Skip to content

परिच्छेद ५: कट्टी हुने रकमहरू

१३. सामान्य कट्टी

कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि यस ऐनको अधीनमा रही कारोबारसँग सम्बन्धित देहायका खर्चहरू कट्टी गर्न पाउनेछ:-
(क) सो आय वर्षमा भएका,
(ख) सो व्यक्तिबाट भएका, र
(ग) व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका ।

१४. ब्याज कट्टी

(१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको [व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सिर्जना भएको] 1 देहायको ऋण दायित्व अन्तर्गत सो वर्षमा लागेका सबै ब्याज कट्टी गर्न पाउनेछ:-
(क) कुनै रकम ऋण लिए बापत सो ऋण दायित्व सिर्जना भएकोमा सो रकम सोही वर्ष प्रयोग गरिएको वा सो वर्षमा प्रयोग गरिएका कुनै सम्पत्ति खरिद गर्न प्रयोग गरिएको, वा
(ख) अन्य कुनै अवस्थामा सो ऋण दायित्व सिर्जना हुन गएको । [..........] 2

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमा [नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई व्याज भुक्तानी गरेमा उपदफा (१) बमोजिम कट्टी गर्न पाउने त्यस्तो ब्याज रकम देहायका रकमहरूको जम्मा भन्दा बढी हुने छैन] 3- (क) सो निकायको करयोग्य आयको गणनामा समावेश गरिने सो वर्षमा प्राप्त गरेको सबै ब्याज रकम, र (ख) सो निकायबाट प्राप्त गरिएको कुनै ब्याज समावेश नगरी वा सो निकायबाट बुझाइएको कुनै ब्याज कट्टी नगरी गणना गरिएको सो निकायको सो वर्षको [समायोजित करयोग्य आयको] 4 पचास प्रतिशत रकम ।

(३) उपदफा (२) बमोजिम कट्टी गर्न नदिएको वा नगरिएको कुनै ब्याजलाई अगामी आय वर्षमा जिम्मेवारी सार्न र खर्च भएको देखाउन पाउनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि कुनै आय वर्षको लागि कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकाय" भन्नाले सो वर्षमा बासिन्दा निकाय भई सो बासिन्दा निकायमा सो वर्षको कुनै समयमा देहायका व्यक्ति वा संस्थाहरूको पच्चीस प्रतिशत वा सोभन्दा बढी निहित स्वामित्व वा नियन्त्रण रहेको निकाय सम्झनु पर्छ:-
(क) कर छुट पाउने संस्था र सोसँग सम्बद्ध व्यक्ति,
(ख) सो वर्षमा दफा ११ बमोजिम कर छुट पाउने व्यक्ति वा त्यस्तो व्यक्तिसँग सम्बद्ध व्यक्ति,
(ग) गैरबासिन्दा व्यक्ति वा गैरबासिन्दा व्यक्तिसँग सम्बद्ध व्यक्ति, वा
(घ) खण्ड (क), (ख) संयोजन र (ग) मा उल्लिखित व्यक्तिहरूको कुनै

१५. व्यापार मौज्दातको लागतको खर्च कट्टी

(१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनका लागि सो वर्षमा सो व्यक्तिको व्यवसायको व्यापार मौज्दातको निःसर्गका सम्बन्धमा उपदफा (२) बमोजिम गणना गरिएको लागतको खर्च कट्टी (एलाउन्स) बाहेक अन्य कुनै पनि खर्च कट्टी गर्न पाउने छैन ।

(२) उपदफा (१) बमोजिमको लागतको खर्च कट्टीको गणना देहाय बमोजिम खण्ड (क) को रकमबाट खण्ड (ख) को रकम घटाई गर्नु पर्नेछ:-
(क) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको सुरु मूल्यमा सो वर्षमा सो व्यवसायबाट प्राप्त गरिएको व्यापार मौज्दातको लागत जोडी हुने रकम,
(ख) खण्ड (क) बमोजिमको आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्यको रकम ।

(३) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको सुरु मूल्य गत आय वर्षको अन्त्यको सो व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्य हुनेछ ।

(४) देहायमा उल्लिखित रकममध्ये जुन घटी हुन्छ त्यसलाई सो आय वर्षको व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्य मान्नु पर्नेछ:-
(क) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्दातको लागत, वा
(ख) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्दातको बजार मूल्य ।

(५) कुनै व्यक्तिले व्यवसायको व्यापार मौज्दातको लागतको गणना गर्दा दफा ४५ र उपदफा (६) को अधीनमा रही देहाय बमोजिम गर्नु पर्नेछ:-
(क) व्यवसायको आय गणना गर्दा नगद आधारमा लेखा राख्ने व्यक्तिको हकमा परल लागत वा खपत लागतको तरिका प्रयोग गरेर, र
(ख) व्यवसायको आय गणना गर्दा एकुअल आधारमा लेखा राख्ने व्यक्तिको हकमा खपत लागतको तरिका प्रयोग गरेर ।

[(६) कुनै व्यक्तिको व्यवसायको व्यापार मौज्दात यकिन गर्न नसकिने भएमा त्यस्तो व्यक्तिले पहिलो प्राप्ति पहिलो निष्कासन तरिका वा भारित औसत लागत तरिकाबाट व्यापार मौज्दातको लागत गणना गर्न छनौट गर्न सक्नेछ ।] 5

(७) उपदफा (५) बमोजिम व्यापार मौज्दातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछ:-
(क) खपत लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्दातको लागत गणना गर्ने ।
(ख) परल लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको परिवर्तनशील शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्दातको लागत गणना गर्ने।

(८) उपदफा (६) बमोजिम व्यापार मौज्दातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछ:-
[(क) भारित औसत लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत व्यवसायमा रहेका उही किसिमका सबै व्यापार मौज्दातको भारित औसत लागतको आधारमा गणना गर्ने ।] 6
(ख) पहिलो प्राप्ति पहिलो निष्कासन तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत पहिले प्राप्त भएको व्यापार मौज्दात पहिले नै निःसर्ग हुन्छ भन्ने आधारमा गणना गर्ने ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि- (क) "प्रत्यक्ष श्रम लागत भन्नाले व्यापार मौज्दातको उत्पादनसँग प्रत्यक्ष रूपमा सम्बन्धित श्रम लागत सम्झनु पर्छ ।
(ख) "प्रत्यक्ष सामग्री लागत" भन्नाले व्यापार मौज्दातको अभिन्न अङ्गको रूपमा भएको वा हुने सामग्रीको लागत सम्झनु पर्छ ।
(ग) "कारखानाको शिरोभार लागत" भन्नाले प्रत्यक्ष श्रम र प्रत्यक्ष सामग्री लागत बाहेक व्यापार मौज्दातको उत्पादन गर्न लागेको कुल लागत सम्झनु पर्छ ।
[तर कारखानाको शिरोभार लागतमा मर्मत तथा सुधार रहास कट्टी बापतको कुनै रकम समावेश हुने छैन ।] 7
(घ) "परिवर्तनशील कारखाना शिरोभार लागत भन्नाले व्यापार मौज्दातको उत्पादित परिमाणको परिवर्तनसँगै प्रत्यक्ष रूपमा परिवर्तन हुने कारखाना शिरोभार लागत सम्झनु पर्छ ।
[तर परिवर्तनशील कारखाना शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी बापतको कुनै रकम समावेश हुने छैन ।] 8

[(९) ..........] 9

[(१०) ..........] 10

१६. मर्मत तथा सुधार खर्च

(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय गणना गर्दा सो व्यवसाय वा लगानीबाट आय आर्जन गर्न सो वर्षमा स्वामित्व भएको र प्रयोग गरिएको हासयोग्य सम्पत्तिको मर्मत वा सुधार गर्दा भएको सबै खर्चहरू कट्टी गर्न पाउनेछ ।

[(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम गर्न पाउने खर्च कट्टी गर्दा उक्त आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार रकमको सात प्रतिशत भन्दा बढी हुने छैन ।] 11
तर हवाई यातायात सेवा उपलब्ध गराउने व्यक्तिले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम हवाइजहाजको परीक्षण गर्दा लागेको मर्मत सम्भार खर्चमा यो सीमा लागू हुने छैन ।

[(३) उपदफा (२) बमोजिमको सीमाको परिणाम स्वरूप कट्टी गर्न नपाइने मर्मत तथा सुधार बापत कुनै अधिक खर्च वा त्यसको भाग आगामी आय वर्षको सुरुमा सम्बन्धित सम्पत्तिको समूहको ह्रास आधार रकममा जोड्न पाउनेछ ।] 12

