Skip to content

परिच्छेद ८ कर कट्टी तथा कर फिर्ता सम्बन्धी व्यवस्था

३९. कर कट्टी गर्न पाइने

(१) दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा सङ्कलन गरेको करबाट सो महिना वा सोभन्दा अगाडि आफ्नो कर लाग्ने वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको कर देहायको अवस्थामा कट्टी गर्न पाउनेछ:
  (क) कर कट्टी दाबी गरिएको वस्तु वा सेवा करयोग्य व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएमा ।
  (ख) आन्तरिक खरिद गरिएको भए नियम १७ बमोजिमको कर बीजक प्राप्त गरेको भएमा ।
  (ग) आयात गरिएको भए आयात गर्दा कर तिरेको प्रमाणित गर्ने आयात सम्बन्धी कागजातहरू भएमा ।
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “आयात सम्बन्धी कागजातहरू” भन्नाले प्रज्ञापनपत्र, नगदी रसिद, सामानको बीजक [तथा भन्सारको बाटो भई आयत नहुने सेवाको आपूर्तिको हकमा सेवाको बीजक] 1 र विभागले समय समयमा तोकेको तत्सम्बन्धी अन्य कागजातहरू सम्झनु पर्छ ।

(२) यस नियम बमोजिम कर कट्टी गर्दा एक पटक मात्र गर्न पाइनेछ । यसरी कर कट्टी गर्दा दाबी गरिएको मितिभन्दा एक वर्ष अगाडिसम्मको बीजक वा आयातसँग सम्बन्धित कागजातहरू हुनु पर्नेछ ।

(३) दर्ता भएको व्यक्तिले प्रत्येक कर अवधिको कर विवरण पेश गर्दा निजले वस्तु बिक्री गर्दा सङ्कलन गरेको करबाट वस्तु खरिद वा आयात गर्दा तिरेको कर कटाई बाँकी रहेको रकम कर विवरण साथ कर कार्यालयमा दाखिल गर्नु पर्नेछ ।

(४) दर्ता भएको व्यक्तिले खरिद वा आयात गर्दा तिरेको कर रकम निजले बिक्री गर्दा सङ्कलन गरेको रकमभन्दा बढी भएमा त्यस्तो बढी भएको जति रकम अर्को कर अवधिमा कट्टी गर्न पाउनेछ । यसरी अर्को कर अवधिमा कट्टी गर्न पाउने रकम लगातार [चार महिनासम्म] 2 बाँकी रहेमा एकमुष्ट फिर्ता पाउन निजले [अनुसूची १०] 3 बमोजिमको ढाँचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ । यस्तो दरखास्त प्राप्त भएपछि कर अधिकृतले नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ ।

(५) दर्ता भएको व्यक्तिले कुनै महिनामा बिक्री गरेको कुल मासिक बिक्रीको [चालीस प्रतिशतभन्दा] 4 बढी निर्यात गरेमा सो महिनाका लागि बढी भएको कट्टी गर्नु पर्ने कर फिर्ता पाउन निजले [अनुसची १०] 5 बमोजिमको ढाँचामा निर्यातसँग सम्बन्धित आवश्यक कागजातहरू समेत संलग्न राखी कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ । कर अधिकृतले त्यस्तो दरखास्त प्राप्त गरेपछि नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ । यसरी बाँकी कर फिर्ता दिने निर्णय गर्दा कर अधिकृतले देहायका कुराहरूमा ध्यान दिनु पर्नेछ:
  (क) खरिद वा आयातमा कर तिरेको छ छैन ।
  (ख) पहिले पेश गर्नु पर्ने कर विवरण पेश गरेको छ छैन र पेश गरेको भए त्यस्तो कर विवरणबाट कर फिर्ताको दाबी पुष्टि हुन्छ, हुँदैन ।
[स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “निर्यातसँग सम्बन्धित कागजातहरू" भन्नाले ` वस्तु विनिमयको हकमा निर्यात प्रमाणपत्र, सामान प्राप्त गरेको प्रमाणपत्र, प्रतितपत्र र आयात प्रमाणपत्र र निर्यातको हकमा निर्यात प्रमाणपत्र, सामान प्राप्त गरेको प्रमाणपत्र, भुक्तानी प्रमाणपत्र र प्रतितपत्र सम्झनु पर्छ ।] 6

