परिच्छेद ८: सम्पत्ति र दायित्वबाट प्राप्त खुद लाभको निर्धारण
३६. सम्पत्ति तथा दायित्वबाट प्राप्त खुद लाभ
(१) कुनै आय वर्षको लागि कुनै व्यक्तिको व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त खुद लाभको गणना सो आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायका नोक्सानी कटाई गर्नु पर्नेछ:-
(क) व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,
(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट हुन गएको खुद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र
(ग) कुनै आय वर्षमा सो व्यवसाय वा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट विगतमा हुन गएको खुद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।
(२) कुनै आय वर्षको लागि कुनै व्यक्तिको लगानीको कर लाग्ने गैरव्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभको गणना सो आय वर्षमा सो लगानीको कर लाग्ने गैरव्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायको नोक्सानी कटाई गर्नु पर्नेछ:-
(क) सो लगानीको कर लाग्ने गैरव्यावसायिक सम्पत्तिको निःसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,
(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसाय वा लगानीबाट हुन गएको खुद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी र
(ग) विगतको कुनै आय वर्षमा सो व्यक्तिको सो लगानी, कुनै व्यवसाय वा अन्य कुनै लगानीबाट हुन गएको खुद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।
(३) विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानीका सम्बन्धमा कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम कट्टी गर्ने दाबी कुनै विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभको हदसम्म मात्र गर्न सक्नेछ ।
(४) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम एकभन्दा बढी गणनामा व्यवसाय वा लगानीबाट हुन गएको खुद नोक्सानी उपदफा (१) वा (२) बमोजिम कट्टी गर्न सक्ने भएमा निजले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने प्रयोजनको लागि गणनाहरूको छनौट गर्न सक्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,-
(१) "खुद नोक्सानी" भन्नाले-
(क) कुनै व्यवसायको सम्बन्धमा कुनै आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ, र
(ख) कुनै लगानीको सम्बन्धमा कुनै आय वर्षमा सो लगानीको करयोग्य गैरव्यावसायिक सम्पत्तिको निःसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो लगानीको करयोग्य गैरव्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ ।
(२) "कट्टी हुन नसकेको खुद नोक्सानी" भन्नाले कुनै व्यवसाय वा लगानीको,-
(क) कुनै आय वर्षमा सो व्यवसाय वा लगानीको सो वर्षमा भएको खुद नोक्सानीमध्ये उपदफा (१) को खण्ड (ख) वा (ग) वा उपदफा (२) को खण्ड (ख) वा (ग) बमोजिम कट्टी हुन नपाएको नोक्सानी, र
(ख) दफा २० को उपदफा (१) वा (२) को समय सीमाको कारणले खर्च मिनाहा पाउन नसकिने सो व्यवसाय वा लगानीको सो दफाको उपदफा (७) बमोजिमको कुनै कट्टी हुन नसकेको नोक्सानी सम्झनु पर्छ ।
३७. सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी
(१) कुनै सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको कुनै व्यक्तिको लाभ निःसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापतको खर्चहरूको (आउट गोइङ्गस) योगभन्दा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीको योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।
(२) कुनै सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको कुनै व्यक्तिको नोक्सानी निःसर्गको समयमा सो सम्पत्ति वा दायित्व वापत प्राप्त आम्दानीहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको खर्चको (आउट गोइङ्गस) योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।
३८. सम्पत्ति र दायित्वहरू बापतको खर्च र खुद खर्च
(१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतको खर्चहरूमा देहायका खर्चहरू समावेश हुनेछन्ः-
(क) कुनै सम्पत्तिको सम्बन्धमा देहायका रकमहरू लगायत सो सम्पत्ति प्राप्त गर्दा सो व्यक्तिबाट गरिएका खर्चहरू-
(१) सो सम्पत्तिको निर्माण वा उत्पादन गर्दा लागेको सम्बन्धित खर्च, र
[(२) त्यस्तो सम्पत्ति प्राप्त भएको कारणले त्यस्तो व्यक्तिको आय गणना गर्दा समावेश गरिनु पर्ने कुनै रकम ।] 1
(ख) सो सम्पत्ति वा दायित्वको परिवर्तन, सुधार र मर्मत सम्भार गर्दा लागेको खर्च लगायत सो सम्पत्ति वा दायित्वको स्वामित्व लिँदा निजबाट गरिएको खर्च र सम्पत्तिको सम्बन्धमा सो सम्पत्तिको मर्मत सम्भार गर्दा लागेको खर्च,
(ग) सो सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा निजबाट गरिएको खर्च, र
(घ) सो सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्दा र त्यस्तो सम्पत्ति वा दायित्व निःसर्ग गर्दा निजबाट गरिएका आकस्मिक खर्चहरू।
तर यस्तो खर्चमा दफा २१ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (घ) र (ङ) बमोजिमका खर्चहरू आय निर्धारण गर्दा कट्टी गर्न सकिने हदसम्मका खर्चहरू समावेश गर्नु पर्ने छैन ।
(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खुद खर्चहरू सो समयमा सो सम्पत्ति वा दायित्व बापतका सबै आम्दानीहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको सबै खर्चहरूको योग बढी भएजतिको रकमहरू मानी गणना गर्नु पर्नेछ ।
(३) परिच्छेद ६ र ७ मा उल्लिखित आय गणना गर्दा कट्टी गरिने खर्च रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको खर्च रकमको सन्दर्भमा भए सरह मानी उपदफा (१) बमोजिमका खर्चहरूका सम्बन्धमा लागू हुनेछन् ।
तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन ।
३९. सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खुद आम्दानी
(१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानीहरूमा देहायका रकमहरू समावेश गर्नु पर्नेछ:-
(क) निजले दायित्वको सम्बन्धमा दायित्व बहन गर्दा प्राप्त गरेका रकमहरू,
(ख) सम्पत्तिको मूल्य परिवर्तन वा न्यून गरी वा दायित्व वृद्धि गरी प्राप्त गरिएका रकमहरू लगायत सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्ने सम्बन्धमा निजबाट प्राप्त गरिने रकमहरू, र (ग) सो सम्पत्ति वा दायित्वको निःसर्ग सम्बन्धमा निजले प्राप्त गरेको वा प्राप्त गर्ने रकमहरू ।
तर यस्तो आम्दानीमा कर छुट पाएको रकम, अन्तिम रूपमा कट्टी हुने [भुक्तानी] 2 वा सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिने रकमहरू समावेश हुने छैनन् ।
(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खुद आम्दानीहरूमा सो समयमा सो सम्पत्ति वा दायित्व वापतका खर्चहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतका आम्दानीहरू बढी भएजतिको रकमहरू समावेश गर्नु पर्नेछ ।
(३) परिच्छेद ६ र परिच्छेद ७ मा उल्लिखित विषयका सम्बन्धमा आय गणना गर्दा आयमा समावेश गरिने रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानी रकमको सन्दर्भमा भए सरह मानी उपदफा (१) बमोजिम गर्नु पर्नेछ ।
तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन ।
४०. सम्पत्ति वा दायित्वको निःसर्ग