१७. प्रदूषण नियन्त्रण खर्च

(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हदसम्मको प्रदूषण नियन्त्रण खर्च कट्टी गर्न पाउनेछ ।

[(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा त्यस्तो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।] 13

(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी कट्टी गर्न नपाइने अधिक खर्च वा सोको भागलाई [आगामी आय वर्षको सुरुमा] 14 पुँजीकरण गरी अनुसूची २ बमोजिम ह्रास कट्टी गर्न सक्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि - प्रदूषण नियन्त्रण खर्च" भन्नाले प्रदूषण नियन्त्रण गर्ने वा अन्य रूपमा वातावरण संरक्षण गर्ने वा जोगाई राख्ने उद्देश्यको लागि कुनै प्रक्रियासँग सम्बन्धित कुनै व्यक्तिबाट गरिएको खर्च सम्झनु पर्छ ।

१८. अनुसन्धान र बिकास खर्च

(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हदसम्मको अनुसन्धान र विकास खर्च कट्टी गर्न पाउनेछ ।

[(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा त्यस्तो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।] 15

(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी कट्टी गर्न नपाइने कुनै अधिक खर्च वा सोको कुनै भागलाई [आगामी आय वर्षको सुरुमा] 16 पुँजीकरण गरी अनुसूची- २ बमोजिम हास कट्टी गर्न सक्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "अनुसन्धान र विकास खर्च" भन्नाले कुनै व्यक्तिबाट निजको व्यवसायको विकास गर्ने र व्यापारिक उत्पादन वा प्रक्रियाको सुधार गर्ने उद्देश्यबाट गरिएको खर्च सम्झनु पर्छ ।
तर यस्तो खर्चमा अनुसूची २ को दफा १ को उपदफा (३) मा उल्लिखित कुनै पनि सम्पत्ति प्राप्त गर्दाको लागत समावेश हुने छैन ।

१९. ह्रास कट्टी खर्च

(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यवसाय वा लगानीबाट सो व्यक्तिको आय आर्जन गर्न सो वर्षमा आफ्नो स्वामित्वमा रही प्रयोग गरेको ह्रासयोग्य सम्पत्तिको ह्रास भए बापत अनुसूची २ बमोजिम हास खर्च कट्टी [गर्नु पर्नेछ] 17

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरू र विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने आयोजनाहरूमा जडान भएका संयन्त्रहरू, उपकरणहरू र अन्य मेशिनरीहरूको ह्रास कट्टी सम्बन्धमा निम्नानुसार हुनेछ:-
(क) साबिकमा जडान भइरहेका संयन्त्रहरू, उपकरणहरू र अन्य मेशिनरीहरू पुरानो वा जीर्ण भई काम नलाग्ने हुन गई सोको सट्टा नयाँ संयन्त्रहरू, उपकरणहरू र अन्य मेशिनरीहरू जडान गर्नु पर्ने भएमा यसरी जडान गरेको आय वर्षमा साविकमा जडान भएका पुरानो वा जीर्ण भई काम नलाग्ने सम्पत्तिको लागतबाट सो आय वर्षसम्मको हास कट्टी घटाउँदा बाँकी हुने मूल्य खर्चको रूपमा कट्टी गर्न पाउनेछ ।
(ख) खण्ड (क) बमोजिम फेरिएका पुराना सम्पत्ति बाहेकका अन्य सम्पत्तिहरूका सम्बन्धमा सो निकायले त्यस्ता आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समयमा सो सम्पत्तिको लागतबाट हस्तान्तरण हुने आय वर्षसम्मको हास कट्टी घटाउँदा मूल्य बाँकी रहन आएमा त्यस्तो बाँकी मूल्य खर्चको रूपमा कट्टी गर्न पाउनेछ ।

२०. व्यवसाय वा लगानीबाट नोक्सानी

(१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको नोक्सानी कट्टी गर्न पाउनेछ:-
(क) सो व्यक्तिले अन्य कुनै व्यवसायबाट व्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी, र
[(ख) त्यस्तो व्यक्तिले कुनै व्यवसायबाट व्यहोर्नु परेको विगत सात आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी ।] 18
तर सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजना, विद्युत गृह निर्माण, उत्पादन तथा प्रसारण गर्ने आयोजना र नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको हकमा विगत बाह्र वर्षको कट्टी हुन नपाएको नोक्सानी |

