परिच्छेद ३ आयको गणना
७. व्यबसायबाट भएको आयको गणना
(१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभहरू सो व्यक्तिको सो व्यवसायको सो वर्षको [आय हुनेछ] 1 ।
(२) कुनै व्यक्तिको कुनै आय वर्षमा व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षभित्र प्राप्त गरेको देहायका रकमहरू समावेश गरी गणना गर्नु पर्नेछ:-
(क) सेवा शुल्क,
(ख) व्यापारिक मौज्दातको निःसर्गबाट प्राप्त रकम,
(ग) परिच्छेद ८ बमोजिम गणना गरिएको कुनै व्यक्तिको व्यावसायिक सम्पत्ति वा व्यावसायिक दायित्वको निःसर्गबाट प्राप्त खुद लाभ,
(घ) व्यवसायको ह्रासयोग्य सम्पत्तिको निःसर्गबाट अनुसूची २ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम प्राप्त (घ) गरेको मानिने रकम,
(ङ) व्यवसायका सम्बन्धमा कुनै व्यक्तिबाट प्राप्त गरेको उपहार,
(च) व्यवसाय सञ्चालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरेको रकम,
(छ) कुनै व्यक्तिले प्राप्त गरेको रकम लगानीबाट हुने आयमा समावेश हुने प्रकृतिको भए तापनि त्यस्तो व्यक्तिले आफ्नो व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित भई प्राप्त गरेको रकम, र
(ज) परिच्छेद ६ वा ७ वा दफा ५६ वा ६० बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १०, ५४ र ६९ बमोजिम छुट पाउने रकम र अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीहरू व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभको गणना गर्दा समावेश गर्नु पर्ने छैन ।
८. रोजगारीबाट भएको आयको गणना
(१) कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानी गणना गर्नु पर्नेछ।
(२) रोजगारदाताबाट कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका देहायका भुक्तानीहरू त्यस्तो प्राकृतिक व्यक्तिको सो आय वर्षको रोजगारीबाट प्राप्त पारिश्रमिक गणना गर्दा समावेश गर्नु पर्नेछः-
(क) ज्याला, तलव, बिदा बापतको रकम, अतिरिक्त समय काम गरे बापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरू बापतको भुक्तानी,
(ख) महङ्गी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरञ्जन वा यातायात भत्ता बापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुक्तानी,
(ग) निज वा निजको सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फछ्यौट वा सोधभर्ना बापत प्राप्त गरिएको भुक्तानी,
(घ) रोजगारीका कुनै शर्तमा सहमति जनाए बापत गरिएका भुक्तानी,
(ङ) रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश बापत गरिएका भुक्तानी,
(च) अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान,
(छ) रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, र
(ज) परिच्छेद ६ वा ७ बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको पारिश्रमिकको गणना गर्दा देहायका कुराहरू समावेश गर्नु पर्ने छैनः-
(क) दफा १० बमोजिम छुट पाउने रकम र अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी,
(ख) समान शर्तमा सबै कर्मचारीलाई उपलब्ध हुने गरी रोजगारदाताबाट कार्यस्थलमा कर्मचारीलाई उपलब्ध गराइएका खाना तथा खाजा,
(ग) कुनै कर्मचारीले गरेको देहायका खर्चको फछयौंट वा सोधभर्नाः-
(१) सो खर्चले रोजगारदाताको व्यवसाय प्रयोजन पूरा गरेमा, वा
(२) प्राकृतिक व्यक्तिको व्यवसाय वा लगानीबाट हुने आयको गणनामा छुट भएको वा छुट हुने खर्च ।
(घ) हिसाब किताब राख्न अव्यावहारिक वा प्रशासनिक रूपले कठिन हुने तोकिए बमोजिमको साना रकमको भुक्तानी ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "भुक्तानी" भन्नाले देहाय बमोजिम भएको भुक्तानी सम्झनु पर्छ:-
(क) रोजगारदाताबाट भएको,
(ख) रोजगारदाताको सम्बद्ध व्यक्तिबाट भएको, र
(ग) रोजगादाता वा निजको सम्बद्ध व्यक्तिसँग भएको सम्झौता अनुसारको कुनै तेस्रो व्यक्तिबाट भएको ।
९. लगानीबाट भएको आयको गणना
(१) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट गरेको मुनाफा र लाभहरू सो व्यक्तिको सो लगानीको सो वर्षको आय [हुनेछ] 2 ।
(२) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानी गरे बापत गरेको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षमा प्राप्त गरेका देहायका रकमहरू समावेश गर्नु पर्नेछः-
(क) सो लगानीबाट प्राप्त लाभांश, व्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, दफा ६३ को उपदफा (१) बमोजिम स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी,
(ख) परिच्छेद ८ बमोजिम गणना गरिएको सो व्यक्तिको सो लगानीको गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ,
(ग) सो व्यक्तिले गरेको लगानीको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्दा अनुसूची २ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको लागि गरिएको खर्चहरू (आउटगोइङ्गस) सहितको बाँकी मूल्यभन्दा प्राप्त हुने आम्दानीहरू (इनकमिङ्गस्) बढी भएमा सो बढी भएजति रकम,
(घ) लगानीका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको उपहार, सो लगानीका सम्बन्धमा गरिएको अवकाश भुक्तानी र सो (ङ) व्यक्तिको लागि अवकाश कोषमा जम्मा गरिएको रकम समेतको अवकाश योगदान,
(च) लगानीका सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरिएका रकमहरू, र
(छ) परिच्छेद ६ वा ७ वा दफा ५६ बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले लगानीबाट प्राप्त गर्ने मुनाफा तथा लाभको गणना गर्दा देहायका कुराहरू समावेश गरिने छैनन्:-
(क) दफा १०, ५४, र ६९ बमोजिम छुट पाउने रकम र अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी, र
(ख) सो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम ।