Skip to content

परिच्छेद १० सम्पत्ति रोक्का, लिलाम बिक्री र खानतलासी सम्बन्धी व्यवस्था

५२. सम्पत्ति रोक्का सम्बन्धी व्यवस्था

[(१) ऐन र यस नियमावली बमोजिम बुझाउनु पर्ने कर, दस्तुर र ब्याज करदाताले नियम ३० बमोजिमको म्यादभित्र नबुझाएमा कर अधिकृतले ऐनको दफा २१ बमोजिम बक्यौता कर दस्तुर, जरिवाना र ब्याज असुल गर्नको लागि सम्पत्ति रोक्का राख्न सक्नेछ ।] 1

(२) उपनियम (१) को प्रयोजनको निमित्त करदाताको सम्पत्ति [रोक्का] 2 गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:
  (क) सूचना दिइसकेपछि करदाताको चल वा अचल सम्पत्ति कर दाखिल नगरेसम्म बिक्री वितरण वा हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित कार्यालयमा रोक्का गर्न लेखी पठाउने ।
  (ख) करदाताको कुनै सम्पत्ति कुनै व्यक्ति विशेषको संरक्षणमा वा साथमा छ भन्ने कर अधिकृतले थाहा पाएमा त्यस्तो सम्पत्ति रोक्का गर्न सम्बन्धित व्यक्तिलाई कर अधिकृतले यस नियमको अधीनमा रही आदेश दिने ।

५३. लिलाम बिक्री सम्बन्धी व्यवस्था

(१) नियम ५२ बमोजिमको कारबाही गर्दा पनि कर असुल नभएमा कर अधिकृतले देहाय बमोजिमको प्रक्रिया पुन्याई करदाताको सम्पत्ति पूर्ण वा आंशिक रूपमा लिलाम बिक्री गरी कर असुल गर्न सक्नेछ:
  (क) लिलाम बिक्री गर्नु पर्ने सम्पत्ति यकिन गरी सो सम्पत्ति र लिलाम बिक्री गर्नु पर्ने कारण तथा लिलाम बिक्री हुने स्थान र मिति समेत उल्लेख भएको सूचना लिलाम हुने मितिभन्दा कम्तीमा पन्ध्र दिन अगावै सार्वजनिक रूपमा प्रकाशित गर्ने ।
  (ख) लिलाम गर्दा लिलाम बिक्री गर्ने वस्तु रहेको स्थानको [गाउँपालिका ] 3 वा महा/उपमहा/नगरपालिकाको एक जना प्रतिनिधि वा नजिकको सरकारी कार्यालयको एक जना प्रतिनिधि र सम्भव भएसम्म करदाता वा निजको प्रतिनिधि समेतलाई साक्षी राख्ने ।

(२) उपनियम (१) बमोजिम लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट सर्वप्रथम लिलाम सम्बन्धी सम्पूर्ण खर्च असुल गरी बाँकी रहन आएको रकमबाट करदाताले तिर्नु पर्ने कर, दस्तुर, जरिवाना र ब्याजको रकम असुल उपर गरी बढी भएजति रकम करदातालाई फिर्ता गर्नु पर्नेछ ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताको सम्पत्ति लिलाम हुनु अगावै करदाताले लिलाम सम्बन्धी सम्पूर्ण खर्च, तिर्न बुझाउन पर्ने कर, दस्तुर, जरिवाना र ब्याज समेतको सम्पूर्ण रकम दाखिल गर्न ल्याएमा असुल उपर गरी लिलाम बिक्री बन्द गर्नु पर्नेछ ।

(४) नियम ५२ मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताले तिर्नु पर्ने कर असुल गर्न बाँकी छँदै कुनै बैङ्क वा वित्तीय संस्थामा निजको नाममा रकम जम्मा भएको जानकारी कर अधिकृतलाई प्राप्त भई त्यस्तो रकम असुल भएमा सो बाँकी कारबाही बन्द गर्नु पर्नेछ ।

(५) आंशिक असुली हुने भएमा क्रमशः लिलाम सम्बन्धी खर्च, ब्याज, दस्तुर, जरिवाना र करको रकम असुल गरिनेछ ।

५४. तुरुन्त लिलाम गर्ने

नियम ५२ बमोजिम सम्पत्ति रोक्का रहेको सम्बन्धमा कुनै अदालतमा निवेदन वा पुनरावेदन परी रोक्का रहने अवधि लामो हुन गई रोक्का रहेको सम्पत्ति सड्ने, बिग्रने वा नष्ट हुने देखिएमा कर अधिकृतले त्यस्तो माल वा वस्तु तुरुन्त लिलाम बिक्री गरी आएको रकमको आम्दानी बाध्नु पर्नेछ र रोक्का रहेको रकम पछि अदालतको निर्णयबाट करदाताले फिर्ता पाउने ठहरिएमा लिलाम बिक्रीबाट प्राप्त भएको रकम मात्र निजलाई फिर्ता दिइनेछ । करदाताले माल वा वस्तु नै पाउँ भनी दाबी गर्न सक्ने छैन ।