(१) कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको निःसर्ग गरेको मानिनेछ । सम्पत्तिको निःसर्गमा सो सम्पत्तिको स्वामित्व भएको व्यक्तिबाट सो सम्पत्तिको वितरण गरिनु सो सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, किस्ताबन्दी बिक्रीको माध्यमबाट बिक्री गर्नु वा वित्तीय पट्टा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पट्टामा दिइनु, रद्द गरिनु, विनास हुनु, हराउनु, म्याद सकिनु वा समर्पण गरिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ ।
(२) कुनै व्यक्ति कुनै दायित्वको भारबाट हटेमा निजले सो दायित्वको निःसर्ग गरेको मानिनेछ । दायित्वको निःसर्गमा दायित्व फछयौट, रद्द, मुक्त, समापन हुनु वा अर्को दायित्व वा सम्पत्तिमा गाभिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै सम्पत्ति वा दायित्वको देहायका अवस्थाहरूमा निःसर्ग गरेको मानिनेछः-
(क) प्राकृतिक व्यक्तिको सम्बन्धमा सो व्यक्तिको मृत्युको तत्काल अघि,
(ख) कुनै सम्पत्तिको सम्बन्धमा सो सम्पत्ति बापतका आम्दानीहरूको योग सो सम्पत्ति बापतका खर्चहरूको योगभन्दा बढी भएमा,
(ग) ऋण दाबी भएको सम्पत्तिको सम्बन्धमा,
(१) बैङ्क वा वित्तीय संस्थाको ऋण दाबीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा, र
(२) अन्य कुनै अवस्थामा सो व्यक्तिले ऋण दाबी असुल उपर नहुने भनी मनासिब रूपमा विश्वास गरेकोमा ।
तर सो ऋण दाबी असुल उपर गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरू अबलम्बन गरिसकेको हुन पर्नेछ ।
(घ) कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैरव्यावसायिक करयोग्य सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दातको किसिम फेरिने गरी त्यस्तो सम्पत्ति निजले प्रयोग गर्न थालेको अवस्थामा सो सम्पत्तिको फेरिएको स्वरूप प्रयोग गर्नुभन्दा तत्काल अघि,
(ङ) कुनै निकायको सम्बन्धमा दफा ५७ बमोजिमका अवस्थाहरूमा, र (च) नेपालमा अवस्थित जग्गा जमिन वा भवन बाहेक, सो व्यक्ति गैरबासिन्दा व्यक्ति हुनुभन्दा तत्काल अघि ।
(४) उपदफा (१) बमोजिम कुनै व्यक्तिले कुनै वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्ति पट्टामा दिएर सो सम्पत्तिको निःसर्ग गरेमा निजले जुन व्यक्तिलाई सो सम्पत्ति पट्टामा दिएको हो त्यस्तो व्यक्तिले निःसर्गको समयमा सो सम्पत्तिको स्वामित्व प्राप्त गरेको मानिनेछ ।
(५) सम्पत्ति तथा दायित्वहरूको निःसर्गबाट कुनै व्यक्तिले प्राप्त गरेको लाभ गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछ :-
(क) यो ऐन प्रारम्भ हुँदाका बखत सो व्यक्तिको स्वामित्वमा रहेका कुनै सम्पत्ति बापतका खुद खर्चहरूको रकम सो बखत उक्त सम्पत्तिको प्रचलित बजार मूल्य बराबर मानिनेछ,
(ख) यो ऐन प्रारम्भ हुँदाका बखत कुनै व्यक्तिको दायित्व बापतका खुद आम्दानीहरू त्यस बखत उक्त दायित्वको प्रचलित बजार मूल्य अनुसारको रकम बराबर मानिनेछ ।
४१. सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निःसर्ग
कुनै व्यक्तिले दफा ४० को उपदफा (३) को खण्ड (ग), (घ), (ङ) र (च) मा उल्लिखित कुनै पनि तरिकाले कुनै सम्पत्ति वा दायित्व निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ:-
(क) सम्पत्तिको सम्बन्धमा, -
(१) सो व्यक्तिलाई निःसर्ग बापत निःसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त भएको मानिनेछ, र
[(२) त्यस्तो सम्पत्ति पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको बखतसम्म त्यस्तो सम्पत्ति बापत गरिएका खुद खर्चहरू (नेट आउट गोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ ।] 3
(ख) दायित्वको सम्बन्धमा,-
(१) सो व्यक्तिलाई निःसर्गको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निःसर्ग बापत खर्च गरेको मानिनेछ, र
[(२) त्यस्तो दायित्व पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका खुद आम्दानीहरू खर्च रकम बराबरको भए सरह मानिनेछ ।] 4
४२. किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निःसर्गः
कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दी बिक्रीको माध्यमबाट वा वित्तीय पट्टा अन्तर्गत पट्टामा दिई निःसर्ग गरेमा देहाय बमोजिम हुनेछः-
(क) सम्पत्ति निःसर्ग गर्ने व्यक्तिलाई निःसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निःसर्गबाट प्राप्त भएको मानिनेछ, र
(ख) निःसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको उपखण्ड बराबरको रकम लागत परेको मानिनेछ ।
तर दफा ४५ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।
४३. पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
सम्बन्ध बिच्छेद भएको वा अंश लिई भिन्न बसेको कुनै प्राकृतिक व्यक्तिले निजको पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरी सम्पत्तिको निःसर्ग गरेमा र सो पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीले यो दफा लागू गरिपाउन लिखित रूपमा छनौट गरेमा देहाय बमोजिम हुनेछ:-
(क) सो व्यक्तिले निःसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएका खुद खर्चहरू बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
(ख) खण्ड (क) बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
४४. मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण
कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई कुनै सम्पत्तिको स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरणबाट निःसर्ग गरिएकोमा देहाय बमोजिम हुनेछ:-
(क) सो व्यक्तिले सो निःसर्गका समयमा सो सम्पत्तिको प्रचलित बजार मूल्य बराबरको रकम निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
(ख) हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको खण्ड बराबरको रकम लागत परेको मानिनेछ ।
४५. सम्बद्ध व्यक्तिहरू बीचको हस्तान्तरण र अन्य गैरबजार हस्तान्तरणहरू
(१) कुनै व्यक्तिले कुनै सम्पत्ति सम्बद्ध व्यक्तिलाई वा कुनै अन्य व्यक्तिलाई कुनै प्रतिफल नलिई हस्तान्तरण गरी सो सम्पत्ति निःसर्ग गरेमा देहाय बमोजिम हुनेछः-
(क) सो व्यक्तिले सो सम्पत्तिको निःसर्गबाट सो सम्पत्तिको निःसर्ग हुनु तत्काल अघि सो सम्पत्तिको बजार मूल्य वा सो सम्पत्ति बापत भएको खुद खर्चमध्ये जुन बढी हुन्छ सो रकम प्राप्त गरेको मानिनेछ, र
(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
[(ग) ऐनको दफा २ को खण्ड (द) को उपखण्ड (५) बमोजिम हस्तान्तरण भई आएको सम्पत्तिको हकमा हस्तान्तरण गर्ने व्यक्तिको लागत नै हस्तान्तरण भई सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।] 5
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैरव्यावसायिक [करयोग्य] 6 सम्पत्ति वा व्यापारिक मौज्दातका रूपमा रहेको सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा र उपदफा (६) बमोजिमका कुराहरू पूरा भएमा देहाय बमोजिम हुनेछः-
(क) सो निःसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएको खुद खर्च बराबरको रकम सो निःसर्ग बापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र
(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (६) बमोजिमका कुराहरू पूरा गरी कुनै व्यक्तिले ह्रासयोग्य सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरणबाट निःसर्ग गरेमा वा त्यस्तो सम्पत्ति सो ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा पर्ने भएमा देहाय बमोजिम हुनेछ:-
(क) सो व्यक्तिले सो निःसर्ग हुँदाका बखत अनुसूची - २ को दफा ४ बमोजिम सो समूहको घट्दो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
(४) कुनै व्यक्तिले यस दफा बमोजिम कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी वा अन्य कुनै व्यक्तिलाई कुनै मूल्य [नदिई] 7 हस्तान्तरण गरी सो दायित्वको निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ:-
