Skip to content

परिच्छेद १६ भुक्तानीमा कर कट्टी

१६.१

कर लाग्ने कारोबार गर्ने व्यक्तिलाई आयकरको दायरामा ल्याउन एवम् नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा स्रोतमा कर कट्टीसम्बन्धी प्रावधान रहेका छन् । यसरी भुक्तानी कै समयमा अर्थात स्रोतमा नै कर कट्टी हुने प्रावधानलाई भुक्तानी (स्रोत) मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलाई Withholding Tax समेत भनिन्छ । आय गर्दाका बखतमा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालाई Pay As You Earn (PAYE) भनिन्छ । कर कट्टी गर्ने दायित्व भएको व्यक्तिले ऐनले तोकेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्नु यस परिच्छेदको उद्देश्य रहेको छ ।

१६.२ भुक्तानीमा कर कट्टी (Withholding Tax)

१६.२.१ भुक्तानीमा कर कट्टीसँग सम्बन्धित पक्ष

आयकर ऐन, २०५८ को परिच्छेद १७ मा भुक्तानीमा कर कट्टी सम्बन्धी व्यवस्था छ । भुक्तानीमा कर कट्टी भन्नाले कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलाई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लिखित दफामा उल्लेख गरिएका भुक्तानीका किसिममा भुक्तानी गर्दा कै अवस्थामा तोकिएको दरले कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिने प्रणालीलाई भुक्तानीमा कर कट्टी (Withholding Tax) भनिन्छ । खासगरी यस्तो प्रणाली लगानीबाट भएको आय, लाभांश, रोजगारीको आय, सेवाशुल्क, ठेक्का पट्टा (Contract) आदिमा गरिने भुक्तानीमा त्यस्तो भुक्तानी हुँदाका अवस्थामा नै अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिन्छ । यस प्रणालीले गर्दा सरकारलाई अग्रिममा राजस्व संकलन पनि हुने र करको दायरामा बढी करदाता पनि समेटिनुका साथै सरकार तथा करदाता दुवैको कर संकलन लागत (Compliance Cost) पनि न्यून हुन जान्छ । विशेष गरी असंगठित क्षेत्र, छरिएका र साना भुक्तानी एवं निष्कृय आय हुने प्राकृतिक व्यक्ति (Hard to Tax Group) को आयमा कर लगाउने उद्देश्यले समेत यस्तो प्रबन्ध गरिएको हो ।

भुक्तानीमा कर कट्टी गर्ने सन्दर्भमा अग्रिम कर कट्टी गर्ने व्यक्ति (Withholding Agent) र अग्रिम कर कट्टी हुने व्यक्ति (Withholdee) दुई महत्वपूर्ण पक्ष हुन्छन् ।

ऐनको दफा २ को खण्ड (क) बमोजिम “अग्रिम कर कट्टी गर्ने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद-१७ बमोजिम अग्रिम कर कट्टी गर्ने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ ।

बासिन्दा व्यक्तिले गरेको भुक्तानीमा मात्र कर कट्टी गर्नु पर्दछ । यस हिसाबले गैर बासिन्दा व्यक्ति अग्रिम कर कट्टी गर्ने व्यक्ति (Withholding Agent) हुन सक्तैन । अर्कातिर ऐनको परिच्छेद १७ अन्तर्गतका भुक्तानी पाउने व्यक्ति अग्रिम कर कट्टी हुने व्यक्ति (Withholdee) भएकाले भुक्तानीको प्रापक बासिन्दा वा गैर बासिन्दा जोसुकै व्यक्ति हुन सक्तछ ।

आयकर ऐन, २०५८ ले विभिन्न भुक्तानीमा अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरेकोछ । यसरी अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्दा ऐनमा तोकेको दर अनुसार हुने रकम कट्टा गरी बाँकी रकम मात्र सो व्यक्तिलाई भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो कर कट्टी गर्नुपर्ने दायित्व भएको व्यक्तिलाई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ ।

उदाहरणको लागि कुनै बासिन्दा रोजगारदाताले आफ्नो कर्मचारीलाई पारिश्रमिक भुक्तानी गर्दा भुक्तानीमा कर कट्टा गरी भुक्तानी गर्नुपर्ने दायित्व भएको अवस्था रहेछ भने यस्ता रोजगारदातालाई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ । त्यस्तै, कुनै कम्पनीले कुनै परामर्शदातालाई कुनै काम लगाए बापत कर कट्टी गरेर सेवा शुल्क भुक्तानी गर्दछ भने त्यसरी कर कट्टी गरेर सेवा शुल्क भुक्तानी गर्ने व्यक्तिलाई अग्रिम कर कट्टी गर्ने व्यक्ति मानिन्छ । समष्टिगत रूपमा तल उल्लिखित व्यक्तिलाई अग्रिम कर कट्टी गर्ने व्यक्तिको रूपमा लिइन्छ ।

क्र.सं भुक्तानी (आय) को किसिम अग्रिम कर कट्टी गर्ने व्यक्ति ऐनको दफा
नेपालमा स्रोत भएको रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको पारिश्रमिक पारिश्रमिक भुक्तानी गर्ने बासिन्दा रोजगारदाता ८७(१)
नेपालमा स्रोत भएको ब्याज प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिशन वा बिक्री बोनस र अवकाश भुक्तानी भुक्तानी गर्ने बासिन्दा व्यक्ति ८८(१)
ठेक्का वा करार बापत पचास हजार रुपैयाँभन्दा बढीको रकम भुक्तानी भुक्तानी गर्ने बासिन्दा व्यक्ति ८९(१)
आकस्मिक लाभ बापतको रकमको भुक्तानी भुक्तानी दिने व्यक्ति ८८क(१)

अग्रिम कर कट्टी गर्ने व्यक्ति खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १६.२.१

मानौं, नेपाल राष्ट्र बैंकमा नोट जलान गर्ने कार्यमा गठित समितिमा नेपाल सरकारको तर्फबाट जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि रहने व्यवस्था रहेछ । उक्त समितिको बैठकमा उपस्थित भए बापत बैठक भत्ता रु. २५०/- को व्यवस्था रहेछ । सोही व्यवस्था बमोजिम श्रीमती सुनयना स्वारलाई उक्त समितिमा उपस्थित भए बापत नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने बैठक भत्ता भुक्तानी रु.२५०/- मा ऐनको दफा ८८ अनुसार १५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी रकम रु.२१२ ५० निजलाई भुक्तानी गर्नुपर्ने हुन्छ। यस कार्यमा नेपाल राष्ट्र बैंकलाई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ ।

ऐनको दफा २ को खण्ड (ण) मा कर कट्टी हुने व्यक्तिलाई निम्नानुसार परिभाषित गरिएको छ

"कर कट्टी हुने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद - १७ बमोजिम कर कट्टी गरी भुक्तानी प्राप्त गर्ने वा भुक्तानी प्राप्त गर्ने अधिकार भएको व्यक्ति सम्झनु पर्छ ।

कर कट्टी हुने व्यक्ति भन्नाले भुक्तानी प्राप्त गर्दा स्रोतमा कर कट्टा भई भुक्तानी प्राप्त गर्ने व्यक्तिलाई जनाउँछ । कर कट्टी हुने व्यक्ति बासिन्दा वा गैर बासिन्दा जो सुकै हुन सक्तछ तर अवस्था अनुसार कर कट्टीको दर भने फरक हुन सक्तछ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएको छः

उदाहरण १६.२.२

माथि उदाहरण १६. २१ मा उल्लेख गरिएको उदाहरणमा अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु.२१२५० प्राप्त गर्ने श्रीमती सुनयना स्वांरलाई अग्रिम कर कट्टी हुने व्यक्ति भनिन्छ ।

१६.२.२ रोजगारदाताबाट कर कट्टी

ऐनको दफा ८७ मा रोजगारदाताबाट रोजगारीको आय भुक्तानीमा कर कट्टी सम्बन्धमा निम्नानुसारको व्यवस्था गरिएको छ :

(१) प्रत्येक बासिन्दा रोजगारदाताले रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको आयको गणना गर्दा समावेश गरिने नेपालमा स्रोत भएको कुनै रकम भुक्तानी गर्दा अनुसूची - १ बमोजिमको दरले हुने कर कट्टी गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कर कट्टी गर्नुपर्ने रोजगारदाताको दायित्व देहायको कारणले घट्ने वा समाप्त हुने छैन:
  (क) रोजगारदाताले उल्लिखित भुक्तानीबाट अन्य कुनै रकम कट्टी गर्ने वा रोक्का राख्ने वा घटाउने अधिकार वा कर्तव्य भएकोमा, वा(ख)
  (ख) अन्य प्रचलित कानुन बमोजिम कर्मचारी वा कामदारको रोजगारीबाट भएको आय घटाउन नपाउने भएकोमा ।

ऐनको दफा ८ अनुसार समावेश गरिने रोजगारीको आयमा छुट तथा सुविधा घटाई हुन आउने करयोग्य आयमा ऐनको अनुसूची १ मा उल्लेख गरिएको करको दर अनुसार हुन आउने कर दायित्वमा रोजगारदाताले भुक्तान गरेको औषधि उपचार बापतको कर मिलान (Medical Tax Credit)गरी सकेपछिको खुद कर रकमलाई दामासाहीले मासिक रूपमा निजको पारिश्रमिकबाट कट्टा गरी सम्बन्धित कार्यालयमा प्रत्येक महिना समाप्त भएको २५ गतेभित्र बुझाउनु पर्दछ । यसरी रोजगारीबाट भएको आयको कर दायित्व यकिन गरी कर कट्टा गर्ने दायित्व यस ऐनले रोजगारदातालाई तोकेको छ । यसरी कर दायित्व यकिन गर्ने प्रयोजनको लागि रोजगारदाताले पारिश्रमिक भुक्तानीबाट अन्य कुनै रकम (जस्तै, पेश्की बापत कट्टा गर्नुपर्ने रकम) घटाउन पाउने अधिकार भएतापनि रोजगारदाताको रोजगारीको आयमा कर कट्टी गर्ने दायित्व समाप्त हुदैन । यसको अलावा यो ऐन बाहेक अन्य प्रचलित कानुन बमोजिम रोजगारीको आय घटाउन नपाउने भनी तोकिएको भएतापनि रोजगारदाताको रोजगारीको आयमा कर कट्टी गर्ने दायित्व समाप्त हुने छैन । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएको छ ।

उदाहरण १६.२.३

मानौं, आर्थिक वर्ष २०७६ । ७७ मा नेपाल सेवा बैंक लि.को एक | कर्मचारीको मासिक पारिश्रमिक रु.५०,०००/- रहेछ । सो बैंकले निजको मासिक भुक्तानीमा नियमानुसार रु.४,५००/- कर कट्टा गर्नुपर्ने रहेछ । आषाढ २०७७ को | पारिश्रमिकबाट बैंकले निजले लिएको पेश्की बापत रु.४८,०००/- कट्टा गर्नुपर्ने रहेछ । अर्थात सो महिना निजले रु.२,०००/- मात्र नगद भुक्तानी प्राप्त गर्न सक्ने रहेछन् । यस अवस्थामा निजको पारिश्रमिक भुक्तानीबाट बैंकले पेश्की बापत रु.४८,०००/- कट्टा गर्न | सक्ने भए तापनि कर कट्टी गर्नुपर्ने दायित्वबाट सो बैंक उन्मुक्त हुन सक्दैन । यसरी | पेश्की रकम कट्टा गर्नु अगाडि नियमानुसार हुन आउने कर रु.४,५००/- कट्टा गरी सो रकम सम्बन्धित कार्यालयमा दाखिला गर्नुपर्ने हुन्छ ।

उदाहरण १६.२.४

मानौं, नेपाल सेवा बैंक लि.ले प्रमुख कार्यकारी अधिकृतलाई निजको | पारिश्रमिकमा कर नकाटी एकमुष्ट रूपले भुक्तानी गर्ने शर्तमा आर्थिक वर्ष २०७६ । ७७ को लागि वार्षिक रु.४०,००,०००/- पारिश्रमिक पाउने गरी नियुक्त गरेको रहेछ। सेवाको शर्त | बमोजिम बैंकले निजलाई पारिश्रमिक भुक्तानी गर्दा स्रोतमा कर कट्टा गर्न नसक्ने भए | तापनि सो बैंकले प्रमुख कार्यकारी अधिकृतको रोजगारीको आयमा कर कट्टी गर्ने दायित्व समाप्त हुने छैन र सो बैंकले निजलाई भुक्तान गर्ने पारिश्रमिकमा (निजको हैसियत प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी छनौट गर्ने दम्पत्ति मान्दा) निम्नानुसार निजको तर्फबाट बैंकले तिरेको करलाई समेत आय मानी कुल पारिश्रमिक (Backward Calculation ofGross Salary) गणना गरी सो बमोजिम हुन आउने रु.१७,९६,०९३।-कर कट्टी गरी दाखिला गर्नु पर्दछ ।

कुल रोजगारीको आय रु. ५७,९६,०९३
रु.४,५०,०००।- सम्म ( दम्पत्ति ) ४५०,००० १% ले ४,५००
त्यसपछिको पहिलो रु. १००,००० १०% ले १०,०००
त्यसपछिको २ लाखसम्म रु. २००,००० २०% ले ४०,०००
त्यसपछिको २० लाखसम्म रु १,२५०,००० ३०% ले ३७५,०००
बाँकी रु. ३,७९६,०९३ ३६% ले १,३६६,५९३
कुल कर रकम रु. १,७९६,०९३
कर पछिको पारिश्रमिक रकम रु. ४,०००,०००

ऐनको अनुसूची-१ को दफा १ (२) (ङ) अनुसार २० लाख रुपैयाँभन्दा बढी करयोग्य आय हुने व्यक्तिले बढी भएजतिको रकममा ३० प्रतिशत कर र सोमा २० प्रतिशतले अतिरिक्त कर लाग्ने व्यवस्था भए अनुरूप सो बढी भएजतिको रकममा करको गणना ३६ प्रतिशतले गरिएको । यसरी कर दायित्व पछाडिको पारिश्रमिक निर्धारण गर्दा निजलाई दिनुपर्ने जम्मा पारिश्रमिक बराबरको रकम आउने गरी कुल पारिश्रमिकमा आवश्यक कर दायित्व समेत समायोजन गर्नुपर्दछ ।

१६.२.३ रोजगारदाताले पारिश्रमिक भुक्तानीमा कर कट्टी गर्ने तरिका

रोजगारदाताले पारिश्रमिक भुक्तानीमा कर कट्टी गर्ने तरिकाका सम्बन्धमा आयकर नियमावलीको नियम ३१ मा निम्नानुसारको व्यवस्था रहेको छ :

३१: कुनै रोजगारदाताले ऐनको दफा ८७ को उपदफा (१) बमोजिम रोजगारीबाट अग्रिम कर कट्टी गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:
(क) ऐनको दफा ५१ बमोजिम औषधि उपचार बापत कर मिलान गर्न पाउने भए त्यसलाई मिलान गर्न सक्ने, र
(ख) कर्मचारी वा कामदारको वार्षिक पारिश्रमिकमा लाग्ने करको दामासाहीको हिसाबले मासिक रूपमा अग्रिम कर कट्टी गर्नुपर्ने ।

माथि उल्लेख गरिए अनुसार कुनै पनि रोजगारदाताले कर कट्टी गर्दा निम्नानुसार गर्नु पर्दछः
१. रोजगारदाताले कामदार वा कर्मचारीलाई आय वर्षको पहिलो भुक्तानी गर्नु अगावै सो कर्मचारी वा कामदारले प्राप्त गर्न सक्ने रकम गणना गरी रोजगारीको आयको निर्धारणयोग्य आय (अर्थात आयमा समावेश गर्नुपर्ने कुल रकम) यकिन गर्नुपर्दछ । शुरु अनुमान बमोजिम आय तथा कर निर्धारण गरी मासिक रूपले समानुपातिक आधारमा कट्टा गरिएको रकममा कुनै परिवर्तन भएमा त्यसरी फेरबदल भएको महिनाको पारिश्रमिक भुक्तानी गर्नु अगावै सो आयमा संशोधन गरी रोजगारीको आय यकिन गर्नु पर्दछ ।
२. ऐनको दफा ६३ को उपदफा (२) र नियम २१ अनुसार रोजगारदाताले भुक्तान गरी दिएको स्वीकृत अवकाश कोषमा गरेको योगदान भए सो रकम घटाउनु पर्दछ ।
३. दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी भए ऐनको अनुसूची-१ को दफा १ को उपदफा (५) बमोजिम दुर्गम भत्ता बापत तोकिएको रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ ।
४. ऐनको अनुसूची-१ को दफा १ को उपदफा (६) बमोजिम नेपालका विदेशस्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारी भए निजले प्राप्त गरेको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ ।
५. कुनै बासिन्दा कर्मचारी अपाङ्ग रहेछ भने ऐनको अनुसूची-१ को दफा १ को उपदफा (१०) बमोजिमको रकम (आ.व. २०७६।७७ मा एकल व्यक्ति भए रु.२,००,०००/- एवम् दम्पती भएमा रु.२,२५,०००/-) करयोग्य आयबाट घटाउनु पर्दछ ।
६. बासिन्दा कर्मचारीले लगानी बीमा (जस्तै, जीवन बीमा) गरेको भए ऐनको अनुसूची - १ को दफा १ को उपदफा (१२) बमोजिमरु. २५,०००/- वा भुक्तान गरिएको बीमा प्रिमियममध्ये जुन घटी हुन्छ सो रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ । त्यस्तै स्वास्थ्य बीमा गरेको भए ऐनको अनुसूची-१ को दफा १ को उपदफा (१६) बमोजिम रु.२० हजार वा भुक्तानी गरिएको प्रिमियममध्ये जुन घटी हुन्छ सो रकम निजको करयोग्य आयबाट घटाउन पाइन्छ ।
७. बासिन्दा कर्मचारी एकल व्यक्ति भए ऐनको अनुसूची -१ को दफा १ को उपदफा (१) एवम्एउटै प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी छनौट गर्ने दम्पत्ति भए उपदफा (२) अनुसार लाग्ने करको गणना गरी कर दायित्व यकिन गर्नु पर्दछ ।
८. गैर बासिन्दा कर्मचारी भए समदरमा २५ प्रतिशतको दरले करको गणना गर्नुपर्दछ ।
९. ऐनको अनुसूची-१ को दफा १ को उपदफा (११) बमोजिम कुनै बासिन्दा प्राकृतिक व्यक्ति रोजगारीको आय मात्र आर्जन गर्ने महिला रहिछिन् भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट दिई कर रकम यकिन गर्नुपर्दछ ।
१०. कर दायित्व यकिन भइसकेपछि बासिन्दा कर्मचारी वा कामदारको हकमा रोजगारदाताले भुक्तान गरेको दफा ५१ अनुसारको औषधोपचार कर मिलान गर्नुपर्दछ ।
११. कर मिलान पश्चात हुन आउने खुद कर दायित्वलाई १२ महिनाले वा नोकरी अवधि सोभन्दा कम भए सोही बमोजिम दामासाहीले भाग गर्दा हुन आउने कर दायित्व पारिश्रमिक भुक्तानीबाट कट्टा गरी सम्बन्धित कार्यालयमा बुझाउनु पर्दछ ।

पुनश्चः
१. एक पटकमा एउटा मात्र बासिन्दा रोजगारदाता भएको रोजगारी आय हुने व्यक्तिको कर रोजगारदाताले कट्टा गरेको रकममात्र हुने भएकाले आय वर्षको बीचमा रोजगारदाता परिवर्तन गरेका व्यक्तिले अघिल्लो रोजगारदाताबाट प्राप्त गरेको रकम र भुक्तानीमा कट्टा गरेको रकम उल्लेख भएको विवरण दफा ९१ बमोजिमको प्रमाणपत्र नयाँ रोगजारदातासमक्ष पेश गर्नु पर्दछ । नयाँ रोजगारदाताले पनि सो आय वर्षको भुक्तानीमा कर कट्टा गर्दा सो विवरण अनुसार समायोजन गर्नु पर्दछ ।
२. रोजगारीको आय आर्जन गर्ने व्यक्तिको रोजगारीको आयबाहेक निवृत्तिभरण आय समेत भएमा, रोजगारीको आयका साथै व्यवसाय वा लगानी वा दुवैको आय भएमा, एक पटकमा एक भन्दा बढी रोजगारदाता भएमा, गैर बासिन्दा रोजगारदाताबाट आय प्राप्त गर्ने भएमा ऐनको दफा १२ बमोजिमको चन्दा खर्च छुट दाबी गर्ने भएमा वा रोजगारदाताले जम्मा गरिदिएको अवकाश योगदान बाहेक थप अवकाश योगदान बापत छुट दाबी गर्न परेमा सम्बन्धित कार्यालय समक्ष आय विवरण दाखिला गर्नु पर्दछ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएको छः

उदाहरण १६.२.५

मानौ, देवेश खड्का भन्ने एकल व्यक्ति World and Nepal भन्ने एक संस्थामा ६ महिनाको Contract मा २०७६ भाद्र १ देखि २०७६ माघ मसान्तसम्म | कार्यरत रहेछन् । उक्त संस्थाले सो अवधिमा निम्नानुसारको भुक्तानी गरेको रहेछ ।

  • तलब मासिक रु.१,००,०००/-
  • निजलाई कार्यालय तथा व्यक्तिगत प्रयोजनको लागि एक ड्राइभरसहितको कार उपलब्ध गराएको रहेछ ।

सो संस्थाले भुक्तानी गरेको रकममा नियमानुसारले मासिक रूपमा कर कट्टा गरी सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ ।

विवरण - रकम रु.
तलब - ६,००,०००/-
गाडी सुबिधा - ३,०००/-
रोजगारीको निर्धारणयोग्य आय - ६,०३,०००/-
छुट रकम - -
करयोग्य आय - ६,०३,०००/-
करको गणना - -
रु.४,००,००० मा १% ले ४,०००/- -
रु.१,००,००० मा १०% ले १०,०००/- -
बाँकी रु.१,०३,००० मा २०% ले २०,६००/- -
जम्मा कर दायित्व - ३४,६००/-
प्रति महिना कर दायित्व (३४,६००/६) - ५,७६६

सो संस्थाले निजको मासिक तलवबाट रु. ५, ७६६ - कर कट्टा गरी अर्को महिनाको २५ गते भित्र सम्बन्धित कार्यालयमा बुझाउनु पर्दछ ।

उदाहरण १६.२.६

मानौ, भाई राजा भन्ने व्यक्ति कुनै एक वाणिज्य बैंकमा प्रबन्धकको | रूपमा कार्य गर्दै आएका रहेछन् । निजले आ.व. २०७६/७७ मा निम्नानुसारको आय रोजगारदाताबाट प्राप्त गरेका रहेछन् । तलब मासिक रु.१,६०,०००/- दशै खर्च रु.१,६०,०००/- शैक्षिक भत्ता रु.५,०००/- प्रति महिना महँगी भत्ता रु.५,०००/- प्रति महिना बोनस रु.२,००,०००/-

  • निजलाई कार्यालय तथा व्यक्तिगत प्रयोजनको लागि एक ड्राइभरसहितको कार उपलब्ध गराएको रहेछ । ड्राइभरको मासिक तलब तथा भत्ता रु.२०,०००/- बैंकले नै भुक्तानी गर्दो रहेछ । उक्त मुख्य प्रबन्धकको गाडीको लागि मासिक पेट्रोल खर्च सरदर रु.२०,०००/- लाग्दो रहेछ र सो कारको लागि आ.व. २०७६ । ७७ मा रु.४०,०००/- को मर्मत खर्च लागेको रहेछ। यी रकमको भुक्तानी बैंकले नै गर्दो रहेछ ।
  • निजलाई कार्यालयको आवास व्यवस्था समेत उपलब्ध गराइएको छ । निजलाई निजको आवासमा जडान गरिएको टेलिफोन खर्च बापत रु.५,०००/- प्रति महिना कार्यालयले उपलब्ध गराउने गरेको रहेछ, सोमध्ये व्यक्तिगत खर्च ५०% ।
  • निजको आवासमा रेखदेख गर्नको लागि एकजना सेक्यूरिटी गार्ड उपलब्ध गराएको र निज गार्डलाई प्रति महिना रु.२०,०००।- उपलब्ध गराएको रहेछ र गार्ड प्रयोग गरेबापत निज प्रबन्धकको मासिक तलबबाट रु.५,०००/- कट्टा गर्ने गरिएको रहेछ ।
  • निजले आवास ऋण बापत कार्यालयबाट ५% दरले ब्याज तिर्ने गरी रु.३०,००,०००।- को कर्जा वर्षभरि उपभोग गरेका रहेछन् । उक्त संस्थाले यस्तै किसिमको कर्जा अन्य ऋणीलाई दिँदा औसत ८% का दरले ब्याज लिने गरेको रहेछ ।
  • निजले २०७६ मंसिरमा घर बिदा बापत एक महिनाको तलब पनि प्राप्त गरेका रहेछन् । कार्यालयले निजले खाइपाई आएको तलबको १०% र सोमा त्यत्तिनै रकम थप गरी कर्मचारी सञ्चय कोष (स्वीकृत अवकाश कोष) मा जम्मा गरिदिने गरेको र निजको सहमतिमा कार्यालयले नागरिक लगानी कोषमा प्रति महिना रु.२०,०००/- का दरले जम्मा गर्ने गरेको रहेछ ।
  • निजले आफ्नो लागि रु.२,५०,०००/- को र आफ्नो श्रीमतीको लागि रु.१,५०,०००।- को जीवन बीमा नेपाल बीमा संस्थानमा गरेका रहेछन् र सो बापतको प्रिमियम सो आ.व.मा क्रमशः रु.१९,०००/- तथा १४,०००।- तिरेका रहेछन् ।
  • निजले २०७५ को श्रावण महिनामा त्रि.वि.शिक्षण अस्पतालमा स्वास्थ्योपचारमा रु.२०,०००।- खर्च गरेका रहेछन् ।
  • निज र निजकी श्रीमतीले सो आ.व. मा दम्पती हुनको लागि छनौट गरेका रहेछन् र सो आ.व.मा निजकी श्रीमतीको कुनै आय रहेनछ ।

निजको निर्धारणयोग्य आय, करयोग्य आयको गणना निम्नानुसार गर्नु पर्दछ ।

विवरण - रकम रू.
तलब (१,६०,०००X१२) - १९,२०,०००/-
दशैं खर्च - १,६०,०००/-
शैक्षिक भत्ता (५,०००x१२) - ६०,०००/-
महंगी भत्ता (५,०००X१२) - ६०,०००/-
बोनस - २,००,०००/-
गाडी सुविधा (१९,२०,०००X०.५%) - ९,६००/-
ड्राइभरको तलब भत्ता (तल नोटमा उल्लेख) - नलाग्ने
पेट्रोल खर्च (तल नोटमा उल्लेख) - नलाग्ने
मर्मत खर्च (तल नोटमा उल्लेख ) - नलाग्ने
आवास सुविधा (१९,२०,०००x२%) - ३८,४००/-
टेलिफोन खर्च (५,०००X१२९५०%) - ३०,०००/-
गार्ड खर्च (२०,०००-५०००)x१२ - १,८०,०००/-
व्याज खर्च (८%-५%)x९३०,००,००० - ९०,०००/-
घर विदावापत प्राप्त रकम - १,६०,०००/-
अवकाश कोषमा योगदान रू. - १,९२,०००/-
रोजगारीको निर्धारणयोग्य आय रू. - ३१,००,०००/-
छुट रकम - -
छुट पाउने अवकाश योगदान रु. - ३,००,०००/-
सञ्चयकोषमा जम्मा गरेको रु. १,९२,०००/- -
रोजगारकर्ताको पारिश्रमिकबाट कट्टा गरी सञ्चयकोषमा जम्मा गरेको रु. १,९२,०००/- -
रोजगारदाताले रोजगारकर्ताको सहमतिमा नागरिक लगानी कोषमा जम्मा गरेको रु. २,४०,०००/- -
जम्मा अवकाश योगदान रु. ६,२४,०००/- -
निर्धारणयोग्य आयको एक तिहाई रु. १०,३३,३३३।३३ -
अधिकतम सीमा रु. ३,००,०००/- -
करयोग्य आय रु. - २८,००,०००/-
जीवन बीमा प्रिमियम बापत घटाउन पाउने रु. - (२५,०००/-)
आफनो र आफनो श्रीमतिको लागि तिरेको प्रिमियम रु. ३३,०००/- -
अधिकतम सीमा रु. २५,०००/- -
करयोग्य आय (करको गणनाको लागि) - २७,७५,०००/-
करको गणना - -
रु.४,५०,०००।- सम्म १% ४,५००/- -
रु.१,००,०००/- मा १०% १०,०००/- -
बाँकी रु.२,००,०००/- मा २०% ४०,०००/- -
बाँकी रु.१२,५०,००० मा ३०% ३,७५,०००/- -
बाँकी रु. ७,७५,०००/- मा ३६% २,७९,०००/- -
जम्मा रु. - -
न्यून औषधि खर्च मिलान रु. ७५०/- -
जम्मा कर दायित्व रु. - ७,०८,५००/-
प्रति महिना कर दायित्व रु. ७,०७,७५०/१२ ५८,९७९/१६

निजको मासिक तलबबाट रु.५८, ९७९ १६ कर कट्टा गरी अर्को महिनाको २५ गतेभित्र सम्बन्धित कार्यालयमा बुझाउनु पर्दछ ।

नोट: गाडी सुविधा बापत दफा २७ (१) (ख) बमोजिम तलबको ०.५% हुने रकम आयमा समावेश गरेकोले सोही सुविधा अन्तर्गतका अन्य रकम समावेश गर्नु नपर्ने ।

एक पटकमा एउटा मात्रै बासिन्दा रोजगारदाता भएको र कर्मचारी वा कामदारको रोजगारीको आय नेपाल स्रोत भएको रोजगारीबाट मात्रै भएको र रोजगारदाताले भुक्तानी गरेको औषधोपचार खर्च वा अवकाश योगदान बाहेक अन्य खर्च वा कर मिलान दाबी नभएको कर्मचारीको हकमा दफा ८७ अनुसार रोजगारदाताबाट कर कट्टा गरेको रकम नै अन्तिम कर मानिने हुँदा उक्त रकम सम्बन्धित कार्यालयमा दाखिला गरेमा यस ऐनको दफा ३ को खण्ड (ग) मा उल्लेख भए बमोजिमको व्यक्तिले कर दायित्व पूरा गरेको मानिन्छ । त्यस्तो व्यक्तिले आय विवरण बुझाउनु पर्दैन र रोजगारदाताले कट्टा गरी जम्मा गरिदिएको कर रकम नै अन्तिम हुनेछ ।

रोजगारी आय हुने रोजगारकर्तालेव्यक्तिगत स्थायी लेखा नम्बर (Personnel Permanent Account Number (P-PAN)) लिनुपर्ने र रोजगारदाताले रोजगारकर्तालाई पारिश्रमिक भुक्तानी गर्दा स्रोतमा कर कट्टी गरेको रकम सम्बन्धित कार्यालयमा दाखिला गर्दा उक्त रोजगारकर्ताको स्थायी लेखा नम्बर समेत उल्लेखगरीE-TDS मार्फत विवरण दाखिला गर्नु पर्नेछ ।

१६.२.४ लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी

ऐनको दफा ८८ मा लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा भुक्तानीमा कर कट्टी सम्बन्धी निम्नानुसारको प्रावधानको व्यवस्था गरेको छ :

८८(१) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको ब्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिशन, बिक्री बोनस, अवकाश भुक्तानी, रअन्य कुनै प्रतिफलको रकमभुक्तानी गर्दा कुल भुक्तानी रकमको पन्ध्र प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ

बासिन्दा व्यक्ति भन्नाले प्राकृतिक व्यक्तिको हकमा सामान्य बसोबासको स्थान नेपालमा रहेको वा अविछिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको वा नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको जुनसुकै अवस्था भएपनि त्यस्तो व्यक्तिलाई नेपालको बासिन्दा मानिन्छ । त्यस्तै निकायको (अन्य व्यक्ति) हकमा सामान्यतयाः नेपालमा दर्ता भएको निकायलाई जनाउँदछ ।

त्यस्तै नेपालमा स्रोत भएको भुक्तानी भन्नाले नेपालमा रहेको सम्पत्ति बापत वा सम्पत्ति प्रयोग बापत भुक्तानी, नेपालमा गरेको दायित्व बापतको भुक्तानी वा नेपालमा आधार रहेको कारोबारबाट प्राप्त भुक्तानीलाई सामान्यतयाः नेपाल स्रोत भएको भुक्तानी मानिन्छ ।

ऐनको दफा २ को खण्ड (श) बमोजिम “प्राकृतिक स्रोत बापतको भुक्तानी” भन्नाले देहायको कुनै भुक्तानीको रकम सम्झनु पर्छ:
(१) जमिनबाट पानी, खनिज पदार्थ वा अन्य जीवित वा निर्जीव स्रोत निकाल्ने अधिकार प्राप्त गरेबापतको भुक्तानी, वा
(२) जमिनबाट समग्र वा आंशिक रूपमा निकालिएको प्राकृतिक स्रोत र खनिज पदार्थको जीवित वा निर्जीव स्रोतको परिमाण वा मूल्यका आधारबाट गणना गरिएको रकम ।
ऐनको दफा २ को खण्ड (कम) बमोजिम “सेवा शुल्क" भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवा बापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्झनु पर्छ र सो शब्दले बैठक भत्ता, व्यवस्थापन शुल्क वा प्राविधिक सेवा शुल्कलाई समेत जनाउँछ ।

उदाहरणको लागि परामर्शदातालाई निजले सेवा उपलब्ध गराए बापत दिइने भुक्तानी (Consultancy Fee), लेखापरीक्षण सेवा उपलब्ध गराए बापत लेखापरीक्षकलाई दिइने पारिश्रमिक सेवा शुल्क हुन्छ । तर आन्तरिक लेखापरीक्षक भुक्तानीकर्ताको कर्मचारी भए निजलाई दिइने पारिश्रमिक भने रोजगारी अन्तर्गत पर्दछ ।

कर छुट भएको गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, कुनै नियोग, कार्यालय वा अन्य कुनै संस्थाले आफूलाई कुनै प्रतिफल प्राप्त नहुने कार्यको लागि स्थानीय रूपमा दिएको अनुदान (Local Subsidy), परामर्श सम्बन्धी सम्झौता (Consulting Contract) वा अन्य कुनै सम्झौता (Contract) को रूपमा सेवा सम्बन्धि सम्झौता गरी रकम भुक्तानी गर्दा निम्नानुसार गर्नुपर्छः
(१) कर छुटको प्रमाणपत्र पेश गरेको संस्थालाई सो संस्थाको उद्देश्य अनुसारको कार्यक्रम सञ्चालन गर्न प्रतिफलको आस नगरी अनुदान भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्नु पर्दैन । यस्को अर्थ भुक्तानीकर्ताले कर छुट पाएको संस्थालाई भुक्तानी गरेको हुनुपर्छ, भुक्तानीकर्ताले कुनै किसिमको प्रतिफलको आस गरेको वा कुनै प्रतिफल प्राप्त गरेको हुनु हुदैन, भुक्तानीको स्वरूप अनुदानको रूपमा हुनुपर्छ र यस्तो भुक्तानी सो कर छुट पाएको संस्थाको उद्देश्य अनुसारको कार्य सञ्चालन गर्नको लागि गरिएको हुनुपर्दछ । यी सबै शर्त पूरा भए मात्र भुक्तानीको अवस्थामा कर कट्टी गर्नु पर्दैन ।
(२) कर छुटको प्रमाणपत्र पेश गरे पनि माथि खण्ड (१) मा उल्लिखित कुनै शर्त पुरा नभएको भुक्तानी गर्दा वा कर छुटको प्रमाणपत्र पेश नगर्ने संस्थालाई भुक्तानी गर्दा वा अन्य कुनै व्यक्तिलाई भुक्तानी गर्दा निम्नानुसार गर्नुपर्दछः
• भुक्तानीकर्ताको तर्फबाट हुने खर्चको बिल भौचर र खर्चको प्रमाण पेश गरेपछि सोधभर्ना गर्ने वा हिसाव फछ्यौट गर्ने रकमको हकमा यस्तो रकम भुक्तानी प्राप्त गर्ने संस्था वा व्यक्तिको आम्दानी हुने नभई भुक्तानीकर्ताको तर्फबाट हुने खर्च भएकोले यस्तो भुक्तानीमा अग्रिम कर कट्टी गर्नु पर्दैन ।
• तर खर्चको सोधभर्ना गर्दा वा हिसाबफछ्र्यौट गर्दा सम्झौता गर्ने अर्को पक्षले आयकर ऐन, २०५८ बमोजिम कर कट्टी गर्नुपर्ने भुक्तानी गरे नगरेको र गरेको भए सो भुक्तानीमा कर कट्टी गरे नगरेको यकिन गर्नुपर्छ ।
• कर कट्टी गरेको भए कर कट्टी गरेको रकम राजस्वमा दाखिला गरेको निस्सा पेश गराउने, कर कट्टी नगरेको भए कट्टी गरी राजस्वमा दाखिला गराउनुपर्दछ।

उदाहरणको लागि कुनै कर छुट भएको गैर सरकारी संस्थाले कुनै तालिम सञ्चालन गर्न कुनै परामर्शदातासँग सम्झौता गरेको रहेछ । सो सम्झौता अनुसार सो परामर्शदातालाई सो संस्थाले परामर्शदाताको सेवा शुल्कका अतिरिक्त सहभागीलाई वितरण गर्ने मसलन्द, सहभागीको खाना खर्च, तालिम सञ्चालन गर्न हलभाडाआदि संस्थाले खर्च गर्नुपर्ने रकम बिल भौचर पेश गरी फछ्यौट गर्ने गरी परामर्शदातालाई भुक्तानी दिनुपर्ने रहेछ । यस्तो अवस्थामा सो संस्थाले सो परामर्शदातालाई भुक्तानी गरेको सेवाशुल्कमा अग्रिम कर कट्टी गर्नु पर्छ । सो संस्थाको तर्फबाट परामर्शदाताले गरेको मसलन्द, सहभागीको खाना खर्च आदिबापतको बिलबमोजिम भुक्तानी गर्ने वास्तविक खर्चको भुक्तानीमा भने कर कट्टी गर्नु पर्दैन । हिसाव फछ्यौट गर्दा हल भाडा जस्ता कर कट्टी हुनुपर्ने भुक्तानीमा भने कर कट्टी गराई राजस्वमा दाखिला गराउनु पर्छ ।

परामर्श दिने वा सेवा उपलब्ध गराउने व्यक्तिले परामर्श दिने वा सेवा उपलब्ध गराउने कार्यको लागि सेवा शुल्क गणना गर्दा सेवा शुल्कको अतिरिक्त रात्री भत्ता, होटल खर्च आदि शीर्षक समावेश गरी कुल प्राप्त गर्ने सेवा शुल्कको गणना भएको छ भने सेवा प्रदान गर्ने व्यक्तिले सेवा प्रदान गर्ने सन्दर्भमा भएका त्यस्ता खर्च सेवा प्रदान गर्ने व्यक्तिको खर्च भएतापनि सो कटाई सेवा शुल्क गणना गर्न पाईंदैन । निजले सेवा उपलब्ध गराउँदा तेश्रो पक्षलाई भुक्तानी भएको भए तापनि सेवा उपलब्ध गराउने व्यक्तिले खर्च मात्र गर्दछ र बिल भर्पाइ पेश गरी सेवा पाउने व्यक्तिबाट भुक्तानी प्राप्त गर्दछ भने मात्र सो वास्तविक रकमको भुक्तानीमा अग्रिम कर कट्टी गर्नु पर्दैन । सेवा प्रदायकले सेवा प्रदान गर्ने सम्बन्धमा विभिन्न शीर्षक कटाई प्राप्त गरेको छ भने पनि सोलाई एकमुष्ट सेवा शुल्क भुक्तानी मानी अग्रिम कर कट्टी गर्नु पर्दछ ।

उदाहरणको लागि कुनै गैर सरकारी संस्थाले कुनै तालिम सञ्चालन गर्न कुनै परामर्शदातासँग सम्झौता गरेको रहेछ । सो सम्झौता अनुसार सो परामर्शदातालाई सो संस्थाले परामर्शदाताको सेवा शुल्कका अतिरिक्त सो परामर्शदाताले आफ्नो लागि वा आफ्नो कर्मचारी वा प्रतिनिधिको लागि खर्च गर्नुपर्ने हवाई भाडा, होटल खर्च, दैनिक खर्च आदिको लागि बेग्लै शीर्षक अन्तर्गत भुक्तानी गर्ने रहेछ भने यस्तो खर्च बापतका भुक्तानी सेवा शुल्कको अंश हुने हुँदा सेवा शुल्कमा समावेश गरी अग्रिम कर कट्टी गर्नुपर्छ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.७

मानौं, नेपाल सरकार स्वास्थ्य सेवा विभागले स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यको लागि एक प्रा.लि. लाई रु.४०,०००/- भुक्तान गरेको रहेछ । यसको अलावा उक्त प्रा. लि. का कर्मचारीलाई हवाई भाडा, होटल खर्च, दैनिक खर्च आदिबापतरु.२०,०००।- भुक्तान गरेको रहेछ । यसरी सेवा शुल्क बाहेक प्रा.लि.का कर्मचारीको लागि भुक्तानी गरेको हवाई भाडा, होटल खर्च आदिलाई समेत सेवा शुल्कको अंश मानी कर कट्टी गर्नुपर्ने हुँदा जम्मा रु.६०,०००/- मा नै अग्रिम कर कट्टी गर्नुपर्छ । त्यस्तो भुक्तानी सेवा शुल्क भएको हुँदा सो भुक्तानीमा मू.अ.करमा दर्ता नभएको भए १५ प्रतिशतले कर कट्टी गर्नुपर्ने हुन्छ भने मू.अ.कर मा दर्ता भएको भए १.५ प्रतिशतले कर कट्टी गर्नुपर्ने हुन्छ ।