५५. खानतलासीको कार्यविधि

(१) ऐनको दफा २३ को उपदफा (२) को खण्ड (ख) बमोजिम खानतलासी लिनु पर्दा देहाय बमोजिम गर्नु पर्नेछः
  (क) जुन विषयको सम्बन्धमा खानतलासी गर्न लागेको हो सो विषयसँग सम्बन्धित कुनै कागजात वा वस्तु कुनै घर वा अरु कुनै ठाउँमा फेला पर्ने सम्भावना छ भनी विश्वास गर्नु पर्ने मनासिब माफिकको कारण भएमा र सो वस्तु सो घर वा ठाउँको तुरुन्त तलासी नलिएको खण्डमा प्राप्त नहुने आशंका भएमा वा जाँच गर्न तत्कालै आवश्यक भएमा कर अधिकृतले आफैँ वा अन्य कर्मचारी खटाई त्यस्तो घर वा स्थानको तलासी लिन वा लिन लगाउन सक्नेछ ।
  (ख) खण्ड (क) बमोजिम तलासी लिने घर वा स्थलमा बसोबास गरी आएका वा सो घर वा स्थलको धनी वा संरक्षकलाई तलासी लिने व्यक्तिले तलासी लिन खोजेको कारण खोली सो कुराको सूचना दिनु पर्नेछ र सो बमोजिम सूचना पाएपछि त्यस्तो व्यक्तिले तलासी लिन आउने व्यक्तिलाई त्यस्तो घर वा स्थलमा प्रवेश गर्न दिनु पर्नेछ ।
  (ग) खण्ड (ख) बमोजिम तलासी लिने घर वा ठाउँमा बस्ने व्यक्ति वा धनी वा संरक्षकले तलासी लिन आएका व्यक्तिलाई यस्तो घर वा स्थलमा प्रवेश गर्न नदिएमा तलासी लिने व्यक्तिले सो घर वा स्थलमा रहे बसेका स्वास्नीमानिसहरूलाई त्यहाँबाट हट्ने सूचना र मनासिब समय दिई आवश्यकता अनुसार कुनै झ्याल ढोका, छेस्किनी खोली, तोडीभित्र पसी तलासी लिन सक्नेछ ।
  (घ) खण्ड (ग) बमोजिम तलासी लिँदा सम्बन्धित [गाउँपालिका ] 4, महा/उपमहा/नगरपालिकाको कम्तीमा एक जना सदस्य वा स्थानीय दुई जना व्यक्ति वा घरधनी वा उसको एक जना प्रतिनिधि वा कुनै एक जना साक्षी राखी तलासी लिनु पर्नेछ ।
  (ङ) खण्ड (घ) बमोजिम साक्षी बस्ने मानिस फेला नपरेमा वा साक्षी बस्न इन्कार गरेमा सोही व्यहोराको कैफियत जनाई तलासी लिने व्यक्तिले सहीछाप गरेपछि खण्ड (ग) को प्रक्रिया पूरा भएको मानिनेछ ।
  (च) यस नियम बमोजिम तलासी लिँदा कुनै मानिसको शरीरको तलासी लिनु परेमा सो समेत लिन सकिनेछ र तलासी लिनु पर्ने व्यक्ति स्वास्नीमानिस भएमा निजको तलासी स्वास्नीमानिसबाटै लिनु पर्नेछ ।
  (छ) यस नियम बमोजिम तलासी लिँदा प्राप्त भएका मालवस्तु वा कागजातको विवरण तयार गरी तीन दिनभित्र विभाग समक्ष पेश गर्नु पर्नेछ।


  1. अठारौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघिको व्यवस्था:
    “(१) ऐन तथा यस नियममा बमोजिम बुझाउनु पर्ने कर, दस्तुर र ब्याज करदाताले नियम ३० बमोजिमको म्यादभित्र नबुझाएमा कर अधिकृतले ऐनको दफा २१ अन्तर्गत अनुसूची २० मा उल्लेख भए बमोजिम महानिर्देशकबाट अनुमति प्रप्त गरी बक्यौता कर, दस्तुर, जरिबाना र ब्याज अस ुल गर्नेछ ।” 

  2. अठारौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि "कब्जा वा लिलाम” भन्ने शब्दहरु रहेका । 

  3. बीसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “गाउँ विकास समिति” भन्ने शब्दहरु रहेका । 

  4. बीसौं संशोधनद्वारा संशोधित । संशोधन हुनुअघि “गाउँ विकास समिति” भन्ने शब्दहरु रहेका ।