[(२) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि त्यस्तो व्यक्तिले अन्य कुनै लगानीबाट व्यहोर्नु परेको उक्त वर्षको कट्टी हुन नपाएको नोक्सानी र त्यस्तो व्यक्तिको उक्त लगानी र अन्य कुनै लगानीबाट व्यहोर्नु परेको विगत सात आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाउनेछ ।] 19

(३) उपदफा (१) र (२) को अधीनमा रही सो उपदफाहरूको प्रयोजनका लागि कुनै व्यक्तिले विदेशी स्रोतका सम्बन्धमा व्यहोर्नु परेको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको विदेशी स्रोतबाट भएको आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ र कुनै कर नलाग्ने आय प्राप्त गर्दा भएको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको कर नलाग्ने आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ ।

(४) उपदफा (१) र ( २ ) को अधीन रही कुनै व्यक्तिको व्यवसायको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरी प्राप्त गरेको दीर्घकालीन करार पूरा भएको वा अन्य कुनै रूपमा निःसर्ग गरिएको आय वर्षमा सो व्यक्तिले नोक्सानी व्यहोर्नु परेमा वा उपदफा (१) को खण्ड (ख) बमोजिम जिम्मेवारी सारी आगामी वर्षमा ल्याउन पाउने कुनै कट्टी हुन नपाएको नोक्सानी दीर्घकालीन करारसँग सम्बन्धित भएमा विभागले लिखित सूचना दिएर सो नोक्सानी देहाय बमोजिम गर्न अनुमति दिन सक्नेछ:-
(क) विगतको आय वर्ष वा वर्षहरूमा पछाडि सारी लैजान पाउने, र
(ख) सो वर्ष वा वर्षहरूमा सो दीर्घकालीन करारसँग सम्बन्धित व्यवसायको आयको गणना गर्दा आयतर्फ समावेश हुने रकमहरू खर्चतर्फ समावेश हुने रकमहरू भन्दा बढी भएजतिको हदसम्म मात्र कट्टी हुन नपाएको नोक्सानी मान्न पाउने ।

(५) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यहोर्नु परेको देहायको नोक्सानी सो व्यक्तिको दीर्घकालीन करार वा करारहरूसँग सम्बन्धित रहेको मानी बाँडफाँड गर्नु पर्नेछ:-
(क) व्यवसायसँग सम्बन्धित दीर्घकालीन करार वा करारहरूबाट भएको नोक्सानी, र
(ख) त्यस्ता प्रत्येक करारका लागि सो करारसँग सम्बन्धित वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा कट्टी गरिने खर्चहरू सो करारसँग सम्बन्धित समावेश गरिने रकमभन्दा बढी भएको नोक्सानी ।

(६) कुनै व्यक्तिले कुनै आय वर्षमा एकभन्दा बढी व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा सो व्यक्तिले कट्टी हुन नपाएको नोक्सानी एकभन्दा बढी व्यवसाय वा लगानीबाट कट्टी गर्न पाउने भएमा सो व्यक्तिले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने व्यवसाय वा लगानीको प्राथमिकता आफै निर्धारण गर्न सक्नेछ ।

(७) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट व्यहोर्नु परेको नोक्सानीको गणना गर्दा यस दफाको प्रयोग नगरी सो व्यक्तिको व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा समावेश गरिने रकमहरू भन्दा कट्टी गरिने रकमहरू बढी भए यसरी बढी भए जतिको रकमको गणना गर्नु पर्नेछ ।

[(८) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीको आयमा पूर्ण कर छुट प्राप्त गरेको भए त्यस्तो आय वर्षमा भएको नोक्सानी आगामी आय वर्षमा सारी लैजान (क्यारी फरवार्ड) पाउने छैन ।] 20

