Skip to content

परिच्छेद ८ लिलाम बिक्री र फिर्ता

३५. लिलाम बिक्री गर्दा अपनाउनु पर्ने कार्यविधि

(१) विभागले ऐनको दफा १०५ को उपदफा (३) बमोजिम कब्जामा लिएको सम्पत्ति सो सम्पत्तिको प्रकृति अनुसार बिक्री गर्न उपयुक्त स्थान समेतलाई विचार गरी लिलाम बिक्री गर्ने स्थान निश्चित गर्नेछ।

(२) विभागले कब्जामा लिएको सम्पत्ति ऐनको दफा १०५ को उपदफा (४) को अधीनमा रही देहाय बमोजिम लिलाम बिक्री गर्नु पर्नेछः
  (क) सम्भव भएसम्म उपनियम (१) मा उल्लेख भएको स्थानको कम्तीमा एउटा स्थानीय पत्रिकामा लिलाम बिक्रीको बारेमा पन्ध्र दिनको सूचना प्रकाशित गर्ने, तर सड़ी गली नासिई जाने सम्पत्तिको हकमा यो व्यवस्था लागू हुने छैन ।
  (ख) उपनियम (१) मा उल्लेख भएको स्थानको सबैभन्दा नजिकको स्थानीय प्रशासनको प्रतिनिधि र नजिकको अन्य कुनै सरकारी कार्यालयको प्रतिनिधिको रोहबरमा लिलाम हुने सम्पत्तिको बजार मोल निश्चित गर्ने।

(३) लिलाम बढाबढ गर्दा उपनियम (१) मा उल्लेख भएको स्थानको सबैभन्दा नजिकको स्थानीय प्रशासनको प्रतिनिधिको रोहबरमा बढाबढ गर्नु पर्नेछ र लिलाममा भाग लिने व्यक्तिले उपनियम (२) को खण्ड (ख) बमोजिम निश्चित गरिएको बजार मोलमा किन्न प्रस्ताव नगरेसम्म बिक्री गरिने छैन ।

(४) उपनियम (३) बमोजिम लिलाम गर्दा उपनियम (२) को खण्ड (ख) बमोजिम निश्चित गरिएको बजार मोलभन्दा घटी मोल आएको सम्पत्तिको उपनियम (२) को खण्ड (क) बमोजिम सात दिनको सूचना प्रकाशित गरी दोस्रो पटक लिलाम बढाबढ गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम लिलाम बढाबढ गर्दा पनि उपनियम (२) को खण्ड (ख) बमोजिम निश्चित गरिएको बजार मोलभन्दा घटी मोल भएमा उपनियम (२) को खण्ड (क) बमोजिम तीन दिनको सूचना प्रकाशित गरी तेस्रो पटक लिलाम बढाबढ गरी जतिसुकै मोल आए पनि लिलाम बिक्री गर्न सकिनेछ ।

(६) लिलाम बिक्रीमा सम्पत्ति सकार गर्ने व्यक्तिलाई विभागले चलान पुर्जी दिनु पर्नेछ ।

३६. रकम फिर्ता माग गर्ने कार्यविधि

ऐनको दफा ११३ को उपदफा (३) बमोजिम रकम फिर्ता पाउन माग गर्दा विभागले तोकेको ढाँचामा फिर्ता माग गरिएको रकम बढी भएको पुष्ट्याई गर्ने कागजात र विभागले तोकेका अन्य कागजातहरू समेत संलग्न गरी विभागमा निवेदन दिनु पर्नेछ ।