Skip to content

परिच्छेद ४ बीजक तथा बजार मूल्य सम्बन्धी व्यवस्था

१७. कर बीजक

(१) दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा कर अधिकृतले अन्यथा स्वीकृत गरेदेखि बाहेक प्रापकलाई [अनुसूची ५ र ५क] 1 बमोजिमको ढाँचामा कर बीजक दिनु पर्नेछ । [त्यसरी कर बीजक जारी गर्दा कुनै वस्तको किसिम, साइज मोडल र ब्राण्ड भएमा सो खुलाउन पर्नेछ ।] 2

[(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १४ को [उपदफा (६)] 4 बमोजिम वस्तु वा सेवाको बिक्री गर्दा अनुसूची ५ख मा उल्लिखित विवरण बमोजिमको कर बीजक जारी गर्नु पर्नेछ ।] 3

(२) उपनियम (१) बमोजिम प्रापकलाई दिइने बीजकको मुखपृष्ठमा देखिने गरी प्रष्टसँग कर बीजक लेखिएको हुनु पर्नेछ । यस्तो कर बीजकको तीन प्रति तयार गरी त्यसको सक्कल प्रति प्रापकलाई दिने, दोस्रो प्रति कार्यालयले माग गरेका बखत पेश गर्ने गरी छुट्टै अभिलेख खडा गरी राख्ने र तेस्रो प्रति दर्ता भएको व्यक्तिले आफ्नो कारोबार प्रयोजनको निमित्त अभिलेख खडा गरी राख्ने व्यवस्था गर्नु पर्नेछ ।

[(३) ..........] 5

[(४) ..........] 6

[(५) ..........] 7

१८. संक्षिप्त कर बीजक

(१) नियम १७ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दर्ता भएको व्यक्तिले [कुनै वस्तु वा सेवाको] 8 खुद्रा बिक्री गर्ने भएमा सोही कुरा खुलाई सम्बन्धित कर अधिकृत समक्ष निवेदन दिएमा त्यस्तो दर्ता भएको व्यक्तिले [कुनै वस्तु वा सेवाको] 9 खुद्रा बिक्री गर्दा नियम १७ मा उल्लेख भए बमोजिमको कर बीजकको सट्टा अनुसूची ६ बमोजिमको ढाँचामा प्रापकलाई संक्षिप्त कर बीजक दिनु पर्ने गरी अनुमति दिन सक्नेछ ।

(२) कम मोल पर्ने धेरै वस्तुहरू बिक्री गरिएको रहेछ भने उपनियम (१) बमोजिम दिइने संक्षिप्त कर बीजकमा सबै वस्तुहरूको छुट्टाछुट्टै नाम उल्लेख [गर्नु पर्नेछ] 10

(३) उपनियम (१) बमोजिम वस्तु खरिद गरी संक्षिप्त कर बीजक लिने प्रापकले ऐनको दफा १७ बमोजिम कर कट्टी गर्न पाउने छैन ।

(४) उपनियम (१) बमोजिम प्रापकलाई संक्षिप्त कर बीजक दिने दर्ता भएको व्यक्तिले सो कुराको अभिलेख देहाय बमोजिम राख्नु पर्नेछ: (क) सक्कल बीजकको नक्कल प्रति तयार गरी राख्नु पर्ने, (ख) टिलरोलको प्रतिलिपि राखी कारोबार गरिएकोमा प्रत्येक दिन सोको जोड गरी राख्नु पर्ने, (ग) प्रत्येक कारोबारको कर समेतको मूल्यको अभिलेख राख्ने ।

(५) उपनियम (४) बमोजिम दर्ता भएको व्यक्तिले राख्नु पर्ने अभिलेख राखेको नपाइएमा कर अधिकृतले उपनियम (१) बमोजिम संक्षिप्त कर बीजक जारी गर्न दिएको अनुमति खारेज गर्न सक्नेछ ।

(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि [दश हजार रुपैयाँभन्दा] 11 बढी मूल्यको कारोबार भएको रहेछ भने यस नियम बमोजिम संक्षिप्त कर बीजक जारी गर्न पाइने छैन र सोभन्दा कम रकमको कारोबार भएको भए तापनि नियम १७ बमोजिमको कर बीजकको माग गर्ने प्रापकलाई सोही बमोजिमको कर बीजक उपलब्ध गराउने कर्तव्य दर्ता भएको व्यक्तिको हुनेछ । [..........] 12

(७) संक्षिप्त कर बीजकबाट करको कुल अङ्क बीजक मूल्यलाई कर भिन्नले गुणन गरी निकालिनेछ ।

स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “कर भिन्न" भन्नाले (करको दर / करको दर + १००) को योगलाई जनाउँछ ।

[१८क. क्याश मेशिन वा [विद्युतीय] 14 माध्यमबाट बीजक जारी गर्नु पर्ने] 13

बिभागले कुनै करदाताले क्यास मेशिन प्रयोग पर्ने गरी तोक्न सक्नेछ र त्यसरी तोकिएकोमा त्यस्तो करदाताले कारोबार गर्दा क्याश मेशिनको प्रयोग गरी बीजक जारी गर्नु पर्नेछ ।