तर उक्तजनचेतनामूलक कार्यका लागि उक्त प्रा.लि.को कर्मचारीलाई नखटाई विभागको कर्मचारी खटाउने र उक्त खटिएका कर्मचारीलाई बिल भर्पाई पेश गरिसकेपछि वास्तविकताका आधारमा उक्त प्रा.लि.का तर्फबाट रु.२०,०००/- स्वास्थ्य सेवा विभागले कर्मचारीलाई भुक्तानी दिने रहेछ भने उक्त रकम प्रा. लि. लाई भुक्तानी भए तापनि अग्रिम कर कट्टी गर्नु पर्दैन ।

उदाहरण १६.२.८

मानौं माथि उदाहरण १६.२.७ मा उल्लिखित सेवाको लागि नेपाल सरकार स्वास्थ्य सेवा विभागले स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्य गर्ने TaxExempt NGOलाई बिल भर्पाई पेश गर्नुपर्ने गरी अनुदान दिएको रहेछ भने त्यस्तो भुक्तानीमा ऐनको दफा ८८ ( ४ ) (ग) बमोजिम कर कट्टी गर्नु पर्दैन ।

उदाहरण १६.२.९

मानौं, कुनै कर छुट भएको अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कुनै जिल्लामा आफ्नो उद्देश्य अनुसारको कार्यक्रम “The Promotion of Local Product of the Region लाई सहयोग र समन्वय गराउन च्याम्वर भवनमा सो संस्थाको सम्पर्क कार्यालय स्थापना गर्न च्याम्बर अफ कमर्शको स्थानीय निकायसँग स्थानीय अनुदान (Local Subsidy) को रूपमा तीन वर्षका लागि निम्नानुसारको खर्च गर्ने गरी सम्झौंता गरेको रहेछ । उक्त सम्पर्क कार्यालयका कर्मचारीले | कार्यक्रम सञ्चालन गर्दा उक्त INGOप्रति जिम्मेवार हुने रहेछन् । (मानौं, उक्त च्याम्बर अफ कमर्शले स्थानीय प्रशासनमा गैर सरकारी संस्थाको रूपमा दर्ता गराएको, तर कार्यालयमा कर छुट पाउने संस्थाको रूपमा दर्ता भई कर छुटको प्रमाणपत्र प्राप्त गरेको रहेनछ)

  • कार्यक्रम संयोजक (बढीमा रु.१४,०००/- प्रति महिना INGO लाई भर्पाई पेश गर्नुपर्ने) लाई ३ वर्षका लागि रु. ५,०४,०००/-
  • कार्यालय प्रबन्धक (बढीमा रु.१४,०००/- प्रति महिना INGO लाई भर्पाई पेश गर्नुपर्ने) लाई ३ वर्षका लागि रु. ५,०४,०००/-
  • सवारी चालक (बढीमा रु.८,०००/- प्रति महिना INGO लाई भर्पाई पेश गर्नुपर्ने) लाई ३ वर्षका लागि रु. २,८८,०००/-

कार्यालय भाडा, सामान खर्च

  • कार्यालयको लागि कोठा भाडा (प्रति महिना रु.१०,०००/- का दरले २ कोठाको बिल पेश गर्नुपर्ने) रु. ३,६०,०००/-
  • बिजुली पानी (प्रति महिना रु.१,५००/- का दरले बिल पेश गर्नुपर्ने) रु. ५४,०००/-
  • कार्यालय सरसफाई (प्रति महिना रु.१,५००/- का दरले बिल पेश गर्नुपर्ने) रु. ५४,०००
  • टेलिफोन महसुल (प्रति महिना बढीमा रु.३,०००/- बिल पेश गर्नुपर्ने) रु. १,०८,०००।-
  • ईण्टरनेट महसुल (प्रति महिना बढीमा रु.१,५००/- बिल पेश गर्नुपर्ने) रु. ५४,०००/-

कार्यालय सञ्चालन खर्च

  • चिया, कफी, खानेपानी (प्रति महिना रु. २,७००।- का दरले बिल पेश गर्नुपर्ने) रु. ९७,२००/-
  • विविध खर्च (प्रति महिना बढीमा रु.५,००० INGO को नियम बमोजिम खर्च गरी बिल पेश गर्नुपर्ने) रु. १,८०,०००/-
  • अफिस ओभरहेड (बिल पेश गर्नु नपर्ने) रु. २,५४,१००/-
  • जम्मा खर्च रु. २४,५७,३००
  • जिन्सीको रूपमा च्याम्बरको सहभागिता हुने रु. ४,५०,०००/-

यस सम्बन्धमा उक्त INGO ले भुक्तान गर्ने रकमका सम्बन्धमा निम्नानुसार हुन्छ । कर छुट हुने संस्थाको रूपमा दर्ता भएको उक्त INGO ले आफ्नो सम्पर्क कार्यालय सञ्चालन गर्न कर छुट हुने संस्थाको रूपमा दर्ता नभएको च्याम्बर (NGO) लाई भुक्तानी | गर्दा सो INGO लाई खर्चको सक्कल भर्पाई पेश गर्नुपर्ने भुक्तानीमा अग्रिम कर कट्टी गर्नु पर्दैन तर खर्चको सोधभर्ना गर्दा वा हिसाब फछ्यौट गर्दा सम्झौता गर्ने अर्को पक्षले आयकर ऐन, २०५८ बमोजिम कर कट्टी गर्नुपर्ने भुक्तानी गरे नगरेको र गरेको भए सो भुक्तानीमा कर कट्टी गरे नगरेको यकिन गर्नुपर्छ । बिल पेश गर्नु नपर्ने अफिस ओभरहेड खर्चको भुक्तानीमाभने यो खर्च INGO को नभई च्याम्बरको आम्दानी भएकोले करछुट हुने संस्थाको रूपमा दर्ता नभएको उक्त च्याम्बरलाई भुक्तानी गर्दा कर कट्टी गर्नु पर्छ ।

उदाहरण १६.२.१०

मानौं गरिबी निवारणमा सहयोग गर्ने उद्देश्य भई र प्रमाणपत्र प्राप्त गरेको कुनै गैर सरकारी संस्थालाई कुनै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कुनै प्रतिफलको आस नगरी गरिबीको रेखामुनी रहेकाको आय वृद्धिसम्बन्धी तालीम सञ्चालन गरी बिल भर्पाईको आधारमा हिसाब फर्छौट गर्ने गरी Local Subsidy वा Consulting Contract को रूपमा बढीमा निम्नानुसारको खर्च गर्ने गरी सम्झौता गरेको रहेछ:

कार्यालय सञ्चालन खर्च रु.६,३१,०००/-
कार्यक्रम सञ्चालन खर्च रु.१,७६,०००/-
रिसोर्स पर्सनलाई भत्ता रु.५०,०००/-
सहभागीलाई यातायात खर्च रु.१,०००/-
हल भाडा रु.४,०००/-
सहभागीलाई खाना खर्च रु.३०,०००/-
मसलन्द लगायत अन्य खर्च रु.७१,०००/-
ट्रेनिङ मेटेरियल उत्पादन रु.३,००,०००/-
जम्मा रु. ११,०७,०००/-

उपर्युक्त सम्झौंता बमोजिम कर छुटको प्रमाणपत्र प्राप्त NGO लाई NGO को उद्देश्य अनुसारको कार्य गर्न खर्च गरेको बिलबमोजिम हिसाबफछ्र्यौट गरी भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्नु पर्दैन । तर, NGO ले खर्च गर्दा भने आयकर ऐन, २०५८ बमोजिम कर कट्टी गरी भुक्तानी गर्नुपर्ने रकममा कर कट्टी गर्नु पर्छ ।

उदाहरण १६.२.१२

मानौं, गाउँ सेवा परिवार नामक गैह्र सरकारी संस्था (NGO) ले नेपालगञ्जमा तालिम सञ्चालन गर्नको लागि काठमाडौं बस्ने परामर्शदाता हरिश माथेमालाई निम्नानुसारको खर्च गर्ने अख्तियारी प्रदान गरी पारिश्रमिक तथा दैनिक भत्ता बाहेकको बिल भर्पाई पेश भएपछि भुक्तानी दिने गरी करार / सम्झौता गरेको रहेछ ।

ऐनको दफा ८८ को उपदफा (१) मा उल्लेख भए बमोजिम लगानी वा प्रतिफलको भुक्तानीमा १५ प्रतिशतले कर कट्टी गर्नुपर्ने उल्लेख भएतापनि देहायका भुक्तानीमा देहायका दरले कर कट्टी गर्नु पर्नेछ :-

अवकाश भुक्तानीमा कर कट्टी: अवकाश भुक्तानी भन्नाले प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिइने भुक्तानी वा प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिइने भुक्तानीलाई जनाउँछ । यस अर्थमा प्राकृतिक व्यक्ति कुनै कर्मचारी भएमा निजले रोजगारीबाट अवकाश पाएको अवस्थामा वा निजको मृत्यु भएको अवस्थामा दिइने भुक्तानी अवकाश भुक्तानी हुन्छ र सो व्यक्ति कुनै व्यवसायी वा लगानीकर्ता भएमा निजको उमेर अन्ठाउन्न वर्ष पुगेमा वा निजको मृत्यु भएमा वा निज स्थायी रूपमा अपाङ्ग भएमा गरिने भुक्तानी अवकाश भुक्तानी हुन्छ । अग्रिम कर कट्टी प्रयोजनको लागि अवकाश भुक्तानीलाई निम्नानुसारका शीर्षकमा विभाजन गर्नुपर्छ

  • नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको अवकाश भुक्तानी,
  • स्वीकृत नलिएको अवकाश कोषबाट भएको अवकाश भुक्तानी,
  • अन्य कोषबाट भएको अवकाश भुक्तानी र
  • अन्य अवकाश भुक्तानी

८८(१)(१) नेपाल सरकारबाट भएको अवकाश भुक्तानी वा स्वीकृत अवकाश कोषबाट भएको योगदानमा आधारित अवकाश भुक्तानीको हकमा दफा ६५ को उपदफा (१) को खण्ड (ख) बमोजिम गणना गरिएको लाभमा पाँच प्रतिशतका दरले,

नेपाल सरकारको सेवाबाट कामदार वा कर्मचारीको अवकाश हुँदा गरिने उपदान, बिदा बापतको रकम लगायतका अवकाश भुक्तानीका साथै स्वीकृत अवकाश कोषबाटयोगदानमा आधारित भुक्तानी गर्दा सो भुक्तानी रकमको ५० प्रतिशत वा रु. ५ लाखमध्ये जुन बढी हुन्छ सो रकम घटाई बाँकी हुन आउने लाभमा ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी दिनु पर्दछ । यस दफामा भएको व्यवस्था बमोजिम नेपाल सरकार र स्वीकृत अवकाश कोषबाटभएको योगदानमा आधारितहुने भुक्तानी बाहेक अन्य बासिन्दा व्यक्तिले गर्ने अवकाश भुक्तानीमा भने १५ प्रतिशतका दरले कर कट्टा गरी भुक्तानी दिनु पर्दछ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएको छः

उदाहरण १६.२.१३

मानौं, हरि प्रसाद काफ्ले ने.बैं.लि. मा २०४४ बैशाख १ गते सहायकस्तरमा नियुक्त भएका रहेछन् । निज२०७५ जेष्ठ १ गते सेवाबाट निवृत्त भए । निवृत्त हुँदाका अवस्थामा निजले निम्नानुसारका रकम प्राप्त गरेका रहेछन् । (१) सञ्चय कोष २०५८ चैत्र १८ गतेसम्म साँवा रु. ४००,००० (२) सञ्चय कोष २०५८ चैत्र १९ गते देखि २०७५ बैशाखमसान्त सम्मको साँवा रु.५००,००० (३) सञ्चय कोष २०५८ चैत्र १८ गतेसम्म ब्याज रु.५००,००० (४) सञ्चय कोष २०५८ चैत्र १९ गते देखि २०७५ बैशाख १,५०,००० मसान्तसम्मको ब्याज रु. सञ्चयकोष बापत जम्मा प्राप्त गर्ने रकम रु. १५,००,०००

आयकर नियमावली, २०५९ को नियम २० को उपनियम (६)(क) अनुसार निजको कर छुट हुने रकमको गणना निम्नानुसार गर्नु पर्दछ । ऐन लागू हुनुभन्दा पूर्वको सञ्चयकोष साँवा रु. ४००,००० ऐन लागू हुनुभन्दा पूर्वको सञ्चयकोष ब्याज रु. १५०,००० छुट हुने सञ्चय कोष रकम रु. ५५०,०००

ऐन लागू भैसके पश्चातको अवकाश भुक्तानीको गणना निम्नानुसार गर्नुपर्दछ । ऐन लागू पश्चातको सञ्चयकोष (अवकाश कोष) रकम रु. ८००,००० ऐन लागू पश्चात सञ्चयकोष (अवकाश कोष) मा ब्याज रु. १५०,००० जम्मा सञ्चय कोष रकम रु. ९५०,०००

ऐन लागू भैसके पश्चात सञ्चयकोष रकम समेतलाई अवकाश कोष भनिन्छ, यदि उक्त अवकाश कोष स्वीकृत अवकाश कोष भएको अवस्थामा सो कोषबाट गरिने भुक्तानीलाई कर प्रयोजनको लागि निम्नानुसार गणना गर्नुपर्दछ ।

ऐन लागू भएपश्चात स्वीकृत अवकाश कोषबाट प्राप्त कुल रकम रु. ९,५०,०००/-

ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गर्दा भुक्तानी रकमको ५०% वा रु.५,००,०००/- मध्ये जुन बढी हुन्छ सो रकम घटाउनु पर्दछ, जस अनुसार, (१) भुक्तानी रकमको ५०% ले हुने रकम रु.४,७५,०००/- (२) तोकिएको रकम रु.५,००,०००/-

ऐन लागू भैसके पश्चात स्वीकृत अवकाश कोषबाट जम्मा रु.९,५०,०००/- भुक्तानी प्राप्त गरेको तर ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गर्दा रु.५,००,०००/- छुट पाउने भएकोले सो कट्टा गरी बाँकी रु.४,५०,०००/- मा ऐनको दफा ८ को उपदफा (१) (१) बमोजिम पाँच प्रतिशतका दरले कर कट्टा गरी सो अवकाश कोषले बाँकी रकम निजलाई भुक्तानी दिनु पर्दछ ।

उदाहरण १६.२.१४

मानौं माथि उदाहरण नं १६.२.१३ मा बैंकको कर्मचारी विनियमावली अनुसार उपदानको निम्नानुसार व्यवस्था रहेछ ।

५ वर्ष सेवा अवधि पुरा भएका लागि - प्रति वर्ष सेवा अवधि पूराको लागि आधा महिनाको तलब
५ वर्ष भन्दा बढी १० वर्षसम्म - प्रति वर्ष सेवा अवधि पूराको लागि एक महिनाको तलब
१० वर्ष भन्दा बढी १५ वर्षसम्म - प्रति वर्ष सेवा अवधि पूराको लागि डेढ महिनाको तलब
१५ वर्ष भन्दा बढी - प्रति वर्ष सेवा अवधिपूराको लागि दुई महिनाको तलब

सेवा निवृत्त हुँदा निजको तलबरु ४०,०००/- प्रति महिना रहेछ । निजको २०५८ चैत्र १८ गतेसम्म ६० दिन र निवृत्त हुँदा १२० दिन घर बिदा पाकेको रहेछ । सो बापतरु.१,६०,०००/- भुक्तानी प्राप्त गरेका रहेछन् । निजको कर गणना निम्नानुसार गर्नुपर्दछ ।

उपदान रकम भुक्तानी (३१.०८ वर्षको प्रति वर्ष २ महिनाको तलब बराबर २४,८६,४००।-

आयकर नियमावली, २०५९ को नियम २०(६) अनुसार ऐन प्रारम्भ हुनुभन्दा अगाडि र पछाडिको सञ्चित बिदा बापतको रकम र पाकेको उपदान निम्नानुसार गणना गर्नुपर्दछ | । जम्मा सेवा अवधि ३१ वर्ष १ महिनामध्ये २०५८ चैत्र १८ गतेसम्म सेवा अवधि १४ वर्ष ११ महिना १८ दिन
घर बिदा बापत प्राप्त रकम रु. १६०,०००
२०५८ चैत्र १८ गतेसम्मको पाकेको बिदा ६० दिनको रु. ८०,०००
विदाबापत करयोग्य अवकाश भुक्तानी (क) रु. ८०,०००
उपदान रकम रु. २,४८६,४००

२०५८ चैत्र १८ गतेसम्म पाकेको उपदान रु. (४०,००० x १४.९५३ वर्ष x २ महिनाका दरले) (११,९६,२४०/-)
करयोग्य अवकाश उपदान (ख) रु. १,६०,०००/-
कर प्रयोजनको लागि अवकाश भुक्तानी (क+ख) रु १३,७०,१६०/-

उक्त कर प्रयोजनको लागि गणना गरिएको अवकाश भुक्तानीरु. १३,७०,१६०/- मा आयकर ऐन २०५८ को दफा ८८(१) अनुसार १५% का दरले हुने अग्रिम कर कट्टी गरी भुक्तानी दिनु पर्दछ । यसरी अग्रिम कर कट्टा गरी भुक्तानी प्राप्त रकम ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी प्राप्त गरिएको भुक्तानी हुने हुँदा ऐनको दफा ८ (३) अनुसार रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दैन । यसमा नियम २०(६) को खण्ड (क) मा ऐन लागू हुनुभन्दा पूर्व पाकेको उपदान र बिदा बापतको रकम अवकाश हुँदाका अवस्थामा मात्र हिसाब किताब गरी भुक्तानी गरिने हुँदा अवकाश हुँदाका अवस्थामा खाइपाई आएको तलबबाट गणना गरी कर छुट दिनु पर्दछ ।

तर, उक्त भुक्तानी नेपाल सरकारबाट प्राप्त भएको भए दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार हुन आउने लाभ अर्थात रु ५ लाख वा पचास प्रतिशतमध्ये जुन बढी हुन्छ सो कटाई बाँकी रकममा ५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्ने हुन्छ ।

८८(२)(ग) स्वीकृत नलिएको अवकाश कोषबाट लाभ भुक्तानी गर्दा लाभ रकमको पाँच प्रतिशत ।

नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको अवकाश भुक्तानीमा कुल भुक्तानी रकमको ५० प्रतिशत वा रु. ५ लाखमध्ये जुन बढी हुन्छ सो कटाई बाँकी रहन आएको रकम (लाभ) मा ५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्ने व्यवस्था भएको भएतापनि स्वीकृति नलिएको अवकाश कोषबाट लाभ भुक्तानी गर्दा लाभ रकमको ५ प्रतिशतले कर कट्टी गर्नुपर्ने व्यवस्था ऐनको दफा ८८(२) (ग) मा रहेको छ ।

स्वीकृत नलिएको अवकाश कोषबाट अवकाश भुक्तानी गर्दा प्राकृतिक व्यक्ति ( हिताधिकारी) ले गरेको योगदानमा योगदान गर्दा कै अवस्थामा योगदान रकमलाई आयमा समावेश गरी कर तिर्नुपर्ने हुन्छ । तसर्थ यस्तो भुक्तानीको लाभ गणना गर्दा अवकाश भुक्तानीको रकमबाट सो प्राकृतिक व्यक्तिले पहिले कर तिरेर योगदान गरेको रकम घटाई बाँकी रहने रकम (लाभ) मा ५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्छ । यो व्यवस्थालाई तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.१५

मानौं, हरि प्रसाद काफ्ले हिमालयन उद्योगमा कार्यरत कर्मचारी रहेछन् । उक्त उद्योगले वार्षिक रूपमा निजको नाममा कुनै स्वीकृत नलिएको अवकाश कोषमा सेवा निवृत भएपछि उपदान दिने प्रयोजनको लागि वार्षिक रु.१,००,०००/- का दरले ७ वर्षसम्म योगदान गरिदिएको रहेछ । यसरी उपदान कोषमा रकम योगदान गर्दा योगदान गरिएको रकमलाई निजको वार्षिक रोजगारीको आयमा समावेश गरिएको रहेछ । निज सेवा निवृत भएपछि सो अवकाश कोषले निजलाई रु.१०,००,०००/- उपदान भुक्तानी गरेको रहेछ । यस अवस्थामा निजलाई उपदान भुक्तानी गर्दा निम्नानुसार करको गणना गर्नुपर्छ ।

जम्मा उपदान भुक्तानी (आम्दानी) रु. १०,००,०००/- कर तिरी योगदान गरेको रकम (खर्च) रु. ७,००,०००/- लाभ रु. ३,००,०००/-

अवकाश कोषले भुक्तानी गर्ने उपदानमा रु.३,००,०००/- लाभ हुने हुँदा सो रकमको ५ प्रतिशतका दरले रु.१५,०००/- कर कट्टी गरी बाँकी रु.९,८५,०००/- मात्र भुक्तानी गर्नुपर्छ ।

