Skip to content

परिच्छेद १० दण्ड सजाय

मूल्य अभिवृद्धि कर ऐनले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवाको कारोबार गर्ने व्यक्ति वा करदाताले पालना गर्नुपर्ने विभिन्न दायित्व निर्धारण गरेको छ । ऐनले कर लाग्ने कारोबार गर्ने व्यक्ति दर्ता हुनु पर्ने, दर्ता भएको व्यक्तिले कर संकलन गरी आवधिक रुपमा कर दाखिला गर्नुपर्ने, बीजक जारी गरी कारोबार गर्नुपर्ने, कारोबारसँग सम्बन्धि खरिदमा तिरेको कर मात्र कट्टी गर्नुपर्ने, कारोबारको अभिलेख अद्यावधिक राख्नु पर्ने, बजार मूल्यमा कारोबार गर्नुपर्ने जस्ता दायित्व निर्धारण गरेको छ । उपर्युक्त अनुसारका दायित्व पूरा नगर्ने वा ऐनका अन्य व्यवस्थाको उल्लङ्घन गर्ने व्यक्तिलाई विभिन्न प्रकारका जरिवाना तथा सजाय हुने व्यवस्था ऐनले गरेको छ । कानूनको परिपालना गर्ने र नगर्ने व्यक्तिबीच विभेद नगरिंदा कानुनको परिपालना गर्ने प्रवृत्तिमा ह्रास आई कर संकलनमा प्रतिकुल असर पर्न सक्ने अवस्थालाई दृष्टिगत गरी तथा कानुनको उल्लङ्घन गर्दा सजायको भागी हुनु पर्ने मान्यतालाई आत्मसात् गरी यस्तो जरिवाना तथा सजायको व्यवस्था गरिएको हो । ऐनका व्यवस्थाको उल्लङ्घन गर्ने व्यक्तिलाई हुने जरिवाना तथा सजायका सम्बन्धमा ऐनको दफा २९ मा विस्तृत व्यवस्था गरिएको छ । ऐनको व्यवस्था अनुसार कसुर मानिने अवस्था र त्यस्तो कसुरमा हुने जरिवाना तथा सजाय सम्बन्धमा यस परिच्छेदमा व्याख्या गरिएको छ ।

१०.१ दर्ता नभई कारोबार गरेमा

मूल्य अभिवृद्धि कर ऐनले कर लाग्ने भनी तोकेका वस्तु तथा सेवाको कारोबार गर्ने व्यक्तिले दर्ता भई कारोबार गर्नुपर्दछ। दर्ता हुन नपर्ने भनी ऐन वा नियमावलीबाट तोकिएका व्यक्तिबाहेक कर लाग्ने वस्तु वा सेवाको कारोबार गर्ने व्यक्तिले दर्ता नगरी कारोबार गरेमा यस ऐन बमोजिम कसुर गरेको मानिने व्यवस्था रहेको छ।दर्ता सम्बन्धमा ऐनमा देहायबमोजिमको व्यवस्था रहेको छः

दफा ५ख.: दर्ता गर्ने आदेश दिन सक्नेः
दर्ता हुनु पर्ने व्यक्तिले दर्ता नगरी कुनै कारोबार गरिरहेको छ भन्ने कुरा कर अधिकृतलाई मनासिब लागेमा त्यस्तो व्यक्तिलाई दर्ता गर्न आदेश दिन सक्नेछ । तर दफा ९ बमोजिम तोकिएको रकमसम्मको मात्र कारोबार गरेको हुँदा दर्ता हुनु नपर्ने भन्ने जिकीर लिने व्यक्तिले दर्ता गर्ने आदेश प्राप्त भएको मितिले तीस दिनभित्र सो कुराको प्रमाण पेश गर्नुपर्नेछ ।

दफा १० दर्ताः
(१) कुनै कारोबारमा संलग्न हुन चाहने व्यक्तिले कारोबार शुरु गर्नु भन्दा अघि कारोबार दर्ताको लागि तोकिएको ढाँचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) कुनै व्यक्तिले कारोबार गरेको वस्तु वा सेवामा कर लाग्ने भएमा त्यसरी कर लागेको वा कारोबार सञ्चालन गरेको मितिले तीस दिनभित्र त्यस्तो कारोबार दर्ताको लागि तोकिएको ढाँचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।

दफा १०क. अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्थाः
(१) अस्थायी रूपमा आयोजना गर्ने प्रदर्शनी, मेला तथा अन्य यस्तै कारोबारको हकमा कारोबार सुरु हुनुभन्दा अगावै आयोजक तथा त्यस्तो आयोजनामा कर लाग्ने वस्तु वा सेवाको कारोबार गर्ने मूल्य अभिवृद्धि करमा दर्ता नभएका व्यवसायी तोकिए बमोजिम मूल्य अभिवृद्धि करमा अस्थायी रूपमा दर्ता हुनु पर्नेछ ।

दफा १०ख. संयुक्त उपक्रमको दर्ता सम्बन्धी विशेष व्यवस्थाः
(१) कुनै दुई वा सोभन्दा बढी व्यक्तिले कुनै निश्चित अवधिका लागि कर लाग्ने कारोबार गर्न संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) खडा गरेमा त्यस्ता व्यक्तिहरू दर्ता रहेका कार्यालयमध्ये कुनै एक कार्यालयको कर अधिकृतसमक्ष त्यस्तो संयुक्त उपक्रम अस्थायी रूपमा दर्ताको लागि निवेदन दिनु पर्नेछ ।

उपर्युक्त कानूनी व्यवस्थाको परिपालना नगर्ने व्यक्तिलाई हुने जरिवानाको सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (क) ले देहाय बमोजिमको व्यवस्था गरेको छः

दफा २९ को उपदफा (१) को खण्ड (क): दफा ५ बमोजिम दर्ता गर्न कर अधिकृतले दिएको आदेश वा दफा १० को उपदफा (१) वा (२) उल्लङ्घन गरेमा वा दफा १०क. को उपदफा (१), दफा १०ख को उपदफा (१) र दफा १०ख १. को उपदफा (१) बमोजिम दर्ता नभएमा प्रत्येक पटक बीस हजार रुपैयाँ यस सम्बन्धमा निम्न उदाहरणले अझ प्रष्ट पार्नेछः

