजिम कुनै व्यक्तिले कुनै सम्पत्ति अधीनमा लिएमा त्यस्तो व्यक्ति उपर कर बक्यौता राख्ने व्यक्ति वा अन्य कुनै व्यक्तिले कुनै पनि दाबी गर्न पाउने छैन ।

११०क. किस्ताबन्दीमा बक्यौता कर असुली

[दफा १११ बमोजिम मुद्दा चलाउनु अगावै कुनै व्यक्तिले तिर्ने बक्यौता रकम किस्ताबन्दीमा तिर्न लिखित अनुरोध गरेमा कर अधिकृतले मनासिब म्याद दिई किस्ताबन्दीमा तिर्न स्वीकृति दिन सक्नेछ ।] 3

११०ख. संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारी

[संयुक्त उपक्रम (ज्वाइन्ट भेजर) मा संलग्न व्यक्ति आफू संलग्न रहेको संयुक्त उपक्रम (ज्वाइन्ट भेजर) को कर दायित्व भुक्तान गर्ने प्रयोजनका लागि संयुक्त वा छुट्टाछुट्टै रुपमा जिम्मेवार हुनेछन् ।] 4

११०ग. वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति कर भुक्तानी गर्न जिम्मेवार हुने

[व्यवसायको वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति व्यवसाय दर्ता भएको व्यक्तिभन्दा फरक भएको प्रमाणित भएमा त्यस्तो व्यवसायको कर भुक्तानी गर्ने दायित्व त्यस्तो प्रतिफल प्राप्त गर्ने व्यक्तिको हुनेछ ।] 5

१११. कर नतिरेमा मुद्दा चलाउने

कर दाखिला गर्नु पर्ने म्यादभित्र कर दाखिला नगर्ने व्यक्तिबाट कर असुलीका लागि विभागले सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्नेछ ।

११२. मिनाहा

(१) कुनै व्यक्तिले बुझाउनु पर्ने कर असुल उपर गर्न नसकिने भएमा नेपाल सरकारले त्यस्तो कर आंशिक वा पूर्ण रूपमा मिनाहा दिन सक्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले परिच्छेद-२२ बमोजिम लगाइएको शुल्क तथा ब्याज पूरै वा आंशिक रूपमा मिनाहा दिन सक्नेछ ।

११३. कर फिर्ता र हिसाब मिलान

(१) कुनै व्यक्तिले आफूले दाखिला गर्नु पर्ने कर दायित्वभन्दा बढी हुने गरी कर बुझाएकोमा बढी दाखिला गरेको कर रकम निजले यस ऐन बमोजिम दाखिला गर्नु पर्ने कर रकमबाट घटाउन विभागले निर्देशन दिन सक्नेछ। यसरी घटाउँदा बढी हुन गएको जति रकम विभागले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।

(२) कुनै व्यक्तिले दफा ११९ बमोजिम दाखिला गरेको ब्याजसँग सम्बन्धित कर दाखिला गर्न नपर्ने भएमा विभागले यस्तो ब्याज सो व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।

[(३) कुनै व्यक्तिले उपदफा (१) बमोजिम रकम फिर्ता पाउन तोकिए बमोजिम विभागमा निवेदन दिएमा विभागले निवेदन परेको मितिले साठी दिनभित्र त्यस्तो रकम फिर्ता गर्नु पर्नेछ ।] 6

(४) उपदफा (३) बमोजिम निवेदन दिने व्यक्तिले त्यस्तो निवेदन देहायको मितिमध्ये पछिल्लो मितिबाट दुई वर्षभित्र दिनु पर्नेछ । सो म्यादभित्र निवेदन नदिएमा उपदफा (१) बमोजिमको रकम फिर्ता हुने छैन:-
(क) बढी रकम दाखिला गरेको कारण उत्पत्ति भएको आय वर्षको समाप्ति भएको मिति,
(ख) बढी रकम दाखिला गरिएको मिति, वा
(ग) मुद्दा फैसला भएको मिति ।

(५) उपदफा (३) बमोजिम परेको निवेदनका सम्बन्धमा विभागले गरेको निर्णयको लिखित सूचना विभागले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।

(६) अदालतको आदेशले वा अन्य कारणबाट विभागले करको कुनै रकम कुनै व्यक्तिलाई फिर्ता दिँदा विभागले देहाय बमोजिमको अवधिको सामान्य दर बमोजिमको ब्याज समेत त्यस्तो व्यक्तिलाई दिनु पर्नेछ:-
(क) त्यस्तो कर फिर्ता दफा ९३, ९४ वा १०० बमोजिम कुनै व्यक्तिलाई कुनै आय वर्षमा उपलब्ध भएको अधिक कर मिलानसँग सम्बन्धित भएमा दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्ने मितिदेखि कर फिर्ता दिएको मितिसम्मको अवधि, र
(ख) अन्य कुनै अवस्थामा त्यस्तो व्यक्तिले फिर्ता हुने कर बुझाएको मितिदेखि फिर्ता दिएको मितिसम्मको अवधि ।

(७) कुनै आय वर्षमा दफा ५१ वा ७१ बमोजिम दाबी गर्न सकिने कर कट्टी मिलान र त्यस्ता कर कट्टीलाई यस उपदफा बमोजिम हिसाब मिलान गर्न वा फिर्ता दिन सकिने छैन ।
तर सो वर्षमा कर कट्टी मिलानलाई दफा ४ को उपदफा (२), दफा ५१ को उपदफा (४) र दफा ७१ को उपदफा (३) मा गरिएको व्यवस्था बमोजिम गर्न सकिनेछ ।


  1. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको । 

  2. आर्थिक अध्यादेश, २०५९ द्वारा “कर” भन्ने शब्द झिकिएको । 

  3. आर्थिक ऐन, २०६३ द्वारा थप भई आर्थिक ऐन, २०६८ ले संशोधन गरेको । साविकको व्यवस्थाः “११०क. किस्ताबन्दीमा बक्यौता कर असुलीः कुनै व्यक्तिको बक्यौता रकम दफा १११ बमोजिम मुद्दा चलाउन अगावै किस्ताबन्दीमा तिर्न लिखित अनुरोध गरेमा मनासिब माफिकको म्याद दिई किस्ताबन्दीमा तिर्न कर अधिकृतले स्वीकृत दिन सक्नेछ।" 

  4. आर्थिक ऐन, २०७५ द्वारा थप । 

  5. आर्थिक ऐन, २०७६ द्वारा थप । 

  6. आर्थिक अध्यादेश, २०६२ द्वारा संशोधन। मूल ऐनको व्यवस्थाः “(३) कुनै व्यक्तिले उपदफा (१) बमोजिम रकम फिर्ता पाउन तोकिए बमोजिम विभागमा निवेदन दिनु पर्नेछ ।”