Skip to content

परिच्छेद २६ कर निर्धारण

२६.१

आयकर ऐन, २०५८ बमोजिम कर तिर्नुपर्ने व्यक्तिले कुनै आय वर्षमा तिर्नुपर्ने कर यकिन गर्ने कार्यलाई कर निर्धारण भनिन्छ । कर भन्नाले ऐन बमोजिम लाग्ने कर, शुल्क र व्याज लगायतका रकमलाई सम्झनुपर्दछ । कुनै व्यक्तिको कुनै आय वर्षको तिर्नुपर्ने कर निर्धारण गर्ने सम्बन्धमा विभिन्न व्यवस्था गरिएका छन् । आयकरलाई स्वयं कर निर्धारण प्रणालीमा आधारित करको रूपमा स्वीकार गरेको हुँदा आयकर ऐन बमोजिम कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्तिले आफूले तिर्नुपर्ने करको निर्धारण वा गणना आफै गर्नुपर्दछ । आफूले तिर्नुपर्ने कर निर्धारण गरी सम्बन्धित कार्यालयलाई आफ्नो कर दायित्वका बारेमा आय विवरणको माध्यमबाट समयमै जानकारी गराउनु, कर तिर्नुपर्ने कर्तव्य भएका सबै व्यक्ति अर्थात करदाताको प्रमुख कर्तव्य हो । कुनै व्यक्तिले आफूले तिर्नुपर्ने कर निर्धारण गरी सम्बन्धित कार्यालयलाई आफ्नो कर दायित्वका बारेमा समयमै जानकारी नगराएमा त्यस्तो व्यक्तिको कर दायित्व निर्धारण गर्ने अधिकार विभागलाई प्राप्त हुन्छ । त्यस्तै कुनै व्यक्तिले भूलवश वा जानाजान आफ्नो वास्तविक कर दायित्व भन्दा घटी कर निर्धारण गरेमा विभागले सो व्यक्तिको कर दायित्वमा संशोधन गर्न सक्ने व्यवस्था समेत ऐनले गरेको छ । आयकर निर्देशिकाको यस परिच्छेदमा करदाताले गर्ने स्वयं कर निर्धारण र विभागले गर्ने संशोधित वा संशय कर निर्धारणका सम्बन्धमा ऐनको परिच्छेद १९ ले गरेका व्यवस्थालाई थप व्याख्या गर्ने प्रयास गरिएको छ । कर निर्धारण

२६.२

२६.२.१ आय विवरण

कुनै आय वर्षमा रोजगारी, व्यवसाय र लगानीबाट आय भएको कुनै व्यक्ति, कुनै आय वर्षको आय विदेश पठाउने गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापन, आकस्मिक लाभ भएको व्यक्ति, ऐनको दफा ८७ ८८ ८८क, ८९ २ ९५क. बमोजिम भुक्तानीमा कर कट्टी भएको वा अग्रिम कर असुल भएको व्यक्ति, ऐनको दफा ९२ बमोजिम अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी प्राप्त गर्ने व्यक्ति र भाडाका सवारी साधनको धनी प्राकृतिक व्यक्ति कर तिर्नुपर्ने कर्तव्य भएका व्यक्ति हुन् ।

उपर्युक्तव्यक्तिमध्ये कुनै आय वर्षको आय विवरण बुझाउनुपर्ने कर्तव्य भएका व्यक्तिले सो वर्षमा आफूले तिर्नुपर्ने करको रकम स्वयं निर्धारण गर्नुपर्दछ । आफूले तिर्नुपर्ने कर निर्धारण आफैं गर्नुपर्दछ। करदाताले बुझाउने आय विवरणका सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद २५. मा विस्तृत व्याख्या गरिएको छ ।

२६.२.२ आय विवरण बुझाउने व्यक्तिको कर निर्धारण

ऐनको दफा ९९ को उपदफा (१) ले आय विवरण बुझाउने व्यक्तिको कर निर्धारणका सम्बन्धमा देहायको व्यवस्था गरेको छ:

९९(१) कुनै व्यक्तिले देहायका रकमहरु खुलाई आय विवरण दाखिला गर्नुपर्ने मितिमा कुनै आय वर्षको आय विवरण दाखिला गरेको रहेछ भने सो आय विवरणको कर निर्धारण गरे सरह मानिनेछ:
(क) दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले सो आय वर्षमा तिर्नुपर्ने आय विवरणमा उल्लेख गरेको करको रकम, र
(ख) आय विवरणमा उल्लेख गरेको उक्त वर्षको तिर्न बाँकी कर रकम ।

कुनै आय वर्षको आय विवरण बुझाउनुपर्ने कुनै व्यक्तिले आय विवरण बुझाएको अवस्थामा सो व्यक्तिको कर निर्धारण भएको मानिने व्यवस्था ऐनले गरेको छ । तर, आय विवरण बुझाउने व्यक्तिले आय विवरण बुझाउनुपर्ने मिति अर्थात जुन आय वर्षको आय विवरण बुझाउने हो सोभन्दा पछिल्लो आय वर्षको असोज महिनाभित्र र आय विवरण बुझाउने म्याद थप पाएको व्यक्तिले त्यसरी थप पाएको मितिभित्र आय विवरण बुझाएमा मात्र आय विवरणमा उल्लेख भए बमोजिम कर निर्धारण गरेको मानिन्छ । आय विवरण बुझाउने म्याद थप पाएको व्यक्तिले त्यसरी थप पाएको मितिभित्र आय विवरण नबुझाएमा निजले आय विवरण बुझाउनुपर्ने म्याद भन्नाले जुन आय वर्षको आयविवरण बुझाउने हो सो आय वर्ष समाप्त भएको तीन महिना वा असोजमसान्त कायम हुन्छ । आय विवरण बुझाउनुपर्ने म्याद वा म्याद थपभित्र आय विवरण नबुझाएको व्यक्तिको हकमा त्यस्तो व्यक्तिले आय विवरणनबुझाएसम्मका लागि ऐनको दफा ९९ को उपदफा (२) बमोजिम कर निर्धारण गरेको मान्नुपर्दछ ।

कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश गर्नुपर्ने मितिमा सो आय वर्षको लागि आफूले तिर्नुपर्ने करको जम्मा रकम र सोमध्ये तिर्न बाँकी रहेको करको रकम उल्लेख गरी आयविवरण पेश गरेमा सो व्यक्तिले सो वर्षको लागि आफ्नो कर निर्धारण गरेको मानिन्छ । यस प्रयोजनका लागि तिर्नुपर्ने जम्मा कर भन्नाले सो व्यक्तिको सो आय वर्षमा आयका विभिन्न शीर्षकबाट प्राप्त भएको करयोग्य आयमा ऐनको अनुसूची - १ ले तोकेको करको दरले लाग्ने जम्मा कर र निजलाई कुनैब्याज वा शुल्क लाग्ने भए सो रकमसमेतको जम्मा रकमलाई जनाउँछ । त्यस्तै तिर्न बाँकी कर भन्नाले सो आय वर्षमा लाग्ने जम्मा कर रकममा किस्ताबन्दीमा दाखिला गरेको कर, कर कट्टी भई प्राप्त हुनुपर्ने कुनै भुक्तानी करयोग्य आयमा समावेश भएकोमा कर कट्टी गर्ने व्यक्ति वा आफैँले अग्रिम कर बापत दाखिला गरेको रकम, करयोग्य आयमा कुनै वैदेशिक स्रोतको आय समावेश भएको र त्यस्तो आयमा विदेशमा तिरेको करमध्ये मिलान गर्न पाउने रकम र प्राकृतिक व्यक्तिको स्वीकृत औषधि उपचार खर्च भए सो बापत मिलान गर्न पाउने कर समेतको जम्मा रकम घटाउँदा बाँकी हुन आउने दाखिला गर्न बाँकी कर रकमलाई जनाउँछ ।