[३९क. नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्ने] 7

(१) देहायका अवस्था परी कुनै वस्तुको हानि नोक्सानी भएमा त्यस्तो वस्तुमा तिरेको कर कट्टी गर्नको लागि देहाय बमोजिमको अवधिभित्र कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछ:
  (क) आगजनी, चोरी, दुर्घटना, टुटफुट, ध्वंसात्मक गतिविधिका कारणले हानि नोक्सानी भएमा त्यस्तो अवस्था भएको मितिले तीस दिनभित्र ।
  (ख) उपयोग गर्ने म्याद सकिएको वस्तुको हकमा साउनदेखि असोजसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको कार्तिक पच्चीस गतेभित्र, कार्तिकदेखि पुससम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको माघ पच्चीस गतेभित्र, माघदेखि चैतसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको वैशाख पच्चीस गतेभित्र र वैशाखदेखि असारसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको साउन पच्चीस गतेभित्र ।

(२) उपनियम (१) बमोजिम परेको निवेदन छानबिन गर्दा [हानि नोक्सानी भएको वा उपयोग गर्ने म्याद सकिएको देखिएमा कर अधिकृतले] 8 त्यस्तो हानि नोक्सानी भएको वा उपयोग गर्ने म्याद सकिएको वस्तुमा तिरेको कर कट्टी गर्न दिन सक्नेछ । तर बीमा गरिएको वस्तुको हकमा क्षतिपूर्ति प्राप्त गरेको हदसम्म हुने रकम करदाता स्वयंले कर कट्टी गर्न सक्नेछ ।

४०. कर कट्टी सम्बन्धी अन्य व्यवस्था

(१) कर कट्टी गरिएको वस्तुहरू स्टकमा रहेको छ भने त्यस्तो वस्तुहरू कर अधिकृतले हेर्न चाहे वा गणना गर्न चाहेमा करदाताले देखाउनु वा गणना गर्न दिनु पर्नेछ । कर अधिकृतले त्यस्ता वस्तुहरू हेर्दा वा गणना गर्दा त्यस्तो वस्तुहरू कर लाग्ने कारोबारमा प्रयोग भएको नपाएमा वा स्टकमा रहनु पर्नेमा स्टकमा रहेको नपाएमा त्यस्ता वस्तुहरू प्रचलित बजार मूल्यमा बिक्री भएको मानिनेछ ।

(२) उपनियम (१) बमोजिम बिक्री भएका वस्तुहरूमा लाग्ने कर दाखिल गर्न सम्बन्धित करदातालाई कर अधिकृतले आदेश दिन सक्नेछ । त्यस्तो कर रकम कर अधिकृतले तोकेको महिनाको कर विवरणसँग दाखिल गर्नु पर्नेछ । तर कर अधिकृतको विचारमा त्यस्तो कर तत्काल असुल नगरे असुल हुन नसक्ने अवस्था छ भने तुरुन्त करदाताबाट दाखिल गर्न लगाउन सक्नेछ।

(३) कुनै करदाताले करलाग्ने वस्तु वा सेवा तथा कर छुट भएका वस्तु वा सेवा दुवैको कारोबार गरेको रहेछ भने त्यस्तो करदाताले कर लाग्ने वस्तु वा सेवासँग प्रत्यक्ष रूपमा सम्बन्धित खरिद वा आयातमा तिरेको कर मात्र कट्टी गर्न पाउनेछ ।