२१. कट्टी गर्न नपाउने खर्च

(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहायको खर्च वा रकम कट्टी गर्न पाइने छैन:-
(क) घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च,
(ख) यस ऐन बमोजिम बुझाउनु पर्ने कर र कुनै देशको सरकार तथा सोको कुनै पनि स्थानीय निकायलाई कुनै कानून वा सो कानून अन्तर्गत बनेको कुनै नियम, विनियमको उलङ्घन गरे बापत बुझाइएको जरिवाना र यस्तै अन्य शुल्क,
[तर प्रदेश सरकार र स्थानीय तहमा तिरेको कर खर्चको रूपमा कट्टी गर्न पाइनेछ ।] [^]
(ग) दफा १० बमोजिम छुट पाउने रकमहरू प्राप्त गर्न कुनै व्यक्तिबाट खर्च गरिएको हदसम्मका वा अन्तिम रूपमा कर कट्टी गरिएका रकमहरू प्राप्त गर्न गरिएका खर्चहरू,
(घ) उपदफा (२) मा लेखिएको भुक्तानी बापतको खर्च,
[(घ१) पटके प्रकृतिको तीन हजार रुपैयाँसम्मको ज्याला भुक्तानी बाहेक स्थायी लेखा नम्बर नलिएका कर्मचारी तथा कामदारलाई वितरण गरेको पारिश्रमिक तथा ज्याला खर्च,] 22
[(घ२) स्थायी लेखा नम्बर उल्लेख नभएको दुई हजार रुपैयाँभन्दा बढीको बीजक बापतको खर्च,
तर व्यावसायिक कारोबार नगर्ने प्राकृतिक व्यक्तिसँग सोझै गरिने कृषिजन्य, वनजन्य, पशुजन्य र अन्य घरायसी वस्तुको खरिदमा विक्रेताले स्थायी लेखा नम्बर लिएको रहेनछ भने पनि त्यस्तो खरिद खर्च मान्य हुनेछ ।] 23
(ङ) कुनै निकायबाट गरिएको मुनाफाको वितरण, वा
(च) यस परिच्छेद वा परिच्छेद ६, ७, १०, ११, १२ वा १३ बमोजिम प्रदान गरिएका बाहेक खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा खर्च कट्टी गर्न नपाउने भनी नभनिएको भए तापनि यस्ता अन्य कुनै रकमहरू ।

(२) कुनै आय वर्षमा बीस लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने व्यक्तिले देहायका अवस्थामा बाहेक सो आय वर्षमा एक पटकमा पचास हजार रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरेमा सो कट्टी गर्न पाउने छैनः- (क) नेपाल सरकार, संवैधानिक निकाय, नेपाल सरकारको स्वामित्व भएको संस्थान वा बैङ्क वा वित्तीय संस्थालाई गरिएको भुक्तानी, (ख) प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषक वा उत्पादकलाई भुक्तानी गर्दा र त्यस्तो पैदावारको प्राथमिक प्रशोधन भइसकेको भए पनि कृषक आफैंले प्रशोधन गरी भुक्तानी पाएको भए सो रकम, (ग) अवकाश योगदान वा अवकाश भुक्तानी बापतको भुक्तानी, (घ) बैकिङ्ग सेवाहरू उपलब्ध नभएको स्थानमा गरिएको भुक्तानी, (ङ) बै सेवा बन्द भएको दिनमा गरिएको भुक्तानी वा नगदमा नै गर्नु पर्ने कुनै अपरिहार्य बाध्यता भएको भुक्तानी, वा (च) भुक्तानी पाउने व्यक्तिको बैक खातामा जम्मा गरिएको रकम।

(३) दफा १४, १५, १६, १७, १८, १९, २० र ७१ का व्यवस्थाहरूको अधीनमा रही पुँजीगत प्रकृतिको खर्च वा विदेशी आयकर बापत कुनै पनि रकम कट्टी गर्न पाइने छैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि, -

