परिच्छेद २२ सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभको निर्धारण
२२.१
आयकर ऐन, २०५८ मा व्यक्तिको सम्पत्ति तथा दायित्वको निःसर्ग भएको खण्डमा हुने खुद लाभलाई आयमा समावेश गरिनुपर्ने व्यवस्था रहेको छ । व्यक्तिको कारोबारको प्रकृतिको आधारमा यस्तो आय व्यवसाय वा लगानीको हुन सक्दछ । ऐनको परिच्छेद ८ मा सम्पत्ति तथा दायित्व निःसर्गका अवस्था र यस्ता निःसर्गसँग सम्बन्धित आम्दानी (Incomings) र खर्च (Outgoings) का विभिन्न अवस्था खुलाइएको छ । निर्देशिकाको यस परिच्छेदमा सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभ एवम् खुद लाभ (Net Gain) का अवधारणा प्रस्तुत गरिएको छ । यस परिच्छेदमा कतिपय निःसर्गमा तत्काल आयकर प्रयोजनको निमित्त आम्दानी वा खर्च नहुने भएतापनि त्यस्ता कारोबार वा हस्तान्तरणको आम्दानी (Incomings) र खर्च (Outgoings) गणना गर्नुपर्ने अवस्था समेत खुलाइएको छ । जस्तै, पति पत्नी बीचमा हुने हस्तान्तण, प्राकृतिक व्यक्तिको मृत्यू पश्चात हुने हस्तान्तरण आदि समेत खुलाइएको छ । यसरी सम्पत्ति एवम् दायित्वका निःसर्ग वा निःसर्ग मानिने विविध अवस्था खुलाई व्याख्या गर्नु यस परिच्छेदको उद्देश्य रहेको छ ।
२२.२ मुख्य परिभाषा
निर्देशिकाको यस परिच्छेदमा महत्वपूर्ण मानिएका केही शब्दावलीको परिभाषा तल उल्लेख गरिएको छ:
२२.२.१ सम्पत्ति
सम्पत्ति शब्दले कुनैपनि किसिमको मूर्त वा अमूर्त सम्पत्ति (मुद्रा, ख्याति, प्रविधि ज्ञान, जायजेथा, कुनै व्यक्तिको विदेशी शाखामा रहेको स्वामित्व वा हित, आम्दानी गर्ने वा भविष्यमा आम्दानी प्राप्त गर्ने अधिकार र कुनै त्यस्तो सम्पत्तिको कुनै भाग समेत) लाई जनाउँछ। ऐनको दफा २(क) ले सम्पत्तिलाई निम्नानुसार परिभाषित गरेको छ:
२(कध) “सम्पत्ति” भन्नाले कुनै पनि किसिमको मूर्त वा अमूर्त सम्पत्ति सम्झनु पर्छ र सो शब्दले मुद्रा, ख्याति, प्रविधि ज्ञान, जायजेथा, कुनै व्यक्तिको विदेशी शाखामा रहेको स्वामित्व वा हित, आम्दानी गर्ने वा भविष्यमा आम्दानी प्राप्त गर्ने अधिकार र कुनै त्यस्तो सम्पत्तिको कुनै भाग समेतलाई जनाउँछ ।
सम्पत्तिको अवस्था एवम् आयकर प्रयोजनको निमित्त ती सम्पत्तिको सामान्य कारोबार तथा निःसर्गमा हुने व्यवस्था तलको चित्रबाट प्रष्ट पारिएको छ ।
| प्रकार | व्यापारिक मौज्दात दफा २ (कञ) | ह्रासयोग्य सम्पत्ति दफा २ (कर) | व्यावसायिक सम्पत्ति दफा २ (कट) | गैर व्यावसायिक करयोग्य सम्पत्ति दफा २ (द) | अन्य सम्पत्ति |
|---|---|---|---|---|---|
| होइन भने | होइन भने | होइन भने | होइन भने | ||
| सामान्य अवस्था | प्राप्त रकम आयमा समावेश गरिने दफा ७ (२) (ख) | ह्रासखर्च (दफा १९ र अनुसूचि २) र ह्रासकट्टी आधारभन्दा बढी भएको खर्च (अनुसूचि २ को ४ (२) (ख)) कट्टी गर्न पाइने | खुद लाभलाई आय मानिने दफा ७ (२) (ग) | खुद लाभलाई आय मानिने दफा ९ (२)(ख) | आयकरमा कुनै असर पार्दैन |
| निःसर्ग हुँदा गरिने व्यवहार | व्यापारिक मौज्दातकोलागत खर्च बापत कट्टा गरिने, दफा १५ | ह्रासकट्टी आधारभन्दा बढी भएको आय (दफा ७ (२) (घ), ९ (२) (ग), अनुसूची २ को अनु. ४(२) (क)) लाई आयमा समावेश गरिने | खुद नोक्सान बापत खर्च कट्टा गर्न नपाइने | खुद नोक्सान बापत खर्च कट्टा गर्न नपाइने | आयकरमा कुनै असर पार्दैन |
२२.२.२ व्यापारिक मौज्दात
ऐनको दफा २ (कञ) मा व्यापारिक मौज्दातलाई निम्नानुसार परिभाषित गरेको छः २(कञ) “व्यापारिक मौज्दात " भन्नाले कुनै व्यक्तिको स्वामित्वमा रहेको निजद्वारा सञ्चालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति र सम्पत्तिमा समाविष्ट हुने सामाग्रीहरुको मौज्दात सम्झनु पर्छ । तर यस शब्दले विदेशी मुद्रामा रहेको सम्पत्तिलाई जनाउँने छैन ।
व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष्य रूपमा बिक्रीको प्रयोजनको लागि राखिएका सम्पत्तिलाई व्यापारिक मौज्दात भनिन्छ । व्यक्तिको व्यवसायको आधारमा यस्तो वस्तुको उदाहरण फरकफरक हुन सक्दछ । जस्तै, फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्दात हुन्छ भने अन्य व्यक्तिको लागि भने ह्रासयोग्य सम्पत्ति मानिन्छ ।
२२.२.३ ह्रासयोग्य सम्पत्ति
ऐनको दफा २ (कर) मा ह्रासयोग्य सम्पत्तिलाई निम्नानुसार परिभाषित गरेको छः २(कर)“ह्रासयोग्य सम्पत्ति” भन्नाले कुनै व्यवसाय वा लगानीमा आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट, पूरानो हुँदै गएको वा समय व्यतीत हुदै गएको कारणबाट मूल्यमा ह्रास हुने सम्पत्ति सम्झनु पर्छ । तर यस शब्दले व्यापारिक मौज्दातलाई जनाउँने छैन ।
समय एवम् उपभोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिलाई ह्रासयोग्य सम्पत्ति मानिन्छ । व्यक्तिको व्यवसायको प्रकृतिको आधारमा यस्तो वस्तुको उदाहरण फरकफरक हुन सक्दछ । जस्तैः फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्दात हुन्छ भने अन्य व्यवसाय वा लगानीमा त्यसको प्रयोग भएको छ भने सो ह्रासयोग्य सम्पत्ति मानिन्छ । सामान्यतयाः समय एवम् उपयोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिको उपभोग गरी आय आर्जन गर्ने कार्य भएको छ भने त्यस्तो सम्पत्तिलाई ह्रासयोग्य सम्पत्ति भनिन्छ ।
२२.२.४ व्यावसायिक सम्पत्ति
ऐनको दफा २ (कट) मा व्यावसायिक सम्पत्तिलाई निम्नानुसार परिभाषित गरेको छः २(कट)“व्यावसायिक सम्पत्ति” भन्नाले कुनै व्यवसायमा प्रयोग गरिएको कुनै सम्पत्ति सम्झनु पर्छ । तर यस शब्दले व्यापारिक मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिलाई जनाउँने छैन ।
व्यावसायिक सम्पत्तिमा व्यापारिक मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिबाहेक अन्य व्यवसायको स्वामित्वमा रहेको र त्यसको अधिकार स्थापित भएका सम्पत्ति, जस्तै, जग्गा, लिनुपर्ने रकम, पेश्की हिसाब, नगद तथा बैंक मौज्दात आदि पर्दछन् । व्यावसायिक सम्पत्ति तथा अन्य सम्पत्तिको तुलनात्मक अवस्था यसै परिच्छेदको बुँदा २२.२.१ मा उल्लिखित सम्पत्तिका प्रकार (Category ) दर्शाउने व्याख्या चित्रबाट समेत स्पष्ट पारिएको छ ।
२२.२.५ गैर व्यावसायिक करयोग्य सम्पत्ति
ऐनको दफा २ को खण्ड (द) मा गैर व्यावसायिक करयोग्य सम्पत्तिलाई निम्नानुसार परिभाषित गरिएको छ :
२(द) "गैर व्यावसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्ति बाहेकका जग्गा, भवन तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्झनु पर्छ:
(१) व्यावसायिक सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापारिक मौज्दात,
(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन,
(क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको र
(ख) सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कुल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको,
स्पष्टीकरणः यस उपखण्डको प्रयोजनको लागि निजी भवन भन्नाले भवन, भवनले ओगटेको जग्गा र सो भवनले ओगटेको क्षेत्रफल बराबरको थप जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ त्यसलाई सम्झनु पर्छ ।
(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,
(४) कुनै प्राकृतिक व्यक्तिको दश लाख रुपैयाँ भन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा तथा निजी भवन वा
(५) तीन पुस्ताभित्र भएको खरिद बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति ।
गैर व्यावसायिक करयोग्य सम्पत्तिमा सामान्यतया: जग्गा, भवन तथा कुनै निकायमा रहेको हित (जस्तै, शेयर, डिवेञ्चर, आदि) पर्दछन् भने सुन, चाँदी, मोटर आदि अन्य सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्तिमा पर्दैनन् ।
- व्यावसायिक सम्पत्ति अर्थात व्यावसायिक प्रयोजनमा उपभोग भएका सम्पत्ति अन्तर्गत ह्रासयोग्य (Depreciable) सम्पत्ति (जस्तै, भवन, मेशिनरी, गाडी, आदि) तथा गैर ह्रासयोग्य (Non-depreciable)सम्पत्ति (जस्तै, जग्गा, शेयर, आदि) पर्दछन् । तर व्यवसायको आय आर्जन गर्ने कार्यमा प्रयोग नभएको अर्थात सो व्यक्तिले धारण मात्र गरेको गैर ह्रासयोग्य सम्पत्ति जस्तै जग्गा, शेयर (Hold for Trading बाहेक) भने गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिने छन् । यस बाहेक व्यापारिक मौज्दात (Stock in Trade) अर्थात बिक्रीको प्रयोजनको लागि धारण गरिएको सम्पत्तिलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैन ।
- कुनै प्राकृतिक व्यक्तिको अविच्छिन्न (लगातार) दश वर्ष वा सो भन्दा बढी स्वामित्व (Ownership) रहेको र सो व्यक्तिले अविच्छिन्न वा पटकपटक गरी कुल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको निजी भवन (Personal House) लाई व्यक्तिगत सम्पत्ति मानिएको छ । कुनै व्यक्तिको निजी भवन गैर व्यावसायिक करयोग्य सम्पत्ति नमानिने सो व्यक्तिले सो भवन अविच्छिन्न दश वर्ष वा सो भन्दा बढी आफ्नो स्वामित्व (Ownership) मा राखेको हुनुपर्ने र सो व्यक्ति त्यस्तो भवनमा अविच्छिन्न वा पटक पटक गरी दश वर्ष वा सो भन्दा बढी बसोबास गरेको (दुवै अवस्था पूरा गरेको) हुनु अनिवार्य रहेको छ ।
- कुनै प्राकृतिक व्यक्तिको दश लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग (Disposal)गरेको जग्गा तथा निजी भवन पनि गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैन । जग्गा भएको भवनका हकमा जग्गाको क्षेत्रफल भवन, भवनले ओगटेको जग्गा र सो भवनले ओगटेको क्षेत्रफल बराबरको थप जग्गा वा एक रोपनीमध्ये जुन घटी हुन्छ सोलाई बुझाउँछ ।
- तीन पुस्ताभित्र भएको खरिद बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति । अन्य किसिमले हस्तान्तरण भन्नाले सामान्तयाः अंशबण्डा, अपुताली, बकसपत्र, आदि पर्दछ । तीन पुस्ताबाहेक अन्यबाट बकसपत्र जस्ता प्रक्रियाबाट हस्तान्तरण गरिएको सम्पत्तिको हकमा भने त्यस्ता सम्पत्तिलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ । त्यस्तै, तीन पुस्ताभित्र भए पनि सामान्य रूपमा खरिद बिक्री भएमा भने त्यस्ता सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ ।
गैर व्यावसायिक करयोग्य सम्पत्ति सम्बन्धी उदाहरणसहितको व्याख्या यसै निर्देशिकको परिच्छेद २ मा गरिएको छ ।
२२.२.६ निःसर्ग (डिस्पोजल)
ऐनको दफा २ (य) मा निःसर्ग (Disposal) लाई निम्नानुसार परिभाषित गरेको छः
२(क्य) “निःसर्ग (डिस्पोजल)” भन्नाले दफा ४० मा उल्लेख भए बमोजिम कुनै सम्पत्ि वा दायित्वको बिक्री वा हस्तान्तरण समेतको निःसर्ग सम्झनु पर्छ ।
सम्पत्तिको हकमा, बिक्री वा किस्ताबन्दीमा बिक्री गरी अन्य सम्पत्ति वा दायित्वमा गाभिई, नासिई, हराई, अंशबण्डा वा हक हस्तान्तरण गरी, साटासाट गरी वा कुनै तवरबाट आफ्नो स्वामित्व हट्ने माध्यमलाई सम्पत्तिको निःसर्ग ( Disposal) भएको मानिन्छ । त्यस्तै, दायित्वको हकमा, दायित्व भुक्तान गरी, दायित्वबाट मुक्त भई, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, दायित्व रद्द भई वा कुनै पनि माध्यमबाट दायित्व मुक्त भएको खण्डमा दायित्वको निःसर्ग (Disposal) मानिन्छ ।
- ऐनको दफा ४० को उपदफा (१) बमोजिम कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको निःसर्ग गरेको मानिनेछ । सो अनुसार, निम्न कार्यलाई समेत सम्पत्तिको निःसर्ग गरेको मानिनेछः
सम्पत्तिको वितरण गरिनु,
सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु,
किस्ताबन्दी बिक्रीको माध्यमबाट बिक्री गर्नु वा वित्तीय पट्टा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पट्टामा दिइनु,
रद्ध गरिनु, विनास हुनु,
हराउनु,
म्याद सकिनु वा समर्पण गरिनु जस्ता कार्य । - ऐनको दफा ४० को उपदफा (२) बमोजिम कुनै व्यक्ति कुनै दायित्वको भारबाट हटेमा निजले सो दायित्वको निःसर्ग गरेको मानिनेछ । सो अनुसार निम्न कार्यलाई समेत दायित्वको निःसर्ग गरेको मानिनेछ:
दायित्व फछ्र्यौट हुनु,
दायित्व रद्ध हुनु,
दायित्व मुक्त हुनु,
दायित्व समापन हुनु वा अर्को दायित्व वा सम्पत्तिमा गाभिनु जस्ता कार्य । - ऐनको दफा ४० को उपदफा (३) खण्ड (क) बमोजिम प्राकृतिक व्यक्तिको सम्बन्धमा सो व्यक्तिको मृत्युको तत्काल अघि कुनै सम्पत्ति वा दायित्व निःसर्ग गरेको मानिनेछ ।
- ऐनको दफा ४० को उपदफा (३) खण्ड (ख) बमोजिम कुनै सम्पत्तिको सम्बन्धमा सो सम्पत्ति बापतका आम्दानीको योग सो सम्पत्तिबापतका खर्चको योगभन्दा बढी भएमा सो सम्पत्ति निःसर्ग गरेको मानिनेछ ।
- ऐनको दफा ४० को उपदफा (३) खण्ड (ग) बमोजिम ऋण दाबीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा निःसर्ग भएको मानिन्छ ।
- ऐनको दफा ४० को उपदफा (३) खण्ड (घ) बमोजिम कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैर व्यावसायिक करयोग्य सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दातको किसिम फेरिने गरी त्यस्तो सम्पत्ति निजले प्रयोग गर्न थालेको अवस्थामा सो सम्पत्तिको फेरिएको स्वरूप प्रयोग गर्नुभन्दा तत्काल अघि निःसर्ग भएको मानिन्छ ।
- ऐनको दफा ४० को उपदफा (३) खण्ड (ङ) बमोजिम तथा दफा ५७ मा उल्लेख भए बमोजिम कुनै निकायको विगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा समेत सो निकायको सम्पत्ति वा दायित्व निःसर्ग भएको मानिनेछ ।
- ऐनको दफा ४० को उपदफा (३) खण्ड (च) बमोजिम नेपालमा अवस्थित जग्गा जमिन वा भवनबाहेक, सो व्यक्ति गैरबासिन्दा व्यक्ति हुनुभन्दा तत्काल अघि सो व्यक्तिको सम्पत्ति वा दायित्व निःसर्ग भएको मानिनेछ ।
२२.३ सम्पत्ति तथा दायित्वबाट प्राप्त खुद लाभ
ऐनको दफा ३६ मा सम्पत्ति तथा दायित्वबाट प्राप्त खुद लाभको गणना सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
३६(१) कुनै आय वर्षकोलागि कुनै व्यक्तिको व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त खुद लाभको गणना सो आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायका नोक्सानी कटाई गर्नु पर्नेछ:
(क) व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,
(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट हुन गएको खुद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र
(ग) कुनै आय वर्षमा सो व्यवसाय वा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट विगतमा हुन गएको खुद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।