तर [विद्युतीय माध्यमबाट] 15 बीजक जारी गर्न स्वीकृति प्राप्त करदाताले सोही ४० बमोजिम बीजक जारी गर्नु पर्नेछ ।

१९. [..........] 16

२०. क्रेडिट वा डेबिट नोट

(१) दर्ता भएको व्यक्तिले आपूर्ति गरेको वस्तु वा सेवाको मूल्यमा परिवर्तन भई क्रेडिट वा डेबिट नोट जारी गर्नु परेमा त्यस्तो नोटमा स्पष्टसँग क्रेडिट वा डेबिट नोट लेखी देहायका कुराहरू समेत खुलाउनु पर्नेछ:
(क) क्रमागत सङ्ख्या,
(ख) जारी भएको मिति,
(ग) आपूर्तिकर्ताको नाम, ठेगाना र दर्ता नम्बर,
(घ) प्रापकको नाम, ठेगाना र निज दर्ता भएको व्यक्ति भएमा दर्ता नम्बर,
(ङ) कारोबारसँग सम्बन्धित कर बीजकको सङ्ख्या र मिति,
(च) वस्तु वा सेवाको बिबरण र क्रेडिट वा डेबिटको कारण,
(छ) क्रेडिट वा डेबिट भएको रकम,
(ज) क्रेडिट वा डेबिट भएको करको रकम ।

(२) दर्ता भएको करदाताले उपनियम (१) बमोजिमको क्रेडिट वा डेबिट नोटको मासिक लेखा राख्नु पर्नेछ ।

२१. विदेशी मुद्रामा भुक्तानी भएमा

आपूर्तिकर्ताले कुनै वस्तु वा सेवाको आपूर्ति गर्दा त्यसको प्रतिफल बापत प्रापकबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी लिई कर बीजक दिँदा कारोबार भएको दिनको नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दर बमोजिम उक्त विदेशी मुद्रा बराबर हुने नेपाली रुपैयाँको रकम कर बीजकमा उल्लेख गरी बीजक दिनु पर्नेछ ।

२२. बजार मूल्य निर्धारण प्रक्रिया

(१) ऐनको दफा १३ बमोजिम बजार मूल्य निर्धारण गर्नु पर्दा कर अधिकृतले समान प्रकारको कारोबारको सम्बन्धमा दर्ता भएका अन्य समान बिक्रेताहरूको कारोबार तथा मूल्य अध्ययन गरी बजार मूल्यको निर्धारण गर्नेछ ।

(२) ऐनको दफा १३ को उपदफा (३) मा उल्लेख भए बमोजिम कुनै वस्तु वा सेवाको बजार मूल्य निर्धारण गर्न नसकिएको अवस्थामा महानिर्देशकले तत्सम्बन्धमा समान प्रकारका दर्ता भएका व्यक्तिहरूबाट आफूलाई प्राप्त भएको जानकारी समेतका आधारमा मूल्य निर्धारण गर्नु पर्नेछ ।


  1. आठौं संशोधनद्वारा थप । 

  2. आठौं संशोधनद्वारा थप । 

  3. नवौं संशोधनद्वारा थप । 

  4. बाइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “उपदफा (७)” भन्ने शब्दहरू रहेको। 

  5. दोस्रो संशोधनद्वारा थप भएकोमा आठौं संशोधनद्वारा झिकिएको । थप भएको व्यवस्थाः (३) खुद्रा बिक्रेताले स्थायी लेखा नम्बर नभएका व्यक्तिलाई जतिसुकै रकमको वस्तु वा सेवा आपूर्ति गर्दा कर छुट्टै नदेखाई लाग्ने कर समेत मूल्यमा गाभी अनुसूची ५क. बमोजिमको ढाँचामा एकमुष्ठ रकमको कर बीजक जारी गर्नु पर्नेछ । स्थायी लेखा नम्बर भएको प्रापकले पचास हजार रुपैयाँसम्मको वस्तु वा सेवा आपूर्ति गर्दा प्राप्त गरेको बीजकमा निजको नाम, ठेगाना र स्थायी लेखा नम्बर उल्लेख गरेको भए कर कट्टी सुविधा पाउनेछ । यस्तो बीजकबाट करको कुल अङ्क निकाल्ने तरिका नियम १८ को उपनियम (७) मा उल्लेख भए बमोजिम हुनेछ ।

    तर पचास हजार रुपैयाँभन्दा बढीको आपूर्तिमा दर्ता भएका व्यक्तिलाई र ऐनको दफा २५ बमोजिम कर फिर्ता पाउने व्यक्ति वा संस्थालाई उपनियम (१) बमोजिमको बीजक जारी गर्नु पर्नेछ ।” 