उदाहरण १०.१

मानौं जनकपुरको बाह्रविघा मैदानमा बडा दशैंको अवसरमा स्थानीय मेला आयोजकले व्यापार मेला सञ्चालन गरेको रहेछ । आफ्नो कार्य क्षेत्रभित्र बजार अनुगमनको क्रममा आन्तरिक राजस्व कार्यालय जनकपुरबाट खटिई गएको कर अधिकृतका टोलीले जाँचबुझ गर्दा त्यहाँ रहेका विभिन्न स्टलहरुले वस्तु बिक्री गर्ने र आफूले प्रदान गर्ने सेवाको प्रचारको कार्य गर्ने रहेछन् । ती स्टलहरुमा साविक मै मूल्य अभिवृद्धि करमा दर्ता भई विभिन्न स्थानमा कारोबार गर्दै आएका व्यापारिक फर्महरुले स्टक ट्रान्सफर गरी मालसामान त्यहाँ ल्याएर संक्षिप्त कर बिजक जारी गरी वस्तु बिक्री गरेका र सेवा प्रदायकहरुले सेवाको प्रचार गर्ने गरेको पाइएको । मेला स्थल प्रवेश गर्दा प्रति व्यक्ति रु. ५०।- प्रवेश शुल्क तिर्नु पर्ने र मेला स्थलमा राखिएको चिल्ड्रेन पार्कमा रहेका विभिन्न मनोरञ्जनका साधनमा वेग्लै शुल्क समेत तिर्नु पर्ने रहेछ । तर मेला आयोजक र चिल्ड्रेन पार्क सञ्चालक मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १०क. बमोजिम अस्थायी रुपमा मूल्य अभिवृद्धि करमा दर्ता भने भएको रहेनछ । यसमा कर अधिकृतले मेला आयोजक र चिल्ड्रेन पार्क सञ्चालक प्रत्येकलाई मूल्य अभिवृद्धि कर नियमावली, २०५३ बमोजिम वेग्ला वेग्लै विशेष आदेश जारी गरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २९ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रत्येकलाई बीस हजार रुपैयाँ जरिवाना गरी मूल्य अभिवृद्धि करमा अस्थायी दर्ता गर्नुपर्दछ । साथै मेला समाप्त भएको सात दिनभित्र कारोबारको विवरण पेश गरी लाग्ने कर दाखिला गर्ने जानकारी गराउनु पर्दछ । यसरी पेश भएको विवरण परीक्षण र कर भुक्तानी यकिन गरेर तुरुन्त दर्ता खारेजी गरी दिनुपर्दछ ।

उदाहरण १०.१क

मानौं होटेल डिलक्स प्रा. लि. मूल्य अभिवृद्धि करमा दर्ता रहेनछ । उक्त प्रा. लि. ले आर्थिक वर्ष २०७७।७८ को आय विवरण २०७८ श्रावण १० गते पेश गरेको रहेछ । आन्तरिक राजस्व कार्यालयबाट २०७८ भाद्र ५ गते सो आय विवरणको द्रुत कर परीक्षण गर्दा होटेलको विक्री रु.२८ लाख रहेको देखियो । उक्त होटेल २०७८ श्रावण १५ गते मूल्य अभिवृद्धि करमा दर्ता भएको रहेछ । आर्थिक वर्ष २०७७।७८ मा वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा कारोबार सीमा (थ्रेसहोल्ड) वार्षिक रु. २० लाख तोकिएको हुँदा सो होटेलले आफ्नो कारोबार रु.२० लाख नाघेको ३० दिनभित्र मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता हुनु पर्नेमा दर्ता नभई कारोबार गरेको पुष्टि भयो । यस्तो अवस्थामा ऐनको दफा १० को उपदफा (१) तथा नियमावलीको नियम ६ र ७ आकर्षित हुने हुँदा उक्त होटेलको कारोबार रु.२० लाख पुगेको मिति यकिन गरी सो मिति पश्चात् भएको बिक्री रु. ८ लाखलाई कर सहितको मूल्य मानी सो मूल्यमा कर भिन्नले मूल्य अभिवृद्धि कर गणना गरी कर निर्धारण गर्नुपर्दछ । कर अवधि गणना गर्दा सो होटेलको कारोबार रु.२० लाख पुगेको मिति यकिन गरी दफा १९ बमोजिम थप दस्तुर, | दफा २६ बमोजिम व्याज तथा दफा २९ को उपदफा (१) को खण्ड (क) बमोजिम रु.२०,००० जरिवाना र दफा २९ को उपदफा (१) बमोजिम कर बिगोको पचास प्रतिशत जरिवाना सहित कर निर्धारण गर्नुपर्दछ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा आर्थिक ऐन, २०७७ ले दर्ता नभई कारोबार गरेको अवस्थामा लाग्ने जरिवाना सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । यस सम्बन्धी थप ब्याख्या बुँदा नं. १०.१७क. मा गरिएको छ ।

१०.२ दर्ता सम्बन्धी सूचनामा परिवर्तनको जानकारी नदिएमा, कारोबारस्थल र शाखामा दर्ता प्रमाणपत्र नराखेमा र दर्ता प्रमाणपत्रको प्रयोग गर्नुपर्ने भनी तोकिएको कार्यमा प्रयोग नगरेमा

मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले दर्ता गर्दा पेश गरेको आवेदनमा उल्लेख भएका निज तथा निजको कारोबारसँग सम्बन्धित सूचना तथा विवरणहरुमा कुनै परिवर्तन भएको खण्डमा सोको जानकारी सम्बन्धित कार्यालयलाई दिई अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । यसै गरी दर्ता प्रमाणपत्रलाई सबैले देख्ने गरी कारोबारको मुख्य स्थलमा र शाखा कार्यालय भएमा ती शाखाहरुमा कर अधिकृतद्वारा प्रमाणित गरेको दर्ताको प्रमाणपत्र सवैले देखिने ठाउँमा राख्नु पर्ने व्यवस्था समेत रहेको छ । त्यस्तै दर्ता भएको व्यक्तिले आफ्नो दर्ता नम्बरको प्रयोग मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सार सम्बन्धी सबै कारोबार लगायत आयकर सम्बन्धी कागजात बैंक तथा बित्तीय संस्थामा ऋणको लागि दिइने निवेदन समेतका कागजातमा प्रयोग गर्नुपर्ने व्यवस्था ऐन तथा नियमले गरेको छ । उपर्युक्त व्यवस्थाको परिपालना नगर्ने व्यक्तिलाई हुने जरिवानाका सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (ख) मा देहायको व्यवस्था रहेको छः

दफा २९ उपदफा (१) को खण्ड (ख): दफा १० को उपदफा (५) वा (६) उल्लङ्घन गरेमा पटकै पिच्छे एक हजार रुपैयाँ