(क) सो व्यक्तिको सो निःसर्ग बापत बजार मूल्य वा सो निःसर्ग हुनुभन्दा तत्काल अघिको सो दायित्व बापत भएको खुद आम्दानीमध्ये मानिनेछ, र जुन घटी हुन्छ सो रकम बराबर लागत परेको
(ख) जुन व्यक्तिलाई सो दायित्व हस्तान्तरण गरिएको हो सो व्यक्तिले उक्त दायित्व बराबरको रकम सो दायित्व लिँदाको सम्बन्धमा प्राप्त गरेको मानिनेछ । तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।
(५) कुनै व्यक्तिले उपदफा (६) मा उल्लिखित कुराहरू पूरा गरी आफ्नो कुनै व्यवसायबाट आय आर्जन गर्दा लिएको कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ:-
(क) सो व्यक्तिले उक्त निःसर्गको तत्काल अघि सो दायित्व बापत गरेको खुद आम्दानी बराबरको रकम सो निःसर्गको लागि सो व्यक्तिको लागत परेको मानिनेछ, र
(ख) सो सम्बद्ध व्यक्तिले सो दायित्व लिने सम्बन्धमा उक्त रकम बराबरको प्राप्ति गरेको मानिनेछ ।
(६) उपदफा (२), (३) र (५) को प्रयोजनको लागि देहाय बमोजिमका कुराहरू पूरा गरेको हुनु पर्नेछ:-
(क) निःसर्ग गरिएको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्काल पछिको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति हुनेछ ।
(ख) निःसर्ग गरिएको गैरव्यावसायिक करयोग्य सम्पत्ति वा कुनै लगानीको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्काल पछिको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, गैरव्यावसायिक करयोग्य सम्पत्ति ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दात हुनेछ ।
(ग) कुनै दायित्वको हकमा सम्बद्ध व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट आय आर्जनका लागि सो सम्बद्ध व्यक्तिलाई सो दायित्व हस्तान्तरण गर्नु पर्नेछ ।
(घ) हस्तान्तरणको बखतमा सो हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति बासिन्दा भएको हुनु पर्छ तथा सम्बद्ध व्यक्ति कर छुट पाउने व्यक्ति भएको हुनु हुँदैन ।
(ङ) सो सम्पत्तिमा निहित स्वामित्व वा सो दायित्वमा निहित भार अवस्था अनुसार कम्तीमा पचास प्रतिशत रहिरहनु पर्नेछ, र
(च) अवस्था अनुसार उपदफा (२), (३) वा (५) अनुसारको छनौट लागू गर्न सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुवैबाट लिखित रूपमा अनुरोध गर्नु पर्नेछ ।
४६. सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निःसर्ग
(१) कुनै व्यक्तिले दफा ४० को उपदफा (१) मा उल्लिखित तरिकाहरूमध्ये कुनै पनि तरिकाले कुनै सम्पत्ति अस्वेच्छिक रूपमा निःसर्ग गरेको एक वर्षभित्र सो सम्पत्तिको बदलामा सोही किसिमको अर्को सम्पत्तिको स्वामित्व प्राप्त गरी यो दफा लागू हुन लिखित रूपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछः-
(क) सो व्यक्तिले देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछः-
(१) निःसर्ग हुनुभन्दा तत्काल अघि सो सम्पत्ति बापतका खुद खर्च, र
(२) सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा गरिएको खर्चभन्दा सो निःसर्गबाट प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जति रकम, र
(ख) सो व्यक्तिले प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम खर्च गरेको मानिनेछ:-
(१) निःसर्ग हुनुभन्दा तत्काल अघि निःसर्ग गरिएको सम्पत्ति बापतका खुद खर्चहरू, र
(२) सो निःसर्गबाट प्राप्त गरिएको रकमभन्दा सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जति खर्च ।
(२) कुनै व्यक्तिले दफा ४० को उपदफा (२) मा उल्लिखित तरिकाहरूमध्ये कुनै पनि तरिकाबाट कुनै दायित्व अस्वेच्छिक रूपमा निःसर्ग गरेको एक वर्षभित्र सो दायित्वको सट्टामा सोही किसिमको अर्को दायित्व बहन गरी यो दफा लागू हुन लिखित रूपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछः-