(क) "घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च भन्नाले देहायका खर्चहरू सम्झनु पर्छ:-
(१) कुनै [प्राकृतिक व्यक्तिको निजी खर्च] 24, ऋण लिएकोमा व्यक्तिगत प्रयोग भएको हदसम्मको ऋण बापतको व्याज समेत देहायका खर्चहरू:-
  (क) बासस्थान, खाना, खाजा, मनोरञ्जन वा आमोदप्रमोदका अन्य क्रियाकलापहरू उपलब्ध गराउने समेतका प्राकृतिक व्यक्तिको लागि भएका खर्च,
  (ख) व्यवसाय वा लगानीको सिलसिलामा आवत जावत गर्ने बाहेक प्राकृतिक व्यक्तिले घरबाट व्यवसाय वा लगानी सञ्चालन गरिने स्थानमा आवत जावत गरे बापतको खर्च,
  (ग) काम गर्दाको समय बाहेक अन्य समयमा लगाउन उपयुक्त नभएका लुगा बाहेक प्राकृतिक व्यक्तिका लागि लुगाको खरिद गर्न भएको खर्च, र
  (घ) शिक्षा वा तालिमको लागि गरिएको खर्च ।
  तर कुनै डिग्री वा डिप्लोमा हासिल नहुने किसिमका व्यवसाय वा लगानीसँग प्रत्यक्ष रूपले सम्बन्धित शिक्षाको लागि मात्र गरिएको खर्च कट्टी गर्न पाइनेछ ।
(२) देहायका अवस्थाहरू तथा सोको हदसम्म बाहेक कुनै व्यक्तिले कुनै प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको सम्बन्धमा लागेका खर्चहरू र तेस्रो व्यक्तिको लागि गरिएको खर्चहरू-
  (क) प्राकृतिक व्यक्तिको आयको गणना गर्दा सो भुक्तानीलाई समावेश गरिएको भएमा,
  (ख) प्राकृतिक व्यक्तिले आफूले पाएको भुक्तानीको बजार मूल्य बराबरको सो व्यक्तिलाई प्रतिफल स्वरूप फिर्ता भुक्तानी गरेको भएमा,
  (ग) हिसाब राख्न कठिन हुने वा प्रशासनिक रूपले अव्यावहारिक हुने तोकिए बमोजिमका सानातिना रकमको भुक्तानी भएमा ।

(ख) "बैङ्किङ्ग सेवा उपलब्ध स्थान" भन्नाले कुनै स्थान विशेषको दश किलोमिटर क्षेत्रभित्र बैकिङ्ग सेवा उपलब्ध भएकोमा सो स्थानलाई बैकिङ्ग सेवा उपलब्ध स्थान सम्झनु पर्छ ।

[(ग) "नगद भुक्तानी" भन्नाले बैङ्क वा वित्तीय संस्था मार्फत प्रतितपत्र, एकाउण्ट पेयी चेक, ड्राफ्ट, धनादेश, टेलिग्राफिक ट्रान्सफर, मनी ट्रान्सफर (हुण्डी) द्वारा बैक खातामा जम्मा हुने गरी गरिएको भुक्तानी, [नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त डिजिटल बालेटको माध्यमबाट हुने भुक्तानी] 26 र बैङ्क वा वित्तीय संस्थाबीच अन्य कुनै किसिमबाट गरिएको स्थानान्तरण बाहेकका भुक्तानी सम्झनु पर्छ ।] 25

(घ) "पुँजीगत प्रकृतिको खर्च भन्नाले देहाय बमोजिमका खर्च सम्झनु पर्छः-
(१) प्राकृतिक स्रोतको सम्भाव्यता अध्ययन, अन्वेषण र विकासका सम्बन्धमा लागेको खर्च,
(२) बाह्र महिनाभन्दा बढी लाभप्रद आयु भएको कुनै सम्पत्ति प्राप्त गर्दा लागेको खर्च, वा
(३) दायित्वको निःसर्ग गर्दा लागेको खर्च ।

[(घ१) ..........] 27


  1. आर्थिक ऐन, २०६४ द्वारा थप भई त्यसपछिका आर्थिक ऐनद्वारा निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम | 

  2. आर्थिक ऐन, २०६४ द्वारा प्रतिबन्धात्मक वाक्यांश झिकिएको । साविकको व्यवस्थाः “तर यस्तो ऋण दायित्व व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सिर्जना भएको हुनु पर्नेछ।” 

  3. आर्थिक अध्यादेश, २०५९ द्वारा संशोधित । संशोधन भएको वाक्यांशः “सो उपदफा बमोजिम कट्टी गर्न पाउने कुल ब्याज रकम देहायका रकमहरूको जम्माभन्दा बढी हुने छैन।” 

  4. आर्थिक अध्यादेश २०६१ द्वारा संशोधित । संशोधन भएको वाक्यांश: “करयोग्य आयको” सट्टा “समायोजित करयोग्य आयको” । 