(४) कर लाग्ने वा कर छुट भएको दुवै प्रकारका वस्तु वा सेवाको कारोबार गर्ने करदाताले उपनियम (३) बमोजिम कर लाग्ने वस्तु वा सेवाको बिक्रीसँग खरिद वा आयात भएका वस्तुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेमा त्यस्तो करदाताले बिक्री गरेको कुल मूल्यमध्ये कर लाग्ने कारोबारको मूल्यको समानुपातिक हिसाबबाट खरिद वा आयातमा तिरेको कर कट्टी गर्न सक्नेछ ।

(५) उपनियम (४) बमोजिम करको गणना गर्दा समानुपातिक रूपमा गणना हुन नसक्ने भन्ने कर अधिकृतलाई लागेमा निजले अर्को वैकल्पिक तरिकाद्वारा गणना गर्न विभागसँग निर्देशन माग गर्न सक्नेछ ।

४१. कर कट्टी गर्न नपाइने वस्तु वा सेवाहरू

(१) ऐनको दफा १७ को प्रयोजनको लागि देहायका वस्तु वा सेवाहरूको हकमा कर कट्टी गर्न पाइने छैन:
  (क) पेय पदार्थ,
  (ख) अल्कोहल वा अल्कोहल मिश्रित पेय पदार्थ जस्तै रक्सी, बियर,
  [(ग) सवारी साधनको लागि पेट्रोल,] 9
  (घ) मनोरञ्जन खर्च,

(२) देहायका वस्तुहरूमा देहाय बमोजिम अनुपातमा कर कट्टी गर्न पाइनेछः
  [(क) ..........] 10
  (ख) अटोमोबाइल्समा खरिद मूल्यको ४० प्रतिशत ।
  [(ग) ..........] 11
स्पष्टीकरणः खण्ड (ख) को प्रयोजनको लागि "अटोमोबाइल्स" भन्नाले कुनै पनि तीन वा सोभन्दा बढी पाङ्ग्रा भएको सडकमा गुड्ने यात्रुबाहक सवारीको साधन सम्झनु पर्छ ।

(३) दर्ता भएको व्यक्तिले उपनियम (१) वा (२) को आपूर्ति गर्ने कार्य नै मुख्य रूपमा गर्ने भएमा यस नियमावलीमा व्यवस्थित प्रक्रिया बमोजिम कर कट्टी गर्न बाधा पर्ने छैन ।

४२. बिक्री कर कट्टी सम्बन्धी व्यवस्था

ऐन प्रारम्भ हुनुभन्दा अगाडि देहाय बमोजिमका मौज्दातमा रहेका बस्तुहरूमा तिरेको बिक्री कर मात्र कट्टी गर्न पाइनेछः (क) पुनः बिक्रीको लागि करदाताले ल्याएका वस्तुहरूमा, (ख) व्यापारको लागि आंशिक रूपमा सहउत्पादित वस्तुहरू तथा सेवाहरूमा, उत्पादित तथा (ग) कच्चा पदार्थ, सहायक कच्चा पदार्थहरू र प्याकिङ्ग वस्तुहरूमा ।

[४३. निबेदन दिनु पर्ने] 12

(१) करदाताले कर कट्टीको लागि दर्ता भएको पन्ध्र दिनभित्र अनुसूची १६ बमोजिमको ढाँचामा कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहाय बमोजिमका कागजात संलग्न गर्नु पर्नेछः
  (क) दर्ता हुँदाका बखत मौज्दात रहेको भए सामानको विवरण,
  (ख) दर्ता हुनुभन्दा एक वर्ष अधिसम्मका कर बीजक र प्रज्ञापनपत्र भए तत्सम्बन्धी विवरण,
  (ग) अन्य आवश्यक प्रमाण ।

(३) उपनियम (१) बमोजिमको दाबी कर अधिकृतद्वारा स्वीकृत भएमा सम्बन्धित करदाताले नियम ३९ को उपनियम (४) बमोजिम कट्टी गर्न पाउने छ ।