अवकाश कोषबाहेकका अन्य कोषबाट अवकाश भुक्तानी गर्दा प्राकृतिक व्यक्ति (हिताधिकारी) ले कर तिरेको रकम योगदान गरेको भए स्वीकृत नलिएको अवकाश कोषबाट गरिने अवकाश भुक्तानी सरह करको गणना गरी बाँकी रकम (लाभ) मा १५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्छ तर, ऐनको दफा ६५ को स्पष्टीकरणमा भएको प्रतिबन्धात्मक वाक्यांश अनुसार, हिताधिकारीको योगदान नहुने कुनै कोष (नन् कन्ट्रीबुटरी फण्ड) बाट भएको भुक्तानीलाई स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ नमानिने हुँदा प्राकृतिक व्यक्तिको योगदान नै नभएको कोषबाट अवकाश भुक्तानी भएको भए त्यस्तो अवकाश भुक्तानीको कुल रकममा १५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्छ । यो व्यवस्थालाई तलको उदाहरणबाट स्पष्ट गरिएको छ:

उदाहरण १६.२.१६

मानौं, हरि प्रसाद काफ्ले विकाशसिल बैंकमा कार्यरत कर्मचारी रहेछन् । उक्त बैंकले कर्मचारी कल्याणको लागि बैंकमा कोष स्थापना गरी वार्षिक रूपमा निश्चित रकम जम्मा गर्ने गरेको रहेछ । सो बैंकको आन्तरिक विनियमावली अनुसार कर्मचारी अवकाश भएमा सो कोषबाट विनियमावलीमा तोकिए वमोजिमको रकम | कर्मचारीलाई भुक्तानी गरिने रहेछ । यो व्यवस्था अनुसार निज हरि प्रसाद काफ्लेले सेवा निवृत भए पछि रु.६,००,०००।- प्राप्त गर्ने रहेछन् भने निजलाई यो रकम भुक्तानी गर्दा रु.६,००,०००/- को १५ प्रतिशतका दरले रु.९०,०००/- कर कट्टी गरी बाँकी रु.५,१०,०००/- निजलाई भुक्तानी गर्नुपर्छ ।

कुनै प्राकृतिक व्यक्ति सेवा निवृत भएको कारणले निजलाई रोजगारदाताले माथि उल्लेख गरिए बमोजिमको कुनै निजी कोषबाट अवकाश भुक्तानी दिन सक्छ । यसको साथै एकमुष्ठ रूपमा उपदान, सञ्चित बिदा बापतको रकम सञ्चित औषधोपचार बापतको रकम आदिका साथै नियमित रूपमा निवृत्तिभरण पनि दिन सक्छ । यस्तो अवस्थामा रोजगारदाताले एकमुष्ठ दिने भुक्तानी र नियमित रूपमा दिने भुक्तानीलाई छुट्याउनु पर्छ । एकमुष्ठ दिने भुक्तानी अर्थात् उपदान, सञ्चित बिदा बापतको रकम सञ्चित औषधोपचार बापतको रकम आदिको भुक्तानीमा कुल भुक्तानीको १५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्छ भने नियमित रूपमा दिइरहने निवृत्तिभरणलाई रोजगारीको आय सरह गणना गरी सोही बमोजिम कर कट्टी गर्नु पर्छ । यो व्यवस्थालाई तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.१७

मानौं, हरि प्रसाद काफ्ले विकाशसिल बैंकमा ०५९ सालदेखि कार्यरत कर्मचारी रहेछन् । उक्त बैंकले सेवा निवृत भएपछि निजलाई उपदानको रूपमा एकमुष्ठ रूपमा रु.६,००,०००/- भुक्तानी गर्नुपर्ने रहेछ भने निजलाई यो रकम भुक्तानी गर्दा रु.६,००,०००/- को १५ प्रतिशतका दरले रु.९०,०००/- कर कट्टी गरी बाँकी रु.५,१०,०००/- भुक्तानी गर्नुपर्छ ।

उदाहरण १६.२.१८

मानौं, हरि प्रसाद काफ्ले विकाशसिल बैंकमा ०५९ सालदेखि कार्यरत कर्मचारी रहेछन् । उक्त बैंकले सेवा निवृत भएपछि निजलाई निजले सेवा अवधिमा उपभोग नगरेको बिदा बापतरु. ५०,०००/- र सेवा अवधिमा उपभोग नगरेको औषधोपचार खर्च बापत रु.१,००,०००/- भुक्तानी गर्नुपर्ने रहेछ भने निजलाई यी रकम भुक्तानी गर्दा १५ प्रतिशतका दरले कर कट्टी गरी बाँकी रकम भुक्तानी गर्नुपर्छ ।

उदाहरण १६.२.१९

मानौं, हरि प्रसाद काफ्ले विकाशसिल बैंकमा ०४० सालदेखि कार्यरत कर्मचारी रहेछन् । उक्त बैंकले सेवा निवृत भएपछि निजलाई तोकिएको रकम मृत्युपर्यान्त मासिक रूपमा पाउने गरी निवृत्तिभरण दिने व्यवस्था रहेछ । निज २०७६ श्रावण १ गते सेवा निवृत भएछन् । निजले सो वर्ष मासिक रु.५०,०००/- का दरले १३ महिनाको रकम निवृत्तिभरण पाउने रहेछन् । सो आयवर्षमा श्रीमतिको कुनै आय रहेनछ । निज र निजको श्रीमतिले आ.व. २०७६ ७७ को लागि एउटै प्राकृतिक व्यक्ति हुन छनौट गरेका रहेछन् भने निजको करको गणना निम्नानुसार गर्नु पर्छ । वार्षिक निवृत्तिभरण आय (५०,०००x१३) रु. ६,५०,०००/-
निवृत्तिभरण आय भएकोले थप छुट सुविधा बापत
घटाउन पाउने रकम (रु. ४,५०,०००/- को २५% ले हुने रकम) रु. (१,१२,५००/-)
दम्पती छुट रु.(४,५०,०००।-)
बाँकी करयोग्य आय रु. ८७,५००/-
लाग्ने कर १०% ले रु. ८,७५०/-
मासिक भुक्तानीमा कर कट्टा (८,७५०/१२) रु. ७२९।१६

उदाहरण १६.२.२०

मानौं, हरि प्रसाद काफ्ले विकाशसिल बैंकमा २०४० सालदेखि कार्यरत कर्मचारी रहेछन् । उक्त बैंकले सेवा निवृत भएपछि निजलाई तोकिएको रकम | मृत्युपर्यान्त मासिक रूपमा पाउने गरी निवृत्तभरण दिने व्यवस्था रहेछ । निज २०७६ श्रावण १ गते सेवा निवृत भएछन् । निजले सो वर्ष मासिक रु.५०,०००/- का दरले १३ महिनाको रकम निवृत्तभरण पाउने रहेछन् । सो आय वर्षमा श्रीमतिको अन्य कुनै व्यवसायबाट रु.४ लाख आय रहेछ । निज र निजको श्रीमतिले आ.व. २०७६/७७ को लागि एउटै प्राकृतिक व्यक्ति हुन छनौट गरेका रहेछन् भने निजको करको गणना निम्नानुसार गर्नु पर्छ ।

वार्षिक निवृत्तभरण आय रु. ६,५०,०००/-
व्यावसायिक आय रु. ४,००,०००/-
जम्मा आय रु. १०,५०,०००/-
आ.व.२०७६।७७ मा निवृत्तभरण तथा व्यवसाय दुवैमा एक प्रतिशत कर नलाग्ने भएकाले

रु. ४,५०,०००।- को २५ प्रतिशतले हुने रकम घटाउने रु. (१,१२,५००/-)
दम्पत्ति छुट रु. (४,५०,०००/-)
बाँकी करयोग्य आय रु. ४,८७,५००/-
लाग्ने करः
पहिलो रु.१,००,०००/- मा १० प्रतिशतले रु. १०,०००/-
दोश्रो रु.२,००,०००/- मा २०% ले रु. ४०,०००/-
बाँकी रु.१,८७,५००/- मा ३०%ले रु. ५६, २५०/-
जम्मा लाग्ने कर रु. ५६,२५०/-

तर निवृतभरण भुक्तानी गर्ने व्यक्तिले भने निम्नानुसार मासिक कर कट्टा गर्नु पर्दछ:
वार्षिक निवृत्तभरण आय रु. ६,५०,०००/-
जम्मा रोजगारीको करयोग्य आय रु. ६,५०,०००/-

आ.व.२०७६/७७ मा एक प्रतिशत कर नलाग्ने
रु. ४,५०,०००।- को २५ प्रतिशतले हुने रकम घटाउने रु. (१,१२,५००/-)
बाँकी करयोग्य आय रु. ४,२०,०००/-
रोजगारीको बाँकी करयोग्य आय रु. ५,३७,५००/-
रु.४,५०,०००।- सम्म दम्पती छुट
रोजगारीको बाँकी करयोग्य आय रु. ८७,५००/-
लाग्ने कर १० प्रतिशतले रु. ८,७५०/-
मासिक कर रु. ७२९।१६
पुनश्चः आर्थिक ऐन, २०७७ बाट अनुसूची-१ को दफा १ को उपदफा (९) खारेज भएकोले आ.व. २०७७/७८ देखि उक्त उपदफाको निवृत्तभरण आयमा थप छुट सुविधा पाउँदैन ।

८८(१)(२) बासिन्दा रोजगार कम्पनीले गैर बासिन्दा व्यक्तिलाई भुक्तानी गरेको कमिशनमा पाँच प्रतिशतका दरले,

रोजगार कम्पनी (Manpower Agency) ले विदेश स्थित आफ्नो स्थानीय एजेण्टलाई भुक्तानी गर्ने कमिशन यस अन्तर्गत पर्दछ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएको छः

उदाहरण १६.२.२१

मानौं, एभरेष्ट म्यानपावर कम्पनी (नेपाल) प्रा. लि. ले विदेशस्थित गैर बासिन्दा व्यक्ति एभरेष्ट इण्टरनेशनल म्यानपावर इन्कर्पोरेशन, दोहालाई नेपाली कामदार कतारमा आपूर्ति गरे बापत नेपाली कम्पनीबाट प्रति कामदार US$ 100 का दरले कमिशन लिने गरेको रहेछ । उक्त कमिशन, अर्थात रु.७,५००/- ( मानौं US$ 1 = Rs 75) मा ५ प्रतिशतका दरले हुन आउने रु. ३७५ । - अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु. ७,१२५ । - को हुने अमेरिकन डलर ९५ ॥ - भुक्तानी पठाउनु पर्ने हुन्छ । यसरी विनिमय दर प्रयोग गर्दा सो दिनको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको बिक्री दर प्रयोग | गरी विदेशी मुद्रा नेपाली मुद्रामा परिवर्तन गर्नु पर्नेछ ।

८८(१)(३) वायुयानको लिज (पट्टा) बापतको रकम भुक्तानी गर्दा दश प्रतिशतका दरले,

वायुयान लिज (पट्टा) मा लिई कारोबार गर्ने बासिन्दा व्यक्तिले त्यस्तो लिज (पट्टा) बापतको भुक्तानीमा दश प्रतिशतका दरले कर कट्टा गरी भुक्तानी दिनु पर्दछ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएको छः

!!! quote :उदाहरण १६.२.२२" मानौं, एभरेष्ट वायु सेवा निगमले फ्रान्सको एउटा कम्पनीबाट प्रति घण्टाU S$ 3,000 Lease Rent तिर्ने गरी एउटा जहाज लिजमा लिई सञ्चालन गरिआएको रहेछ । कुनै एक महिनामा निगमले उक्त जहाज ३०० घण्टा सञ्चालन गरेको रहेछ । लिजको शर्त बमोजिम US$ 3000 प्रति घण्टाका दरले ३०० घण्टाको US$ 900,000 हुन आउने Lease Rent मा दश प्रतिशतका दरले अर्थात US $90,000 निगमले सो लिज (पट्टा) बापत कर कट्टा गरी बाँकी रकम सो कम्पनीलाई भुक्तानी पठाउनु पर्दछ । कर दाखिला गर्ने प्रयोजनको लागि यसरी विनिमय दर प्रयोग गर्दा सो दिनको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको बिक्री दर प्रयोग गरी विदेशी मुद्रा नेपाली मुद्रामा परिवर्तन गर्नु पर्नेछ । अर्थात, भुक्तानीको समयमा नेपाल राष्ट्र बैंकले USS 1 = Rs 75को बिक्री दर तोकेको रहेछ भने निगमले रु.६७,५०,०००/- अग्रिम कर कट्टी गरी सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्दछ।

तर, वित्तीय पट्टा अन्तर्गत कुनै वायुयान पट्टामा लिइएको रहेछ भने ऐनको दफा ३२ बमोजिम गणना गरिएको ब्याज भुक्तानीमा यस दफा बमोजिम १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

८८(१)(४)मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवाप्रदायक बासिन्दा व्यक्ति वा मूल्य अभिवृद्धि कर छुटको कारोबार गर्ने बासिन्दा निकायलाई भुक्तानी गरेको सेवा शुल्कमा भुक्तानी रकमको एक दशमलब पाँच प्रतिशतका दरले

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची - १ मा उल्लिखित वस्तु वा सेवा बाहेक अन्य सबै वस्तु वा सेवालाई करयोग्य वस्तु तथा सेवा भनी परिभाषित गरिएको छ । करयोग्य वस्तुको कारोबार वार्षिक पचास लाख रुपैयाँभन्दा बढी करयोग्य सेवाको कारोबार वार्षिक बीस लाख रुपैयाँभन्दा बढी र करयोग्य वस्तु तथा सेवाको मिश्रित कारोबार वार्षिक बीस लाख रुपैयाँभन्दा बढी भएमा त्यस्तो कारोबार गर्ने प्रत्येक व्यक्ति अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्दछ । यसरी मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवाप्रदायक बासिन्दा व्यक्तिलाई भुक्तानी गरेको सेवा शुल्कमा एक दशमलव पाँच प्रतिशतका दरले कर कट्टा गर्नुपर्ने हुन्छ । यसको अलावा आर्थिक ऐन, २०७१ ले दफा ८८(१) (४) मा गरेको संशोधन पश्चात मूल्य अभिवृद्धि कर छुटको कारोबार गर्ने बासिन्दा निकायलाई गरेको सेवा शुल्कको भुक्तानी रकममा समेत एक दशमलव पाँच प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने व्यवस्था गरेको छ ।

यस सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएको छः

उदाहरण १६.२.२३

Rocy & Co. मू.अ.करमा दर्ता भएको एक लेखा व्यवसायी फर्म रहेछ । उक्त फर्मले Jacky & Sons Pvt. Ltd. लाई परामर्श सेवा उपलब्ध गराए बापतरु. २,००,०००/- मू.अ.कर रु.२६,०००/- सहित रु.२,२६,०००/- को बीजक जारी गरेको रहेछ भने Jacky & Sons Pvt. Ltd. ले उक्त रकम भुक्तानी दिँदा सेवा शुल्क रु.२,००,०००।-को १.५ प्रतिशतका दरले हुने रु.३,०००/- अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु.२,२३,०००/- Rocy & Co लाई भुक्तानी गर्नु पर्दछ । Rocy & Co.यसरी | स्रोतमा काटिएको कर रकम अग्रिम करको रूपमा दाबी मिलान गर्न सक्दछ । मू.अ.करमा दर्ता भएका बासिन्दा व्यक्तिलाई सेवा शुल्क भुक्तानीमा अग्रिम कट्टी हुने करको दर १.५ प्रतिशत भएकोले मू.अ.करमा दर्ता भएका बासिन्दा प्राकृतिक व्यक्ति, बासिन्दा फर्म, बासिन्दा कम्पनी वा जुनसुकै बासिन्दा व्यक्तिलाई यही दरले अग्रिम कर कट्टी गर्नुपर्छ ।

!!! quote "उदाहरण १६.२.२४" डि. बि. कोल्ड स्टोर प्रा. लि. कृषि पैदावारको शित भण्डारण सेवा प्रदान गरी आएको रहेछ । शित भण्डारले उपलब्ध गराउने कृषि पैदावार भण्डारण सेवा मू.अ.कर ऐनको अनुसूची - १ अन्तर्गत पर्ने हुँदा सो कोल्ड स्टोर मू.अ.कर प्रयोजनको निमित्त दर्ता भएको रहेनछ । प्रसाद फल प्रशोधन उद्योगले आफ्नो फलफुलको मौज्दात डि. बि. कोल्ड स्टोर प्रा.लि.मा राख्ने गरेको र सो बापत २०७१ असोज महिनामा सो प्रा. लि. लाई रु.३०,०००।- को सेवा शुल्क भुक्तान गर्नुपर्ने रहेछ । प्रसाद फल प्रशोधन उद्योगले डि. बि. कोल्ड स्टोर प्रा. लि. लाई भुक्तान गरेको उक्त सेवा शुल्कमा १.५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्दछ ।

उदाहरण १६.२.२५

मानौ खार्पा सिमेन्ट उद्योग प्रा.लि.ले राम सिमेन्ट बिक्री भण्डार प्रा. लि लाई तोकिएको सिमेन्ट बिक्रीको लक्ष्य पूरा गरे बापत बिक्री कमिशन दिएको रहेछ । खार्पा सिमेन्ट उद्योग प्रा. लि. ले राम सिमेन्ट बिक्री भण्डार प्रा. लि. लाई भुक्तानी दिने बिक्री कमिशन रकममा मूल्य अभिवृद्धि कर सहितको बीजक प्राप्त गरेको भएपनि आयकर ऐन, २०५८ को दफा ८८ को उपदफा (१) बमोजिम १५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्छ । किनभने राम सिमेन्ट बिक्री भण्डार प्रा. लि मूल्य अभिवृद्धि करमा दर्ता भए तापनि निजले सेवा प्रदान गरेबापत प्राप्त गरेको रकम नभई सिमेन्ट बिक्रीको लक्ष्य पूरा गरे अनुसार प्रोत्साहन बापत प्राप्त गरेको रकम भएकाले दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (४) बमोजिमको दरले अग्रिम कर कट्टी गर्न पाइदैन ।

८८(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (५) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको भाडा भुक्तानी गरेकोमा दश प्रतिशतका दरले
तर, मूल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडा बापत भुक्तानी गर्ने रकममा एक दशमलव पाँच प्रतिशतले कर कट्टी गर्नु पर्नेछ ।
ऐनको दफा २ को खण्ड (स) बमोजिम “भाडा” भन्नाले घर बहाल समेतका मूर्त सम्पत्तिको बहाल तथा पट्टा अन्तर्गत गरिएका प्रिमियम लगायतका सबै भुक्तानी सम्झनु पर्छ ।
तर यस शब्दले प्राकृतिक स्रोत बापत भएको भुक्तानीवा एकलौटी फर्म बाहेकको प्राकृतिक व्यक्तिले घर बहाल बापत प्राप्त गरेको रकमलाईजनाउने छैन ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.२६

मानौ, आदिश्री एण्ड कम्पनीको स्वामित्वमा पोखराको न्यूरोडमा रहेको घर प्रस्तुत कम्पनीले व्यवसाय सञ्चालन गर्नको लागि मासिक रु.५०,०००/- भाडा तिर्ने गरी रामश्री प्रा.लि.सँग सम्झौता गरेको रहेछ । सम्झौता बमोजिम रामश्री प्रा. लि. ले आदिश्री एण्ड कम्पनीलाई घरभाडा बापत भुक्तानी गर्दा १० प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु.४५,०००/- भुक्तानी गर्नु पर्दछ ।

उदाहरण १६.२.२७

मानौ, आदिश्री एण्ड कम्पनीले आफ्नो कम्पनीको लागि आवश्यक फर्निचर १ महिनाको रु.२५,०००/- मा भाडामा लिएका रहेछन् । यसरी फर्निचर भाडामा लिए बापत भुक्तानी गरिने रकम रु.२५,०००/- मा १० प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु.२२,५००/- भुक्तानी गर्नु पर्दछ ।

उदाहरण १६.२.२८

मानौ, आदिश्री एण्ड कम्पनीले आफ्नो कम्पनीको व्यावसायिक प्रयोजनको लागि दमन भेहीकल सर्भिसेज प्रा.लि.बाट सवारी साधन भाडामा लिने गरेको रहेछन् । उक्त प्रा.लि.मू.अ.कर प्रयोजनको लागि समेत दर्ता भएको रहेछ । २०७६ असोज महिनामा सवारी साधन भाडा बापत उक्त प्रा.लि.ले रु. ३०,०००/- र यसको अलावा ड्राईभर तथा अन्य सेवाबापत थप रु.२०,०००।- गरी जम्मा रु.५०,०००/- को मू.अ.कर बीजक जारी गरेको रहेछ । उक्त कम्पनीले भुक्तान गर्नुपर्ने जम्मा रु.५०,०००/- (मू.अ.कर बाहेक) भुक्तानी गर्दा १.५ प्रतिशतले अर्थात रु ७५०/- अग्रिम कर कट्टा गरी सो प्रा. लि. लाई भुक्तान गर्नु पर्दछ ।

उदाहरण १६.२.२९

मानौ, आदिश्री एण्ड कम्पनीले आफ्नो कम्पनीको व्यावसायिक प्रयोजनको लागि दमन थापाको स्वामित्वमा रहेको भाडामा दर्ता भएको सवारी साधन रु.२५,०००।-मा भाडामा लिएका रहेछन् । उक्त भाडा बापतको भुक्तानीमा दुई दशमलब पाँच प्रतिशतले हुने रकम रु.६२५/- अग्रिम कर कट्टी गरी निज दमन थापालाई भुक्तानी गर्नुपर्दछ ।