१०.३ करपाटी नराखेमा

व्यवसायिक कारोवार गर्ने व्यक्तिले तोकिए बमोजिमको ढाँचा, रंग र आकारमा करपाटी राख्नु पर्ने व्यवस्था नियमावलीको नियम १४क. मा छ । उपर्युक्त बमोजिम करपाटी नराख्ने व्यक्तिलाई हुने जरिवानाका सम्बन्धमा ऐनको २९ को उपदफा (१) को खण्ड (ख१) ले देहायको व्यवस्था गरेको छः

दफा २९ को उपदफा (१) को खण्ड (ख१): यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम करपाटी नराखेमा वा तोकिएको ठाउँमा करपाटी नराखेमा पटकै पिच्छे दुई हजार रुपैयाँ

१०.४ कर बीजक जारी नगरेमा र वस्तु ढुवानी गर्दा कर बीजक साथमा नराखेमा

मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यक्तिले वस्तु वा सेवा आपूर्ति गर्दा अनिवार्य रुपमा कर बीजक जारी गर्नुपर्दछ। वस्तु वा सेवा खरिद गर्ने व्यक्तिले पनि कर बीजक माग गर्नुपर्दछ । यसैगरी कर लाग्ने वस्तु ओसार पसार वा दुवानी गर्दा कर बीजक साथमा राख्नु पर्ने व्यवस्था ऐनले गरेको छ । यस सम्बन्धमा ऐनको दफा १४ मा देहायको व्यवस्था रहेको छः

दफा १४ को उपदफा (१): प्रत्येक दर्ता भएको व्यक्तिले तोकिए बमोजिमको अवस्थामा बाहेक कुनै वस्तु वा सेवा आपूर्ति गर्दा प्रापकलाई बीजक दिनु पर्नेछ ।
दफा १४ को उपदफा (४): दश हजार रुपैयाँभन्दा बढीको कर लाग्ने वस्तु विभागले तोकेको क्षेत्रबाहिर ढुवानी गर्नेले कर बीजक साथमा राख्नु पर्नेछ ।

उपर्युक्त कर्तव्य पालना नगरेमा हुने जरिवाना सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (ग) ले देहायको व्यवस्था गरेको छः

दफा २९ को उपदफा (१) को खण्ड (ग): दफा १४ को उपदफा (१) उल्लङ्घन गरी बीजक नदिएमा पटकै पिच्छे दश हजार रुपैयाँ र बीजक नलिएमा पटकै पिच्छे एक हजार रुपैयाँ ।

१०.५ दर्ता नभएको व्यक्तिले कर असुल गरेमा

सामान्यतया मूल्य अभिवृद्धि करमा दर्ता नभएको व्यक्तिले कर संकलन गर्न हुँदैन । यस सम्बन्धमा ऐनको दफा १५ मा निम्न व्यवस्था रहेको छः

दफा १५ दर्ता नभएको व्यक्तिले कर उठाउन नहुनेः
(१) दर्ता नभएको व्यक्तिले कर असुल गरेको देखिने कुनै बीजक वा कागजात जारी गर्न र कर उठाउन हुँदैन ।
(२) दर्ता नभएको कुनै व्यक्तिले कर उठाएमा त्यसरी उठाएको कर निर्धारण गरी निजबाट असुल उपर गरिनेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा नेपालस्थित अन्तर्राष्ट्रिय संघ संस्था वा नियोग वा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको कारोबार गर्ने सार्वजनिक संस्थानले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवा बिक्री गर्दा कर असुल उपर गर्नुपर्नेछ ।

ऐनको उपर्युक्त व्यवस्थाको परिपालना नगरी दफा १५ को उपदफा (३) मा उल्लिखित कुनै निकाय वा संघ संस्थाबाहेक दर्ता नभएको कुनै व्यक्तिले कर असुल उपर गरेमा हुने जरिवानाको सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (घ) ले देहायको व्यवस्था गरेको छः

दफा २९ को उपदफा (१) को खण्ड (घ): दफा १५ उल्लङ्घन गरेमा उठाएको करको शतप्रतिशत

ऐनको उपर्युक्त व्यवस्था अनुसार कुनै दर्ता नभएको व्यक्तिले करयोग्य वस्तु वा सेवाको आपूर्ति गर्दा कर असुल उपर गरेमा निजले असुल उपर गरेको कर बराबरको रकम जरिवाना गर्नुपर्दछ ।

१०.६ दर्ता भएको व्यक्तिले राख्नु पर्ने लेखा अधवाधिक नराखेमा

दर्ता भएको करदाताले राख्नु पर्ने कारोबारको अभिलेखका सम्बन्धमा ऐन तथा नियमावलीमा स्पष्ट व्यवस्था गरिएको छ।यस सम्बन्धमा ऐनको दफा १६ र नियमावलीको नियम २३ मा उल्लेख गरिएको छ । ऐन तथा नियमावलीको उपर्युक्त प्रावधान अनुसार लेखा अद्यावधिक नराख्ने एवं कर अधिकृतलाई निरीक्षण गर्न नदिएको अवस्थालाई कसुरको रुपमा लिएको छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई हुने जरिवानाको सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (ङ) मा देहायको व्यवस्था रहेको छः

दफा २९ को उपदफा (१) को खण्ड (ङ) : दफा १६ को उपदफा (१) बमोजिम कारोबारको लेखा अद्यावधिक नराखेमा दश हजार रुपैयाँ र कारोबारको लेखा निरीक्षण गर्न नदिएमा पटकै पिच्छे बीस हजार रुपैंयाँ ।

१०.७ राख्नु पर्ने अभिलेख नराखेमा वा अभिलेखमा समावेश हुनु पर्ने सूचना समावेश नभएमा

मूल्य अभिवृद्धि कर ऐन तथा नियमावलीले दर्तावाला व्यक्तिले राख्नु पर्ने खाता, अभिलेख तथा अन्य सूचनाहरुको सम्बन्धमा दफा १६ तथा नियमावलीको नियम २३ मा व्यवस्था गरेको छ । ऐन तथा नियमावलीको उपर्युक्त प्रावधान अनुसार अभिलेख नराखेमा, अभिलेखमा समावेश हुनु पर्ने सूचना समावेश नगरेमा त्यस्तो कार्यलाई ऐनले कसुरको रुपमा लिएको छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई हुने जरिवानाको सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (च) मा देहायको व्यवस्था रहेको छः दफा २९ को उपदफा (१) को खण्ड (च) : दफा १६ को उपदफा (२) उल्लङ्घन गरेमा पाँच हजार रुपैंयाँसम्म।

१०.८ खरिद/बिक्री खाता तथा लेखा तोकिएको अवधिसम्म सुरक्षित नराखेमा

मूल्य अभिवृद्धि कर ऐन तथा नियमावलीले कर लाग्ने वस्तु वा सेवाको कारोबार गर्ने दर्ता भएको वा नभएको व्यक्तिले प्रत्येक आर्थिक वर्षको लागि आफैंले प्रमाणित गरेको खरिद तथा बिक्री खाता लेखा राख्ने प्रयोजनको लागि राख्नु पर्दछ। साथै मूल्य अभिवृद्धि कर प्रयोजनका लागि राखिएको लेखा ६ वर्षसम्म सुरक्षित राख्नु पर्ने व्यवस्था रहेको छ । तोकिए बमोजिम खरिद तथा बिक्री खाता नराख्ने वा ६ वर्षसम्म लेखा सुरक्षित रुपमा नराख्ने कार्यलाई ऐनले कसुरको रुपमा लिएको छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई हुने जरिवानाको सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (छ) मा देहायको व्यवस्था रहेको छः

दफा २९ को उपदफा (१) को खण्ड (छ): दफा १६ को उपदफा (३) वा (४) उल्लङ्घन गरेमा दश हजार रुपैयाँ ।

१०.९ दर्ता नभएको व्यक्तिले खरिद बिक्री खाता नराखेमा

मूल्य अभिवृद्धि कर ऐन तथा नियमावलीले कर लाग्ने वस्तु वा सेवाको कारोबार गर्ने तर ऐन तथा नियमावलीको प्रावधान वमोजिम दर्ता हुनु पर्ने कर्तव्य नभएको कारणले दर्ता नभएको व्यक्तिले पनि खरिद तथा बिक्री खाता आफैँले प्रमाणित गरी राख्नु पर्ने व्यवस्था ऐनको दफा १६ को उपदफा (३क) ले गरेको छ । त्यस्ता खरिद तथा बिक्री खाता प्रमाणित गरी प्रयोग नगर्ने कार्यलाई ऐनले कसुरको रुपमा लिएको छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई हुने जरिवानाको सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (छ१ ) मा देहायको व्यवस्था रहेको छः

दफा २९ को उपदफा (१) को खण्ड (छ१) : दफा १६ को उपदफा (३क) उल्लङ्घन गरेमा प्रत्येक पटक एक हजार रुपैंयाँ

(उपरोक्त व्यवस्था भएकोमा आर्थिक ऐन, २०७८ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन गरी दफा १६ को उपदफा (३क) र दफा २९ को उपदफा (१) को खण्ड (छ१) हटाइएको)

१०.१० दर्ता भएको व्यक्तिले तोकिएको म्यादभित्र कर विवरण पेश नगरेमा

दर्ता भएको व्यक्तिले प्रत्येक कर अवधिको लागि सो कर अवधि समाप्त भएको २५ दिन भित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा वा कर अवधि समाप्त भएको मितिले १५ दिन भित्र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा अनिवार्य रुपमा कर विवरण पेश गर्नुपर्दछ । यसरी पेश गर्नुपर्ने कर विवरण तोकिएको म्याद भित्र पेश नगर्ने कार्यलाई ऐनले कसुरको रुपमा लिएको छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई हुने जरिवानाका सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (ज) ले देहायको व्यवस्था गरेको छ ।

दफा २९ को उपदफा (१) को खण्ड (ज): दफा १८ को व्यवस्था उल्लङ्घन गरेमा लाग्ने करको प्रतिदिन ०.०५ प्रतिशत वा प्रति कर अवधि एकहजार रुपैयाँमध्ये जुन बढी हुन्छ सो रकम ।

उपर्युक्त व्यवस्था अनुसार कुनै व्यक्तिले आफूले पेश गर्नुपर्ने विवरण तोकिएको मितिमा तोकिएको निकायमा पेश नगरेमा सो विवरण बमोजिम निजलाई लाग्ने करको प्रतिदिन ०.०५ प्रतिशत वा प्रति कर अवधि अर्थात प्रति कर विवरण एक हजार रुपैयाँ मध्ये जुन बढी हुन्छ सो रकम जरिवाना गर्नुपर्दछ । यस सम्बन्धमा निम्न उदाहरणले अझ प्रष्ट पार्नेछः

उदाहरण १०.२

मानौं रामहरि ट्रेडर्स मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाता रहेछ । सो फर्मले मिति २०७५ श्रावण महिनामा गरेको कारोबारको आधारमा मूल्य अभिवृद्धि कर रु. एक करोड तीस लाख रुपैया दाखिला गर्नुपर्ने रहेछ।उक्त करदाताले २०७५ को भाद्र २५ गते भित्र कर विवरण बुझाउनु पर्नेमा असोजको १० गते मात्र कर विवरण बुझाएको रहेछ । यस्तो अवस्थामा उक्त करदाताले तोकिएको अवधि भन्दा १५ दिन ढिला गरी कर विवरण बुझाएको हुँदा प्रति कर अवधि रु. १,०००।०० वा बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर रु. एक करोड तीस लाखको प्रतिदिन ०.०५ प्रतिशतका दरले दैनिक हुने रु. ६,५००।०० का दरले १५ दिनको हुने रु. ९७,५००।०० मध्ये जुन बढी हुन्छ सो जरिवाना तिर्नुपर्ने हुँदा रु.९७,५००।०० जरिवाना स्वरुप तिर्नुपर्दछ।

१०.११ जाँच तथा परीक्षण कार्यमा असहयोग वा बाधा विरोध गरेमा

दर्ता भएको व्यक्तिले पेश गरेको कर विवरण र दाखिला गरेको कर ठिक भए नभएको तथा कुनै व्यक्तिले दर्ता नभई कर लाग्ने कारोबार गरे नगरेको सम्बन्धमा जाँच तथा परीक्षण गर्ने अधिकार ऐनको दफा २३ ले कर अधिकृतलाई प्रदान गरेको छ । कानून प्रदत्त उक्त अधिकार बमोजिम कर अधिकृतले कुनै व्यक्तिको लेखा वा कारोबारको जाँच तथा परीक्षण गर्ने कार्यमा कुनै व्यक्तिले बाधा विरोध गरेमा वा असहयोग गरेमा त्यस्तो कार्यलाई ऐनले कसुरको रुपमा लिएको छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई हुने जरिवानाको सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (झ) ले देहायको व्यवस्था गरेको छः