(४) उपनियम (१) बमोजिमको दाबी गरिएको कर पहिला नै कट्टा गरिएको पाइएमा ऐन र यस नियमावली बमोजिम कर अधिकृतले त्यस्तो करदातालाई कारबाही गर्न सक्नेछ ।

४४. प्रयोग भइसकेका वस्तुहरूको कर कट्टी सम्बन्धी व्यवस्था

ऐनको दफा १७ को उपदफा (५) को प्रयोजनको लागि प्रयोग भइसकेका वस्तुहरूमध्ये दर्ता नभएको व्यक्तिसँग खरिद गरेका वस्तुहरू र दर्ता भएको व्यक्ति भए पनि ऐनको दफा १७ मा परेका र व्यक्तिगत प्रयोगमा समेत ल्याइएका वस्तुहरूको खरिदमा तिरेको कर कट्टी गर्न पाइने छैन ।

४५. कर फिर्ता सम्बन्धी व्यवस्था

[(१) ऐनको दफा २४ को उपदफा (३) र (४), दफा २५, दफा २५ग१ वा दफा २५ग२ को प्रयोजनको लागि कर फिर्ता दिँदा कर अधिकृतले करदाताबाट फिर्ताका लागि पेश गरिएका प्रमाणहरू तुरुन्त छानबिन गरी दर्ता भएको मितिले दफा २४ को उपदफा (३) वा दफा २५ग२ को हकमा साठी दिनभित्र र दफा २४ को उपदफा (४), दफा २५ वा दफा २५२. को हकमा तीस दिनभित्र फिर्ता दिनु पर्नेछ ।] 13

(२) [ऐनको ] 14 [दफा २४ को उपदफा (३), दफा २५ दफा २५ग१ बा दफा २५ग२ बमोजिम] 15 प्राप्त हुन आएको प्रमाणहरू पुनः छानबिन गर्नु पर्ने आवश्यकता भए सो अबिलम्ब गरी पन्ध्र दिनभित्र फिर्ता दिनु पर्नेछ । फिर्ता दिँदा बीस हजार रुपैयाँभन्दा बढी भएमा निजको बैक खातामा नै जम्मा हुने गरी भुक्तानी गर्नु पर्नेछ ।

[(२क) ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क) र ( क१) बमोजिमका कूटनीतिक नियोग तथा कूटनीतिज्ञले कर फिर्ता प्रयोजनका लागि विभागमा सूचीकृत भएका फर्म तथा कम्पनी (रिफण्ड सप) बाट खरिद गरिएको वस्तु तथा सेवामा तिरेको कर विभागले तोकेको प्रक्रिया बमोजिम तीन दिनभित्र फिर्ता गरिनेछ ।] 16

[(३) ऐनको दफा २५ को उपदफा (१) को प्रयोजनको लागि दर्ता नभएको व्यक्तिले कर फिर्ता माग गर्दा सोही उपदफाको खण्ड (क) र (क१) को प्रयोजनको लागि अनुसूची १७, खण्ड (क२) को प्रयोजनको लागि अनुसूची १७क, खण्ड (ख) र (ग) को प्रयोजनका लागि अनुसूची १८ र ऐनको दफा २५ग२ को प्रयोजनको लागि अनुसूची १८क को ढाँचामा विभागमा निवेदन दिन सक्नेछ ।] 17

४६. फिर्ता नहुने

ऐन र यस नियमावली बमोजिम [..........] 18 नक्कल लिनु पर्ने निर्णय आदेश, फैसला, पर्चा वा अन्य कागजातहरू लेखा अवधि समाप्त भएको मितिले तीन वर्षभित्र निवेदन नदिएमा दिइने छैन ।

[४७. ब्याजको दर] 19

ऐनको दफा २४ को उपदफा (५) को प्रयोजनको लागि नेपाल सरकारले दिने ब्याजको दर वार्षिक पन्ध्र प्रतिशत हुनेछ । यस्तो ब्याज रकम ऐनको दफा २४ को उपदफा (३) र (४) बमोजिम फिर्ता माग गरेको मितिले साठी दिन पछि मात्र गणना गरिनेछ ।