  5. आर्थिक ऐन, २०६७ द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनहरुबाट निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । मूल ऐनको व्यवस्थाः "(६) कुनै व्यक्तिको व्यवसायको व्यापार मौज्दात यकिन गर्न नसकिने भएमा सो व्यक्तिले पहिलो प्राप्त पहिलो निष्कासन तरिका वा औसत लागत तरिकाबाट व्यापार मौज्दातको लागत गणना गर्न छनौट गर्न सक्नेछ। तर एक पटक यस्तो तरिकाको छनौट गरिसकेपछि विभागको लिखित अनुमति बाहेक सो तरिका परिवर्तन गर्न सक्ने छैन ।” 

  6. आर्थिक ऐन, २०६७ द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनहरुबाट निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । 

  7. आर्थिक अध्यादेश, २०६० द्वारा थप भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । 

  8. आर्थिक अध्यादेश, २०६० द्वारा थप भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । 

  9. राजस्व सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६२ द्वारा थप भएकोमा त्यसपछिका आर्थिक ऐनले निरन्तरता नदिएकोले झिकिएको । थप भएको व्यवस्थाः “(९) विभागले तोकेको व्यवसाय गर्ने व्यक्तिले खुद्रा तरिकाले (रिटेल मेथड) मौज्दातको लेखा राख्न र सो बमोजिमको आय विवरण दिन सक्नेछ । ” 

  10. राजस्व सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६२ द्वारा थप भएकोमा आर्थिक ऐन, २०६३ द्वारा झिकिएको । थप भएको व्यवस्था: “(१०) मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १०क. बमोजिम घोषित मूल्यलाई अन्यथा प्रमाणित भएकोमा बाहेक लागत खर्चको रुपमा मान्यता दिइनेछ ।" 

  11. आर्थिक ऐन, २०७४ द्वारा संशोधन भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको ।

    (१) मूल ऐनको व्यवस्थाः “(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम गर्न पाउने खर्च कट्टी गर्दा उक्त आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार रकमको पाँच प्रतिशत भन्दा बढी हुने छैन र सो भन्दा बढी खर्च भएमा भएको खर्चको क्रमानुसार मात्र यस्तो कट्टी गर्न पाउनेछ।”

    (२) आर्थिक अध्यादेश, २०६० द्वारा (मूल दफाका रहेको “पाँच” भन्ने शब्दको सट्टा “सात” भन्ने शब्द राखी) संशोधन ।

    (३) आर्थिक अध्यादेश, २०६१ द्वारा उपदफा (२) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपः “तर हवाई यातायात सेवा उपलब्ध गराउने ब्यक्तिले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम हवाईजहाजको पूर्ण परीक्षण गर्दा लागेको मर्मत सम्भार खर्चमा यो सीमा लागू हुने छैन ।”

    (४) आर्थिक ऐन, २०६४ द्वारा संशोधन भएको व्यवस्था: “(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम गर्न पाउने खर्च कट्टी गर्दा सो आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार रकमको सात प्रतिशत भन्दा बढी हुने छैन ।
    तर हवाई यातायात सेवा उपलब्ध गराउने ब्यक्तिले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम हवाईजहाजको पूर्ण परीक्षण गर्दा लागेको मर्मत सम्भार खर्चमा यो सीमा लागू हुने छैन ।”

    (५) आर्थिक ऐन, २०७२ द्वारा प्रतिबन्धात्मक वाक्यांशमा संशोधनः “तर
    (क) हवाई यातायात सेवा उपलब्ध गराउने व्यक्तिले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम हवाईजहाजको परीक्षण गर्दा लागेको मर्मत सम्भार खर्चमा यस्तो सीमा लागू हुने छैन ।
    (ख) नेपाल सरकारले तोकेका भूकम्प प्रभावित जिल्लामा क्षति भएको सम्पत्तिको मर्मत सम्भार खर्चमा करदाताले चाहेमा यस्तो सीमा आर्थिक वर्ष २०७३/७४ सम्मको लागि लागू हुने छैन ।” 

  12. आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनबाट संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको। मूल ऐनको व्यवस्थाः “(३) उपदफा (२) बमोजिमको सीमाको परिणाम स्वरूप उपदफा (१) बमोजिम कट्टी गर्न नपाइने कुनै अधिक खर्च वा सोको भाग अनुसूची - २ को दफा २ को उपदफा (५) बमोजिम सम्बन्धित सम्पत्तिको समूहको ह्रास आधार रकममा जोड्न पाउनेछ ।” 