कुनै पनि व्यक्तिको कुनै आय वर्षमा व्यावसायिक सम्पत्ति र दायित्वको निर्सगबाट खुद लाभको गणना गर्दा उक्त व्यक्तिको व्यावसायिक सम्पत्ति र दायित्वको निःसर्गबाट प्राप्त सबै लाभको योगबाट व्यावसायिक सम्पत्ति वा दायित्वको निःसगबाट सो वर्ष हुन गएको नोक्सानी, अन्य व्यवसायबाट भएको नोक्सानी रकममध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी साथै अन्य व्यवसायबाट विगतमा भएको खुद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी घटाई बाँकी हुने रकमलाई खुद लाभ भनिन्छ । यस व्यवस्था अनुसार खुदलाभ निम्नानुसार गणना गर्नु पर्दछः
क. आय वर्षभरी निःसर्ग भएका व्यावसायिक सम्पत्ति र दायित्वको निःसर्गबाट प्राप्त लाभको योग
ख. घटाउने,
१. व्यावसायिक सम्पत्ति र दायित्वको निःसर्गमा भएको यस आ.व. को नोक्सानी,
२. यस आ.व. मा कुनै व्यवसायबाट हुन गएको खुद नोक्सानीमध्ये अन्यत्र कही हुन नसकेको नोक्सानी,
३. विगत वर्षमा हुन गएको खुद नोक्सानीमध्ये कट्टी नभएको बाँकी नोक्सानी,
४. दफा २० (७) बमोजिम व्यवसायको ७ वा १२ वर्षसम्म कट्टी नभएको बाँकी नोक्सानी,
ग. खुद लाभ (क - ख)
उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.३.१
मानौं, सुलेमान एक प्राकृतिक व्यक्ति हुन् । निजको व्यवसायमध्ये सुलेमान किराना पनि एक रहेछ । उक्त व्यवसायको आ.व. २०६५/६६ मा खुद नोक्सानी रु.२ लाख रहेछ । निजको अर्को व्यवसाय सुलेमान फर्निचर व्यापार रहेछ । उक्त फर्निचर व्यापारमा सो वर्ष रु. ३ लाख नोक्सानी भएको रहेछ । उक्त नोक्सानी अन्यत्र कतै पनि कट्टा हुन सकेको (Unrelieved Loss) रहेनछ । निजको उक्त फर्निचर व्यापारबाट आ.व. २०६४/६५ मा रु.२ लाख नोक्सान भएको रहेछ । निजको उक्त व्यापारमा व्यवसायको लागि प्रयोग गरिएको जग्गा सो आ.व.मा रु. ५० लाखमा बिक्री गरेका रहेछन् । उक्त जग्गा निजले चार वर्ष अघि रु.२० लाखमा खरिद गरेका रहेछन् । यस अवस्थामा सम्पत्तिको निःसर्गमा खुद लाभको गणना निम्नानुसार गर्नु पर्दछ ।
| विवरण | किराना पसल | फर्निचर व्यवसाय |
|---|---|---|
| आ.व. ०६५/६६ को कट्टी हुन नसकेको नोक्सानी रु. | २,००,०००/- | ३,००,०००/- |
| गत वर्षको बाँकी नोक्सानी रु. | - | २,००,०००/- |
| कुल कट्टा हुन बाँकी नोक्सानी रु. | २,००,०००/- | ५,००,०००/- |
व्यावसायिक सम्पत्ति निःसर्गबाट भएको खुद लाभको गणनाः
| विवरण रकम | - |
|---|---|
| १. आम्दानी: जग्गा बिक्री (इन्कमिंग) रु. | ५० लाख |
| घटाउने: | - |
| २. खर्च : जग्गाको लागत मूल्य (आउटगोइंग) रु. | २० लाख |
| ३. लाभ (१ - २) रु. | ३० लाख |
| घटाउने: | - |
| ४. व्यावसायिक सम्पत्ति वा दायित्वमा यो वर्ष भएको नोक्सानी रु. | ५ लाख |
| ५. व्यावसायिक सम्पत्ति वा दायित्वमा विगतमा भएको नोक्सानी रु. | २ लाख |
| ६. व्यवसायको अवधि नाघेको भएको कट्टी हुन नपाएको नोक्सानी रु. | ० |
| खुद लाभ (३४ - ५ - ६ ) | २३ लाख |
व्यवसायमा भएको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गमा भएको खुद लाभ दफा ७(२) (ग) बमोजिम व्यवसायको आय निर्धारण गर्दा समावेश हुन्छ ।
३६(२) कुनै आय वर्षकोलागि कुनै व्यक्तिको लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभको गणना सो आय वर्षमा सो लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायको नोक्सानी कटाई गर्नु पर्नेछ:
(क) सो लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,
(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसाय वा लगानीबाट हुन गएको खुद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र
(ग) विगतको कुनै आय वर्षमा सो व्यक्तिको सो लगानी, कुनै व्यवसाय वा अन्य कुनै लगानीबाट हुन गएको खुद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी |
कुनैपनि आय वर्षमा कुनैपनि व्यक्तिले लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त गर्ने लाभको योगबाट लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिबाट सो वर्षमा हुन गएको सबै नोक्सानीका साथै अन्य व्यवसाय वा लगानीबाट हुन गएको नोक्सानी रकममध्ये अन्यत्र कट्टी हुन नसकी बाँकी रहेको खुद नोक्सानी र विगतको कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको नोक्सानीमध्ये कट्टी नभईबाँकी रहेको नोक्सानी कट्टी गरी गणना गर्नुपर्दछ । गैर व्यावसायिक सम्पत्तिको खुद लाभ गणना गर्दा व्यवसाय तथा लगानीमा भएको नोक्सानी समायोजन गर्न पाइन्छ । यस व्यवस्था अनुसार खुदलाभ निम्नानुसार गणना गर्नु पर्दछ:
क. आय वर्षभरी निःसर्ग भएका गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभको योग
ख. घटाउने,
१. गैर व्यावसायिक सम्पत्तिको निःसर्गमा भएको यो आ.व. को नोक्सानी
२. यस आ.व. को लगानीको नोक्सानी
३. व्यावसायिक सम्पत्ति र दायित्वको निःसर्गमा भएको नोक्सानी समेत यस आ.व. को व्यवसायको नोक्सानी
४. व्यावसायिक सम्पत्ति र दायित्वको निःसर्गमा भएको विगतको कट्टी नभएको बाँकी नोक्सानी
५. दफा २०(७) बमोजिम व्यवसायको ७ वा १२ वर्षसम्म र लगानीको विगतमा कट्टी नभएको बाँकी नोक्सानी
ग. खुद लाभ (क-ख)
उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.३.२
मानौं, सुलेमान एक प्राकृतिक व्यक्ति हुन । निजलाई आ.व. २०६५/६६ मा शेयर बिक्रीबाट रु. २ लाख नोक्सानी भएको रहेछ । निजको फर्निचर व्यापार पनि रहेछ । उक्त फर्निचर व्यापारमा सो वर्ष रु.३ लाख नोक्सानी भएको रहेछ । उक्त नोक्सानी अन्यत्र कतै पनि कट्टा हुन सकेको रहेनछ । निजको उक्त फर्निचर व्यापारबाट आ.व.२०६४/६५ मा रु. २लाख नोक्सान भएको रहेछ । निजले आफ्नो नाममा रहेको निजी जग्गा (गैर व्यावसायिक करयोग्य सम्पत्ति) सो आ.व.मा रु ६० लाखमा बिक्री गरेका रहेछन् । उक्त जग्गा निजले चार वर्ष अघि रु.२० लाखमा खरिद गरेका रहेछन् । यस अवस्थामा सम्पत्तिको लाभको गणना निम्नानुसार गर्नुपर्दछ ।
| शेयर कारोबारमा नोक्सानी | रु. २ लाख |
|---|---|
| फर्निचर व्यापार मा आ.व. ०६५/६६ को नोक्सानी | रु. ३ लाख |
| गत वर्ष (आ.व. ०६४/६५) को बाँकी नोक्सानी | रु. २ लाख |
| कुल कट्टा हुन बाँकी नोक्सानी | रु. ७ लाख |
| सम्पत्ति निःसर्गबाट भएको खुद लाभको गणनाः | - |
| विवरण रकम | - |
| १. जग्गा बिक्री (गैर व्यावसायिक सम्पत्तिको निःसर्ग) रु. | ६० लाख |
| घटाउने: | - |
| २. जग्गाको लागत मूल्य रु. | २० लाख |
| ३. लाभ (१-२) रु. | ४० लाख |
| घटाउने: | - |
| ४. गैर व्यावसायिक सम्पत्ति निःसर्गमा यो वर्ष भएको नोक्सानी रु. | २ लाख |
| ५. गैर व्यावसायिक सम्पत्ति निःसर्गमा विगतमा भएको नोक्सानी रु. | ० |
| ६. सोही आय वर्षमा अन्य व्यवसायमा भएको नोक्सानी रु. | ३ लाख |
| ७. विगत आय वर्षमा अन्य व्यवसायमा भएको नोक्सानी रु. | २ लाख |
| ९. व्यावसायिक सम्पत्ति निःसर्गमा विगतमा भएको नोक्सानी | ० |
| ७. अवधि नाघेका कारण कट्टी हुन नपाएको बाँकी नोक्सानी | ० |
| खुद लाभ (३-४-५-६) | ३३ लाख |
लगानीमा प्रयोग भएको गैर व्यावसायिक कर लाग्ने सम्पत्तिबापतको खुद लाभ दफा ९ (२) (ख) बमोजिम लगानीको आय निर्धारण गर्दा समावेश हुने रकममा गणना गरिन्छ ।
३६(३) विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानीका सम्बन्धमा कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम कट्टी गर्ने दाबी कुनै विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभको हदसम्म मात्र गर्न सक्नेछ ।
कुनै व्यक्तिको विदेशी स्रोतको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानी सोही विदेशी स्रोतको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभ वा लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभबाट मात्र कट्टी दाबी गर्न सक्नेछ । जस्तै, कुनै व्यक्तिको भारतको व्यावसायिक सम्पत्तिको निःसर्गमा नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी भारतको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभ वा भारतको लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभबाट मात्र कट्टी दाबी गर्न सक्नेछ । त्यस्तै, कुनै व्यक्तिको विदेशी स्रोतको लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट हुन गएको नोक्सानी सोही विदेशी स्रोतको लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभबाट मात्र कट्टी दाबी गर्न सक्नेछ । जस्तै, कुनै व्यक्तिको भारतको लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी भारतको लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभबाट मात्र कट्टी दाबी गर्न सक्नेछ । उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.३.३: मानौं, सुलेमान एक बासिन्दा प्राकृतिक व्यक्ति हुन । निजलाई आ. व. २०६५/६६ मा भारतमा रहेको शेयर बिक्रीबाट रु.५ लाख नोक्सानी भएको रहेछ । निजको नेपालको व्यवसायबाट सो आ.व. मा रु. २ लाख नोक्सानी भएको रहेछ । निजको भारतमा फर्निचर उद्योग पनि रहेछ । उक्त फर्निचर उद्योगमा सो वर्ष रु.३ लाख नोक्सानी भएको रहेछ । निजको सो उद्योगले भारतमा प्रयोग गरिआएको जग्गा ( व्यावसायिक सम्पत्ति) आ.व. २०६४/६५ मा बिक्री गर्दा रु. २० लाख नोक्सानी भएको रहेछ । उक्त नोक्सानी गत आ.व.मा समायोजन हुन सकेको रहेनछ । यस आ.व.मा निजले सोही उद्योगको भारतस्थित अर्को जग्गा रु. ६० लाखमा बिक्री गरेका रहेछन् । उक्त जग्गा निजले चार वर्ष अघि रु.२० लाखमा खरिद गरेका रहेछन् भने त्यस अवस्थामा भारतमा रहेको व्यावसायिक सम्पत्तिको निःसर्गबाट भएको लाभको गणना निम्नानुसार गर्नु पर्दछ ।
| भारतको शेयरको निःसर्गमा नोक्सानी: | रु. ५ लाख |
|---|---|
| भारतको फर्निचर उद्योगको नोक्सानी: | रु. ३ लाख |
| नेपालको व्यवसायको नोक्सानी: | रु. २ लाख |
| गत वर्षको भारतमा रहेको व्यावसायिक सम्पत्तिको निःसर्गको समायोजन हुन बाँकी नोक्सानी: | रु.२० लाख |
व्यावसायिक सम्पत्ति निःसर्गबाट भएको खुद लाभको गणनाः
| विवरण | रकम रु. |
|---|---|
| १. भारतमा रहेको जग्गा बिक्री (व्यावसायिक सम्पत्तिको निःसर्ग) | ६० लाख |
| घटाउने: | - |
| २. जग्गाको लागत मूल्य | २० लाख |
| ३. लाभ (१-२) | ४० लाख |
| घटाउने: | - |
| ४. भारतको फर्निचर उद्योगमा भएको नोक्सानी | ३ लाख |
| ५. गत वर्षको भारतमा रहेको व्यावसायिक सम्पत्तिको निःसर्गबाट नोक्सानी | २० लाख |
| ६. भारतमा रहेको शेयरको निःसर्गमा भएको नोक्सानी | ५ लाख |
| ७. नेपाल स्रोत रहेको व्यवसायको नोक्सानी | २ लाख |
| खुद लाभ (३-(४+५+६+७)) | १० लाख |
३६(४) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम एकभन्दा बढी गणनामा व्यवसाय वा लगानीबाट हुन गएको खुद नोक्सानी उपदफा (१) वा (२) बमोजिम कट्टी गर्न सक्ने भएमा निजले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने प्रयोजनको लागि गणनाहरुको छनौट गर्न सक्नेछ ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि,
(१) "खुद नोक्सानी” भन्नाले,
(क) कुनै व्यवसायको सम्बन्धमा कुनै आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ, र
(ख) कुनै लगानीको सम्बन्धमा कुनै आय वर्षमा सो लगानीको करयोग्य गैर व्यावसायिक सम्पत्तिको निःसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो लगानीको करयोग्य गैर व्यावसायिक सम्पत्तिको निः सर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ ।
(२) "कट्टी हुन नसकेको खुद नोक्सानी” भन्नाले कुनै व्यवसाय वा लगानीको,
(क) कुनै आय वर्षमा सो व्यवसाय वा लगानीको सो वर्षमा भएको खुद नोक्सानी मध्ये उपदफा (१) को खण्ड (ख) वा (ग) वा उपदफा (२) को खण्ड (ख) वा (ग) बमोजिम कट्टी हुन नपाएको नोक्सानी, र
(ख) दफा २० को उपदफा (१) वा (२) को समय सीमाको कारणले खर्च मिनाहा पाउन नसकिने सो व्यवसाय वा लगानीको सो दफाको उपदफा (७) बमोजिमको कुनै कट्टी हुन नसकेको नोक्सानी सम्झनु पर्छ ।
विदेशी स्रोतको सम्पत्ति र दायित्वको निःसर्गबाट हुन गएको नोक्सानी, कुनै विदेशी स्रोतको सम्पत्ति र दायित्वको निःसर्गबाट प्राप्त लाभको हदसम्म मात्र दाबी गर्न पाउँदछन । नेपाल स्रोत भएको सम्पत्तिको निःसर्गबाट भएको लाभबाट मिलान गर्न भने पाईंदैन । उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.३.४
मानौं, कुनै व्यक्तिको आयको अवस्था निम्नानुसारको रहेछ:
१. व्यावसायिक सम्पत्तिको निःसर्गबाट रु.५०,०००/- लाभ रहेछ,
२. विगत वर्षमा व्यावसायिक सम्पत्तिको निःसर्गबाट रु.३०,०००/- नोक्सानी रहेछ
३. विदेशी स्रोतको सम्पत्तिबाट रु.१०,०००।- नोक्सानी रहेछ
सो व्यक्तिले माथि उल्लिखित व्यावसायिक सम्पत्तिको निःसर्गबाट भएको लाभ रु.५०,०००/- बाट विगत वर्षमा व्यावसायिक सम्पत्तिको निःसर्गबाट भएको नोक्सानी रु.३०,०००/- लाई कट्टी गर्न सक्नेछ तर विदेशी स्रोतको सम्पत्तिबाट भएको नोक्सानी रु.१०,०००/- लाई भने नेपाल स्रोत भएको सम्पत्तिको निःसर्गबाट भएको लाभबाट कट्टी गर्न सक्ने छैन । अर्थात, विदेशी स्रोतको सम्पत्ति / दायित्व र लाभ नोक्सानीको गणना गर्दा विदेशी मुलुकपिच्छे छुट्टाछुट्टै स्रोतको (Per Country Basis) छुट्टाछुट्टै गणना गर्नु पर्नेछ ।
२२.४ सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी
ऐनको दफा ३७ मा सम्पत्ति तथा दायित्वबाट प्राप्त लाभ र नोक्सानीको गणना सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
३७(१) कुनै सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको कुनै व्यक्तिको लाभ निःसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापतको खर्चहरुको (आउट गोइङ्गस) योगभन्दा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीको योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।
३७(२) कुनै सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको कुनै व्यक्तिको नोक्सानी निःसर्गको समयमा सो सम्पत्ति वा दायित्वबापत प्राप्त आम्दानीहरुको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको खर्चको (आउट गोइङ्गस) योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।