  1. सातौं संशोधनद्वारा थप । 

  2. बाइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “छ महिनासम्म” भन्ने शब्दहरू रहेका । 

  3. तेह्रौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “अनुसूची- १४" भन्ने शब्दहरू रहेका । 

  4. एक्काइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि "पचास प्रतिशत” भन्ने शब्दहरू रहेका । 

  5. तेह्रौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि "अनुसूची १४" भन्ने शब्दहरू रहेका । 

  6. सातौँ संशोधनद्वारा संशोधित । मूल नियमको व्यवस्थाः "स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “निर्यातसँग सम्बन्धित कागजातहरू” भन्नाले वस्तु विनिमय बाहेकको निर्यातको हकमा निर्यात प्रमाणपत्र, भुक्तानी प्रमाणपत्र, प्रतितपत्र, उत्पत्तिको प्रमाणपत्र र समय समयमा विभागले तोकिदिएको तत्सम्बन्धी अन्य कागजातहरू सम्झनु पर्छ र वस्तु विनिमयको हकमा भुक्तानी प्रमाणपत्रको सट्टा आयात प्रज्ञापनपत्र सम्झनु पर्छ । " 

  7. चौबिसौं संशोधनद्वारा उपनियम (१) मा संशोधन गरेको ।
    संशोधन हुनुअघि देहाय बमोजिम व्यवस्था रहेको ।

    (१) कुनै वस्तु आगजनी, चोरी, दुर्घटना, टुटफुट, ध्वंसात्मक गतिविधिका कारणले हानि नोक्सानी भएमा वा उपयोग गर्ने म्याद सकिएको कारणले त्यस्तो वस्तुको मौज्दातबाट लगत कट्टा गर्नु परेमा वा कम मूल्यमा बिक्री गर्नु पर्ने भएमा प्रमाण सहित त्यस्तो अवस्था भएको मितिले तीस दिनभित्र त्यस्तो वस्तुमा तिरेको कर कट्टी गर्नको लागि आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    (१) चौथो संशोधनद्वारा मूल नियमावलीमा देहाय बमोजिमको नियम ३९क. थपिएकोः
    ३९क, नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्नेः
    (१) कुनै वस्तु आगजनी, चोरी, दुर्घटना वा टुटफुट हुनगई नोक्सान भएमा त्यस्तो वस्तुको वा उपयोग गर्ने म्याद सकिएको कारणले त्यस्तो वस्तुको मौज्दातबाट लगत कट्टा गर्नु परेमा वा कम मूल्यमा बिक्री गर्नु पर्ने भएमा प्रमाण सहित त्यस्तो अवस्था भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो वस्तुमा तिरेको कर कट्टी गर्नको लागि आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनु पर्नेछ ।
    (२) उपनियम (१) बमोजिम परेको निवेदनमा विभागले तोकिदिएको छानबिन गर्दा नोक्सान भएको देखेमा त्यस्तो नोक्सानी भएको वस्तुमा तिरेको कर कट्टी गर्नको लागि नोक्सानीको विवरण समेत खुलाई विभाग समक्ष सिफारिस गर्नु पर्नेछ ।
    (३) उपनियम (२) बमोजिमको सिफारिस प्राप्त भएमा विभागले त्यस्तो वस्तुमा तिरेको कर वा कम मूल्यमा बिक्री गरेकोमा बिक्रीबाट उठेको कर रकमभन्दा बढी भएको हदसम्मको तिरेको कर कट्टी गर्न दिने गरी निर्णय गर्न सक्नेछ ।