  13. आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनबाट संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको । मूल ऐनको व्यवस्थाः “(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको प्रदूषण नियन्त्रण खर्च कट्टी नगरी र दफा १२ को उपदफा (२) तथा दफा १८ को उपदफा (२) का सीमाहरूलाई गणनामा समावेश नगरी गणना गरिएको करयोग्य आयको पचास प्रतिशत भन्दा बढी हुने छैन ।” 

  14. आर्थिक अध्यादेश, २०६० द्वारा थप । 

  15. आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनबाट संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको। मूल ऐनको व्यवस्थाः “(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायका अनुसन्धान तथा विकास खर्च कट्टी नगरी र दफा १२ को उपदफा (२) र दफा १७ को उपदफा (२) का सीमाहरूलाई गणनामा समावेश नगरी गणना गरिएको सो व्यक्तिको करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।” 

  16. आर्थिक अध्यादेश, २०६० द्वारा थप । 

  17. आर्थिक अध्यादेश, २०६० द्वारा संशोधित । मूल ऐनमा “ गर्न पाउनेछ।” भन्ने शब्दहरु रहेका । 

  18. आर्थिक ऐन, २०६४ द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनबाट संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको ।

    (१) मूल ऐनको व्यवस्थाः “(ख) सो व्यक्तिले कुनै व्यवसायबाट व्यहोर्नु परेको विगत चार आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी ।
    तर सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी श्री ५ को सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरु र विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने आयोजनाहरुको हकमा विगत सात वर्षको कट्टी हुन नपाएको नोक्सानी ।”

    (२) आर्थिक अध्यादेश, २०६१ द्वारा देहायको प्रतिबन्धात्मक वाक्यांश राखी संशोधनः
    “तर सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी श्री ५ को सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरु र विद्युत गृह निर्माण, उत्पादन तथा प्रसारण गर्ने आयोजनाहरुको हकमा विगत सात आय वर्षहरुको कट्टी हुन नपाएको नोक्सानी र नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको हकमा वि बाह्र वर्षको कट्टी हुन नपाएको नोक्सानी । " 

  19. आर्थिक अध्यादेश, २०६४ द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनबाट संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको । मूल ऐनको व्यवस्थाः
    “(२) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले अन्य कुनै लगानीबाट ब्यहोर्नु परेको सो वर्षको कट्टी हुन पाएको नोक्सानी कट्टी गर्न पाउनेछ।” 

  20. आर्थिक ऐन, २०६३ द्वारा थप भई आर्थिक ऐन, २०६७ द्वारा “पूरा वा आंशिक" भन्ने शब्दहरुको सट्टा “पूर्ण” र “पछाडिका” भन्ने शब्दको सट्टा “आगामी” भन्ने शब्द राखी संशोधनलाई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा थप कायम । 

  21. आर्थिक ऐन, २०७५ द्वारा थप। 

  22. आर्थिक ऐन, २०७६ द्वारा थप भई आर्थिक ऐन, २०७७ द्वारा संशोधन । साविकको व्यवस्थाः “(घ१) स्थायी लेखा नम्बर नलिएका कर्मचारी तथा कामदारलाई वितरण गरेको पारिश्रमिक तथा ज्याला खर्च," 

  23. आर्थिक ऐन, २०७६ द्वारा थप भई आर्थिक ऐन, २०७७ द्वारा संशोधन । संशोधन हुनुअघिको व्यवस्थाः “(घ२) स्थायी लेखा नम्बर उल्लेख नभएको एक हजार रुपैयाँभन्दा बढीको बीजक बापतको खर्च" 

  24. आर्थिक अध्यादेश, २०६० द्वारा संशोधित । संशोधन हुनुअघि : “प्राकृतिक व्यक्तिको लागि भएको” भन्ने शब्दहरु रहेका । 

  25. आर्थिक ऐन, २०६८ द्वारा थप भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा थप कायम । 

  26. आर्थिक ऐन, २०७९ द्वारा थप । 

  27. आर्थिक अध्यादेश, २०६२ द्वारा थप भएकोमा त्यसपछिका आर्थिक अध्यादेश तथा ऐनद्वारा निरन्तरता नदिइएको । थप भएको व्यवस्थाः “(घ१) मौज्दात नियमित गर्न घोषण गर्दा तिरेको विशेष शुल्क । ”