दफा २९ को उपदफा (१) को खण्ड ( झ ): दफा २३ बमोजिमको कार्यमा बाधा विरोध गरेमा पटकै पिच्छे पाँच हजार रुपैयाँ

१०.१२ दर्ता भएको व्यक्तिले न्युन बीजकीकरण गरेमा

दर्ता भएको व्यक्तिले कर लाग्ने वस्तु तथा सेवा आपूर्ति गर्दा बजार मूल्यमा बीजक जारी गर्नुपर्दछ । कुनै व्यक्तिले मनासिब कारण बेगर बजार मूल्यभन्दा घटी मूल्यमा वा आफूले प्राप्त गरेको मूल्यभन्दा घटी मूल्यमा वस्तु वा सेवाको बीजक जारी गरेमा त्यस कार्यलाई न्यून बिजकीकरण भनिन्छ । करयोग्य वस्तु तथा सेवाको आपूर्ति गर्दा बजार मूल्यमा बीजक जारी गर्नुपर्ने भन्ने सम्बन्धमा ऐनको दफा १३ तथा दफा २३ग. एवं नियमावलीको नियम २२ ले स्पष्ट व्यवस्था गरेको छ । उपर्युक्त व्यवस्था विपरीत कुनै व्यक्तिले मनासिव कारणबिना प्रचलित बजार मूल्यभन्दा घटी मूल्यमा बीजक जारी गरेमा वा मूल्य वापत प्राप्त गरेको रकमभन्दा घटी मूल्यमा बीजक जारी गरेमा सो व्यक्तिले न्यून बिजकीकरण गरेको मानिने र त्यस्तो कार्य यस ऐन बमोजिम कसुर हुने व्यवस्था रहेको छ । उक्त कसुर गर्ने व्यक्तिलाई हुने जरिवानाको सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (ञ) ले देहायको व्यवस्था गरेको छः

दफा २९ को उपदफा (१) को खण्ड (ञ): न्यून बिजकीकरण गरी बीजक काटेको पाइएमा प्रत्येक बीजकको लागि दुई हजार रुपैयाँ वा उपदफा (२) बमोजिम लाग्ने जरिवाना मध्ये जुन बढी हुन्छ सो रकम, तर न्युन बीजकीकरण भएको वस्तु कार्यालयले आवश्यक सम्झेमा तोकिए बमोजिम खरिद गर्न गराउन सक्नेछ ।

१०.१३ ऐन तथा नियमावलीमा भएका अन्य व्यवस्था उल्लङ्घन गरेमा

मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ मा उल्लेख भएका व्यवस्थाहरुमध्ये यस परिच्छेदको अनुच्छेद १०.१ देखि १०.१२ सम्म र अनुच्छेद १०.१४ देखि १०.१७ सम्ममा उल्लिखित व्यवस्थाहरु बाहेक अन्य व्यवस्थाहरु उल्लङ्घन भएमा सो कार्यसमेत यस ऐन बमोजिम कसुर हुने व्यवस्था रहेको छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई हुने जरिवानाको सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (ट) मा देहाय बमोजिमको व्यवस्था रहेको छः

दफा २९ को उपदफा (१) को खण्ड (ट) : यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा पटकै पिच्छे एक हजार रुपैंयाँ ।

तर कुनै कर दायित्व सिर्जना हुने अर्थात ऐनको दफा २० बमोजिम कर निर्धारण हुने समेतको कसुर गरेको व्यक्तिको हकमा यस खण्ड बमोजिमको जरिवाना नगरी ऐनको दफा २९ को विभिन्न उपदफाहरुमा उल्लिखित जरिवानाहरु मध्ये कसुरको प्रकृति तथा मात्रा बमोजिम उपयुक्त हुने जरिवाना गर्नुपर्दछ ।

१०.१४ कम्प्युटरमा रहेको तथ्याङ्क मेट्न वा सच्याउन सकिने सफ्टवेयर प्रयोग गरेमा

दर्ता भएको व्यक्तिले सम्बन्धित कार्यालयको स्वीकृति लिई कम्प्युटरको माध्यमबाट स्वचालित रुपमा बीजक जारी गर्न पाउने व्यवस्था ऐनले गरेको छ । यसरी बिद्युतीय बीजक जारी गर्न कुनै व्यक्तिले प्रयोग गर्ने सफ्टवेयर कम्प्युटरमा रहेको जारी गरिएका बिक्री बीजक सम्बन्धी सूचना तथा तथ्याङ्क मेट्न वा संशोधन गर्न नसकिने किसिमको हुनुपर्दछ । तर कुनै व्यक्तिले त्यस्तो सूचना वा तथ्याङ्क मेट्न सकिने किसिमको सफ्टवेयर प्रयोग गरेमा त्यस कार्यलाई यस ऐनले कसुर मानेको छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई हुने जरिवानाको सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) को खण्ड (छ२) मा देहायको व्यवस्था रहेको छः

दफा २९ को उपदफा (१) को खण्ड (२) : विद्युतीय बीजक जारी गर्न स्वीकृति लिएका वा स्वीकृती नलिएको करदाताले तथ्याङ्क मेट्न वा सच्याउन सकिने सफ्टवेयर प्रयोग गरेको पाइएमा पाँच लाख रुपैयाँ

सफ्टवेयर वा उपकरण निर्माण गर्ने, जडान गर्ने वा संचालन गर्ने व्यक्तिले विभागले विद्युतीय बीजक सम्बन्धमा जारी गरेको कार्यविधिको पालना गर्नुपर्नेछ । सो कार्यविधिको पालना नगरेमा हुने जरिवानाको सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) खण्ड (छ३) मा देहायको व्यवस्था रहेको छः

दफा २९ को उपदफा (१) को खण्ड (छ३) : विद्युतीय बीजक जारी गर्न सफ्टवेयर वा उपकरण निर्माण गर्ने, जडान गर्ने वा सञ्चालन गर्ने व्यक्तिले विभागले दफा १४क. बमोजिम जारी गरेको कार्यविधिको पालना नगरेमा पाँच लाख रुपैयाँ

१०.१५ स्पष्ट जरिवाना तोकिएको बाहेक अन्य कसुर गरेमा

ऐनको दफा २९ को उपदफा (१) को खण्ड (क) देखि खण्ड (ट) सम्म, दफा २९ को उपदफा (१ख) तथा दफा २९ को उपदफा (२) ले तोकेको जरिवाना हुने कसुर बाहेक करको दायित्व घटाउने गरी कसैले कुनै कसुर गरेमा हुने जरिवाना सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१क) मा निम्न व्यवस्था गरिएको छ ।

