Skip to content

परिच्छेद ११: बैङ्किङ्ग र बीमा व्यवसाय सम्बन्धी विशेष व्यवस्था

५९. बैङ्किङ्ग व्यवसाय

(१) बैङ्किङ्ग व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा बैकिङ्ग व्यवसायलाई भिन्न व्यवसायको रूपमा मानी छुट्टै गणना गर्नु पर्नेछ।

[(१क) नेपाल राष्ट्र बैङ्कले तोकेको मापदण्डको अधीनमा रही बैकिङ्ग व्यवसाय सञ्चालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकम तथा गैरबैकिङ्ग सम्पत्ति वापत व्यवस्था गरिएको रकम समेतको पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ ।] 1

[(१ख) सहकारी संस्थाले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकमको पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ ।] 2

[(१ग) उपदफा (१क) र (ख) बमोजिम जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिनाहा हुने छैन र त्यस्तो कोषमा रहेको रकम पुँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँड गरिएमा जुन वर्ष बाँडफाँड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ ।] 3

(२) [..........] 4

(३) [..........] 5

स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि "बैङ्किङ्ग व्यवसाय" भन्नाले प्रचलित कानून बमोजिम बैकिङ्ग कारोबार गर्न स्वीकृति प्राप्त बैक तथा वित्तीय संस्थाहरुले सञ्चालन गरेको बैङ्गि कारोबार सम्झनु पर्छ ।

६०. सामान्य बीमा व्यवसाय

(१) सामान्य बीमा व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानी गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा बीमा व्यवसायलाई भिन्न व्यवसायको रूपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।

(२) सामान्य बीमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आयको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:-
(क) आयतर्फ यस ऐन बमोजिम समावेश गर्नु पर्ने कुनै अन्य रकमहरूका अतिरिक्त देहायका रकमहरू पनि समावेश गर्नु पर्नेछ:-
  (१) सो व्यक्तिले सो वर्षमा सो व्यवसाय सञ्चालन गरी प्राप्त गरेको पुनर्बीमाको प्रिमियम लगायत बीमाको प्रिमियम वापतको रकम, र
  (२) पुनर्बीमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापत खण्ड (ख) को उपखण्ड (१) बमोजिमका भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरू ।
(ख) खर्चतर्फ यस ऐन बमोजिम कट्टा गर्न पाउने रकमका अतिरिक्त देहायका रकमहरू पनि कट्टा गर्न पाउनेछ:-
  (१) सो व्यवसाय सञ्चालन गर्दा सो व्यक्तिबाट बीमकको हैसियतमा सो वर्षमा गरिएको भुक्तानीहरू, र
  (२) सो वर्ष वा विगत वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा खण्ड (क) को उपखण्ड (१) बमोजिम समावेश गरिएका सो वर्षमा बीमितलाई फिर्ता दिइएका प्रिमियमहरू ।
  [(३) जोखिम व्यहोर्ने कोषमा राखेको देहाय बमोजिमको रकमको योग:-] 6
    (क) कुनै वर्षको नाफा नोक्सान हिसाबमा देखाइएको खुद बीमा शुल्कको पचास प्रतिशतसम्मको रकम, र
    (ख) कुनै वर्षको अन्त्यमा दाबी भुक्तानी बापत बाँकी रकमको एकसय पन्ध्र प्रतिशतसम्मको रकम ।
तर, यस उपखण्ड बमोजिम कुनै वर्ष खर्च कट्टी लिएको रकम आगामी आय वर्षमा बीमा व्यवसायको आय गणना गर्दा आयमा समावेश गर्नु पर्नेछ।

(३) [..........] 7

(४) [..........] 8

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "दर्ता भएको सामान्य बीमा व्यवसाय" भन्नाले प्रचलित कानून बमोजिम नेपालमा दर्ता भई सामान्य बीमा कारोबार गर्ने बीमा व्यवसाय सम्झनु पर्छ ।

६१. लगानी बीमा व्यवसाय

(१) लगानी बीमा व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा लगानी बीमा व्यवसायलाई भिन्न व्यवसायको रूपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।

(२) लगानी बीमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आय गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:-
(क) देहायका रकमहरू बाहेक यस ऐन बमोजिम समावेश गर्न सकिने अन्य रकमहरू समावेश गर्ने:-
  (१) सो व्यक्तिले सो व्यवसाय सञ्चालन गर्दा प्रिमियम लगायत बीमा प्रिमियम वापतको रूपमा सो आय वर्षमा प्राप्त गरेको पुनर्बीमाको रकम, र
  (२) पुनर्बीमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापतको खण्ड (ख) को उपखण्ड (१) बमोजिमको भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरू ।
(ख) देहायका रकमहरू बाहेक यस ऐन बमोजिम कट्टी गर्न सकिने अन्य रकमहरू कट्टी गर्ने:-
  (१) कुनै व्यक्तिले बीमकको हैसियतमा उक्त व्यवसाय सञ्चालन गर्दा गरेको भुक्तानीहरू, र
  [(२) बीमितलाई फिर्ता भएको खण्ड (क) को उपखण्ड (१) मा उल्लिखित प्रिमियम ।] 9

(३) उपदफा (२) को खण्ड (क) को उपखण्ड (१) र (२) तथा खण्ड (ख) को उपखण्ड (१) र (२) मा उल्लिखित रकमहरू सो व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानी र [खर्च मानिने छैन] 10

(४) कुनै व्यक्तिको लगानी बीमा व्यवसायको लगानी बीमा सम्झौता सो व्यक्तिको सम्पत्ति तथा दायित्व मानिने छैन ।

६२. बीमाबाट प्राप्त रकम

(१) कुनै व्यक्तिको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले बीमाबाट प्राप्त गरेको रकमको सम्बन्धमा दफा ३१ मा उल्लेख भए बमोजिम हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लगानी बीमाबाट प्राप्त लाभ सम्बन्धमा देहाय बमोजिम हुनेछ:- (क) बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बीमित उपर अन्तिम रूपमा हुने कर कट्टीद्वारा कर लगाइनेछ, र (ख) गैरबासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बीमितको आयमा सो रकम समावेश गरी गणना गर्नु पर्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "लगानी बीमाबाट प्राप्त लाभ" भन्नाले सो बीमाको सम्बन्धमा कुनै व्यक्तिले लगानी बीमा बापत प्राप्त गरेको भुक्तानी सो व्यक्तिले तिरेको प्रिमियम भन्दा बढी भएजतिको रकमलाई सम्झनु पर्छ ।


  1. आर्थिक अध्यादेश, २०५९ द्वारा थप भई त्यसपछिका आर्थिक ऐनबाट संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७१ द्वारा संशोधन भएको व्यवस्थालाई आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको । आर्थिक अध्यादेश, २०५९ द्वारा थप भएको व्यवस्थाः “(१क) नेपाल राष्ट्र बैङ्कले तोकेको मापदण्डको अधीनमा रही बैङ्किङ्ग व्यवसाय सञ्चालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकमको बढीमा पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ। यसरी जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिनाहा हुने छैन र सो कोषमा रहेको रकम पुँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँड गरिएमा जुन वर्ष बाँडफाँड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ।” 

  2. आर्थिक ऐन, २०७१ द्वारा थप भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । 

  3. आर्थिक ऐन, २०७१ द्वारा थप भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । 

  4. आर्थिक ऐन, २०६४ द्वारा झिकिएको । मूल ऐनको व्यवस्थाः
    “(२) कुनै व्यक्तिलाई कुनै आय वर्षमा बैङ्किङ्ग व्यवसायबाट नोक्सान भएमा सो व्यक्तिले त्यस्तो नोक्सानी सो व्यवसायको विगतका पाँच आय वर्षहरूको आयबाट तोकिए बमोजिम घटाउन पाउनेछ ।
    तर उपदफा (१क) बमोजिमको रकमलाई खर्चको रूपमा कट्टी गरेको भए त्यस्तो नोक्सानी घटाउन पाइने छैन ।"
    (यो प्रतिबन्धात्मक वाक्यांश आर्थिक अध्यादेश, २०५९ द्वारा थप ।) 

  5. आर्थिक ऐन, २०६४ द्वारा झिकिएको । मूल ऐनको व्यवस्थाः “(३) उपदफा (२) बमोजिम नोक्सानी घटाउँदा देहाय बमोजिम भएको हुनु पर्नेछः-
    (क) विगत आय वर्षमा सो व्यवसायबाट प्राप्त कुनै आयभन्दा बढी हुन नहुने, (ख) कुल योग नोक्सानीको रकमभन्दा बढी हुन नहुने,
    (ग) दफा २० को प्रयोजनको लागि कट्टा गर्न नपाएको नोक्सानीको रकम घट्ने ।
    स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “बैङ्किङ्ग व्यवसाय” भन्नाले प्रचलित कानून बमोजिम बैङ्किङ्ग कारोबार गर्न स्वीकृत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरुले सञ्चालन गरेको बैङ्किङ्ग कारोबार सम्झनु पर्छ ।” 

  6. आर्थिक ऐन, २०६४ द्वारा थप भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । 

  7. आर्थिक ऐन, २०६४ द्वारा झिकिएको । मूल ऐनको व्यवस्थाः “ (३) कुनै व्यक्तिलाई कुनै आय वर्षमा दर्ता भएको सामान्य बीमा व्यवसायबाट नोक्सानी भएमा सो व्यक्तिले त्यस्तो नोक्सानी सो व्यवसायको विगत पाँच आय वर्षहरूको आयबाट तोकिए बमोजिम घटाउन पाउनेछ ।” 

  8. आर्थिक ऐन, २०६४ द्वारा झिकिएको । मूल ऐनको व्यवस्थाः “(४) उपदफा (३) बमोजिम नोक्सानी घटाउँदा देहाय बमोजिम भएको हुनु पर्नेछः-
    (क) सो विगत आय वर्षमा सो व्यवसायबाट प्राप्त कुनै आयभन्दा बढी हुन नहुने,
    (ख) कुल योग नोक्सानीको रकमभन्दा बढी हुन नहुने,
    (ग) दफा २० को प्रयोजनको लागि कट्टा गर्न नपाएको नोक्सानीको रकम घट्ने।” 

  9. आर्थिक अध्यादेश, २०६० द्वारा संशोधित । मूल ऐनको व्यवस्थाः “(२) खण्ड (क) को उपखण्ड (१) मा उल्लिखित बीमितलाई फिर्ता भएको प्रिमियम ।" 

  10. आर्थिक अध्यादेश, २०६० द्वारा संशोधित । मूल ऐनमा रहेको व्यवस्थाः “खर्चहरूमा समावेश गर्नु पर्नेछ” भन्ने शब्दहरु रहेका ।