कुनै सम्पत्ति वा दायित्वको निःसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापतको खर्च (Outgoings) को योगभन्दा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानी (Incomings) को योग बढी भएको खण्डमा बढी भएजतिको रकम लाभ हुन्छ भने घटी भएमा घटी भएजतिको रकम नोक्सानी हुन्छ । उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.४.१
मानौं, कुनै प्राकृतिक व्यक्तिले १ वर्ष अगाडि बनाएको घर बिक्री गरेको रहेछ । बिक्री हुँदाका बखतसम्म जग्गा खरिद गरी त्यो घर बनाउनको लागि रु.१,२०,००,०००/- खर्च भएको रहेछ । बिक्रीको समयमा लागिरु.२०,०००/- खर्च भएको रहेछ भने निःसर्गको | बिक्री गर्नको समयमा त्यो घर बापत रु.१,२०,२०,०००/- खर्च (Out-goings) मानिन्छ ।
• बिक्रीबाट रु. १,२५,००,०००/- प्राप्त (Incomings) भएछ भने, सो सम्पत्तिको खर्च (Outgoings) रु १,२०,२०,०००/- भई रु. ४,८०,०००/- लाभ हुन्छ ।
• बिक्रीबाटरु. १,१९,००,०००/- प्राप्त (Incomings) भएछ भने, सो सम्पत्तिको खर्च (Outgoings) रु. १,२०,२०,०००/- भई रु.१,२०,०००।- नोक्सान हुन्छ ।
२२.५ सम्पत्ति र दायित्वहरु बापतको खर्च तथा खुद खर्च
ऐनको दफा ३८ मा सम्पत्ति तथा दायित्वबाट प्राप्त खर्च तथा खुद खर्चको गणना सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
३८(१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतको खर्चहरुमा देहायका खर्चहरु समावेश हुनेछन्:
(क) कुनै सम्पत्तिको सम्बन्धमा देहायका रकमहरु लगायत सो सम्पत्ति प्राप्त गर्दा सो व्यक्तिबाट गरिएका खर्चहरु:
(१) सो सम्पत्तिको निर्माण वा उत्पादन गर्दा लागेको सम्बन्धित खर्च, र
(२) त्यस्तो सम्पत्ति प्राप्त भएको कारणले त्यस्तो व्यक्तिको आय गणना गर्दा समावेश गरिनु पर्ने कुनै रकम ।
(ख) सो सम्पत्ति वा दायित्वको परिवर्तन, सुधार र मर्मत सम्भार गर्दा लागेको खर्च लगायत सो सम्पत्ति वा दायित्वको स्वामित्व लिँदा निजबाट गरिएको खर्च, र सम्पत्तिको सम्बन्धमा सो सम्पत्तिको मर्मत सम्भार गर्दा लागेको खर्च,
(ग) सो सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा निजबाट गरिएको खर्च, र
(घ) सो सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्दा र त्यस्तो सम्पत्ति वा दायित्व निःसर्ग गर्दा निजबाट गरिएका आकस्मिक खर्चहरु । तर यस्तो खर्चमा दफा २१ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (घ) र (ङ) बमोजिमका खर्चहरु र आय निर्धारण गर्दा कट्टी गर्न सकिने हद सम्मका खर्चहरु समावेश गर्नुपर्ने छैन ।
सम्पत्ति तथा दायित्व बापतको खर्च (Outgoings) मा सम्पत्तिको निर्माण वा उत्पादन गर्दा लागेको खर्च, सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्दा लागेको खर्च, सो सम्पत्ति वा दायित्वको परिवर्तन, सुधार र मर्मत सम्भार गर्दा लागेको खर्च लगायत सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा लागेको खर्च समावेश गरी खर्च (Outgoings) यकिन गर्नुपर्छ । तर व्यवसायको आय गणना गर्दा कट्टी हुने रकम एवम् निजी प्रकृतिका तथा सो सम्पत्ति वा दायित्वसँग असम्बन्धित खर्च भने सो सम्पत्ति तथा दायित्व बापतको खर्च (Outgoings) मा समावेश हुने छैनन् । सम्पत्ति तथा दायित्व बापतको खर्च (Outgoings) मा आय निर्धारण हुँदा कट्टी हुने रकम बाहेकका निम्न रकम समावेश हुन्छन्:
क. सो सम्पत्ति वा दायित्व प्राप्त गर्दा तिरिएका रकम (Amount paid at inception)
ख. सो सम्पत्ति वा दायित्वको स्वामित्व धारण गर्दा तिरिएका रकम (Amount paid during holding period)
ग. सो सम्पत्ति वा दायित्व निःसर्ग गर्दा तिरिएका रकम (Amount paid at disposal)
घ. सो सम्पत्ति वा दायित्व प्राप्तिका कारणले तिर्नु परेको रकम (Amount on which tax paid due to receipt of asset or liability)
सम्पत्ति तथा दायित्व बापतको खर्च (Outgoings) अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.५.१
मानौं, गोपाल सापकोटाले आ. व. २०६०/६१ मा रु.४० लाखमा जग्गा खरिद गरेका रहेछन् । उक्त जग्गा खरिद गर्दा निजले दलाललाई रु.२ लाख कमिशन दिएका रहेछन् । उक्त जग्गाको लिखत एवम् रजिष्ट्रेशन बापतरु. १ लाख ७५ हजार खर्च भएको रहेछ । निजले सो जग्गामा कम्पाउण्डवाल लगाउँदा रु. ३ लाख खर्च गरेका रहेछन् । निजले सो जग्गा खरिद गर्न बैंकबाट कर्जा लिएका रहेछन् । आ.व. २०६६/६७ मा निजले सो जग्गा रु. १ करोडमा बिक्री गरेका रहेछन् । सो मितिसम्म ब्याज रु. ७ लाख भुक्तान गरेका रहेछन् । निजले जग्गा बिक्री गर्दा दलाललाई रु.३ लाख कमिशन दिएका रहेछन् । निजले जग्गा किनेको खुसियालीमा सोही जग्गामा रु.५० हजार खर्च गरी आफ्ना हितैषीलाई भोज खुवाएका रहेछन् ।
यस अवस्थामा उक्त जग्गा बापतको खर्च (Outgoings) को गणना निम्नानुसार गरिन्छः
जग्गाको खरिद मूल्य रु.४० लाख
जग्गा खरिदमा दलाल कमिसन रु. २ लाख
लिखत एवम् रजिष्ट्रेशन रु. १.७५ लाख
कम्पाउण्डवाल रु. ३ लाख
व्याज खर्च रु. ७ लाख
भोज खर्च नपाउने
जग्गा बिक्रीमा दलाल कमिशन रु. ३ लाख
जग्गाको लागत (outgoing) रु. ५६.७५ लाख
यसरी उक्त सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ गणना गर्ने प्रयोजनको निमित्त रु. ५६ लाख ७५ हजार सो जग्गाबापतको खर्च (Outgoings) मानिन्छ ।
सम्पत्ति प्राप्त गर्दा लागत तिर्न नपरेको अवस्थामा आय मानिएको रकम वा सम्पत्तिमा भएको वृद्धिका कारण सो व्यक्तिले कर तिर्नु परेको अवस्थामा सो सम्पत्ति वा वृद्धि बापत कर लेखाइनमा समावेश भएको रकमलाई सो सम्पत्तिबापतको खर्च (Outgoings) मानिन्छ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.५.२
मानौं, कुनै विदेशी सरकारले Michelभन्ने सो देशको नागरिकलाई नेपालस्थित सो देशको एम्बेसीमा रोजगारी दिएको रहेछ । सो विदेशी सरकारले निजलाई | तलबमा नगदको अलावा सो विदेशी सरकारद्वारा निष्काशन गरिएका केही Bonds समेत दिएको रहेछ । ती Bonds को तत्कालिन बजार मूल्य मानौं रु १ लाख रहेछ । निजको हकमा तलबको स्वरूपमा प्राप्त गरेको नगद र Bonds, ऐनको दफा १० अनुसार कर छुट हुने रकम हो । मानौं, अर्को वर्ष निजले उक्त Bondsरु. १,०५,०००/- मा नेपालमा बिक्री गरेको रहेछ । यस अवस्थामा सो सम्पत्ति निःसर्गबाट हुने लाभ गणना गर्दा खर्च रु.१,००,०००।- तथा आम्दानी रु.१,०५,०००/- मानी गणना गर्नु पर्दछ ।
३८(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खुद खर्चहरु सो समयमा सो सम्पत्ति वा दायित्व बापतका सबै आम्दानीहरुको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको सबै खर्चहरुको योग बढी भए जतिको रकमहरु मानी गणना गर्नु पर्नेछ ।
३८(३) परिच्छेद६ र ७ मा उल्लिखित आय गणना गर्दा कट्टी गरिने खर्च रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको खर्च रकमको सन्दर्भमा भए सरह मानी उपदफा (१) बमोजिमका खर्चहरुका सम्बन्धमा लागू हुने छन् । तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन ।
सम्पत्ति तथा दायित्व बापतको खर्च (Outgoings) मा सम्पत्तिको निर्माण वा उत्पादन गर्दा लागेको खर्च, सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्दा लागेको खर्च, सो सम्पत्ति वा दायित्वको परिवर्तन, सुधार र मर्मत सम्भार गर्दा लागेको खर्च लगायत सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा लागेको खर्च समावेश गरी खर्च (Outgoings ) यकिन गर्नुपर्छ । तर व्यवसायको आय गणना गर्दा कट्टी हुने रकम भने यसको खर्चको लागि ग्राह्य हुँदैन । कुनै व्यावसायिक सम्पत्तिको निःसर्गको समयसम्ममा भएको जम्मा खर्चमा सो समयसम्मको आम्दानी घटाउँदा आउने रकम सो सम्पत्ति बापतको खुद खर्च ( Net Outgoings) हो । सम्पत्ति बापतका खुद खर्च गणना गर्दा दफा २६ बमोजिम गणना भएको दीर्घकालीन करार बापत लिन बाँकी रहेको रकमलाई समावेश गरिदैन । कुनै पनि सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभ वा नोक्सानी सम्बन्धी दफा ३७ ले व्याख्या गरे अनुसार उक्त सम्पत्तिको निःसर्ग हुँदाको अवस्थामा सम्पत्तिको खर्च कसरी यकिन गर्ने भन्ने सम्बन्धमा यस दफाले व्याख्या गरेको छ ।
कुनै व्यक्तिले नगदको बदला जिन्सीमा आय प्राप्त गरेका रहेछन् भने यसरी जिन्सीमा प्राप्त गरेको सम्पत्तिलाई मूल्याङ्कन गरी आयमा समावेश गरिन्छ । यसरी मूल्याङ्कन भएको उक्त सम्पत्तिको मूल्यलाई सो सम्पत्ति बापतको खर्च ( Outgoing ) मानिन्छ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.५.३
मानौं, गोपेश एण्ड कम्पनी प्रा. लि. ले जग्गा खरिद गर्दा रु.४० लाख तिरेको रहेछ । अर्को वर्षमा सो जग्गालाई सम्याए बापतको खर्च रु.१ लाख रहेछ । तेस्रो वर्षमा साँध नमिलेको केही भाग सँधियारलाई मिलाउन जग्गा दिएबापत रु. २ लाख प्राप्त गरेको रहेछ । यस्तो अवस्थामा सो जग्गा बापतको खुद खर्च (Net Outgoings) निम्नानुसार गणना गरिन्छः
पहिलो वर्ष जग्गा बापतको खर्च (Outgoings) : रु. ४० लाख
दोस्रो वर्ष जग्गा सम्याए बापतको खर्च (Outgoings) : रु. १ लाख
दोस्रो वर्ष जग्गा बापतको खर्च (Outgoings): रु. ४१ लाख
तेस्रो वर्ष जग्गा बापतका निसर्ग (Disposal) : रु. २ लाख
तेस्रो वर्ष जग्गा बापतको खर्च (Outgoings) : रु. ३९ लाख
लेखाडून प्रयोजनका लागि सम्पत्ति बापतको खर्च (Outgoings) नै कर आधार (Tax Base) हुन्छ ।
२२.६ सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खुद आम्दानी
ऐनको दफा ३९ मा सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खुद आम्दानीको गणना सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
३९(१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानीहरुमा देहायका रकमहरु समावेश गर्नु पर्नेछ:
(क) निजले दायित्वको सम्बन्धमा दायित्व बहन गर्दा प्राप्त गरेका रकमहरु,
(ख) सम्पत्तिको मूल्य परिवर्तन वा न्यून गरी वा दायित्व वृद्धि गरी प्राप्त गरिएकारकमहरु लगायत सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्ने सम्बन्धमा निजबाट प्राप्त गरिने रकमहरु, र
(ग) सो सम्पत्ति वा दायित्वको निःसर्ग सम्बन्धमा निजले प्राप्त गरेको वा प्राप्त गर्ने रकमहरु |
तर यस्तो आम्दानीमा करछुट पाएको रकम, अन्तिम रूपमा कट्टी हुने भुक्तानी वा सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिने रकमहरु समावेश हुने छैनन्
३९(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खुद आम्दानीहरुमा सो समयमा सो सम्पत्ति वा दायित्व बापतका खर्चहरुको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतका आम्दानीहरु बढी भए जतिको रकमहरु समावेश गर्नु पर्नेछ ।
३९(३) परिच्छेद६ र ७ मा उल्लिखित विषयका सम्बन्धमा आय गणना गर्दा आयमा समावेश गरिने रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानी रकमको सन्दर्भमा भए सरह मानी उपदफा (१) बमोजिम गर्नु पर्नेछ । तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन ।
यो दफा विशेषगरी सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त हुने आम्दानी (Incoming) सँग सम्बन्धित छ । ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्तिबापतको आम्दानी (Incoming) भन्नाले सो सम्पत्ति निःसर्ग गर्दा निजले प्राप्त गरेको वा प्राप्त गर्ने रकम सम्झनु पर्दछ । एवम्, दायित्वको सम्बन्धमा दायित्व बहन गर्दा प्राप्त गरेको रकम आम्दानी हुन् । सम्पत्तिको मूल्य परिवर्तन वा न्यून गरी वा दायित्व वृद्धि गरी प्राप्त गरिएका रकम लगायत सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्दा निजबाट प्राप्त गरिने रकम पनि आम्दानीमा समावेश हुन्छन । तर यस्तो आम्दानी दफा १० अनुसार कर छुट पाएको रकम, दफा ९२ अनुसार अन्तिम रूपमा कट्टी हुने भुक्तानी र सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिने रकम समावेश गरिदैन । एवम् प्रकार रकमको परिमाणीकरण, चारित्रीकरण तथा बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार यदि त्यस्तो अवस्था सम्पत्ति दायित्वको कारणले सिर्जना भएको हो भने वा आम्दानी(Incomings)गणना भए सरह मानी यसै दफाको उपदफा (१) अनुसार गर्नु पर्दछ । सारांशमा सम्पत्ति तथा दायित्व बापतको आम्दानी (Incomings) मा आय गणना गर्दा समावेश हुने रकम बाहेकका निम्न रकम समावेश हुन्छन्ः
क. सो सम्पत्ति वा दायित्व प्राप्त गर्दा प्राप्त रकम (Amount receipt at inception)
ख. सो सम्पत्ति वा दायित्वको स्वामित्व वा भारको धारण अवधिमा प्राप्त रकम (Amount receipt during holding period)
ग. सो सम्पत्ति वा दायित्व निःसर्ग गर्दा प्राप्त रकम (Amount received at disposal) सम्पत्ति तथा दायित्व बापतको आम्दानीमा सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्ने सम्बन्धमा प्राप्त गरिने रकम लगायत सो सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त गरेको वा प्राप्त गर्ने रकम समावेश गरी आम्दानी यकिन गर्नुपर्छ । तर व्यवसायको आय गणना गर्दा समावेश हुने रकम भने यस्तो आम्दानीमा समावेश गर्नु पर्दैन ।
२२.७ सम्पत्ति वा दायित्वको निःसर्ग
ऐनको दफा ४० मा सम्पत्ति तथा दायित्वको निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ
४०(१) कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको निःसर्ग गरेको मानिनेछ । सम्पत्तिको निःसर्गमा सो सम्पत्तिको स्वामित्व भएको व्यक्तिबाट सो सम्पत्तिको वितरण गरिनु सो सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, किस्ताबन्दी बिक्रीको माध्यमबाट बिक्री गर्नु वा वित्तीय पट्टा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पट्टामा दिइनु रद्ध गरिनु, विनास हुनु, हराउनु, म्याद सकिनु वा समर्पण गरिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ ।
कुनै व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति अर्को व्यक्तिलाई स्वामित्व हस्तान्तरण गरेमा वा स्वामित्व आफूबाट हटेमा त्यसलाई निःसर्ग मानिन्छ । निःसर्ग भन्ने शब्द केवल स्वामित्वको हस्तान्तरण मात्रै नभई यस शब्दले स्वामित्वमा भएको व्यक्तिले वितरण गर्नु, अन्य सम्पत्ति वा दायित्वमा गाभिनु (Acquisition, Merger or Amalgamation) वा किस्ताबन्दीमा बिक्री (Installment Sale), वित्तिय पट्टामा दिनु (Finance Lease), सम्पत्ति रद्ध (Cancellation), विनाश हुनु (Extingishment), हराउनु, म्याद सिद्धिनु वा समर्पण (Surrendered) जस्ता स्वामित्वबाट हट्ने कार्यलाई समेटेको छ । Disposal को अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.७.१