दफा २९ को उपदफा (१क): यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम पालना नगरी करको दायित्व घटाएमा कर अधिकृतले विभागले तोकेको आधारमा कर विगोको पच्चीस प्रतिशतसम्म जरिवाना गर्न सक्नेछ ।

ऐनको उपर्युक्त व्यवस्था बमोजिम विभागले देहाय अनुसारको कसुरमा देहाय बमोजिमको जरिवाना गर्ने गरी तोकेको छः

क्र.सं कसुरको प्रकृति जरिवाना उल्लङ्घन भएको दफा र नियम
नपाउने कर कट्टी दावी गरेको अवस्थाः
आंशिक कर कट्टी दावी गर्नुपर्नेमा पूरै दावी गरेको बढी दावी गरेको कर कट्टीको १५ प्रतिशत दफा १७ को उपदफा (२), नियम ४१ को उपनियम (२
समानुपातिक कर कट्टी नगरेको वा सहि नभएको बढी दावी गरेको कर कट्टीको २० प्रतिशत दफा १७ को उपदफा (३), नियम ४० को उपनियम (३), नियम ४० को उपनियम ( ४ )
कर कट्टी गर्न नपाईने वस्तु तथा सेवाहरुको कर कट्टी दावी गरेको दावी गरेको कर कट्टीको २० प्रतिशत नियम ३९ को उपनियम (१), नियम ३९ को उपनियम (२), नियम ४१ को उपनियम (१)
कारोबारसँग असम्बन्धित वस्तु तथा सेवाहरुको कर कट्टी दावी गरेको दावी गरेको कर कट्टीको २० प्रतिशत नियम ३९ को उपनियम (१) को खण्ड (क)
धरौटीमा रहेको रकमको कर कट्टी दावी गरेका दावी गरेको कर कट्टीको २ प्रतिशत दफा १२ को उपदफा (८)
बैंक ग्यारेण्टीमा आयात गरिएको रकमको कर कट्टी दावी गरेको दावी गरेको कर कट्टीको २० प्रतिशत नियम ३९ को उपनियम (१) को खण्ड (ग)
अन्य फर्म वा व्यक्तिले खरिदमा तिरेको कर कट्टी दावी गरेको दावी गरेको कर कट्टीको २५ प्रतिशत नियम ३९ को उपनियम (१) को खण्ड (ख) र (ग)
खर्च रकमहरु (जस्तैः भन्सार अग्रिम आयकर, सेवा शुल्क आदि) दावी गरेको कर कट्टीको २० प्रतिशत दफा १७ को उपदफा (१)
भवितव्य परेको प्रमाण पेश भएको अवस्थामा बाहेक सक्कल प्रज्ञापनपत्र वा कर बीजक पेश नगरी प्रतिलिपी पेश गरेको अवस्थामा १ प्रतिशत जरिवाना गरी | खातामा प्रविष्टि र मूल्य अभिवृद्धि भएमा प्रमाणित प्रतिलिपिको आधारमा कर कट्टी दिने नियम ३९ को उपनियम (१) को खण्ड (ख) र (ग)
संक्षिप्त कर बीजकबाट कर कट्टी दावी गरेको दावी गरेको रकमको ५ प्रतिशत जरिवाना गर्ने नियम १८ को उपनियम (३)
बिक्री कम देखाई कर घटाएको अवस्थाः
गणितीय त्रुटी जस्तै जोड जम्मामा फरक परेको कारणबाट थप बिक्री कायम भएको अवस्था थप करमा २० प्रतिशत जरिवाना गर्ने ऐनको दफा २४ को उपदफा (१) र ( २ )
नेपाल बाहिरको दर्ता नभएको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्ने दर्ता भएको वा दर्ता नभएको व्यक्तिले त्यस्तो सेवाको मूल्य भुक्तानीका बखत कर निर्धारण र दाखिला नगरेमा लाग्ने करको २५ प्रतिशत दफा ८ को उपदफा (२)
कुनै व्यक्तिले व्यवसायिक प्रयोजनको लागि निर्माण गरिने पचास लाख रुपैयाँ भन्दा बढीको भवन वा यस्तै संरचना दर्ता नभएको व्यक्तिबाट निर्माण गराई कर दाखिला नगरेमा लाग्ने करको २५ प्रतिशत दफा ८ को उपदफा (३)
अन्य अवस्थाः
उपर्युक्त कसुर र ऐनको दफा २९ (१), दफा २९ (१ख) र दफा २९(२) बमोजिम जरिवाना गर्नुपर्ने कसूर बाहेक अन्य कसूर गरी कसैले कर दायित्व घटाएको पाइएमा थप करमा २५ प्रतिशत

१०.१६ खरिद खातामा उल्लेख भएको भन्दा बढी बस्तु मौज्दात फेला परेमा हुने जरिवाना

कुनै व्यक्तिको मौज्दात परीक्षण गर्दा निजले खरिद खातामा देखाएको खरिद अनुसार हुने मौज्दात भन्दा बढी मौज्दात फेला परेमा हुने जरिवानाका सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१ख) ले देहायको व्यवस्था गरेको छः

दफा २९ को उपदफा (१ ख ): कुनै करदाताको मौज्दात परीक्षण गर्दा खरिद खातामा उल्लेख भएको भन्दा बढी बस्तु मौज्दात फेला परेमा कर अधिकृतले त्यस्तो बस्तुको आम्दानी बाँध्न लगाई त्यसरी बढी फेला परेको बस्तुको बजार मूल्य कायम गरी त्यस्तो मूल्यको पचास प्रतिशतले हुने रकम जरिवाना गर्न सक्नेछ।

ऐनको उपरोक्त ब्यबस्था अनुसार जरिवाना गर्दा देहाय बमोजिम गर्नु पर्दछः
(क) मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसुची १ मा परेका वस्तु वा सेवाको कारोवार गरेको कारणले मूल्य अभिवृद्धि करमा दर्ता नभएका वा मूल्य अभिवृद्धि कर दर्ताको थ्रेसहोल्ड भन्दा घटीको कारोबार भई मूल्य अभिवृद्धि करमा दर्ता नभएका (स्थायी लेखा नम्बर मात्र लिएका ) करदाताको हकमा ऐनको उपरोक्त व्यवस्था लागु नहुने ।
(ख) मूल्य अभिवृद्धि करमा दर्ता भएका मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने वा दुवै वस्तु वा सेवाको कारोवार गर्ने करदाताको हकमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने दुवै प्रकारका वस्तुको हकमा ऐनको उपरोक्त व्यवस्था लागु हुने ।