  6. दोस्रो संशोधनद्वारा थप भएकोमा आठौं संशोधनद्वारा झिकिएको ।

    (१) थप भएको व्यवस्था: (४) कर लाग्ने बस्तु वा सेवाको कारोबार गर्ने सबै बिक्रेताले आफ्नो तथा प्रापकको नाम, ठेगाना, स्थायी लेखा नम्बर, मिति र सिलसिलेवार नम्बर सहितको बीजक जारी गर्नु पर्नेछ । उत्पादक तथा आयातकर्ताले प्रापकको नाम, स्थायी लेखा नम्बर, ठेगाना स्पष्ट उल्लेख नगरी बीजक जारी गरेमा यस्तो बिक्रीलाई प्रचलित बजार मूल्यमा खुद्रा बिक्री गरे सरह मानिनेछ । तर प्रापकको स्थायी लेखा नम्बर नभए बीजकमा स्थायी लेखा नम्बर उल्लेख गर्नु पर्ने छैन।”

    (२) तेस्रो संशोधनद्वारा नियम १७ को उपनियम (४) मा रहेको "सहितको" भन्ने शब्दहरु पछि “तथा सामानको स्पष्ट विवरण सहितको” भन्ने शब्दहरु थपिएको ।

    (३) सातौँ संशोधनद्वारा उपनियम (४) को सट्टा देहायको उपनियम (४) राखिएकोः (४) कर लाग्ने वस्तु वा सेवाको कारोबार गर्ने सबै बिक्रेताले आफ्नो तथा प्रापकको नाम, ठेगाना, स्थायी लेखा नम्बर, मिति र सिलसिलेवार नम्बर तथा सामानको विवरण (मोडल, ब्राण्ड, सङ्केत नम्बर) सहितको बीजक जारी गर्नु पर्नेछ । बिक्रेताले सो नगरी बीजक जारी गरेमा त्यस्तै सामानको प्रचलित प्रचलित बजार मूल्य ( उच्चतम ) कायम गरी कर असुल गरिनेछ । तर सरकारी, सार्वजनिक संस्थान जस्ता स्थायी लेखा नम्बर लिन अनिवार्य नहुने बिक्रेताको हकमा भने स्थायी लेखा नम्बर उल्लेख गर्नु पर्ने छैन । 

  7. दोस्रो संशोधनद्वारा थप भएकोमा आठौं संशोधनद्वारा झिकिएको । थप भएको व्यवस्था: (५) एक पटकमा दश हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने कर लाग्ने वस्तुको मौज्दात ओसारपसार गर्दा वा दर्ता नभएको व्यक्तिलाई बिक्री गरिएको वस्तु ओसारपसार गर्दा कर अधिकृतको निस्सा भएको बीजक सहित ओसारपसार गर्नु पर्नेछ । यस्तो निस्सा करदाताले दर्ता भएको कार्यालय वा शाखा रहेको कार्यालयबाट प्राप्त गर्न सक्नेछ । दर्तावाला करदाताहरूबीच हुने आपूर्तिमा भने यस्तो निस्सा आवश्यक पर्ने छैन । 

  8. एक्काइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “कुनै वस्तुको” भन्ने शब्दहरु रहेका । 

  9. एक्काइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “कुनै वस्तुको” भन्ने शब्दहरु रहेका । 

  10. सोह्रौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “नगरी एकमुष्ट केही वस्तुहरू भनी उल्लेख गर्न सकिनेछ” भन्ने शब्दहरू रहेका । 

  11. एक्काइसौं संशोधनद्वारा संशोधित । मूल नियमावलीमा “पाँच सय रुपैयाँ” भन्ने शब्दहरु रहेकोमा दोस्रो संशोधनद्वारा “पाँच हजार रुपैयाँ” भन्ने शब्दहरु कायम भएको । 

  12. दोस्रो संशोधनद्वारा थप भएकोमा नवौं संशोधनद्वारा झिकिएको । दोस्रो संशोधनद्वारा उपनियम (६) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएकोः “तर विभाग वा कार्यालयवाट क्यास मेशिन वा कम्प्युटरको सफ्टवेयरबाट बीजक जारी गर्न स्वीकृति प्राप्त गरेको दर्ता भएको व्यक्तिले अनुसूची-५ बमोजिमको ढाँचामा बीजक जारी गर्न सक्नेछ ।” 

  13. नवौं संशोधनद्वारा थप । 

  14. बाइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “कम्प्युटर सफ्टवेयरबाट” भन्ने शब्दहरू रहेका । 

  15. बाइसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “कम्प्युटर सफ्टवेयरबाट” भन्ने शब्दहरू रहेका । 

  16. उन्नाइसौं संशोधनद्वारा खारेज। मूल नियमावलीको व्यवस्था:
    “१९. कर बीजक दिनु नपर्नेः ऐनको दफा १४ को उपदफा (१) को प्रयोजनको लागि दश हजार रुपैयाँ भन्दा बढी मूल्य भएका प्रयोग भइसकेको वस्तुको कारोबार गर्ने व्यक्तिले निजले आपूर्ति गरेको वस्तुको खरिद मूल्यभन्दा बिक्री मूल्य घटी भएमा कर बीजक जारी गर्नु पर्ने छैन ।" ..........