    (२) दशौं संशोधनद्वारा नियम ३९क. को,
    (क) उपनियम (१) को सट्टा देहायको उपनियम (१) राखेको, (१) कुनै वस्तु आगजनी, चोरी, दुर्घटना, टुटफुट, ध्वंसात्मक गतिविधि वा वस्तुको उपयोग गर्ने म्याद सकिएको कारणले हानि नोक्सानी हुन गई त्यस्तो वस्तुको मौज्दातबाट लगत कट्टा गर्नु परेमा वा कम मूल्यमा बिक्री गर्नु पर्ने भएमा प्रमाण सहित त्यस्तो अवस्था भएको मितिले तीस दिनभित्र त्यस्तो वस्तुमा तिरेको कर कट्टी गर्नको लागि आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनु पर्नेछ ।
    (ख) उपनियम (२) मा रहेका "वस्तुमा तिरेको कर" भन्ने शब्दहरू पछि “एक लाख रुपैयाँसम्मको भए सम्बन्धित कार्यालयको निर्णयबाट कर कट्टी गर्न पाउनेछ र सो भन्दा बढी कर" भन्ने शब्दहरू थपिएका ।
    (ग) उपनियम (३) पछि देहायको उपनियम (४) थपिएकोः (४) उपनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमा गरिएको वस्तुको नोक्सानीको हकमा सम्बन्धित कार्यालयले नै क्षतिपूर्ति बापत प्राप्त गरेको रकमको हदसम्म कर कट्टी गर्न दिने निर्णय गर्न सक्नेछ ।

    (३) तेइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “हानि नोक्सानी हुन गई" भन्ने शब्दहरु रहेका । 

  8. तेइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि साविकमा “हानि नोक्सान भएको देखिएमा कर अधिकृतले त्यस्तो हानि नोक्सानी भएको” भन्ने शब्दहरु रहेका । 

  9. तेइसौं संशोधनद्वारा संशोधित ।
    (१) मूल नियममा रहेको व्यवस्था: "(ग) सवारी साधनको लागि हल्का पेट्रोलियम (पेट्रोल) इन्धन" ।
    (२) एक्काइसौं संशोधनद्वारा संशोधित व्यवस्थाः “ (ग) पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल र एल.पि. ग्याँस । 

  10. पाँचौं संशोधनद्वारा झिकिएको । संशोधन हुनुअघिको व्यवस्थाः “ (क) सबै प्रकारका हवाईजहाजमा खरिद मूल्यको ४० प्रतिशत । " 

  11. पाँचौं संशोधनद्वारा झिकिएको । मूल नियमको व्यवस्थाः “ ( ग ) कम्प्युटरमा खरिद मूल्यको ६० प्रतिशत। " 

  12. अठारौं संशोधनद्वारा संशोधित ।
    (१) मूल नियमको व्यवस्थाः ४३. निवेदन दिनु पर्नेः
    (१) करदाताले आफू दर्ता हुँदा मौज्दातमा रहेको बिक्री कर तिरिसकेका वस्तुमा लागेको बिक्री कर साबिक मास्केवारी अनुसार बिक्री कर कट्टी हुन बाँकी रहेको अंश तथा कर लाग्ने कारोबारमा तिरेको कर कट्टी गर्नको लागि अनुसूची-१६ बमोजिमको ढाँचामा कर अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
    (२) उपनियम (१) बमोजिम बिक्रीकर वा कर कट्टीको दाबी गर्दा बिक्रीकर वा कर तिरेको बीजकहरू र अन्य प्रमाण कागजहरू समेत आफू दर्ता भएको पन्ध्र दिनभित्र पेश गर्नु पर्नेछ । यस नियममा उल्लिखित प्रमाण कागजातको अभावमा उपनियम (१) बमोजिम कर कट्टी गर्न दिइने छैन ।
    (३) उपनियम (१) बमोजिमको दाबी कर अधिकृतद्वारा संशोधन वा खारेज भएमा वा त्यस्तो कर पहिला नै कट्टा गरिएको पाइएमा ऐन वा यस नियमावली बमोजिम कर अधिकृतले त्यस्तो करदातालाई कारबाई गर्न सक्नेछ ।
    (४) यस नियम बमोजिमको दाबी कर अधिकृतद्वारा स्वीकृत भएमा सम्बन्धित करदाताले उपनियम (१) बमोजिम दाबी गरेको रकम नियम ३९ को उपनियम (४) बमोजिम कट्टी गर्न पाउनेछ । "

