परिच्छेद १९ बैंकिङ्ग तथा बीमा व्यवसाय सम्बन्धी विशेष व्यवस्था
१९.१
बैकिङ्ग तथा बीमा व्यवसायले सर्वसाधारण तथा अन्य व्यवसाय गर्ने व्यक्तिलाई समेत उल्लेखनीय प्रभाव पार्ने हुनाले बैकिग व्यवसाय गर्ने निकायलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा नेपाल राष्ट्र बैंक ऐनले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकले विभिन्न निर्देशन दिने गरेको तथा अनुगमन गर्ने गरेको छ भने बीमा कारोबार गर्ने निकायलाई बीमा ऐनले दिएको अधिकार प्रयोग गरी बीमा समितिले निर्देशन दिने तथा अनुगमन गर्ने कार्य गरिआएको छ । आयकर ऐन, २०३१ मा बीमा व्यवसायको आय निर्धारण सम्बन्धमा छुट्टै व्यवस्था (दफा १६) गरेको थियो भने सो ऐनको आठौं संशोधन पश्चात दफा ४१ (ज) मा थप भएको प्रतिबन्धात्मक वाक्यांशले बैंकिङ्ग व्यवसाय गर्ने निकायको निमित्त छुट्टै थप व्यवस्था गरेको थियो । यसै सन्दर्भमा आयकर ऐन, २०५८ को परिच्छेद ११ मा समेत बैंकिङ्ग तथा बीमा सम्बन्धी व्यवसायको आय निर्धारण सम्बन्धमा विशेष व्यवस्था गरेको छ । यस परिच्छेदको उद्देश्य बैकिङ्ग तथा बीमा सम्बन्धी व्यवसाय गर्ने निकायको करयोग्य आय निर्धारण गर्ने सिलसिलामा ऐनमा रहेको विशेष व्यवस्थाको सन्दर्भमा उपयुक्त उदाहरण सहित विस्तृत व्याख्या गर्नु रहेको छ ।
१९.२ बैंकिङ्गव्यवसायको निमित्त विशेष व्यवस्था
१९.२.१ मुख्य शब्दावली
(क) आयकर ऐन २०५८ को दफा ५९ को प्रतिबन्धात्मक वाक्यांश अनुसार “बैंकिङ्गव्यवसाय” भन्नाले प्रचलित कानुन बमोजिम बैकिङ्ग कारोबार गर्न स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालन गरेको बैकिङ्गकारोबार सम्झनु पर्छ । विद्यमान कानुन बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेर मात्र बैंकिङ्ग कारोबार सञ्चालन गर्न सकिन्छ । ऐनको दफा ५९ को उपदफा (१) बमोजिम बैंकिङ्ग व्यवसायसञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा बैंकिङ्ग व्यवसायलाई भिन्न व्यवसायको रूपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।
(ख) वित्तीय संस्था भन्नाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २ को खण्ड (छ) अनुसार कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनका लागि कर्जा दिने वा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानुन बमोजिम स्थापना भएको वित्तीय संस्था सम्झनु पर्दछ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वित्तीय संस्था भनी तोकिदिएको संस्था समेतलाई जनाउँछ ।
(ग) वित्तीय कारोबार वा बैकिङ्ग व्यवसाय भन्नाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ मा उल्लेख भए अनुसार मुख्य रुपले माग गर्नासाथ वा कुनै निर्धारित समयपछि प्रचलित तरिका अनुसार ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने, कर्जा लगानी गर्ने जस्ता काम कारबाही सम्झनु पर्दछ ।
१९.२.२ जोखिम व्यहोर्ने कोष सम्बन्धी व्यवस्था
ऐनको दफा ५९ को उपदफा (१क) बमोजिम जोखिम व्यहोर्ने कोष सम्बन्धमा निम्नानुसार व्यवस्था रहेको छः
५९(१क) नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैकिङ्ग व्यवसाय सञ्चालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकमतथा गैर बैकिङ्ग सम्पत्तिबापत व्यवस्था गरिएको रकम समेतकोबढीमा पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ । यसरी जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिन्हा हुनेछैन र सो कोषमा रहेको रकम पुँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँड गरिएमा जुन वर्ष बाँडफाँड गरिएको छ सोही वर्षको आयमा समावेश गरिने छ ।
५९(१ख) सहकारी संस्थाले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकमको पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ ।
५९(१ग) उपदफा (१क) र (ख) बमोजिम जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिन्हा हुने छैन र त्यस्तो कोषमा रहेको रकम पुँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँड गरिएमा जुन वर्ष बाँडफाँड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ ।
आयकर ऐन, २०३१ को दफा ४१ (ज) ले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डबमोजिम बैंकले जोखिम व्यहोर्ने कोषमा सारेको रकममध्ये कुलबक्यौता ऋण रकमको ३ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको थियो । आयकर ऐन, २०५८ को दफा ५९(१क) मा भएको व्यवस्था अनुरूप नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैंकिङ्गव्यवसायसञ्चालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको रकममध्ये कुलबक्यौता ऋण रकम तथा गैर बैकिङ्ग सम्पत्ति बापत व्यवस्था गरिएको रकम समेत हुन आउने रकमको बढीमा ५ प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा दाबी गर्न पाउने व्यवस्था गरेको छ । आर्थिक ऐन, २०७१ ले ऐनको दफा ५९(१क) मा गरेको संशोधनको कारण बैंक तथा वित्तीय संस्थाले जोखिम व्यहोर्ने कोष बापत खर्च लेख्न सक्ने ५ प्रतिशतको सीमा गणना गर्ने प्रयोजनको लागि कर्जाको अलावा गैर बैकिङ्ग सम्पत्ति समेत समावेश गर्न सक्छन् । त्यस्तै आर्थिक ऐन, २०७१ ले ऐनको दफा ५९( १ख) थप गरेको कारण सहकारी संस्थाले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकमको ५ प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गर्न पाउने छन् । सहकारी संस्थाकोलागि ५ प्रतिशतको सीमा गणना गर्ने प्रयोजनको लागि गैर बैकिङ्ग सम्पत्ति भने समावेश हुने छैन । यसरी जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखेको रकम मिन्हा हुनेछैन र सो कोषमा रहेको रकम पुँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँड गरिएमा जुन वर्ष बाँडफाँड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ । ऐनको यस व्यवस्था अनुसार बैंकिङ्गव्यवसाय गर्ने निकायले जोखिम व्यहोर्ने कोष खडा गरी खर्च दाबी गर्ने वा वास्तविक डुवेको ऋणलाई अपलेखन गर्ने भन्ने कुनै एक व्यवस्था रोज्नु पर्ने हुन्छ । जोखिम व्यहोर्ने कोष बापत खर्च दाबी गर्न सक्ने व्यवस्था तलको उदाहरणमा खुलाइएको छ ।
उदाहरण १९.२.१
मानौं, न्यू बैंक लि.को आर्थिक वर्ष २०५७/५८ को अन्तमा कुल कर्जा बक्यौता तथा जोखिम व्यहोर्ने कोषमा क्रमशः रु.१,५०,००,०००/- तथा रु.६,३०,०००।- रहेछ । सोमध्ये आयकर प्रयोजनको लागि रु. ४,५०,०००/- मिन्हा भएको रहेछ (आ.व. २०५७।५.८ सम्म कुल कर्जाको बढीमा ३ प्रतिशत मात्र मिन्हा हुने) । आर्थिक वर्ष २०५८।५९ को अन्तमा उक्त बैंकको कुल कर्जा बक्यौता रु.२,५५,००,०००/- रहेछ तथा जोखिम व्यहोर्ने कोषमा रु.१४,००,०००/- रहेछ भने ऐनको दफा ५९(१क) बमोजिम सो बैंकले जोखिम व्यहोर्ने कोष बापत निम्नानुसारको रकम खर्च दाबी गर्न पाउने हुन्छः
(क) आर्थिक वर्ष २०५८।५९ को अन्तमा कुल कर्जा बक्यौता रु.२,५५,००,०००।-
(ख) कुल कर्जाको ५ प्रतिशतले हुने रकम रु.१२,७५,०००/-
(ग) जोखिम व्यहोर्ने कोषमा जम्मा रहेको रकम रु.१४,००,०००/-
(घ) आर्थिक वर्ष २०५७/५८ को अन्तमा जोखिम व्यहोर्ने कोषमा जम्मा रहेको रकम रु.६,३०,०००।- मध्ये कुल बक्यौता कर्जा रु.१,५०,००,०००/- को ३ प्रतिशतले हुने रकम रु.४,५०,०००/- आयकर प्रयोजनको निमित्त छुट भएको ।
(ङ) आर्थिक वर्ष २०५८।५९ मा नाफा नोक्सान हिसाबमा रु. ७,७०,०००।- खर्च लेखिएको (रु.१४,००,००० रु.६,३०,०००) ।
(च) आर्थिक वर्ष २०५८/५९ मा नाफा नोक्सान हिसाबमा रु.७,७०,०००/- खर्च लेखिएको भए तापनि दाबी गर्न सक्ने रकम रु.८,२५,०००/-,
(खण्ड (ख) मा उल्लिखित रकम रु.१२,७५,०००/- बाट खण्ड (घ) मा उल्लिखित रकम रु.४,५०,०००/- घटाउँदा हुन आउने रकम) ।
उदाहरण १९.२.२