मानौं, मेडिको नेपाल प्रा. लि. एउटा औषधि उत्पादन गर्ने कम्पनी रहेछ । उक्त कम्पनीलाई Global Lab Nepal Limited नामको अर्को औषधि उत्पादन गर्ने कम्पनीले मिति २०६५।१०।१ को मितिदेखि लागू हुने गरी Takeover (acquisition) गरेको रहेछ । यसरी Acquisitionगरेको अवस्थामा मेडिको नेपाल प्रा.लि.ले आफ्नो सम्पत्ति र दायित्व निःसर्ग गरेको मानिन्छ ।
४०(२) कुनै व्यक्ति कुनै दायित्वको भारबाट हटेमा निजले सो दायित्वको निःसर्ग गरेको मानिनेछ । दायित्वको निःसर्गमा दायित्व फछर्यौट, रद्ध, मुक्त, समापन हुनु वा अर्को दायित्व वा सम्पत्तिमा गाभिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ ।
उपदफा (१) मा सम्पत्तिको बारेमा उल्लेख गरिएको छ भने यस दफामा दायित्वको निःसर्गको बारेमा व्याख्या गरिएको छ । कुनै पनि व्यक्तिको दायित्व निजबाट हटेमा निजले सो दायित्व निःसर्ग गरेको मानिन्छ । दायित्वको निःसर्गमा दायित्वको फछ्यौट (Settlement of Credit/Liabilities) दायित्व रद्ध (cancelled), मूक्त (forgive), समापन हुनु वा दायित्व वा सम्पत्तिमा गाभिनु (Acquisition, Merger or Amalgamation) जस्ता कार्य पर्दछन् । कम्पनी अन्य कम्पनीमा गाभिई (Acquisition) वा कुनै दुई वा सोभन्दा बढी कम्पनी एक आपसमा गाभिई (Merger) सम्पत्ति तथा दायित्वको निःसर्ग हुन सक्दछ ।
४०(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै सम्पत्ति वा दायित्वको देहायका अवस्थाहरुमा निःसर्ग गरेको मानिनेछ:
(क) प्राकृतिक व्यक्तिको सम्बन्धमा सो व्यक्तिको मृत्युको तत्काल अघि,
कुनै प्राकृतिक व्यक्तिको आफ्नो स्वामित्वमा रहेको सम्पत्ति निजको मृत्यू भएमा मृत्यूको तत्काल अघि निःसर्ग भएको मानिनेछ । यस प्रकारको निःसर्गको आम्दानी (Incomings) बाट हुने लाभलाई कर गणना गर्ने प्रयोजनको निमित्त मात्र नभई प्रापकको लागि खर्च ( Outgoings ) यकिन गर्ने प्रयोजनको लागि आवश्यक हुन्छ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.७.२
मानौं, महेन्द्र मल्लको नेपालगञ्जमा मिति २०६४।३।१५ मा रु.१ करोड मूल्यमा खरिद गरेको घरजग्गा रहेछ । मिति २०६६।५।६ मा निजको मृत्यू भएछ । सो समयमा उक्त घर जग्गाको मूल्य रु.१ करोड २० लाख रहेछ । महेन्द्र मल्लको मृत्यूको तत्काल अघि अर्थात मिति २०६६।५।६ मा निजको सम्पत्ति रु.१ करोड २० लाखमा निःसर्ग भएको मानिनेछ ।
(ख) कुनै सम्पत्तिको सम्बन्धमा सो सम्पत्ति बापतका आम्दानीहरुको योग सो सम्पत्तिबापतका खर्चहरुको योगभन्दा बढी भएमा,
आयकर प्रयोजनको लागि हासयोग्य सम्पत्ति समुहको आधारमा लेखाङ्कन गरिने र सो समुहको कुनै सम्पत्ति निःसर्ग गर्दा प्राप्त हुने रकम ( आम्दानी ) सो समुहको ह्रास आधार (अर्थात खर्च) भन्दा बढी भएको अवस्थामा बढी भए जति रकम ऐनको दफा ७ को उपदफा (२) को खण्ड (घ) बमोजिम आयमा समावेश गर्नुपर्छ र त्यस्तो सम्पत्तिको समुहको बाँकी मूल्य शून्य हुन्छ र सो सम्पत्ति निःसर्ग भएको मानिन्छ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.७३
मानौं, सर्गेश एण्ड कम्पनी प्रा. लि. को आ.व. २०६५/६६ को सुरुमा समूह “ख” अन्तर्गतको निम्नानुसारका सम्पत्ति रहेछ ।
किताबी मूल्य
१. फर्निचर रु.५०,०००/-
२. कम्प्यूटर रु.१,००,०००/-
जम्मा ह्रास आधार रु.१,५०,०००/-
उक्त समुहको ह्रास आधार रु.१,५०,०००/- नै रहेछ । आ.व.२०६५/६६ मा उक्त कम्पनीले सो समूहमा थप कुनै सम्पत्ति खरिद गरेको रहेनछ । तर कम्पनिले सो वर्ष फर्निचर रु. २ लाखमा बिक्री गरेको रहेछ । यस अवस्थामा सो समुहको ह्रास आधार अर्थात रु.१ लाख ५० हजार निःसर्गको प्रयोजनको निमित्त खर्च (Outgoings) हुने हुन्छ र प्राप्त रकम अर्थात रु. २ लाख आम्दानी (Incomings)हुन्छ । यस अवस्थामा उक्त “ख” वर्गमा पर्ने कम्प्यूटर बिक्री नभएको भएतापनि सो समुहको खर्च (ह्रास आधार) भन्दा निःसर्गबाट प्राप्त रकम (Incomings) बढी भएको हुँदा बढी भए जति रकम अर्थात रु.५० हजारलाई ऐनको दफा ७ को उपदफा (२) को खण्ड (घ) बमोजिम आयमा समावेश गर्नुपर्छ र त्यस्तो सम्पत्तिको समूहको बाँकी मूल्य शून्य हुन्छ र सो सम्पत्ति (समुह ) निःसर्ग भएको मानिन्छ । यदि उक्त फर्निचर बिक्री गर्दा रु. १ लाख ५० हजारभन्दा कम रकम प्राप्त गरेको भए बाँकी रहने मूल्यले उक्त समुह “ख” को प्रतिनिधित्व गर्दथ्यो ।
(ग) ऋण दाबी भएको सम्पत्तिको सम्बन्धमा,
(१) बैंक वा वित्तीय संस्थाको ऋण दाबीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा, र
आयकर नियमावली, २०५९ को नियम ९ मा डुबेको वा खराब ऋणमा परिणत हुने मापदण्ड निम्नानुसार तोकिएको छः
ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) र दफा ४० को उपदफा (३) को खण्ड (ग) को उपखण्ड (१) को प्रयोजनको लागि बैंक वा वित्तीय संस्थाको ऋण डुबेको वा खराब ऋणमा परिणत हुने सम्बन्धमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड अनुसार हुनेछ ।
बैंक तथा वित्तीय संस्थाको हकमा ऋण दाबी असुल उपर नहुने अवस्थामा नेपाल राष्ट्र वैंकबाट निर्धारण गरेको मापदण्ड अनुसार रहनेछ भन्ने व्यवस्था आयकर नियमावलीको नियम ९ मा व्यवस्था गरिएको छ । यस सम्बन्धी उदाहरण सहित व्याख्या परिच्छेद १९ मा गरिएको छ ।
(२) अन्य कुनै अवस्थामा सो व्यक्तिले ऋण दाबी असुलउपर नहुने भनी मनासिवरूपमा विश्वास गरेकोमा । तर सो ऋण दाबी असुलउपर गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरु अवलम्बन गरी सकेको हुन पर्नेछ ।
अन्य ऋण दाबीका हकमा असुल उपर नहुने भनी विश्वस्त भएमा पनि निःसर्ग भएको मानिन्छ। तर ऋण असुल उपर नहुने सम्बन्धमा निजले ऋण असुल गर्नका लागि आवश्यक उपयुक्त उपाय भने अवलम्बन गरेको हुनुपर्दछ ।
(घ) कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैर व्यावसायिक करयोग्य सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दातको किसिम फेरिने गरी त्यस्तो सम्पत्ति निजले प्रयोग गर्न थालेको अवस्थामा सो सम्पत्तिको फेरिएको स्वरूप प्रयोग गर्नुभन्दा तत्काल अघि,
कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, ह्रासयोग्य सम्पत्ति, गैर व्यावसायिक करयोग्य सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दातलाई त्यसको किसिम फेरी प्रयोग गरेमा पनि प्रयोग गर्नुभन्दा तत्काल अघि निःसर्ग भएको मानिन्छ ।
यदि कसैले सवारी साधन बिक्रीको कारोबार गरिरहेको रहेछ भने उसकहाँ भएका सवारी साधन व्यापारिक मौज्दात हुन्छन् तर तीमध्ये एक सवारी आफैले प्रयोग गरेको अवस्थामा सो सवारी साधन सो व्यवसायका लागि ह्रासयोग्य सम्पत्ति हुन्छ । यस अवस्थामा उक्त व्यापारिक मौज्दात (सवारी साधन) निःसर्ग भएको मानिन्छ । आफैले उपयोग गरेको भए तापनि एक प्रकारको सम्पत्तिबाट अर्को प्रकारको सम्पत्तिमा परिणत भएको अवस्थामा सम्पत्ति निःसर्ग भएको मानिन्छः
| निःसर्ग अघि | निःसर्ग पछि |
|---|---|
| व्यापारिक मौज्दात | ह्रासयोग्य सम्पत्ति, गैर व्यावसायिक करयोग्य सम्पत्ति, व्यावसायिक सम्पत्ति |
| ह्रासयोग्य सम्पत्ति | व्यापारिक मौज्दात, गैर व्यावसायिक करयोग्य सम्पत्ति, व्यावसायिक सम्पत्ति |
| गैर व्यावसायिक करयोग्य सम्पत्ति | व्यापारिक मौज्दात, ह्रासयोग्य सम्पत्ति, व्यावसायिक सम्पत्ति |
| व्यावसायिक सम्पत्ति | व्यापारिक मौज्दात, ह्रासयोग्य सम्पत्ति, गैर व्यावसायिक करयोग्य सम्पत्ति |
उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.७.४
मानौं, सुन्तली एण्ड कम्पनी प्रा. लि. एक Real Estate कम्पनी रहेछ । उक्त कम्पनीले घर भाडामा लिई घर जग्गाको कारोबार गर्दै आएको रहेछ । निजको व्यापारिक मौज्दात (Trading Stock) मा रहेको एउटा घरलाई मिति २०६६। ६ । ७ मा आफैले प्रयोग गर्न थालेको रहेछ । यसरी व्यापारिक मौज्दात (Trading Stock) को रूपमा रहेको सो सम्पत्ति निजको वासलातमा स्थिर सम्पत्ति (Fixed Assets) मा परिवर्तन भएको कारण सोही मितिमा उक्त घर (व्यापारिक मौज्दात ) निःसर्ग भएको मानिन्छ र सोही समय उक्त सम्पत्ति ह्रासयोग्य सम्पत्तिको रूपमा गणना हुन्छ ।
(ङ) कुनै निकायको सम्बन्धमा दफा ५७ बमोजिमका अवस्थाहरुमा, र
दफा ५७ बमोजिम कुनै निकायको विगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा दायित्वको निःसर्ग गरेको मानिन्छ । यस सम्बन्धमा उदाहरण सहित विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ ।
(च) नेपालमा अवस्थित जग्गा जमिन वा भवन बाहेक, सो व्यक्ति गैर बासिन्दा व्यक्ति हुनुभन्दा तत्काल अघि ।
कुनै बासिन्दा (Resident) व्यक्तिको नेपालमा अवस्थित जग्गा जमिन वा भवनबाहेक अन्य सम्पत्ति सो व्यक्ति गैरबासिन्दा (Non-resident) व्यक्ति हुनुभन्दा तत्काल अघि निःसर्ग भएको मानिन्छ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.७५
मानौं, शैलेस आ.व. २०६४/६५ सम्म नेपालको बासिन्दा व्यक्ति रहेछन् । निजको काठमाडौंमा घर जग्गा रहेछ । निजको नाममा रु.३ लाखमा खरिद गरेको कुनै सूचिकृत कम्पनीको शेयर रहेछ । निज आ.व. २०६५/६६ मा नेपाल छोडी अष्ट्रेलियामा गएर स्थायी रूपले बसोबास गरिरहेको रहेछन् र उक्त आ.व.मा निज नेपाल फर्केका रहेनछन् । यस अवस्थामा निजको नाममा रहेको उक्त शेयर २०६५ आषाढ मसान्तमा नै निःसर्ग भएको मानिन्छ । तर निजको नाममा रहेको घर जग्गा भने निःसर्ग भएको मानिदैन ।
४०(४) उपदफा (१) बमोजिम कुनै व्यक्तिले कुनै वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्ति पट्टामा दिएर सो सम्पत्तिको निःसर्ग गरेमा निजले जुन व्यक्तिलाई सो सम्पत्ति पट्टामा दिएको हो त्यस्तो व्यक्तिले निःसर्गको समयमा सो सम्पत्तिको स्वामित्व प्राप्त गरेको मानिनेछ ।
वित्तीय पट्टा (Finance Lease) मा दिएमा वास्तविक स्वामित्व हस्तान्तरण नभएपनि पट्टामा लिने व्यक्तिलाई उक्त पट्टाको सम्पत्ति निःसर्ग गरेको मानिन्छ र उक्त सम्पत्ति प्राप्त गर्ने व्यक्तिले सो सम्पत्तिको स्वामित्व समेत प्राप्त गरेको मानिनेछ । वित्तीय पट्टा अन्तर्गत सम्पत्तिको कानुनी रूपमा स्वामित्व (Legal title) हस्तान्तरण नहुने भए तापनि Economic Ownership हस्तान्तरण हुने र उक्त सम्पत्तिको जोखिम (Substantial Risk) समेत सम्पत्ति प्राप्त गर्ने व्यक्तिको हुने हुँदा यस अवस्थामा उक्त सम्पत्तिको Legal Title हस्तान्तरण नभएतापनि सम्पत्तिको निःसर्ग भएको मानिन्छ। ऐनको दफा ३२ अनुसार यसरी गरिने निःसर्गमा सम्पत्तिको पुँजीको भाग तथा व्याजको भाग खुलाई किस्ता निर्धारण गरिनुपर्ने व्यवस्था समेत गरेको छ । यस सम्बन्धमा उदाहरणसहित विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद ७ मा गरिएको छ ।
४०(५) सम्पत्ति तथा दायित्वहरुको निःसर्गबाट कुनै व्यक्तिले प्राप्त गरेको लाभ गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछ:
(क) यो ऐन प्रारम्भ हुँदाका बखत सो व्यक्तिको स्वामित्वमा रहेका कुनै सम्पत्तिबापतका खुद खर्चहरुको रकम सो बखत उक्त सम्पत्तिको प्रचलित बजार मूल्य बराबर मानिनेछ,
(ख) यो ऐन प्रारम्भ हुँदाका बखत कुनै व्यक्तिको दायित्व बापतका खुद आम्दानीहरु त्यस बखत उक्त दायित्वको प्रचलित बजार मूल्य अनुसारको रकम बराबर मानिनेछ ।
२२.८ सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निःसर्ग
ऐनको दफा ४१ मा सम्पत्ति तथा दायित्वको निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ
४१ कुनै व्यक्तिले दफा ४० को उपदफा (३) को खण्ड (ग), (घ), (ङ) र (च) मा उल्लिखित कुनै पनि तरिकाले कुनै सम्पत्ति वा दायित्व निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ:
(क) सम्पत्तिको सम्बन्धमा,
(१) सो व्यक्तिलाई निःसर्ग बापत निःसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त भएको मानिनेछ, र
(२) त्यस्तो सम्पत्ति पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको बखतसम्म सो सम्पत्ति बापत गरिएका खुद खर्चहरू (नेट आउटगोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिने छ ।
(ख) दायित्वको सम्बन्धमा,
(१) सो व्यक्तिलाई निःसर्गको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निःसर्ग बापत खर्च गरेको मानिनेछ, र
(२) त्यस्तो दायित्व पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको समयसम्म उपखण्ड (१) बमोजिम दायित्वबापत गरिएका खुद आम्दानीहरु खर्च रकम बराबरको भए सरह मानिने छ ।
सम्पत्ति वा दायित्वको थमौती (Retention) भई निःसर्ग मानिने अवस्थाका सम्बन्धमा तल प्रकाश पारिएको छ ।
सम्पत्तिका सम्बन्धमाः
सम्पत्तिको थमौती आफूसँग रहेको व्यक्तिलाई निःसर्ग बापत निःसर्गको समयमासो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त ( आम्दानी भएको मानिन्छ । साथै, सो सम्पत्ति पुनः निःसर्ग हुँदा खर्च कायम गर्ने प्रयोजनको लागि पहिले थमौतीसहितको निःसर्ग मानिएको बजार मूल्य (सो समय आम्दानी मानिएको मूल्य) सो सम्पत्तिबापतका खर्च भएको मानिन्छ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.८.१
मानौं, शैलेसभन्ने व्यक्ति आ.व. २०६३ ६४ सम्म नेपालको बासिन्दा व्यक्ति रहेछन् । निजको नाममा रु.३ लाखमा खरिद गरेको सूचिकृत कम्पनीको शेयर रहेछ । निज २०६४ पुष १० गते नेपाल छोडी अष्ट्रेलियामा गएर स्थायी रूपले बसोबास गरिरहेको रहेछन् र उक्त आ.व.मा निज नेपालको बासिन्दा समेत रहेनछन् । सो मितिमा उक्त कम्पनीको शेयरको बजार मूल्य रु.५ लाख रहेछ । निजले सो शेयर मिति २०६६।४।२० मा रु. ६ लाखमा बिक्री गरेका रहेछन् र सो बापत रु.१,२००।- Broker Commission तिरेका रहेछन् । यस अवस्थामा निजको नाममा रहेको उक्त शेयर | २०६४ पुष १० गते नै निःसर्ग भएको मानिन्छ र सो मितिको बजार मूल्य रु.५ लाख सो निःसर्गको आम्दानी (प्राप्ति) मानिन्छ ।
यस अवस्थामा उक्त सम्पत्ति निःसर्ग मानिएको अवस्थामा एवम् वास्तविक निःसर्ग हुँदाका बखतमा लाभको गणना निम्नानुसार गरिन्छ :
२०६४ आषाढ मसान्तमा निःसर्ग मानिएको समयमा गरिने लाभको गणनाः
निःसर्ग मानिएको समयमा शेयरको बजार मूल्य (आम्दानी मानिने) रु.५,००,०००/-
शेयरको लागत मूल्य (खर्च) रु.३,००,०००/-
निःसर्ग मानिएको समयमा भएको लाभ रु.२,००,०००/-
२०६६।४।२० मा पुनः निःसर्ग (वास्तविक निःसर्ग) मा गरिने लाभको गणनाः
निःसर्गको समयमा शेयरको बजार मूल्य (आम्दानी) रु.६,००,०००/-
शेयर बापत खर्च: रु.५,०१,२००/-
निःसर्ग मानिएको समयमा रहेको बजार मूल्य रु.५,००,०००/-
Broker commission तिरेका रकम रु.१,२००/-
शेयरबापतको खुद खर्च रु.५,०१,२००/-
शेयरको निःसर्गको समयमा भएको लाभ रु.९८,८००/-
यसरी वास्तविक निःसर्गबाट भएको आम्दानी (Incomings), अर्थात रु ६ लाखबाट खुद खर्च, अर्थात रु.५,०१,२००।- कट्टा गरी बाँकी हुन आउने रकम रु.९८,८००/- निःसर्गको मितिमा लाभ हुने हुन्छ भने निःसर्ग मानिएको समय ( २०६४ पुष १० गते) मा रु. २ लाख लाभ भएको मानिन्छ ।
दायित्वको सम्बन्धमाः
सो व्यक्तिलाई निःसर्ग मानिएको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निःसर्ग बापत खर्च (Outgoings) गरेको मानिन्छ एवम् सो समयसम्म दायित्वबाट गरिएको प्राप्ति (Receipts) लाई सोको आम्दानी (incomings) मानिन्छ । सम्पत्तिको निःसर्ग सरह दायित्वको निःसर्गमा पनि बजार मूल्यबाट गणना गरिन्छ । तर सम्पत्तिको निःसर्गमा बजार मूल्यका आधारमा आम्दानी (Incomings) मानिन्छ भने दायित्वको निःसर्गमा बजार मूल्य सरह खर्च (Outgoing) मानिन्छ । यसरी बजार मूल्यमा गरिएको मूल्याङ्कनबाट हुने खर्च रकम बराबर सोही व्यक्तिले थमौती रहेको सो दायित्व पुनः निःसर्ग हुँदाका बखतका लागि आम्दानी गरेको मानिने व्यवस्था गरिएको छ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.८.२
मानौं, कमान लिमिटेडले १५ प्रतिशत डिवेन्चर जारी गरी रु. २ करोड ऋण उठाएको रहेछ । मिति २०६५। ८ । ११ मा कम्पनीमा नयाँ शेयरधनी परिवर्तन भएकाले दफा ५७ को अवस्था पर्न गएछ । सो डिवेन्चरमा भएको ब्याजदरको आकर्षणले डिवेन्चरको बजारमूल्य रु. २ करोड १० लाख रहेछ । २०६८ आषाढ मसान्तमा अवधि पुगेका कारण डिवेन्चरको मूल धन फिर्ता गरेको रहेछ ।
यस अवस्थामा मिति २०६५। ८ । ११ मा कम्पनीले आफ्ना सबै सम्पत्ति र दायित्व बजार मूल्यमा निःसर्ग गरेको मानिन्छ । नयाँ मानिने कम्पनीले सो दायित्व बजार मूल्यमा खरिद गरेको मानिन्छ । यस अवस्थामा उक्त दायित्व निःसर्ग मानिएको अवस्थामा एवम् पुनः निःसर्ग (वास्तविक निःसर्ग) हुँदाका बखतमा लाभको गणना निम्नानुसार गरिन्छ:
पुरानो मानिएको कम्पनीमा मिति २०६५।८।११ मा निःसर्ग मानिएको अवस्थामा गरिने लाभको गणनाः
दायित्व बापत मूल्य (आम्दानी मानिने) रु.२,००,००,०००/-
निःसर्ग मानिएको समयमा दायित्वको बजार मूल्य (खर्च) रु.१०,००,०००/-
दायित्व निःसर्ग मानिएको समयमा भएको नोक्सानी रु.२,१०,००,०००/-
नयाँ मानिएको कम्पनीले मिति २०६८।३।३२ मा दायित्व फरफारक (पुनः निःसर्ग) गर्दा गरिने लाभको गणनाः
२०६५।८।११ मा दायित्व बापतको बजार मूल्य (आम्दानी) रु.२,१०,००,०००/-
निःसर्गको समयमा तिरिएको दायित्वको रकम (खर्च) रु.२,००,००,०००/-
दायित्व निःसर्गको समयमा भएको लाभ रु.१०,००,०००/-
यसरी वास्तविक निःसर्गको समयमा नयाँ कम्पनीलाई रु.१० लाख लाभ भएको मानिन्छ भने दफा ५७ बमोजिम निःसर्ग मानिएको समय ( मिति २०६५/८/११) मा पुरानो कम्पनीलाई रु.१० लाख नोक्सान भएको मानिन्छ ।
२२.९ किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निःसर्ग
ऐनको दफा ४२ मा किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाटनिः सर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
(४२) कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दी बिक्रीको माध्यमबाट वा वित्तीय पट्टा अन्तर्गत पट्टामा दिई निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ
(क) सम्पत्ति निःसर्ग गर्ने व्यक्तिलाई निःसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निःसर्गबाट प्राप्त भएको मानिनेछ, र
(ख) निःसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको उपखण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ ।
तर दफा ४५ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।
कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दीमा बिक्रीको (Installment Sale) माध्यम वा वित्तीय पट्टा (Financial lease) अर्न्तगत पट्टामा दिई निःसर्ग गरेमा, सम्पत्ति निःसर्ग गर्ने व्यक्तिलाई निःसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निःसर्गबाट प्राप्त भएको (Realised) मानिन्छ । त्यसैगरी निःसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको हकमा सोही रकम बराबर लागत परेको मानिन्छ । तर सम्बद्ध व्यक्तिबीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरण मानिने अन्य अवस्थामा सो अवस्था लागू हुँदैन । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.९.१
मानौं, एयर गुराँस लि. ले रु.१० करोड लागत रहेको हेलीकप्टर एभी नेपाल प्रा. लि. लाई मिति २०६६।१०।१५ मा वित्तीय पट्टा (Financial Lease) को प्रबन्धमा उपलब्ध गराएछ । उक्त समयमा सो हेलिकप्टरको बजार मूल्य रु.९ करोड रहेछ । वित्तीय पट्टा (Financial Lease) को प्रबन्ध अनुसार एभी नेपाल प्रा. लि.ले एयर गुँरास लि. लाई वार्षिक रु. २ करोडका दरले ५ वर्षमा भुक्तानी गर्नुपर्ने र सो भुक्तानी पूर्ण रूपमा प्राप्त भए पश्चात मात्र उक्त हेलिकप्टरको स्वामित्व हस्तान्तरण हुने व्यवस्था रहेछ । कम्पनीले उक्त हेलिकप्टर रु.८ करोड ७५ लाखमा खरिद गरेको रहेछ । यस अवस्थामा मिति २०६६।१०।१५ मानौं एयर गुरास लि.ले सो हेलिकप्टर निःसर्ग गरेको मानिन्छ र सो निःसर्ग बापत लाभ वा नोक्सानी निम्नानुसार गणना गर्नु पर्दछः
आम्दानी (Incoming) रु.९ करोड
सो सम्पत्तिको खर्च (Outgoing) रु.८ करोड ७५ लाख
लाभ रु. २५ लाख
एभी नेपाल प्रा.लि.ले वित्तीय पट्टाबाट हस्तान्तरण गरी लिएको सो हेलिकप्टरका लागि परेको लागत अर्थात खर्चरु. ९ करोड हुन्छ । तर साँवा र ब्याजको अंश समेत प्रत्येक वर्ष रु. २ करोडको किस्ता पाउने गरी ५ वर्षमा स्वामित्व हस्तान्तरण हुने गरी भुक्तानीलाई ऐनको दफा ३२ बमोजिम साँवा फिर्ता र ब्याज आम्दानीको रूपमा एयर गुरास लि.ले गणना गर्नु पर्दछ । सम्पत्तिको निःसर्गमा लाभ वा नोक्सानीको गणनाको प्रयोजनका लागि सम्पत्तिको निःसर्गका बखतको बजार मूल्य हेर्नु पर्दछ । वित्तीय पट्टाको साँवा वा ब्याज (चालु आय) को योग रहेको किस्ताको भुक्तानीको तालिका होइन ।
२२.१० पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
ऐनको दफा मा पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरणमा निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
- सम्बन्ध विच्छेद भएको वा अंश लिई भिन्न बसेको कुनै प्राकृतिक व्यक्तिले निजको पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरी सम्पत्तिको निःसर्ग गरेमा र सो पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीले यो दफा लागू गरिपाउँन लिखित रूपमा छनौट गरेमा देहाय बमोजिम हुनेछ:
(क) सो व्यक्तिले निःसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएका खुद खर्चहरु बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
(ख) खण्ड (क) बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
कुनै प्राकृतिक व्यक्तिले निजको पति, पत्नी वा सम्बन्ध विच्छेद भएको वा अंश लिई भिन्न बसेको पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरी सम्पत्तिको निःसर्ग गरेमा र सो पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीले यो व्यवस्था छनौट गरेमा सो व्यक्तिले निःसर्गको तत्काल अघि सो सम्पत्तिबापत भएका खुद खर्च बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिन्छ । साथै, सोही बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत (Cost Base) परेको मानिन्छ । सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिको सो सम्पत्तिबापतको खर्च र आम्दानी बराबर भएकोले कर भार (Tax burden ) परेन । सम्पत्ति प्राप्त गर्ने व्यक्तिले यस्तो सम्पत्ति पछि निःसर्ग गरेमा आफूलाई सरेको पूर्व लागतलाई खर्च मानिन्छ । यसरी सम्पत्ति प्राप्त गर्ने यो दफा अनुसार प्राकृतिक व्यक्ति पति पत्नी वा पूर्व पति, पूर्व पत्नीले प्राप्त गरेको सम्पत्तिको लागत (खुद खर्च) लाई आफ्नो खर्च (लागत) मान्न सम्बन्धित कार्यालयमा लिखित रूपमा छनौट गरेको जानकारी गराउनु पर्दछ । व्यक्तिगत सम्पत्तिमा करको भार नभएकाले हस्तान्तरण भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति र एकलौटी फर्मको सम्पत्ति तथा दायित्वमा मात्र यो दफा बमोजिम कर आधार गणना गर्न मिल्दछ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.१०.१
मानौं, रसेन्द्रले मिति २०६३।१०।१ मा रु.१ करोडमा एउटा जग्गा खरिद गरेका रहेछन् । मिति २०६६ । ५/६ मा निजकी श्रीमती सरलासँग पारपाचुके भएछ । निजले सो जग्गा पूर्व पत्नी सरलालाई मिति २०६६। ५ । १० मा कुनै मूल्य नलिई हस्तान्तरण गरेका रहेछन् । उक्त जग्गाको हस्तान्तरणको समयमा उक्त जग्गाको बजार मूल्य रु.१ करोड ४० लाख रहेछ । यसरी हस्तान्तरण गर्दा लिखत तथा रजिष्ट्रेशन बापत सरलाले रु.१० हजार खर्च गरेकी रहिछिन् । रसेन्द्रले उक्त जग्गाबिना कुनै मूल्य आफ्नो पूर्व पत्नीलाई हस्तान्तरण गरेको र यो ऐनको दफा ४३ लागू हुन लिखित रूपमा छनौट गरेको व्यहोरा सम्बन्धित कार्यालयलाई जानकारी गराएका रहेछन् । मिति २०६६ १०५ मा निजले सो जग्गा रु.१ करोड ५० लाखमा बिक्री गरेकी रहिछिन् । यस अवस्थामा रसेन्द्र र सरलाको लागि सो सम्पत्तिको निःसर्गको लाभ निम्नानुसार गणना गर्नु पर्दछ:
रसेन्द्रको लागिः
आम्दानी (Incoming) रु.१ करोड
सो सम्पत्ति बापतको खर्च (Outgoing) रु.१ करोड
लाभ नभएको
सरलाको लागि:
निःसर्ग बाट प्राप्त रकम (आम्दानी): रु.१,५०,००,०००|-
सम्पत्ति बापतको खर्च: रु.१,००,१०,०००/-
हस्तान्तरणबाट प्राप्त सम्पत्तिको लागत मानिने रकम रु.१,००,००,०००/-
लिखत तथा रजिष्ट्रेशन बापतका खर्च रु.१०,०००/
निःसर्गको समयमा भएको लाभ रु.४९,९०,०००/-
यस प्रकार रसेन्द्रलाई सो जग्गाको निःसर्गमा कुनै लाभ हुँदैन भने सरलालाई रु.४९ लाख ९० हजार लाभ हुन्छ ।
अर्थात, पति, पत्नी वा सम्बन्ध बिच्छेद भएको वा अंश लिई भिन्न बसेको पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरेमा खर्चको आधार (Cost Base) समेत हस्तान्तरण हुने हुन्छ ।
यदि निज रसेन्द्रले लिखित रूपमा ऐनको यो दफा लागू हुन छनौट गरेको जानकारी सम्बन्धित कार्यालयलाई नदिएमा ऐनको दफा ४५ बमोजिम आम्दानी र खर्चको गणना गर्नु पर्दछ ।
२२.११ मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण
ऐनको दफा ४४मा मृत्युपश्चात सम्पत्तिको हस्तान्तरणमानिः सर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
४४: कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई कुनै सम्पत्तिको स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरणबाट निःसर्ग गरिएकोमा देहाय बमोजिम हुनेछ:
(क) सो व्यक्तिले सो निःसर्गका समयमा सो सम्पत्तिको प्रचलित बजार मूल्य बराबरको रकम निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
(ख) हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको खण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ ।
कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई निजको कुनै सम्पत्तिको स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरण भई निःसर्ग भएमा सो व्यक्तिले सो निःसर्गका समयमा सो सम्पत्तिको प्रचलित बजार मूल्य बराबरको रकम प्राप्त गरेको र सो सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागि लागत परेको मानिन्छ । कुनै व्यक्तिको मृत्यू हुँदाको बखत सम्पत्ति निःसर्ग गरेको मानि बजार मूल्य अनुसार सो सम्पत्तिको मूल्य अभिवृद्धि (Wealth creation) गणना गर्न र सोही बराबर लागत आधार (Cost Base) सम्पत्ति पाउने व्यक्तिलाई सार्न यो व्यवस्था गरिएको हो । व्यक्तिगत सम्पत्तिका करको भार नभएकाले हस्तान्तरण भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति र एकलौटी फर्मको सम्पत्ति तथा दायित्वमा मात्र यो दफा बमोजिम कर आधार गणना गर्न मिल्दछ । गैर व्यावसायिक करयोग्य सम्पत्तिको परिभाषा बमोजिम तीन पुस्ताभित्र यसरी सम्पत्ति हस्तान्तरण हुने सम्पत्ति ऐनको दफा २ को खण्ड (द) बमोजिम गैर व्यावसायिक करयोग्य सम्पत्ति नमानिने हुँदा त्यस्तो अवस्थामा यो दफा आकृष्ट हुँदैन । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.११.१
मानौं, रसेन्द्रले मिति २०६५।५।१ मा रु. १ करोडमा एउटा जग्गा खरिद गरेका रहेछन् । उक्त जग्गा खरिद गर्न उपेन्द्रसँग रु.८० लाख कर्जा लिएका रहेछन् र सो कर्जाको सुरक्षणको निमित्त सोही जग्गा धितो बन्धक पास गरिदिएका रहेछन् । मिति २०६६ १ ६ मा निजको मृत्यू भएछ । कर्जाको शर्त बमोजिम उक्त जग्गामा उपेन्द्रको स्वामित्व कायम हुन गएको रहेछ । सो समयमा उक्त जग्गाको बजार मुल्य रु.१ करोड १० लाख रहेछ । यस अवस्थामा रसेन्द्रले निःसर्ग गरेको मानिने जग्गामा लाभको निम्नानुसार गणना गर्नु पर्दछः
आम्दानी (Incoming) रु.१,१०,००,०००/-
(निजको मृत्यूको बखतको सो घरजग्गाको बजार मूल्य)
सो सम्पत्ति बापतको खर्च (Outgoing) रु.१,००,००,०००/-
लाभ रु.१०,००,०००/-
यस प्रकार सो जग्गाको निःसर्गमा रु.१० लाख लाभ हुन्छ र सो लाभमा कर तिर्ने दायित्व सो सम्पत्तिको प्रापक अर्थात उपेन्द्रको हुनेछ ।
उदाहरण २२.११.२
मानौं, रसेन्द्रले मिति २०६५।५।१ मा रु.१ करोडमा एउटा जग्गा खरिद गरेका रहेछन् । मिति २०६६।१।६ मा निजको मृत्यू भएछ र मृत्यूपश्चात सो सम्पत्ति निजको छोरा रबिन्द्रमा हस्तान्तरण भएको रहेछ । सो समयमा उक्त जग्गाको बजार मुल्य रु. १ करोड १० लाख रहेछ । यस अवस्थामा रसेन्द्रले निःसर्ग गरेको मानिने उक्त जग्गा तीन पुस्ताभित्र बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण भएकोले गैर व्यावसायिक करयोग्य सम्पत्ति नमानिने हुँदा त्यस्तो अवस्थामा यो दफा आकर्षित हुँदैन र लाभको गणना पनि हुँदैन । तर, सोही सम्पत्ति छोरा रविन्द्रले निःसर्ग गरेमा र निःसर्गको समयमा सो सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्तिको परिभाषामा पर्ने भएमा रविन्द्रले लागत (खर्च) दाबी गर्दा निजको बुवा रसेन्द्रले मिति २०६६। १ ६ मा दाबी गर्न पाउने हदसम्म मात्र दाबी गर्न पाउँछन्
२२.१२ सम्बद्ध व्यक्तिहरु बीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरणहरु
आयकर ऐन, २०५८ ले एक अर्काको मनसाय अनुसार काम गर्ने एक वा एकभन्दा बढी व्यक्ति वा त्यस्ता व्यक्तिको समुह सम्बद्ध व्यक्ति भनी परिभाषित गरेको छ । सम्बद्ध व्यक्ति भन्नाले नातेदार, साझेदार, विदेशी स्थायी संस्थापनमा स्वामित्व भएको व्यक्ति र कुनै निकायको आय, पुँजी वा मताधिकार (Voting rights) को ५० प्रतिशत वा सो भन्दा बढी हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाइदा प्राप्त गर्ने निकाय वा व्यक्तिलाई पनि जनाउँछ । तर कर्मचारी वा आन्तरिक राजस्व विभागले सम्बद्ध व्यक्ति होइन भनी तोकेको व्यक्ति सम्बद्ध व्यक्ति हुँदैन । ऐनको दफा ४५ मा सम्बद्ध व्यक्तिबीचको हस्तान्तरण र अन्य गैर बजारहस्तान्तरणमानिः सर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
४५(१) कुनै व्यक्तिले कुनै सम्पत्ति सम्बद्ध व्यक्तिलाई वा कुनै अन्य व्यक्तिलाई कुनै प्रतिफल नलिई हस्तान्तरण गरी सो सम्पत्ति निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ:
(क) सो व्यक्तिले सो सम्पत्तिको निःसर्गबाट सो सम्पत्तिको निःसर्ग हुनु तत्काल अघि सो सम्पत्तिको बजार मूल्य वा सो सम्पत्ति बापत भएको खुद खर्चमध्ये जुन बढी हुन्छ . सो रकम प्राप्त गरेको मानिनेछ, र
(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ । तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुनेछैन ।
(ग) ऐनको दफा २ को खण्ड (द) को उपखण्ड (५) बमोजिम हस्तान्तरण भई आएको सम्पत्तिको हकमा हस्तान्तरण गर्ने व्यक्तिको लागत नै हस्तान्तरण भई सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
कुनै व्यक्तिले कुनै सम्पत्ति सम्बद्ध व्यक्तिलाई वा अन्य कुनै व्यक्तिलाई कुनै प्रतिफल नलिई हस्तान्तरण (गैर बजार हस्तान्तरण) गरी सो सम्पत्ति निःसर्ग गरेमा सो व्यक्तिले सो सम्पत्तिको निःसर्गबाट सो सम्पत्तिको निःसर्ग हुनु तत्काल अघि सम्पत्तिको बजार मूल्य वा सो सम्पत्तिबापत भएको खुद खर्चमध्ये जुन बढी हुन्छ सो रकम प्राप्त (Derived) गरेको मानिन्छ । तर पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीबीच दफा ४३ लागू हुने अवस्थाको सम्पत्ति हस्तान्तरण एवम् प्राकृतिक व्यक्तिको मृत्यु पश्चात हुने निजको सम्पत्ति हस्तान्तरणको अवस्थामा यो अवस्था लागू हुदैन । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.१२.१
मानौं, रसेन्द्रले मिति २०६९।५।१ मा रु. १ करोडमा एउटा जग्गा खरिद गरेका रहेछन् । उक्त जग्गामा सोही वर्ष रु.५ लाख खर्च गरी पर्खाल समेत लगाएका रहेछन् । निजले उक्त जग्गा दिनेश भन्ने व्यक्तिलाई मिति २०७०।६।५ मा बकसपत्र गरिदिएका रहेछन् । सो समयमा उक्त जग्गाको बजार मुल्य रु. १ करोड १० लाख रहेछ ।
यस अवस्थामा रसेन्द्रले निःसर्ग गरेको मानिने जग्गामा लाभको निम्नानुसार गणना गर्नु पर्दछ:
आम्दानी (Incoming) रु.१,१०,००,०००/-
(निजले बकसपत्र गरीदिएको सो घरजग्गाको बजार मूल्य) सो सम्पत्ति बापतको खर्च (Outgoing) रु.१,०५,००,०००/-
लाभ रु.५,००,०००/-
यस प्रकार सो जग्गाको निःसर्गमा रु. ५ लाख लाभ हुन्छ र सो लाभमा कर तिर्ने दायित्व सो सम्पत्ति निःसर्ग गर्ने व्यक्ति अर्थात रसेन्द्रको हुनेछ । सम्पत्ति प्राप्त गर्ने व्यक्ति अर्थात दिनेशको लागि सो सम्पत्तिको लागत रु. १ करोड १० लाख मानिनेछ ।
यदि हस्तान्तरणको समयमा उक्त सम्पत्तिको बजार मूल्य रु.१ करोड २ लाख भएको भए रसेन्द्रले निःसर्ग गरेको मानिने जग्गामा लाभको निम्नानुसार गणना गर्नु पर्दछः
आम्दानी (Incoming) रु. १,०५,००,००० (निजले बकसपत्र गरिदिएको सो घरजग्गाको बजार मूल्य)
सो सम्पत्ति बापतको खर्च (Outgoing)
रु.१,०५,००,०००
लाभ ०
यस प्रकार सो जग्गाको निःसर्गमा लाभ हुदैन । त्यस्तै, सम्पत्ति प्राप्त गर्ने व्यक्ति अर्थात दिनेशको लागि सो सम्पत्तिको लागत रु. १ करोड ५ लाख मानिनेछ ।
४५(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैर व्यावसायिककरयोग्य सम्पत्ति वा व्यापारिक मौज्दातका रूपमा रहेको सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा र
उपदफा (६) बमोजिमका कुराहरु पूरा भएमा देहाय बमोजिम हुनेछ:
(क) सो निःसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएको खुद खर्च बराबरको रकम सो निःसर्ग बापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र
(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैर व्यावसायिक करयोग्य सम्पत्ति वा व्यापारिक मौज्दातका रूपमा रहेको सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा र देहायका कुरा पूरा भएमा सो निःसर्गको तत्काल अघि सो सम्पत्तिबापत भएको खुद खर्च बराबरको रकमसो निःसर्गबापत सो व्यक्तिले प्राप्त गरेको मानिन्छ र साथै सोही रकम बराबर हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिन्छ :
(क) व्यवसायबाट व्यवसायमा लगेको: निःसर्ग गरिएको व्यावसायिक सम्पत्ति वा व्यापार मौज्दातको रूपमा रहेको सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति वा व्यापार मौज्दात वा व्यवसायको द्वासयोग्य सम्पत्ति भएको,
(ख) लगानीबाट लगानी वा व्यवसायमा लगेको: निःसर्ग गरिएको गैर व्यावसायिक करयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, गैर व्यावसायिक करयोग्य सम्पत्ति, हासयोग्य सम्पत्ति वा व्यापार मौज्दात भएको ।
(ग) प्रापक करको सामान्य दायरामा रहेको: हस्तान्तरणको बखत सो सम्पत्ति हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति बासिन्दा भएको हुनुपर्ने र सम्बद्ध व्यक्ति करछुट पाउने व्यक्ति हुन नहुने,
(घ) नियन्त्रणात्मक निहित स्वामित्व रहेको: सो सम्पत्तिमा निहित स्वामित्व कम्तिमा ५० प्रतिशत रहनुपर्ने, र
(ङ) छनौट: सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुवैले यो अवस्था लागू गर्न छनौट गरेको हुनुपर्ने
४५(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (६) बमोजिमका कुराहरु पूरा गरी कुनै व्यक्तिले ह्रासयोग्य सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरणबाट निःसर्ग गरेमा वा त्यस्तो सम्पत्ति सो ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा पर्ने भएमा देहाय बमोजिम हुनेछ:
(क) सो व्यक्तिले सो निःसर्ग हुँदाका बखत अनुसूची -२ को दफा ४ बमोजिम सो समूहको घट्दो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
निम्न अवस्था पूरा गरी कुनै व्यक्तिले ह्रासयोग्य सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा वा त्यस्तो सम्पत्ति सो ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा पर्ने भएमा, सो व्यक्तिले सो निःसर्ग हुँदाका बखत सो समूहको घट्दो प्रणालीको बाँकी मूल्य (Written Down value) बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिन्छ, र सोही रकम बराबर हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत मानिन्छ ।
(क) व्यवसायबाट व्यवसायमा लगेको: व्यवसायको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, व्यावसायिक ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दात रहेको ।
(ख) लगानीबाट लगानी वा व्यवसायमा लगेको: हस्तान्तरणको बखतमा सो सम्पत्ति हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति बासिन्दा भएको हुनुपर्ने तथा सम्बद्ध व्यक्ति करछुट पाउने व्यक्ति हुन नहुने ।
(ग) प्रापक करको सामान्य दायरामा रहेको: हस्तान्तरणको बखत सो सम्पत्ति हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति बासिन्दा भएको हुनुपर्ने र सम्बद्ध व्यक्ति करछुट पाउने व्यक्ति हुन नहुने,
(घ) नियन्त्रणात्मक निहित स्वामित्व रहेको: सो सम्पत्तिमा निहित स्वामित्व कम्तीमा ५० प्रतिशत रहनुपर्ने, र
(ङ) छनौट: सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुवैले यो अवस्था लागू गर्न छनौट गरेको हुनुपर्ने । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.१२.२
मानौं, रस नेपाल प्रा. लि. लेमिति २०७०।५।१ मा रु.१ करोड ५० लाखमा एउटा फ्ल्याट (भवन) खरिद गरेको रहेछ । उक्त भवन आफ्नो सहायक कम्पनी राम्रो नेपाल प्रा. लि. लाई मिति २०७१ ६ ५ मा हस्तान्तरण गरिएको रहेछ । हस्तान्तरण (निःसर्ग ) हुँदाका बखत उक्त भवनको अनुसूची - २ को दफा ४ बमोजिम सो समूहको घट्दो प्रणालीको बाँकी मूल्यरु. १,४२,५०,०००/- रहेछ र सो बखत उक्त भवनको बजार मुल्य रु.१ करोड ६० लाख रहेछ ।
यस अवस्थामा, सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरिएको उक्त भवन बापतको आम्दानी (Incoming) रु. १,४२,५०,०००/- रस नेपाल प्रा.लि.ले प्राप्त गरेको मानिनेछ र सहायक कम्पनी राम्रो नेपाल प्रा.लि.को लागि उक्त रकम सो सम्पत्ति बापतको लागत (Outgoing) मानिनेछ ।
४५(४) कुनै व्यक्तिले यस दफा बमोजिम कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी वा अन्य कुनै व्यक्तिलाई कुनै मूल्य नदिई हस्तान्तरण गरी सो दायित्वको निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ:
(क) सो व्यक्तिको सो निःसर्ग बापत बजार मूल्य वा सो निःसर्ग हुनुभन्दा तत्काल अघिको सो दायित्वबापत भएको खुद आम्दानीमध्ये जुन घटी हुन्छ सो रकम बराबर लागत परेको मानिनेछ, र
(ख) जुन व्यक्तिलाई सो दायित्व हस्तान्तरण गरिएको हो सो व्यक्तिले उक्त दायित्व बराबरको रकम सो दायित्व लिँदाको सम्बन्धमा प्राप्त गरेको मानिनेछ ।
तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।
कुनै व्यक्तिले कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी वा अन्य कुनै व्यक्तिलाई बिना मूल्य हस्तान्तरण गरी (गैर बजार हस्तान्तरण) सो दायित्वको निःसर्ग गरेमा सो व्यक्तिको सो निःसर्ग बापत बजार मूल्य वा सो निःसर्ग हुनुभन्दा तत्काल अघिको सो दायित्व बापत भएको खुद आम्दानीमध्ये जुन घटी हुन्छ सो रकम बराबरको लागत परेको मानिन्छ र सोही रकम बराबरको दायित्व हस्तान्तरण गरी लिने व्यक्तिले सो दायित्व लिए बापत प्राप्त गरेको मानिन्छ । तर पति पत्नि वा पूर्व पति, पूर्व पत्नी बिचको हस्तान्तरण एवम् प्राकृतिक व्यक्तिको मृत्यु पश्चात हुने हस्तान्तरणको व्यवस्था लागूहूने अवस्थामा यो व्यवस्था लागू हुँदैन ।
४५(५) कुनै व्यक्तिले उपदफा (६) मा उल्लिखित कुराहरु पूरा गरी आफ्नो कुनै व्यवसायबाट आय आर्जन गर्दा लिएको कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ:
(क) सो व्यक्तिले उक्त निःसर्गको तत्काल अघि सो दायित्वबापत गरेको खुद आम्दानी बराबरको रकम सो निःसर्गको लागि सो व्यक्तिको लागत परेको मानिनेछ, र
(ख) सो सम्बद्ध व्यक्तिले सो दायित्व लिने सम्बन्धमा उक्त रकम बराबरको प्राप्ति गरेको मानिनेछ ।
कुनै व्यक्तिले देहायका अवस्था पूरा गरेमा आफ्नो कुनै व्यवसायबाट आय आर्जन गर्दा लिएको कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा सो व्यक्तिले उक्त निःसर्गको तत्काल अघि सो दायित्व बापत गरेको खुद आम्दानी बराबरको रकम सो निःसर्ग गर्दा परेको लागत मानिन्छ र सोही रकम बराबर सो सम्बद्ध व्यक्तिले सो दायित्व लिँदा प्राप्त गरेको मानिन्छ
(क) सम्बद्ध व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट आय आर्जनका लागि सो सम्बद्ध व्यक्तिलाई सो दायित्व हस्तान्तरण भएको ।
(ख) हस्तान्तरणको बखत सो हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति बासिन्दा भएको हुनुपर्ने एवम् सम्बद्ध व्यक्ति करछुट पाउने व्यक्ति हुन नहुने ।
(ग) सो दायित्वमा निहित स्वामित्व कम्तिमा ५० प्रतिशत रहिरहनुपर्ने, र (घ) सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुवैले यो अवस्था लागू गर्न छनौट गरेको हुनुपर्ने ।
४५(६) उपदफा (२), (३) र (५) को प्रयोजनको लागि देहाय बमोजिमका कुराहरु पूरा गरेको हुनु पर्नेछ:
(क) निःसर्ग गरिएको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्कालपछिको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति हुनेछ ।
(ख) निःसर्ग गरिएको गैर व्यावसायिक करयोग्य सम्पत्ति वा कुनै लगानीको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्कालपछिको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, गैर व्यावसायिक करयोग्य सम्पत्ति ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दात हुनेछ ।
(ग) कुनै दायित्वको हकमा सम्बद्ध व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट आय आर्जनका लागि सो सम्बद्ध व्यक्तिलाई सो दायित्व हस्तान्तरण गर्नु पर्नेछ ।
(घ) हस्तान्तरणको बखतमा सो हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति बासिन्दा भएको हुनुपर्छ तथा सम्बद्ध व्यक्ति कर छुट पाउने व्यक्ति भएको हुनु हुदैन ।
(ङ) सो सम्पत्तिमा निहित स्वामित्व वा सो दायित्वमा निहित भार अवस्था अनुसार कम्तीमा पचास प्रतिशत रहिरहनु पर्नेछ, र
(च) अवस्था अनुसार उपदफा (२), (३) वा (५) अनुसारको छनौट लागू गर्न सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुवैबाट लिखित रूपमा अनुरोध गर्नु पर्नेछ ।
२२.१३ सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निःसर्ग
कुनै व्यक्तिले सम्पत्ति वा दायित्व आफ्नो स्वेच्छाले नभई, सरकारी आदेश, कानुनी निर्णय वा यस्तै अन्य बाध्यात्मक परिस्थितिवश निःसर्ग गरेको भए यस्तो निःसर्गलाई अस्वेच्छिक निःसर्ग मानिन्छ । दफा ४६ मा सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
४६(१) कुनै व्यक्तिले दफा ४० को उपदफा (१) मा उल्लिखित तरिकाहरुमध्ये कुनै पनि तरिकाले कुनै सम्पत्ति अस्वेच्छिक रूपमा निःसर्ग गरेको एक वर्षभित्र सो सम्पत्तिको बदलामा सोही किसिमको अर्को सम्पत्तिको स्वामित्व प्राप्त गरी यो दफा लागू हुन लिखित रूपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछ:
(क) सो व्यक्तिले देहाय बमोजिमको रकमहरुको योग बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ :
(१) निःसर्ग हुनुभन्दा तत्काल अघि सो सम्पत्ति बापतका खुद खर्च, र
(२) सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा गरिएको खर्च भन्दा सो निःसर्गबाट प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जति रकम ।
(ख) सो व्यक्तिले प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा देहाय बमोजिमको रकमहरुको योग बराबरको रकम खर्च गरेको मानिनेछ ।
(१) निःसर्ग हुनु भन्दा तत्काल अघि निःसर्ग गरिएको सम्पत्ति बापतका खुद खर्चहरु, र
(२) सो निःसर्गबाट प्राप्त गरिएको रकमभन्दा सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जति खर्च ।
कुनै व्यक्तिले कुनै सम्पत्ति आफ्नो स्वेच्छाले नभई सरकारी आदेश, कानुनी निर्णय वा यस्तै अन्य बाध्यात्मक परिस्थितिवश निःसर्ग गरेको र यसरी अस्वेच्छिक (Involuntary) निःसर्ग गरेको एक वर्षभित्र सो सम्पत्तिको बदलामा सोही किसिमको अन्य सम्पत्तिको स्वामित्व प्राप्त गरी यो दफा लागू हुन लिखित रूपमा सम्बन्धित कार्यालयमा अनुरोध गरेमा सो व्यक्तिले निःसर्ग बापत सो सम्पत्तिको लागि भएको खुद खर्च र सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा गरिएको खर्च भन्दा सो निःसर्गबाट प्राप्त रकम बढी भए यस्तो बढी भए जतिको रकमको जम्मा रकम प्राप्त गरेको मानिन्छ । पहिलो निःसर्गको एक वर्षभित्र (आय वर्षभित्र होइन) प्रतिस्थापित सम्पत्ति खरिद गर्न पाउने हुनाले वास्तविक निःसर्ग भएको वर्ष सो सम्पत्ति आफ्नै स्वामित्वमा रहे सरह मानिन्छ र यसका लागि करदाताले आय विवरण पेश गर्दा सो निःसर्गमा दफा ४६ को सुविधा माग गरेको हुनु पर्दछ । अर्को आय वर्षमा जब प्रतिस्थापन गरिएको सम्पत्ति प्राप्त हुन्छ सो बखत दफा ४६ छनौट गरी गणना गरेको हुनु पर्दछ । पहिलो वर्षको आय विवरण पेश गर्दा दफा ४६ को सुविधा छनौट गरेको तर दोस्रो वर्षमा पहिलो निःसर्गको एक वर्षभित्रै प्रतिस्थापित सम्पत्ति प्राप्त गर्न नसकेको अवस्थामा पहिलो वर्षको आय विवरण दफा १०१ बमोजिम संशोधन हुन्छ । प्रतिस्थापन सहितको सम्पत्तिको अस्वेच्छिक निःसर्ग बापत प्राप्त गरेको मानिने रकम ( Incomings) निम्नानुसार स्पष्ट पारिएको छ :
प्रतिस्थापन सहितको अस्वेच्छिक निःसर्ग बापत प्राप्त गरेको रकम (Incomings):
निःसर्ग हुनु तत्काल अघि सो सम्पत्ति बापत खुद खर्च + निःसर्गबाट प्राप्त रकम - प्रतिस्थापित सम्पत्तिबापतको खर्च (प्रतिस्थापित सम्पत्ति खरिद गर्दा गरिएको खर्चभन्दा निःसर्गबाट प्राप्त रकम बढी भएमात्र)
प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दाको खर्च (Outgoings):
निःसर्ग हुनु तत्काल अघि सो सम्पत्ति बापत खुद खर्च + प्रतिस्थापित सम्पत्तिबापतको खर्च - निःसर्गबाट प्राप्त रकम (निःसर्गबाट प्राप्त रकम भन्दा सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा गरिएको खर्च बढी भएमात्र)
उदाहरण २२.१३.१
मानौं, खगेन्द्र गोपर्माले मिति २०६२ ५ १ मा रु.५० लाखमा एक रोपनी जग्गा भक्तपुरमा खरिद गरेका रहेछन् । भक्तपुरमा सडक विस्तारको क्रममा नेपाल सरकारले उक्त जग्गा मिति २०६६। ५ । ७ मा अधिग्रहण गरेको रहेछ । यसरी अधिग्रहण गर्दा नेपाल सरकारले उक्त जग्गाको मुआब्जा बापत रु.८० लाख निजलाई उपलब्ध गराएको रहेछ । निजले मिति २०६७।४।५ (१ वर्षभित्र) मा सो स्थानबाट करिब दुई किलोमिटर पर एक रोपनी जग्गा खरिद गरेको रहेछ । यसरी जग्गा प्रतिस्थापन गर्ने सन्दर्भमा निजले | ऐनको यो दफा लागू हुन लिखित अनुरोध सम्बन्धित कार्यालयलाई गरेको रहेछन् । खरिद गरेको जग्गाको मूल्य निम्नानुसार रहेछ:
क. रु.६० लाख
ख. रु.८० लाख
ग. रु. ८५ लाख
यस अवस्थामा खगेन्द्र गोपर्माले अस्वेच्छिक निःसर्ग गरेको जग्गामा लाभको निम्नानुसार गणना गर्नु पर्दछ:
रु. लाखमा
| विवरण | अवस्था क | अवस्था ख | अवस्था ग |
|---|---|---|---|
| निःसर्ग भएको सम्पत्तिको खुद खर्च (१) | ५० | ५० | ५० |
| निःसर्गबाट प्राप्त रकम (२) | ८० | ८० | ८० |
| प्रतिस्थापित जग्गाको मूल्य (३) | ६० | ८० | ८५ |
| निःसर्ग बापत आम्दानी (४) = (१+२-३) | ७० | ५० | ० |
| निःसर्ग बापत खर्च (५) = (१+३-२) | ० | ० | ५५ |
| लाभ (नोक्सानी) (६) = (४- १) | २० | ० | (५) |
| प्रतिस्थापित नयाँ सम्पत्तिमा परेको मूल्य (७) = (१-६) | ३० | ५० | ५५ |
उदाहरण २२.१३.२
मानौं, गोपर्मा लिमिटेडको ह्रासयोग्य सम्पत्तिको भवन जलेर नष्ट भएछ । भवनको वर्षको शुरुको ह्रास आधार रु. ५० लाख रहेछ । कम्पनीले भवनको बजार मूल्य रु.८० लाखको बीमा गराएकाले बीमा कम्पनीसँग रु ८० लाख बीमा दाबी गरेछ । बीमा कम्पनीले रु.८० लाख क्षतिपूर्ति दिएको र कम्पनीले सोही स्थानमा अर्को नयाँ भवन निर्माण गरेको रहेछ । भवन नयाँ बनाउनु परेकाले कम्पनीले दफा ४६ को सुविधा छनौट गरेर निवेदन दिएको रहेछ । नयाँ निर्माण एक वर्षभित्र सम्पन्न भएछ । नयाँ भवनको लागत निम्नानुसार रहेछ:
क. रु.६० लाख
ख. रु.८० लाख
ग. रु.८५ लाख
यस अवस्थामा गोपर्मा कम्पनीले अस्वेच्छिक निःसर्ग गरेको भवनमा निम्नानुसार कर व्यवहार हुन्छ: रु. लाखमा
| विवरण | अवस्था क | अवस्था ख | अवस्था ग |
|---|---|---|---|
| नयाँ भवनको मूल्य (ह्रास समूह क) | ६० | ८० | ८५ |
| पहिलो वर्ष | - | - | - |
| वर्षको शुरुको ह्रास आधार | ५० | ५० | ५० |
| यो वर्ष थप | ० | ० | ० |
| निःसर्गबाट प्राप्त रकम (दफा ४६ छनौट) | ० | ० | ० |
| ह्रास आधार | ५० | ५० | ५० |
| ह्रास खर्च | ० | ० | ० |
| दोश्रो वर्ष | - | - | - |
| वर्षको शुरुको ह्रास आधार | ५० | ५० | ५० |
| यो वर्ष थप (थप भएको मिति अनुसार) | ५० | ५० | ५५ |
| निःसर्ग बापत प्राप्त | ७० | ५० | ५० |
| निःसर्ग भएको सम्पत्तिको खुद खर्च | ५० | ५० | ५० |
| अस्वेच्छिक निःसर्गमा प्राप्त भन्दा कम खर्च | २० | ० | ५ |
| ह्रास आधार | ३० | ५० | ४५ |
कम्पनीले दफा ४६ को सुविधा छनौट नगरेको अवस्थामा भने क्षति भएको वर्षमा ऐनको अनुसूचि - २ बमोजिम ह्रास गणना गरी बीमाको क्षतिपूर्ति प्राप्त भएका वर्ष दफा ३१ र दफा ६२ बमोजिम सो क्षतिपूर्ति रकम आयमा समावेश गर्नु पर्दछ ।
४६(२) कुनै व्यक्तिले दफा ४० को उपदफा (२) मा उल्लिखित तरिकाहरुमध्ये कुनै पनि तरिकाबाट कुनै दायित्व अस्वैच्छिक रूपमा निःसर्ग गरेको एक वर्षभित्र सो दायित्वको सट्टामा सोही किसिमको अर्को दायित्व बहन गरी यो दफा लागू हुन लिखित रूपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछ:
(क) सो व्यक्तिले उपखण्ड (१) मा उल्लिखित रकमबाट उपखण्ड (२) मा उल्लिखित रकम घटाई हुन आउने रकम सो निःसर्ग बापत खर्च गरेको मानिनेछ:
(१) निःसर्गको तत्काल अघि सो दायित्व बापतको खुद आम्दानीहरु बापतको रकम,
(२) सो प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकमभन्दा सो निःसर्ग गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जतिको खर्च रकम,
(ख) सो व्यक्तिले प्रतिस्थापित दायित्व लिँदा देहाय बमोजिमको रकमहरुको योग बराबरको रकम प्राप्त गरेको मानिनेछ :
(१) निःसर्ग हुनुभन्दा तत्काल अघि निःसर्ग गरिएको दायित्व बापतका खुद आम्दानीहरु, र
(२) निःसर्ग गर्दा भएको खर्च भन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जतिको रकम ।
कुनै व्यक्तिले आफ्नो स्वेच्छाले नभई सरकारी आदेश, कानुनी निर्णय वा यस्तै अन्य बाध्यात्मक परिस्थितिवश आफ्नो दायित्वको भार (Obligation)बाट हटी यसरी अस्वेच्छिक (involuntary) निःसर्ग गरेको एक वर्षभित्र सो दायित्वको बदलामा सोही किसिमको अर्को दायित्व बहन गरी यो दफा लागू हुन लिखित रूपमा सम्बन्धित कार्यालयमा अनुरोध गरेमा, सो व्यक्तिले दायित्व बापतका खुद आम्दानी (Net incomings) बाट सो प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरेको रकम भन्दा सो निःसर्ग गर्दा भएको खर्च बढी भए त्यस्तो बढी भएजतिको खर्च रकम घटाई हुन आउने रकम सो निःसर्ग बापत खर्च गरेको मानिन्छ ।
प्रतिस्थापन सहितको दायित्वको अस्वेच्छिक निःसर्ग बापतको खर्च गरेको मानिने रकम (Outgoings) निम्नानुसार स्पष्ट पारिएको छ:
प्रतिस्थापन सहितको दायित्व अस्वेच्छिक निःसर्ग बापतको खर्च (Outgoings):
- प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम दायित्वभन्दा निःसर्ग गर्दा भएको खर्च बढी भए : निःसर्ग गरिएको दायित्व बापत खुद आम्दानी - निःसर्ग गर्दा भएको खर्च - प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम
- प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम, दायित्व निःसर्ग गर्दा भएको खर्च भन्दा बढी नभए : निःसर्ग गरिएको दायित्व बापत खुद आम्दानी
त्यस्तै, सो व्यक्तिले प्रतिस्थापित दायित्व लिँदा निःसर्ग हुनु तत्काल अघि निःसर्ग गरिएको दायित्व बापतको खुद आम्दानी र निःसर्ग गर्दा भएको खर्च भन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएका रकम बढी भए यस्तो बढी भएजतिको रकम दायित्व लिँदाको आम्दानी (Incomings) मानिन्छ । अस्वेच्छिक निःसर्गबाट प्रतिस्थापित दायित्व बापतको प्राप्त गरेको मानिने रकम (Incomings) निम्नानुसार स्पष्ट पारिएको छ :
प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरेको मानिने रकम (Incomings):
- निःसर्ग गर्दा भएको खर्च भन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम बढी भए : निःसर्ग गरिएको दायित्व बापत खुद आम्दानी + प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम निःसर्ग गर्दा भएको खर्च -
- निःसर्ग गर्दा भएको खर्च भन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम बढी नभए : निःसर्ग गरिएको दायित्व बापत खुद आम्दानी
४६(३) कुनै निकायमा रहेको हितको परिवर्तन वा निकायको पुनर्निर्माणको फलस्वरूप सो निकायको एउटा हितको अर्को हित (सेक्यूरिटी) बाट प्रतिस्थापना भई अस्वैच्छिक निःसर्ग सिर्जना हुने अवस्थाहरु तोकिए बमोजिम हुनेछ ।
कुनै निकायमा रहेको हितको परिवर्तन वा निकायको पुनर्निर्माणको फलस्वरूप सो निकायको एउटा हितको अर्को हित (सेक्यूरिटी) बाट प्रतिस्थापना भई अस्वैच्छिक निःसर्ग सिर्जना हुने सन्दर्भमा नियम १६ मा निम्नानुसारको व्यवस्था गरेको छः
नियम १६. प्रतिस्थापन सहितको अस्वेच्छिक निःसर्ग सिर्जना हुने अवस्था:
(१) कुनै निकायको एकीकरण वा पुनर्संरचना भई कुनै व्यक्तिको सो निकायमा रहेको हित सोही निकायको अर्को हितबाट वा कुनै अर्को निकायको हितबाट प्रतिस्थापन भएमा अस्वेच्छिक निःसर्ग सिर्जना भएको मानिने छ ।
(२) उपनियम (१) बमोजिम अस्वेच्छिक निःसर्ग सिर्जना भएमा सो निकाय वा सो व्यक्तिले विभाग समक्ष स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ । (३) उपनियम (२) बमोजिम दिएको निवेदनमा विभागले स्वीकृति दिन सक्नेछ ।
यस सम्बन्धी व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.१३.३
मानौं, एन्. डि. एल्. फाईनान्स लि. लाई नेपाल राष्ट्र बैंकले नेपाल धन लक्ष्मी बैंक लि.मा गाभिन निर्देशन दिएको रहेछ । सोही निर्देशन बमोजिम उक्त फाइनान्स कम्पनी सो बैंकमा बिलय भएको रहेछ । यसरी बिलय हुने सन्दर्भमा सो फाइनान्स कम्पनीका शेयरहोल्डरले नेपाल धनलक्ष्मी बैंक लि. को शेयर प्राप्त गरेका रहेछन् । यस्तो प्रकारबाट सो फाईनान्स कम्पनीका शेयरहोल्डरले गरेको शेयरको निःसर्ग एवम् शेयर प्रतिस्थापन भएमा अस्वेच्छिक निःसर्ग सिर्जना भएको मानिने छ । यसरी अस्वेच्छिक निःसर्ग सिर्जना भएको मानिनको लागि विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ ।
२२.१४ सम्पत्ति र दायित्व गाभिई हुने निःसर्ग
ऐनको दफा ४७ मा सम्पत्ति र दायित्व गाभिई हुनेनिः सर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
४७(१) कुनै व्यक्तिले कुनै सम्पत्ति प्राप्त गरेको वा दायित्व बहन गरेको परिणामस्वरूप सो व्यक्तिको स्वामित्वमा भएको अर्को कुनै सम्पत्ति वा बहन गरेको अर्को कुनै दायित्व समाप्त भई वा गाभिई निःसर्ग भएमा देहाय बमोजिम हुनेछ:
(क) निःसर्ग हुनुभन्दा तत्काल अघि गाभिने सम्पत्ति वा दायित्व बापतका खुद खर्चहरु भएकोमा सो व्यक्तिले,
(१) गाभिने सम्पत्ति वा दायित्वको निःसर्गका सम्बन्धमा सो खुद खर्च बराबरको रकम प्राप्त गरेको मानिनेछ । तर यस्तो रकम उक्त गाभिएको दायित्व बापत निजले प्राप्त गरेको रकमभन्दा बढी हुने छैन ।
(२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार बहन गर्दा उक्त रकम बराबरको रकम खर्च गरेको मानिनेछ ।
(ख) गाभिने दायित्वको सम्बन्धमा सो दायित्वको निःसर्गको तत्काल अघि गाभिने दायित्वबापत खुद आम्दानीहरु भएकोमा सो व्यक्तिले:
(१) गाभिने दायित्वको निःसर्गबापत सो खुद आम्दानी बराबरको रकम खर्च गरेको मानिनेछ । तर गाभिएको सम्पत्तिको हकमा सो सम्पत्ति प्राप्त गर्दा निजले खर्च गरेको रकम भन्दा बढी हुनु हुँदैन ।
(२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार ग्रहण गर्दा उक्त रकम बराबरको रकम प्राप्त गरेको मानिनेछ ।
४७(२) उपदफा (१) मा उल्लिखित कुराहरुको प्रतिकूल नहुने गरी सो उपदफा देहायका अवस्थाहरुमा समेत लागू हुनेछ:
(क) सो व्यक्तिले कुनै सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने कार्य गरेमा,
(ख) सो व्यक्तिबाट पट्टामा दिइएको सम्पत्तिको प्राप्ति गरेमा, र
(ग) हस्तान्तरण गरिलिने व्यक्तिबाट जमानत दिइएको दायित्वको हस्तान्तरण भएमा ।
कुनै व्यक्तिले कुनै सम्पत्ति प्राप्त गरेको वा दायित्व बहन गरेको परिणामस्वरूप सो व्यक्तिको स्वामित्व रहेको अर्को कुनै सम्पत्ति वा बहन गरेको अर्को कुनै दायित्व समाप्त भई वा गाभिई निःसर्ग भएमा, निःसर्ग हुनुभन्दा तत्काल अघि गाभिने सम्पत्ति वा दायित्व बापतका खुद खर्च बराबरको रकम गाभिने सम्पत्ति वा दायित्व निःसर्गको सम्बन्धमा प्राप्त गरेको मानिन्छ । गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार बहन गर्दा उक्त रकम बराबरको रकम खर्च गरेको मानिन्छ ।
गाभिने दायित्वको सम्बन्धमा सो दायित्वको निःसर्गको तत्काल अघि गाभिने दायित्व बापतको रकम खर्च गरेको मानिन्छ । तर, गाभिएको सम्पत्तिको स्वामित्वको हकमा सो सम्पत्ति प्राप्त गर्दा निजले खर्च गरेको रकम भन्दा बढी हुन सक्दैन । गाभिएको सम्पत्तिको स्वामित्व वा बहन गरेको दायित्व भार ग्रहण गर्दा उक्त रकम बराबरको रकम प्राप्त गरेको मानिन्छ । यस सम्बन्धी व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.१४.१
