Skip to content

परिच्छेद ४ वस्तु वा सेवाको आपूर्ति

वस्तु तथा सेवाको बिक्री, विनिमय वा कुनै प्रकारले स्वामित्व हस्तान्तरण गर्ने कार्य वा त्यससम्बन्धी अनुमति दिने वा ठेक्का पट्टा गर्ने कार्यलाई आपूर्ति भनिन्छ । मूल्य अभिवृद्धि कर प्रयोजनको लागि करयोग्य वस्तु तथा सेवाको आपूर्तिको स्थान तथा समयको महत्वपूर्ण भूमिका रहेको हुन्छ । वस्तु तथा सेवाको उत्पादन, निर्माण, विक्री, विनिमय, हस्तान्तरण आदिमा आपूर्तिको स्थान र समय फरक फरक रहेको हुन सक्छ । करयोग्य वस्तु तथा सेवाको आपूर्तिको स्थान नेपाल भएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ आकर्षित हुन्छ । वस्तु तथा सेवाको आपूर्तिको स्थान तथा समयको सम्बन्धमा यस परिच्छेदमा ब्याख्या गरिएको छ ।

४.१ आपूर्तिको परिभाषा

वस्तु तथा सेवाको विक्री, विनिमय वा कुनै प्रकारले स्वामित्व वा प्रयोगाधिकार हस्तान्तरण गर्ने कार्यलाई आपूर्ति भनिन्छ। ऐनको दफा २ को खण्ड (छ) ले आपूर्तिको परिभाषा देहाय बमोजिम गरेको छः

दफा २(छ) आपूर्ति भन्नाले प्रतिफल लिई वा नलिई कुनै वस्तु वा सेवा बिक्री, विनिमय, हस्तान्तरण गर्ने कार्य वा तत्सम्बन्धी अनुमति दिने वा ठेक्का पट्टा गर्ने कार्य सम्झनु पर्दछ ।

प्रतिफल भन्नाले वस्तु वा सेवाको आपूर्ति गर्दा सोको मूल्य वापत प्राप्त हुने मुद्रा, वस्तु वा सेवा वा अन्य कुनै स्वरुपको प्रतिफललाई सम्झनु पर्दछ । करयोग्य आपूर्ति भए तापनि दर्ता भएको वा दर्ता हुनु पर्ने कर्तव्य भएको व्यक्तिले आपूर्ति गरेको र सो आपूर्ति वापत प्रतिफल प्राप्त गरेको खण्डमा मात्र मूल्य अभिवृद्धि कर ऐन आकर्षित हुन्छ। करयोग्य आपूर्तिको परिभाषामा निम्न तत्वहरु समावेश भएका हुन्छन्ः
क. वस्तु तथा सेवाको खरिद बिक्री विनिमय वा हक हस्तान्तरण वा तत् सम्बन्धी अनुमति दिने वा ठेक्का पट्टा भएको हुनुपर्दछ,
ख. आपूर्ति आफ्नो क्षेत्राधिकार ( Within own Jurisdiction) अन्तर्गत भएको हुनुपर्दछ अर्थात यस्तो आपूर्ति नेपालभित्र गरिएको हुनुपर्दछ,
ग. आपूर्ति कुनै व्यवसाय संचालन गर्ने सिलसिलामा गरिएको हुनुपर्दछ
घ. आपूर्ति कुनै कर छुट हुने आपूर्तिसँग सम्बन्धित हुनु हुँदैन,
ङ. आपूर्ति वापत आपूर्तिकर्ताले प्रतिफल प्राप्त गरेको वा प्राप्त गरेको मानिएको अवस्था हुनुपर्दछ ।

यस सम्बन्धमा निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.१

मानौं कुनै व्यक्तिले चिनीको बिक्री वितरण गर्दछ भने ऐनको दफा २ (छ) बमोजिम त्यसलाई वस्तुको आपूर्ति भनिन्छ। यसै गरी कुनै व्यक्तिले शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदछ भने त्यसलाई सोही दफा बमोजिम सेवाको आपूर्ति भएको मानिन्छ । यी वस्तु तथा सेवाको आपूर्ति मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले गरेमा मूल्य अभिवृद्धि कर आकर्षित हुन्छ भने दर्ता नभएको व्यक्तिले गरेको रहेछ भने मूल्य अभिवृद्धि कर आकर्षित हुँदैन ।

यस सम्बन्धमा निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.२

मानौं राम स्टेशनरी पसलले श्याम स्टेशनरीबाट एक लाख रुपैयामा ५ वटा प्रिन्टर खरिद गरेको रहेछ । उक्त ५ वटा प्रिन्टरको मूल्य वापत राम स्टेशनरीले श्याम स्टेशनरीलाई सो रकम नगदै भुक्तान गरेमा वा सो रकम बराबरको अन्य कुनै वस्तु आपूर्ति गरेमा वा श्याम स्टेशनरीबाट प्राप्त गर्नुपर्ने कुनै रकममा मिलान गरेमा श्याम स्टेशनरीले उक्त प्रिन्टरवापतको प्रतिफल प्राप्त गरेको र राम स्टेशनरीले खरिद वापतको भुक्तानी गरेको मानिन्छ ।

४.२ आपूर्तिको स्थान र समय

मूल्य अभिवृद्धि कर गन्तव्य सिद्धान्त (Destination Principle) मा आधारित रहेको छ । कर लाग्ने वस्तु वा सेवाको उपभोग नेपालभित्र भएको छ भने त्यस्तो कारोबारमा मूल्य अभिवृद्धि कर आकर्षित हुन्छ। विदेशबाट आयात हुने वस्तु नेपालको भूमिमा प्रवेश गरे लगत्तै भन्सार आकर्षित भए झैं मूल्य अभिवृद्धि कर पनि आकर्षित हुन्छ। वस्तु कुन स्थानमा उत्पादन भयो भन्ने विषय कर प्रयोजनको लागि त्यति महत्वपूर्ण हुँदैन । ती वस्तुहरु कसले, कहिले र कहाँ प्राप्त गरेको वा उपभोग गरेको हो भन्ने विषय बढी महत्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय सेवाको आपूर्ति यकिन गर्ने कार्य निकै कठिन हुने गर्दछ । वस्तुको कारोबारमा जस्तो सेवा आपूर्तिमा आपूर्तिको स्थान र समय यकिन गर्न कठिनाई हुन्छ ।

ऐनको दफा ५ अनुसार देहायको अवस्थामा हुने वस्तु तथा सेवाहरुको व्यापारिक आपूर्तिमा मूल्य अभिवृद्धि कर आकर्षित हुन्छः दफा ५ मूल्य अभिवृद्धि कर लाग्नेः
(१) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायका कारोबारमा मूल्य अभिवृद्धि कर लाग्नेछः
क) नेपालभित्र आपूर्ति भएका वस्तु वा सेवामा,
ख) नेपालभित्र आयात गरिएको वस्तु वा सेवामा,
ग) नेपालबाहिर निर्यात गरिएको वस्तु वा सेवामा,

वस्तु तथा सेवाको आपूर्तिको स्थानको सम्बन्धमा ऐनको दफा ६ मा देहायको व्यवस्था गरिएको छः

दफा ६. आपूर्तिको स्थान र समयः 1) यस ऐन बमोजिम कर निर्धारण र असुल उपर गर्ने प्रयोजनको लागि कुनै वस्तु वा सेवाको आपूर्ति नेपालभित्र वा बाहिर भएको कुराको निर्धारण तोकिए बमोजिम हुनेछ ।

यसै गरी नियमावलीको नियम १५ मा देहाय बमोजिमको व्यवस्था रहेको छः

नियम १५. वस्तुको आपूर्ति स्थानको निर्धारण: देहायको स्थानलाई वस्तुको आपूर्ति भएको स्थान मानिनेछः
(क) बिक्री गरी हस्तान्तरण गरिएको चल वस्तुको आपूर्तिको स्थान जहाँ त्यस्तो वस्तु बिक्री गरिएको हस्तान्तरण गरिएको छ सोही ठाउँ

यस सम्बन्धमा निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.३

काठमाडौंका एक तयारी पोशाकका थोक बिक्रेताले धनगढीको कुनै खुद्रा व्यापारीलाई पोशाक बिक्री गरेको रहेछन्। तयारी पोशाक कर लाग्ने वस्तु हो । उक्त वस्तुको बिक्री काठमाडौंबाट भएको हुँदा उक्त वस्तुको आपूर्तिको स्थान विक्रेताको कारोबारस्थल काठमाडौं हुन्छ ।

(ख) स्वामित्व परिवर्तन गरिए पनि स्थान परिवर्तन गर्न नसकिने अचल वस्तुको सम्बन्धमा त्यस्तो वस्तु रहेको ठाउँ

यस सम्बन्धमा निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.४

मानौं विराटनगरस्थित नेपाल बिस्कुट उद्योगलाई कुनै अर्को कम्पनीले खरिद गरेको रहेछ। विराटनगरमा स्थापित उद्योगको दर्ता काठमाडौस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेको छ । उद्योग खरिद विक्री कारोवारमा कारोबारमा शेयरहरुको खरिद बिक्री हुने गर्दछ । शेयर हस्तान्तरणमा मूल्य अभिवृद्धि कर आकर्षित हुँदैन । साविकका शेयरधनीहरुबाट नयाँ शेयरधनी सम्बन्धी सम्पूर्ण कानूनी कार्यवाही काठमाडौस्थित कम्पनी रजिष्ट्रारको कार्यालयबाट भएको रहेछ। यस्तो अवस्थामा आपूर्तिको स्थान काठमाडौंस्थित कम्पनी रजिष्ट्रारको कार्यालय नभई विराटनगर स्थित उद्योगको कारोबारस्थल नै हुन्छ । उद्योग एकमुष्टरुपमा बिक्री भएको र उद्योगलाई एक अचल वस्तुको रुपमा मानिएको हुँदा सोही स्थानलाई आपूर्तिको स्थान भनिन्छ।

(ग) आयात गरिएको वस्तुको सम्बन्धमा त्यस्तो वस्तु नेपालभित्र आयात गरिने नेपालको भन्सार बिन्दू

(घ) कुनै उत्पादक वा बिक्रेताले कुनै वस्तु स्वयं आफूलाई आपूर्ति गरेमा त्यस्तो वस्तुको उत्पादक वा बिक्रेता रहेको स्थान ।

यस सम्बन्धमा निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.५

भैरहवामा रहेको एक फलाम उद्योगले नेपालगंजमा पनि नयाँ कारखाना स्थापना गरेको रहेछ। नेपालगंजमा स्थापना भैरहेको कारखानाको लागि आफ्नै उद्योगबाट उत्पादित छडमध्ये ५०० क्विण्टल छड प्रयोग गरेछ। यस्तो अवस्थामा ५०० क्विण्टल छड आपूर्तिको स्थान भैरहवास्थित उद्योग हुन्छ ।

नियम १६ सेवाको आपूर्ति स्थानको निर्धारणः सेवाको आपूर्ति स्थान सेवाबाट लाभ प्राप्त गर्ने ठाउँ हुनेछ ।

यस सम्बन्धमा निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.६

मानौं नेपालका एक कानून व्यवसायीले जर्मनीको कुनै एउटा कानूनी फर्मलाई लागु पदार्थसम्बन्धी कुनै परामर्श सेवा उपलब्ध गराएका रहेछन् । जर्मनीमा रहेको कानूनी फर्मले त्यसको प्रयोग अमेरिकामा थुनामा रहेका आफ्नो ग्राहक ( Client ) लाई थुनामुक्त गर्नको लागि गरेको छ । यस्तो अवस्थामा परामर्श सेवाको आपूर्ति स्थान कुन देशलाई मान्ने ? नेपाल, जर्मनी वा अमेरिका ? प्रस्तुत उदाहरणमा नेपालको कानून व्यवसायीले जर्मनीमा सेवा आपूर्ति गरेका, सो सेवाको उपभोग जर्मनीको कानूनी फर्मले गरेको र सो सेवा उपभोग गरे वापत सेवा शुल्क जर्मनीबाट नेपालमा भुक्तानी पठाइएको हुँदा सेवाको आपूर्तिस्थान जर्मनी हो । यदि जर्मनीको फर्मको सहयोगमा नेपाली कानून व्यवसायीले अमेरिकाको कारागारमा रहेको कैदीलाई सोझै कानूनी सेवा प्रदान गरेको अवस्था भएमा आपूर्तिस्थान अमेरिका हुन्थ्यो।

आपूर्तिको समय निर्धारण गर्दा विशेषतः वीजक जारी भएको वस्तु वा सेवा ग्रहण गरेको र भुक्तानी गरेको समयलाई ध्यान दिनुपर्दछ । यी तीन अवस्थामध्ये जुन पहिले घट्दछ त्यसलाई आपूर्तिको समय मानिन्छ ।

वस्तु वा सेवाको आपूर्तिको समय निर्धारणको सम्बन्धमा ऐनको दफा ६ को उपदफा (२) मा व्यवस्था रहेको छ ।