मानौं, माथि उदाहरण १९.२.१ मा उल्लेख भएको न्यू बैंक लि. को आर्थिक वर्ष २०५९।६० को अन्तमा कुल कर्जा बक्यौता तथा जोखिम व्यहोर्ने कोषमा क्रमशः रु.२,४०,००,०००/- तथा रु.१४,५०,०००/- रहेछ । आर्थिक वर्ष २०५९/६० मा | ऐनको दफा ५९(१क) बमोजिम सो बैंकको जोखिम व्यहोर्ने कोषको अवस्था निम्नानुसार हुनेछ:
(क) आर्थिक वर्ष २०५९/६० को अन्तमा कुल कर्जा बक्यौता रु.२,४०,००,०००/-
(ख) कुल कर्जाको ५ प्रतिशतले हुने रकम रु.१२,००,०००/-
(ग) जोखिम व्यहोर्ने कोषमा जम्मा रहेको रकम रु.१४,५०,०००/-
(घ) आर्थिक वर्ष २०५८।५९ को अन्तमा जोखिम व्यहोर्ने कोषमा जम्मा रहेको रकम रु.१४,००,०००/- मध्ये कुल बक्यौता कर्जा रु.२,५५,००,०००/- को ५ प्रतिशतले हुने रकम रु.१२,७५,०००/- आयकर प्रयोजनको निमित्त छुट भएको ।
(ङ) आर्थिक वर्ष २०५९/६० मा नाफा नोक्सान हिसाबमा रु.५०,०००/- खर्च लेखिएको (रु. १४,५०,००० - रु.१४,००,०००) |
(च) आर्थिक वर्ष २०५९/६० मा नाफा नोक्सान हिसाबमा रु.५०,०००/- खर्च लेखिएको भए तापनि दफा ५९ (१क) बमोजिम दाबी गर्न सक्ने कुल रकम रु.१२,००,०००/- मात्र भएको र विगत वर्षमा रु.१२,७५,०००/- खर्च दाबी गरीसकेको हुँदा सीमाभन्दा बढी दाबी भएको रु ७५,०००/- आ.व. २०५९/६० मा आयकर प्रयोजनको निमित्त आयमा समावेश गर्नुपर्दछ ।
उदाहरण १९.२.३
मानौं, न्यू बैंक लि. को आर्थिक वर्ष २०७०/७१ को अन्तमा कुल कर्जा बक्यौता, गैर बैंकिङ्ग सम्पत्ति तथा जोखिम व्यहोर्ने कोषमा क्रमशः रु.२,३०,००,०००/-, रु.२०,००,०००/- तथा रु.१४,००,०००।- रहेछ । त्यस्तै, आर्थिक वर्ष २०७१।७२ को अन्तमा कुल कर्जा बक्यौता, गैर बैंकिङ्ग सम्पत्ति तथा जोखिम व्यहोर्ने कोषमा क्रमशः रु.२,४०,००,०००/-, रु.२०,००,०००/- तथा रु.१४,५०,०००/- रहेछ । आर्थिक वर्ष २०७१।७२ मा ऐनको दफा ५९(१क) बमोजिम सो बैंकको जोखिम व्यहोर्ने कोषको अवस्था निम्नानुसार हुनेछ:
(क) आर्थिक वर्ष २०७१।७२ को अन्तमा कुल कर्जा बक्यौता रु. २,४०,००,०००/-
(ख) आर्थिक वर्ष २०७१।७२ को अन्तमा गैर बैंकिङ्ग सम्पत्ति रु.२०,००,०००/-
(ग) कुल कर्जा तथा गैर बैंकिङ्ग सम्पत्तिको ५ प्रतिशतले हुने रकम रु.१३,००,०००/-
(घ) जोखिम व्यहोर्ने कोषमा जम्मा रहेको रकम रु.१४,५०,०००/-
(च) आर्थिक वर्ष २०७१।७२ मा नाफा नोक्सान हिसाबमा रु.५०,०००/- खर्च लेखिएको (रु.१४,५०,००० रु.१४,००,०००) |
(छ) आर्थिक वर्ष २०७१/७२ मा नाफा नोक्सान हिसाबमा रु.५०,०००/- मात्र खर्च लेखिएको भए तापनि दफा ५९ (१क) बमोजिम दाबी गर्न सक्ने कुल रकम रु.१३,००,०००/- भएको र विगत वर्षमा रु.११,५०,०००/- खर्च दाबी गरिसकेको हुँदा सीमाभित्र हुन आउने थप रकम रु.१,५०,०००/- आ.व. २०७१/७२ मा आयकर प्रयोजनको निमित्त कट्टी दाबी गर्न सकिन्छ ।
१९.२.३ कर्जा अपलेखन
ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) मा बैंकिङ्गव्यवसाय गर्ने व्यक्तिले कर्जा अपलेखन सन्दर्भमा निम्नानुसारको व्यवस्था गरेको छ:
२५(२) कुनै व्यक्तिले देहायका अवस्थामा मात्रकुनै रकम प्राप्त गर्ने अधिकार त्याग गर्न वा सो व्यक्तिको ऋण दाबीलाई डुवेको ऋणको रूपमा अपलेखन गर्न पाउँनेछ:
(क) कुनै वित्तीय संस्था वा बैंकको ऋण दाबीका हकमा सो ऋण दाबी तोकिएको मापदण्ड अनुसार डुवेको ऋणमा परिणत भएमा, र
त्यस्तै, ऐनको दफा ४० को उपदफा (३) खण्ड (ग) को उपखण्ड (१) बमोजिम देहायका अवस्थामा ऋण दाबी भएको सम्पत्ति निःसर्ग भएको मानिने व्यवस्था रहेको छ:
"बैंक वा वित्तीय संस्थाको ऋण दाबीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा”
आयकर नियमावलीको नियम ९ मा डुबेको वा खराब ऋणमा परिणत हुने मापदण्ड निम्नानुसार तोकेको छ:
नियम ९ ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) र दफा ४० को उपदफा (३) को खण्ड (ग) को उपखण्ड (१) को प्रयोजनको लागि बैंक वा वित्तीय संस्थाको ऋण डुबेको वा खराब ऋणमा परिणत हुने सम्बन्धमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड अनुसार हुनेछ ।
तसर्थ ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) तथा आयकर नियमावली, २०५९ को नियम ९ बमोजिम कुनै वित्तीय संस्था वा बैंकको ऋण दाबीका हकमा सो ऋण दाबी नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डका अनुसार डुबेको ऋणमा परिणत भएमा अपलेखन गर्न पाउने हुन्छ ।
आयकर ऐन, २०५८ को दफा ५९(१क) मा भएको व्यवस्था अनुरुप नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैंकिङ्गव्यवसाय सञ्चालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको रकममध्ये कुलबक्यौता ऋण रकमको बढीमा ५ प्रतिशतको रकमलाई खर्चको रूपमा दाबी गर्न पाउने व्यवस्था गरेको छ । यसरी जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखेको रकम मिन्हा हुनेछैन र सो कोषमा रहेको रकम पुँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँड गरिएमा जुन वर्ष बाँडफाँड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ ।
बैंक तथा वित्तिय संस्थाले उल्लिखित मापदण्डको अधीनमा रही ऋण दाबी बापत अपलेखन गर्न सक्दछन् । तर ऐनको दफा ५९ को उपदफा (१क) बमोजिम जोखिम व्यहोर्ने कोष बापत खर्च दाबी गर्ने बैंक तथा वित्तीय संस्थाले भने यस दफा अन्तर्गत ऋण दाबी अपलेखन बापत खर्च दाबी गर्न सक्ने छैनन् । तर, यस्तो कर्जा अपलेखन गर्दा अपलेखन गरेको कर्जा रकममा नघट्ने गरी जोखिम व्यहोर्ने कोषमा रहेको रकम आयमा समावेश गरेको खण्डमा भने ऋण दाबीबापत अपलेखन गरेको मानिने छैन । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याइएको छ ।
उदाहरण १९.२.४
मानौं, न्यू बैंक लि. को आ.व. २०६५/६६ को अन्तमा कुल कर्जा | बक्यौता एवम् नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अपलेखन गरिनुपर्ने कर्जाको अवस्था निम्नानुसार रहेछ : (१) अपलेखन गर्नुभन्दा अगाडिको कुल कर्जा रु. १,००,००,००,०००/- (२) अपलेखन गरिने कर्जा रु. ६,००,००,०००/- (३) अपलेखन गरिसकेपछि हुने कर्जाको मौज्दात रु. ९४,००,००,०००/-
उक्त बैंकको कर्जा अपलेखन गर्दा नेपाल राष्ट्र बैंकले तोकिदिएको मापदण्डभित्र रही अपलेखन गरेको रहेछ र ऐनको दफा ५९(१) अन्तर्गत जोखिम व्यहोर्ने कोषको बापत खर्च दाबी गरेको रहेनछ । यस अवस्थामा उक्त बैंकले अपलेखन गरेको कर्जा रु. ६ करोड यस दफा अन्तर्गत खर्चको रूपमा कट्टी दाबी गर्न पाउँनेछ ।
उदाहरण १९.२.५
मानौं, न्यू बैंक लि. ले ऐनको दफा ५९ (१क) बमोजिम जोखिम व्यहोर्ने कोष बापत खर्च दाबी गर्ने गरेको । सो बैंकको आ.व. २०६५/६६ को अन्तमा कुल कर्जा बक्यौता, जोखिम व्यहोर्ने कोष एवम् अपलेखन गरेको कर्जाको अवस्था निम्नानुसार रहेछ :
- अपलेखन गर्नुभन्दा अगाडिको कुल कर्जा रु. १,००,००,००,०००/-
- अपलेखन गरिएको कर्जा रु. १,००,००,०००/-
- अपलेखन गरिसकेपछिको कर्जाको मौज्दात रु. ९९,००,००,०००/-
- नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम जोखिम व्यहोर्ने कोषमा बाँकी व्यवस्था रु. ४,१०,००,०००/-
- आ.व. २०६४/६५ सम्म कायम व्यवस्था रु. ३,७०,००,०००/-
यस बैंकले ऐनको दफा ५९(१क) को व्यवस्था अनुसार आयकर प्रयोजनको लागि जोखिम व्यहोर्ने कोषमा राख्ने सुविधा लिएको छ । उक्त व्यवस्था अपनाउने व्यक्तिले ऐनको दफा २५(२) को व्यवस्था अनुसार सिधै नाफा नोक्सान खातामा अपलेखन बापत खर्च लेख्न पाउँदैन । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अनिवार्य रूपमा अपलेखन गर्नुपर्ने र श्रेस्ताबाट हटाउनु पर्ने ऋणको अपलेखन गर्दा उक्त ऋण बापतको रकमलाई जोखिम व्यहोर्ने कोषमा आम्दानी बाँधी खर्च लेख्नु पर्दछ । यसरी खर्च लेख्दा अपलेखन बापत खर्च लेखिएको रकम र जोखिम व्यहोर्ने कोषमा रहेको रकमको योग अपलेखन गर्नुपूर्वको असुल हुन बाँकी ऋण रकमको ५ प्रतिशत भन्दा बढी भएमा बढी भएजति रकम आयकर प्रयोजनको लागि खर्च दाबी गर्न पाइदैन । यस उदाहरणमा अपलेखन गर्नुभन्दा अगाडिको कुल कर्जा रु.१,००,००,००,०००/- र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अनिवार्य रूपमा अपलेखन गुर्नपर्ने कर्जा रु.१,००,००,०००/- छ तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम जोखिम व्यहोर्ने कोषमा बाँकी व्यवस्था रु. ४,१०,००,०००/- रहेको छ । बैंकले कर्जा अपलेखन बापतको रकम रु.१,००,००,०००/- र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम जोखिम व्यहोर्ने कोषमा रहेको व्यवस्था रु.४,१०,००,०००/- हुँदा कुलरु. ५,१०,००,०००/- हुन आउँछ । बैंकले ऐनको दफा ५९ (१क) को व्यवस्था अवलम्बन गरेको हुँदा अपलेखन गर्नुभन्दा अगाडिको कुल कर्जा रु.१,००,००,००,०००/- भएको हुँदा सो बापत रु.५,००,००,०००/- सम्म खर्च दाबी गर्न पाउँछ । बैंकले अपलेखन बापत र जोखिम व्यहोर्ने कोषमा गरेको व्यवस्थाको कुल रकम रु.५,१०,००,०००/- भएको हुँदा रु.१०,००,०००/- खर्चको रूपमा दाबी गर्न पाउँदैन ।
१९.२.४ ब्याज आम्दानीको गणना
ऐनको दफा २४ को उपदफा (१) बमोजिम एकुयल आधारको लेखाङ्कन गर्नुपर्ने र सो सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :
२४(१) कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाइन एकुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मान निजको आयको गणनामा समावेश गर्नु पर्नेछ ।
तर, ऐनको दफा २४ को उपदफा (३) मा बैंकिङ्गव्यवसाय गर्ने व्यक्तिको लागि कर्जा तथा सापटीको ब्याज आम्दानी निम्नानुसार गर्न सकिने व्यवस्था गरेको छ:
२४ (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैंकिङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंकिङ्ग सम्बन्धी प्रचलित कानुनको अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ ।
तर सहकारी संस्थाले ब्याज आयको लेखाङ्कन नगद आधारमा समेत गर्न सक्नेछ नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम बैंकिङ्गव्यवसाय सञ्चालन गर्ने व्यक्तिले कर्जामा Accrual Basis मा ब्याज आम्दानी जनाउँन सक्दैनन् । बैंकिङ्ग व्यवसाय सञ्चालन गर्ने व्यक्तिले आफ्नो बक्यौता ऋणमा पाकेको व्याजलाई नगदमानै असुल गर्न नसकेको खण्डमा सो व्याज रकमलाई मुल्तबी हिसाबमा ( Interest Suspense ) राख्नुपर्ने निर्देशन नेपाल राष्ट्र बैंकले जारी गरेको छ र यसरी मुल्तबीमा रहेको ब्याज रकम जुन समयमा नगद असुल हुन्छ सोही समयमा ब्याज आम्दानी जनाउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम बैंकिङ्गसम्बन्धी प्रचलित कानुनको अधीनमा रही बैंकिङ्गव्यवसाय गर्ने निकायले गरेको कर्जा लगानीको ब्याज नगद प्राप्तिको आधारमा मात्र आय गणना गर्न सक्नेछ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याइएको छ ।
उदाहरण १९.२.६
मानौं, न्यू बैंक लि. को आर्थिक वर्ष २०६५/६६ मा कुल कर्जा बक्यौताको Accrual Basis मा व्याज गणना गर्दा रु.९,००,००,०००/- ब्याज आम्दानी हुने रहेछ । सोमध्ये रु.८,५०,००,०००/- नगदमै असुल भएको रहेछ र बाँकी रकम प्राप्त नभएको रहेछ भने नगदमा प्राप्त ब्याज रु.८,५०,००,०००/- मात्र आर्थिक वर्ष २०६५/६६ मा आयमा गणना गरिनुपर्छ र बाँकी रकम सो वर्ष व्याज मुल्तबी (Interest Suspense ) हिसाबमा राख्नुपर्दछ । यसरी मुल्तबी रहेको व्याज जुन समयमा नगद प्राप्त हुन्छ सोही समयमा आयमा समावेश गर्नुपर्दछ । तर, ब्याज मुल्तबीमा रहेको रकम र उठ्न बाँकी ब्याज रकम भन्दा बढी हुनु हुँदैन ।
ब्याज मुल्तबी हिसाबको लेखाइनसम्बन्धी व्यवस्था यसै निर्देशिकाको परिच्छेद ८ मा व्याख्या गरिएको छ ।
१९.२.५ विदेशी मुद्रा कारोबार आम्दानी
ऐनको दफा २८ को उपदफा (१) तथा (२) बमोजिम कुनै व्यक्तिको आय तथा सो आय निर्धारण गर्दा समावेश गरिने र कट्टी गरिने रकम नेपाली रुपैयाँबाहेक अन्य रुपैयाँमा भएको खण्डमा निम्नानुसार हुने व्यवस्था रहेको छ :
२८(१) यस ऐनको प्रयोजनको लागि कुनै व्यक्तिको आय तथा सो आय निर्धारण गर्दा समावेश गरिने र कट्टी गरिने रकमहरु नेपाली रुपैयाँबाहेक अन्य मुद्रामा अंकित गरिएको भए त्यस्तो रकमलाई नेपालीरुपैयाँमा परिवर्तन गर्नु पर्नेछ ।
२८(२) कुनै व्यक्तिको कुनै आय वर्षमा आय गणना गर्दा समावेश गरिने वा कट्टी गरिने रकम नेपाली रुपैयाँबाहेक अन्य मुद्रामा अंकित गरिएकोमा सो रकम प्राप्त गरिएको, खर्च गरिएको, दिएको, बुझाएको वा कर प्रयोजनको लागि अन्य कुनै किसिमले हिसाब गर्दाका बखत प्रचलित विनिमय दर अनुसार सो मुद्रालाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ ।
बैंकिङ्ग व्यवसाय सञ्चालन गर्ने व्यक्तिले विदेशी मुद्रामा समेत सम्पत्ति दायित्व कायम गर्ने हुँदा विनिमय दरमा परिवर्तन भएको आधारमा सम्पत्ति दायित्व समेतलाई सोही अनुसार रूपान्तरण गर्नुपर्दछ । नेपाल लेखामान ११ (NAS 11: Effects of Change in Foreign Currency Rate) मा समेत विदेशी मुद्रामा हुने कारोबारलाई कारोबारको समयमा प्रचलित विनिमय दरले रुपान्तरण गरी नेपाली मुद्रा (Functional Currency ) मा लेखाङ्कन गर्नुपर्ने व्यवस्था गरेको छ । विदेशी मुद्रालाई प्रचलित दर अनुसार नेपाली रुपैयाँमा परिवर्तन गर्नुपर्दछ । तर, विभागले लिखित सूचना जारी गरी अनुमति दिएमा विभागले तोकेको औसत विनिमय दर अनुसार परिवर्तन गर्न सकिनेछ ।
१९.३
१९.३.१ सामान्य बीमा व्यवसायको निमित्त विशेष व्यवस्था मुख्य शब्दावली
(क) ऐनको दफा २ को खण्ड (कफ) बमोजिम “ सामान्य बीमा” भन्नाले लगानी बीमा बाहेकका बीमा सम्झनु पर्छ । सामान्यतयाः सामान्य बीमा भन्नाले छोटो अवधिको लागि गरिने बीमा बुझिन्छ । जस्तै, Transit Insurance, Accidental Insurance, Medical Insurance, Fire Insurance, Motor Insurance, Engineering Insurance, आदि । यस्ता बीमा पोलिसी समान्यतयाः एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र बहाल हुनेछ ।
(ख) ऐनको दफा ६० मा उल्लिखित स्पष्टीकरण बमोजिम “दर्ता भएको सामान्य बीमा व्यवसाय” भन्नाले प्रचलित कानुन बमोजिम नेपालमा दर्ता भई सामान्य बीमा कारोबार गर्ने बीमा व्यवसाय सम्झनु पर्छ । नेपालमा बीमा व्यवसाय सञ्चालन गर्नको लागि बीमा ऐन अन्तर्गत रही बीमा समितिबाट स्वीकृति लिनुपर्ने हुन्छ ।
(ग) "बीमक" (Insurer)” भन्नाले प्रचलित कानुन बमोजिम बीमा वा पुनर्बीमा व्यवसायसञ्चालन गर्न स्वीकृति लिएका निकायलाई बुझाउँछ । प्रचलित बीमा सम्बन्धित कानुन (बीमा ऐन, २०४९) बमोजिम बीमा व्यवसायसञ्चालन गर्न संगठित संस्थाले मात्र आवेदन दिन सक्ने भएको हुँदा प्राकृतिक व्यक्ति बीमक हुन सक्ने छैनन् ।
(घ) “बीमित(Insured) " भन्नाले बीमा गराउने प्राकृतिक व्यक्ति वा संस्थालाई बुझाउँछ ।
१९.३.२ सामान्य बीमा व्यवसायको आय
ऐनको दफा ६० को उपदफा (१) ले लगानी बीमा व्यवसायको आय गणना गर्ने सन्दर्भमा निम्नानुसारको विशेष व्यवस्था गरेकोछ :- ६०(१) सामान्य बीमा व्यवसायसञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानी गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसाय भन्दा बीमा व्यवसायलाई भिन्न व्यवसायको रूपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।
१९.३.३ सामान्य बीमाको आय गणना गर्ने तरिका
ऐनको दफा ६० को उपदफा (२) मा सामान्य बीमा व्यवसाय गर्ने व्यक्तिको कुनै आय वर्षको आय गणना गर्ने सन्दर्भमा निम्नानुसारको व्यवस्था रहेको छ:
६०(२) सामान्य बीमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आयको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:
(क) आयतर्फ यस ऐन बमोजिम समावेश गर्नुपर्ने कुनै अन्य रकमहरुका अतिरिक्त देहायका रकमहरु पनि समावेश गर्नु पर्नेछ:
(१) सो व्यक्तिले सो वर्षमा सो व्यवसाय सञ्चालन गरी प्राप्त गरेको पुनर्बीमाको प्रिमियम लगायत बीमाको प्रिमियम बापतको रकम, र
(२) पुनर्बीमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करारबापत खण्ड (ख) को उपखण्ड (१) बमोजिमका भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरु ।
(ख) खर्चतर्फ यस ऐन बमोजिम कट्टा गर्न पाउने रकमका अतिरिक्त देहायका रकमहरु पनि कट्टा गर्न पाउनेछ :-
(१) सो व्यवसाय सञ्चालन गर्दा सो व्यक्तिबाट बीमकको हैसियतमा सो वर्षमा गरिएको भुक्तानीहरु, र
(२) सो वर्ष वा विगत वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा खण्ड (क) को उपखण्ड (१) बमोजिम समावेश गरिएका सो वर्षमा बीमितलाई फिर्ता दिइएका प्रिमियमहरु ।
(३) जोखिम व्यहोर्ने कोषमा राखेको देहाय बमोजिमको रकमको योग
(क) कुनै वर्षको नाफा नोक्सान हिसाबमा देखाइएको खुद बीमा शुल्कको पचास प्रतिशतसम्मको रकम, र
(ख) कुनै वर्षको अन्त्यमा दाबी भुक्तानी बापत बाँकी रकमको एक सय पन्ध्र प्रतिशतसम्मको रकम ।
तर, यस उपखण्ड बमोजिम कुनै वर्ष खर्चकट्टी लिएको रकम आगामी आय वर्षमा बीमा व्यवसायको आय गणना गर्दा आयमा समावेश गर्नु पर्नेछ ।
सामान्य बीमा व्यवसाय गर्ने व्यक्तिको आयमा लगानीमा प्राप्त ब्याज आम्दानीको समेत महत्वपूर्ण अंश रहेको हुन्छ । यस्ता आयबाहेक बीमा व्यवसाय गर्नेको व्यक्तिको आयमा तल उल्लिखित आय विशिष्ट रहेका हुन्छन् :
- बीमा दायित्व स्वीकारे बापत सम्झौताबमोजिम बीमितबाट प्राप्त हुने प्रिमियम (Premium Received),
- पुनर्बीमा स्वीकार गरे (Reinsurance accepted) बापत प्राप्त प्रिमियम,
- पुनर्बीमा गराए (Reinsurance ceded) बापत प्राप्त हुने कमिशन, तथा
- सो निकायबाट बीमकको हैसियतबाट भुक्तान भएका रकमको बीमा सम्झौताबमोजिम फिर्ता प्राप्त हुने रकम (Recovery) |
त्यसै गरी सामान्य बीमा व्यवसाय गर्ने व्यक्तिले अन्य सामान्य कट्टीको अतिरिक्त तल उल्लिखित विशिष्ट शीर्षक अन्तर्गत थप कट्टी दाबी गर्न सक्दछन्
- बीमकको हैसियतले बीमा सम्झौताबमोजिम भुक्तान गर्नुपर्ने Insurance / Reinsurance claim,
- बीमा सम्झौताबमोजिम बीमितलाई फिर्ता गरिएका प्रिमियम जस्ता रकम (Premium Refund),
- पुनर्बीमा स्वीकार गरे (Reinsurance accepted) बापत दिइने कमिसन,
- अभिकर्ता कमिसन (Agent Commission),
- बीमा जगेडा हिसाबः सो वर्ष प्राप्त गरेको खुद बीमा प्रिमियम (Insurance premium collected + Premium on reinsurance accepted - Premium on reinsurance ceded) को ५० प्रतिशतले हुन आउने रकम असमाप्त जोखिम जगेडा (Unexpired Risk Reserve) बापत जोखिम व्यहोर्ने कोषमा राखेको रकम ।
सामान्य बीमाको अवधि सामान्यतयाः एक वर्षको हुन्छ र बीमा कम्पनीले वर्षभरि बीमा आलेख (Insurance Policy) जारी गर्ने हुँदा कम्पनीको सम्भावित दायित्व आर्थिक वर्षसँगै समाप्त भई सकेको हुँदैन । अतः बीमा ऐन बमोजिम सो आर्थिक वर्षमा संकलन गरेको खुद बीमा प्रिमियम पुनर्बीमा कट्टा गरी खुद रकममध्ये ५० प्रतिशत रकम असमाप्त जोखिम जगेडामा सार्नुपर्ने प्रावधान रहेको छ । तर, यसरी असमाप्त जोखिम जगेडामा सारेको रकम अर्को वर्ष आम्दानीमा सार्नुपर्ने व्यवस्था रहेको छ ।
दाबी बापत अनुमानित दायित्वः सो आय वर्षमा दाबी प्राप्त भइसकेको तर वर्षान्तसम्ममा निक्यौल हुन बाँकी दाबी रकमको ११५ प्रतिशतले हुन आउने रकम दाबी बापत अनुमानित दायित्व (Reserve for unsettled claim) सम्बन्धी जोखिम व्यहोर्ने कोषमा सारेका रकम समेत खर्च कट्टी दाबी गर्न सक्नेछन् ।
प्रचलित बीमा सम्बन्धी कानुन अनुसार सामान्य बीमा कम्पनीले वर्षान्तसम्ममा दाबी प्राप्त भएको तर स्वीकार गरी नसकेको क्षतिको सर्भे कार्य बाँकी वा अन्य आवश्यक दाबी सम्बन्धी कागजात पेश हुन बाँकी रहेको हकमा त्यस्तो दाबी प्राप्त रकममा १५ प्रतिशत थप गरी रकम जगेडामा राख्नुपर्ने हुन्छ । यसको मुख्य आशय सम्बन्धित आर्थिक वर्षमा Intimate भएको दाबीको १५ प्रतिशतका दरले बीमा दाबी योग्य घटना भइसकेको तर Intimate हुन बाँकी दाबीका लागि समेत जगेडा छुट्याउनु रहेको छ । तर, यसरी यस वर्ष खर्च (जगेडाको लागि दाबी गरेको रकम अर्को वर्ष आम्दानीमा गणना गर्नुपर्ने व्यवस्था रहेको छ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याइएको छ ।
उदाहरण १९.३.१
मानौ, नेपाल बीमा कम्पनी लि.को आर्थिक वर्ष २०६४।६५ तथा | आ.व. २०६५/६६ मा बीमा हिसाब सम्बन्धी तथ्याङ्क निम्नानुसार रहेछन् ।
| १ | आ.व. २०६५/६६ मा खुद बीमा प्रिमियम रु. | ४,००,०००/- |
|---|---|---|
| २ | आ.व. २०६५/६६ मा पुनर्बीमा गराए प्राप्त (Commission on insurance ceded) | २०,०००/- |
| ३ | आ.व. २०६४/६५ को अन्तमा रहेको असमाप्त बीमा कोष रु. | १,५०,०००/- |
| ४ | आ.व. २०६४।६५ को अन्तमा रहेको दाबी बापत अनुमानित दायित्व रु. | २३,०००/- |
| ५ | आ.व. २०६५/६६मा भुक्तानी गरिएको पुनर्बीमा कमिशन (Commission on reinsurance accepted) | १०,०००/- |
| ६ | आ.व. २०६५/६६ मा भुक्तान गरिएको बीमा अभिकर्ता कमिशन रु. | १५,०००/- |
| ७ | व्यवस्थापन खर्च रु. | १,००,०००/- |
| ८ | आ.व. २०६५/६६ को बीमा दाबी भुक्तानी रु. | १,००,०००/- |
| ९ | आ.व. २०६५/६६ मा बीमा दाबी प्राप्त तर निर्क्यौल भइनसकेका दाबी रु. | ३०,०००।- |
| १० | लगानीमा प्राप्त ब्याज रु. | ५०,०००/- |
| ११ | दाबीयोग्य ह्रास खर्च रु. | ६०,०००/- |
| १२ | विविध आम्दानी रु. | २५,०००/- |
उपर्युक्त तथ्याङ्कको आधारमा नेपाल बीमा कम्पनी लि. को आयको गणना निम्नानुसार गर्नुपर्दछ:
आयमा समावेश हुने रकम
| १ | गत वर्षको असमाप्त जोखिम जगेडा रु. | १,५०,०००/- |
|---|---|---|
| २ | गत वर्षको दाबी बापत अनुमानित दायित्व रु | २३,०००/- |
| ३ | खुद बीमा प्रिमियम रु. | ४,००,०००/- |
| ४ | पुनर्बीमा कमिशन आम्दानी रु. | २०,०००/- |
| ५ | लगानीमा प्राप्त ब्याज रु. | ५०,०००/- |
| ६ | विविध आम्दानी रु. | २५,०००/- |
| ७ | जम्मा (क): रु. | ६,६८,०००/- |
न्यूनः कट्टी दाबी रकम
| १ | बीमा दाबी भुक्तानी (दफा ६०) रु. | १,००,०००/- |
|---|---|---|
| २ | अभिकर्ता कमिशन (दफा १३) रु. | १५,०००/- |
| ३ | पुनर्बीमा कमिशन भुक्तानी (दफा १३) रु. | १०,०००/- |
| ४ | व्यवस्थापन खर्च (दफा १३, १४, १६) रु. | १००,०००/- |
| ५ | दाबीयोग्य ह्रास खर्च (दफा १९) रु. | ६०,०००/- |
| ६ | दाबी बापत अनुमानित दायित्व (३०,०००×११५%) रु. | ३४,५००/- |
| ७ | यस वर्षको असमाप्त जोखिम जगेडा (खुद बीमा प्रिमियम रु.४,००,०००/- को ५०% ले) हुने रकम (दफा ६०) रु. | २,००,०००/- |
| - | जम्मा (ख) रु. | ५१९,५००/- |
| - | आय(क - ख) रु. | १,४८,५००/- |
माथि उल्लिखित कट्टी दाबी गरिएको जोखिम व्यहोर्ने कोषमा सारेको रकम, अर्थात दाबी बापत अनुमानित दायित्व रु.३४,५००।- तथा असमाप्त जोखिम जगेडा रु.२,००,०००।-आ.व.२०६६/६७ को आयमा समावेश गर्नुपर्दछ ।
१९.४ लगानी बीमा व्यवसायको निमित्त विशेष व्यवस्था
१९.४.१ लगानी बीमा व्यवसायको आय
ऐनको दफा ६१ को उपदफा (१) ले लगानी बीमा व्यवसायको आय गणना गर्ने सन्दर्भमा निम्नानुसारको विशेष व्यवस्था गरेको छ:
६१(१) लगानी बीमा व्यवसायसञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा लगानी बीमा व्यवसायलाई भिन्न व्यवसायको रूपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।
ऐनको दफा २ को खण्ड (कग) बमोजिम "लगानी बीमा” भन्नाले देहायका कुनै बीमा सम्झनु पर्छ:
(१) बीमित व्यक्ति वा बीमित व्यक्तिको सम्बद्ध व्यक्तिको मृत्युसम्बन्धी घटनाका हकमा गरिएको बीमा,