उदाहरण २६.२.१

मानौं, राम प्रसादले चामलको थोक व्यापार गर्दछन् । आ.व. २०७५। ७६ मा निजको कारोबार २ करोड रुपैयाँ रहेछ । यस वर्षको कारोबार रकममध्ये नेपाल खाद्य संस्थानलाई ५० लाख रुपैयाँको चामल बिक्री गरेको र सो रकममा सो संस्थानले २०७५ माघ महिनामा ७५ हजार रुपैयाँ अग्रिम कर कट्टी गरेको रहेछ । सो वर्ष उपचार खर्च बापत निजले बीर अस्पतालमा १० हजार रुपैयाँ भुक्तानी गरेका रहेछन् । निजले गरेको गणना अनुसार सो वर्ष उनको करयोग्य आय आर्जन गर्न भएको कट्टी पाउने खर्च १ करोड ९० लाख रुपैयाँ रहेछ । उनले उक्त वर्षको करको किस्ता बापत २०७५ पौष महिनामा ६० हजार रुपैयाँ तिरेका रहेछन् । उनले २०७६ भाद्र महिनामा आय विवरण बुझाएका रहेछन् । यस अवस्थामा उनले तिर्नुपर्ने जम्मा कर र तिर्न बाँकी कर देहाय बमोजिम हुन्छ । यस वर्ष निज र निजको पत्नीले दम्पती छनौट गरेका रहेछन् ।

करयोग्य आय रु.१०,००,०००/-
घटाउने:
दम्पतीको छुट रु.४,००,०००/-
करयोग्य आय रु.६,००,०००/-
पहिलो रु.१,००,०००/- मा १० प्रतिशतले लाग्ने कर रु.१०,०००/-
यसपछिको रु.२,००,०००/- मा २० प्रतिशतले लाग्ने कर रु.४०,०००/-
त्यसपछिको बाँकी आय रु.३,००,०००/- मा ३० प्रतिशतले लाग्ने कर रु.९०,०००/-
जम्मा लाग्ने कर रु.१,४०,०००/-
घटाउने:
स्वीकृत औषधि उपचार खर्चको कर मिलान रु.७५०/-
किस्ताबन्दीमा दाखिला गरेको कर रु.६०,०००/-
अग्रिम कर कट्टी भएको कर रु.७५,०००/-

जम्मा दाखिला रु.१,३५,७५०/-
तिर्न बाँकी कर रु.४, २५०/-

राम प्रसादले आय विवरण बुझाउदा तिनुपर्ने कर रु. १,४०,०००/- हुन्छ । उपर्युक्त अनुसार तिर्न बाँकी कर रु. ४,२५०/- र सोमा लाग्ने कुनै ब्याज वा शुल्क भए सो रकमसमेत जोडी हुन आउने रकम उल्लेख गर्नुपर्दछ ।

विवरण पेश गर्ने म्याद फरक पर्ने अवस्था

व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्र आय विवरण पेश गर्नुपर्ने भएतापनि ऐनको दफा ९६ को उपदफा (५) को अवस्था रहेको व्यक्ति अर्थात टाट पल्टिएको वा कंगाल भएको वा ऋणमा डुबेको वा विघटन भएको वा अनिश्चित समयका लागि वा स्थायी रूपमा नेपाल छाडि विदेशपलायन हुन लागेको वा नेपालमा सञ्चालन गरिरहेको कुनै व्यवसाय वा आर्थिक कारोबार गर्न छाड्न लागेको व्यक्तिलाई विभागले कुनै आय वर्षको आय विवरण दाखिला गर्नुपर्ने मिति अगावै सो आय वर्ष वा सो आय वर्षको कुनै भाग वा अवधिको आय विवरण दाखिला गर्न लिखित आदेश वा सूचना दिन सक्तछ । यस्तो सूचना पाएको व्यक्तिले सो सूचनामा उल्लिखित आय वर्ष वा अवधिको आयविवरण सोही सूचनामा उल्लेख भएको समयभित्र दाखिला गर्नुपर्दछ । यस्तो आदेश पाएको व्यक्तिले कार्यालयको आदेशमा उल्लिखित आय वर्ष वा अवधिको आय विवरण सोही सूचनामा उल्लेख भएको समयभित्र दाखिला गरेमा सो व्यक्तिले पनि आयविवरण पेश गर्नुपर्ने समयमा सूचनामा उल्लिखित अवधिको कर निर्धारण गरेको मानिन्छ । यस्तो कर निर्धारणलाई करदाताले गर्ने संशय कर निर्धारण भनिन्छ । यसरी आयविवरण पेश गरेको व्यक्तिले पूरा आय वर्षको आयविवरण पेश गरेको भए सो वर्षका लागि पुनः आय विवरण पेश गरिरहनु पदैन ।

२६.२.३ आय विवरण नबुझाउने व्यक्तिको कर निर्धारण

स्वयंकर निर्धारण पद्दतिलाई आयकर ऐनले अंगिकार गरेको छ । कुनै पनि व्यक्तिले आफूले गरेको कारोबारको यथार्थ चित्रण निज स्वयंलाई जति जानकारी हुन्छ त्यती जानकारी अन्य कुनै पनि व्यक्तिलाई हुँदैन भन्ने यथार्थतालाई यस ऐनले मनन गरी आफ्नो कारोबारबाट भएको मुनाफामा प्रचलित आयकरका दर अनुसार कर निर्धारण गर्ने प्रक्रियालाई स्वयं कर निर्धारण पद्दति भनिन्छ ।

एक आय वर्षभरि भएका कारोबारको लेखान गरी तयार पारिएको वित्तीय विवरणलाई कर लेखा परीक्षकद्वारा परीक्षण तथा प्रमाणित गराई तोकिएको ढाँचामा आय विवरण र यकिन गरिएको कर सम्बन्धित कार्यालयमा तोकिएको समयभित्र बुझाउनु पर्दछ । करदाताले म्यादभित्र आय विवरण पेश नगरेपनि तोकिएको म्यादभित्र नै विवरण पेश गरेको मानिने हुँदा कर अधिकृतले संशोधित कर निर्धारण गरी सोही अनुसारको ब्याज, शुल्क लगाउन सक्दछ । ऐनको दफा ९९ को उपदफा (२) मा यस सम्बन्धमा देहायको व्यवस्था छ:

९९(२) कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश नगरेमा आय विवरण दाखिला नभएसम्मको लागि आय विवरण पेश गर्नुपर्ने मितिमा देहाय बमोजिम कर निर्धारण गरे सरह मानिनेछ:
(क) परिच्छेद १७ बमोजिम प्राप्त गरेको रकमबाट कट्टी भएको कुनै करको रकम तथा निजले परिच्छेद १८ बमोजिम सो वर्षको लागि किस्ताबन्दीमा दाखिला गरेको कुनै रकमको योग बराबर निजको सो वर्षको करको रकम भएको मानिनेछ, र
(ख) कर निर्धारण बमोजिम कर तिर्न बाँकी नरहेको मानिनेछ ।