८८(१)(५)(ख) प्राकृतिक व्यक्तिले घर बहाल बापत प्राप्त गरेको रकममा करकट्टी गर्नु पर्ने छैन

आर्थिक ऐन, २०७५ ले आयकर ऐन २०५८ मा दफा ८८(१) (५) (ख) थप गरेको र सो बमोजिम एकलौटी फर्म बाहेकको प्राकृतिक व्यक्ति (Individuals) ले घर बहाल बापत प्राप्त गरेको रकममा करकट्टी गर्नु नपर्ने व्यवस्था गरेको छ । यस सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.३०

मानौ, आदिश्री एण्ड कम्पनीले पोखराको न्यूरोडमा व्यवसाय सञ्चालन गर्नको लागि मासिक रु.५०,०००।- भाडा तिर्ने गरी घरधनी श्री गरिबदाशसँग सम्झौता गरेको रहेछ । सम्झौता बमोजिम प्रस्तुत कम्पनीले गरिबदाशलाई घरभाडा भुक्तानी गर्दा अग्रिम कर कट्टा गर्नु पर्दैन ।

८८(१)(६) सामूहिक लगानी कोष (म्यूच्युअल फण्ड)बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम भुक्तानीमा पाँच प्रतिशतका दरले ।

आर्थिक ऐन, २०७० ले आयकर ऐन, २०५८ मा दफा ८८ (१) (६) थप गरेको र सो बमोजिम भएको संशोधनपश्चात सामूहिक लगानी कोष ( म्यूच्युअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम भुक्तानीमा पाँच प्रतिशतका दरले कर कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ। यस सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.३१

गोल्डन म्यूच्युअल फण्डले आर्थिक वर्ष २०७६ पौष ६ गते आफ्ना हिताधिकारीलाई १० प्रतिशतले प्रतिफल वितरण गरेको रहेछ । यसरी वितरण गरिएको प्रतिफलमध्ये प्राकृतिक व्यक्तिलाई वितरण गरेको प्रतिफलमा पाँच प्रतिशतका दरले कर कट्टी गर्नुपर्ने हुन्छ । अन्यको हकमा भने यस्तो प्रतिफलको भुक्तानीमा १५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्ने हुन्छ ।

८८(१)(७) बासिन्दा व्यक्तिले भू-उपग्रह, ब्याण्डविथ, अप्टिकल फाइवर, दुरसञ्चार सम्बन्धी उपकरण वा विद्युत प्रशारण लाइन प्रयोग गरे बापतको भुक्तानीमा दश प्रतिशतका दरले ।

आर्थिक ऐन, २०७३ ले आयकर ऐन, २०५८ मा दफा ८८(१) (७) थप गरेको र सो बमोजिम बासिन्दा व्यक्तिले भू-उपग्रह, व्याण्डविथ, अप्टिकल फाइवर, दुरसञ्चार सम्बन्धी उपकरण वा विद्युत प्रशारण लाइन प्रयोग गरे बापतको भुक्तानीमा दश प्रतिशतका दरले कर कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ ।

८८(१)(८) ढुवानी सेवा बापतको तथा ढुवानी साधन भाडामा दिए बापतको भुक्तानी रकममा दुई दशमलव पाँच प्रतिशतका दरले ।

तर मूल्य अभिवृद्धि करमा दर्ता भई ढुवानी सेवा प्रदान गर्ने वा ढुवानी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई भुक्तानी गर्ने रकममा एक दशमलव पाँच प्रतिशतले कर कट्टी गर्नु पर्नेछ । (यो प्रतिबन्धात्मक वाक्यांश आर्थिक ऐन, २०७८ ले हटाएको छ)

ढुवानी सेवा प्रदायकले मालधनीको सामान तोकिएको गन्तव्यमा पुयाए बापतको भाडा भुक्तानीमा दुई दशमलव पाँच प्रतिशतका दरले कर कट्टी गर्नुपर्ने व्यवस्था आर्थिक ऐन, २०७५ ले थप गरेको साथै आर्थिक ऐन, २०७७ ले ढुवानी सेवा तथा ढुवानी साधन भाडामा दिए बापतको भुक्तानी रकममा दुई दशमलव पाँच प्रतिशतका दरले कर कट्टी गर्नुपर्ने व्यवस्था गरेको छ ।तर मूल्य अभिवृद्धि करमा दर्ता भई ढुवानी सेवा प्रदान गर्ने वा ढुवानी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई भुक्तानी गर्ने रकममा भने एक दशमलव पाँच प्रतिशतले कर कट्टी गर्नु पर्दछ ।

८८(१)(९) बासिन्दा बैंङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कले तोकेको क्षेत्रमा लगानी गर्न विदेशी बैङ्क वा अन्य वित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको ऋण बापतको ब्याज भुक्तानी गर्दा दश प्रतिशतका दरले ।

आर्थिक ऐन, २०७७ ले आयकर ऐन, २०५८ को दफा ८८(१)(९) थप गरेको व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएको छ ।

उदाहरण १६.२.३२

मानौं, City Commerce and Development Bank Ltd. ले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्नको लागि जापानको निप्पोन बैंकबाट अमेरिकी डलर १ करोड रकम ५ प्रतिशत वार्षिक ब्याज तिर्ने गरी ५ वर्षको लागि ऋण लिएको रहेछ । City Commerce and Development Bank Ltd. ले निप्पोन बैंकलाई उक्त ऋण बापतको ब्याज भुक्तानी गर्दा व्याज भुक्तानी रकमको १० प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्छ ।

८८(१)(१०) उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा प्रचलित कानुन बमोजिम भुक्तानी कार्ड, इ-मनी (वालेट), मोवाइल बैंकिङ्ग जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी गरे बापत प्रदान गरिने प्रोत्साहन रकममा कर कट्टी गर्नुपर्ने छैन ।

उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा कार्ड इ-मनी (वालेट) मोबाइल बैंकिङ्ग जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी गरे बापत प्रदान गरिने प्रोत्साहन रकममा कर कट्टी गर्नुपर्ने छैन भन्ने व्यवस्था आर्थिक ऐन, २०७७ ले थप गरेको । यस सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएको छ :

उदाहरण १६.२.३३

मानौ, आदिश्री एण्ड कम्पनीले डिपार्टमेन्ट स्टोर सञ्चालन गर्ने रहेछ । हनुमानदाशले उक्त डिपार्टमेन्ट स्टोरबाट रु.५०,०००/- को सामान खरिदमा १३ प्रतिशतले हुने रु.६,५००/- मू.अ.कर सहित रु.५६,५००/- विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कर रकमको दश प्रतिशतले हुने रु. ६५०।- नगद प्रोत्साहन स्वरूप निजको बैंक खातामा फिर्ता गरेको रहेछ । यसरी विद्युतीय माध्यमबाट वस्तु खरिद बापतको भुक्तानी हुँदा हनुमानदाशलाई प्रोत्साहन स्वरूप फिर्ता दिएको रकम रु.६५०/- मा आदिश्री एण्ड कम्पनीले कर कट्टी गर्नुपर्दैन ।

८८(१)(११) विदेशी विद्यालय वा विश्वविद्यालयलाई रजिष्ट्रेशन शुल्क, शिक्षण शुल्क तथा परीक्षा शुल्क बापतको रकम भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशतका दरले ।
८८(१)(१२) बासिन्दा बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको ब्याजमा पाँच प्रतिशतका दरले ।
८८(२) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको देहायका भुक्तानी गर्दा देहायका दरले करकट्टी गर्नु पर्नेछ:-
८८(२)(क) लाभांश भुक्तानी गरेकोमा भुक्तानी रकमको पाँच प्रतिशत,

कुनै पनि कम्पनीले आफ्ना अंशियार वा साझेदारी फर्मले आफ्ना साझेदारलाई लाभांश घोषणा गर्दा साधारण सभा वा साझेदारको बैठकले अनुमोदन गरिसकेपछि मात्रै कम्पनी वा साझेदार फर्मको दायित्व सिर्जना हुने गर्दछ । लाभांश भुक्तानी गर्दा बासिन्दा व्यक्ति वा गैर बासिन्दा व्यक्ति जसलाई भुक्तानी गरेतापनि ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी गर्नु पर्दछ। लाभांश भन्नाले नगद लाभांश वा बोनस शेयर वितरण गरेकोलाई पनि बुझिन्छ । ऐनको दफा ५३ अनुसार निकायबाट गरिने मुनाफाको पुँजीकरणलाई वितरण मानिने र ऐनको दफा ५४ अनुसार कम्पनीबाट त्यस्तो वितरणमा लाभांश कर लाग्ने व्यवस्था भएको हुँदा बोनस शेयर वितरण पनि मुनाफाको पुँजीकरण भएको हुँदा लाभांश कर लाग्दछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.३४

मानौं, आदिश्री एण्ड कम्पनी लिमिटेडको २०७६ मार्ग २८ गते बसेको साधारण सभाले २०७५/७६ को मुनाफाबाट शेयर पुँजीको १० प्रतिशतका दरले हुने रु.५०,०००/- नगद लाभांश तथा २० प्रतिशतका दरले हुने रु.१,००,०००/- बोनस शेयर बितरण गर्ने निर्णय गरेको रहेछ । यस अवस्थामा रु. १,५०,०००/- लाई नै जम्मा वितरण अर्थात लाभांश मानिन्छ र साधारण सभाले निर्णय गरेको मिति २०७६ मार्ग २८ गतेलाई भुक्तानी मिति मानिन्छ । सोही बमोजिम जम्मा लाभांश रु. १,५०,०००/- को ५ प्रतिशतले हुने रु. ७,५००।- सो कम्पनीको २०७६ मार्ग महिनाको लाभांश बापत अग्रिम कर कट्टी गर्ने दायित्व हुनेछ ।

उदाहरण १६.२.३५

मानौं, आदिश्री एण्ड साझेदारी फर्मको २०७६ मार्ग २८ गते बसेको साझेदारी सभाले २०७५/७६ को मुनाफाबाट रु.१,५०,०००/- साझेदारको लगानीको अनुपातमा लाभांश वितरण गर्ने निर्णय गरेको रहेछ । यसरी उक्त फर्मले वितरण गरेको मुनाफामा ५ प्रतिशतले हुने कर, अर्थात रु ७,५००/- सो फर्मको २०७६ मार्ग महिनाको | लाभांश बापत अग्रिम कर कट्टी गर्ने दायित्व हुनेछ ।

उदाहरण १६.२.३६

मानौं, आदिश्री एण्ड कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५/७६ मा आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण नगरी रु.९,५००/- मूल्य पर्ने घडी वितरण गरेको रहेछ । यसरी कम्पनीले कुनै प्रतिफल प्राप्त नै नगरी हिताधिकारीलाई गरिएको भुक्तानी ऐनको दफा ५३ बमोजिम लाभांश मानिनेछ । यसरी गरिएको वितरण कर कट्टी पछिको लाभांश भुक्तानी (अर्थात ९५%) मानिने हुँदा यसरी लाभांश मानिएको रकम (९,५००/ ९५X५% = रु.१०,०००/-) को ५ प्रतिशतले हुने रकम रु.५००।- दाखिला गर्नु सो कम्पनीको दायित्व हुनेछ ।

८८(२)(ख) लगानी बीमाको लाभ भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशत, वा

लगानी बीमा वा जीवन बीमा वा ५ वर्षभन्दा बढी जोखिम दायित्व व्यहोर्ने बीमा गरेको र त्यस्तो बीमाबाट प्राप्त गर्ने भुक्तानीमा आफूले प्रिमियम बापत तिरेको रकम कट्टा गरी हुन आउने रकमलाई लाभ भनिन्छ । यसरी गणना गरिएको लाभ रकम भुक्तानी गर्दाका अवस्थामा ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी दिनु पर्दछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.३७

मानौं, पूर्णताले आफ्नो जीवन बीमा नेपाल जीवन बीमा संस्थानमा गराएकी रहिछन् । निजको Policy Amount (Sum Insurred ) रु.८,००,०००/- को प्रिमियम बापत वार्षिक रु.४०,०००/- तिर्ने गरेकी रहिछिन् । उक्त पोलिसी अवधि समाप्त हुँदासम्म निजले प्रिमियम बापत रु.६,००,०००/- भुक्तान गरी सकेकी रहिछिन् । नेपाल जीवन बीमा संस्थानबाट उक्त Policy Mature भएपछि निजले रु.१२,००,०००/- पाउने देखियो । यस्तो रकम भुक्तानी दिँदा संस्थानले लाभ गणना गर्दा रु.६,००,०००।- (१२,००,००० - ६,००,०००) मा ५ प्रतिशतका दरले हुने रु.३०,०००/- अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु.११,७०,०००/- भुक्तानी दिनु पर्दछ । यसरी अग्रिम कर कट्टी गरी प्राप्त गरिएको भुक्तानी रकम रु.११ लाख ७० हजारलाई पूर्णताले आफ्नो अन्य आयमा समावेश भने गर्नु पर्दैन ।

उदाहरण १६.२.३८

मानौं, सजग सापकोटाले Accidental Insuranceपोलिसी नेपाल जीवन बीमा संस्थानबाट खरिद गरेका रहेछन् र नियमित रूपमा प्रिमियम भुक्तानी गरिआएका रहेछन् । पोलिसी खरिद गरेको तेश्रो वर्ष निजको दुर्घटना भई हात भाँचिएछ । उक्त बीमा कम्पनीले क्षतीपूर्ति बापत रु.५०,०००/- निजलाई भुक्तानी दिएको रहेछ । यसरी बीमा भुक्तानी प्राप्त गरेको समयसम्म निजले रु.२०,०००/- सो पोलिसी बापत प्रिमियम दाखिला गरेका रहेछन् । यस्तो क्षतिपूर्ति बापत प्राप्त रकम दफा ३१ बमोजिम कर नलाग्ने हुँदा भुक्तानीमा दफा ८८ बमोजिम अग्रिम कर कट्टी गर्नु पर्दैन ।

८८(२)(ग) स्वीकृति नलिएको अवकाश कोषबाट लाभ भुक्तानी गर्दा लाभ रकमको पाँच प्रतिशत । स्वीकृति नलिएको अवकाश कोषबाट गरिने लाभको भुक्तानीमा ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गर्नु पर्दछ । सो सम्बन्धमा तल उल्लिखित उदाहरणबाट स्पष्ट गरिएको छः

उदाहरण १६.२.३९

मानौं, हरि काफ्लेले अवकाश योगदान गरिआएको अवकाश कोष, ऐन लागू भैसकेपश्चात यदि स्वीकृति नलिएको अवकाश कोष भएको अवस्थामा भुक्तानी प्राप्त गरेको रकम र सो कोषमा योगदान गरेको रकमको फरक रकममा निम्नानुसार अस्वीकृत अवकाश कोषले अग्रिम कर कट्टा गर्नु पर्दछ ।
(१) सञ्चय कोष २०५८ चैत्र १९ गतेदेखि - बैशाख मसान्त २०६० सम्मको साँवा रु. ४,५०,०००/-
(२) ऐ. अवधिमा सञ्चय कोषको रकममा ब्याज रु. ५०,०००/-
जम्मा भुक्तानी रकम रु. ५,००,०००/-

मानौं, उक्त साँवा रकममध्ये निज हरि काफ्लेको आफ्नो योगदान रकम रु.४,५०,०००।- रहेछ ।
(१) भुक्तानी हुने रकम रु.५,००,०००/-
(२) उक्त कोषमा आफ्नो योगदान रकम रु.४,५०,०००/-
कर प्रयोजनको लागि लाभ रु.५०,०००/-

ऐनको दफा ८८(२) (ग) अनुसार भुक्तानी गर्दा ५ प्रतिशतका दरले हुने रु.२,५००/- अग्रिम कर कट्टा गरी बाँकी रकम रु. ४,९७,५००/- भुक्तानी गर्नुपर्दछ ।

८८(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बासिन्दा बैंक, वित्तीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानुन बमोजिम सूचिकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, ऋणपत्र, डिबेन्चर तथा सरकारी बण्ड बापत देहाय बमोजिमको ब्याज वा ब्याज बापतको कुनै रकम भुक्तानी दिँदा कुल भुक्तानी रकममा पाँच प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ:   (क) नेपालमा स्रोत भएको, र   (ख) व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको ।

कुनै पनि प्राकृतिक व्यक्तिलाई बासिन्दा बैंक तथा वित्तीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने निकाय वा Stock Exchange मा सूचीकृत भएका कम्पनीले निक्षेप, ऋणपत्र वा डिबेन्चर वा सरकारी बण्ड बापत तिरिने ब्याज रकम भुक्तानी गर्दा भुक्तानी रकममा ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी दिनु पर्दछ । तर प्राकृतिक व्यक्तिबाहेक अन्य निकायलाई गरिने (माथि उल्लेख गरिएका संस्थाले) ब्याज भुक्तानीमा भने १५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी दिनु पर्दछ । यहाँ बैंक तथा वित्तीय संस्था भन्नाले बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २ को खण्ड (छ) अनुसार कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनका लागि कर्जा दिने वा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानुन बमोजिम स्थापना भएको वित्तीय संस्था सम्झनु पर्दछ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वित्तीय संस्था भनी तोकिदिएको संस्था समेतलाई जनाउँछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.४०

मानौं, हिमालयन ईन्फोटेक लि. Nepal Stock Exchange Ltd. मा सूचिकृत कम्पनी रहेछ । उक्त कम्पनीले पुँजी जुटाउने क्रममा १० प्रतिशत ब्याज दरको ऋणपत्र जारी गरेको रहेछ । दिपीकाले रु.५,००,०००।- को त्यस्तो ऋणपत्र खरिद गरेकी रहिछन् । ABC & Co ले रु.२०,००,०००/- को ऋणपत्र खरिद गरेको रहेछ । सो कम्पनीले उक्त ऋणपत्रको व्याज भुक्तानी गर्ने क्रममा दिपीकालाई ब्याज भुक्तानी गर्दा ब्याज रु.५०,०००/- मा ५ प्रतिशतका दरले हुने रु. २,५००/- अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु.४७,५००/- भुक्तानी गर्नु पर्दछ । यसरी अग्रिम कर कट्टा गरी प्राप्त भुक्तानी रकम ऐनको दफा ९२ को उपदफा (१) को खण्ड (ङ) बमोजिम अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी भएको हुँदा त्यस्तो रकमलाई पुनः आयमा समावेश गर्नु पर्दैन । त्यस्तै, ABC & Co. ले प्राप्त गर्ने ब्याज आम्दानी रु.२,००,०००/- मा ऐनको दफा ८८ उपदफा (१) अनुसार १५ प्रतिशतका दरले हुने रु.३०,०००।- अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु.१,७०,०००/- भुक्तानी गर्नु पर्दछ । यसरी कट्टा गरिएको अग्रिम कर अन्तिम कर कट्टा नहुने हुँदा ABC & Co. ले आफ्नो तिर्नुपर्ने कर दायित्वबाट मिलान गर्न सक्नेछ । अर्थात कुलव्याज रु.२,००,०००/- लाई आफ्नो नाफा नोक्सान खातामा आम्दानी देखाउनु पर्दछ भने रु.३०,०००/- लाई अग्रिम करको रूपमा वासलातमा देखाउनु पर्दछ ।

८८(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायका भुक्तानी गर्दा यो दफा लागू हुने छैन:

माथि उल्लेख गरिएका विभिन्न भुक्तानीमा अग्रिम कर कट्टा गरी भुक्तानी गर्नुपर्ने भनिएतापनि निम्नानुसारका भुक्तानीमा अग्रिम कर कट्टा गर्नु पर्दैन ।

८८(४)(क) प्राकृतिक व्यक्तिले गरेको व्यवसाय सञ्चालनसँग सम्बन्धितबाहेकका अन्य कुनै भुक्तानी,

प्राकृतिक व्यक्तिले जग्गा र सोसँग जडित सामान तथा उपकरण भाडामा लिएबापत तिरेको भाडा भुक्तानी वा प्राकृतिक व्यक्तिको आफ्नो व्यवसायसँग सम्बन्धित भुक्तानीमा कर कट्टा गर्नुपर्ने तर अन्य भुक्तानीमा भने कर कट्टा गर्नु पर्दैन । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएको छ

उदाहरण १६.२.४१

मानौं, गोविन्द भन्ने व्यक्तिले आफ्नो घर निर्माण गर्ने क्रममा नक्सा बनाउनको लागि र घरको निर्माण नहुन्जेल रेखदेख गर्ने गरी कृष्ण शर्मा भन्ने इन्जिनियरलाई मासिक रु.२०,०००।- परामर्श शुल्क बापत तिर्ने गरेका रहेछन् । यसरी भुक्तानी गरिने शुल्कमा अग्रिम कर कट्टा गर्नु पर्दैन । तर निज कृष्ण शर्माले यसरी प्राप्त परामर्श शुल्कलाई भने आफ्नो आयमा समावेश गर्नु पर्दछ ।

८८(४)(क१)पत्रपत्रिकामा प्रकाशित लेख रचना बापतको भुक्तानी सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.४२