    (२) पाँचौं संशोधनद्वारा नियम ४३ को
    (क) उपनियम (१) को सट्टा देहायको उपनियम (१) राखेको:
    "(१) करदाताले आफू दर्ता हुँदाका बखत मौज्दातमा रहेका वस्तुमा लागेका कर कट्टी गर्नको लागि अनुसूची- १६ बमोजिमको ढाँचामा कर अधिकृत समक्ष निवेदन दिन सक्नेछ।"
    (ख) उपनियम (२) को ठाउँ ठाउँमा रहेका "बिक्रीकर वा” भन्ने शब्दहरू झिकिएका । 

  13. बाइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघिको व्यवस्थाः (१) ऐनको दफा २४ को उपदफा (३) र (४) वा दफा २५ को प्रयोजनको लागि कर फिर्ता दिँदा कर अधिकृतले करदाताबाट फिर्ताका लागि पेश गरिएका प्रमाणहरू तुरुन्त छानबिन गरी दर्ता भएको मितिले तीस दिनभित्र फिर्ता दिनु पर्नेछ । 

  14. दशौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघिको ः (१) मूल नियमावलीको नियम ४५ को उपनियम (२) मा रहेका “यसरी प्राप्त हुन आएको प्रमाणहरू” भन्ने शब्दहरुको सट्टा “ऐनको दफा २४ को उपदफा (३) वा दफा २५ बमोजिम प्राप्त हुन आएको प्रमाणहरू” भन्ने शब्दहरु राखिएको । 

  15. बाइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “दफा २४ को उपदफा (३) वा दफा २५ बमोजिम" भन्ने शब्दहरु रहेका । 

  16. एक्काइसौं संशोधनद्वारा थप । 

  17. बाइसौं संशोधनद्वारा संशोधित ।

    (१) मूल नियमको व्यवस्थाः “ (३) ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क), (ख) र (ग) को प्रयोजनको लागि दर्ता नभएको व्यक्तिले कर फिर्ता माग गर्दा क्रमशः अनुसूची- १७, अनुसूची- १८ र अनुसूची- १९ को ढाँचामा सोझै विभागमा निवेदन दिनु पर्नेछ ।”

    (२) तेह्रौ संशोधनद्वारा कायम भएको व्यवस्था: “ ( ३ ) ऐनको दफा २५ को उपदफा (१) को प्रयोजनको लागि दर्ता नभएको व्यक्तिले कर फिर्ता माग गर्दा खण्ड (क) को प्रयोजनका लागि अनुसूची-१७ र खण्ड (ख) र (ग) को प्रयोजनका लागि अनुसूची १८ को ढाँचामा सोझै विभागमा निवेदन दिन सक्नेछ। " 

  18. आठौं संशोधनद्वारा झिकिएको । संशोधन हुनुअघि "फिर्ता दिनु पर्ने रकम” भन्ने शब्दहरु रहेका । 

  19. दोस्रो संशोधनद्वारा संशोधित । संशोधन हुनुअघिको व्यवस्थाः
    ४७. ब्याजको दरः ऐनको दफा २४ को उपदफा (५) को प्रयोजनको लागि नेपाल सरकारले दिने ब्याजको दर एक वर्षको अवधिमा भुक्तानी हुने सरकारी ऋणपत्रमा दिने ब्याज दर सरह हुनेछ । यस्तो ब्याज रकमको ऐनको दफा २४ को उपदफा (३) र (४) अनुसार फिर्ता माग गरेको मितिले साठी दिनपछि मात्र गणना गरिनेछ ।