(२) बीमित व्यक्ति वा निजको सम्बद्ध व्यक्तिको व्यक्तिगत चोटपटक वा कुनै खास तवरमा असक्षम हुने घटना सम्बन्धी बीमा, तर बीमाको बीमा सम्झौता कम्तीमा पाँच वर्षसम्म बहाल रहने वा बहालीको समय सीमा नभएको र करारमा उल्लिखित विशेष परिस्थितिहरुमा बाहेक पाँच वर्षको अवधि भुक्तान हुनु अगावै बीमकबाट अन्त्य गर्न नसकिने गरी गरिएको हुनु पर्नेछ ।
(३) कुनै रकम वा श्रृखलाबद्ध रकमहरु भविष्यमा बीमितलाई भुक्तानी हुने गरी गरिएको बीमा, (४) उपखण्ड (१), (२) वा (३) अन्तर्गतका बीमाको पुनर्बीमा, र
(५) उपखण्ड (४) मा उल्लिखित पुनर्बीमाको पुनर्बीमा ।
लगानी बीमाको उदाहरणको रूपमा Life Insurance, Endowment Policy, Superannuation आदि जस्ता कारोबारलाई लिन सकिन्छ । जीवन सम्बन्धी जोखिमसँग सम्बन्धित बीमा भए पनि Accidental Insurance, Medical Insurance को सम्झौता अवधि पाँच वर्षभन्दा कम अवधिमा समाप्त हुने भए त्यस्तो कारोबार भने लगानी बीमा अन्तर्गत पर्दैनन् । तर यस्तो बीमाको सम्झौता अवधि पाँच वर्षभन्दा बढी अवधिको भए लगानी बीमाको परिभाषा भित्र पर्दछन् ।
१९.४.२ लगानी बीमाको आय गणना गर्ने तरिका
ऐनको दफा ६१ को उपदफा (२) मा लगानी बीमा व्यवसाय गर्ने व्यक्तिको कुनै आय वर्षको आय गणना गर्ने सन्दर्भमा निम्नानुसारको व्यवस्था रहेको छ:
६१(२) लगानी बीमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आयको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:
(क) देहायका रकमहरु बाहेक यस ऐन बमोजिम समावेश गर्न सकिने अन्य रकमहरु समावेश गर्ने:
(१) सो व्यक्तिले सो व्यवसायसञ्चालन गर्दा प्रिमियम लगायत बीमा प्रिमियम बापतको रूपमा सो आय वर्षमा प्राप्त गरेको पुनर्बीमाको रकम, र
(२) पुनर्बीमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापतको खण्ड ( ख) को उपखण्ड (१) बमोजिमको भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरु
(ख) देहायका रकमहरु बाहेक यस ऐन बमोजिम कट्टी गर्न सकिने अन्य रकमहरु कट्टी गर्ने:
(१) कुनै व्यक्तिले बीमकको हैसियतमा उक्त व्यवसायसञ्चालन गर्दा गरेको भुक्तानीहरु, र
(२) बीमितलाई फिर्ता भएको खण्ड (क) को उपखण्ड (१) मा उल्लिखित प्रिमियम |
६१(३) उपदफा (२) को खण्ड (क) को उपखण्ड (१) र (२) तथा खण्ड (ख) को उपखण्ड ( १) र (२) मा उल्लिखित रकमहरु सो व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानी र खर्च मानिने छैन ।
६१(४) कुनै व्यक्तिको लगानी बीमा व्यवसायको लगानी बीमा सम्झौता सो व्यक्तिको सम्पत्ति तथा दायित्व मानिने छैन ।
सामान्य बीमा व्यवसायमा प्राप्त भएका प्रिमियमहरु सो व्यवसायको सन्दर्भमा आय मानिने भए तापनि लगानी बीमाको सन्दर्भमा भने बीमा आलेख (Insurance policy) बापत बीमितले जम्मा गरिने प्रिमियमलाई भने आयकर प्रयोजनको निमित्त सो निकायको आय मानिदैन । दफा ६१(३) बमोजिम यसरी प्राप्त हुने प्रिमियम रकमलाई सो निकायले आफ्नो दायित्व वा सम्पत्ति बापतको आम्दानी (Incomings) पनि मानिदैन । त्यसकारण लगानी बीमा व्यवसाय गर्ने निकायले प्राप्त गरेको प्रिमियमलाई निकायको पुँजीकोरूपमालेखाइन गर्नुपर्ने हुन्छ। यसैगरी बीमा आलेखका सन्दर्भमा सम्झौता बमोजिम प्राप्त हुने सोधभर्ना बापतको रकम, पुनर्बीमा प्रिमियम जस्ता रकमसमेत सो निकायको आय मानिदैन र पुँजी मानिन्छन् ।
त्यसैगरी बीमकको हैसियतले सो निकायले भुक्तान गरेका रकम एवम्बीमितलाई फिर्ता गरिएका बीमा प्रिमियम लगायतका रकम सो निकायको खर्च कट्टी वा कुनै सम्पत्ति वा दायित्व बापतको खर्च (Outgoings) मानिदैन । यस अर्थमा लगानी बीमा व्यवसाय गर्ने व्यक्तिले आयकर प्रयोजनको निमित्त अन्य निकाय सरह सामान्य आय जस्तै ब्याज आम्दानी, विविध आम्दानी आयमा समावेस गर्नुपर्ने हुन्छ र सामान्य खर्च, जस्तै व्यवस्थापन खर्च, ब्याज खर्च, ह्रास खर्च, कमिशन खर्च, आदि आयकर प्रयोजनको लागि कट्टी दाबी गर्न सक्ने छन् ।
माथिका व्यवस्था अनुसार लगानी बीमा व्यवसायको कर आधार वासलात निम्नानुसार हुन्छः
| पुँजी तथा दायित्व | कर आधार | सम्पत्ति | कर आधार |
|---|---|---|---|
| शेयर पुँजी | चुक्ता पुँजीको रकम | ह्रासयोग्य सम्पत्ति | अनुसूचि-२ बमोजिम |
| जगेडा र नाफा | कर तिरिएको करयोग्य आय | - | - |
| लगानीकर्ताको लगानी प्रिमियम बीमा कोष | चुक्ता भएको रकम कोषमा समावेश रकम | व्यावसायिक सम्पत्ति | दफा ३८(२) बमोजिम |
| अन्य दायित्व | दफा ३९(२) बमोजिम | - | - |
| जम्मा पुँजि तथा दायित्व | - | जम्मा सम्पत्ति | - |
कर प्रयोजनको लेखा अवधारणा र वित्तीय लेखाको अवधारणामा ठूलो मात्रामा फरक रहेकाले लगानी बीमा व्यवसायको हरेक जसो हिसाबमा डेफर्ड आयकर प्रयोजनका लागि अस्थायी अन्तर र डेफर्ड कर सिर्जना भएको हुन्छ । माथिको अवधारणा व्याख्या गर्ने उदाहरण निम्नानुसार छः
उदाहरण १९.४.१
मानौ स्वर्णिम जीवन बीमा कम्पनी लि. एक लगानी बीमा व्यवसाय गर्ने निकाय (बीमक) रहेछ । यो आय वर्षका लागि सो निकायको निम्नानुसार तथ्याङ्ग रहेछ ।
| १ | बीमा प्रिमियम प्राप्त (खुद) रु. | १,००,००० |
|---|---|---|
| २ | कुल बीमा आलेख मूल्य रु. | -५,००,००,००० |
| ३ | पुनर्बीमा लिए बापत भुक्तान गरिएको कमिशन खर्च रु. | १०,००० |
| ४ | पुनर्बीमा गराएबापत प्राप्त कमिशन रु. | १५,००० |
| ५ | लगानी तथा कर्जामा ब्याज आम्दानी रु. | २,०००,००० |
| ६ | अन्य विविध आम्दानी रु. | ४०,००० |
| ७ | बीमा कोषमा यस वर्ष थप गरिएको रकम रु. | १,५००,००० |
| ८ | रु.३ लाख प्रिमियम तिरिसकेको एक पोलिसि होल्डरले पोलिसी समर्पण (policy surrender) गर्दा गरिएको भुक्तानी रु. | २५०,००० |
| ९ | रु.५०,०००/- मात्र प्रिमियम जम्मा गरेको एक पोलिसी होल्डरको मृत्यु भएको कारण निजको हकवालालाई भुक्तान गर्नुपरेको रकम | ४००,००० |
| १० | रु.३००,०००।- प्रिमियम तिरिसकेको एक बीमितको Policy Mature भएको कारण बोनस सहित भुक्तानी गर्नुपरेको रकम रु. | ५५०,००० |
| ११ | अभिकर्ता कमिशन रु. | १००,००० |
| १२ | व्यवस्थापन खर्च रु. | ६००,००० |
| १३ | मेडिकल शुल्क रु. | २०,००० |
| १४ | दाबीयोग्य ह्रास खर्च रु. | १००,००० |
उपर्युक्त तथ्याङ्कको आधारमा उक्त बीमकको आयको गणना निम्नानुसार हुने हुन्छ ।
| - | समावेश गरिने रकम: | - |
|---|---|---|
| १ | व्याज आम्दानी रु. | २,०००,००० |
| २ | विविध आम्दानी रु. | ४०,००० |
| ३ | पुनर्बीमा गराएबापत कमिशन रु. | १५,००० |
| - | जम्मा (क) रु. | २,०५५,००० |
| - | कट्टी दाबी योग्य खर्च: | - |
| १ | पुनर्बीमा लिए बापत कमिशन खर्च रु. | १०,००० |
| २ | अभिकर्ता कमिशन रु. | १००,००० |
| ३ | व्यवस्थापन खर्च रु. | ६००,००० |
| ४ | ह्रासकट्टी खर्च रु. | १००,००० |
| ५ | मेडिकल शुल्क रु. | २०,००० |
| - | जम्मा खर्च कट्टी (ख) रु. | ८३०,००० |
| - | व्यवसायको मुनाफा र लाभ (क-ख) रु. | १,३२५,००० |
बीमितलाई फिर्ता गरिएका भुक्तानी कर प्रयोजनमा लाभ सहितको पुँजी फिर्ता सरह व्यवहार गरिन्छ।
| - | यस वर्ष भुक्तानी भएको बीमा बापतको रकम | - |
|---|---|---|
| १ | Matured policy बापत भुक्तानी रु. | ५५०,००० |
| - | प्राप्त भएको प्रिमियम रु. | ३००,००० |
| - | लगानीकर्ताको लाभ (दफा ८८ बमोजिम लाभमा ५ प्रतिशत कर लाग्ने) रु. | २५०,००० |
| २ | Death claim बापत भुक्तानी रु. | ४००,००० |
| - | प्राप्त भएको प्रिमियम रु. | ५०,००० |
| - | लगानीकर्ताको लाभ रु. | ३५०,००० |
| ३ | Policy surrender बापत भुक्तानी रु. | २५०,००० |
| - | प्राप्त भएको प्रिमियम रु. | ३००,००० |
| - | नाफा : (पुँजी सरहको आम्दानी भएकाले कर नलाग्ने तर दफा ५६ (३) बमोजिम मुनाफारहितको लाभांश वितरण हुनगएमा व्यवसायको आयमा समावेश हुने) रु. | ५०,००० |