मानौं, श्याम एक प्राध्यापक हुन् । निजलेकुनै पत्रिकामा आर्थिक विषयमा लेख रचना प्रकाशित गरे बापतरु. ५,०००/- प्राप्त गरेका रहेछन् । उक्त पत्रिकामा लेख रचना प्रकाशित भए बापतको भुक्तानी गर्दा भुक्तानी दिने व्यक्तिले भुक्तानीमा कर कट्टा गर्नु पर्दैन । तर निज प्राध्यापकले यसरी प्राप्त गरेको रकम निजले आय विवरण पेश गर्दा आफ्नो आयमा समावेश गर्नु पर्दछ ।

८८(४)(ख) बासिन्दा बैंक वा अरु बासिन्दा वित्तीय संस्थालाई तिरेको ब्याज, सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.४३

मानौं, एस् एण्ड कम्पनीले City Commerce and Development Bank Ltd.बाट व्यवसायको लागि आवश्यक पर्ने Working Capitalको लागि रु.२ करोड वार्षिक १० प्रतिशतका दरले ब्याज तिर्ने गरी ऋण लिएको रहेछ । उक्त कम्पनीले वार्षिक रु.२० लाख ब्याज वित्तीय संस्थालाई भुक्तानी गरेको रहेछ । यसरी सो कम्पनीले वित्तीय संस्थालाई भुक्तानी गरेको ब्याज रकममा भुक्तानीमा कर कट्टा गर्नु पर्दैन ।

८८(४)(ख१) सहकारी बैङ्क तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याज |
८८(४)(ख२) संवत् २०८२ साल चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएका दुईसय मेगावाट भन्दा माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत्त आयोजनाले विदेशी बैङ्क वा अन्य विदेशी वित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको ऋण बापत तिरेको ब्याज ।
८८(४)(ग) कर छुट पाएको भुक्तानी वा दफा ८७ बमोजिम कर कट्टी हुनुपर्ने भुक्तानी,

उदाहरण १६.२.४४

मानौं, Poor & Supportएक मुनाफा नकमाउने गैर सरकारी संस्था रहेछ । यसले आफ्नो संस्थाको उद्देश्य अनुरूप ग्रामीण भेगका निमुखा जनताको लागि शिक्षा प्रदान गर्नको लागि Donorबाट कुनै प्रतिफलको आस नगरी गरिएको अनुदान प्राप्त गरी खर्च गर्ने | गर्दछ । उक्त संस्थाले कार्यालयबाट कर छुटको प्रमाणपत्र लिएको रहेछ । यस अवस्थामा सो संस्थाले अनुदान बापत प्राप्त गरेको रकम ऐनको दफा १०(छ) अनुसार कर छुट हुने रकम भएकोले अनुदान दिने व्यक्तिले सो रकममा कर कट्टा गर्नु पर्दैन । तर, कर छुट नहुने रकम जस्तै निक्षेप रकमको ब्याज भुक्तानीमा भने भुक्तानी दिनेले स्रोतमा कर कट्टा गर्नु पर्दछ ।

८८(४)(घ) क्रेडिट कार्ड जारी गर्ने बैंकलाई तिरेको इण्टररिजनल इण्टरचेन्ज शुल्क,

उदाहरण १६.२.४५

मानौं, National Bank Limited एक Commercial Bank रहेछ । उक्त बैंकले Master Cardजस्ता Credit Card सञ्चालनमा ल्याएको रहेछ । बैंकले यस्तो Credit Card जारी गर्ने Master Card International लाई Master Card प्रयोग गरेबापत लिने शुल्कको केही अंश भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी सेवा शुल्क बापतMaster Card International लाई Transferगरिने रकममा भुक्तानीमा कर कट्टा गर्नु पर्दैन ।

८८(४)(ङ) सामुहिक लगानी कोष (म्युचुअल फण्ड) लाई भुक्तानी गरिएको लाभांश र ब्याज ।

(यो व्यवस्था आर्थिक ऐन, २०७८ ले हटाएको छ)

आर्थिक ऐन, २०७० ले दफा ८८(४) (ङ) थप गरेको र सो बमोजिममा गरेको संशोधन पश्चात सामूहिक लगानी कोष (म्युचुअल फण्ड) लाई भुक्तानी गर्ने लाभांश र ब्याज भुक्तानीमा कर कट्टा गर्नु नपर्ने व्यवस्था गरेको छ । यस सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.४६

गोल्डन म्युचुअल फण्डले नेपाल बैंक लि.मा रु.१ करोड निक्षेप राखेको रहेछ। उक्त बैंकले सो म्यूच्युअल फण्डलाई २०७१ असोज मसान्तमा रु.५ लाख ब्याज भुक्तान गर्नुपर्ने रहेछ । उक्त व्याज भुक्तानीमा कर कट्टा गर्नु पर्दैन ।

१६.२.५ आकस्मिक लाभमा करकट्टी

ऐनको दफा ८८क. बमोजिम आकस्मिक लाभमा निम्नानुसार करकट्टी गर्नु पर्दछ :-

८८(१) आकस्मिक लाभ बापतको भुक्तानीमा पच्चीस प्रतिशतका दरले करकट्टी गर्नुपर्नेछ । तर साहित्य, कला, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुयाए बापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पुरस्कारमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आकस्मिक लाभ कर नलाग्ने गरी छुट दिन सक्नेछ ।
८८क(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साहित्य, कला, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुऱ्याए बापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन ।

ऐनको दफा २ (१) मा आकस्मिक लाभलाई निम्नानुसार परिभाषित गरेको छ :

“आकस्मिक लाभ” भन्नाले चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी वा अन्य कुनै पनिआकस्मिक रूपमा प्राप्त हुने लाभ सम्झनु पर्दछ ।

लाभ प्राप्त हुने निश्चितता नभएतापनि प्रापक व्यक्तिको श्रम वा पुँजीको उपयोग नगरी प्राप्त हुने चिठ्ठा, उपहार, पुरस्कार बक्सिस, जितौरी वा अन्य रकमलाई आकस्मिक लाभ मानिन्छ । ऐनको दफा ९२(१) (क) बमोजिम यस्तो आकस्मिक लाभमा हुने कर कट्टी रकम अन्तिम कर कट्टी मानिन्छ ।

उदाहरण १६.२.४

मानौं, दिपक निरौला भन्ने व्यक्तिले Casino Nepal मा जुवा खेलेका रहेछन् र रु.१,००,०००।- जितेका रहेछन् । यस्तो जितौरी रकममा Casino Nepal ले २५ प्रतिशत अर्थात रु.२५,०००/- भुक्तानीमा कर कट्टा गरी बाँकी रु. ७५,०००/- मात्र निज दिपक निरौलालाई भुक्तानी गर्नु पर्दछ । ऐनको दफा ९२ (१) (क) बमोजिम यस्तो जितौरीमा हुने कर कट्टी रकम अन्तिम कर कट्टी मानिन्छ ।

उदाहरण १६.२.४८

मानौं, दिपक कायस्थ भन्ने व्यक्तिले दशैंको समयमा चिठ्ठा खरिद गरेको रहेछ । चिठ्ठा खोल्दा सो व्यक्तिलाई रु.१,००,०००/- को चिठ्ठा परेको रहेछ भने उक्त व्यक्तिलाई भुक्तानी गर्दा २५ प्रतिशतले हुने अर्थात रु.२५,०००/- कर कट्टा गरी बाँकी रु.७५,०००/- मात्र भुक्तानी गर्नुपर्दछ । ऐनको दफा ९२(१) (क) बमोजिम यस्तो जितौरीमा हुने कर कट्टी रकम अन्तिम कर कट्टी मानिन्छ ।

१६.२.६ ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी

ऐनको दफा ८९ बमोजिम ठेक्का वा करारको भुक्तानी गर्दा निम्नानुसार कर कट्टी गर्नुपर्ने हुन्छः

८९(१) बासिन्दा व्यक्तिले ठेक्का वा करार बापत पचास हजार रुपैयाँभन्दा बढीको रकम भुक्तानी दिँदा भुक्तानीको कुल रकममा एक दशमलब पाँच प्रतिशतका दरले करकट्टी गर्नु पर्नेछ।
८९(२) उपदफा (१) मा उल्लिखित रकम यकिन गर्न एउटै करार अन्तर्गत त्यस्तो व्यक्ति वा निजको सम्बद्ध व्यक्तिबाट सोही करार अन्तर्गत भुक्तानी पाउने व्यक्ति वा निजको सम्बद्ध व्यक्तिलाई विगतको दश दिनमा दिइएका अन्य कुनै भुक्तानीहरु भए सो समेत जोडी यकिन गर्नु पर्नेछ ।

कुनै पनि बासिन्दा व्यक्तिले ठेक्का वा करार अन्तर्गत रु.५०,०००/- भन्दा बढीको रकम भुक्तानी गर्दा भुक्तानी रकमको १५ प्रतिशतका दरले भुक्तानीमा कर कट्टा गरी भुक्तानी गर्नु पर्दछ र भुक्तानी रकम वा करार वा ठेक्का रकम यकिन गर्ने प्रयोजनको लागि सोही करार अन्तर्गत भुक्तानी पाउने व्यक्ति वा निजकोसम्बद्धव्यक्तिलाई विगत दश दिनमा दिइएका अन्य कुनै भुक्तानी भए सो समेत जोडी यकिन गर्नु पर्दछ । यस दफाको प्रयोजनको लागि “ठेक्का वा करार" लाई निम्नानुसार स्पष्ट पारिएको छ:

यस दफाको प्रयोजनको लागि “ठेक्का वा करार” भन्नाले कुनै वस्तु वा श्रमिकको आपूर्ति वा मूर्त सम्पत्ति वा संरचनाको निर्माण वा जडान वा स्थापना गर्ने सम्बन्धमा गरिएको करार वा सम्झौता तथा विभागले ठेक्का वा करार भनी तोकेको कार्यलाई सम्झनु पर्छ र त्यस्तो करार वा सम्झौताले निर्माण वा जडान वा स्थापनासँग सम्बन्धित सेवा समेतलाई समेटेको भए सो सेवा बापतको भुक्तानीलाई समेत जनाउँछ ।

यसरी ठेक्का वा करारमा निम्न कारोबार पर्दछन् :

  • वस्तु वा श्रमिकको आपूर्ति,
  • मूर्त सम्पत्ति वा संरचनाको निर्माण, जडान वा स्थापना (सम्बन्धित सेवा समेत) र
  • विभागले ठेक्का वा करार भनी तोकेका कारोबार ।

यस सम्बन्धमा ऐनको दफा ८८ बमोजिम सेवा मानिएको भुक्तानी भने ठेक्का मानिदैन । ठेक्का मानिन मुख्य रूपले आपूर्तिको Arrangement, Labor Supply, मालसामानको आपूर्ति वा Tangible Assets निर्माणसँग प्रत्यक्ष सम्बन्धित हुनु पर्दछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.४९

मानौं, ABC & Co. ले CBS Internationalबाट राशन ठेक्का बापतरु. ५१,०००।- प्राप्त गरेका रहेछन् । यस्तो भुक्तानी रु.५०,०००/- भन्दा बढी भएकोले पूरै भुक्तानी रकममा कर कट्टा गर्नु पर्दछ । अर्थात, CBS Internationalले कुल ठेक्का रकम रु.५१,०००।-भुक्तानी दिंदा १.५ प्रतिशतका दरले हुने रु. ७६५ । - कर कट्टा गरी बाँकी हुन आउने रु. ५०,२३५/- ABC & Co लाई भुक्तानी दिनु पर्दछ ।

उदाहरण १६.२.५०

मानौं, Zenith होटल प्रा. लि. ले आफ्नो होटललाई वर्ष दिनभरि आवश्यक पर्ने कुखुराको मासु Haris Fresh Houseबाट खरिद गर्ने गरी सम्झौता गरेका रहेछन् । निज होटलले मासु खरिद गरेबापत भुक्तानी निम्नानुसार दिएका रहेछन् ।

२०६५।४।७ रु.२५,०००/-
२०६५।४।१२ रु.१०,०००/-
२०६५।४।१३ रु.५,०००/-
२०६५/४/१५ रु.१०,०००/-
२०६५।४।१७ रु.५,०००/-

करार अनुसार रु.५०,०००/- यकिन गर्ने प्रयोजनको लागि भुक्तानी दिएको दिनदेखि विगत | दश दिनको भुक्तानी रकम जोडिन्छ ।

भुक्तानी मिति विगत दश दिन रकम रु.
२०६५।४।१७ ५,०००/-
२०६५।४।१५ १०,०००/-
२०६५।४।१३ ५,०००/-
२०६५।४।१२ १०,०००/-
२०६५।४।७ २५,०००/-
जम्मा १० ५५,०००/-

यसरी विगत दश दिनमा भुक्तानी गरेको रकम रु.५५,०००/- मा १.५ प्रतिशतका दरले हुने रु. ८२५/- भुक्तानीमा कर कट्टा गरी भुक्तानी दिनु पर्दछ ।

८९(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा व्यक्तिले कुनै ठेक्का वा करार अन्तर्गत कुनै गैर बासिन्दा व्यक्तिलाई दिने भुक्तानीबाट देहाय बमोजिम कर कट्टी गर्नु पर्नेछ:
८९(३)(क) ठेक्का वा करारमा पाँच प्रतिशत
८९(३)(ख) गैर बासिन्दा बीमा कम्पनीलाई प्रिमियम भुक्तानी गर्दा वा गैर बासिन्दा बीमा कम्पनीबाट पुनर्बीमा बापत प्राप्त हुने प्रिमियम रकमबाट दिइने कमिशनमा एक दशमलब पाँच प्रतिशत

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएको छः

उदाहरण १६.२.५१

मानौं, नेपाल जीवन बीमा कम्पनी लि.ले जापानी जीवन बीमा कम्पनीसँग Reinsuranceकरार गरेको रहेछ । आर्थिक वर्ष २०७६ । ७७ मा जापानी जीवन बीमा कम्पनीलाई रु.१०,००,०००/- Reinsurance Premiumभुक्तान गरेको रहेछ भने जापानी जीवन बीमा कम्पनी गैर बासिन्दा बीमा कम्पनी भएको कारण यस्तो भुक्तानी रकममा १.५ प्रतिशतका दरले हुन आउने रकम रु.१५,०००/- भुक्तानीमा कर कट्टा गरी बाँकी रकम रु.९,८५,०००/- भुक्तानी दिनु पर्दछ ।

८९(३)(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक विभागले त्यस्तो बासिन्दा व्यक्तिलाई लिखित सूचना दिएकोमा सो सूचनामा उल्लिखित दरमा ।

माथि उपखण्ड (क) वा (ख) बाहेक गैर बासिन्दा व्यक्तिलाई दिइने भुक्तानीका अन्य अवस्थामा विभागले बासिन्दा भुक्तानीकर्तालाई लिखित सूचना दिए बमोजिम कर कट्टा गरी भुक्तानी गर्नु पर्दछ।

तर नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले आफ्नो प्रयोजनका लागि खरिद गर्ने हातहतियार, गोली गट्टा तथा सञ्चार उपकरणको खरिद बापतको भुक्तानीमा यो उपदफा लागू हुने छैन । (यो प्रतिबन्धात्मक वाक्यांश आर्थिक ऐन, २०७८ ले थप गरेको हो)

८९(३क) उपभोक्ता समितिमार्फत काम गराउने गरी गरिएको पचास लाख रुपैयाँभन्दा बढीको भुक्तानी रकममा एक दशमलब पाँच प्रतिशतका दरले करकट्टी गर्नुपर्नेछ ।

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका निकायहरुबाट उपभोक्ता समिति गठन गरी उक्त उपभोक्ता समिति मार्फत काम गराउने गरी पचास लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा भुक्तानी रकमको १.५ प्रतिशतका दरले करकट्टी गरी बाँकी रकम भुक्तानी दिनुपर्छ ।

८९(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका भुक्तानीका हकमा यो दफा लागू हुने छैन:
(क) व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र घरमा जडित सामान तथा उपकरण बापत तिरेको भाडा बाहेकको अन्य कुनै भुक्तानी,
(ख) कर छुट दिइएका भुक्तानी वा दफा ८७ ८८ वा ८८ बमोजिम कर कट्टी गर्नुपर्ने भुक्तानी ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.५२

मानौं, गोबिन्द भन्ने व्यक्तिले आफ्नो घर रु ५० लाखमा निर्माण गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको रहेछ । यसरी दिएको ठेक्काको भुक्तानीमा निज गोविन्दले भुक्तानीमा कर कट्टा गर्नु पर्दैन । तर, सो निर्माण कम्पनीले यसरी ठेक्का बापत प्राप्त रकमलाई भने आफ्नो आयमा समावेश गर्नु पर्दछ ।

उदाहरण १६.२.५३

मानौं, नेपाल अवकाश कोष, विभागबाट स्वीकृत अवकाश कोष रहेछ । उक्त कोषको निक्षेप शुभ बैंक लि. मा रहेछ । अवकाश कोषको ब्याजमा आय कर नलाग्ने भएको हुँदा सो बैंकले उक्त कोषलाई भुक्तानी गर्ने व्याजमा कर कट्टा गर्नु पर्दैन ।

कुनै भुक्तानी दफा ८७ वा ८८ अन्तर्गत पनि पर्ने र यो दफा अन्तर्गत पनि पर्ने देखिएमा दफा ८७ वा ८८ अन्तर्गतको भुक्तानीमा कर कट्टी गर्नु पर्ने दर लागू हुन्छ ।

१६.२.७ कर कट्टी गरिनु पर्ने दर

बासिन्दा व्यक्तिले ऐनको ८७ ८८ ८८क र ८९ बमोजिम गरिनुपर्ने कर कट्टीका दर समष्टिगतमा तल तालिकामा प्रस्तुत गरिएको छ ।