मानौं, खोप लि.ले नेप प्रा.लि.का नाममा रु.७० लाखको विनिमयपत्र जारी गरेको रहेछ । नेप प्रा. लि. ले धन लि. को नाममा रु ६० लाखको विनिमयपत्र जारी गरेछ । धन लि.ले उक्त विनिमयपत्र खोप लि.मा बुझाएको रहेछ । यसरी खोप लि. ले रु.७० लाख तिर्नुपर्ने र रु ६० लाख लिनुपर्ने विनिमयपत्र बाँकी रहेछन् । यस्तोमा खोप लि. ले तिर्न बाँकी दायित्व र लिन बाँकी सम्पत्ति एक आपसमा गाभी नयाँ विनिमयपत्र जारी गर्न मिल्दछ । तर नयाँ विनिमय पत्रमा गाभिने सम्पत्तिभन्दा बढी दायित्व गाभिएको मानिदैन । विनिमयपत्रको मूल्य एवग्निः सर्गका अवस्था निम्नानुसार रहेछन् ।
तिर्नुपर्ने विनिमय पत्र रु.७० लाख
लिनुपर्ने विनिमय पत्र रु ६० लाख
गाभिई भएको सम्पत्ति रु.१० लाख
२२.१५ व्यवसाय गाभिएको कारणले हुने निःसर्ग सम्बन्धी विशेष व्यवस्था
ऐनको दफा ४७क.ले बैंकिङ्ग तथा वित्तीय व्यवसाय वा बीमा व्यवसाय गर्ने एकै प्रकृतिका निकाय आपसमा गाभिएर ( मर्जर वा एक्युजिशन) भएमा विशेष व्यवस्था गरेको छ ।
४७क (१) बैकिङ्ग तथा वित्तीय व्यवसाय वा बीमा व्यवसाय गर्ने एकै प्रकृतिका निकायहरु आपसमा गाभिएर (मर्जर वा एक्युजिशन) भएमा दफा ५७ को उपदफा (२) को खण्ड (क), (ख), (घ), (ङ), (च) र (छ) तथा सोहि दफाको उपदफा (३) को व्यवस्था लागू हुने छैन ।
बैंकिङ्ग वा बीमा सम्बन्धी एकै प्रकृतिको व्यवसाय गर्ने निकाय गाभिएका बखतमा यो दफामा गरिएका व्यवस्था लागू हुन्छन् । कुनै बैंकिङ्गव्यवसाय गर्ने निकाय वा बीमा व्यवसाय गर्ने निकाय आपसमा गाभिएका अवस्थामा दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको निकायको स्वामित्व परिवर्तन अघि कायम रहेका जिम्मेवारी सार्न पाउने नोक्सानी लगायतका विभिन्न रकम (Tax Attributes) लाई स्वामित्वमा परिवर्तन पछि समायोजन गर्न नपाउने गरी (No deferrals)दफा ५७ को उपदफा (२) द्वारा लगाइएको निम्न बन्देज लागू हुने छैन:
५७(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुनै निकायको स्वामित्व परिवर्तन भएमा त्यस्तो परिवर्तन पछि सो निकायलाई देहायका कार्य गर्न अनुमति दिइने छैन:
(क) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायबाट खर्च गरिएका दफा १४ को उपदफा (३) बमोजिम अगाडि सारिएको ब्याज कट्टा गर्न,
(ख) स्वमित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायलाई हुन गएको नोक्सानी दफा २० बमोजिम कट्टा गर्न,
(घ) स्वामित्व परिवर्तन हुनुअघि दफा २४ को उपदफा (४) को खण्ड (क) बमोजिम कुनै रकम वा खर्च बापत हिसाब गरेको र स्वामित्वको परिवर्तन पछि सो रकम वा खर्चको दफा २४ को उपदफा (४) बमोजिम सच्चाएकोमा दफा २४ को उपदफा (४) बमोजिम समायोजन गर्न,
(ङ) स्वामित्वको परिवर्तन हुनुअघि दफा २५ को उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै रकमको हिसाब गरेको र स्वामित्वको परिवर्तनपछि सो रकम प्राप्त गर्ने अधिकार त्याग गरेको वा सो रकम कुनै व्यक्तिको ऋण दाबी भएकोमा त्यस्तो व्यक्तिले उक्त ऋणलाई डुबेको ऋण मानी अपलेखन गरेमा दफा २५ को उपदफा (१) बमोजिम समायोजन गर्न,
(च) स्वामित्वको परिवर्तन हुनुअघि सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा हुन गएको घाटा स्वामित्वको परिवर्तनपछि सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त आम्दानीमा दफा ३६ बमोजिम घटाउन,
(छ) स्वामित्व परिवर्तन हुनुअघि दफा ६० को उपदफा (२) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम प्रिमियमको हिसाब गरेकोमा र स्वामित्वको परिवर्तन पछि त्यस्तो प्रिमियम बीमितलाई फिर्ता दिएमा सो बमोजिम खर्च दाबी गर्न, वा
कुनै निकायको दफा ५७(२) वमोजिम स्वामित्व परिवर्तन भएमा त्यसरी स्वामित्व परिवर्तन हुनु अगाडि र पछाडिका भागलाई बेग्लाबेग्लै आय वर्ष मानिने व्यवस्था पनि दफा ४७क. को अवस्थामा लागू हुँदैन ।
विगतका नोक्सानी कट्टी सम्बन्धमा निम्न प्रतिबन्धात्मक व्यवस्था लागू रहन्छः
तर, गाभिएर अस्तित्वमा नरहेको निकायको कुनै कट्टी हुन नसकेको नोक्सानी भए त्यस्तो नोक्सानी दामासाहीले आगामी सात वर्षमा कट्टी गर्नु पर्नेछ । यसरी समान किस्तामा नोक्सानी कट्टी गर्ने निकाय सो पूरै नोक्सानी कट्टी नगर्दै पुनः विभाजन भएमा कट्टी भएको नोक्सानी बापत कट्टी भएको रकममा गाभिएको (मर्जर वा एक्युजिशन) आर्थिक वर्षमा कायम रहेको करको दरले कर तिर्नुपर्नेछ ।
निकाय आपसमा गाभिने क्रममा एउटा निकायमा भएका सबै सम्पत्ति तथा दायित्व अर्को निकायमा हस्तान्तरण हुन जान्छन् । यस्तो हस्तान्तरणका सम्बन्धमा निम्न तरीकाले मूल्यांकन हुने व्यवस्था उपदफा (२) मा गरिएको छः
४७क.(२) उपदफा (१) बमोजिम निकायहरु गाभिई सम्पत्ति र दायित्वको निःसर्ग भएमा देहाय बमोजिम हुनेछ:
(क) व्यापारिक मौज्दात तथा व्यावसायिक सम्पत्तिको निःसर्गको हकमा,-
(१) निःसर्गको तत्काल अघि त्यस्तो सम्पत्ति बापत भएको खुद खर्च बराबरको रकम त्यस्तो निःसर्ग बापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र
(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
(ख) ह्रासयोग्य सम्पत्तिको निःसर्गको हकमा,
(१) निःसर्ग हुँदाका वखत अनुसूची - २ को दफा ४ बमोजिम समूहको घट्दो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।
(ग) दायित्वको निःसर्गको हकमा,
(१) निःसर्गको तत्काल अघि त्यस्तो दायित्वको बजार मूल्य र खुद आम्दानीमध्ये जुन घटी हुन्छ सो बराबरको रकम निःसर्ग बापत सो व्यक्तिको लागत परेको मानिनेछ, र
(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम दायित्व वहन गर्ने व्यक्तिले सो दायित्व वहन गरे बापत प्राप्त गरेको मानिनेछ ।
(घ) व्यवसाय गाभ्ने निकाय वा गाभिएर कायम भएको निकायले गाभिएको सम्पत्ति र दायित्वको लागत गणना गर्दा गाभिने निकायबाट त्यस्तो गाभिएको व्यवसाय संचालन गरेका बखत (मर्जर वा एक्यूजिसन अगाडि) कायम रहेका सम्पत्ति र दायित्व बापतको लागत मात्र खण्ड (क), (ख) र (ग) बमोजिम गणना गर्नु पर्नेछ ।
निकाय गाभिने क्रममा गाभिने कम्पनी र गाभ्ने कम्पनीका कर्मचारीको सामूहिक अवकासको अवस्था भएमा निम्नानुसार हुन्छः
४७क.(३) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायमा वा गाभिए पश्चातको निकायमा कार्यरत कर्मचारीहरुलाई सामुहिक रूपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा (अवकाश कोष मार्फत गरिने भुक्तानी वा कर्मचारी सेवा शर्तमा उल्लेख भए अनुसार गर्नुपर्ने भुक्तानी बाहेकका) अवकाश भुक्तानीमा कर कट्टी गर्नुपर्ने दरमा पचास प्रतिशत छुट दिई भुक्तानीमा कर कट्टी गर्नुपर्ने छ ।
निकाय गाभिने क्रममा गाभिने कम्पनीका शेयरधनीले अर्को कम्पनी (गाभ्ने कम्पनी) को शेयर प्राप्त गरेका हुन्छन् । यस्तो शेयर बिक्री सम्बन्धमा निम्नानुसार हुन्छः
४७क.(४) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायमा कायम रहेका शेयरधनीहरुले आफनो शेयर गाभिएको दुई वर्ष भित्र आफनो शेयर बिक्रीको माध्यमबाट निःसर्ग गरेमा त्यसरी निःसर्ग भएको शेयरमा भएको लाभमा पुँजिगत लाभकर लाग्ने छैन ।
गाभिने प्रक्रिया पूरा भइसके पछिको कम्पनीका शेयरधनीले सो कम्पनी (गाभ्ने कम्पनी) को लाभांश प्राप्त भएमा निम्नानुसार हुन्छ:
४७क.(५) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्ष भित्र गाभिएको अवस्थामा कायम रहेको शेयरधनीलाई बितरण गरेको लाभांशमा कर लाग्ने छैन ।
बैंक तथा वित्तीय संस्था र बीमा व्यवसाय गर्ने कम्पनी गाभिने सम्बन्धी अन्य व्यवस्था निम्नानुसार छन् :
४७क.(६) उपदफा (१) अनुसार गाभिई निःसर्ग हुन चाहने निकायले सम्वत् २०७९असारमसान्तभित्र गाभिने आशय पत्र आन्तरिक राजस्व विभागमा दिनु पर्नेछ ।
४७क.(७) उपदफा (१) बमोजिम गाभिनको लागि उपदफा (६) बमोजिम आशयपत्र दिने निकायहरुले गाभिने प्रक्रिया सम्वत् २०८० असारमसान्तभित्र पूरा गर्नुपर्नेछ ।
४७क.(८) यो दफा प्रारम्भ भएपछि एक आपसमा गाभिई यस दफा बमोजिमको सुविधा उपयोग नगरेका निकायले समेत यसै बमोजिमको सुविधा उपयोग गर्न पाउनेछन् ।
४७क.(९) उपदफा (६) मा तोकिएको अवधिभित्र आशयपत्र नदिने निकाय तथा उपदफा (७) मा उल्लेख भएको मितिसम्म गाभिने प्रक्रिया पूरा नगरेको निकायको हकमा यो दफाको व्यवस्था लागू भएको मानिने छैन ।
बैंक तथा वित्तीय संस्था र बीमा व्यवसाय गर्ने गभिन चाहने कम्पनीले सम्वत् २०७९ असार मसान्तभित्र गाभिने आशयपत्र आन्तरिक राजस्व विभागमा दिई सो सम्बन्धी प्रक्रिया सम्वत् २०८० असार मसान्तभित्र पुरा गरी सकेको हुनु पर्दछ ।
२२.१६ विभाजनबाट हुने सम्पत्ति र दायित्वको निःसर्ग
ऐनको दफा ४८ मा विभाजनबाट हुने सम्पत्ति र दायित्वको निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
४८ कुनै व्यक्तिबाट स्वामित्व प्राप्त गरिएको कुनै सम्पत्तिसँग सम्बन्धित अधिकार वा बहन गरिएको दायित्वसँग सम्बन्धित भारहरु कुनै सम्पत्ति वा सोको कुनै भागको पट्टाको माध्यमबाट समेत अन्य कुनै व्यक्तिमा सिर्जना भएमा देहाय बमोजिम हुनेछ:
(क) अधिकार वा भारहरु स्थायी भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेको तर कुनै नयाँ सम्पत्ति वा दायित्व प्राप्त नगरेको मानिनेछ, र
(ख) अधिकार वा भारहरु अस्थायी वा सांयोगिक भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेको मानिने छैन । तर अवस्था अनुसार नयाँ सम्पत्ति प्राप्त गरेको वा नयाँ दायित्व लिएको मानिनेछ ।
कुनै व्यक्तिबाट स्वामित्व प्राप्त गरिएको कुनै सम्पत्तिसँग सम्बन्धित अधिकार वा बहन गरिएको दायित्वसँग सम्बन्धित भार स्थायी रूपमा सम्पत्तिमाथिको अधिकार वा दायित्वमाथिको भार अर्को व्यक्तिमा हस्तान्तरण भएमा यसरी हुने हस्तान्तरणलाई सम्पत्ति वा दायित्वको निःसर्ग मानिनेछ । उदाहरणको लागि एक टुक्रा जग्गाको केही भाग विभाजन गरी अर्को व्यक्तिलाई हस्तान्तरण भएको अवस्थामा सो हस्तान्तरणबाट जग्गाको अधिकार स्थायी रूपले अर्को व्यक्तिमा हस्तान्तरण हुने भएकाले सो जग्गा विभाजनबाट निःसर्ग भएको मानिन्छ ।
त्यस्तै, कुनै व्यक्तिबाट स्वामित्व प्राप्त गरिएको कुनै सम्पत्तिसँग सम्बन्धित अधिकार वा बहन गरिएको दायित्वसँग सम्बन्धित भार स्थायी रूपमा सम्पत्तिमाथिको अधिकार वा दायित्वमाथिको भार अर्को व्यक्तिमा हस्तान्तरण नभई अस्थाई रूपमामात्र हस्तान्तरण भएमा यसरी हुने हस्तान्तरणलाई सम्पत्ति वा दायित्वको निःसर्ग मानिदैन, जस्तै बहालमा दिइएको सम्पत्ति (Operating lease) अन्तर्गत हुने सम्पत्तिको हस्तान्तरण ।
२२.१७ खर्च तथा आम्दानीको बाँडफाँडबाट हुने निःसर्ग
ऐनको दफा ४९ मा खर्च तथा आम्दानीको बाँडफाँडबाट हुने निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः
४९(१) कुनै व्यक्तिले देहाय बमोजिमको अवस्थामा कुनै सम्पत्ति वा दायित्व प्राप्त गर्दा, बहन गर्दा वा निःसर्ग गर्दा गरिएको खर्च वा आम्दानीहरु अवस्थानुसार प्राप्ति, बहन वा निःसर्गको समयमा बजार मूल्यको आधारमा सम्पत्ति र दायित्वहरुबीच बाँडफाँड गर्नु पर्नेछ:
(क) एकै समयमा एक वा बढी सम्पत्ति प्राप्त गरेमा वा एक वा बढी दायित्व ग्रहण गरेमा, वा
(ख) एकै समयमा एक वा बढी सम्पत्ति वा दायित्व निःसर्ग गरेमा ।
कुनै व्यक्तिले एकै समयमा एक वा बढी सम्पत्ति प्राप्त गरेमा वा एक वा बढी दायित्व ग्रहण गरेमा वा निःसर्ग गरेमा, बहन गर्दा वा निःसर्ग गर्दा गरिएको खर्च वा आम्दानी अवस्थानुसार प्राप्ति, बहन वा निःसर्गको समयमा बजार मूल्यको आधारमा सम्पत्ति र दायित्वबीच बाँडफाँड गर्नु पर्नेछ। यस सम्बन्धी व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.१७.१
मानौं, लक्ष्मी वित्तीय संस्थाले लि. पोखराले रु.१ करोड तथा रु.५० लाख पर्ने दुई जग्गा खरिद गरेको रहेछ । उक्त जग्गा खरिद गर्ने क्रममा उक्त जग्गाको नापजाँच तथा अन्य कानुनी अवस्था हेर्नलाई वि.वि. एसोसियटस्लाई रु. ३ लाख भुक्तान गरेको रहेछ । यसरी भुक्तान गरिएको खर्चलाई सो जग्गाको बजार मूल्य अनुसार बाँडफाँड गर्नु पर्दछ । सो अनुरूप बाँडफाँड गर्दा क्रमशः रु. २ लाख तथा रु.१ लाखले बाँडफाँड गर्नुपर्दछ ।
४९(२) कुनै सम्पत्तिको स्वामित्व धारण गर्ने वा दायित्व बहन गर्ने व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेमा सो निःसर्गको तत्काल अघिको सो सम्पत्ति वा दायित्वको खुद खर्च वा खुद आम्दानीहरुलाई निःसर्ग गरिएको सम्पत्ति वा दायित्वको भाग र बाँकी रहेको भागमा अवस्था अनुसार निःसर्गको तत्कालपछिको सोको बजार मूल्यको आधारमा बाँडफाँड गर्नु पर्नेछ ।
कुनै व्यक्तिले सम्पत्तिको स्वामित्व वा दायित्वको कुनै भाग निःसर्ग गरेमा सो निःसर्गको तत्काल अघिको सो सम्पत्ति वा दायित्वको खुद खर्च वा खुद आम्दानीहरुलाई निःसर्ग गरिएको सम्पत्ति वा दायित्वको भाग र बाँकी रहेको भागमा अवस्था अनुसार निःसर्गको तत्काल पछिको सोको बजार मूल्यको आधारमा बाँडफाँड गर्नुपर्नेछ । यस सम्बन्धी व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २२.१७.२
मानौं, लक्ष्मी वित्तीय संस्थाले लि. पोखरालेरु. १ करोडमा दुई रोपनी जग्गा खरिद गरेको रहेछ । उक्त जग्गाको नापजाँच, बजार मूल्य अध्ययन एवम् अन्य कानुनी अवस्था हेर्नलाई वि.वि.एसोसियटस्लाई रु. ५ लाख भुक्तान गरेको रहेछ । उक्त जग्गाको हालको बजार मूल्य रु. २ करोड रहेछ । सो संस्थाले उक्त दुई रोपनी जग्गामध्ये एक रोपनी जग्गा रु.१ करोड २० लाखमा बिक्री गरेछ र बाँकी रहेको अर्को १ रोपनीको मूल्य रु.८० लाख पर्ने रहेछ । यस अवस्थामा उक्त जग्गाको खुद खर्च निम्नानुसार बाँडफाँड गरिन्छः
१. जग्गाको लागत रु.१,००,००,०००/-
२. कन्सल्टेन्सी खर्च रु.५,००,०००/-
३. जग्गाको कुल लागत आउटगोइंग (१+२) रु.१,०५,००,०००/-
४. विभाजनबाट विक्री भएको सम्पत्तिको लागत रु.६३,००,०००/-
जम्मा बजार मूल्य रु.२,००,००,०००/-
४. १ बाँकी सम्पत्तिको बजार मूल्य रु.८०,००,०००।- (४० प्रतिशत)
४.२ बिक्री गरिएको सम्पत्तिको मूल्य रु.१,२०,००,०००/- (६० प्रतिशत)
५. बाँकी जग्गाको लागत रु.४२,००,०००/-
नोट : जग्गा तथा घरजग्गाको निःसर्ग वा बिक्री वा हस्तान्तरणमा भएको लाभमा लाग्ने करका सम्बन्धमा यस विभागबाट जारी भएको " जग्गा तथा घरजग्गा निःसर्गमा पुँजीगत लाभ कर सम्बन्धी निर्देशिका, २०७२ (पहिलो संशोधन, २०७६ ) मा विस्तृत व्याख्या गरिएको छ । सो निर्देशिका विभागको वेबसाइटमा समेत उपलब्ध छ ।