(क) सो व्यक्तिले उपखण्ड (१) मा उल्लिखित रकमबाट उपखण्ड (२) मा उल्लिखित रकम घटाई हुन आउने रकम सो निःसर्ग बापत खर्च गरेको मानिनेछ ।
(१) निःसर्गको तत्काल अघि सो दायित्व बापतको खुद आम्दानीहरू बापतको रकम,
(२) सो प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकमभन्दा सो निःसर्ग गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जतिको खर्च रकम,
(ख) सो व्यक्तिले प्रतिस्थापित दायित्व लिँदा देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम प्राप्त गरेको मानिनेछ:-
(१) निःसर्ग हुनुभन्दा तत्काल अघि निःसर्ग गरिएको दायित्व बापतका खुद आम्दानीहरू, र
(२) निःसर्ग गर्दा भएको खर्चभन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जतिको रकम ।
(३) कुनै निकायमा रहेको हितको परिवर्तन वा निकायको पुनर्निर्माणको फलस्वरूप सो निकायको एउटा हितको अर्को हित (सेक्यूरिटी) बाट प्रतिस्थापना भई अस्वेच्छिक निःसर्ग सिर्जना हुने अवस्थाहरू तोकिए बमोजिम हुनेछ ।
४७. सम्पत्ति र दायित्व गाभिई हुने निःसर्ग
(१) कुनै व्यक्तिले कुनै सम्पत्ति प्राप्त गरेको वा दायित्व बहन गरेको परिणामस्वरूप सो व्यक्तिको स्वामित्वमा भएको अर्को कुनै सम्पत्ति वा बहन गरेको अर्को कुनै दायित्व समाप्त भई वा गाभिई निःसर्ग भएमा देहाय बमोजिम हुनेछ:-
(क) निःसर्ग हुनुभन्दा तत्काल अघि गाभिने सम्पत्ति वा दायित्व बापतका खुद खर्चहरू भएकोमा सो व्यक्तिले,
(१) गाभिने सम्पत्ति वा दायित्वको निःसर्गका सम्बन्धमा सो खुद खर्च बराबरको रकम प्राप्त गरेको मानिनेछ । तर यस्तो रकम उक्त गाभिएको दायित्व बापत निजले प्राप्त गरेको रकमभन्दा बढी छैन ।
(२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार बहन गर्दा उक्त रकम बराबरको रकम खर्च गरेको मानिनेछ ।
(ख) गाभिने दायित्वको सम्बन्धमा सो दायित्वको निःसर्गको तत्काल अघि गाभिने दायित्व बापत खुद आम्दानीहरू भएकोमा सो व्यक्तिले-
(१) गाभिने दायित्वको निःसर्ग बापत सो खुद आम्दानी बराबरको रकम खर्च गरेको मानिनेछ ।
तर गाभिएको सम्पत्तिको हकमा सो सम्पत्ति प्राप्त गर्दा निजले खर्च गरेको रकमभन्दा बढी हुनु हुँदैन।
(२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार ग्रहण गर्दा उक्त रकम बराबरको रकम प्राप्त गरेको मानिनेछ ।
(२) उपदफा (१) मा उल्लिखित कुराहरूको प्रतिकूल नहुने गरी सो उपदफा देहायका अवस्थाहरूमा समेत लागू हुनेछ:-
(क) सो व्यक्तिले कुनै सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने कार्य गरेमा,
(ख) सो व्यक्तिबाट पट्टामा दिइएको सम्पत्तिको प्राप्ति गरेमा, र
(ग) हस्तान्तरण गरिलिने व्यक्तिबाट जमानत दिइएको दायित्वको हस्तान्तरण भएमा ।
४७क. व्यवसाय गाभिएको कारणले हुने निःसर्ग सम्बन्धी विशेष व्यवस्था
[(१) बैकिङ्ग तथा वित्तीय व्यवसाय वा बीमा व्यवसाय गर्ने एकै प्रकृतिका निकायहरू आपसमा गाभिएर (मर्जर वा एक्युजिशन) भएमा दफा ५७ को उपदफा (२) को खण्ड (क), (ख), (घ), (ङ), (च) र (छ) तथा सोही दफाको उपदफा (३) को व्यवस्था लागू हुने छैन । तर, गाभिएर अस्तित्वमा नरहेको निकायको कुनै कट्टी हुन नसकेको नोक्सानी भए त्यस्तो नोक्सानी दामासाहीले आगामी सात वर्षमा कट्टी गर्नु पर्नेछ । यसरी समान किस्तामा नोक्सानी कट्टी गर्ने निकाय उक्त पूरै नोक्सानी कट्टी नगर्दै पुनः विभाजन भएमा कट्टी भएको नोक्सानी बापत कट्टी भएको रकममा गाभिएको (मर्जर वा एक्युजिशन) आर्थिक वर्षमा कायम रहेको करको दरले कर तिर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निकायहरू गाभिई सम्पत्ति र दायित्वको निःसर्ग भएमा देहाय बमोजिम हुनेछ:-
(क) व्यापारिक मौज्दात तथा व्यावसायिक सम्पत्तिको निःसर्गको हकमा,-
