Skip to content

परिच्छेद ६ कर प्रशासन र सरकारी कागजात

२२. पूर्वादेश सम्बन्धी कार्यविधि

(१) ऐनको दफा ७६ बमोजिम पूर्वादेश माग गर्ने व्यक्तिले विभागले तोकेको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि पैंतालीस दिनभित्र विभागले सो विषयमा निर्णय दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको अवधिभित्र विभागबाट पूर्वादेश प्राप्त नभएमा निवेदकले ऐनको दफा ११५ बमोजिम विभाग समक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन वा दफा ११६ को उपदफा (४) बमोजिम राजस्व न्यायाधीकरण समक्ष पुनरावेदन दिन सक्नेछ ।

(४) उपनियम (२) बमोजिम निर्णय गर्नुअघि विभागले आवश्यक देखेमा अधिकृत तथा अन्य विशेषज्ञबाट छानबिन गराउन सक्नेछ ।

२३. स्थायी लेखा नम्बर

(१) यो नियमावली प्रारम्भ हुँदाका बखत स्थायी लेखा नम्बर प्राप्त गरी नसकेको र निर्धारणयोग्य आय [आर्जन गर्न चाहने, विभागले स्थायी लेखा नम्बर लिनु पर्ने भनी तोकिएको] 1 वा ऐनको परिच्छेद १७ अन्तर्गत कर कट्टी गर्नु पर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कट्टी गर्नु अगावै स्थायी लेखा नम्बरको लागि विभागमा [निवेदन दिनु पर्नेछ] 2

(२) उपनियम (१) बमोजिम स्थायी नम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नम्बर प्राप्त गरी नसकेको अन्य व्यक्तिले पनि स्थायी लेखा नम्बरको लागि विभागमा निवेदन दिन सक्नेछ ।

(३) उपनियम (१) वा (२) बमोजिम निवेदन प्राप्त भएपछि निवेदकलाई विभागले स्थायी लेखा नम्बरको प्रमाणपत्र प्रदान गर्नेछ ।

[(३क) स्थायी लेखा नम्बर लिएका व्यक्तिले विभागले सूचना प्रकाशन गरी तोकेको अवधिभित्र सो सूचनामा उल्लिखित विवरण विभागको बायोमेट्रिक प्रणालीमा दर्ता गराई अद्यावधिक गर्नु पर्नेछ ।] 3

[(४) [स्थायी लेखा नम्बर लिई व्यवसाय गर्ने करदाताले] 5 आफ्नो नाम, ठेगाना तथा स्थायी लेखा नम्बर उल्लेख गरी सिलसिलेवार नम्बर सहितको बीजक जारी गर्नु पर्नेछ ।] 4

[२३क. स्थायी लेखा नम्बर स्थगनको प्रक्रिया ] 6

(१) ऐनको दफा ७८क. को उपदफा (१) बमोजिम स्थायी लेखा नम्बर स्थगन गर्न चाहने व्यक्ति वा निकायले आफूले लिएको स्थायी लेखा नम्बर स्थगन गर्नु पर्ने अवस्था सिर्जना भएको मितिले तीस दिनभित्र कारण खुलाई विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा सो अवधिसम्मको आय विवरण तथा कर दाखिला गरेको हुनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विभागले निवेदन पेश गरेको मितिले तीस दिनभित्र स्थगन भएको वा स्थगन नहुने भए सोको जानकारी दिनु पर्नेछ ।

[२३ख. प्रतिलिपि दिने ] 7

(१) नियम २३ बमोजिम स्थायी लेखा नम्बरको प्रमाणपत्र लिएको कुनै व्यक्तिले स्थायी लेखा नम्बर प्रमाणपत्र हराएमा वा अन्य कुनै किसिमबाट नासिएमा त्यस्तो प्रमाणपत्रको प्रतिलिपि लिनको लागि विभागमा दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएको मितिले तीन दिनभित्र विभागले निवेदकलाई स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्रको प्रतिलिपि प्रदान गर्नु पर्नेछ ।

२४. स्थायी लेखा नम्बरको विवरणमा संशोधन

(१) कुनै व्यक्तिले प्राप्त गरेको स्थायी लेखा नम्बरको प्रमाणपत्रमा उल्लिखित विवरणमा परिवर्तन भएमा परिवर्तन भएको मितिले पन्ध्र दिनभित्र सो व्यक्तिले सो कुराको जानकारी विभागलाई दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको जानकारी विभागले प्राप्त गरेपछि विभागले स्थायी लेखा नम्बरमा आवश्यक संशोधन गरी दिनु पर्नेछ ।

२५. व्यक्तिको कारोबार स्थलमा परिवर्तन

कुनै व्यक्तिको कारोबारस्थल परिवर्तन भएमा सो व्यक्तिले सो कुराको जानकारी विभागमा दिनु पर्नेछ ।

[२६. कर चुक्ताको प्रमाणपत्र ] 8

(१) कुनै व्यक्तिले कुनै निश्चित मितिसम्मको ऐन बमोजिम तिर्नु पर्ने सम्पूर्ण कर तिरिसकेको प्रमाणपत्र माग गर्न ऐनको दफा ९६ को उपदफा (२) मा उल्लिखित कागजात सहित विभागमा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा निवेदकको कर गणना गणितीय हिसाबले ठीक भए नभएको जाँच गरी र कर विवरण बमोजिम तिर्नु पर्ने कर, शुल्क, व्याज तथा अग्रिम कर कट्टी रकम र व्याज दाखिला गर्न बाँकी भए सो रकम दाखिला गराई कर तिरेको प्रमाणको आधारमा विभागले सो व्यक्तिलाई कर चुक्ताको प्रमाणपत्र दिनु पर्नेछ ।

२७. कर छुटको प्रमाणपत्र

(१) कुनै कर छुट पाउने व्यक्तिले कर छुटको प्रमाणपत्र माग गर्न विभागमा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि सो व्यक्तिले कर छुट पाउने देखिएमा विभागले सो व्यक्तिलाई कर छुटको प्रमाणपत्र दिनु पर्नेछ ।

२८. अधिकृतको परिचयपत्र

अधिकृतको परिचयपत्रको ढाँचा अनुसूची-१ बमोजिम हुनेछ ।


  1. चौथो संशोधनद्वारा संशोधित । मूल नियममा “आर्जन गर्न चाहने” भन्ने शब्दहरु रहेका ॥ 

  2. दोस्रो संशोधनद्वारा संशोधित । मूल नियममा “निवेदन दिन सक्नेछ । ” भन्ने शब्दहरु रहेका । 

  3. नवौं संशोधनद्वारा थप । 

  4. छैठौं संशोधनद्वारा थप । 

  5. सातौं संशोधनद्वारा संशोधित । छैठौं संशोधनद्वारा थप भएको नियममा पूर्वानुमानित कर विवरण पेश गर्ने बाहेकका करदाताले” भन्ने शब्दहरु रहेका । 

  6. एघारौं संशोधनद्वारा थप । 

  7. एघारौं संशोधनद्वारा थप । 

  8. दोस्रो संशोधनद्वारा संशोधित ।
    मूल नियमको व्यवस्थाः
    “२६. कर चुक्ताको प्रमाणपत्रः (१) कुनै व्यक्तिले कुनै निश्चित मितिसम्मको ऐन बमोजिम तिर्नु पर्ने सम्पूर्ण कर तिरिसकेको प्रमाणपत्र माग गर्न विभागमा निवेदन दिन सक्नेछ ।
    (२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि कर तिरेको प्रमाणको आधारमा विभागले सो व्यक्तिलाई कर चुक्ताको प्रमाणपत्र दिनु पर्नेछ ।”