आकर्षित हुने दफा भुक्तानीमा करकट्टी हुने भुक्तानी भुक्तानीमा कर कट्टीको दर अन्तिम हुने/नहुने
दफ ८७(१) रोजगारीको आय (पारिश्रमिक) अनुसूची -१ को दफा १ मा तोकिएको दरले सामान्यतय हुने
दफा ८८(१) सामान्य ब्याज भुक्तानी १५ प्रतिशत नहुने
दफा ८८(१) प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिशन वा बिक्री वोनस, अवकाश भुक्तानी आदि १५ प्रतिशत नहुने
दफा ८८(१) दफा ९२(१) (ज) पटके रूपमा गरिएको अध्यापन गराए बापतको भुक्तानी, प्रश्नपत्र तयार गरे वा उत्तरपुस्तिका जाँच गरे बापतको भुक्तानी १५ प्रतिशत हुने (प्रति बैठक बीस हजार रुपैयाँसम्म )
दफा ८८(१) (१) दफा ९२(१) (छ) नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको योगदानमा आधारित अवकाश भुक्तानी रु. ५,००,०००।- वा भुक्तानी रकमको ५० प्रतिशतमध्ये जुन बढी हुन्छ सो घटाई बाँकी रहने भुक्तानीमा ५ प्रतिशत हुने (नियमित रूपमा भुक्तानी हुने निवृत्तभरण बाहेक)
दफा ८८(१) (२) दफा ९२ (१) (च) बासिन्दा रोजगार कम्पनीले गैर बासिन्दा व्यक्तिलाई भुक्तानी गरेको कमिशनमा ५ प्रतिशत हुने
दफा ८८(१) (३) दफा ९२(१) (च) वायुयानको लिज (पट्टा) बापतको रकम भुक्तान १० प्रतिशत हुने (गैर बासिन्दा व्यक्तिको हकमा)
दफा ८८(१) (४) मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवाप्रदायक बासिन्दा व्यक्तिलाई भुक्तानी गरेको सेवा शुल्कमा वा मूल्य अभिवृद्धि कर छुटको कारोबार गर्ने बासिन्दा निकायलाई भुक्तानी गरेको सेवा शुल्कमा १.५ प्रतिशत नहुने
दफा ८८(१)(५) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको भाडा भुक्तानीमा १० प्रतिशत नहुने
दफा ८८(१)(५)(क) मूल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडा बापत भुक्तानी गर्ने रकम १.५ प्रतिशत नहुने
दफा ८८(१)(५)(ख) प्राकृतिक व्यक्तिले घर बहाल बापत प्राप्त गरेको रकम कर कट्टी गर्नुपर्ने -
दफा ८८(१)(७) बासिन्दा व्यक्तिले भू-उपग्रह, ब्याण्डविथ, अप्टिकल फाइवर, दुरसञ्चार सम्बन्धी उपकरण वा विद्युत प्रशारण लाइन प्रयोग गरेबापत गरेको भुक्तानी १० प्रतिशत नहुने
दफा ८८(१)(६) सामुहिक लगानी कोष (म्युचुअल फण्ड) बाट वितरण गरिने प्रतिफल प्राकृतिक व्यक्तिलाई ५ प्रतिशत हुने
दफा ९२(१)(ञ) सामुहिक लगानी कोष (म्युचुअल फण्ड) बाट वितरण गरिने प्रतिफल अन्य व्यक्तिलाई १५ प्रतिशत नहुने
दफा ८८(१)(८) ढुवानी सेवा बापतको तथा दुवानी साधन भाडामा दिए बापतको भुक्तानी रकम २.५ प्रतिशत हुने प्राकृतिक व्यक्तिको हकमा
दफा ८८(१)(८) यो व्यवस्था आर्थिक ऐन २०७८ ले खारेज गरेको मूल्य अभिवृद्धि करमा दर्ता भई ढुवानी सेवा प्रदान गर्ने वा ढुवानी, साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई भुक्तानी गर्ने रकम १.५ प्रतिशत नहुने
दफा ८८(१)(९) बासिन्दा बैंङ्ग तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्गले तोकेको क्षेत्रमा लगानी गर्न विदेशी बैन वा अन्य वित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको ऋण बापतको ब्याज भुक्तानी १० प्रतिशत हुने
दफा ८८(१)(१०) उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा प्रचलित कानुन बमोजिम भुक्तानी कार्ड, इ-मनी (वालेट), मोवाइल बैंकिङ्ग जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी गरे बापत प्रदान गरिने प्रोत्साहन रकममा कर कट्टी गर्नुनपर्ने -
दफा (१)(११) विदेशी विद्यालय वा विश्वविद्यालयलाई रजिष्ट्रेशन शुल्क, शिक्षण शुल्क तथा परीक्षा शुल्क बापतको रकम भुक्तानी ५ प्रतिशत हुने
दफा ८८(१)(१२) बासिन्दा बैङ्क तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको ब्याजमा पाँच प्रतिशतका दरले । ५ प्रतिशत नहुने
दफा ८८(२)(क) दफा ९२(१)(क) कम्पनी वा साझेदारी फर्मले भुक्तानी गरेको लाभांश ५ प्रतिशत हुने
दफा ८८(२)(ख) दफा ९२(१)(ग) लगानी बीमाको लाभ भुक्तानी ५ प्रतिशत हुने
दफा ८८(२)(ग) दफा ९२(१)(घ) स्वीकृति नलिएको अवकाश कोषबाट लाभको भुक्तानी ५ प्रतिशत हुने
दफा ८८(३) दफा ९२(१)(ङ) नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको खण्डमा बासिन्दा बैंक, वित्तीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानुन बमोजिम सूचिकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, ऋणपत्र, डिवेन्चर तथा सरकारी बण्ड बापत भुक्तान गर्ने ब्याज ५ प्रतिशत हुने
दफा ८८(१) दफा ९२(१) बासिन्दा बैंक, वित्तीय संस्था,सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानुन बमोजिम सूचिकृत भएका कम्पनीले कर छुट पाउने संस्थालाई भुक्तान गर्ने ब्याज १५ प्रतिशत हुने
दफा ८८(४)(क) प्राकृतिक व्यक्तिले गरेको व्यवसाय सञ्चालनसँग सम्बन्धित बाहेकका अन्य कुनै भुक्तानी कर कट्टी गर्नु नपर्ने -
दफा ८८(४)(क१) पत्रपत्रिकामा प्रकाशित लेख रचना बापतको भुक्तानी कर कट्टी गर्नु नपर्ने -
दफा ८८(४)(ख) बासिन्दा बैंक वा अरु बासिन्दा वित्तीय संस्थालाई तिरेको ब्याज कर कट्टी गर्नु नपर्ने -
दफा ८८(४)(ख१) सहकारी बैङ्क तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याज कर कट्टी गर्नु नपर्ने -
दफा ८८(४)(ख२) संवत् २०८२ साल चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएका दुईसय मेगावाट भन्दा माथिका जलाशय तथा अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले विदेशी बैङ्क वा अन्य विदेशी वित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको ऋण बापत तिरेको ब्याज कर कट्टी गर्नु नपर्ने -
दफा ८८(४)(ग) कर छुट पाएको भुक्तानी कर कट्टी गर्नु नपर्ने -
दफा ८८(४)(घ) क्रेडिट कार्ड जारी गर्ने बैंकलाई तिरेको इण्टररिजनल इण्टरचेन्ज शुल्क कर कट्टी गर्नु नपर्ने -
दफा ८८(४)(ङ) (आर्थिक ऐन, २०७८ ले खारेज) सामुहिक लगानी कोष (मुच्यूअल फण्ड) लाई भुक्तानी गरिएको लाभांश र ब्याज कर कट्टी गर्नु नपर्ने -
दफा ८८(१) दफा ९२(१)(झ) आकस्मिक लाभ २५ प्रतिशत हुने
दफा ८८(२) दफा ९२(१)(झ) साहित्य, कला, संस्कृति, खेलकुद, पत्रकरिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुऱ्याए बापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कार कर कट्टी गर्नु नपर्ने कर नलाग्ने
दफा ८९(१) करार वा ठेक्का बापत रु. ५०,००० भन्दा बढी रकमको भुक्तानी १.५ प्रतिशत नहुने
दफा ८९(३)(क) गैर बासिन्दा व्यक्तिलाई भुक्तानी हुने ठेक्का वा करारमा ५ प्रतिशत हुने
दफा ८९(३)(ख) गैर बासिन्दा व्यक्तिलाई भुक्तानी हुने पूनर्बिमा प्रिमियम र गैर बासिन्दा बीमा कम्पनीबाट पुनर्बीमा बापत प्राप्त हुने प्रिमियम रकमबाट दिइने कमिशन १.५ प्रतिशत हुने
दफा ८९(३)(ग) गैर बासिन्दा व्यक्तिलाई हुने अन्य भुक्तानी विभागले लिखित सूचना दिए बमोजिम हुने
दफा ८९ (३) को प्रतिबन्धात्मक वाक्यांश नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले आफ्नो प्रयोजनका लागि खरिद गर्ने हातहतियार, गोली गठ्ठा तथा सञ्चार उपकरणको खरिद बापत गैर बासिन्दा व्यक्तिलाई गरेको भुक्तानी कर कट्टी गर्नु नपर्ने -
दफा ८९ (३क) उपभोक्ता समितिमार्फत काम गराउने गरी गरिएको पचास लाख रुपैयाँभन्दा बढीको भुक्तानी रकममा १.५ प्रतिशत नहुने

१६.३ अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी

ऐनको दफा ९२ मा अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी सम्बन्धमा निम्नानुसार व्यवस्था रहेको छ

९२(१) देहायका भुक्तानीलाई अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी मानिनेछ:
९२(१) (क) बासिन्दा कम्पनी वा साझेदारी फर्मले भुक्तानी गरेको लाभांश,

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.३.१

मानौं, नेपाल वैदेशिक रोजगार प्रा. लि. एक बासिन्दा कम्पनी रहेछ । उक्त कम्पनीले आ.व. २०६४/६५को मुनाफाबाट आफ्नो शेयरहोल्डरलाई रु.६० प्रति शेयरको दरले लाभांशको घोषणा गरेको रहेछ । उक्त लाभांशमा सो कम्पनीले ५ प्रतिशतका दरले हुने रु.३ - प्रति शेयर कर कट्टी गरी रु.५७/- प्रति शेयर शेयरहोल्डरलाई भुक्तानी गरेको रहेछ भने सो लाभांश अन्तिमरूपमा कर कट्टी भएको लाभांश मानिनेछ र शेयरहोल्डरले सो लाभांश आयमा समावेश गर्नु पर्दैन ।

उदाहरण १६.३.२

मानौं, आदिश्री एण्ड साझेदारी फर्मको २०७५ मार्ग २८ गते बसेको साझेदारी सभाले २०७४।७५ को मुनाफाबाट रु.२,००,०००/- साझेदारको लगानीको अनुपातमा लाभांश वितरण गर्ने निर्णय गरेको रहेछ । उक्त लाभांशमा उक्त फर्मले ५ प्रतिशतका दरले हुने रु.१०,०००/- साझेदारहरुबाट कर कट्टी गरी बाँकी रु.१,९०,०००/- साझेदारहरुलाई भुक्तानी गरेको रहेछ भने सो लाभांश अन्तिम रूपमा कर कट्टी भएको लाभांश मानिनेछ र साझेदारहरुले सो लाभांश आयमा समावेश गर्नु पर्दैन ।

९२(१)(ख) व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सोसँग गाँसिएका जडानहरु र उपकरणहरु बापत भुक्तानी गरेको भाडा,
९२(१)(ग) बासिन्दा व्यक्तिले लगानी बीमा बापत भुक्तानी गरेको लाभ,

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.३.३

मानौं, पूर्णताले आफ्नो जीवन बीमा नेपाल जीवन बीमा संस्थानमा रु.८,००,०००|- (Sum Insurred ) को जीवन बीमा गराएकी रहिछन् । निजले सो बापत वार्षिक रु.४०,०००/- प्रिमियम तिर्ने गरेकी रहिछिन् । उक्त पोलिसी अवधि समाप्त हुँदासम्म निजले प्रिमियम बापतरु.६,००,०००/- भुक्तान गरिसकेकी रहिछिन् । जीवन बीमा संस्थानबाट उक्त Policy Mature भएपछि निजले रु.१२,००,०००/- पाउने देखियो । यस्तो रकम भुक्तानी दिँदा संस्थानले लाभ रु.६,००,०००।- (१२,००,०००-६,००,०००) मा ५ प्रतिशतका दरले हुने रु.३०,०००/- भुक्तानीमा कर कट्टा गरी बाँकी हुन आउने रु.११,७०,०००।- भुक्तानी दिनु पर्दछ । यसरी कट्टी गरिएको कर अन्तिम कर कट्टी हुनेछ र पूर्णताले सो रकमलाई आयमा समावेश गर्नु पर्दैन । तर, यसरी लगानी बीमाको लाभ गैर बासिन्दा व्यक्तिबाट भुक्तानी प्राप्त भएको खण्डमा भने त्यस्तो लाभलाई आयमा समावेश गर्नु पर्दछ ।

उदाहरण १६.३.४

मानौं, सजग महराले रु १० लाखको १० वर्षे बीमा गराएका रहेछन् । पाँच वर्षको नियमित प्रिमियम वार्षिक रु.१ लाख तिरिसकेपछि निजको मृत्यु भएछ । बीमा कम्पनीले बीमा पोलिसी अनुसार रु. ६ लाख ५० हजार र बीमांक रु.१० लाख भुक्तानी गर्नुपर्ने यकिन गरेछ । सो रकम भुक्तानी गर्दाको लाभ रु. ११ लाख ५० हजार (रु.१६ लाख ५० हजारमा तिरेको प्रिमियम रु.५ लाख घटाउँदा) लाभ भएपनि ऐनको दफा ३१ बमोजिम यस्तो किसिमको आयमा कर नलाग्ने व्यवस्था भएको हुँदा यस किसिमको भुक्तानीमा कर कट्टी गर्नु पर्दैन ।

९२(१)(घ) बासिन्दा व्यक्तिले तिरेको स्वीकृति नलिएको अवकाश कोषको हित बापत भुक्तानी गरेको लाभ,

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएको छ:

उदाहरण १६.३.५

मानौं, दिलेन्द्र खड्काले आफ्नो आयबाट नियमित रूपले बिगत वर्षमा स्वीकृति नलिएको अवकाश कोषमा रकम जम्मा गर्दै आएका रहेछन् । उक्त कोषले मिति २०६५।६/६ मा निजलाई जम्मा रु.८,००,०००/- भुक्तान गर्नुपर्ने रहेछ । आ. व. २०६५/६६ सम्ममा निजले उक्त कोषमा रु.६,००,०००।- जम्मा गरिसकेका रहेछन् । सो कोषले गर्नुपर्ने भुक्तानीबाट लाभ रु.२,००,०००/- (८,००,०००-६,००,०००) मा ५ प्रतिशतका दरले हुने रु.१०,०००/- भुक्तानीमा कर कट्टा गरी बाँकी हुन आउने रु. ७,९०,०००/- निज दिलेन्द्र खड्कालाई भुक्तानी दिनु पर्दछ । यसरी कट्टी गरिएको कर अन्तिम कर कट्टी हुनेछ र निजले सो रकमलाई आयमा समावेश गर्नु पर्दैन । तर, यसरी प्राप्त हुने लाभ गैर बासिन्दा व्यक्तिबाट भुक्तानी प्राप्त भएको खण्डमा भने त्यस्तो लाभलाई आयमा समावेश गर्नु पर्दछ ।

९२(१)(ङ) दफा ८८ को उपदफा (३) मा उल्लिखित बैंक, वित्तीय संस्था वा ऋण पत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानुन बमोजिम सूचिकृत भएका कम्पनी वा सहकारीले भुक्तानी दिएको देहाय बमोजिमको ब्याज:
(१) नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको,
(२) दफा २ को खण्ड (ध) बमोजिमको कर छुट पाउने संस्थालाई भुक्तानी गरेको ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.३.६

मानौं, दिलेन्द्र खड्काले दिपलक्ष्मी विकास बैंक लि. मा रु.१ लाखको निक्षेप राखेका रहेछन् । आ.व. २०७६ । ७७ मा सो बैंकले निजलाई रु.१०,०००/- व्याज भुक्तान गरेको रहेछ र यसरी भुक्तान गर्दा सो ब्याज रकमको ५ प्रतिशतका दरले हुने रु.५००/- भुक्तानीमा कर कट्टा गरी बाँकी हुन आउने रु.९,५००/- निज दिलेन्द्र खड्कालाई भुक्तान गरेको रहेछ । दिलेन्द्र खड्काको उक्त निक्षेप व्यवसायसँग सम्बन्धित नभएको अवस्थामा यसरी कट्टी गरिएको कर अन्तिम कर कट्टी हुनेछ र निजले सो रकमलाई आयमा समावेश गर्नु पर्दैन । तर, व्यावसायिक फर्मको निक्षेपमा दिइएका ब्याज वा व्यवसायसँग सम्बन्धित व्याज भुक्तानीमा भने १५ प्रतिशत कर कट्टा गर्नु पर्दछ । यसरी प्राप्त हुने ब्याजलाई सो व्यवसायको आयको गणना गर्दा समावेश गर्नु पर्दछ ।

उदाहरण १६.३.७

मानौं,Support Nepalऐनको दफा २(ध) बमोजिम कर छुट हुने निकायको रूपमा दर्ता भएको एक गैर सरकारी संस्था हो । उक्त संस्थाले दिपलक्ष्मी विकास बैंक लि.मा रु.१,००,०००/- को निक्षेप राखेका रहेछन् । आ.व. २०७६/७७ मा सो बैंकले निजलाई रु.१०,०००/- ब्याज भुक्तान गरेको रहेछ र यसरी भुक्तान गर्दा सो ब्याज रकमको १५ प्रतिशतका दरले हुने रु.१,५००/- भुक्तानीमा कर कट्टा गरी बाँकी हुन आउने रु.८,५००/- सो संस्थालाई भुक्तान गरेको रहेछ । यसरी कट्टी गरिएको कर अन्तिम कर कट्टी हुने भुक्तानी हुनेछ

९२(१)(च) दफा ८७ ८८ ८८क वा ८९ बमोजिम गैर बासिन्दा व्यक्तिलाई दिइएको कर कट्टी हुनुपर्ने भुक्तानी,

दफा ८७ बमोजिमको पारिश्रमिक, दफा ८८ बमोजिमकोब्याज, प्राकृतिक स्रोत, रोयल्टी, सेवा शुल्क, कमिशन, वायुयानको लिज ( पट्टा) बापतको रकम, भाडा, लाभांश, लगानी बीमाको लाभ, दफा ८९ बमोजिमको करार वा ठेक्का बापतको भुक्तानी गैर बासिन्दा व्यक्तिलाई भुक्तानी गरिएमा त्यस्ता भुक्तानी समेत अन्तिम कर कट्टी हुने भुक्तानी मानिन्छन् ।

९२(१)(छ) नेपाल सरकार वा स्वीकृत अवकाश कोष वा स्वीकृति नलिएको अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानीसमेत सबै प्रकारका अवकाश भुक्तानी (नियमित रूपमा भुक्तानी हुने निवृत्तिभरण बाहेक),

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.३.८

मानौं, दिलेन्द्र खड्का Support Nepalमा काम गर्ने कर्मचारी रहेछन् । सो संस्थाबाट निजले मिति २०७३।१०।५ मा अवकाश लिएको रहेछन् । अवकाशको समयमा नियमित पारिश्रमिकको अलावा सञ्चित बिदा बापतरु. १०,०००/- एवम् उपदान बापतरु.२,००,०००।- समेत प्राप्त गरेका रहेछन् । निजले प्राप्त गर्ने अवकाश भुक्तानी रु.२,१०,०००।-मा सो संस्थाले १५ प्रतिशतका दरले हुने रु.३१,५००/- भुक्तानीमा कर कट्टा गर्नु पर्दछ र सो अवकाश भुक्तानी रु.२,१०,०००/- निजको रोजगारीको आयमा समावेश गर्नु पर्दैन । निजको नियमित पारिश्रमिक भने आयमा समावेश गरी | नियमानुसार लाग्ने कर कट्टी गर्नु पर्दछ ।

९२(१)(ज) प्रति बैठक बीस हजार रुपैयाँसम्मको बैठक भत्ता, पटके रूपमा अध्यापन गराए बापत, प्रश्नपत्र तयार गरे वा उत्तर पुस्तिका जाँच गरे बापतको भुक्तानी, र

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएको छः

उदाहरण १६.३.९

मानौं, दिलेन्द्र खड्का एक स्वतन्त्र व्यवसायी रहेछन् । Support Nepalभन्ने संस्थाले निजलाई आफ्ना कर्मचारीको लागि एउटा विशेष कक्षामा Lecture दिनको लागि रु.१०,०००/- अध्यापन शुल्क उपलब्ध गराएको रहेछ । सो संस्थाले यस्तो भुक्तानीमा १५ प्रतिशतका दरले हुने रु.१,५००/- भुक्तानीमा कर कट्टा गर्नु पर्दछ । यसरी कर कट्टापछि प्राप्त भएको भुक्तानी रकमलाई निज दिलेन्द्र खड्काले आफ्नो आयमा समावेश गर्नु पर्दैन ।

उदाहरण १६.३.१०

मानौं, दिलेन्द्र खड्का विश्व विद्यालयका गणित विषयका प्राध्यापक रहेछन् । विश्व विद्यालयले लिने उक्त विषयको वार्षिक परीक्षाको लागि निजले प्रश्नपत्र तयार गरे बापत विश्वविद्यालयले रु.५०,०००/- भुक्तानी दिँदा उक्त भुक्तानीमा १५ प्रतिशतका दरले रु.७,५००/- कर कट्टा गर्नु पर्दछ । त्यसैगरी निज प्राध्यापकले गणित विषयको उत्तरपुस्तिका जाँच गर्ने कार्यसमेत प्राप्त गरी सो बापत रु.१,००,०००/- भुक्तानी दिइएको रहेछ भने उक्त भुक्तानीमा १५ प्रतिशतका दरले रु.१५,०००/- कर कट्टा गर्नु पर्दछ । यसरी कर कट्टा पछि प्राप्त भएको भुक्तानी रकमलाई निज दिलेन्द्र खड्कालेआफ्नो आयमा समावेश गर्नु पर्दैन ।

९२(१)(झ) आकस्मिक लाभ बापतको भुक्तानी ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.३.११

मानौं, दिपक निरौला भन्ने व्यक्तिले Casino Nepalमा जुवा खेलेका रहेछन् र रु.१,००,०००/- जितेका रहेछन् । यस्तो जितौरी रकममा Casino Nepal ले २५ प्रतिशत अर्थात रु.२५,०००/- भुक्तानीमा कर कट्टा गरी बाँकी रु ७५,०००/- मात्र निज दिपक निरौलालाई भुक्तान गर्नु गर्दछ । ऐनको दफा १२(१) (क) बमोजिम यस्तो जितौरीमा हुने कर कट्टी रकम अन्तिम कर कट्टी मानिन्छ । यसरी कर कट्टी पछि प्राप्त भएको भुक्तानी रकमलाई निज दिपक निरौलाले आफ्नो आयमा समावेश गर्नु पर्दैन ।

९२(१)(ञ)सामूहिक लगानी कोष (म्युचुअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम ।

यस सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.३.१२

गोल्डन म्यूच्युअल फण्डले २०७६ पौष ६ गते आफ्ना हिताधिकारीलाई १० प्रतिशतले प्रतिफल वितरण गरेको रहेछ । यसरी वितरण गरिएको प्रतिफलमध्ये प्राकृतिक व्यक्तिलाई वितरण गरेको प्रतिफलमा पाँच प्रतिशतका दरले कर कट्टा गर्नुपर्ने हुन्छ । अन्यको हकमा भने यस्तो प्रतिफलको भुक्तानीमा १५ प्रतिशतका दरले कर कट्टा गर्नुपर्ने हुन्छ । प्राकृतिक व्यक्तिले यसरी प्रतिफलमा पाँच प्रतिशतका दरले कर कट्टी गरी प्राप्त भएको रकम आयमा समावेश गर्नु पर्दैन ।