कुनै आय वर्षमा आयविवरण बुझाउनुपर्ने व्यक्तिले सो आय वर्षको आयविवरण बुझाउनुपर्ने म्यादभित्र नबुझाएमा सो व्यक्तिले आयविवरण बुझाउनुपर्ने मितिमा नै कर निर्धारण गरेको मानिन्छ । आय विवरण पेश नगर्ने व्यक्तिले आय विवरण नबुझाएको वर्षका लागि ऐनको दफा ९४ बमोजिम करको किस्ता दाखिला गरेको भए सो करको किस्ताको रकम र सो वर्षमा सो व्यक्तिले अन्तिम कर कट्टी भई प्राप्त हुने भुक्तानीबाहेक सो व्यक्तिको आय गणना गर्दा समावेश हुने अन्य कुनै भुक्तानी प्राप्त गर्दा भुक्तानीकर्ताले कर कट्टी गरेको कर भए सो रकम समेत जोडी हुन आउने रकम नै सो व्यक्तिले सो आय वर्षका लागि तिर्नुपर्ने कर हुन्छ । त्यसरी आयविवरण पेश नगर्ने व्यक्तिका हकमा निजका नाममा किस्ता वा अग्रिम करको कुनै रकम दाखिला भएको भए सोही रकम नै निजको सो वर्षको कर दायित्व मानिने हुँदा त्यस्तो व्यक्तिले सो कर निर्धारण बमोजिम सो वर्षका लागि कुनै कर दाखिला गर्न बाँकी रहेको मानिदैन । आयविवरण पेश गर्नुपर्ने तर पेश नगरेको व्यक्तिको कुनै वर्षमा किस्ता वा अग्रिम कर बापत कुनै कर दाखिला नभएको अवस्थामा पनि सो व्यक्तिले कर निर्धारण गरेको मानिन्छ। यस्तो अवस्थामा सो व्यक्तिको कर निर्धारणको रकम वा कर दायित्व शून्य हुनुको साथै सो कर निर्धारण अनुसार निजले कुनै कर रकम बुझाउन बाँकी रहेको मानिदैन । कर अधिकृतले दफा १०१ बमोजिमको संशोधित कर निर्धारण र दफा १०० बमोजिमको संशय कर निर्धारण मात्र गर्न पाउने हुँदा यदि करदाताले कर निर्धारण गरी आय विवरण दाखिला नगरेमा त्यस्ता करदाताको संशोधित कर निर्धारण गर्न यो उपदफाले बाधा फुकाएको छ । आयविवरण नदिने करदातालाई कर अधिकृतले दफा ९९ को उपदफा (२) बमोजिमको मानिने यस्तो कर निर्धारणमा संशोधन गर्न सक्दछ । कुनै आय वर्षको आय विवरण बुझाउनुपर्ने समयभन्दा पछि अर्थात कर निर्धारण भएको मानिने समयपछि सो वर्षको आय विवरण पेश गरेमा उपर्युक्त अनुसार भएको मानिएको कर निर्धारण स्वतः निष्कृय हुन्छ । तर आय विवरण बुझाउनुपर्ने समयभन्दा पछि अर्थात कर निर्धारण भएको मानिने समयपछि आयविवरण पेश गर्ने व्यक्तिले आयविवरण पेश गर्नु अगावै विभाग वा कार्यालयले संशोधित कर निर्धारण गरेको भए त्यस्तो संशोधित कर निर्धारण नै करदाताको कर निर्धारण हुन्छ । करदाताले कार्यालयले संशोधित कर निर्धारण गरेपश्चात पेश गरेको आय विवरण अनुसार संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपर्ने देखिएमा पेश भएको विवरणलाई सुचनाको रूपमा लिई संशोधित कर निर्धारणमा पुनः संशोधन गर्न भने सकिन्छ । कार्यालयबाट भएको संशोधित कर निर्धारणमा पुनः संशोधन नभएमा साविकको संशोधित कर निर्धारण नै अन्तिम मानिनेछ ।

उदाहरण २६.२.२

मानौं, हरी मिश्रले चाउचाउको एजेन्सीको रूपमा चाउचाउको थोक व्यापार गर्दछन् । आ.व. २०७५ । ७६ मा निजको कारोबार २ करोड रुपैयाँ रहेको छ । यस वर्षको कारोबार उल्लेख्य रूपमा गरे बापत उत्पादकले उनलाई रु. २ लाख बिक्री बोनस | दिएको र सो रकममा ३० हजार रुपैयाँ अग्रिम कर कट्टी गरी दाखिला गरेको रहेछ। उनले उक्त वर्षको करको किस्ता बापत २०७५ पौष महिनामा १ लाख रुपैयाँ तिरेका रहेछन् । उनले २०७६ असोज महिनासम्ममा पनि सो वर्षको आय विवरण बुझाएका रहेनछन् र आय विवरण बुझाउने थप म्यादपनि लिएका रहेनछन् । यस अवस्थामा उनको २०७६ असोज मसान्तमा आफ्नोआ.व. २०७५/७६ को कर निर्धारण भएको मानिन्छ र उनले तिर्नुपर्ने जम्मा कर र तिर्न बाँकी कर देहाय बमोजिम हुन्छ ।

निजले दाखिला गरेको जम्मा कर किस्ताबन्दीमा दाखिला गरेको कर रु.१,००,०००/-
अग्रिम कर कट्टी भएको कर रु.३०,०००/-
जम्मा रु.१,३०,०००।-
निजले तिर्नुपर्ने कर रु.१,३०,०००।-
निजले तिर्न बाँकी कर रु. ०/-

निज हरी मिश्रले आय विवरण नबुझाएको हुँदा निजले आय विवरण बुझाउनुपर्ने मितिमा २०७५।७६ को लागि निजले वा निजका तर्फबाट अन्यले दाखिला गरिदिएको कर बराबरको रकम रु.१,३०,०००।- कर निर्धारण गरेको मानिन्छ र सो कर निर्धारण अनुसार उनले २०७५।७६को लागि तिनुपर्ने कर बाँकी रहँदैन ।

उदाहरण २६.२.३

मानौं, हरि मिश्रको कारोबार र आय उदाहरण २६.२.२ मा उल्लेख भए अनुसार नै रहेछ । उनले आ.व. २०७५/७६ को आय विवरण पेश गर्न२०७६ मंसिर मसान्तसम्मको म्याद थप पाएका रहेछन् । तर उनले २०७६ मंसिर मसान्तसम्ममा पनि आय विवरण दाखिला गरेका रहेनछन् । यस्तो अवस्थामा पनि हरि मिश्रले निजले आयविवरण बुझाउनुपर्ने मिति अर्थात २०७६ असोज मसान्तमा आ.व. २०७५/७६ को लागि निजले वा निजका तर्फबाट अन्यले दाखिला गरिदिएको कर बराबरको रकम रु.१,३०,०००।- कर निर्धारण गरेको मानिन्छ र सो कर निर्धारण अनुसार उनले आ.व. २०७५। ७६को लागि तिनुपर्ने कर बाँकी रहँदैन ।

त्यस्तै हरि मिश्रले आय विवरण बुझाउन म्याद थपेकै भए तापनि सो विवरण नबुझाएसम्म वा विभागले संशोधित कर निर्धारण नगरेसम्म २०७६ असोज मसान्तमा माथिकै रकम कर निर्धारण भएको मानिन्छ ।

उदाहरण २६.२.४

मानौं, हरि मिश्रकोकारोबारआ. व. २०७५/७६ मा उदाहरण २६.२.३ मा उल्लेख भएअनुसार नै भएपनि बिक्री बोनस बापतको आय र अग्रिम कर कट्टी गरेको कर रकम रहेनछ । त्यस्तै उनले सो वर्ष किस्ता बापत कुनै रकम दाखिला गरेका पनि रहेनछन् । आ.व. २०७५/७६ को आय विवरण उनले २०७६ असोज मसान्तसम्ममा दाखिला गरेका छैनन् र म्याद थप लिएका पनि छैनन् । यस्तो अवस्थामा पनि हरि मिश्रले आय विवरण बुझाउनुपर्ने मिति अर्थात २०७६ असोज मसान्तमा आ.व. २०७५। ७६को लागि कर निर्धारण गरेको मानिन्छ । यस आ.व.मा निजले वा निजका तर्फबाट अन्य कसैले दाखिला गरिदिएको कर नरहेको हुँदा निजले यस आय वर्षको लागि तिर्नुपर्ने कर नरहेको भनी कर निर्धारण गरेको अर्थात शून्य रकम बराबरको कर निर्धारण गरेको मानिन्छ । त्यस्तै सो कर निर्धारण अनुसार उनले आ.व. २०७५। ७६ को लागि तिर्न बाँकी कर रहेको पनि मानिदैन ।