(१) निःसर्गको तत्काल अघि त्यस्तो सम्पत्ति बापत भएको खुद खर्च बराबरको रकम त्यस्तो निःसर्ग बापत त्यस्तो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र
(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
(ख) हासयोग्य सम्पत्तिको निःसर्गको हकमा,-
(१) निःसर्ग हुँदाका बखत अनुसूची- २ को दफा ४ बमोजिम समूहको घट्दो प्रणालीको बाँकी मूल्य बराबरको रकम त्यस्तो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
(ग) दायित्वको निःसर्गको हकमा,-
(१) निःसर्गको तत्काल अघि त्यस्तो दायित्वको बजार मूल्य र खुद आम्दानीमध्ये जुन घटी हुन्छ सो बराबरको रकम निःसर्ग बापत सो व्यक्तिको लागत परेको मानिनेछ, र
(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम दायित्व बहन गर्ने व्यक्तिले त्यस्तो दायित्व बहन गरे बापत प्राप्त गरेको मानिनेछ ।
(घ) व्यवसाय गाभ्ने निकाय वा गाभिएर कायम भएको निकायले गाभिएको सम्पत्ति र दायित्वको लागत गणना गर्दा गाभिने निकायबाट त्यस्तो गाभिएको व्यवसाय सञ्चालन गरेका बखत (मर्जर वा एक्यूजिशन अगाडि) कायम रहेका सम्पत्ति र दायित्व बापतको लागत मात्र खण्ड (क), (ख) र (ग) बमोजिम गणना गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायमा वा गाभिए पश्चातको निकायमा कार्यरत कर्मचारीहरूलाई सामूहिक रूपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा (अवकाश कोष मार्फत गरिने भुक्तानी वा कर्मचारी सेवा शर्तमा उल्लेख भए अनुसार गर्नु पर्ने भुक्तानी बाहेकका) अवकाश भुक्तानीमा कर कट्टी गर्नु पर्ने दरमा पचास प्रतिशत छुट दिई भुक्तानीमा कर कट्टी गर्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायमा कायम रहेका शेयरधनीहरूले आफ्नो शेयर गाभिएको दुई वर्षभित्र आफ्नो शेयर बिक्रीको माध्यमबाट निःसर्ग गरेमा त्यसरी निःसर्ग भएको शेयरमा भएको लाभमा पुँजीगत लाभ कर लाग्ने छैन ।
(५) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको शेयरधनीलाई वितरण गरेको लाभांशमा कर लाग्ने छैन ।
(६) उपदफा (१) अनुसार गाभिई [निःसर्ग हुन चाहने एकै वर्गका निकायले संवत २०५९ साल असार मसान्तभित्र] 9 गाभिने आशयपत्र आन्तरिक राजस्व विभागमा दिनु पर्नेछ ।
(७) उपदफा (१) बमोजिम गाभिनको लागि उपदफा (६) बमोजिम आशयपत्र दिने निकायहरूले गाभिने प्रक्रिया [संवत २०८० मसान्तभित्र] 10 पूरा गर्नु पर्नेछ । साल असार
[(८) यो दफा प्रारम्भ भएपछि एकआपसमा गाभिई यस दफा बमोजिमको सुविधा उपयोग नगरेका निकायले समेत यसै बमोजिमको सुविधा उपयोग गर्न पाउनेछन् ।] 11
[(९) उपदफा (६) मा तोकिएको अवधिभित्र आशयपत्र नदिने निकाय तथा उपदफा (७) मा उल्लेख भएको मितिसम्म गाभिने प्रक्रिया पूरा नगरेको निकायको हकमा यो दफाको व्यवस्था लागू भएको मानिने छैन ।] 12] 8
४८. विभाजनबाट हुने सम्पत्ति र दायित्वको निःसर्ग
कुनै व्यक्तिबाट स्वामित्व प्राप्त गरिएको कुनै सम्पत्तिसँग सम्बन्धित अधिकार वा बहन गरिएको दायित्वसँग सम्बन्धित भारहरू कुनै सम्पत्ति वा सोको कुनै भागको पट्टाको माध्यमबाट समेत अन्य कुनै व्यक्तिमा सिर्जना भएमा देहाय बमोजिम हुनेछ :-
(क) अधिकार वा भारहरू स्थायी भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेको तर कुनै नयाँ सम्पत्ति वा दायित्व प्राप्त नगरेको मानिनेछ, र
(ख) अधिकार वा भारहरू अस्थायी वा सांयोगिक भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेको मानिने छैन ।
तर अवस्था अनुसार नयाँ सम्पत्ति प्राप्त गरेको वा नयाँ दायित्व लिएको मानिनेछ ।
४९. खर्च तथा आम्दानीहरूको बाँडफाँडबाट हुने निःसर्ग
(१) कुनै व्यक्तिले देहाय बमोजिमको अवस्थामा कुनै सम्पत्ति वा दायित्व प्राप्त गर्दा, बहन गर्दा वा निःसर्ग गर्दा गरिएको खर्च वा आम्दानीहरू अवस्थानुसार प्राप्ति, बहन वा निःसर्गको समयमा बजार मूल्यको आधारमा सम्पत्ति र दायित्वहरू बीच बाँडफाँड गर्नु पर्नेछ:-