१०.१७ कारोबार नै नगरी बीजक मात्र जारी गरेमा हुने जरिवाना

दर्ता भएको कुनै व्यक्तिले वस्तु वा सेवाको आपुर्ति वा हस्तान्तरण गर्दा बीजक जारी गर्नुपर्दछ । तर कसैले वस्तु वा सेवाको हस्तान्तरण नगरी बीजक मात्र जारी गरेमा कर छल्ने कसुर गरेको मानिने छ । यसरी कारोबार नै नगरी बीजक मात्र जारी गर्ने विक्रेता व्यक्तिलाई कर छल्ने कसुर गरेको आधारमा गरिने जरिवाना सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१) मा निम्न व्यवस्था गरेको छः

दफा २९ को उपदफा (१ग): वस्तु तथा सेवाको हस्तान्तरण नगरी बीजक मात्र जारी गर्ने बिक्रेता व्यक्तिलाई जारी बीजक मूल्यको पचास प्रतिशत जरिवाना वा ६ महिनासम्म कैद वा दुवै गर्न सक्नेछ ।

१०.१७क. दर्ता हुनुपर्ने दायित्व भएका कुनै व्यक्तिले दर्ता नगरी कारोबार गरेमा हुने जरिवाना

मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम दर्ता हुनपर्ने दायित्व भएको कुनै व्यक्तिले दर्ता नगरी कारोबार गरेमा हुने जरिवाना सम्बन्धमा ऐनको दफा २९ को उपदफा (१घ) ले देहायको व्यवस्था गरेको छ।

दफा २९ को उपदफा (१घ) : दर्ता हुनुपर्ने दायित्व भएका व्यक्तिले दर्ता नगरी कारोबार गरेमा कर अधिकृतले त्यस्तो व्यक्तिलाई कर बिगोको पचास प्रतिशतले हुन आउने रकम जरिवाना गर्न सक्नेछ ।

यस सम्बन्धमा निम्न उदाहरणले अझ प्रष्ट पार्नेछः

उदाहरण १०.२क

आन्तरिक राजस्व कार्यालयबाट बजार अनुगमनको क्रममा रंगरोगनको कारोबार गर्ने शिवपुरी सदाबहार ट्रेडर्सको कारोबारस्थल निरीक्षण गर्दा उक्त ट्रेडर्सले स्थायी लेखा नम्बर लिएको तर मूल्य अभिवृद्धि करमा भने दर्ता भएको देखिएन। पसलको आकार, सजावट र मालवस्तुको परिमाण हेर्दा अनुगमनमा खटिएका कर अधिकृतको टोलीलाई मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने अवस्थाको कारोवार भएको अनुमान भयो । कारोबारस्थलमा भेटिएका खरिद तथा बिक्री बीजकहरु र मौज्दात किताब परीक्षण गर्दा विगत बाह महिनामा साठी लाख बराबरको कर लाग्ने बस्तुको बिक्री गरेको देखियो । कर लाग्ने सीमा नाघेको ३० दिनभित्र मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता हुनु पर्नेमा दर्ता नभई कारोबार गरेको पुष्टि भयो। यसरी सो फर्मले गरेको मूल्य अभिवृद्धि करमा दर्ता हुनु पर्ने कारोबारको सीमा भन्दा बढी बिक्री रकम रू. १० लाखलाई मूल्य अभिवृद्धि कर सहितको मूल्य मानी सो मूल्यमा १३ प्रतिशतका दरले हुने मूल्य अभिवृद्धि कर गणना गरी कर निर्धारण गर्नुपर्दछ । यसरी कर निर्धारण गर्दा दफा १९ बमोजिम थप दस्तुर, दफा २६ बमोजिम व्याज तथा दफा २९ को उपदफा (१) को खण्ड (क) बमोजिम रु.२०,००० जरिवाना र दफा २९ को उपदफा (१घ) बमोजिम कर बिगोको पचास प्रतिशत जरिवाना सहित कर | निर्धारण गर्नुपर्दछ ।

१०.१८ बदनियतपूर्ण ढंगले कर छल्ने कुनै कसुर गरेमा

यस परिच्छेदको अनुच्छेद १०.१५ सम्ममा उल्लेख गरिएका अवस्था तथा कसुर वाहेक कर छल्ने मनसाय वा नियत राखी कुनै व्यक्तिले नक्कली श्रेस्ता खडा गरी वा वास्तविक कारोबार भन्दा घटी मूल्यमा वीजक जारी गर्ने जस्ता जालसाजीजन्य कार्य गरी कर छलेमा वा कर दायित्व कम गरेमा त्यस्तो कार्यलाई बदनियतपूर्ण ढंगले कर छल्ने कसुर गरेको मानिने व्यवस्था ऐनले गरेको छ । यस्ता गम्भीर प्रकृतिका कसुर गरी कर छल्ने व्यक्तिलाई अधिकतम् जरिवाना तथा कैद समेत हुने व्यवस्था ऐनले गरेको छ । यस्ता गम्भीर प्रकृतिका कसुर गर्ने व्यक्तिलाई हुने जरिवाना तथा सजायका सम्बन्धमा ऐनको दफा २९ को उपदफा (२) ले देहाय बमोजिमको व्यवस्था गरेको छ ।

दफा २९ को उपदफा (२) कुनै व्यक्तिले देहाय बमोजिमका कुनै कसुर गरेमा कर अधिकृतले त्यस्तो व्यक्तिलाई कर बिगोको शतप्रतिशत रकम जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछः (क) झुठ्ठा लेखा वा बीजक वा अन्य कागजात तयार गरेमा, (ख) जालसाजी गरी कर छलेमा, (ग) दर्ता नभएको व्यक्तिले दर्ता भएको व्यक्ति सरह व्यवहार गरेमा, (घ) न्यून बीजकीकरण गरी बिक्री गरेमा, (ङ) दफा ३० को उल्लङ्घन गरी कारोबार गरेमा ।

कुनै व्यक्तिले झुठा लेखा वा बीजक वा अन्य कागजात तयार गरी, जालसाजी गरी दर्ता नभएको व्यक्तिले कर उठाई, न्युन बीजकीकरण गरी वा निलम्बन भएको अवधिमा कारोवार गरेमा वा ऐनका प्रावधानहरुको उल्लङ्घन गरी कर दायित्व कम गरेमा वा कर छल्ने कार्य गरेमा त्यस्तो व्यक्तिलाई निजको त्यस्तो कार्यले कम भएको कर दायित्व वा छलिएको कर बराबरको रकम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था ऐनले गरेको छ ।