९२(१)(ट) एकलौटी फर्म बाहेकका प्राकृतिक व्यक्तिको सवारी वा ढुवानी साधनको भाडा वा ढुवानी सेवा बापतको भुक्तानी ।
९२(२) अग्रिम कर कट्टी गर्ने व्यक्तिले वा कर कट्टी हुने व्यक्तिले अन्तिम रूपमा कट्टी हुने भुक्तानीबाट दफा ८७ ८८ ८८क वा ८९ बमोजिम कर कट्टी गरेको वा दफा ९० को उपदफा (३) बमोजिम कट्टी गरिएको भनी मानिएको कर रकम विभागलाई दाखिला गरेमा दफा ३ को खण्ड (ग) मा उल्लेख भए बमोजिमको व्यक्तिले कर दायित्व पूरा गरेको मानिनेछ ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.३.१३

मानौं, Support Nepalले आफ्ना कर्मचारीको पारिश्रमिकबाट नियमानुसार हुन आउने कर रकम पारिश्रमिक भुक्तानी गर्ने अवस्थामा नै कट्टा गरी सम्बन्धित कार्यालयमा दाखिला गर्ने गरेको रहेछ भने त्यस्तो अवस्थामा अन्य आय नभए अर्थात आय विवरण बुझाउनुपर्ने दायित्व नभएको कर्मचारीले आफ्नो दायित्व पूरा गरेको मानिनेछ । तथापि, सो संस्थाले दाखिला गरेको कर नपुग भएमा दफा ९२ को उपदफा (२) बमोजिमको रकम दाखिला नभएको कारणले नपुग करसहित शुल्क तथा व्याज दाखिला गर्ने दायित्व सो संस्था वा सम्बन्धित कर्मचारीको (Jointly and severally responsible ) हुनेछ ।

१६.४

अन्तिम रूपमा कट्टी नहुने करको मिलान सुविधा र समावेशः ऐनको दफा ९३ मा अन्तिम रूपमा कर कट्टी नहुने करको मिलान सम्बन्धमा निम्नानुसार व्यवस्था रहेको छ :

९३(१) कुनै भुक्तानीको रकम गणना गर्ने प्रयोजनको लागि सो भुक्तानीबाट कुनै कर कट्टी गरिएको भए त्यस्तो कर कट्टी रकमलाई सो भुक्तानीको अंशको रूपमा लिइनेछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.४.१

मानौं, कल्पना एण्ड सन्स् प्रा. लि. ले कन्सल्टेन्सी सेवा बापत प्रकाश एण्ड कं. लाई रु.५०,०००/- भुक्तानी गर्नुपर्नेमा १५ प्रतिशतले हुने रकम रु.७,५००/- भुक्तानीमा कर कट्टी गरी रु. ४२,५००/- मात्र प्रकाश एण्ड कं. लाई भुक्तान गरी सम्बन्धित कार्यालयमा दाखिला गरेको रहेछ भने यसरी दाखिला भएको कर रकमसमेत भुक्तानीको अंश मानिनेछ । यस प्रकार कल्पना एण्ड सन्स् प्रा. लि. ले कुल भुक्तानी रु.५०,०००/- नै खर्च कट्टी दाबी गर्न सक्नेछ भने प्रकाश एण्ड कं.ले रु.५०,०००/- नै भुक्तानी प्राप्त गरेको मानी आयमा समावेश गर्नुपर्छ ।

९३(२) अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी बाहेकको कुनै भुक्तानीमा कर कट्टी भएको रहेछ भने कर कट्टी हुने व्यक्तिले देहाय बमोजिमको कर रकम दाखिला गरे सरह मानिनेछ:
(क) दफा ८७ ८८ वा ८९ बमोजिम भुक्तानीमा कट्टी गरिएको कर रकम,
(ख) अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० को उपदफा (३) बमोजिमको वा भुक्तानीमा कर कट्टी गरेको मानिने कर रकम विभागमा दाखिला गरेको भए त्यस्तो रकम ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.४.२

मानौं, कल्पना एण्ड सन्स् प्रा.लि.ले कन्सल्टेन्सी सेवा बापत प्रकाश एण्ड कम्पनीलाई रु.५०,०००/- भुक्तानी गर्नुपर्नेमा १५ प्रतिशतले हुने रकम रु.७५००/- भुक्तानीमा कर कट्टी गरेको रहेछ भने यसरी कट्टी भएको कर रकम प्रकाश एण्ड कम्पनीले कर दायित्व बापत दाखिला गरेको अर्थात Advance Tasमानिनेछ र आफ्नो कुल कर दायित्वसँग मिलान गर्न सक्नेछ ।

तर निजलाई सो रकम भुक्तानी गर्दा कर कट्टी नगरेको अवस्थामा त्यस्तो रकम दफा ९० ( ३) बमोजिम प्रा.लि. ले दाखिला गरेको भए पनि प्रकाश एण्ड कम्पनीले दाखिला गरेको मानिन्छ । भुक्तानीमा कर कट्टी नगरी दाखिला गरेको रकम दफा ९०( ८ ) को व्यवस्था बमोजिम दाखिला गर्ने कल्पना एण्ड सन्स् प्रा.लि. ले प्रकाश एण्ड कम्पनीसँग फिर्ता माग गर्न भने पाउँदछ ।

९३(३) उपदफा (२) बमोजिमको रकम कर कट्टी हुने व्यक्तिले सो भुक्तानी गरेको आय वर्षमा दाखिला गर्नुपर्ने कर रकममा मात्र मिलान गर्न दाबी गर्न सक्नेछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.४.३

मानौं, ABC Companyले आफ्नो व्यवसाय सञ्चालन गर्नका लागि घर भाडामा मासिक रु.५०,०००/- तिर्ने गरी लिएका रहेछन् । निजले मासिक रूपमा १० प्रतिशतका दरले हुने रु.५,०००/- भुक्तानीमा कर कट्टा गरी बाँकी रकम BCZ & Co. लाई बुझाउने गरेको रहेछ । BCZ & Co. ले आफ्नो आय विवरण बुझाउने क्रममा आ.व. ०७६/७७ को तिर्नुपर्ने दायित्व रु.१,००,०००/- रहेछ भने उक्त तिर्नुपर्ने दायित्व रकम रु.१,००,०००/- बाट घरभाडा बापतABC Companyले तिरेको बाह्र महिनाको भुक्तानीमा कर रकम रु.६०,०००/- मिलान गरी बाँकी रकम रु.४०,०००/- मात्रै बुझाउनु पर्दछ । उदाहरण १६.४.४: मानौ, सो आय वर्ष, BCZ & Co ले तिर्नुपर्ने दायित्व रकम रु.५०,०००।- मात्रै रहेछ भने निजले त्यस आ.व. मा भुक्तानीमा कर कट्टा गरी बुझाएको रकम रु.६०,०००।- कर मिलान गरी ऐनको दफा ११३ अनुसार अर्को वर्षमा मिलान गर्नका लागि Carry Forward गर्न पाउने वा Refundको लागि दाबी गर्न सक्नेछन् ।

उदाहरण १६.४.५

मानौं उक्त Co. ले आ.व. २०७५ । ७६ को तिर्नुपर्ने कर दायित्व रु.१,००,०००।-मा सोही आर्थिक वर्षमा ABC Company मार्फत तिरेको घरभाडाको भुक्तानीमा कर मिलान गर्न छुटेको रहेछ । BCZ Co. ले उक्त स्रोतमा कट्टा गरिएको भुक्तानीमा कर आ.व. २०७५/७६ मा तिरेको भुक्तानीमा कर रकम पछिल्लो आ.व.मा कर मिलान दाबी गर्न पाउने छैन । तर, ऐनको दफा ११३ बमोजिम बढी तिरेको कर फिर्ताको लागि दाबी गर्न सक्नेछ ।

१६.५ कट्टी गरिएको करको विवरण र भुक्तानी

ऐनको दफा ९० बमोजिम कट्टी गरिएको करको विवरण सम्बन्धित कार्यालयमा दाखिला गर्नुपर्ने हुन्छ ।

९०(१) अग्रिम कर कट्टी गर्नुपर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चीस दिनभित्र विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ ।

कर कट्टी विवरण दाखिला गर्दा विभागको Web site : www.ird.gov.np मार्फत विद्युतीय माध्यमElectronically विवरण (E-TDS) दाखिला गर्नु पर्नेछ । अर्थात, भुक्तानीमा कर कट्टी गर्नुपर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको २५ दिनभित्र E - TDS मार्फत वा सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्नेछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.५.१

मानौं, कल्पना एण्ड सन्स् प्रा.लि.ले आफ्ना कर्मचारीको २०७६ फागुन महिनाको पारिश्रमिक भुक्तानी गर्दा रु.५०,०००/- कर कट्टा गरेको रहेछ, त्यस्तै सो महिनामा एविसि कम्पनीलाई रु. १ लाख घर बहाल भुक्तानी गर्दारु. १०,०००/- कर कट्टा गरेको रहेछ । उक्त कर कट्टी विवरण सो प्रा.लि.ले २०७६ चैत्र महिनाको २५ गतेभित्र विभागले तोकेको तरिका र ढाँचामा सम्बन्धित कार्यालयमा विवरण सहित बुझाउनु पर्दछ ।

९०(२) उपदफा (१) मा उल्लिखित विवरणसँग अग्रिम कर कट्टी गर्ने व्यक्तिले कट्टी गरिएको कर वा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिएको रकम उपदफा (१) मा उल्लिखित म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।

अग्रिम कर कट्टी गर्नुपर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको २५ दिनभित्र अर्थात बैशाख महिनाभर कर कट्टी गरिएको विवरण जेष्ठ २५ गते भित्र E-TDS मार्फत विवरण दाखिला गर्नुपर्ने र कर कट्टी गरिएको रकम विभागमा वा राजस्व खाता सञ्चालन हुने बैंकमा दाखिला गर्नु पर्नेछ । अग्रिम कर कट्टी शीर्षकका आधारमा जम्मा गरिनुपर्ने सम्बन्धित राजस्व खाता विवरण यसै निर्देशिकाको अनुसूचीमा उल्लेख गरिएको छ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.५.२

मानौं, माथि उदाहरण १६ ५.१ मा उल्लिखित कर कट्टी विवरणको साथ कट्टा गरेको अग्रिम कर रकम २०७६ चैत्र महिनाको २५ गतेभित्र सम्बन्धित कार्यालयमा बुझाउनु पर्दछ ।

९०(३) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७ ८८ ८८क वा ८९ बमोजिम कर कट्टी नगरेको भए पनि सो कर कट्टी हुनुपर्ने समयमा सो कर कट्टी गरिएको मानिनेछ । अग्रिम कर कट्टी गर्ने दायित्व भएको व्यक्तिले कर कट्टी हुनुपर्ने भुक्तानीमा कर कट्टी गर्नु पर्नेछ। यस्तो व्यक्तिले त्यस्तो भुक्तानीमा कर कट्टी गर्न छुटाएको भए तापनि ऐनको दफा ९० को उपदफा (३) बमोजिम विभागले त्यस्तो व्यक्तिबाट कर असुल गर्न सक्दछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.५.३

मानौं, कल्पना एण्ड सन्स् प्रा.लि.ले मू.अ.कर प्रयोजनको निमित्त दर्ता भएको दिनेस सप्लायर्सबाट रु.१,००,०००/- को सामानकोठेक्का वा करार अर्न्तगत आपूर्ति लिएको रहेछ । उक्त रकम भुक्तानी गर्दा कल्पना एण्ड सन्स् प्रा. लि. ले स्रोतमा कर कट्टा नगरी | भुक्तानी गरेको रहेछ । दिनेस सप्लायर्सको भुक्तानीमा कर कट्टा नगरेको भएतापनि कल्पना एण्ड सन्स् प्रा.लि. ले सो भुक्तानी बापत १.५ प्रतिशतले हुन आउने कर रकम अर्थात रु.१,५००।- कट्टी गरिएको मानिनेछ ।

उदाहरण १६.५.४

मानौं, गुरुजी कम्पनीले परामर्शदातालाई भुक्तानी गरेको सेवा शुल्क रु.१,००,०००/- मा रु.१५,०००/- कर कट्टी गरेका रहेनछ । भुक्तानीमा कर कट्टीको सम्बन्धमा कार्यालयबाट छानबिन गर्दा भुक्तानीमा कर कट्टी नगरेको देखियो । यस्तो अवस्थामा भुक्तानीमा कर कट्टी नगरेको रु.१५ हजार दफा १०(३) २९० (८) बमोजिम निजबाट कट्टी भएको मानी ऐनको दफा १२० को खण्ड (क) बमोजिमकर रकमको पचास प्रतिशतले हुनेरु ७,५००/- शुल्क समेत लगाउनु पर्दछ ।

९०(४) दफा ८७, ८८ ८८ वा ८९ बमोजिम कुनै कर कट्टी गरिएको रकम बा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम सो अग्रिम कर कट्टी गर्ने व्यक्तिले दाखिला गर्नु पर्नेछ र उपदफा (५) लागू हुने अवस्थामा कर कट्टी हुने व्यक्तिले उपदफा (१) मा उल्लिखित अवधि पश्चात् पच्चीस दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएको छः

उदाहरण १६.५.५

मानौं, कल्पना एण्ड सन्स् प्रा. लि. ले आफ्ना कर्मचारीको चैत्र महिनाको पारिश्रमिक भुक्तानी गर्दा रु.५०,०००/- कर कट्टा गरेको रहेछ । उक्त कट्टा गरेको अग्रिम कर रकम बैशाख महिनाको २५ गतेभित्र विभागले तोकेको तरिका र ढाँचामा कार्यालयमा विवरण सहित बुझाउनु पर्दछ । ऐनको दफा ८७ ८८ ८८क वा ८९ बमोजिम अग्रिम कर कट्टा गर्नुपर्नेमा नगरिएको भएतापनि उक्त भुक्तानी अग्रिम कर कट्टा भएको मानिने हुँदा भुक्तानी भएको महिना समाप्त भएको २५ दिनभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्दछ । दफा ८७ ८८ ८८क वा ८९ अनुसार अग्रिम कर कट्टा गरेको रकम कट्टा नगरिएको भए पनि भुक्तानी हुने समयमा कट्टा गर्नुपर्ने रकमलाई कट्टा गरिए सरह मानी अग्रिम कर कट्टा गर्ने दायित्व भएको व्यक्तिले २५ दिनभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्दछ ।

(४क) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ४ को उपदफा (४क) बमोजिम कारोबारको आधारमा कर तिर्ने व्यक्तिले परिच्छेद १७ बमोजिम कट्टा गरिएको अग्रिम कर किस्ताबन्दी कर तिर्ने समयमा दाखिला गर्नु पर्नेछ ।
९०(५) देहाय बमोजिमको अवस्थामा अग्रिम कर कट्टी हुने व्यक्ति र सो अग्रिम कर कट्टी गर्ने व्यक्ति दुवैजना संयुक्त रूपमा र छुट्टाछुटै रूपमा सो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन्:
  (क) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७ ८८ ८८क वा ८९ बमोजिम कुनै भुक्तानीबाट कर कट्टी नगरेमा, र
  (ख) अग्रिम कर कट्टी गर्ने व्यक्तिले उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम उपदफा (४) बमोजिम कर दाखिला गर्नुपर्ने मितिभित्र विभागमा दाखिला नगरेमा ।

अग्रिम कर कट्टी गर्ने दायित्व भएको व्यक्तिले दफा ८७ ८८ ८८क बा ८९ मा तोकिएका भुक्तानीमा अग्रिम कर कट्टा नगरेको र कट्टा नगरे तापनि कट्टा गर्नुपर्ने समयमा कट्टा गरेको मानिने अग्रिम कर रकम महिना समाप्त भएको २५ दिनभित्र सम्बन्धित कार्यालयमा दाखिला नगरेको अवस्थामा अग्रिम कर कट्टी गर्ने र हुने व्यक्ति संयुक्त रूपमा वा छुट्टाछुट्टै रूपमा कर रकम दाखिला गर्न जिम्मेवार हुन्छन् (Jointly and severally liable)।

९०(६) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७ ८८ ८८क वा ८९ बमोजिम कर कट्टी गरी विभागमा दाखिला गरेकोमा सो कर कट्टी भएको भुक्तानीका विषयमा कर कट्टी हुने व्यक्तिद्वारा कुनै दाबी गरिएमा सो रकम कर कट्टी हुने व्यक्तिलाई भुक्तानी गरे सरह मानिनेछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ:

उदाहरण १६.५.६

माथि उदाहरण १६.५१ मा उल्लेखित कल्पना एण्ड सन्स् प्रा.लि. ले कुल घर बहाल भुक्तानी रु.१,००,०००/- मा अग्रिम कर कट्टी गरेको रु.१०,०००।- सम्बन्धित कार्यालयमा दाखिला गरेको रहेछ भने सो रकम निज घरभाडामा दिने निकायलाई नै भुक्तान गरे सरह हुनेछ । ९० (७) दफा ८७ ८८ ८८क वा ८९ बमोजिम कर कट्टी नगरेको रकम अग्रिम कर कट्टी गर्ने व्यक्तिले विभागलाई दाखिला गरेको भएमा सो दाखिला भएको कर रकम बराबरको रकम सो कर कट्टी हुनुपर्ने व्यक्तिबाट असूल उपर गर्न पाउनेछ ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.५.७

मानौं, प्राण पखेरु नेपाल बैंक लिमिटेडमा सञ्चालक रहेछन् । निजले बैंकको बैठकमा उपस्थित भई छलफल गरे अनुरूप बैठक भत्ताको रूपमा रु.५,०००/- प्राप्त गरेका रहेछन् । तर भुक्तानी गर्दाका अवस्थामा अग्रिम कर कट्टा नगरी भुक्तानी दिएको रहेछ । तर नेपाल बैंक लिमिटेडले उक्त रकम अर्थात १५ प्रतिशतका दरले हुने अग्रिम कर रकम रु.७५०/- सम्बन्धित कार्यालयमा बुझाई दिएका रहेछन् भने त्यस्तो अवस्थामा नेपाल बैंक लिमिटेडले निज सञ्चालकबाट उक्त रु. ७५०/- असुल उपर गर्न सक्दछ । तर, उक्त कर रकम दाखिला गर्ने सन्दर्भमा सो बैंकले कुनै ब्याज तथा | शुल्कसमेत विभागमा दाखिला गरेको रहेछ भने यस्ता व्याज तथा शुल्क भने दाबी गर्न सक्ने छैन ।

९०(८) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम दाखिला गर्नुपर्ने विवरण वा कर दाखिला नगरेको वा कुनै व्यक्तिको सम्बन्धमा उपदफा (५) को अबस्था रहेको कुरामा विभाग विश्वस्त भएमा दाखिला नगरेको वा घटी दाखिला गरेको रकम र दफा ११९ बमोजिमको ब्याज तथा अग्रिम कर कट्टी गर्नुपर्ने भुक्तानीमा कर कट्टी नगरेकोमा दफा १२० बमोजिमको शुल्क समेतदाखिला गर्न आदेश दिन सक्नेछ ।
तर त्यस्तो आदेश दिनुभन्दा पहिले उचित कारण खोली सो आदेशका सम्बन्धमा सफाइको सबुत प्रमाण पेश गर्न १५ दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछ ।

१६.६ कर कट्टी प्रमाणपत्र

ऐनको दफा ९१ बमोजिम अग्रिम कर कट्टी गर्ने व्यक्तिले कर कट्टी हुने व्यक्तिलाई निम्नानुसारको कर कट्टीको प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ :

९१(१) अग्रिम कर कट्टी गर्ने व्यक्तिले कर कट्टी हुने व्यक्तिलाई उपदफा (२) मा तोकिएको समयमा देहाय बमोजिमको कर कट्टी प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ:
  (क) विभागद्वारा कुनै तरिका तोकिएको भए सो तरिका बमोजिम प्रमाणित गरिएको, र
  (ख) दफा ८७ ८८ ८८ वा ८९ बमोजिम कट्टी गरिएको कर रकम तथा भुक्तानी रकमहरु खुलेको ।
९१(२) अग्रिम कर कट्टी गरेको अवधि खुलाई अग्रिम कर कट्टी गरेको महिना समाप्त भएको मितिले पच्चीस दिनभित्र अग्रिम कर कट्टी प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।
९१(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ८७ बमोजिम कर कट्टी गरिएको अवस्थामा अग्निम कर कट्टी प्रमाणपत्र देहाय बमोजिम प्रदान गर्नु पर्नेछ:
  (क) सो प्रमाणपत्र सो आय वर्षमा सो कर्मचारी बहाल रहेको अवधिभरको लागि मात्र हुनेछ ।
  (ख) सो प्रमाणपत्र सो वर्ष समाप्त भएको मितिले तीस दिनभित्र उपलब्ध गराई सक्नुपर्नेछ वा सो वर्षमा सो कर्मचारीले सो अग्रिम कर कट्टी गर्ने व्यक्तिकोमा रोजगारी गर्न छोडेको भए सो रोजगारी छोडेको मितिले तीस दिनभित्र सो प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ ।

ऐनको दफा ९१ बमोजिम अग्रिम कर कट्टी गर्ने व्यक्तिले अग्रिम कर कट्टी हुने व्यक्तिलाई उपलब्ध गराएको अग्रिम कर कट्टी प्रमाणपत्रलाई कर दाखिलाको प्रमाण मानिएको हुँदा सोलाई प्रमाणित गर्न अन्य कागजातसँग भिडान गरिरहनु पर्दैन ।