दफा ६(२) यस ऐन बमोजिम कर निर्धारण र असुल उपर गर्ने प्रयोजनको लागि कुनै वस्तु वा सेवाको आपूर्ति देहायको समयमध्येमा जुन पहिले हुन्छ सोही समयमा त्यस्तो वस्तु वा सेवाको आपूर्ति भएको मानिनेछः (क) आपूर्तिकर्ताले बीजक जारी गरेको बखत, (ख) वस्तुको आपूर्तिको हकमा प्रापकले आपूर्तिकर्ताको कारोबारस्थलबाट वस्तु उठाएको वा ग्रहण गरेको बखत, (ग) सेवाको आपूर्तिको हकमा सेवा प्रदान भएको बखत, (घ) आपूर्तिकर्ताले वस्तु वा सेवाको प्रतिफल प्राप्त गरको बखत ।

माथि उल्लिखित दफा ६ को उपदफा (२) को खण्ड (क) मा उल्लिखित बीजक जारी गरेको समयमा आपूर्ति भएको मानिने विषयलाई निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.७

महेन्द्रनगरका चिया व्यापारी श्री गोविन्द लेखकले झापाका चिया उत्पादक श्री नारायण राजवंशीलाई २०७५ पौष २५ गते ५०० किलोग्राम सि.टि.सी चिया महेन्द्रनगर पठाई दिन अनुरोध गरेको रहेछ । श्री लेखकको अनुरोधलाई स्वीकार गर्दै श्री राजवंशीले २०७५ पौष २८ गते ढुवानी सेवामार्फत चिया र सोको रु.४०,००० मूल्यको कर बीजक महेन्द्रनगर पठाएको रहेछ । उक्त चिया महेन्द्रनगरमा माघ २ गते पुगेछ। प्रस्तुत उदाहरणमा बीजक जारी गरेको, खरिदकर्ताले वस्तु ग्रहण गरेको र मूल्य भुक्तानी गरेको समय फरक फरक रहेका छन् । यी तीन समयमध्ये बीजक जारी गरेको दिन पहिला भएको हुँदा आपूर्तिको समय २०७५ पौष २८ लाई मानिन्छ ।

उल्लिखित दफा ६ को उपदफा (२) को खण्ड (ख) बमोजिम वस्तुको आपूर्तिको हकमा प्रापकले आपूर्तिकर्ताको कारोबारस्थलबाट वस्तु उठाएको वा ग्रहण गरेको बखत आपूर्ति भएको मानिने विषयलाई निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.८

मानौं काठमाडौं हार्डवेयर भन्ने पसल काठमाडौंमा संचालनमा रहेको छ । उक्त पसलले विभिन्न डिलरहरुबाट उधारोमा सिमेण्ट खरिद गरी कारोबार गर्दछ । खरिद भएको सिमेण्ट बिक्री गरी रकम प्राप्त भएपछि डिलरलाई भुक्तानी गर्ने गरेको र सोही बखत खरिद कारोबारको कर बीजक लिने गरेको रहेछ । उपर्युक्त उदाहरणमा बीजक जारी गरेको र प्रतिफल भुक्तानी गरेको समयभन्दा पहिले वस्तु ग्रहण गरेकोले वस्तु उठाएको वा ग्रहण गरेको बखतलाई आपूर्तिको समय मानिन्छ ।

यसै गरी माथि उल्लिखित दफा ६ को उपदफा (२) को खण्ड (ग) मा उल्लिखित सेवाको हकमा सो सेवा प्राप्त भएको वा सो वापतको बीजक जारी भएको वा भुक्तानी प्राप्त भएको समय मध्ये जुन पहिले हुन्छ सो समयमा सो सेवा आपूर्ति भएको वा प्राप्त भएको मानिनेछ । यस सम्बन्धमा निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.९

मानौं लोकसेवा आयोगले निजामती सेवाको रा.प. तृतीय श्रेणीको विज्ञापन प्रकाशन गर्न गोरखापत्र संस्थानलाई २०७२ कार्तिक २५ गते आइतबार पत्र लेखी सोही दिन संस्थानमा दर्ता गराएको रहेछ । विज्ञापनसम्बन्धी सूचना बुधबारको अंकमा छापिने भएको हुँदा गोरखापत्रको बुधबार अंकमा उक्त सूचना प्रकाशित भएछ। बिज्ञापन सेवा बुधबार प्रदान भएको हुँदा ऐनको दफा ६(१)(ग) बमोजिम सो दिन आपूर्तिको समय हुन्छ ।

यस विषयलाई निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.१०

मानौं कखग टुर एण्ड ट्राभल प्रा. लि. ले विभिन्न किसिमका पर्यटकीय सेवा आपूर्ति गर्दछ । पर्यटकीय सेवा मूल्य अभिवृद्धि कर लाग्ने सेवा हो । उक्त प्रा. लि. ले आपूर्ति गर्ने विभिन्न टुर प्याकेजहरुको बुकिङ्ग गर्दा विदेशी वा स्वदेशी टुर कम्पनी वा पयर्टकबाट अग्रिम भुक्तानी प्राप्त गर्ने गर्दछ । टुर प्याकेजमा बसोबास खर्च, खाना खर्च, विभिन्न पर्यटकीयस्थलको अवलोकन भ्रमणको प्रवेश शुल्क, यातायात शुल्क आदि समावेश रहेको छ । विदेशी पर्यटकहरु नेपाल प्रवेश गरे पछि र स्वदेशी पयर्टकले भ्रमण शुरु पछि उक्त दुर प्याकेजको उपभोग गर्दछन् र उक्त टुर प्याकेज समाप्त भए पश्चात् उक्त प्रा. लि. ले कर बीजक जारी गर्ने र बाँकी रकम विदेशी वा स्वदेशी टुर कम्पनी वा पर्यटकबाट भुक्तानी प्राप्त गर्दछ । यसमा पर्यटकीय सेवा आपूर्ति भएको समय, सो वापतको बीजक जारी भएको मितिभन्दा अगावै अर्थात टुर प्याकेज बुकिङ्गका बखत अग्रिम भुक्तानी प्राप्त भएको हुँदा सो समयलाई नै सेवा आपूर्तिको समय मानिनेछ । (तर आर्थिक ऐन, २०७८ ले मू.अ.कर ऐन, २०५२ मा संशोधन गरी ट्रेकिङ्ग तथा टुर प्याकेजमा मू.अ.कर नलाग्ने व्यवस्था गरेको)

यसैगरी ऐनमा कुनै वस्तु वा सेवा कुन समयमा आपूर्ति भएको हो भन्ने कुरा यकिन गर्ने सम्बन्धमा देहायको व्यवस्था रहेको छः

दफा ६(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थाहरुमा देहाय बमोजिमको समयलाई आपूर्ति समय मानिनेछः
(क) निरन्तररुपमा आपूर्ति हुने दूरसंचार सेवा वा त्यस्तै अन्य सार्वजनिक सेवाहरुको हकमा बीजक जारी गर्दाको समय,
(ख) करार बमोजिम किस्ताबन्दी रुपमा कुनै वस्तु वा सेवाको मूल्य एकभन्दा बढी दिनमा आंशिक रुपमा भुक्तानी हुने व्यवस्था भएकोमा भुक्तानी भएको वा करारमा भुक्तानी गर्नुपर्ने भनेर उल्लेख गरिएको दिनमध्ये जुन पहिले हुन्छ सो समय,
(ग) यस ऐन अन्तर्गत कर कट्टी सुविधा प्राप्त नहुने गरी प्रयोग भएका वस्तु वा सेवाको हकमा त्यस्तो वस्तु वा सेवा प्रयोग भएको समय ।

यस विषयलाई निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.११

काठमाडौं न्युरोडको स्टार टेलिभिजन पसलले किस्तावन्दीरुपमा टेलिभिजन विक्री गर्ने गरेको रहेछ। सो फर्मको किस्ताबन्दी कार्यक्रमको लागि तयार गरिएको सम्झौतापत्र बमोजिम रु.२० हजार मूल्यको टेलिभिजन खरिद गर्ने व्यक्तिले शुरुमा ४० प्रतिशत रकम अर्थात रु.८ हजार नगद भुक्तानी गर्नुपर्ने, त्यसपछि मासिकरुपमा रु. १ हजार र मासिक १ प्रतिशतले व्याज भुक्तानी गर्नुपर्ने रहेछ । किस्तावन्दी रकम प्रत्येक महिनाको मसान्तभित्र बुझाउनु पर्ने उल्लेख भएको रहेछ । एक उपभोक्ताले रु. २० हजार मूल्यको एउटा टेलिभिजन २०७२ पौष ७ गते रु.८ हजार नगद भुक्तानी गरी माथि उल्लेख भएको शर्तमा खरिद गरेका रहेछन् । २०७२ माघ महिनाको रु. १ हजार र व्याज किस्ताबन्दी रकम माघमसान्तभित्र भुक्तानी प्राप्त नभई माघ र फागुन महिनाको किस्ताबन्दी रकम फागुनको ५ गते प्राप्त भएको रहेछ । यस्तो अवस्थामा दफा ६ ( ३ ) (ख) बमोजिम माघ महिनाको सेवाको आपूर्तिको समय २०७२ माघमसान्त र फागुन महिनाको सेवा आपूर्ति समय फागुन ५ गतेलाई मानिन्छ । माघ महिनाको किस्ताबन्दी रकम भुक्तानी भएको समय ( फागुन ५ गते) भन्दा भुक्तानी गर्नुपर्ने भनी सम्झौतामा उल्लेख भएको समय (माघमसान्त) पहिले छ। फागुन महिनाको किस्तावन्दी रकम सो महिनाको मसान्तमा बुझाउनु पर्ने भए तापनि उपभोक्ताले अग्रिम रुपमा फागुनको ५ गते नै बुझाएको हुँदा सोही दिनलाई आपूर्ति समय मानिन्छ । उपर्युक्त अनुसार कुनै वस्तु वा सेवाको आपूर्ति एकभन्दा बढी समयमा आपूर्ति हुन सक्ने अवस्था विद्यमान भएमा आपूर्तिको समयको निर्धारण महानिर्देशकले तोके बमोजिम हुने व्यवस्था ऐनले गरेको छ।

दफा ६(४) कुनै कारोबारको आपूर्ति समयको सम्बन्धमा उपदफा (२) मा उल्लिखित अवस्थाहरुमध्ये एकैपटक एकभन्दा बढी अवस्थाहरु लागु हुन सक्ने भएमा त्यस्तो कारोबारमा आपूर्तिको समयको निर्धारण महानिर्देशकले वस्तुगत आधारमा तोके बमोजिम हुनेछ ।

४.३ भुक्तानी (अग्रिम समेत) को बदलामा आपूर्ति (Supplies against Payment including Advance)

मूल्य अभिवृद्धि कर प्रणालीमा प्रतिफल अग्रिम, तत्काल वा विलम्बितरुपमा प्राप्त हुन सक्दछ। कुनै वस्तु वा सेवा आपूर्ति गर्ने गरी खरिदकर्ताले बिक्रेतालाई कुनै अग्रिम भुक्तानी गरेको छ भने यस्तो अग्रिम भुक्तानी उक्त वस्तु वा सेवासँग सम्बद्ध रहेको हुन्छ । यस्तो अग्रिम भुक्तानी आपूर्तिलाई प्रोत्साहन गर्ने माध्यम मात्र हो । अग्रिम भुक्तानीलाई आपूर्तिको अभिन्न अंग मानिन्छ । तर पूर्ण प्रतिफल (Full Consideration) प्राप्त गरी सकेको मान्न हुँदैन। साबिकमा कुनै कर छुट रहेका वस्तु वा सेवा आपूर्तिको लागि प्राप्त अग्रिम भुक्तानी हाल कर लाग्ने अवस्थामा परिवर्तन भएमा र साविकमा कर लाग्ने वस्तु वा सेवा हाल कर छुट हुने वस्तु वा सेवामा परिवर्तन भएमा अग्रिम भुक्तानीको कर असर (Tax Effect) बेग्लाबेग्लै हुन्छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ६ ले आपूर्तिकर्ताले कुनै वस्तु तथा सेवाको प्रतिफल प्राप्त गरेको बखतलाई आपूर्तिको समय मानेको छ । मानि लिउँ कुनै आपूर्ति अग्रिम भुक्तानी प्राप्त गर्दाको समयमा कर नलाग्ने आपूर्ति रहेछ। तर पछि उक्त वस्तु वा सेवा आपूर्ति हुँदाका बखत करयोग्य भएको रहेछ भने उक्त आपूर्तिमा कर असूली गर्नुपर्दछ । कर लाग्नुको मुख्य कारण वस्तु तथा सेवा उपभोग गरेको समयमा उक्त वस्तु वा सेवा करयोग्य भएकोले हो । हाल कर लाग्ने वस्तु वा सेवाको रुपमा परिणत भएका त्यस्ता वस्तुको आपूर्तिसँग सम्बन्धित खरिद, पैठारी वा उत्पादनमा कुनै कर तिरेको भए सोको विवरण तथा प्रमाणसहित १५ दिनभित्र मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को अनुसूची १६ पेश गरी क्रेडिट दावी गर्न सकिन्छ ।

यसै गरी साविकमा कर लाग्ने वस्तु वा सेवा आपूर्ति गर्ने गरी कुनै बिक्रेतालाई अग्रिम भुक्तानी प्राप्त भएको छ तर उक्त वस्तु वा सेवा आपूर्ति गर्ने समयमा कर छुट हुने वस्तु वा सेवाको रुपमा परिवर्तन भएको छ भने उक्त आपूर्तिमा कर असूली गर्नुपर्दैन । किनकी अग्रिम भुक्तानी दिने र लिने व्यक्तिहरु बीच निश्चित परिमाण र गुणस्तरका वस्तु वा सेवाहरु निश्चित समयमा आपूर्ति गर्ने लिखित एवं मौखिक सम्झौता भएको हुन्छ र अग्रिम भुक्तानी लिने र दिने कारोबारले पक्षहरु बीच निश्चित अधिकार र दायित्व सिर्जना गरेको हुन्छ । हाल कर छुट हुने वस्तु वा सेवाको रुपमा परिणत भएका त्यस्ता वस्तुको खरिद, पैठारी वा उत्पादन गर्दा साविकमा कुनै कर तिरेको भए मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५ को उपदफा (३) को आधारमा कर कट्टी दावी गर्न नपाईने भएको हुँदा सोको हिसाब विवरण तयार गरी तिरेको कर ऐनको दफा १८ बमोजिम पेश गरिने कर विवरणको अन्य थपघटको डेविटतर्फ समावेश गरी समायोजन गर्नुपर्दछ । कर लाग्ने वस्तु वा सेवा हाल कर छुटका वस्तु वा सेवाको रुपमा परिवर्तन भएको कारणले दर्ता खारेज गर्नुपर्ने अवस्था सिर्जना भएमा मौज्दातमा रहेका व्यापारिक एवं पुँजीगत वस्तुलाई ऐनको दफा ११ को उपदफा (३) बमोजिम बजार मूल्यमा आपूर्ति गरेको मानी कर निर्धारण गरी असुल गर्नुपर्ने व्यवस्था रहेको छ । यस सम्बन्धमा निम्न उदाहरणबाट प्रष्ट पारिएको छः

उदाहरण ४.१२

एबिसी प्रा. लि. ले कुखुराका अण्डा राख्ने क्रेट बिक्री गर्ने कारोबार गर्दछ । उक्त प्रा. लि. र कुनै कुखुराका अण्डा उत्पादन गर्ने फर्मबीच प्रति क्रेट रु. १ मा ५ लाख संख्यामा क्रेट खरिद बिक्री गर्ने गरी मिति २०७० जेठ महिनामा सम्झौता सम्पन्न भएको थियो । सम्झौतामा हस्ताक्षर भएको मितिले ३ महिनाभित्र | क्रेट आपूर्ति गर्ने र सम्झौता भएको मितिमा कुल मूल्यको २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरिने र बाँकी रकम सम्पूर्ण क्रेट आपूर्ति भएको ७ दिनभित्र खरिदकर्ताले भुक्तानी गर्ने शर्त उल्लेख रहेको छ । क्रेट उत्पादकले २०७० आषाढ मसान्तसम्ममा ३ लाख संख्यामा क्रेट आपूर्ति गरिसकेको छ र सो अवधि सम्ममा अझ २ लाख क्रेट आपूर्ति गर्न बाँकी रहेको छ । आर्थिक ऐन, २०७० ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ मा संशोधन गरी कुखुराका अण्डा राख्ने क्रेटलाई कर छुट हुने वस्तुमा परिवर्तन गरेको छ। सम्झौता भएको अवधिमा कुखुराको अण्डा राख्ने क्रेटमा मूल्य अभिवृद्धि कर छुट थिएन ।

क्रेट आपूर्ति गर्ने सम्झौता गर्दा र अग्रिम भुक्तानी प्राप्त गर्दाका बखत कुखुराको अण्डा राख्ने क्रेट करयोग्य वस्तु हो र उक्त वस्तुको केही परिमाण आपूर्ति भएको र केही परिमाण आपूर्ति हुन बाँकी रहेको बखत ऐनमा भएको परिवर्तनको कारणले २०७० श्रावणदेखि उक्त वस्तु कर छुटमा परिवर्तन भएको छ । २०७० आषाढ मसान्तसम्ममा आपूर्ति भएको ३ लाख क्रेटमा मूल्य अभिवृद्धि कर आकर्षित हुन्छ । तर श्रावणदेखि उक्त वस्तुमा कर छुट भएको हुँदा पूर्व निर्धारित सम्झौता बमोजिम बाँकी २ लाख संख्यामा क्रेट आपूर्ति गर्दा मूल्य अभिवृद्धि कर आकर्षित हुँदैन । यस्ता २ लाख क्रेट उत्पादन गर्दा वा स्थानीयरुपमा खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर ऐनको दफा ५ को उपदफा (३) बमोजिम कर कट्टी नपाउने भएको हुँदा सो | हदसम्मको क्रेडिटलाई करदाता स्वयंले कर विवरणमा समायोजन गर्नुपर्दछ । यदि करदाताले दावी गरेको नपाउने क्रेडिट आफैं डेविट समायोजन गरेको नपाइएमा कर अधिकृतले कर निर्धारण गरी असुल गर्नुपर्दछ ।

४.४ आयातको स्थान (Place of Import)

नेपालभित्र आयात गर्ने सिलसिलामा कुनै आयातकर्ताले भन्सार विन्दुमा आयात गरिएका वस्तु तथा सेवाको पूर्ण विवरण, मूल्य, गुणस्तर र परिमाणसहित घोषणा गर्छ भने त्यसलाई आयातको स्थान भनिन्छ । यसरी आयात गरी प्रज्ञापनपत्रमार्फत घोषणा गरिएका वस्तु तथा सेवालाई भन्सार कार्यालयले आयातको रुपमा गणना गर्छ । नियमावलीको नियम १५ को खण्ड (ग) बमोजिम यस्तो अवस्थामा वस्तुको आपूर्तिको स्थान भन्सार विन्दुलाई मानिन्छ र भन्सार महसूलको साथसाथै मूल्य अभिवृद्धि कर असूल गरिन्छ । आयातित वस्तुको हकमा भन्सार प्रयोजनको लागि कायम गरेको मूल्यमा भन्सार कार्यालयले असुल गर्ने मूल्य अभिवृद्धि कर बाहेक अन्य सबै कर तथा शुल्क जोडी हुन आउने रकमलाई करयोग्य मूल्य मानिन्छ । भन्सार कार्यालयले करयोग्य मूल्य कायम गर्दा आयातकर्ताले घोषणा गरेको वस्तुको मूल्य, ढुवानी खर्च, बीमा प्रिमियम, हवाई वा स्थल यातायात दुवानी भाडा, एजेण्ट वा अन्य कुनै व्यक्तिलाई दिइने कमिशन, शुल्क, दस्तुर तथा भन्सार महसूल, अन्तःशुल्क आदि समावेश गर्दछ। भन्सार कार्यालयले कायम गरेको करयोग्य मूल्यमा १३ प्रतिशतले मूल्य अभिवृद्धि कर असुल गरिन्छ।

४.५ आयात मूल्यमा घटबढ (Increase / Decrease in Import Value)

आयात गरिएको कुनै वस्तुको मूल्य भंसार जाँचपास पछिको परीक्षण (Post Clearance Audit) वा छडके जाँच गर्दा घोषणा मूल्य भन्दा घटबढ हुनगएमा वृद्धि / कमी हुन आएको मूल्य र परीक्षणबाट थपिने दण्ड जरिवानामा भंसार प्रशासनबाट थप प्रज्ञापन पत्र जारी गरी मूल्य अभिवृद्धि कर असुल / फिर्ता गरिन्छ । भंसार विन्दुमा जारी गरिने प्रज्ञापन पत्र कर विजक सरह मानिएको भएतापनि भंसार जाँचपास पछिको परीक्षण (Post Clearance Audit) पश्चात जारी भएको प्रज्ञापन पत्रको आधारमा तिरिएको मूल्य अभिवृद्धि कर रकम कर नभै जरिवाना सरह हुने भएकोले कर कट्टी सुविधा दिन मिल्दैन ।

४.६ निर्यातको अस्वीकृति (Rejection of Export)

नेपालमा उत्पादित वस्तु तथा सेवालाई मुलुकबाहिर बिक्री, विनिमय, हस्तान्तरण गर्ने कार्यलाई निर्यात वा निकासी भन्ने गरिन्छ। ऐनको अनुसूची २ अनुसार नेपालबाहिर हुने निकासी कारोबारमा शून्य दरले कर लाग्दछ । नेपालबाट निकासी भएको वस्तुलाई गुणस्तर वा परिमाणमा वा यस्तै कुनै कारण जनाई विदेशमा अवस्थित आयातकर्ताले ती वस्तु तथा सेवा प्राप्त गर्न वा बुझ्न अस्वीकार गरेको खण्डमा उक्त निकासी भएका वस्तु तथा सेवा पुनः नेपालभित्र फिर्ता आउन सक्छन् । यसरी फिर्ता आएका वस्तुलाई आयात भएको मानी कर असूल गर्ने वा पूर्ववत् निकासीलाई अस्वीकार गरिएको मानी कर असुल नगर्ने भन्ने प्रश्न महत्वपूर्ण रहेको छ । एक पटक निर्यात भैसकेको हुँदा ती वस्तु तथा सेवा उत्पादन वा खरिद गर्दा साविकमा तिरेको कर करदाताले कर कट्टी दावी गरेको वा कर फिर्ता दावी गरी फिर्ता प्राप्त गरिसकेको पनि हुन सक्दछ । तसर्थ पुनः आयातित वा विदेशबाट फिर्ता भै आएका वस्तुको मिलान गर्न बाँकी कुनै कर नहुन पनि सक्दछ।

निर्यातको अस्वीकृति (Rejection of Export) लाई निर्यात खारेजी (Annulment of Export) को रुपमा व्यवहार गर्नको लागि उक्त निर्यातकर्ताले विदेशस्थित खरिदकर्ताले निर्यातित वस्तुलाई अस्वीकार गरेको कारण र पर्याप्त आधार तथा सोसँग सम्बन्धित प्रमाण कागजातहरु पेश गर्नुपर्ने हुन्छ । निर्यातकर्ताले यस्तो प्रमाण र कागजात पेश गर्न नसकेमा फिर्ता हुने वस्तुलाई आयात मानी मूल्य अभिवृद्धि कर असुल गर्नुपर्ने हुन्छ । तर यसरी फिर्ता आउने वस्तु वा सेवामा आवश्यक परिमार्जन गरी पुनः निर्यात गरिने अवस्था विद्यमान रहेमा मूल्य अभिवृद्धि कर वापत धरौटी माग गर्नुपर्दछ । कुनै करदाताले निर्यात गरेको कुनै वस्तु कुनै कारणले फिर्ता आई भन्सार विन्दुमा पैठारी सरह मूल्य अभिवृद्धि कर तिरेमा वा सो वस्तु पूनः निर्यात गर्ने भनी धरौटी राखेको अवस्थामा सो वस्तु तोकिएको समयमा पुनः निर्यात नगरेमा भन्सारमा कायम हुने आयात मूल्यमा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ। यस सम्बन्धमा ऐनको दफा २८ को उपदफा (१क) मा निम्नानुसारको व्यवस्था गरिएको छ ।

दफा २८ को उपदफा (१क) नेपालभित्र उत्पादन भएको वा तयार भएको मालवस्तु भन्सार कार्यालयबाट निकासीको प्रक्रिया पूरा भइसकेपछि वा विदेशमा पुगिसकेपछि सम्बन्धित पार्टीले लिन अस्वीकार गरी वा अन्य कारणले पुनः पैठारी गरी ल्याई त्यस्तो मालवस्तु पैठारी भएको तीन महिनाभित्र निकासी गर्ने भएमा यसरी फिर्ता ल्याउँदाको बखत लाग्ने मूल्य अभिवृद्धि कर धरौटीमा राखी छाड्न सकिनेछ र त्यस्तो मालवस्तु पुनः निकासी भएपछि उक्त धरौटी फिर्ता दिइनेछ । यसरी धरौटीमा राखिएको र फिर्ता गरिएको रकमको विवरण सम्बन्धित भन्सार कार्यालयले आन्तरिक राजस्व विभागमा दिनु पर्नेछ ।

४.७ कर छुटको आपूर्ति

मूल्य अभिवृद्धि कर प्रणालीमा कर प्रयोजनको लागि आपूर्तिलाई दुई किसिमबाट वर्गीकरण गरिएको छ । पहिलो कर लाग्ने आपूर्ति र दोश्रो कर नलाग्ने आपूर्ति । कर लाग्ने आपूर्तिलाई करयोग्य आपूर्ति भनिन्छ भने कर नलाग्ने आपूर्तिलाई कर छुटको आपूर्ति भनिन्छ । कराधार विस्तार गर्न र मूल्य अभिवृद्धि कर लगायत समग्र कर प्रणालीको सफल कार्यान्वयनको लागि प्रायः सबै वस्तु तथा सेवाको उपभोगलाई मूल्य अभिवृद्धि करको दायरामा ल्याउनु पर्दछ भन्ने सैद्धान्तिक मान्यता रहेको पाइन्छ । तर पनि आधारभूत कृषि उत्पादन एवं अत्यावश्यक वस्तु, कर असुलीमा सिर्जना हुने प्रशासनिक जटिलता, असुलीको लागत र आर्थिक लागतलाई मध्यनजर गरी केही वस्तु तथा सेवामा कर छुट दिने अन्तर्राष्ट्रय प्रचलन रही आएको छ । नेपालमा पनि कर छुटका वस्तु तथा सेवालाई परिभाषित गर्दा यहि सिद्धान्त अपनाइएको देखिन्छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ मा उल्लिखित वस्तु तथा सेवाहरुमा कर छुट हुने व्यवस्था गरिएको छ । कर छुटको आपूर्तिमा करदाताले कर संकलन गर्नुपर्दैन । त्यसै गरी आपूर्तिसँग सम्बद्ध खरिदमा तिरेको कुनै कर कट्टी दावी गर्न पाईंदैन । ऐनको दफा ५ को उपदफा (३) मा यस सम्बन्धी व्यवस्था गरिएको छ ।

दफा ५ को उपदफा (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची १ मा उल्लिखित वस्तु वा सेवाहरुको कारोबारमा कर लाग्ने छैन । साथै त्यस्तो वस्तु वा सेवाको खरिदमा पहिले लागेको कर दफा १७ बमोजिम कट्टी गर्न र दफा २४ बमोजिम फिर्ता लिन पाइने छैन ।

यस विषयलाई निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.१३

ऐनको अनुसूची १ को समूह ७ बमोजिम पुस्तकलाई कर छुटको वस्तु भनी परिभाषित गरिएको छ । पुस्तकको खरिद तथा बिक्रीमा मूल्य अभिवृद्धि कर लाग्दैन । पुस्तक तयार गर्दा कागज, मसी तथा मुद्रण कार्य आवश्यक पर्दछ। अनुसूची १ मा कागज, मसी, मुद्रण कार्यलाई समावेश नगरिएको हुँदा यी वस्तु तथा सेवाको खरिद गर्दा ऐनको दफा ५ को उपदफा (१) बमोजिम कर लाग्दछ । पुस्तक छपाई गर्दा यी वस्तु तथा सेवा खरिद आवश्यक हुने भएकाले यस्तो खरिदमा मूल्य अभिवृद्धि कर तिरेको हुन्छ। कुनै वस्तु वा सेवाको बिक्री गर्दा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दैन भने ती वस्तुको खरिद वा उत्पादन वा पैठारीमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न वा करफिर्ता दावी गर्न पनि पाईंदैन । पुस्तक प्रकाशन गरी बिक्री वितरण गर्ने व्यक्तिले पुस्तक बिक्री गर्दा कर असुल गर्न नपर्ने हुँदा पुस्तक छपाई गर्ने प्रयोजनको लागि खरिद गरेका कागज, मसी जस्ता वस्तुमा तिरेको कर कट्टी गर्न पाउँदैन ।

४.८ वस्तुको आपूर्ति

वस्तुको आपूर्ति भन्नाले वस्तुको विक्री, विनिमय वा स्वामित्व हस्तान्तरणलाई बुझिन्छ । यसले मालिकको हैसियतबाट वस्तुको निसर्ग गर्न सक्ने अधिकारको हस्तान्तरणलाई जनाउँदछ । वस्तुलाई परिभाषित गर्दा यसले सबै मूर्त, अमूर्त, व्यक्तिगत वा वास्तविक (Personal & Real) सम्पत्तिलाई समेटेको हुन्छ । जस अन्तर्गत व्यापारिक मौज्दात, पुँजीगत सामग्री भवन जस्ता स्थिर सम्पत्ति समेत पर्दछन् । वस्तुको आपूर्ति हुनको लागि निम्न अवस्था विद्यमान रहेको हुनु पर्दछः
क. कुनै सम्पत्तिको निसर्ग गर्न सक्ने अधिकारको हस्तान्तरण भएको,
ख. किस्ताबन्दीमा गरिएको कुनै वस्तुको बिक्री ।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले वस्तुको सम्बन्धमा देहाय बमोजिमको परिभाषा दिएको छः

दफा २(ङ) “वस्तु” भन्नाले चल वा अचल दुबै किसिमको सम्पत्ति सम्झनु पर्दछ।

४.९ स्वःआपूर्ति (Self Supply)

मूल्य अभिवृद्धि कर प्रयोजनको लागि स्वः आपूर्ति भन्नाले विक्री प्रयोजनको लागि खरिद वा उत्पादन गरिएको वस्तु वा सेवा करदाता स्वयंले आफ्नो व्यवसायिक प्रयोजनका लागि उपयोग गर्ने कार्यलाई जनाउँछ । स्वः आपूर्ति गरिएको वस्तु र सेवाको समेत सामान्यतया मूल्य अभिवृद्धि कर बीजक जारी गरी मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ। व्यवसायिक कारोबारमा प्रयोग गर्ने गरी स्वःआपूर्ति गरिएका वस्तु वा सेवामा कर वीजक जारी गरी कारोबार जनाएकोमा सोही रकम पुनः ऐनको दफा १७ बमोजिम कर कट्टी दावी गर्न सकिन्छ। यस्तो अवस्थामा करको असर शून्य हुने भए तापनि करयोग्य कारोबार गर्ने व्यक्तिले बीजक जारी नगरी कुनै पनि करयोग्य आपूर्ति गर्न ऐनले प्रतिबन्ध लगाएको कारणले स्वः आपूर्तिमा समेत बीजक जारी गर्नुपर्ने व्यवस्था गरिएको हो । यस विषयलाई निम्न उदाहरणले थप प्रष्ट पार्नेछः

उदाहरण ४.१४

मानौं सिया सरावगी प्लाइउड भन्ने कुनै फर्मले प्लाइउड खरिद बिक्री गर्ने व्यापार गर्दो रहेछ । सो व्यवसाय मूल्य अभिवृद्धि करमा दर्ता रहेको छ । उक्त फर्मले आफ्नो कार्यालयमा आवश्यक फर्निचर बनाउन मौज्दातमा रहेका प्लाइउडमध्ये एक हजार स्क्वायर फिट प्लाईउड स्वः उपभोग गरेको रहेछ। उक्त प्लाइउड निजले आफ्नै कार्यालयको फर्निचर निर्माण गर्ने सिलसिलामा प्रयोग गरेको भए तापनि उक्त परिमाणको प्लाइउड निजले आफैलाई बिक्री गरेको मानी लागत मूल्यमा कर बीजक जारी गरी कर असुल गर्नुपर्दछ । निजले जारी गरेको त्यस्तो बीजकबाट तिरेको कर दफा १७ बमोजिम करयोग्य खरिदमा तिरेको कर सरह कर कट्टी दावी गर्न पाउँछ । सो फर्मले आफ्नै प्रयोजनका लागि प्रयोग गरेको प्लाइउडको कर बीजक जारी नगरेमा कर अधिकृतले सो परिमाणको प्लाइउड बजार मूल्यमा बिक्री गरेको मानी ऐनको दफा २० को उपदफा (१) को खण्ड (घ) बमोजिम कर निर्धारण गर्नुपर्दछ ।

तर कुनै करदाताले खरिद वा पैठारी गरेको वस्तु वा सेवा वा आफैंले उत्पादन गरेको मुख्य वा कुनै सह उत्पादनलाई आफ्नो व्यापार मौज्दात अर्थात आफूले कारोबार गर्ने वस्तु वा सेवाको उत्पादन वा निर्माण वा जडानमा कच्चा पदार्थ वा प्याकिंग सामग्री वा सहायक कच्चा पदार्थ वा इन्धन वा सहायक सामग्रीको रुपमा प्रयोग गरेमा त्यसरी प्रयोग भएको हदसम्मको परिमाणको भने कर बीजक जारी गरिरहनु पर्दैन । यद्यपि त्यसरी प्रयोग भएका वस्तुको प्रयोग र त्यसबाट भएको उत्पादन वा निर्माणको अभिलेख राखि कर अधिकृतले माग गरेको खण्डमा पेश गर्नुपर्दछ ।

उदाहरण ४.१५

नेपाल सुगर ई.ले मूलतः चिनी उत्पादनको कार्य गर्दछ । चिनी उत्पादन गर्ने क्रममा सो उद्योगले चिनी उत्पादन गर्ने क्रममा सह उत्पादन (By-Product) को रुपमा उखुको खोष्टा वा बगास (Bagasse) र मोलासिस समेत उत्पादन गर्दछ । यस उद्योगले उखुको खोष्टालाई चिनी उत्पादन गर्ने क्रममा इन्धनको रुपमा प्रयोग गर्दछ। त्यस्तै उद्योगले आफ्नो छुट्टै प्लान्टबाट मोलासिसको प्रयोग गरी स्प्रिट समेत उत्पादन गर्दछ । यस्तो अवस्थामा यस उद्योगले इन्धनका रुपमा प्रयोग गरेको हदसम्मको उखुको खोष्टा वा बगास तथा स्प्रिट उत्पादन गर्न प्रयोग गरेको हदसम्मको मोलासिसलाई बिक्री मानी कर बीजक जारी गर्नुपर्दैन ।

एक प्राकृतिक व्यक्तिको निजी व्यक्तित्व (Private Personality) र करयोग्य व्यक्तित्व (Taxable Personality) रहेको हुन्छ। घरेलु वा वैयक्तिक उपभोगको लागि खरिद गरिएका उपभोग्य वा पुँजीगत वस्तुलाई स्वःआपूर्ति मानिंदैन । व्यवसायिक प्रयोजनको लागि उत्पादन गरिएका वा स्थानीय व्यक्तिबाट खरिद गरिएका वा अन्य मुलुकबाट पैठारी गरिएका कुनै कर लाग्ने वस्तु वा सेवालाई सम्बन्धित व्यवसायका मालिक वा कर्मचारीहरुले निजहरुको व्यक्तिगत उद्देश्य प्राप्तिको लागि प्रयोग वा उपभोग गरेको अवस्थामा त्यस्तो आपूर्ति स्वः आपूर्ति नभइ बिक्री नै मानिन्छ। यस्तो विक्रीमा कर बीजक जारी गर्नुपर्दछ । तर यस्तो आपूर्तिमा तिरेको कर ऐनको दफा १७ बमोजिम कर कट्टी गर्न पाईंदैन । यदि निजी प्रयोजनको लागि गरिएको यस्तो खरिदमा तिरेको कर कट्टी दावी गरिएको भए कर अधिकृतले ऐनको दफा २० को उपदफा (१) को खण्ड (घ) बमोजिम कर निर्धारण गर्नुपर्दछ ।

४.१० मिश्रित / सम्मिलित आपूर्ति (Mixed / Composite Supply)

मिश्रित आपूर्ति भन्नाले कर लाग्ने र कर छुट हुने दुवै किसिमका वस्तु वा सेवाहरु सम्मिलित आपूर्तिलाई बुझाउँछ। मिश्रित आपूर्ति स्वरुपमा एउटै आपूर्ति देखिए पनि सारमा करयोग्य र करछुट भएका वस्तु तथा सेवाको संमिश्रण रहेको हुन्छ र दुवै आपूर्तिलाई स्पष्ट रुपमा पहिचान गर्न सकिन्छ । मिश्रित आपूर्तिमा मुख्य आपूर्ति करयोग्य वस्तु वा सेवा हो वा करछुट भएका वस्तु वा सेवाको हो भन्ने विषय स्पष्ट हुनुपर्दछ।

एउटा मुख्य आपूर्तिसँग सम्बन्धित ससानो सम्बद्ध (Incidental to main supply) आपूर्तिलाई सम्मिलित आपूर्ति भनिन्छ। मुख्य आपूर्तिको दाँजोमा ससानो आपूर्तिको अस्तित्व पहिचान गर्न कठिन हुन्छ । दुवै अवस्थामा करारोपण अलगअलग किसिमबाट हुनसक्छ । कहिलेकाँही एकल प्रतिफल भएको मिश्रित आपूर्तिमा वस्तुको आपूर्ति हो वा सेवाको आपूर्ति हो भनी निक्यौल गर्न पनि द्विविधा हुन सक्दछ । यस्ता द्विविधाजनक अवस्थामा आपूर्ति बन्दोबस्तमा के कस्ता प्रावधान उल्लेख गरिएका छन् सो विषयको गहन छानविन गरी निर्णयमा पुग्नु पर्दछ।

यदि कुनै एक वस्तुको आपूर्ति गरिंदैछ र सो आपूर्ति गर्ने सिलसिलामा अन्य ससाना सेवाको आपूर्ति पनि गरिएको रहेछ भने वस्तु वा सेवाको आपूर्तिलाई नछुट्याई त्यस्ता सम्बद्ध सेवालाई मुख्य आपूर्तिसँग आवद्ध गरिनु पर्दछ ।

यस विषयलाई निम्न उदाहरणबाट प्रष्ट पार्नेछः

उदाहरण ४.१६

मानौं कुनै सरकारी विभागले विभाग तथा अन्तर्गतका कार्यालयको संगठन तथा व्यवस्थापन अध्ययन (Organization and Management Study) गरी ३ महिनाभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न कुनै व्यवस्थापन विज्ञसँग सम्झौता गरेको रहेछ । उक्त अध्ययनको लागि तय भएको कार्यादेश (Terms of Reference) बमोजिमको कार्य सम्पादन गरेमा रु.१५ लाख रुपैयाँ भुक्तानी दिने सहमति भएको रहेछ । कर परीक्षण गर्ने सिलसिलामा मूल्य अभिवृद्धि कर दायित्व कम गर्ने ( VAT Avoidance ) उद्देश्यले उक्त रु.१५ लाखलाई भ्रमण खर्च, स्टेशनरी खर्च, ल्यापटप खरिद, छलफल र अन्तरक्रिया गर्न होटेल भाडा र आफ्नो सेवा शुल्क आदि खण्डीकृत गरी अलग अलग बीजक बनाई विज्ञको सेवा शुल्कलाई मात्र करयोग्य कारोबार जनाई सो शुल्कमा मात्र कर संकलन गरिएको पाइएमा त्यसलाई संशोधन गरी रु. १५ लाखमा मूल्य अभिवृद्धि कर लगाउनु पर्दछ र उक्त विज्ञले अध्ययनको क्रममा गरेको खर्चमा तिरेको कर ऐनको दफा १७ बमोजिम कट्टी दावी गर्न दिनुपर्दछ ।

मिश्रित आपूर्तिको सम्बन्धमा मिश्रित कारोवारको हकमा करलाग्ने मूल्य सम्बन्धी शीर्षक ३.१५ मा समेत व्याख्या गरिएको छ ।

४.११ आपूर्ति भएको मानिने (Deemed Supply) अवस्थाहरु

वस्तुको आपूर्तिको हकमा आपूर्तिकर्ताले बीजक जारी गरेको बखत वा प्रतिफल प्राप्त गरेको बखत, प्रापकले कारोबारस्थलबाट वस्तु उठाएको वा ग्रहण गरेको बखतमध्ये जुन पहिले हुन्छ सोही समयमा वस्तुको आपूर्ति भएको मानिन्छ। यसैगरी सेवाको आपूर्तिको हकमा सेवा प्रदान भएको बखतलाई आपूर्तिको समय मानिन्छ । तर कहिलेकाँहि उपर्युक्त अवस्थाहरु प्रत्यक्षरुपमा विद्यमान हुँदैनन् । यस अवस्थामा पनि वस्तु वा सेवा आपूर्ति भएको मानिने (Deemed Supply) व्यवस्था ऐनले गरेको छ । प्रत्यक्षरुपमा आपूर्ति भएको अवस्था नहुने तर कुनै करदाताले गरेको कुनै कार्यले कर प्रयोजनका लागि आपूर्ति भएको मान्नु पर्ने ऐनले निर्दिष्ट गरेका अवस्था विद्यमान रहेमा त्यस्ता अवस्थालाई आधारको रुपमा लिई त्यस्तो कार्यलाई आपूर्ति मान्नुपर्दछ । ऐन नियमले देहायका अवस्था विद्यमान रहेमा वस्तु वा सेवाको आपूर्ति भएको मानिने व्यवस्था गरेको छः

४.११.१ हुनु पर्ने भन्दा घटी मौज्दात रहेको भएमा

कुनै करदाताले कर कट्टी लिएका वस्तु वा सेवा मौज्दातमा रहनु पर्नेमा नरहेको वा रहनु पर्ने मौज्दात भन्दा कम रहेको अवस्था देखिएमा कम भएका हदसम्मको परिमाणको वस्तु वा सेवा आपूर्ति वा बिक्री भएको मानिने व्यवस्था छ। यस सम्बन्धमा नियमको नियम ४० को उपनियम (१) मा निम्न व्यवस्था रहेको छः

नियम ४० को उपनियम (१) कर कट्टी गरिएको वस्तुहरु स्टकमा रहेको छ भने त्यस्तो वस्तुहरु कर अधिकृतले हेर्न चाहे वा गणना गर्न चाहेमा करदाताले देखाउनु वा गणना गर्न दिनु पर्नेछ । कर अधिकृतले त्यस्ता वस्तुहरु हेर्दा वा गणना गर्दा त्यस्तो वस्तुहरु कर लाग्ने कारोबारमा प्रयोग भएको नपाएमा वा स्टकमा रहनु पर्नेमा स्टकमा रहेको नपाएमा त्यस्ता वस्तुहरु प्रचलित बजार मूल्यमा बिक्री भएको मानिनेछ। यस सम्बन्धमा निम्न उदाहरणले अझ प्रष्ट पार्नेछः

उदाहरण ४.१७

मानौं श्री भुवन ब्रदर्सले एच पी ब्राण्डका ल्यापटप कम्प्युटर आयात गर्ने गरेको रहेछ । आर्थिक वर्ष २०६५/०६६ मा स्थापना गरिएको उक्त फर्मले आर्थिक वर्ष २०७४।७५ मा HP 6530s ब्राण्डका कुल ५०० थान ल्यापटप पैठारी गरेको रहेछ । सो आर्थिक वर्ष भरिमा ४५० वटा ल्यापटप बिक्री गरेको अभिलेखबाट देखिएछ। २०७५ साल श्रावण १ गते सम्बन्धित आन्तरिक राजस्व कार्यालयले उक्त फर्मको कारोबारस्थलमा भ्रमण गरी मौज्दातको भौतिक परीक्षण गर्दा १० वटा ल्यापटप मात्र मौज्दातमा रहेको पाइएछ। करदाताले ४० थान ल्यापटप मौज्दातमा न्यून भएको स्वीकार गरेछ । यस्तो अवस्थामा ऐनको दफा २० को उपदफा (१) को खण्ड ( ज ) तथा नियमावलीको नियम ४० को उपदफा (१) र (२) बमोजिम मौज्दातमा नपुग भएका ४० थान ल्यापटप प्रचलित बजार मूल्यमा बिक्री गरेको ठहर गरी कर निर्धारण गर्नुपर्दछ।

४.११.२ खरिद भएका वस्तु तथा सेवाको स्वः उपभोग गरेमा

दर्ता भएको व्यक्तिले तोकिएको अवस्थामा बाहेक आफुले आपूर्ति गरेको बस्तु वा सेवाको लागि कर बीजक जारी गर्नुपर्दछ। यो नियम दर्ता भएको व्यक्तिले स्वः उपभोगका लागि आफुले आफैँलाई आपूर्ति गरेको बस्तु वा सेवाको हकमा पनि लागु हुन्छ । यसको विपरित कसैले स्वः उपभोगका लागि आपूर्ति भएको वस्तु वा सेवाको बीजक जारी नगरेमा स्वः उपभोगलाई आपूर्ति वा बिक्री मानी कर निर्धारण गर्नुपर्दछ । यस सम्बन्धमा यसै परिच्छेदको ४.९ मा विस्तृत व्याख्या गरिएको छ ।

४.११.३ कर कट्टी लिएको वस्तु करयोग्य कारोबारमा प्रयोग हुन छाडेमा

कुनै करदाताले कर कट्टी लिएका वस्तु वा सेवा करयोग्य कारोबारमा प्रयोग हुन छाडेमा ती वस्तु वा सेवा मौज्दातमै रहे पनि आपूर्ति वा बिक्री भएको मानिने व्यवस्था छ। यस सम्बन्धमा ऐनको दफा १७ को उपदफा (४) मा निम्न व्यवस्था रहेको छः

दफा १७ को उपदफा (४) यस दफा बमोजिम कर कट्टी सुविधा प्रदान गरिने वस्तु वा सेवाको तोकिए बमोजिमको उपयोगिताको अवधि समाप्त हुनु भन्दा अगावै कर लाग्ने कारोबारमा प्रयोग हुन छाडेमा तोकिए बमोजिम सो वस्तु वा सेवा तत्काल बजार मूल्यमा बिक्री भएको मानि कर असुल उपर गरिनेछ ।

४.११.४ दर्ता खारेजीका बखत करयोग्य वस्तुको मौज्दात रहेमा

कुनै करदाताको दर्ता खारेजी हुँदाका बखत कर कट्टी लिएका वस्तु वा सेवा मौज्दातमा रहेमा ती वस्तु वा सेवा मौज्दातमै रहे पनि आपूर्ति वा बिक्री भएको मानिने व्यवस्था छ । यस सम्बन्धमा ऐनको दफा ११ को उपदफा ( ४ ) मा निम्न व्यवस्था रहेको छः

दफा ११ को उपदफा (४) पहिले कर कट्टी सुविधा लिई सकेका वस्तुमध्ये दर्ता खारेज हुँदाका बखत बाँकी रहेको पुँजीगत सामान समेतका मौज्दातलाई बजार मूल्यमा आपूर्ति गरेको मानी कर निर्धारण गरी असुल गरिनेछ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि "पुँजीगत सामान" भन्नाले कुनै सम्पत्ति वा सम्पत्तिको कुनै भाग र करलाग्ने कारोबारमा प्रयोग हुने सम्पत्ति सम्झनु पर्दछ ।

४.११.५ नोक्सानी भएको वस्तुमा तिरेको कर कट्टी पाउन निवदेन नदिएमा

कुनै करदाताको कर कट्टी लिएका वस्तु नोक्सान भएमा वा उपयोगको म्याद समाप्त भएमा त्यस्ता वस्तु मा तिरेको कर कट्टी पाउन निवेदन दिनु पर्ने व्यवस्था छ । सो व्यवस्थाको कसैले पालना नगरेमा नोक्सान भएका वा उपयोगको म्याद समाप्त भएका वस्तु बजार मूल्यमा आपूर्ति वा बिक्री भएको मानिनेछ । यस सम्बन्धमा नियम ३९क. मा निम्न व्यवस्था रहेको छः

नियम ३९क. नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्ने:
(१) देहायका अवस्था परी कुनै वस्तु हानि नोक्सानी भएमा त्यस्तो वस्तुमा तिरेको कर कट्टी गर्नको लागि देहाय बमोजिमको अवधिभित्र कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछ:-
(क) आगजनी चोरी दुर्घटना टुटफुट ध्वंसात्मक गतिविधिका कारणले हानि नोक्सानी भएमा त्यस्तो अवस्था भएको मितिले तीस दिनभित्र ।
(ख) उपयोग गर्ने म्याद सकिएको वस्तुको हकमा साउनदेखि असोजसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको कार्तिक पच्चीस गतेभित्र, कार्तिकदेखि पुससम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको माघ पच्चीस गतेभित्र, माघदेखि चैतसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको वैशाख पच्चीस गतेभित्र र वैशाखदेखि असारसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको साउन पच्चीस गतेभित्र ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन छानविन गर्दा हानी नोक्सानी भएको वा उपयोग गर्ने म्याद सकिएको देखिएमा कर अधिकृतले त्यस्तो हानी नोक्सानी भएको वा उपयोग गर्ने म्याद सकिएको वस्तुमा तिरेको कर कट्टी गर्न दिन सक्नेछ । तर बीमा गरिएको वस्तुको हकमा क्षतिपूर्ति प्राप्त गरेको हदसम्म हुने रकम करदाता स्वयंले करकट्टी गर्न सक्नेछ ।

४.१२ सम्बद्ध पक्षहरुबीचको आपूर्ति

ऐनले यस ऐनको प्रयोजनका लागि बजार मूल्यको परिभाषा गरेको छ । ऐनले कुनै पनि वस्तु वा सेवाको वजार मूल्य असम्बन्धित व्यक्तिहरुका बीच स्वतन्त्र रुपले आपूर्ति भएको त्यस्तै किसिमको वस्तु वा सेवा वापत प्राप्त हुने प्रतिफल बराबर हुने स्पष्ट गरेको छ । यस सम्बन्धमा दफा १३ को उपदफा (१) मा निम्न व्यवस्था रहेको छः

दफा १३ बजार मूल्यः (१) कुनै दिनमा आपूर्ति गरिएको वस्तु वा सेवाको बजार मूल्यको निर्धारण असम्बन्धित व्यक्तिहरुका बीच स्वतन्त्र रुपले आपूर्ति भएको त्यस्तै किसिमको वस्तु वा सेवा वापत प्राप्त हुने प्रतिफललाई ध्यानमा राखी निर्धारण गरिनेछ ।

व्यक्तिगत वा वित्तीय स्वार्थ भएका व्यक्तिहरु अर्थात सम्बद्ध व्यक्तिहरुबीच हुने कारोबारमा कारोबार मूल्य कम गरी कर दायित्वलाई प्रभावित गर्ने सम्भावना रहेको हुन्छ । यहि अवस्थालाई दृष्टिगत गरी ऐनमा बजार मूल्यको स्पष्ट परिभाषा गरिएको हो । सम्बद्ध पक्षहरुबीच कुनै वस्तु वा सेवा आपूर्ति गरिएको छ । आपूर्ति वापत प्राप्त हुने प्रतिफल स्वतन्त्र बजार मूल्य (Arms Length Price) भन्दा न्युन रहेको छ भने यस्तो अवस्थामा तिनीहरु बीच भएको कारोबारको प्रतिफल त्यस्तै बस्तु वा सेवाको असम्बन्धित व्यक्तिहरुका बीच भएको कारोबारमा कायम भएको मूल्य बराबर रहेको मानिन्छ र सो कारोबारको यथार्थ कर दायित्व यकिन गरिन्छ । कर प्रशासनले अवलम्बन गर्ने यस्तो नियमलाई कर नियोजन विरुद्धको नियम (Anti Avoidance Rule) भन्न सकिन्छ। यसको अर्थ सम्बद्ध पक्षहरुबीचको करयोग्य आपूर्तिमा कर संकलन गर्दा स्वतन्त्र बजार मूल्यको नियम वा सिद्धान्त आकर्षित हुन्छ । कर दायित्वलाई न्युन बनाउने वा कर छली गर्ने प्रबन्ध दर्तावाला वा बेदर्तावाला जोसुकै बीचमा हुन सक्दछ । यस्तो नियम खासगरी दर्तावाल करदाताले आफ्नो कर दायित्व बेदर्तावाला व्यक्तिमा सार्न नदिन र कर चुहावट गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न लागु गरिन्छ ।

४.१३ वित्तीय पट्टा (Finance Lease)

वित्तीय पट्टा आर्थिक रुपले सशर्त बिक्री हो । वित्तीय पट्टालाई बिक्री सरह मानी कर संकलन गर्नुपर्दछ । वित्तीय पट्टा उधारोमा बिक्री गरे सरह हुन्छ । कुनै वस्तु वित्तीय पट्टा अन्तर्गत बिक्री गरिएको अवस्थामा सोही बखत त्यसरी पट्टामा दिइएको सम्पत्तिको कुल मूल्यमा कर बीजक जारी गर्नुपर्दछ । यसमा पट्टा दिने (Lessor) ले पट्टामा बिक्री भएको सम्पत्तिहरुको स्वामित्वका सबै फाईदाहरु (Benefits) र जोखिमहरु (Risks) पट्टा लिने (Lessee) लाई हस्तान्तरण गरी सकेको हुन्छ केवल कानूनी रुपमा सम्पत्तिहरु हस्तान्तरण हुन मात्र बाँकी रहन्छ ।

वित्तीय पट्टा अन्तर्गत बैंक तथा अन्य वित्तीय संस्थाहरुले खरिदकर्ताको तर्फबाट आपूर्तिकर्तालाई मूल्य भुक्तानी गरी वस्तुको स्वामित्व आफ्नो नाममा राखी उपभोग वा प्रयोगको अधिकार खरिदकर्तालाई नै दिने गर्दछन्। खरिदकर्ताले किस्तावन्दी रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई रकम भुक्तानी गर्दछन् । सवारीसाधन, आवासगृह, व्यवसायिक कम्प्लेक्स आदि खरिद गर्ने कारोबारलाई उदाहरणको रुपमा लिन सकिन्छ । यसरी खरिद गरिएका पुँजीगत सम्पत्तिको उपभोग आय आर्जन तथा मर्मत सम्भार र जोखिम बहन आदि सबै खरिदकर्ताले लिएको हुन्छ। त्यस्तै, वित्तीय पट्टा अन्तर्गत खरिद गरिएका वस्तुमा तिरेको कर खरिदकर्ताले कट्टी पाउने कानूनी व्यवस्था रहेको हुँदा वित्तीय पट्टा अन्तर्गत वस्तु विक्री गर्ने व्यक्तिको लागि सो बिक्री स्वाभाविक रुपमा करयोग्य बिक्री हुन्छ। यस सम्बन्धमा ऐनको दफा १७ को उपदफा (५) मा निम्न व्यवस्था रहेको छः

दफा १७ को उपदफा (५) उपदफा (२) को अधिनमा रही वित्तीय पट्टा अन्तर्गत ऋण सम्झौता गरी पैठारी वा खरिद गरिएका पुँजीगत वस्तुहरुमा तिरेको कर सम्बन्धित करदाताले कट्टी गर्न पाउनेछ ।

यस सम्बन्धमा निम्न उदाहरणले अझ प्रष्ट पार्नेछः

उदाहरण ४.१८

मानौं श्री किरण डिष्ट्रीव्युटर्सले चाउचाउको थोक व्यापार गर्ने गरेको रहेछ । उक्त फर्म मूल्य अभिवृद्धि करमा दर्ता रहेछ। प्रोप्राइटर किरणले डेलिभरी भ्यान खरिद गर्न उन्नति बैंकबाट रु. १० लाख ऋण लिएका रहेछन् । डेलिभरी भ्यानको सम्पूर्ण मूल्य उन्नति बैंकले भुक्तानी दिई ऋण चुक्ता नभएसम्म सो डेलिभरी भ्यानको स्वामित्व आफ्नै नाममा राखेको रहेछ । बैंक तथा किरण बीच मासिक रु. २५ हजार र व्याजसहितको किस्ता तिर्ने सम्झौता भएको छ ।
श्री किरण डिष्ट्रीव्युटर्सले व्यवसायिक प्रयोजनको लागि खरिद गरेको डेलिभरी भ्यानको स्वामित्व आफ्नो नाममा नभए पनि उक्त भ्यानको प्रयोग करयोग्य कारोवारमा भएको हुँदा खरिदमा तिरेको रु. १ लाख ३० हजार मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (५) बमोजिम कर कट्टी दावी गर्न सक्छन्।

४.१४ संचालन पट्टा (Operating Lease)

संचालन पट्टा (Operating Lease) भन्नाले कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको चल वा अचल सम्पत्ति कुनै निश्चित अवधिको लागि निश्चित सेवा शुल्क भुक्तानी प्राप्त गर्ने गरी अन्य व्यक्तिलाई प्रयोगाधिकार हस्तान्तरण गर्ने कार्यलाई बुझिन्छ । संचालन पट्टामा संलग्न व्यक्तिहरु बीच आपसी सहमति गरी पट्टामा दिइएको सम्पत्ति प्रयोग गर्न दिने र लिने विषयमा केही शर्तहरु निर्धारण गरिएको हुन्छ । संचालन पट्टामा सम्पत्ति आपूर्ति गर्दा पट्टा दिने (Lessor) को आर्थिक र कानूनी अधिकार यथावत् रहन्छ । पट्टामा सम्पत्ति लिने पट्टाधारक (Lessee) लाई त्यस सम्पत्तिको उपभोग गरेवापत आवधिक रुपमा सेवा शुल्क वा भाडा वापत रकम भुक्तानी गर्ने दायित्व सिर्जना हुन्छ। संचालन पट्टा अन्तर्गत आपूर्ति गरिएको मूर्त सम्पत्तिको सम्बन्धमा कर प्रयोजनको लागि कुनै करयोग्य वस्तु आपूर्ति भएको मानिंदैन । मूर्त सम्पत्तिको संचालन पट्टा बाहेक अन्य अवस्थामा सेवाको आपूर्ति भएको मानिन्छ । संचालन पट्टा अन्तर्गत आपूर्ति गरिएको सम्पत्तिको पट्टा दिने र लिने व्यक्तिहरु बीच स्वामित्वको अधिकार (Right to Ownership) परिवर्तन भएको हुंदैन, नियन्त्रण वा भोग चलनको अधिकार (Right to Possession) मात्र परिवर्तन भएको हुन्छ । यसरी हुने आपूर्ति बन्दोबस्तमा सम्पत्तिको मालिक (Lessor) लाई पट्टाधारक (Lessee) ले आवधिक रुपमा शर्तनामामा उल्लेख भए बमोजिमको सेवा शुल्क भुक्तानी गर्ने गर्दछ । यसरी सेवा शुल्कको रुपमा प्राप्त रकम बराबर सेवाको आपूर्ति भएको मानी मूल्य अभिवृद्धि करमा दर्ता भएको र अनुसूची १ मा उल्लेख नभएको भए सो पट्टा दिने (Lessor) ले कर असुल गर्नुपर्दछ । पट्टाधारक (Lessee) पनि मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्ति भए ऐनको दफा १७ बमोजिम कर कट्टी दावी गर्न सक्दछ ।

कुनै अमुक सम्पत्ति मात्र संचालन पट्टा अन्तर्गत (Dry Lease) प्रयोग गर्न दिएको भए सोको सेवा शुल्क मात्र करयोग्य कारोबारको रुपमा मानी कर असुल गर्नुपर्दछ । तर अमुक सम्पत्तिको साथसाथै सोसँग सम्बन्धित अन्य सेवाहरु पनि संचालन पट्टा अन्तर्गत ( Wet Lease) आपूर्ति भएको भए त्यस्तो सेवा शुल्कसमेतको एकमुष्ट रकममा मूल्य अभिवृद्धि कर आकर्षित हुन्छ । संचालन पट्टा अन्तर्गत आपूर्ति गरिएका सम्पत्तिहरुलाई यथावत वा चालु अवस्थामा राख्न आवधिक रुपमा गरिने मर्मत सम्भार आदिको खर्च यदि पट्टा दिने (Lessor) ले गरी सो वापतको रकम पट्टाधारक (Lessee ) बाट प्राप्त गर्ने गरेमा सो मर्मत सम्भार खर्चमा समेत कर असुल गर्नुपर्दछ ।

४.१५ सफ्टवेयरको आपूर्ति

विद्युतीय माध्यमबाट सफ्टवेयर आपूर्ति भएको अवस्थालाई सेवाको आपूर्ति मानिन्छ । तर सि.डी., डि.भि.डी., पेन ड्राइभ, वा यस्तै कुनै डाटा केरियर मार्फत आपूर्ति गरिएको भए त्यस्तो आपूर्तिलाई वस्तुको आपूर्ति मानिन्छ। धेरै उपभोक्ताले एकै पटकमा असीमित रुपमा उपभोग गर्न सक्ने गरी निर्माण गरिएको उत्पादनलाई स्ट्याण्डर्ड सफ्टवेयर मानिन्छ। स्ट्याण्डर्ड सफ्टवेयरसित अन्य विभिन्न प्रोग्राम तथा सपोर्ट मेटेरियल्स जस्ता सेवाहरु पनि आवद्ध भएको हुन सक्दछ । जस्तैः सफ्टवेयर जडान, संचालन निर्देशिका, मर्मत सम्भार सेवा आदि । स्ट्याण्डर्ड सफ्टवेयरको उदाहरणको रुपमा पी.सी. सफ्टवेयर, पी. सी. होम सफ्टवेयर, कम्प्युटर गेम आदिलाई लिन सकिन्छ। स्ट्याण्डर्ड सफ्टवेयरको आपूर्तिलाई देहायको अवस्थामा सेवाको आपूर्ति मानिन्छ । यदिः
क. खरिदकर्तालाई सफ्टवेयरको स्वामित्वको अधिकार हस्तान्तरण भएको छैन,
ख. सफ्टवेयरको आपूर्ति हुँदा भौतिकरुपले हस्तान्तरण भएको देखिंदैन (विद्युतीय माध्यमबाट डाटा प्रसारण मात्र भएको हुन्छ), र
ग. विक्रेता र क्रेताबीच सम्पन्न भएको सम्झौताको करार दायित्वमा सफ्टवेयर प्रयोग गर्ने अधिकार मात्र हस्तान्तरण भएको अवस्था हुन्छ ।
उपर्युक्त अवस्था बाहेक अन्य अवस्थामा स्ट्याण्डर्ड सफ्टवेयरको आपूर्तिलाई वस्तुको आपूर्ति मानिन्छ ।

४.१६ सेवाको आपूर्ति

ऐनमा वस्तुको आपूर्ति भनी परिभाषित गरिएदेखि बाहेक अन्य सबै आपूर्तिलाई सेवाको आपूर्ति मानेको छ । यसै गरी ऐनको दफा २(छ) मा उल्लेखित सेवा विक्री, विनिमय, हस्तान्तरण गर्ने कार्य वा तत् सम्बन्धी अनुमति दिने वा वस्तुको उपयोग गर्ने अख्तियारीको हस्तान्तरणलाई समेत सेवाको आपूर्ति भनिन्छ । यसभित्र अमूर्त सम्पत्ति अर्थात भौतिक स्वरुप नभएका चल वा अचल सम्पतिको हस्तान्तरण पनि समावेश हुन्छ । सामान्य अर्थमा सेवाको रुपमा स्वीकार गरिएका यस्ता कार्यहरु भित्र बौद्धिक वा औद्योगिक सम्पत्ति अधिकार, ठेक्का बन्दोबस्त, संचालन अनुमति, अन्य अमूर्त अधिकार, फर्मुला, ट्रेडमार्क, सलामी दस्तुर ( Royalty ) र पट्टा आदिको उपभोग पर्दछन्। ऐनको दफा २ (च) ले सेवालाई देहाय बमोजिम परिभाषित गरेको छ ।

२(च) 'सेवा' भन्नाले वस्तु बाहेकको जुनसुकै कुरा सम्झनु पर्दछ ।

४.१७ वित्तीय तथा अन्य कर छुट सेवा आपूर्ति

वित्तीय सेवा, जीवन बीमा सेवा, दुर्घटना वीमा, स्वास्थ्य वीमा, पुनर्वीमा सेवा, कृषि बाली वीमा, फलफुल वीमा, मौरी बीमा, पशु बीमा, पंक्षी वीमा, मत्स्य वीमा, लघु वीमा, समाशोधन गृह (क्लियरिङ्ग हाउस) सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर), मुद्रा सटही ( मनि एक्सचेञ्ज), स्वीफ्ट सेवा, हायर पर्चेज कारोबार, निक्षेप तथा कर्जा सुरक्षण सेवा, पूँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट र धितोपत्र तथा कमोडिटी दलाल व्यवसायमा कर छुट हुने व्यवस्था रहेको छ ।

४.१८ मध्यस्थकर्ता (Intermediary) वा प्रतिनिधि (Agent)

व्यावसायिक विशिष्टिकरणको कारणले गर्दा वस्तु तथा सेवाहरुको उत्पादन, बजारीकरण, एवं विक्री वितरण अलग अलग व्यक्ति वा निकायहरुले गर्ने गरेको पाइन्छ । वस्तुको उत्पादक वा विक्रेता र अन्तिम उपभोक्ताका बीचमा बसी वस्तु तथा सेवा आपूर्ति गर्न सहयोगी वा प्रतिनिधिको रुपमा सेवा आपूर्ति गर्ने व्यक्तिलाई मध्यस्थकर्ता वा प्रतिनिधि भनिन्छ। यसै गरी नेपाल बाहिर अवस्थित कुनै निकायको प्रतिनिधिको भूमिका निर्वाह गर्ने व्यक्तिलाई मध्यस्थकर्ता वा प्रतिनिधि भनिन्छ । यस्ता मध्यस्थकर्ताहरु उत्पादक वा विक्रेता वा खरिदकर्ता वा उपभोक्ताको तर्फबाट खडा गरिएको हुन सक्छन् । मध्यस्थकर्ताले वस्तु वा सेवाको उत्पादक वा विक्रेता वा खरिदकर्ता वा उपभोक्ताका बीचमा बसी वस्तु वा सेवाको आपूर्ति कार्यमा सहयोग गरेको नेपालबाहिर अवस्थित मूल निकायको प्रतिनिधि भई वस्तु वा सेवा आपूर्ति गर्न सक्छन । यसरी प्रदान गरिने सेवामा प्राप्त सेवा शुल्क र प्रतिनिधिको रुपमा आयातित वस्तु वा सेवामा मध्यस्थकर्ता वा प्रतिनिधि मूल्य अभिवृद्धि करको लागि जिम्मेवार हुन्छ । यस सम्बन्धमा निम्न उदाहरणले अझ प्रष्ट पार्नेछः

उदाहरण ४.१९

मानौं नेपाल टुथपेष्ट उद्योगले आफ्ना उत्पादनलाई बजारीकरण गर्ने जिम्मा नेपाल एडभरटाइजिङ्ग कम्पनीलाई दिएको रहेछ। उद्योगले उत्पादन गरेका टुथपेष्टको बजारीकरण गरेवापत सो एडभरटाइजिङ्ग कम्पनीले सेवा शुल्क प्राप्त गर्ने गरेको रहेछ । नेपाल एडभरटाइजिङ्ग कम्पनी मूल्य अभिवृद्धि करमा दर्ता भएको कारणले सेवा शुल्कमा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ ।

यस सम्बन्धमा निम्न उदाहरणले अझ प्रष्ट पार्नेछः

उदाहरण ४.२०

मानौं गुराँस मोटरसाइकल खरिद गर्ने ग्राहकलाई वारेण्टी समयभित्र गोर्खा कम्पनीको तर्फबाट निःशुल्क मर्मत सम्भार गर्ने गरेको रहेछ । मर्मत कार्यको लागि उक्त कम्पनीले नेपालका विभिन्न ठाउँमा संचालनमा रहेका सेवा केन्द्रहरुलाई जिम्मा दिएको रहेछ । ती केन्द्रहरुले गोर्खा कम्पनीले तोकेको शर्त प्रक्रिया र मापदण्डबमोजिम सेवा आपूर्ति गर्ने गर्दछन्। सेवा केन्द्रले आपूर्ति गर्ने यस्तो सेवा करयोग्य सेवा हो । यद उक्त सेवा केन्द्रहरु मूल्य अभिवृद्धि करमा दर्ता भएका रहेछन् भने सेवा शुल्क असुल गर्दा मूल्य अभिवृद्धि कर समेत असुल गर्नुपर्दछ ।

आपूर्तिकर्ताले आफ्नो कारोबार विस्तार गर्ने एवं प्रभावकारी रुपमा संचालन गर्ने सिलसिलामा एक वा एकभन्दा बढी आधिकारिक प्रतिनिधि नियुक्त गर्ने गरेको पाइन्छ । ती आपूर्तिकर्ताले आफै वा आधिकारिक प्रतिनिधिहरुमार्फत वस्तु तथा सेवा आपूर्ति गर्दछन् । त्यस्तो कारोबार ती प्रतिनिधिहरुको आफ्नो स्वतन्त्र कारोबार नभई मूल आपूर्तिकर्ताबाट गरिएको आपूर्ति मानिन्छ । आपूर्तिकर्ता र उपभोक्ता बीच हुने वस्तु वा सेवाको खरिद बिक्री कारोबारमा त्यस्ता प्रतिनिधिले आवश्यक विभिन्न प्रकारको सहयोग गर्दछन् । यस्तो सेवा आपूर्तिकर्ताको तर्फबाट उपभोक्तालाई प्रदान गरिएको हुन्छ । आपूर्तिकर्ताको तर्फबाट उपभोक्तालाई सेवा प्रदान गरेवापत आपूर्तिकर्ताबाट ती आधिकारिक प्रतिनिधिहरुले कमिशन वा दस्तुर वा सेवा शुल्क प्राप्त गर्ने गर्दछन्। प्रतिनिधिले यसरी सेवा प्रदान गरेवापत प्राप्त भएको कमिशन वा दस्तुर वा शुल्क ऐनको दफा १२ बमोजिम करयोग्य सेवा वापतको प्रतिफल मानिन्छ । यस सम्बन्धमा निम्न उदाहरणले अझ प्रष्ट पार्नेछः

उदाहरण ४.२१

मानौं मोहित इन्जिनियरिङ्गले इन्भर्टर बिक्री गर्ने गरेको रहेछ । इन्भर्टर बिक्री भएको एक वर्षसम्मको वारेण्टी पिरियडमा ५ पटकसम्म निःशुल्क सर्भिसिङ्ग गरिदिने व्यवस्था रहेछ । इन्भर्टर सर्भिसिङ्ग गरिदिन मोहित इन्जिनियरिङ्गले मुलुकभरिका १०० वटा विभिन्न सर्भिस सेण्टरहरुलाई आधिकारिक एजेण्टको रुपमा नियुक्त गरेको रहेछ । ती सर्भिस सेण्टरहरुले इन्भर्टर सर्भिसिङ्ग गरिदिए वापत प्रति इन्भर्टर रु.३०० मोहित इन्जिनियरिङ्गबाट प्राप्त गर्ने सम्झौता गरेको रहेछ । ती सर्भिस सेण्टरले मासिक रुपमा सेवा शुल्क दावी गर्नुपर्ने प्रबन्ध मिलाईएको रहेछ । वारेण्टी पिरियड भरि इन्भर्टर खरिद गर्ने ग्राहकले तोकिएका सर्भिस सेण्टरबाट इन्भर्टरको सर्भिसिङ्ग गराएको खण्डमा शुल्क भुक्तानी गर्नु नपर्ने व्यवस्था रहेछ ।

मोहित इन्जिनियरिङ्गले नियुक्त गरेका ती १०० वटा सर्भिस सेण्टर सो इन्भर्टर विक्रेता फर्मका एजेण्टको रुपमा कार्य गरेको मानिन्छ । इन्भर्टरको सर्भिसिङ्ग गरेर ती सर्भिस सेण्टरले इन्भर्टर खरिदकर्तालाई सेवा आपूर्ति गरेको देखिए तापनि त्यो सेवा मोहित इन्जिनियरिङ्गको तर्फवाट आपूर्ति गरिएको र सोवापत ती सर्भिस सेण्टरले मोहित इन्जिनियरिङ्गबाट सेवा शुल्क भुक्तानी प्राप्त गर्दछन् । यस्तो सेवा आपूर्तिलाई करयोग्य कारोबार मानिन्छ।

४.१९ नाफा नकमाउने उद्देश्यले स्थापना भएका संस्था तथा व्यक्तिले गर्ने आपूर्ति

नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्थाले आफ्ना सदस्य तथा गैरसदस्य बीच कुनै विभेद नगरी मुनाफा प्राप्त नगरी वा भविष्यमा पनि मुनाफा प्राप्त गर्ने उद्देश्य नलिई समाज कल्याणको काम गर्दछन् । मूल्य अभिवृद्धि कर ऐनले कर लाग्ने कारोबार गर्ने व्यक्ति र कर छुट हुने कारोबार गर्ने व्यक्ति भनी विभाजन गरेको छ । नाफा नकमाउने उद्देश्यले स्थापना भएको र आयकर ऐन बमोजिम कर छुटको प्रमाणपत्र प्राप्त गरेको संघ संस्थाले पनि कहिलेकाँहि मूल्य अभिवृद्धि कर लाग्ने र नलाग्ने कारोबार गरेको वा सेवा प्रदान गरेको पाइन्छ ।

मूल्य अभिवृद्धि कर कारोबारमा लाग्ने कर भएकोले कर लाग्ने कारोबारमा संलग्न जो सुकै व्यक्ति भए तापनि मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता भई आपूर्ति गर्नुपर्दछ । कर नलाग्ने कारोबारमा संलग्न भएको व्यक्ति वा निकाय मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता हुन सक्दैन । नाफा नकमाउने उद्देश्य राखी स्थापना भएका संघसंस्थाले कानून बमोजिम तोकिएको थ्रेसहोल्डभन्दा बढीको मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गरेको वा गर्ने अवस्था विद्यमान रहेको खण्डमा त्यस्तो संस्था मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्दछ । मूल्य अभिवृद्धि कर समानता र तटस्थताको सिद्धान्तमा आधारित रहेको छ । तसर्थ मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम कर लाग्ने कारोबारमा संलग्न सबै व्यक्ति वा संस्थालाई सम व्यवहार गर्नुपर्दछ । आयकर ऐन, २०५८ बमोजिम कर छुट हुने प्रमाणपत्र प्राप्त गरेका वा नगरेका सबै नागरिक समाज, सामुदायिक संघ संस्था वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था सबैले करयोग्य कारोबार गरेको अवस्थामा कानून बमोजिम मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता हुनुपर्दछ । साथै दर्ता भए पश्चात् वस्तु वा सेवा आपूर्ति गरी प्रतिफल प्राप्त गर्दा कर बीजक जारी गर्ने, ऐनले तोके बमोजिम अभिलेख अद्यावधिक राख्ने, कर विवरण पेश गर्ने लगायतका सबै कर सम्बन्धी कानून र प्रक्रिया परिपालन गर्नुपर्दछ । यस सम्बन्धमा निम्न उदाहरणले अझ प्रष्ट पार्नेछः

उदाहरण ४.२२

मानौं कुनै एउटा धार्मिक सँगठनले काठमाडौंको न्युरोडमा पूजा सामाग्री, धार्मिक अनुष्ठानमा प्रयोग हुने पोशाक एवं अन्य कपडाको व्यापार गर्ने गरेको रहेछ । उक्त संगठनको वार्षिक कारोबार रु. १ करोड रहेछ । धार्मिक संगठनले उक्त पसलबाट आर्जन हुने आयलाई सदस्यहरु बीचमा वितरण नगर्ने र उक्त संगठनको मुनाफा र सम्पत्तिलाई अन्य मठ मन्दिरहरुको मर्मत र जिर्णोद्धार कार्यमा खर्च गर्ने उद्देश्य राखेको रहेछ । मुनाफा वितरण गर्ने उद्देश्य नभएको हुँदा उक्त संगठन मूल्य अभिवृद्धि करमा दर्ता हुन नपर्ने दावी गरेछ। प्रस्तुत उदाहरणमा आपूर्तिकर्ता धार्मिक संगठन भए तापनि सो संगठनले पूजा सामाग्री, पोशाक र अन्य कपडाको कारोबार गर्ने गरेको र ती वस्तुहरु ऐनको अनुसूची १ बमोजिम कर छुट नहुने भएको हुँदा उक्त धार्मिक संगठनले बिक्री गर्ने उपर्युक्त वस्तु वा सेवामा मूल्य अभिवृद्धि कर ऐन आकर्षित हुन्छ । मुनाफा वितरण गर्ने उद्देश्य नभए तापनि मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको कारोबार गर्ने गरेको र करयोग्य कारोबार वार्षिक रु. पचास लाखभन्दा बढी भएको हुँदा उक्त संगठनले मूल्य अभिवृद्धि कर प्रयोजनको लागि | दर्ता भई कारोबार गर्नुपर्दछ ।

यस सम्बन्धमा निम्न उदाहरणले अझ प्रष्ट पार्नेछः

उदाहरण ४.२३

मानौं कुनै एक गैर सरकारी संस्था मुनाफा वितरण नगर्ने उद्देश्यले स्थापना भएको छ । उक्त संस्थाले आयकर ऐन, २०५८ बमोजिम कर छुट प्रमाणपत्र प्राप्त गरेको छ । विभिन्न संघ संस्थाको वित्तीय, प्राविधिक सहयोगमा समाज कल्याण एवं विकास निर्माण सम्बन्धी कार्य गर्दछ ।

मानौं उक्त संस्थाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृत कार्यक्रम अन्तर्गत कुनै जिल्लामा महिला सशक्तिकरण तथा जनचेतना अभिवृद्धि गर्ने तालिम संचालन गर्ने कार्यादेश प्राप्त गरेको छ । उक्त संस्था यस्ता तालिम संचालन गर्ने विशिष्टिता हासिल गरेको संस्था हो ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ को समूह ६ बमोजिम विश्वविद्यालय तथा विश्वविद्यालयमा हुने अनुसन्धान सम्बन्धी कार्यहरु, नेपाल सरकारको पूर्ण स्वामित्व भएका संस्थाहरुबाट प्रदान गर्ने व्यवसायिक वा पेशागत तालिम वा पुनर्ताजगी तालिमहरु, विद्यालय तथा विश्व विद्यालयहरुले प्रदान गर्ने शिक्षण सेवालाई कर छुटका सेवा मानिन्छ । उक्त निकायहरुले आपूर्ति गर्ने उपर्युक्त सेवा बाहेक अन्य गैरसरकारी तथा निजी संघसंस्था वा व्यक्तिले अनुसन्धान सम्बन्धी कार्य, व्यवसायिक वा पेशागत तालिम वा पुनर्ताजगी तालिम एवं शिक्षण सेवामा मूल्य अभिवृद्धि कर आकर्षित हुन्छ । तसर्थ उक्त गैर सरकारी संस्थाले संचालन गर्ने महिला सशक्तिकरण तथा जनचेतना अभिवृद्धि गर्ने तालिमहरु करयोग्य कारोबार हुन्।

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ६क. बमोजिम रु. ५ लाखभन्दा बढीको यस्तो करयोग्य सेवा खरिद गर्दा मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्ति वा संस्थाबाट मात्र सेवा खरिद गर्नुपर्दछ । सेवाग्राही संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त संस्थालाई भुक्तानी दिँदा मूल्य अभिवृद्धि कर समेत भुक्तानी गर्नुपर्दछ ।

यस्तो करयोग्य सेवा आपूर्ति गर्ने गैर सरकारी संस्था करयोग्य व्यक्तिको परिभाषाभित्र समेटिएको हुँदा सरकारी, सार्वजनिक एवं मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिलाई रु. ५ लाखभन्दा बढी मूल्यको सेवा आपूर्ति गर्ने हो भने उक्त संस्था मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्दछ ।

४.२० सेवा र अन्तर्राष्ट्रिय सेवाको आपूर्ति स्थान (Place of Supply of Services/International Services)

नेपालभित्र सेवाको आपूर्ति भएको अवस्थामा मात्र कर तिर्नु पर्ने दायित्व सिर्जना हुन्छ । कर छुट हुने भनी स्पष्ट रुपले किटान गरेको सेवा आपूर्ति बाहेक सबै सेवामा ऐनको दफा ५ को उपदफा (१) बमोजिम मूल्य अभिवृद्धि कर आकर्षित हुन्छ। नेपालमा व्यवसाय गरेको वा सेवा प्रवाह गर्न कुनै प्रकारको स्थायी संस्थापन मार्फत वा कुनै स्थायी संरचना निर्माण गरेको व्यक्तिले नेपालभित्र कुनै करयोग्य सेवा आपूर्ति गर्दछ भने सोही स्थानलाई आपूर्तिको स्थान मानिन्छ । जस्तै नेपाली लेखा परीक्षक, अधिवक्ता, इन्जिनीयर, व्युटिसीयन आदिले नेपाली वा विदेशी नागरिकलाई नेपालभित्र सेवा आपूर्ति गरेमा आपूर्तिको स्थान नेपाल मानिन्छ ।

ऐनको दफा ७ को उपदफा (२) ले अनुसूची - २ मा उल्लेखित वस्तु वा सेवाको कारोबारमा शून्य दरमा कर लाग्नेछ भनी उल्लेख छ । सोही ऐनको अनुसूची- २ मा नेपालबाहिरको व्यक्तिलाई आपूर्ति हुने देहाय बमोजिमको सेवालाई शुन्य दर लाग्ने सेवा भनी कानूनी प्रबन्ध गरेको छः क) नेपालभित्र बसोबास भएको व्यक्तिले नेपालमा कुनै व्यवसायिक कारोबार व्यवसायिक प्रतिनिधित्व वा कानूनी रुपमा मान्य प्रतिनिधि नभएको नेपालबाहिरका व्यक्तिलाई आपूर्ति गरेको सेवा, (ख) नेपालभित्र बसोबास भई दर्ता भएको व्यक्तिले नेपालबाहिर बसोबास भएको व्यक्तिलाई गरेको वस्तु वा सेवाको आपूर्ति ।

शून्य दर लाग्ने सेवा प्रभावकारी हुन देहाय बमोजिमको अवस्था विद्यमान रहेको हुनु पर्दछः
क. सेवा प्रदान गर्ने व्यक्ति वा करदाताको बसोबास नेपालभित्र भएको हुनुपर्दछ । नेपालभित्र बसोबास भएको शब्दले नेपालभित्र रहेको स्थायी संरचना वा संस्थापनसमेतलाई बुझाउँछ, र
ख. निजको नेपालमा कुनै व्यवसायिक कारोबार, व्यवसायिक प्रतिनिधित्व वा कानूनी रुपमा मान्य प्रतिनिधि नभएको र निजले नेपाल बाहिर बसोबास भएको व्यक्तिलाई सेवा आपूर्ति गरेको हुन आवश्यक रहेको छ।

यसो भन्नुको अर्थ यदि नेपालभित्र व्यवसाय वा स्थायी संरचना खडा गरी नेपाली व्यक्तिलाई नेपालमा सेवा आपूर्ति गरेको अवस्थामा आपूर्तिको स्थान नेपाल मानिन्छ । जस्तैः नेपाल दूर संचार कम्पनीको मोबाइल फोनमा ग्लोबल रोमिङ्गको सुविधा लिएका कुनै सेवाग्राहीले विदेशमा गई रोमिङ्ग सेवा उपभोग गरेको अवस्थामा पनि उक्त सेवाको आपूर्ति स्थान नेपाल नै मानिन्छ । किनभने विदेशमा रोमिङ्ग सेवा उपभोग गरेको भए तापनि उक्त सेवा नेपालस्थित संरचना वा संयन्त्रबाट सक्रिय भएको मानिन्छ ।

यदि कुनै नेपाली अधिवक्ताले कुनै विदेशी नागरिकलाई विदेशमा कानूनी सेवा उपलब्ध गराएको अवस्थामा सेवाको आपूर्तिको स्थान विदेश मानिन्छ । यसै गरी नेपालमा दर्ता नभएको कुनै विदेशी सेवा प्रदायकले नेपालभित्र कुनै कर लाग्ने सेवा आपूर्ति गरेमा भुक्तानी गर्ने व्यक्तिले मूल्य अभिवृद्धि कर दाखिला गर्नुपर्ने व्यवस्था पनि रहेको छ ।

नेपालमा व्यवसाय गरेको वा सेवा प्रवाह गर्न कुनै स्थायी संरचना निर्माण गरेको भन्ने विषय सोसँग सम्बन्धित तथ्य र प्रमाणको आधारमा निर्धारण गरिन्छ । यस सम्बन्धमा व्यक्तिले सेवा आपूर्ति गर्ने सिलसिलामा करार सम्झौता गरेको वा सेवा आपूर्ति गर्ने प्रयोजनको लागि आफ्नै नामबाट विज्ञापन वा अन्य प्रबर्द्धनात्मक कार्य गर्दछ वा आफ्नै कार्यालय स्थापना गरी सोमार्फत कारोबार संचालन गरेको छ वा छैन भन्ने कुराले पनि स्थायी संरचनाको यकिन गर्न मार्गदर्शन गर्दछ । ऐनमा उल्लेखित व्यवस्था बमोजिम सेवाका केही प्रकृति र सेवा आपूर्ति भएको स्थान (Reverse Charge बाहेक) देहाय अनुसार हुन्छः

क्र.सं सेवाको प्रकार सेवा आपूर्ति भएको स्थान
पर्यटकीय सेवाहरु
१.१ टिकट काट्ने करदाता रहेको स्थान
१.२ पर्यटकीय यातायात जहाँ पर्यटकले यातायात सेवा उपयोग गर्दछ
१.३ पथप्रदर्शक, भरिया जहाँ यस्तो सेवा प्रदान गरिन्छ
१.४ साँस्कृतिक एवं मनोरञ्जनात्मक अवलोकन जहाँ यस्तो अवलोकन कार्यक्रम आयोजना गरिन्छ
१.५ रेस्टुरेन्ट प्रयोग, होटल बसाई, मनोरञ्जनात्मक कार्य आदि जहाँ ती अवस्थित छन्
मर्मत सेवा
२.१ अचल सम्पत्तिको जहाँ सम्पत्ति अवस्थित रहेको छ
२.२ चल सम्पत्तिको जहाँ सम्पत्ति मर्मत गरिन्छ
कार्यक्रम आयोजना
३.१ स्वयं आयोजक जहाँ कार्यक्रम आयोजना गरिन्छ
३.२ प्रतिनिधिको रुपमा कार्यक्रम आयोजनास्थल

यस विषयलाई निम्न उदाहरणले प्रष्ट पार्नेछः

उदाहरण ४.२४

सांग्रिला टुर प्रा. लि. ले युरोपियन नागरिक जोनबाट एक टुर प्याकेज प्राप्त गरेको छ । उक्त प्याकेजमा १० दिन नेपालमा, ४ दिन भुटानमा र ७ दिन तिब्बतमा घुम्ने योजना रहेको छ। प्याकेज भित्र बेलायतदेखि काठमाडौंसम्म काठमाडौंदेखि भुटानको पारोसम्म र काठमाडौं ल्हासा काठमाडौंको दोहोरो हवाई टिकट, होटल बास, यातायात, गाइड, भरिया, साँस्कृतिक अवलोकन, ट्रेकिङ्ग आदि समावेश रहेछ । यो बुकिङ्ग मूल्य अभिवृद्धि कर सहित ३०,००० अमेरिकी डलरमा गरिएको छ । उपर्युक्त ३ गन्तब्य स्थानको ओहोर दोहोर | हवाई टिकट खर्च २,००० अमेरिकी डलर रहेछ । हवाई टिकट बाहेक ४ दिनको भुटानको खर्च ४,००० अमेरिकी डलर र ७ दिनको ल्हासाको खर्च १०,००० अमेरिकी डलर लाग्ने रहेछ । उक्त खर्चमा होटल बास, यातायात, गाइड, भरिया, सांस्कृतिक अवलोकन, ट्रेकिङ्ग खर्चहरु समावेश रहेछन् । बाँकी रहने १४,००० | अमेरिकी डलर नेपालको घुमघामको लागि लाग्ने खर्च हो ।
उपर्युक्त उदाहरणमा उल्लेख भए बमोजिमको टुर प्याकेजको मूल्य अभिवृद्धि कर गणना देहाय बमोजिम गर्नुपर्दछः
क) टुर प्याकेजको कुल मूल्य ३०,००० अमेरिकी डलरबाट हवाई टिकट वापतको २,००० अमेरिकी डलर घटाउंदा बाँकी रहने २८,००० अमेरिकी डलर । हवाई टिकटमा मूल्य अभिवृद्धि कर छुट हुने भएकाले यो रकम घटाइएको हो ।
ख) उपर्युक्त २८,००० अमेरिकी डलर हवाई टिकट बाहेक टुर प्याकेजको मूल्य भएको हुँदा विदेशको अंश र नेपालको अंश छुट्याउनु पर्दछ । विदेशको मूल्य १४००० अमेरिकी डलर र नेपालको मूल्य १४००० अमेरिकी डलर हुन्छ ।
ग) उपर्युक्त सेवाको आपूर्तिको स्थान यकिन गर्नुपर्दछ । नेपालमा आपूर्ति भएको सेवामा कर आकर्षित हुन्छ भने विदेशमा सेवा आपूर्ति भएको हकमा शुन्य दर आकर्षित हुन्छ ।
घ) नेपाल बाहिर आपूर्ति भएको सेवा र सो वापतको रकमलाई छुट्याउनु पर्दछ । करसहित भुटानको खर्च ४,००० र ल्हासाको खर्च १०,००० गरी १४,००० अमेरिकी डलर रहेको छ । उक्त कर लाग्ने मूल्यमा शुन्य दर आकर्षित हुन्छ ।
ङ) विदेशमा आपूर्ति भएको सेवासँग सम्बन्धित खरिदको कर बीजक अनुसार पूर्ण कर कट्टी दावी गर्ने र अन्य सामान्य खरिदमा तिरेको कर कट्टीको हकमा कुल विक्री कारोबारमा कर लाग्ने कारोबार र कर छुट कारोबारको अनुपात गणना गरी समानुपातिक कर कट्टी दावी गर्नुपर्दछ । (तर आर्थिक ऐन, २०७८ ले मू.अ.कर ऐन, २०५२ मा संशोधन गरी ट्रेकिङ्ग तथा टुर प्याकेजमा म.अ.कर नलाग्ने व्यवस्था गरेको)