१०.१९ मतियारलाई सजाय हुने

यस ऐनमा उल्लिखित कुनै कसुर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाहीवस त्यस्तो कसुर गर्न सहयोग पुऱ्याउने व्यक्तिलाई समेत सजाय हुने व्यवस्था ऐनले गरेको छ । सो सम्बन्धमा ऐनको दफा २९ को उपदफा (३) मा देहाय बमोजिमको व्यवस्था रहेको छः

दफा २९ को उपदफा (३) : यस ऐनमा उल्लिखित कुनै कसुर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गर्ने वा सहायता दिने वा दुरुत्साहन गर्ने वा सल्लाह दिने मतियारलाई त्यस्तो व्यक्तिले घटी तिरेको करको पचास प्रतिशत रकम जरिवाना लाग्नेछ ।

यस ऐन बमोजिम कर दाखिला नगर्ने, झुठा वा भ्रमपूर्ण विवरण दिने, जालसाजी गर्ने, कर प्रशासनमा वाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्ने, अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कुनै कसुर गर्ने वा कुनै कसुर गर्न मतियारी गर्ने तथा ऐनको पालना नगर्ने जस्ता कसुर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गर्ने, सहायता दिने, दुरुत्साहन गर्ने वा सल्लाह दिने मतियारलाई त्यस्तो मतियारीको कारणबाट घट्न गएको करको पचास प्रतिशत जरिवाना हुने व्यवस्था रहेको छ ।

१०.२० कसुर स्वीकार गर्ने व्यक्तिलाई लाग्ने जरिवाना

कुनै व्यक्तिले नियमावलीको नियम २९ को उपनियम (३) बमोजिम अन्तिम कर निर्धारण नहुँदै आफूले ऐनको दफा २९ को उपदफा (२) को कुनै एक वा एकभन्दा बढी कसुर गरेको भनी लिखितरुपमा स्वीकार गरेमा विभागले सो व्यक्तिलाई त्यस्तो कसुर गरे वापत लाग्ने जरिवानामा नबढ्ने गरी जरिवाना रकम दाखिला गर्न आदेश दिन सक्ने व्यवस्था ऐनको दफा २९क. ले गरेको छ । सो दफामा देहाय बमोजिमको व्यवस्था रहेको छः

दफा २९क. विभागले जरिवानाको रकम दाखिला गर्न आदेश दिन सक्ने :
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले दफा २९ को उपदफा (२) मा उल्लिखित एक वा एकभन्दा बढी कसुर गरेको कुरा कारवाहीको प्रक्रिया शुरु हुनु अगावै लिखित रुपमा स्वीकार गरेमा त्यस्तो कसुर गरे वापत लाग्ने जरिवाना रकममा नबढ्ने गरी जरिवाना रकम दाखिला गर्न विभागले त्यस्तो व्यक्तिलाई आदेश दिन सक्नेछ ।
(२) विभागले उपदफा (१) बमोजिमको आदेश दिँदा त्यस्तो आदेशमा त्यस्तो कसुरको विवरण बुझाउनु पर्ने जरिवाना रकम र जरिवाना रकम बुझाउनु पर्ने मिति खुलाउनु पर्नेछ ।

उदाहरण १०.३

विवेक इण्डष्ट्रिज लिमिटेड मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाता रहेछ। सो फर्मले २०७५ वैशाख, जेष्ठ तथा आषाढमा नक्कली भन्सार प्रज्ञापन वनाई भवन निर्माणको लागि भनी निर्माण सामाग्री आयात गरेको देखाई रु.१०लाख मूल्य अभिवृद्धि कर क्रेडिट लिएको रहेछ । कम्पनीको लेखा परीक्षण गर्ने क्रममा लेखा परीक्षकलाई यस सम्वन्धमा जानकारी प्राप्त भएछ र लेखा परीक्षकले यसको जानकारी कम्पनीको अध्यक्षलाई दिएका रहेछन् । कम्पनीको अध्यक्षले यो जानकारी प्राप्त भएपछि आफ्नो कम्पनीले मूल्य अभिवृद्धि कर छली गरेकोले यस वापत कर प्रशासनबाट कुनै पनि समयमा छानविन हुन सक्ने र सो कार्य वापत हदै सम्म कारवाही हुन सक्ने भयले कम्पनीको अध्यक्षले कम्पनीले गरेको कसुरको लिखित सूचना २०७५ आश्विन १५ गते कर प्रशासनलाई दिएछन् । कर प्रशासनले विवेक इण्डष्ट्रिज लिमिटेडका अध्यक्षले आफ्नो कम्पनीले गरेको कसुर स्वीकार गरी दिएको लिखित निवेदनको आधारमा कर प्रशासनले ऐनको दफा २९ क. को व्यवस्था अनुसार छली गरेको कर रकम रु.१० लाख तथा जरिवाना वापत रु. १० लाख तथा कर चुहावट गरेको कर रकममा ऐनको दफा १९ अनुसार लाग्ने थप दस्तुर तथा ऐनको दफा २६ अनुसार लाग्ने व्याज गणना गरी २०७५ कार्तिक १५ गतेभित्र दाखिला गर्न सुचना दिएछ । कर प्रशासनले दिएको आदेश अनुसारको कम्पनीले कर, जरिवाना, थप शुल्क तथा व्याज दाखिला गरेकोले विवेक इण्डष्ट्रिज लिमिटेडलाई उल्लिखित यस कसुर वापत अन्य जरिवाना तथा सजाय गर्नुपर्दैन।

(३) विभागले यस दफा बमोजिम दिएको आदेश अन्तिम हुनेछ ।

दफा २९क. को आधारमा विभागले दिएको आदेशमा कसुरको विवरण बुझाउनु पर्ने जरिवानाको रकम र जरिवाना बुझाउनु पर्ने मिति खुलाउनु पर्ने व्यवस्था समेत गरेको छ । ऐनको यस दफा बमोजिम विभागले दिएको आदेश अनुसार जरिवाना दाखिला गर्ने व्यक्तिका हकमा विभागले त्यसरी दिएको आदेश अन्तिम हुने अर्थात् सो आदेश उपर सो व्यक्तिले यस ऐनको दफा ३१क. बमोजिम प्रशासकीय पुनरावलोकनको निवेदन दिन पाउँदैन ।