माथिको उदाहरणमा बीमा प्रिमियम बापत प्राप्त रु.१०,००,०००/- सो बीमकको आय वा व्यावसायिक दायित्व वा सम्पत्ति बापतको आम्दानी मानिदैन । सो प्रिमियम बापतको बीमा आलेख सम्झौता मूल्य (Sum insured ) रु.५,००,००,०००/- पनि सो बीमकको दायित्व मानिने छैन । ऐनको व्यवस्था अनुसार बीमितबाट प्राप्त प्रिमियम लगायतका रकम र बीमकको हैसियतले बीमितलाई गरिने भुक्तानी बीमकको सम्पत्ति र दायित्व बापतका आम्दानी र खर्च नमानिने हुँदा त्यस्ता प्राप्ति र भुक्तानी एवम् सो कारण हुने बचत वा नोक्सानी कर प्रयोजनको निमित्त आम्दानी वा कट्टी मानिदैन ।
१९.५. बीमाबाट प्राप्त रकम
ऐनको दफा ६२ बमोजिम बीमाबाट प्राप्त रकम निम्नानुसार गणना गर्नु पर्दछ :
(१) कुनै व्यक्तिको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले बीमाबाट प्राप्त गरेको रकमको सम्बन्धमा दफा ३१ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लगानी बीमाबाट प्राप्त लाभ सम्बन्धमा देहाय बमोजिम हुनेछ :-
(क) बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बीमित उपर अन्तिम रूपमा हुने कर कट्टीद्वारा कर लगाइनेछ, र
(ख) गैर बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बीमितको आयमा सो रकम समावेश गरी गणना गर्नु पर्नेछ ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “ लगानी बीमाबाट प्राप्त लाभ” भन्नाले सो बीमाको सम्बन्धमा कुनै व्यक्तिले लगानी बीमा बापत प्राप्त गरेको भुक्तानी सो व्यक्तिले तिरेको प्रिमियमभन्दा बढी भएजतिको रकमलाई सम्झनु पर्छ ।
सामान्य बीमाबाट प्राप्त क्षतिपुर्तिको हकमा ऐनको दफा ४६ को व्यवस्था छनौट भएको अवस्था बाहेक दफा ३१ अनुसार निम्नानुसार चारित्रीकरण गर्नुपर्दछ ।
दफा ३१: बीमा बापतको भुक्तानी लगायत देहायका कुराहरु बापत कुनै व्यक्ति वा सो व्यक्तिको सम्बद्ध व्यक्तिले कुनै क्षतिपूर्ति रकम प्राप्त गरेकोमा सो क्षतिपूर्ति बापतको रकम प्राप्त गरेको समयमा त्यस्तो रकम अवस्था अनुसार रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्दा समावेश गर्नु पर्नेछ :-
(क) कुनै व्यवसाय, रोजगारी वा लगानीबाट सो व्यक्तिले प्राप्त गरेको बा प्राप्त हुन सक्ने कुनै आय वा सो आयको गणनामा समावेश हुने कुनै रकम बापतको क्षतिपूर्ति, वा
(ख) कुनै व्यवसाय वा लगानीमा सो व्यक्तिलाई भएको वा हुनसक्ने नोक्सानी वा सो व्यक्तिको आयको गणना गर्दा कट्टी हुने खर्च रकम बापतको क्षतिपूर्ति ।
तर,
(१) बासिन्दा प्राकृतिक व्यक्तिको व्यक्तिगत दुर्घटनाबाट भएको शारीरिक क्षति बापतको क्षतिपूर्ति भुक्तानी रकम आयमा समावेश गर्नुपर्ने छैन र त्यस्तो दुर्घटनाबाट भएको क्षतिको उपचारमा लागेको खर्च दफा ५१ बमोजिम कर मिलान दाबी गर्न पाउने छैन ।
(२) प्राकृतिक व्यक्तिको मृत्यु बापत प्राप्त हुने क्षतिपूर्तिको रकम आयमा समावेश गर्नुपर्ने छैन ।
ऐनको दफा ३१, ६२ तथा ९२ को अधीनमा रही बीमाबाट प्राप्त क्षतिपुर्तिको हकमा आयकर लाग्दछ । यस सम्बन्धी व्यवस्था तलका उदाहरणबाट प्रष्ट पारिएको छ ।
उदाहरण १९.५.१
मानौं, तुलसी इण्टरप्राइजेज कम्पनीले आफ्नो स्टकको सुरक्षणको लागि रु.५० लाखको बीमा गरेको रहेछ । आय वर्ष २०६४/६५ मा उक्त कम्पनीको गोदाममा आगलागि भएको रहेछ र आगलागिको समयमा उक्त गोदाममा रु.३० लाख मूल्य बराबरको मौज्दात रहेछ । उक्त कम्पनीले बीमा कम्पनीसँग सो नोक्सानीको दाबी भुक्तानीको लागि आय वर्ष २०६४ / ६५ मा नै निवेदन दिइसकेको रहेछ । तर सो आ.व.को अन्त्यसम्म पनि बीमा कम्पनीले सो दाबीबारे निक्यौल गरिसकेको रहेनछ । यस अवस्थामा सो कम्पनीले ऐनको दफा १५ को उपदफा (१) अन्तर्गत आय वर्ष २०६४/६५ मा यसरी नोक्सान भएको मौज्दात कट्टी दाबी गर्न सक्नेछ । यदि उक्त बीमा कम्पनीले सो दाबीबापत आय वर्ष २०६५ / ६६ मा दाबी स्वीकार गरी रु. २५ लाख भुक्तान गरेको रहेछ भने सो पूरै रकम आ.व. २०६५/६६ को व्यवसायको आयमा समावेश गर्नुपर्छ ।
उदाहरण १९.५.२
मानौं, पिपल इण्टरप्राइजेज कम्पनीले आफ्नोफर्निचर तथा कार्यालय उपकरण बापत रु.२० लाखको बीमा गराएको रहेछ । २०६४ असोजमा आगलागीबाट | सम्पूर्ण फर्निचर तथा कार्यालय उपकरण जलेर काम नलाग्ने भएको रहेछ । सो आय वर्षमा उक्त कम्पनीको समूह "ख" को हास आधार रु. १५ लाख रहेछ । बीमा कम्पनीले सो दावीको समेत निक्यौल एवं भुक्तानी आ.व. २०६४/६५ मा नगरी आ.व.२०६५/६६ मा मात्र रु.१८ लाख भुक्तानी गरेको रहेछ । आ.व. २०६५/६६ मा सो कम्पनीले २०६५ पौष मसान्त भित्र रु. १० लाखको कार्यालय उपकरण तथा फर्निचर खरिद गरिसकेको रहेछ भने सो कम्पनीले आ.व. २०६४/६५ तथा २०६५/६६ मा यस सम्बन्धमा निम्नानुसार लेखाङ्कन गर्नु पर्दछ ।
आ.व.२०६४/६५
यस आर्थिक वर्षमा उक्त कम्पनीको समूह "ख" को सम्पूर्णसम्पत्ति नै जलेर नष्ट भएको कारण कूल ह्रास आधार अर्थात रू. १५ लाख निःसर्ग भएको मानिन्छ र ऐनको दफा १९ बमोजिम रू. १५ लाख कट्टी दावी गर्न सक्नेछ ।
आ.व. २०६५/६६
आ.व.२०६५/६६ मा उक्त कम्पनीले समूह "ख" अन्तर्गत रू.१० लाखको सम्पत्ति २०६५ पौष मसान्त भित्र खरीद गरेको र बीमा कम्पनीबाट समेत रू. १८ लाख दावी भुक्तानी प्राप्त भएको सम्पत्तिको ह्रास आधार तथा निसर्गबाट प्राप्त लाभ निम्नानुसार हुन्छः
- आ.व.२०६५/६६ मा ह्रास आधारमा समावेश हुने रकम रू.१०,००,०००/-
- न्यूनः सम्पत्तिको निसर्गबाट प्राप्त रकम रू.०।-
- ह्रास आधार रू.१०,००,०००/-
बीमाबाट प्राप्त भएको रकम रु. १८ लाख प्राप्त भएको आ.व. २०६५/६६ मा दफा ३१ र ६२ बमोजिमव्यवसायको आयमा समावेश गर्नु पर्दछ ।
ऐनको दफा ९२ को उपदफा (१) को खण्ड (ग) बमोजिम बासिन्दा कम्पनीले भुक्तानी गरेको लगानी बीमाबापत प्राप्त गरेको लाभ अन्तिम रूपले कर लाग्ने तथा गैर बासिन्दा कम्पनीले भुक्तान गरेको भए बीमाबाट प्राप्त लाभ बीमितको आयमा समावेश गरी गणना गर्नुपर्ने हुन्छ । ऐनको दफा ८८ को उपदफा (२) बमोजिम बासिन्दा कम्पनीले भुक्तानी गरेको लगानी बीमा बापत प्राप्त गरेको लाभमा ५ प्रतिशतका दरले कर लाग्दछ । सोही अनुरुप लगानी बीमा म्याद भुक्तानी (matured) वा कुनै दाबी योग्य घटना घटेको अवस्थामा (happening of incidence) प्राप्त रकममध्ये बीमितले सो समयसम्म भुक्तान गरेको बीमा प्रिमियम रकम कट्टा गरी खुद बढी प्राप्त रकममात्र लाभको रूपमा गणना गर्नुपर्दछ । त्यस्तै, ऐनको दफा ३१ बमोजिम बासिन्दा प्राकृतिक व्यक्तिको व्यक्तिगत दुर्घटनाबाट भएको शारीरिक क्षतिबापतको क्षतिपूर्ति भुक्तानी रकम आयमा समावेश गर्नु नपर्ने व्यवस्था भएकोले त्यस्तो रकम आयमा समावेस गर्नु पर्दैन ।
उदाहरण १९.५.३
मानौं, दिवाकर खनियाँले नेपालमा दर्ता भएको शुभ जीवन बीमा कम्पनी लि. मा रु.५,००,०००/- को जीवन बीमा पोलिसी लिएका रहेछन् र सोबापत कुल प्रिमियम रु.५,५०,०००।- जम्मा गरेका रहेछन् । मिति २०६६।२।४ मा सो पोलिसीको म्याद भुक्तानी (Matured) भएको रहेछ । बीमा सम्झौताबमोजिम सो बीमा कम्पनीले निजलाई रु.९,५०,०००।-भुक्तान गरेको रहेछ । उक्त भुक्तानीमा रु.४,००,०००/- लाभ भएको (रु. ९,५०,००० - रु.५,५०,०००) र सो लाभमा ५ प्रतिशतका दरले हुने रकम कर लाग्दछ र सो बीमा कम्पनीले निजलाई भुक्तानीको समयमानै रु.२०,०००/- कर रकम कट्टा गरी बाँकी रु.९,३०,०००।-भुक्तान गर्नुपर्दछ । यसरी कट्टा भएको कर रकम ऐनको दफा ६२ को उपदफा (२) को खण्ड (क) तथा दफा ९२ को उपदफा (१) को खण्ड (ग) बमोजिम अन्तिमरुपले कर कट्टी भएको भुक्तानी मानिन्छ र निजको आयमा समावेश गर्नु पर्दैन ।
तर, माथिको उदाहरणमा निज दिवाकर खनियाँले नेपालमा दर्ता भएको बीमकसँग बीमा नगराई गैर बासिन्दा व्यक्तिसँग बीमा गराएको र सोही बराबरको रकम भुक्तानी भएको | रहेछ भने कुल लाभ रु.४,००,०००/- लाई नै लगानीको आयमा समावेश गर्नुपर्ने हुन्छ । यस अवस्थामा निजले विदेशमा सो भुक्तानीबापत कुनै कर तिरका रहेछन् भने सो कर ऐनको अधीनमा रही मिलान दाबी गर्न पाउनेछन् । यसरी विदेशमा तिरेको कर मिलान सम्बन्धी व्यवस्था यसै निर्देशिकाको परिच्छेद १४ मा दिइएको छ ।
१९.६ व्यवसाय गाभिएको कारणले हुने निःसर्ग सम्बन्धी विशेष व्यवस्था
ऐनको दफा ४७क. ले बैंकिङ्ग तथा वित्तीय व्यवसाय वा बीमा व्यवसाय गर्ने एकै प्रकृतिका निकाय आपसमा गाभिएर (मर्जर वा एक्युजिशन) भएमा विशेष व्यवस्था गरेको छ ।
४७क.(१) बैकिङ्ग तथा वित्तीय व्यवसाय वा बीमा व्यवसाय गर्ने एकै प्रकृतिको निकायहरु आपसमा गाभिएर (मर्जर वा एक्युजिशन) भएमा दफा ५७ को उपदफा (२) को खण्ड (क), (ख), (घ), (ङ), (च) र (छ) तथा सोही दफाको उपदफा (३) को व्यवस्था लागू हुने छैन ।
वैकिङ्ग वा बीमा सम्बन्धी एकै प्रकृतिको व्यवसाय गर्ने निकाय गाभिएका बखतमा यो दफामा गरिएका व्यवस्था लागू हुन्छन् । कुनै बैंकिङ्ग व्यवसाय गर्ने निकाय वा बीमा व्यवसाय गर्ने निकाय आपसमा गाभिएका अवस्थामा दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको निकायको स्वामित्व परिवर्तन अघि कायम रहेका जिम्मेवारी सार्न पाउने नोक्सानी लगायतका विभिन्न रकम (Tax Attributes) लाई स्वामित्वमा परिवर्तनपछि समायोजन गर्न नपाउने गरी (No deferrals) दफा ५७ को उपदफा (२) द्वारा लगाइएको निम्न बन्देज लागू हुने छैन:
५७(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुनै निकायको स्वामित्व परिवर्तन भएमा त्यस्तो परिवर्तन पछि सो निकायलाई देहायका कार्य गर्न अनुमति दिइने छैन:
(क) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायबाट खर्च गरिएका दफा १४ को उपदफा (३) बमोजिम अगाडि सारिएको ब्याज कट्टा गर्न,
(ख) स्वमित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायलाई हुन गएको नोक्सानी दफा २० बमोजिम कट्टा गर्न,
(ग) स्वामित्वको परिवर्तनपछि हुन गएको नोक्सानीलाई दफा २० को उपदफा (४) बमोजिम त्यस्तो स्वामित्वको परिवर्तन अघिको कुनै आय वर्षमा पछाडि लैजान,
(घ) स्वामित्व परिवर्तन हुनुअघि दफा २४ को उपदफा (४) को खण्ड (क) बमोजिम कुनै रकम वा खर्च बापत हिसाब गरेको र स्वामित्वको परिवर्तन पछि सो रकम वा खर्चको दफा २४ को उपदफा (४) बमोजिम सच्चाएकोमा दफा २४ को उपदफा (४) बमोजिम समायोजन गर्न,
(ङ) स्वामित्वको परिवर्तन हुनुअघि दफा २५ को उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै रकमको हिसाब गरेको र स्वामित्वको परिवर्तनपछि सो रकम प्राप्त गर्ने अधिकार त्याग गरेको वा सो रकम कुनै व्यक्तिको ऋण दाबी भएकोमा त्यस्तो व्यक्तिले उक्त ऋणलाई डुबेको ऋण मानी अपलेखन गरेमा दफा २५ को उपदफा (१) बमोजिम समायोजन गर्न,
(च) स्वामित्वको परिवर्तन हुनुअघि सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा हुन गएको घाटा स्वामित्वको परिवर्तनपछि सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त आम्दानीमा दफा ३६ बमोजिम घटाउन,
(छ) स्वामित्व परिवर्तन हुनुअघि दफा ६० को उपदफा (२) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम प्रिमियमको हिसाब गरेकोमा र स्वामित्वको परिवर्तनपछि त्यस्तो प्रिमियम बीमितलाई फिर्ता दिएमा सो बमोजिम खर्च दाबी गर्न ।
कुनै निकायको दफा ५७ (३) बमोजिम स्वामित्व परिवर्तन भएमा त्यसरी स्वामित्व परिवर्तन हुनु अगाडि र पछाडिका भागलाई बेग्लाबेग्लै आय वर्ष मानिने व्यवस्था पनि दफा ४७क. को अवस्थामा लागू हुँदैन ।
विगतका नोक्सानी कट्टी सम्बन्धमा निम्न प्रतिबन्धात्मक व्यवस्था लागू रहन्छः
तर, गाभिएर अस्तित्वमा नरहेको निकायको कुनै कट्टी हुन नसकेको नोक्सानी भए त्यस्तो नोक्सानी दामासाहीले आगामी सात वर्षमा कट्टी गर्नु पर्नेछ । यसरी समान किस्तामा नोक्सानी कट्टी गर्ने निकाय सो पूरै नोक्सानी कट्टी नगर्दै पुनः विभाजन भएमा कट्ट नोक्सानी बापत कट्टी भएको रकममा गाभिएको (मर्जर वा एक्युजिशन) आर्थिक वर्षमा कायम रहेको करको दरले कर तिर्नु पर्नेछ ।
सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छः
उदाहरण १९.६.१
मानौ, काभ्रे बैक लि.ले कास्की बैंक लि.का सबै शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर ९० कित्ता शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । कास्की बैंक लि.मा रु. २ करोड १० लाख कट्टी हुन बाँकी नोक्सान रहेछ । गाभिएको वर्ष गाभिने कारोबारपछि काभ्रे बैंकको नोक्सानी कट्टी अगाडिको करयोग्य आय रु.३ करोड रहेछ । गाभिएर अस्तित्वमा नरहेको कास्की बैंक लि. को यस्तो कट्टी हुन बाँकी नोक्सानी गाभिएपछिको काभ्रे बैंकले दामासाहीले ७ वर्षमा कट्टी गर्न पाउँदछ । यो वर्ष रु.३० लाखमात्र नोक्सानी कट्टी गर्न पाउँदछ । गाभिएर अस्तित्वमा नरहेको कम्पनीको गाभिनु अगाडि७ वर्ष ननाघेको नोक्सानीमात्र यस व्यवस्था बमोजिम दामासाहीमा कट्टी गर्न पाइन्छ ।
उदाहरण १९.६.२
मानौ, काभ्रे बैक लि.ले कास्की बैंक लि.का सबै शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर ९० कित्ता शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । काभ्रे बैंक लि. मा रु. १ करोड ३० लाख कट्टी हुन बाँकी नोक्सान रहेछ । | गाभिएको वर्ष गाभिने कारोबारपछि कास्की बैंकको कारोबार पनि समाहित भएकाले काभ्रे बैंकको नोक्सानी कट्टी अगाडिको करयोग्य आय रु.३ करोड रहेछ । गाभिएपछि पनि अस्तित्वमा रहेको काभ्रे बैंक लि.को यस्तो कट्टी हुन बाँकी नोक्सानी गाभिएपछिको दफा २० को व्यवस्था बमोजिम नोक्सानी सिर्जना भएको वर्षबाट ७ वर्षसम्म कट्टी गर्न पाउँदछ, दामासाही गरिरहनु पर्दैन ।
उदाहरण १९.६.३
मानौ, काभ्रे बैक लि. ले कास्की बैंक लि. का सबै शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर ९० कित्ता शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ | कास्की बैंक लि. मा रु. २ करोड १० लाख कट्टी हुन बाँकी नोक्सान रहेछ । गाभिएको ४ वर्षपछि काभ्रे बैंकबाट पुराना कास्की बैंकका शेयरधनी विभाजन भई जाने निर्णय गरेछन् । यस्तो अवस्थामा कास्की बैंक लि. अस्तित्वमा हुँदाको ७ वर्षसम्म पुरानो नोक्सान रु.२ करोड १० लाखको ७ भागको ४ भाग कट्टी भइसकेको हुन्छ । विभाजनबाट नयाँ कम्पनी बनेको वर्ष सो कट्टी भइसकेको नोक्सानी रु.१ करोड २० लाखमा गाभिएको वर्षको आयकरको दर अनुसार हुने कर रकम काभ्रे बैक लि. ले तिर्नु पर्दछ । बाँकी रहेको कट्टी नभएको नोक्सानी रु.९० लाख पनि कट्टी गर्न पाउँदैन ।
निकाय आपसमा गाभिने क्रममा एउटा निकायमा भएका सबै सम्पत्ति तथा दायित्व अर्को निकायमा हस्तान्तरण हुन जान्छन् । यस्तो हस्तान्तरणका सम्बन्धमा निम्न तरिकाले मूल्यांकन हुने व्यवस्था उपदफा (२) मा गरिएको छ
४७क.(२) उपदफा (१) बमोजिम निकायहरु गाभिई सम्पत्ति र दायित्वको निःसर्ग भएमा देहाय बमोजिम हुनेछ:-
(क) व्यापारिक मौज्दात तथा व्यावसायिक सम्पत्तिको निःसर्गको हकमा,
(१) निःसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएको खुद खर्च बराबरको रकम सो निःसर्ग बापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र
(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ । (ख) ह्रासयोग्य सम्पत्तिको निःसर्गको हकमा,
(१) निःसर्ग हुँदाका बखत अनुसूची - २ को दफा ४ बमोजिम समूहको घट्दो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
(ग) दायित्वको निःसर्गको हकमा,
(१) निःसर्गको तत्काल अघि सो दायित्वको बजार मूल्य र खुद आम्दानीमध्ये जुन घटी हुन्छ सो बराबरको रकम निःसर्ग बापत सो व्यक्तिको लागत परेको मानिनेछ, र
(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम दायित्व बहन गर्ने व्यक्तिले सो दायित्व बहन गरे बापत प्राप्त गरेको मानिनेछ ।