(क) एकै समयमा एक वा बढी सम्पत्ति प्राप्त गरेमा वा एक वा बढी दायित्व ग्रहण गरेमा, वा
(ख) एकै समयमा एक वा बढी सम्पत्ति वा दायित्व निःसर्ग गरेमा ।
(२) कुनै सम्पत्तिको स्वामित्व धारण गर्ने वा दायित्व बहन गर्ने व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेमा सो निःसर्गको तत्काल अघिको सो सम्पत्ति वा दायित्वको खुद खर्च वा खुद आम्दानीहरूलाई निःसर्ग गरिएको सम्पत्ति वा दायित्वको भाग र बाँकी रहेको भागमा अवस्था अनुसार निःसर्गको तत्काल पछिको सोको बजार मूल्यको आधारमा बाँडफाँड गर्नु पर्नेछ ।
-
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनबाट संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको । मूल ऐनको व्यवस्थाः “(२) प्राप्तिको परिणाम स्वरुप सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिनु पर्ने कुनै रकम ।” ↩
-
आर्थिक अध्यादेश, २०६० द्वारा (“ कर लाग्ने रकम” भन्ने शब्दहरुको सट्टामा ) संशोधन । ↩
-
आर्थिक ऐन, २०७३ द्वारा संशोधन । आर्थिक अध्यादेश, २०६० द्वारा थप भई त्यसपछिका आर्थिक ऐनबाट देहाय बमोजिम संशोधन भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको ।
(१) मूल ऐनको व्यवस्थाः “(२) सो समयसम्म सो बापत गरिएका खुद खर्चहरू (नेट आउट गोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ ।”
(२) आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भएको व्यवस्थाः “ ( २ ) त्यस्तो सम्पत्ति पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको बखतसम्म त्यस्तो सम्पत्ति बापत गरिएका खुद खर्चहरू (नेट आउट गोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ ।”
(३) आर्थिक ऐन, २०६३ द्वारा संशोधन भएको व्यवस्थाः “(२) सो सम्पत्ति पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको बखतसम्म सो सम्पत्ति बापत गरिएका खुद खर्चहरू (नेट आउट गोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ । ↩ -
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनबाट संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको ।
(१) मूल ऐनको व्यवस्थाः “(२) सो समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका खुद आम्दानीहरू खर्च रकम बराबरको भए सरह मानिनेछ ।”
(२) आर्थिक अध्यादेश, २०६० द्वारा संशोधनः “(२) सो दायित्व पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका खुद आम्दानीहरू खर्च रकम बराबरको भए सरह मानिनेछ।” ↩ -
आर्थिक ऐन, २०७० द्वारा थप भई त्यसपछिका आर्थिक ऐनबाट संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको । ↩
-
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधनः (साविकमा “कर लाग्ने” भन्ने शब्दहरु रहेका ।) ↩
-
आर्थिक ऐन, २०६७ द्वारा संशोधन (संशोधन हुनुअघि “नलिई” भन्ने शब्द रहेको।) ↩
-
आर्थिक ऐन, २०६७ द्वारा थप भई त्यसपछिका आर्थिक ऐनबाट संशोधन सहित निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको । ↩
-
आर्थिक अध्यादेश, २०७८ द्वारा (“निकायले निःसर्ग हुन चाहने निकायले संवत् २०७८ साल असार मसान्तभित्र” भन्ने शब्दहरुको सट्टामा) संशोधन भएकोमा आर्थिक ऐन, २०७८ द्वारा संशोधन कायम । ↩
-
आर्थिक अध्यादेश, २०७८ द्वारा (संशोधन अघि “संवत् २०७९ साल असार मसान्तभित्र” भन्ने शब्दहरु रहेका) संशोधन भएकोमा आर्थिक ऐन, २०७८ द्वारा संशोधन कायम । यो व्यवस्था आर्थिक ऐन, २०६८ देखि निरन्तर रुपमा संशोधन हुँदै २०८० सालसम्मको लागि कायम भएको । ↩
-
आर्थिक ऐन, २०७१ द्वारा संशोधित । साविकमा हालको उपदफा (९) को व्यवस्था रहेको । ↩
-
आर्थिक ऐन, २०७१ द्वारा थप कायम । साविकमा हालको उपदफा (८) मा रहेको । ↩