ऐनको दफा ९६ को उपदफा (५) को अवस्था रहेको व्यक्ति अर्थात टाट पल्टिएको वा दामासाहीमा परेको वा ऋणमा डुबेको वा विघटन भएको वा अनिश्चित समयका लागि वा स्थायीरूपमा नेपाल छाडी विदेशपलायन हुन लागेको वा नेपालमा सञ्चालन गरिरहेको कुनै व्यवसाय वा आर्थिक कारोबार गर्न छाड्न लागेको व्यक्तिलाई कार्यालयले कुनै आय वर्षको आय विवरण दाखिला गर्नुपर्ने मिति अगावै सो आय वर्ष वा सो आय वर्षको कुनै भाग वा अवधिको आय विवरण दाखिला गर्न लिखित आदेश वा सूचना दिएकोमा सो सूचनामा उल्लिखित समय वा म्यादभित्र त्यस्तो व्यक्तिले सो सूचनामा उल्लिखित आय वर्ष वा अवधिको आयविवरण दाखिला नगरेको अवस्थामा भने उपर्युक्त व्यवस्था लागू हुँदैन । अर्थात त्यस्तो आदेश पाएको व्यक्तिले कार्यालयको आदेशमा उल्लिखित आय वर्ष वा अवधिको आयविवरण सोही सूचनामा उल्लेख भएको समयभित्र दाखिला नगरेमा सो व्यक्तिले सो सूचनामा उल्लिखित अवधिको कर निर्धारण गरेको मानिदैन । यस्तो अवस्थामा कार्यालयले सो व्यक्तिको सूचनामा उल्लिखित अवधिको तिर्नुपर्ने कर यकिन गर्ने प्रयोजनका लागि ऐनको दफा १०० बमोजिम संशय कर निर्धारण गर्नु पर्दछ ।

२६.३ संशय कर निर्धारण

संशय कर निर्धारण (Jeopardy Assessment) का सम्बन्धमा ऐनको दफा १०० मा देहायको व्यवस्था गरिएको छ :-

१००(१) दफा ९६ को उपदफा (५) बमोजिम कुनै आय वर्ष वा कुनै आयवर्षको कुनै अंशको आय विवरण दाखिला गर्नुपर्ने भएमा दफा ९९ बमोजिम गर्नु पर्नेछ ।

दफा ९६(५) को अवस्था परी पूरा आय वर्षको कर नतिरेका करदाताले आय वर्षको कुनै अंशको आय विवरण विभागले दिएको लिखित आदेशमा तोकिएको अवधिका लागि पेश गर्न सक्तछन् । करदाताले यसरी आय वर्षको अंशका लागि पेश गरेको आय विवरण पनि दफा ९९ बमोजिम कर निर्धारण भएको मानिन्छ ।

१००(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९६ को उपदफा (५) मा उल्लिखित अवस्थामा विभागले कुनै आय वर्ष वा उक्त वर्षको अंशको लागि दफा ९६ को उपदफा (२) को खण्ड (क) को उपखण्ड (१), (२) र (३) मा उल्लिखित रकमको आधारमा न्यायोचित रूपले त्यस्तो व्यक्तिको कर निर्धारण गर्न सक्नेछ ।

ऐनको दफा ९६ को उपदफा (५) को अवस्था रहेको कुनै व्यक्ति अर्थात टाट पल्टिएको वा दामासाहीमा परेको वा ऋणमा डुबेको वा विघटन भएको वा अनिश्चित समयका लागि वा स्थायी रूपमा नेपाल छाडीविदेशपलायन हुन लागेको वा नेपालमा सञ्चालन गरिरहेको कुनै व्यवसाय वा आर्थिक कारोबार गर्न छाड्न लागेको व्यक्तिले त्यस्तो कर निर्धारण गरी नबुझाएको अवस्थामा विभागले कुनै आय वर्षको आयविवरण दाखिला गर्नुपर्ने समय वा मिति अगावै सो आय वर्ष वा सो आय वर्षको कुनै भाग वा अवधिको कर निर्धारण गर्न सक्तछ । उदाहरणका लागि कुनै व्यक्ति भाद्र मसान्तमा दामासाहीमा परेका अवस्थामा अघिल्लो आय वर्ष पूरैको तथा चालु आय वर्षको दुई महिनाको कर निर्धारण विभागले गर्न पाउँदछ । यसका लागि विभागले त्यस्तो व्यक्तिलाई कर निर्धारण गर्न आवश्यक पर्ने सूचना तथा विवरण दाखिला गर्न दफा ८३ बमोजिम लिखित आदेश वा सूचना दिन सक्दछ । कुनै व्यक्तिलाई विभागले त्यस्तो सूचना दिएकोमा सो सूचनामा उल्लिखित समय वा म्यादभित्र त्यस्तो व्यक्तिले सो सूचनामा उल्लिखित आय वर्ष वा अवधिको माग भए बमोजिमका विवरण दाखिला गर्नु पर्दछ । सो सूचना वा आफूसँग भएका अन्य सूचनाका आधारमा विभागले सो आय वर्ष वा आय वर्षको अंशको संशय कर निर्धारण गर्न सक्दछ । तर सम्बन्धित आय वर्षको स्वयं कर निर्धारण गर्नुपर्ने अवधि (सामान्यतः असोज मसान्त) समाप्त भए पछि संशय कर निर्धारण गर्न सक्तैन, तर संशोधित कर निर्धारण गर्न भने सक्तछ । यस सम्बन्धी व्यवस्था तल उल्लेख गरिएको छ :

उदाहरण २६.३.१

कमलेशजी शाहले रु. ३ करोड पर्ने जग्गा मिति २०७६ | २|१मा रु.१ करोडमा बिक्री गरेको कागज खडा गरेको भन्ने व्यहोरामिति २०७३।३।१ मा विभागको जानकारीमा आयो । निजले सो रु. १ करोडमा पनि मालपोत कार्यालयमा रजिष्ट्रेशनका बखत अग्रिम कर ( पुँजीगत लाभकर तिरेका रहेनछन् । विभागले निजका बारेमा बुझ्दा निज नेपाल छोडी परदेश जादै रहेछन् भन्ने सूचना प्राप्त भयो । यस्तो अवस्थामा विभागले निम्नानुसार तीन तरिकाबाट कर निर्धारणगराउन सक्तछः

दफा १००(१) बमोजिम निजबाटै आय विवरण दाखिला गर्न लगाई दफा ९९ बमोजिम कर निर्धारण गर्ने र सो आय विवरणको दफा १०१ बमोजिम संशोधित कर निर्धारण गर्न सक्तछ ।
दफा १००(२) अन्तर्गत संशय कर निर्धारण गर्ने, यस्तोमा सम्बन्धित व्यक्तिलाई सफाईको सबुत प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्दछ ।
दफा ९५(७) बमोजिम अनुमानित आय विवरण पेश नगरेका व्यक्तिको अनुमानित आय निर्धारण गरी किस्ताको रकम माग गर्न सक्तछ ।

१००(३) उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गरिएकोमा देहाय बमोजिम हुनेछ:
(क) पूरा आय वर्षको कर निर्धारण गरिएको व्यक्तिले सो आयवर्षको लागि दफा ९६ को उपदफा (१) बमोजिमको आय विवरण दाखिला गर्नुपर्ने छैन, वा
(ख) कुनै आय वर्षको अंशको कर निर्धारण गरिएको व्यक्तिले दफा ९६ को उपदफा (१) बमोजिम सो आय वर्षको आय विवरण दाखिला गर्नु पर्नेछ ।

१००(४) कुनै आय वर्षको कुनै अंशको कर निर्धारण अनुसार दाखिला गरेको कर रकम पूरा वर्षको कर निर्धारण गर्दा लाग्ने करमा मिलान गर्न पाइनेछ ।

१००(५) यस दफा बमोजिम कर निर्धारण गर्दा विभागले सफाईको सबूत प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्नेछ ।

संशय कर निर्धारण भन्नाले टाट पल्टिएको वा कंगाल भएको वा ऋणमा डुबेको वा विघटन भएको वा अनिश्चित समयका लागि वा स्थायीरूपमा नेपाल छाडि विदेशपलायन हुन लागेको वा नेपालमा सञ्चालन गरिरहेको कुनै व्यवसाय वा आर्थिक कारोबार गर्न छाड्न लागेको कारणले तिर्नुपर्ने कर नतिर्ने सम्भावना रहेको वा विभागले अन्यथा उपयुक्त सम्झेमा र विभागले दिएको सूचना बमोजिम आय विवरण पनि पेश नगरेको अर्थात स्वयं कर निर्धारण नगरेको व्यक्तिले तिर्नुपर्ने कर यकिन गर्ने प्रयोजनका लागि विभागबाट गरिने कर निर्धारण हो । पूरा आय वर्षको संशय कर निर्धारण गरिएको व्यक्तिले सो आय वर्षको आय विवरण दाखिला गर्नु पर्दैन ।

उदाहरणका लागि २०७६ भाद्र मसान्तमा आय वर्ष २०७५/७६ को संशय कर निर्धारण भएको रहेछ भने सो व्यक्तिले सो आ.व. को स्वयं कर निर्धारणको विवरण २०७६ असोजमा दाखिला गर्नु पर्दैन । तर, आय वर्षको आंशिक अवधिको संशय कर निर्धारण भएका अवस्थामा भने पूरै आय वर्षको आय विवरण दाखिला गर्नु पर्दछ । त्यस्तो वार्षिक आय विवरण अनुसार लाग्ने करमा सो संशय कर निर्धारण बमोजिमदाखिला भएको कर मिलान गर्न पाउँदछ । माथिकै उदाहरणमा २०७६ भाद्र मसान्तसम्मको कर निर्धारण भएकाले सो व्यक्तिले आय वर्ष २०७६/७७ को आय विवरण दफा ९९ बमोजिम कर निर्धारण गरी २०७७ असोज मसान्तसम्म दाखिला गर्नु पर्दछ । २०७६ भाद्र मसान्तमा संशय कर निर्धारण हुँदा तिरिएको कर आय वर्ष २०७६ । ७७ को आय विवरणमा मिलान गर्नपाउँदछ ।

संशय कर निर्धारण गर्दा विभागले गरेको निर्धारण उपर सम्बन्धित व्यक्तिलाई सफाई वा सबुत पेश गर्न सात दिनको म्याद दिनु पर्दछ ।

२६.४ संशोधित कर निर्धारण

कुनै व्यक्तिले ऐनको दफा ९६ को उपदफा (१) बमोजिम पेश गर्नुपर्ने आयविवरण पेश गरी वा नगरी ऐनको दफा ९९ को उपदफा (१) वा (२) बमोजिम गरेको कुनै आय वर्षको कर निर्धारण वा कुनै व्यक्तिले विभागले सोही दफाको उपदफा (५) बमोजिम दिएको आदेशबमोजिम आय विवरण पेश गरी गरेको कर निर्धारण वा विभागले उपर्युक्त बमोजिम दिएको आदेशबमोजिम आय विवरण पेश नगरेको व्यक्तिको हकमा विभागले गरेको कर निर्धारणलाई विभागले संशोधन गर्नसक्ने सम्बन्धमा ऐनको दफा १०१ को उपदफा (१) मा देहायको व्यवस्था रहेको छ :-

१०१(१) दफा ९९ वा १०० बमोजिम कर निर्धारण भएको व्यक्तिको करको दायित्व यस ऐनको उद्देश्य बमोजिम न्यायोचित आधारमा समायोजन गर्न विभागले संशोधित कर निर्धारण गर्न सक्नेछ ।

ऐनको दफा ९९ बमोजिम कर निर्धारण भएका वा कर निर्धारण भएको मानिएका र दफा १०० बमोजिम संशय कर निर्धारण गरिएका व्यक्तिमध्ये कर निर्धारण सन्तोषजनक नभएको लागेका वा घटीबढी कर निर्धारण भएको प्रमाणित भएका व्यक्तिको कर निर्धारणमा विभागले संशोधन गर्न सक्तछ ।

ऐनले कुनै व्यक्तिको करको दायित्व न्यायोचित आधारमा समायोजन गर्ने अर्थात सो व्यक्तिको कर दायित्व सहीरूपमा निर्धारण गर्ने प्रयोजनका लागिमात्र संशोधित कर निर्धारण गर्नुपर्ने र ऐनको मनसाय विपरित कसैलाई कर दायित्व बोकाउन नहुने मान्यतालाई स्थापित गर्ने प्रयास गरेको छ । कुनै व्यक्तिले सन्तोषजनकरूपमा कर निर्धारण नगरेको वा घटी कर निर्धारण गरेको पुष्टी हुने प्रमाण वा आधार बेगर विभागको कुनै अधिकृतले कुनै व्यक्तिको संशोधित कर निर्धारण गर्न सक्तैन । अर्थात संशोधित कर निर्धारण गर्दा कुनै व्यक्तिको कर दायित्वमा संशोधन गर्नुपर्ने प्रमाण वा आधार कर दायित्वमा संशोधन गर्ने कर अधिकृतले जुटाउनु पर्दछ ।

सामान्यतयाः कुनै व्यक्तिले आयमा समावेश गर्नुपर्ने कुनै आय समावेश नगरेको वा कट्टी नपाउने वा कट्टी पाउनेभन्दा बढी खर्च कट्टी लिएको वा गलत रूपमा कर, शुल्क वा ब्याजको गणना गरेको वा मिलान गर्न नपाउने कर मिलान गरेको अवस्थामा सो व्यक्तिले गरेको कर निर्धारण त्रुटिपूर्ण हुने र निजले घटी कर निर्धारण गरेको मानिन्छ । कर परीक्षणबाट वा अन्य कुनै तवरले कुनै व्यक्तिले उपर्युक्तमध्ये कुनै एक वा बढी कारणले घटी कर निर्धारण गरेको प्रमाण वा जानकारी वा सूचना प्राप्त भएमा त्यस्तो व्यक्तिको कर दायित्वमा संशोधन गर्नुपर्दछ । उपर्युक्त व्यवस्था आय विवरण पेश गरी कर निर्धारण गरेको वा आय विवरण पेश नगरेको वा संशय कर निर्धारण भएको सबै व्यक्तिको संशोधित कर निर्धारण गर्ने सन्दर्भमा लागू हुन्छ ।

२६.४.१ संशोधित कर निर्धारणमा पुनः संशोधन

विभाग वा कार्यालयले गरेको कुनै व्यक्तिको संशोधित कर निर्धारणमा पुनः संशोधन गर्ने सम्बन्धमा ऐनको दफा १०१ को उपदफा (२) र (५) मा देहायको व्यवस्था छ ।

१०१(२) उपदफा (१) बमोजिम गरिएको संशोधित कर निर्धारणमा पुनः संशोधन गर्न विभागले उपयुक्त ठानेमा न्यायोचित आधारमा जतिपटक पनि संशोधन गर्न सक्नेछ ।

विभागले कुनै व्यक्तिको कुनै आय वर्षको संशोधित कर निर्धारण गर्न सक्तछ । आय विवरण पेश गरेको वा नगरेको कारणले कर निर्धारण भएको वा ऐनको दफा १०० को उपदफा (२) बमोजिम संशय कर निर्धारण भएको व्यक्तिको संशोधित कर निर्धारण हुनसक्तछ । संशोधित कर निर्धारण गर्ने समयमा सूचना वा प्रमाणको अभाव वा अपर्याप्तताको कारणले कुनै संशोधित कर निर्धारणमा त्रुटि भएमा करको दायित्व न्यायोचित आधारमा समायोजन गर्ने अर्थात सो व्यक्तिको कर दायित्व सहीरूपमा निर्धारण गर्ने प्रयोजनका लागि मात्र संशोधित कर निर्धारणमा संशोधन गर्नुपर्छ । कुनै व्यक्तिको संशोधित कर निर्धारण गर्दा त्रुटि भएको वा घटी कर निर्धारण भएको पुष्टि हुने प्रमाण वा आधार बेगर विभागले कुनै व्यक्तिको संशोधित कर निर्धारणमा संशोधन गर्नु हुँदैन । अर्थात संशोधित कर निर्धारणमा संशोधन गर्दा कुनै व्यक्तिको संशोधित कर दायित्वमा संशोधन गर्नुपर्ने प्रमाण वा आधार संशोधित कर दायित्वमा संशोधन गर्ने कर अधिकृतले जुटाउनु पर्दछ ।

१०१(५) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजस्व न्यायाधिकरण वा अन्य अधिकारप्राप्त अदालतहरुबाट कर निर्धारण संशोधन गरिएको वा निर्धारित कर घटाइएको अवस्थामा सो हदसम्म विभागले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्नेछैन । तर पुनः छानबिन गर्ने आदेश दिएमा संशोधन गर्न बाधा पुगेको मानिने छैन ।

राजस्व न्यायाधिकरण वा अधिकार प्राप्त अधिकारी वा अदालतले त्यस्तो संशोधित कर निर्धारणमा पुनः संशोधन गर्न आदेश दिएमा त्यस्तो संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नु आवश्यक हुन्छ । यस्तो आदेशमा किटानी साथ के के संशोधन गर्ने भन्ने आदेश भएको भए सो हदसम्म सोही बमोजिम गर्नुपर्छ । तर, पुनः छानबिन गर्ने भन्ने मात्र आदेश भएकोमा पुनः छानबिन गरी प्राप्त तथ्यका आधारमा पुनः संशोधन गर्नुपर्छ ।

२६.५ कर निर्धारणको सूचना

ऐनले कर निर्धारण गर्ने सन्दर्भमा कर निर्धारण गर्नु अघि र कर निर्धारण भएपछि कर निर्धारण हुने वा कर निर्धारण गरिएको व्यक्तिलाई सूचित गर्नुपर्ने व्यवस्था गरेको छ।

२६.५.१ कर निर्धारण गर्नु अघि दिनुपर्ने सूचना

ऐन बमोजिम कुनै व्यक्तिको संशय कर निर्धारण समेत सबै प्रकारका कर निर्धारणमा संशोधन गर्नुपर्दा त्यस्तो व्यक्तिलाई सूचित गर्नुपर्ने सम्बन्धमा ऐनको दफा १०१ को उपदफा (६) मा देहायको व्यवस्था छ ।

१०१(६) यस दफा बमोजिम कर निर्धारणमा संशोधन गर्दा विभागले त्यसरी संशोधन गर्नु परेको आधार स्पष्ट खुलाई सो व्यक्तिलाई लिखित सूचना दिई त्यस्तो कर निर्धारण सम्बन्धमा सफाईको सबुत प्रमाण पेश गर्न पन्ध्रदिनको म्याद दिनु पर्नेछ ।

ऐनको दफा १०१ को उपदफा (१) बमोजिम कुनै व्यक्तिको संशय कर निर्धारण वा कर निर्धारण वा संशोधित कर निर्धारणमा अर्थात सो व्यक्तिको हाल कायम रहेको कर दायित्वमा संशोधन गर्दा विभागले त्यसरी संशोधन गर्नुपर्नाको आधार तथा कारण उल्लेख गरी सो व्यक्तिलाई लिखित सूचना दिनुपर्दछ । त्यस्तै विभागको महानिर्देशक वा राजस्व न्यायाधिकरण वा अन्य कुनै अदालतको आदेश वा निर्णय बमोजिम कुनै व्यक्तिको संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपरेमा पनि उपर्युक्त अनुसारको सूचना दिनुपर्दछ । त्यसरी दिइने सूचनामा कुनै व्यक्तिको संशोधित कर निर्धारण वा संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपर्नाको कारण अर्थात सो व्यक्तिको कर निर्धारण वा संशोधित कर निर्धारणबाट कायम भएको कर दायित्वमा परिवर्तन गर्नुपर्नाको स्पष्ट आधार र कारण त्यस्तो संशोधनबाट कायम हुन आउने करयोग्य आय, सो करयोग्य आयमा तिर्नुपर्ने कर, शुल्क र ब्याजको जम्मा रकम तथा सोमध्ये तिर्न बाँकी कर रकम स्पष्ट उल्लेख गर्नुपर्दछ । त्यस्तो सूचना दिइएको व्यक्तिलाई सूचनामा उल्लिखित करयोग्य आय कायम हुनु नपर्ने वा तिर्नुपर्ने करमध्ये कुनै रकम तिर्नु नपर्ने वा तिर्न बाँकी रकममध्ये कुनै रकम तिर्नुनपर्ने कुनै सबुत, प्रमाण वा भनाइ भए सो सबुत प्रमाण वा भनाइ पेश गर्न संशय कर निर्धारणका सम्बन्धमा ७ दिन र संशोधित कर निर्धारणका सम्बन्धमा १५ दिनको म्याद दिनु पर्दछ । त्यस्तो म्याद सो व्यक्तिले सूचना बुझिलिएको मितिबाट गणना गर्नु पर्दछ ।

२६.५.२ कर निर्धारणको सूचना

विभागले कुनै व्यक्तिको संशय कर निर्धारण गर्ने निर्णय गरेमा सो व्यक्तिको कर निर्धारण भएको र निजको कर दायित्य कायम भएको मानिन्छ । त्यस्तै विभागले कुनै व्यक्तिको संशय कर निर्धारण वा कर निर्धारण वा संशोधित कर निर्धारणमा अर्थात सो व्यक्तिको हालको कर दायित्वमा संशोधन गर्ने निर्णय गरेमा सो व्यक्तिको कर निर्धारणमा संशोधन वा संशोधित कर निर्धारणमा संशोधन भएको वा सो व्यक्तिको हालको कर दायित्वमा संशोधन भएको मानिन्छ । विभागले त्यसरी कुनै व्यक्तिको संशय कर निर्धारण गरेमा वा कर निर्धारणमा संशोधन वा संशोधित कर निर्धारणमा संशोधन गरेमा सो व्यक्तिलाई सो सम्बन्धमा जानकारी गराउनु पर्दछ । यस सम्बन्धमा ऐनको दफा १०२ मा देहायको व्यवस्था छ ।

१०२ विभागले देहायका कुराहरु खुलाई दफा १०० को उपदफा (२) अथवा १०१ बमोजिम गरेको कर निर्धारणको लिखित सूचना कर निर्धारण गरिएको व्यक्तिलाई दिनु पर्नेछ ।
(क) कर निर्धारणसँग सम्बन्धित आय वर्ष वा अवधिको लागि दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नुपर्ने र दाखिला गर्न बाँकी निर्धारित कर,
(ख) खण्ड (क) मा उल्लिखित कर निर्धारणमा कर गणना गरिएको तरिका,
(ग) विभागले कर निर्धारण गर्नु परेको कारण,
(घ) दाखिला गर्न बाँकी निर्धारित कर दाखिला गर्नुपर्ने समय, र
(ङ) कर निर्धारण उपर चित्त नबुझेमा उजूरी गर्ने समय, स्थान र तरिका ।

संशय कर निर्धारण गरी कर दायित्व कायम गरिएको वा संशोधित कर निर्धारण वा संशोधित कर निर्धारणमा पुनः संशोधन गरी त्यसरी संशोधन गर्नु अघिको कर दायित्वमा परिवर्तन गरिएको व्यक्तिलाई विभागले त्यस्तो संशोधन वा परिवर्तनको बारेमा लिखित सूचना दिनुपर्दछ । विभागले सो व्यक्तिलाई दिने वा दिनुपर्ने संशय कर निर्धारण वा संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारणको सूचनामा उपर्युक्त बमोजिमको कुनै कर निर्धारण अनुसार सो व्यक्तिले दाखिला गर्नुपर्ने र दाखिला गर्न बाँकी कर, कर गणना गरिएको तरिका, कर निर्धारण गर्नु परेको कारण, दाखिला गर्न बाँकी कर दाखिला गर्नुपर्ने समय र उक्त कर निर्धारण उपर चित्त नबुझेमा उजूरी गर्ने समय, स्थान र तरिका स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्दछ । कर निर्धारण गरिएको व्यक्तिले कर निर्धारणको सूचना प्राप्त नगरेसम्म त्यस्तो कर निर्धारणले कानुनी मान्यता नपाउनुको साथै त्यस्तो कर निर्धारणबाट सिर्जना भएको कर दायित्व तिर्न बुझाउन कर निर्धारण भएको व्यक्ति बाध्य हुँदैन ।

२६.६ कर निर्धारणमा संशोधन गर्ने वा संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपर्ने समय वा म्याद

विभाग वा कार्यालयले कुनै व्यक्तिको संशोधित कर निर्धारण गर्ने वा पुनः संशोधित कर निर्धारण गर्ने समयसीमाका सम्बन्धमा ऐनको दफा १०१ को उपदफा (३) र (४) ले देहायको व्यवस्था गरेको छ ।

१०१(३) विभागले उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गर्दा देहायको मितिले चार वर्षभित्र गरिसक्नु पर्नेछ:
(क) दफा ९९ बमोजिम कर निर्धारण भएकोमा आय विवरण पेश गर्नुपर्ने मिति,
(ख) दफा १०० को उपदफा (२) बमोजिम कर निर्धारण गरिएकोमा कर निर्धारण गरिएको व्यक्तिलाई दफा १०२ बमोजिम कर निर्धारणको सूचना दिएको मिति,
(ग) उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गरिएकोमा उपदफा (१) बमोजिम संशोधन गरिएको साविकको कर निर्धारणसँग सम्बन्धित खण्ड (क) वा (ख) मा उल्लिखित मिति

१०१(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जालसाजीले गर्दा कुनै व्यक्तिको कर निर्धारण गलत ढंगबाट भएको रहेछ भने जुनसुकै बखत विभागले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्नेछ । यसरी संशोधन गर्दा जालसाजी गरी विवरण राखेको वा कर निर्धारण गरेको जानकारी प्राप्त भएको एक वर्षभित्र संशोधन गरिसक्नु पर्नेछ ।

ऐनले कुनै व्यक्तिको आवश्यकता अनुसार संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण गर्ने सन्दर्भमा विभाग वा कार्यालयलाई यथेष्ठ अधिकार प्रदान गरेको छ । तर विभाग वा कार्यालयले कुनै व्यक्तिको कुनै आय वर्षको असीमित समयसम्म वा मन लागेको जुनसुकै समयमा संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण गर्न ऐनले बन्देज लगाएको छ । ऐनको उपर्युक्त प्रावधान अनुसार सामान्य अवस्थामा कुनै व्यक्तिको कुनै आय वर्षको कर निर्धारण वा संशय कर निर्धारणमा संशोधन वा संशोधित कर निर्धारणमा पुनः संशोधन गर्दा संशय कर निर्धारण भएको वा सो व्यक्तिले सो आय वर्षको आय विवरण पेश गर्नुपर्ने मितिले चार वर्षभित्र गरिसक्नु पर्दछ। सो अवधिभित्र विभाग वा कार्यालयले कुनै व्यक्तिको कुनै आय वर्षको संशोधित कर निर्धारणमा आवश्यक्तानुसार जतिपटक पनि पुनः संशोधन गर्न सक्तछ । जालसाजी गरी गलत कर निर्धारण गर्ने व्यक्तिका हकमा उक्त बन्देजलाई निकै खुकुलो पारिएको छ ।

२६.६.१ आय विवरण पेश गरेको वा नगरेको व्यक्तिको संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण

ऐनको दफा ९६ बमोजिम कुनै आय वर्षको आयविवरण पेश गर्नुपर्ने मितिमा आय विवरण पेश गरी दफा ९९ को उपदफा (१) बमोजिम सो वर्षको कर निर्धारण गर्ने वा कुनै आय वर्षको आय विवरण पेश गर्नुपर्ने मितिमा आय विवरण पेश नगरेको भएपनि दफा ९९ को उपदफा (२) बमोजिम सो वर्षको कर निर्धारण भएको मानिने कुनै व्यक्तिको त्यस्तो कर निर्धारणमा विभागले संशोधन गर्नुपर्दा कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश गर्नुपर्ने मिति (अर्थात जुन आय वर्षको आय विवरण पेश गर्नुपर्ने हो सो आय वर्षभन्दा पछाडिको आय वर्षको असोजमसान्त) ले चार वर्षभित्र गरिसक्नु पर्दछ । यस प्रयोजनको लागि विवरण पेश गर्न म्याद थप लिएको व्यक्तिको हकमा पनि चार वर्षको म्याद गणना गर्दा म्याद थप लिएको अवधिलाई गणना गर्न मिल्दैन ।

उदाहरण २६.६.१

मानौं, तल उल्लिखित व्यक्तिले आ.व. २०७५/७६ को आय विवरण निम्नानुसार बुझाएका रहेछन् ।
• हरि प्रसादले आ.व. २०७५/७६ को आय विवरण २०७६ असोज मसान्तमा बुझाएका रहेछन् ।
• दिनेश मिश्रले आ.व. २०७५। ७६ को आय विवरण बुझाउन २०७६ मंसिर ३० सम्मको म्याद थप पाएका रहेछन् र सोही मितिमा आय विवरण बुझाएका रहेछन् ।
• गोबिन्द पण्डितले आ.व. २०७५ । ७६ को आय विवरण २०७६ पौष २० गते बुझाएका रहेछन् तर विवरण बुझाउने म्याद थप लिएका रहेनछन् ।
• हेमन्त गोर्खालीले आ.व. २०७५/७६ को आय विवरण २०७६ चैत्र २ गते बुझाएका रहेछन् । उनले सो विवरण बुझाउन २०७६ पौष मसान्तसम्मको म्याद थप पाएका रहेछन् ।
• मनोज शर्माले आ.व. २०७५। ७६ को आय विवरण बुझाएका रहेनछन् ।

उपर्युक्त व्यक्तिले आफ्नो आ.व. २०७५ ७६ को आय विवरण समयमै बुझाएपनि, थप म्यादभित्र बुझाएपनि, समयमै नबुझाएपनि वा थप म्यादभित्र नबुझाएपनि वा बुझाउदै नबुझाएपनि ती सबै व्यक्तिले आ.व. २०७५/७६ को आय विवरण बुझाउनुपर्ने वा पेश गर्नुपर्ने मिति भनेको २०७६ असोजमसान्त नै हो । विभाग वा कार्यालयले संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण गर्दा २०८० असोज मसान्तभित्र गरि सक्नु पर्दछ ।

उदाहरण २६.६.२

मानौं, नेप्चून ईन्टरनेशनल प्रा.लि.को ५० प्रतिशत स्वामित्व २०७४।११।१० मा परिवर्तन भएको रहेछ । सो निकायले ऐनको दफा ५७ बमोजिम स्वामित्व परिवर्तन अघिको विवरण पेश गरेको रहेनछ र आ.व. २०७४।७५ को एकमुष्ठ आय विवरण २०७५ भाद्र ५ गते बुझाएको रहेछ । उक्त निकायको मिति २०७४।११।१० गते स्वामित्व परिवर्तन भएकोले ऐनको दफा ५७ को प्रयोजनको लागि त्यस्तो निकायको स्वामित्व परिवर्तन अघिको भाग अर्थात् मिति २०७४|४|१ देखि २०७४।११।१० सम्मको अवधि एउटा आय वर्ष हुन्छ र सो आय वर्षको आय विवरण म्याद थप नलिएको अवस्थामा मिति २०७५ | २१० भित्र बुझाउनु पर्दछ । एवम् स्वामित्व परिवर्तन पछिको भाग अर्थात् मिति २०७४।११।११ देखि २०७५ आषाढ मसान्तसम्म अर्को आय वर्ष हुन्छ र सो पछिल्लो आय वर्षको आय विवरण २०७५ असोज मसान्तभित्र बुझाउनु पर्दछ । यस अवस्थामा विभागले संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण गर्दा स्वामित्व परिवर्तन अघिको आय वर्षको मिति २०७९ | २|१० भित्र तथा स्वामित्व परिवर्तन पछिको आय वर्षको २०७९ असोज मसान्तभित्र गरिसक्नु पर्दछ ।

२६.६.२ संशय कर निर्धारण भएको व्यक्तिको संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण

विभागले कुनै व्यक्तिको ऐनको दफा १०० को उपदफा (२) बमोजिम गरेको संशय कर निर्धारणमा पनि संशोधन वा पुनः संशोधन गर्न सक्तछ । संशय कर निर्धारण भएको व्यक्तिको संशय कर निर्धारणमा संशोधन वा पुनः संशोधन गर्दा सो व्यक्तिलाई दफा १०२ बमोजिम संशय कर निर्धारणको सूचना दिएको मितिले चार वर्षभित्र गरिसक्नु पर्दछ ।

उदाहरण २६.६.३

मानौं, मिग ज्याक्सनबेलायती नागरिक हुन् र उनी विगत दश वर्षदेखि नेपालमा व्यवसाय सञ्चालन गरिरहेका रहेछन् । घरायसी कारणले उनि बेलायत फर्कनुपर्ने भएकोले उनले २०७६ पौष महिनामा नेपालको आफ्नो व्यवसाय बन्द गरे । कुनै सुत्रबाट विभागले सो कुराको जानकारी पायो र उनलाई २०७६ श्रावण महिनादेखि २०७६ पौष महिना सम्मको आय विवरण २०७६ माघ मसान्तभित्र पेश गर्न २०७६ माघ २ गते निजलाई सूचना जारी गरियो । तर उनले सो सूचनाको वेवास्ता गर्दै आय विवरण दाखिला गरेनन् । कार्यालयबाट तत्काल उपलब्ध प्रमाण र सूचनाको आधारमा २०७६ फाल्गुण १५ गते निजको आ.व. २०६६/६७ को श्रावणदेखि पौषसम्मका लागि रु दश लाख कर दायित्व कायम गर्दै संशय कर निर्धारण गरियो र २०७६ फाल्गुण २० गते निजलाई ऐनको दफा १०२ बमोजिम संशय कर निर्धारणको सूचना बुझाइयो । यस अवस्थामा मिग ज्याक्सनको कार्यालयले गरेको उक्त संशय कर निर्धारणमा संशोधन वा पुनः संशोधन गर्नुपरेमा २०७६ फाल्गुण २० गतेको मितिले चार वर्षभित्र अर्थात २०८० फाल्गुण २० गतेभित्र गरिसक्नु पर्दछ ।

२६.६.३ जालसाजीबाट कर निर्धारण भएको व्यक्तिको संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण

कुनै व्यक्तिले जालसाजी गरी कर निर्धारण गरेमा कर अधिकृतले संशोधित कर निर्धारण गर्न चार वर्षको समयसीमालागू नहुने र जालसाजीको सूचना जहिले प्राप्त गरेको भएतापनि सो सूचना पाएको मितिले एक वर्षभित्र कर निर्धारण गर्नुपर्दछ । सामान्यतयाः कुनै व्यक्तिले ऐनको प्रयोजनका लागि तयार गरेको वा अभिलेख राखेको वा विभाग वा कार्यालयमा पेश गरेको कुनै विवरण वा कागजात वा सूचना वा बकपत्र वा निवेदनमा जानाजानी वा गलत मनसायले कुनै गलत तथ्य उल्लेख गरेमा वा जानाजानी उल्लेख गर्नुपर्ने कुनै तथ्य उल्लेख नगरेमा वा जानाजानी किर्ते कागजात खडा गरेमा वा पेश गरेमा सो व्यक्तिले जालसाजी गरेको मानिन्छ । कुनै व्यक्तिले जानीजानी उल्लेखितमध्ये कुनै एक वा बढी तरिका वा जालसाजी मानिने अन्य कुनै तरिकाबाट कुनै आय वर्षको कर दायित्वमा कमि हुने गरी कर निर्धारण गरेको प्रमाणित हुने कुनै जानकारी वा सूचना वा कागजात वा प्रमाण फेला परेमा विभागले त्यस्तो जानकारी प्राप्त गरेको एक वर्षभित्र सो व्यक्तिको सो वर्षको कर निर्धारणमा संशोधन वा संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपर्दछ ।

२६.७ महानिर्देशक वा राजस्व न्यायाधिकरण वा अन्य कुनै अदालतको आदेश बमोजिम कर निर्धारणमा पुनः संशोधन

ऐन बमोजिम संशय कर निर्धारण वा संशोधित कर निर्धारण वा संशोधित कर निर्धारणमा पुनः संशोधन गरिएको कुनै व्यक्तिलाई विभागले गरेको निर्णय वा कर निर्धारणउपर चित्त नबुझेमा सो व्यक्तिले ऐन बमोजिम विभागको महानिर्देशकसमक्ष सो निर्णयकाविरुद्ध प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिनपाउँछ । कुनै व्यक्तिले प्रशासकीय पुनरावलोकनको निवेदन बमोजिम भएको निर्णयमा चित्त नबुझेमा वा विभागले त्यस्तो निवेदनमा ६० दिनभित्र निर्णय नदिएमा सो विरुद्ध राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन पाउँछ । त्यस्तै कुनै व्यक्तिले गरेको पुनरावेदनमा राजस्व न्यायाधिकरणले गरेको फैसला चित्त नबुझेमासर्वोच्च अदालतको अनुमति लिई सो फैसला विरुद्ध पुनरावेदन गर्नसमेत पाउँछ । यसरी कुनै व्यक्तिले दिएको निवेदन राजस्व न्यायाधिकरण वा अदालतले गरेको कुनै निर्णय अन्तिम भई बसेको अर्थात त्यस्तो निर्णय कुनै अदालतको विचाराधीन नरहेको र विचाराधीन हुनसक्ने अवस्था पनि नभएको भएमा र सो निर्णय अनुसार कुनै व्यक्तिको कुनै वर्षको संशय कर निर्धारणमा संशोधन वा संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपर्ने भएमा विभागले जुनसुकै समयमा त्यस्तो संशोधन गर्न सक्तछ । तर त्यस्तो निर्णय अनुसार गर्नुपर्ने संशोधन सो निर्णयको प्रतिलिपि प्राप्त भएको मितिले एक वर्षभित्र गरिसक्नु पर्दछ ।