(घ) व्यवसाय गाभ्ने निकाय वा गाभिएर कायम भएको निकायले गाभिएको सम्पत्ति र दायित्वको लागत गणना गर्दा गाभिने निकायबाट सो गाभिएको व्यवसायसञ्चालन गरेका बखत (मर्जर वा एक्युजिसन अगाडि) कायम रहेका सम्पत्ति र दायित्व बापतका लागत मात्र खण्ड (क), (ख) र (ग) बमोजिम गणना गर्नु पर्नेछ।
सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छः
उदाहरण १९.६.४
मानौ, काभ्रे बैक लि. ले कास्की बैंक लि.का सबै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ कित्ता शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । कास्की बैंक लि. का निम्न सम्पत्ति तथा दायित्व निम्नानुसार मूल्यमा निःसर्ग भएको र काभ्रे बैंकको लागत परेको मानिन्छ:
व्यावसायिक सम्पत्ति: गाभिनुको तत्काल अघिको खुद खर्च (नेट आउटगोइंग)
ह्रासयोग्य सम्पत्ति: गाभिनुको तत्काल अघिको अनुसूचि - २ को दफा ४ बमोजिमको घट्दो प्रणालीको बाँकी मूल्य
व्यावसायिक दायित्व: गाभिनुको तत्काल अघिको खुद आम्दानी (नेट इन्कमिंग) र बजारमूल्यमध्ये जुन घटी हुन्छ सो रकम
उदाहरण १९.६.५
मानौं, मिति २०७१ माघ ३ गते काभ्रे बैक लि.मा कास्की बैंक लि. | गाभिएको रहेछ । सो मितिमा कास्की बैंक लि. को समुह "ख" को ह्रासयोग्य सम्पत्तिको ह्रास आधार रु.१०,००,०००/- रहेछ । उक्त सम्पत्तिको आ.व. २०७१।७२ को कुल ह्रासकट्टी खर्च २५ प्रतिशतका दरले हुन आउने रु.२,५०,०००/- को ह्रासकट्टी खर्च दाबी गर्दा दामासाहीले कास्की बैंक लि. को१८६ दिनको हुन आउने ह्रास खर्च रु.१,२७,६०३।-र | बाँकी १७९ दिनको ह्रासकट्टी खर्च रु.१,२२,६०३ - काभ्रे बैक लि. ले कट्टी दाबी गर्नु पर्दछ ।
निकाय गाभिने क्रममा गाभिने कम्पनी र गाभ्ने कम्पनीका कर्मचारीको सामूहिक अवकाशको अवस्था भएमा निम्नानुसार हुन्छः
४७क(३) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायमा वा गाभिएपश्चातको निकायमा कार्यरत कर्मचारीहरुलाई सामूहिकरूपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा (अवकाश कोष मार्फत गरिने भुक्तानी वा कर्मचारी सेवा शर्तमा उल्लेख भए अनुसार गर्नुपर्ने भुक्तानी बाहेकका) अवकाश भुक्तानीमा कर कट्टी गर्नुपर्ने दरमा पचास प्रतिशत छुट दिई भुक्तानीमा कर कट्टी गर्नुपर्नेछ ।
सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छः
उदाहरण १९.६.६
मानौ, काभ्रे बैक लि.ले कास्की बैंक लि.का सबै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ कित्ता शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । गाभिने शर्तमध्ये एउटा दुवै बैंकका ६० प्रतिशत कर्मचारीलाई सामूहिक अवकास दिने र सो बापत सम्बन्धित कर्मचारी नियमावलीमा भएको व्यवस्था अनुसारको सुविधाका अतिरिक्त रु.१,००,०००/- दिइने रहेछ । यस्तो अवस्थामा दुवै निकायका अवकाश पाउने | कर्मचारीको सो भुक्तानीमा लाग्ने करमा ५० प्रतिशतले छुट दिई अग्रिम कर कट्टी गर्नु पर्दछ । अवकाश पाउने कर्मचारीको थप सुविधा (दुवै कम्पनीमा) :
भुक्तानी भएको अवकास रकम रु.१००,०००/-
कर छुट पाउने रकम (५० प्रतिशत) रु.५०,०००/-
बाँकी रकम रु.५०,०००/-
भुक्तानीमा कर कट्टी (१५ प्रतिशतले) रु.७,५००/-
दफा ९२ मा भएको व्यवस्था अनुसार यो रकम अन्तिम विधिअनुसार कर लाग्ने आय हो ।
निकाय गाभिने क्रममा गाभिने कम्पनीका शेयरधनीले अर्को कम्पनी (गाभ्ने कम्पनी) को शेयर प्राप्त गरेका हुन्छन् । यस्तो शेयर बिक्री सम्बन्धमा निम्नानुसार हुन्छः
४७क(४) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायमा कायम रहेका शेयरधनीहरुले आफ्नो शेयर गाभिएको दुई वर्षभित्र आफ्नो शेयर बिक्रीको माध्यमबाट निःसर्ग गरेमा त्यसरी निःसर्ग भएको शेयरमा भएको लाभमा पुँजीगत लाभकर लाग्ने छैन । सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छः
उदाहरण १९.६.७
मानौ, काभ्रे बैक लि. ले कास्की बैंक लि.का सबै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ कित्ता शेयर दिई काभ्रे बैक लि. र कास्की बैंक लि. २०६८/२/२९ मा एक आपसमा गाभिएका (मर्जर) रहेछन् । रमेशजी शाहको कास्की लि.मा १००० कित्ता शेयर (चुक्ता मूल्य रु.१००/- लागत रु.२००/-) रहेछ । गाभिएको कारण रमेशजीले ९०० कित्ता शेयर प्राप्त गरेका रहेछन् । रमेशजीले काभ्रे लि.को ४०० कित्ता शेयर २०६९।३।२० मा प्रतिशेयर रु.३१०/- मा बिक्री गरेछन् । यो अवस्थामा शेयर बिक्रीमा भएको लाभ रु.४४,०००/- ( ११०* ४००) मा गाभिएको २ वर्षभित्रै बिक्री गरी लाभ भएकाले पुँजीगत लाभकर लाग्दैन ।
उदाहरण १९.६.८
मानौ, काभ्रे बैक लि.ले नेपाल राष्ट्र बैंकले तोकेको संस्था प्राप्ति- एक्युजिसन) विनियम बमोजिम कास्की बैंक लि. लाई मिति २०७०।२।१ मा गाभेको (Acquire) रहेछ । गाभिनु तत्काल अघि कास्की बैंक लि.मा गरिमा प्रा. लि. को परल मूल्य रु. १० लाख भएको १०,००० कित्ता साधारण शेयर रहेछ । गाभिएपश्चात उक्त कम्पनीले कास्की बैंक लि. को १०,००० कित्ता साधारण शेयरको बदला काभ्रे बैक लि. को ९,००० कित्ता साधारण शेयर प्राप्त गरेको रहेछ । उक्त कम्पनीले आफ्नो सबै शेयर मिति २०७०।१०।५ मा कुलरु. १५ लाखमा बिक्री गरेको रहेछ । यसरी बिक्री गरी प्राप्त लाभमा कर लाग्दैन । यदि उक्त शेयर रु.९ लाखमा बिक्री गरी रु. १ लाख नोक्सानी भएको अवस्थामा त्यस्तो नोक्सानी कर नलाग्ने आयसँग सम्बन्धित भएकोले आगामी वर्षमा सार्न पनि सकिने छैन ।
गाभिने प्रक्रिया पूरा भइसकेपछिको कम्पनीका शेयरधनीले सो कम्पनी (गाभ्ने कम्पनी) को लाभांश प्राप्त भएमा निम्नानुसार हुन्छः
४क.(५) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्ष भित्र गाभिएको अवस्थामा कायम रहेको शेयरधनीलाई बितरण गरेको लाभांशमा कर लाग्ने छैन ।
सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छः
उदाहरण १९.६.९
मानौ, काभ्रे बैक लि. ले कास्की बैंक लि. का सवै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ कित्ता शेयर दिई कास्की बैंक लि. मिति २०६७/२/२९ | मागाभिएको रहेछ । गाभिए पछि काभ्रे बैंक लि. ले मिति २०६९।२।२० मा प्रति शेयर रु.४० लाभांश वितरण गरेको रहेछ । यो अवस्थामा काभ्रे बैंक लि. का मिति २०६७।२।२९ मा कायम रहेका कुनै पनि शेयरधनीलाई लाभांश कर लाग्दैन । साथै गाभिएको मितिमा कायम रहेको शेयरधनीको कायम रहेको शेयर संख्या मात्रमा कर छुट हुने र गाभिए पछि थप हुन आएको बोनस शेयर वा अरु शेयरमा वितरण हुने लाभांशमा कर छुट नहुने । तर उक्त लाभांश मिति २०६९ २ २९ वा सो पछाडि वितरण गरेको भए यो सुविधा प्राप्त हुन सक्तैन र लाभांश कर ५ प्रतिशत लाग्दथ्यो ।
बैंक तथा वित्तीय संस्था र बीमा व्यवसाय गर्ने कम्पनी गाभिने सम्बन्धी अन्य व्यवस्था निम्नानुसार छन्:
४७क.(६) उपदफा (१) अनुसार गाभिई निःसर्ग हुन चाहने निकायले सम्वत् २०७८ साल असारमसान्तभित्र गाभिने आशयपत्र आन्तरिक राजस्व विभागमा दिनु पर्नेछ ।
४७क.(७) उपदफा (१) बमोजिम गाभिनको लागि उपदफा (६) बमोजिम आशयपत्र दिने निकायहरुले गाभिने प्रक्रिया सम्वत् २०७९ असार मसान्तभित्र पूरा गर्नुपर्नेछ ।
४७क.(८) यो दफा प्रारम्भ भएपछि एक आपसमा गाभिई यस दफा बमोजिमको सुविधा उपयोग नगरेका निकायले समेत यसै बमोजिमको सुविधा उपयोग गर्न पाउनेछन् ।
४७क.(९) उपदफा (६) मा तोकिएको अवधिभित्र आशयपत्र नदिने निकाय तथा उपदफा (७) मा उल्लेख भएको मितिसम्म गाभिने प्रक्रिया पूरा नगरेको निकायको हकमा यो दफाको व्यवस्था लागू भएको मानिने छैन ।
बैंक तथा वित्तीय संस्था र बीमा व्यवसाय गर्ने कम्पनी गभिन चाहने कम्पनीले २०७८ साल असार मसान्तभित्र गाभिने आशयपत्र आन्तरिक राजस्व विभागमा दिई सो सम्बन्धी प्रक्रिया २०७९ साल असार मसान्तभित्र पूरा गरिसकेको हुनु पर्दछ ।