Skip to content

परिच्छेद २४ किस्ताबन्दी र अग्रिम कर

२४.१

आयकर ऐन, २०५८ ले जहिले आय प्राप्त हुन्छ सोही बखत र जति आय प्राप्त हुन्छ त्यति आयको कर तिर्नुपर्ने सिद्धान्त ( Pay As You Earn) लाई आत्मसात गरेको छ । यस व्यवस्थाले गर्दा कर तिर्नुपर्ने व्यक्तिले आय प्राप्त गर्दा कै बखत सो वापत कर भुक्तानी हुँदा पछि कर वापतको दायित्व रहँदैन भने सरकारलाई पनि जुन वर्षको आय हो सोही वर्ष राजस्व प्राप्त हुने हुँदा यस्तो सिद्धान्त निकै प्रचलनमा रहेको छ । यसै सिद्धान्तको आधारमा आयकर ऐन, २०५८ ले अनुमानित करको व्यवस्था गरेको छ । व्यवसाय वा लगानी गर्ने कुनै व्यक्तिले कुनै आय वर्षमा तिनुपर्ने जम्मा करको अनुमान गरी सो अनुमानित कर सोही वर्षभित्र तीन किस्तामा दाखिला गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । ऐनको यस व्यवस्थाको पालना गर्ने सन्दर्भमा कुनै आय वर्षमा व्यवसाय वा लगानी गरी विभिन्न शीर्षकबाट निर्धारणयोग्य आय भएका कर तिर्नुपर्ने कुनै व्यक्ति, कुनै गैर बासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन र कुनै गैर बासिन्दा व्यक्तिको नेपालमा अवस्थित कुनै आय वर्षको आय विदेश पठाउने विदेशी स्थायी संस्थापनले त्यस्तो किस्तामा तिर्नुपर्ने कर र किस्ताबन्दी विवरण बुझाउनु पर्दछ । आयकर निर्देशिकाको यस परिच्छेदमा अनुमानित करको विवरण, अनुमानित करको गणना र अनुमानित करको किस्ता बुझाउने सम्बन्धमा ऐनको परिच्छेद १८ ले गरेका व्यवस्था उल्लेख गरिएको छ ।

२४.२ किस्ताबन्दीमा कर तिर्नुपर्ने व्यक्ति र अनुमानित करको विवरण

ऐन बमोजिम कुनै आय वर्षमा अनुमानित कर अर्थात किस्ताबन्दीमा कर बुझाउनुपर्ने व्यक्तिले आफूले बुझाउनुपर्ने अनुमानित करको विवरण पनि बुझाउनु पर्दछ । ऐनको दफा ९५ को उपदफा (१) ले अनुमानित करको विवरणका सम्बन्धमा देहायको व्यवस्था गरेको छः-

९५(१) कुनै आय वर्षमा किस्ता दाखिला गर्नुपर्ने प्रत्येक व्यक्तिले दफा ९४ बमोजिम सो वर्षमा पहिलो कर किस्ता रकम बुझाउनुपर्ने मितिभित्र सो वर्षका लागि सो व्यक्तिको देहायका रकमको अनुमान उल्लेख गरी सोको विवरण विभागबाट तोकिएको ढाँचा र तरिकामा विभागमा पेश गर्नु पर्नेछ:
(क) रोजगारी, व्यवसाय र लगानीको प्रत्येक स्रोतबाट उक्त व्यक्तिले सो वर्षमा प्राप्त गर्न सक्ने निर्धारणयोग्य आय तथा त्यस्तो आयको स्रोत,
(ख) सो वर्षमा प्राप्त हुनसक्ने सो व्यक्तिको करयोग्य आय र औषधिउपचार खर्च वापत कर मिलानको रकम नघटाई दफा ४ बमोजिम गणना गरी दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले दाखिला गर्नुपर्ने कर रकम,
(ग) गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनको सम्बन्धमा त्यस्तो विदेशी संस्थापनले सो वर्षमा विदेश पठाएको आय रकम र सो आयमा दफा ४ को उपदफा (५) बमोजिम गणना गरिएको दफा ३ को खण्ड (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नुपर्ने कर रकम, र
(घ) विभागले तोकेको अन्य कुनै विवरण ।

अनुमानित करको विवरण दाखिला गर्ने सम्बन्धमा नियम ३४ मा निम्नानुसारको व्यवस्था रहेको छ:

कुनै आय वर्षमा किस्ता दाखिला गर्नु पर्ने व्यक्तिले अनुसूची-२ बमोजिमको ढाँचामा ऐनको दफा ९५ बमोजिम अनुमानित करको विवरण विभागमा पेश गर्नु पर्नेछ ।

किस्ता दाखिला गर्नुपर्ने हरेक व्यक्तिले किस्ता दाखिला गर्नुपर्ने आय वर्षको पौषमसान्त अर्थात करको पहिलो किस्ता बुझाउनुपर्ने म्यादभित्र अनुमानित करको विवरण सम्बन्धितकार्यालयमा पेश गर्नुपर्दछ । त्यस्तो विवरण नियमावलीको अनुसूची - २ बमोजिमको ढाँचामा पेश गर्नुपर्दछ । करदाताको सुविधालाई ध्यान दिई यस्तो अनुमानित करको विवरण आन्तरिक राजस्व विभागको वेबसाइट मार्फत पनि बुझाउन मिल्ने व्यवस्था गरिएको छ । अनुमानित करको विवरण पेश गर्नु पर्ने व्यक्तिले पेश गर्ने विवरणमा निजको सो वर्षको करयोग्य आयको हरेक स्रोतबाट प्राप्त हुनसक्ने अनुमानित निर्धारणयोग्य आय, सो वर्षमा प्राप्त हुनसक्ने अनुमानित करयोग्य आय, सो आयमा लाग्ने अनुमानित कर र गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनको सम्बन्धमा त्यस्तो विदेशी संस्थापनले सो वर्षमा विदेश पठाउन सक्ने अनुमानित आय र सो आयमा दाखिला गर्नुपर्ने अनुमानित करको रकम उल्लेख गर्नुपर्दछ । अनुमानित कर विवरण दाखिला गर्नुपर्ने म्याद आय वर्षको पुष महिनाभित्र तोकिएतापनि सो भन्दा पछाडि चैत्रसम्म दर्ता भएका व्यवसायका हकमा यस्तो विवरण चैत्रभित्र र सो पछाडि दर्ता भएकाव्यवसायको हकमा असारभित्र पेश गर्नु पर्दछ ।

२४.३ किस्ताबन्दी कर दाखिला गर्नु नपर्ने व्यक्ति

ऐनले कर तिनुपर्ने व्यक्तिको रूपमा परिभाषित गरेका व्यक्तिमध्ये देहायका व्यक्तिले करको किस्ता दाखिला गर्नुपर्दैन ।

(क) समग्र किस्ता वापतसात हजार पाँच सयरुपैयाँभन्दा कम बुझाउनुपर्ने व्यक्ति

यस सम्बन्धमा ऐनको दफा ९४ को उपदफा (२) मा निम्नानुसार व्यवस्था गरेको छ:

९४(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम बुझाउनुपर्नेसमग्र किस्ताको जम्मा रकम सात हजार पाँच सयरुपैयाँभन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनुपर्ने छैन ।

कुनै व्यक्तिले तीनवटै किस्ता वापत बुझाउनुपर्ने करको जम्मा रकमसात हजार पाँच सयरुपैयाँभन्दा कम भएमा त्यस्तो व्यक्तिले करको किस्ता बुझाइ रहनु पर्दैन । यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छः

उदाहरण २४.३.१

मानौ, रामहरि अग्रवालको काठमाडौंमा पान पसल रहेछ । निजको आ.व. २०७६/७७ मा भएको २०७६ पुष २५ गते सम्मको कारोबारबाट दाखिला गर्नुपर्ने वार्षिक अनुमानित कर रकम रु. ७,०००/- मात्र हुने रहेछ भने त्यस्तो व्यक्तिले २०७६ पुष मसान्त, २०७६ चैत्र मसान्त तथा २०७७ आषाढ मसान्तसम्ममा बुझाउनु पर्ने किस्ता रकम बुझाउनु पर्दैन ।

(ख) पूर्वानुमानित कर तिर्ने व्यक्ति

कुनै आय वर्षमा ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित अवस्था पूरा गरेको बासिन्दा प्राकृतिक व्यक्ति अर्थात पूर्वानुमानित कर तिर्ने व्यक्तिले करको किस्ता र सोको विवरण बुझाइरहनु पर्दैन । ऐनको दफा ४ को उपदफा (४) बमोजिम देहायका सबै अवस्था पूरा गरेका बासिन्दा प्राकृतिक व्यक्तिले करको किस्ता र सोको विवरण बुझाइरहनु पर्दैन ।

(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र भएको,
(क१) औषधि उपचार खर्च वापत दफा ५१ बमोजिम तथा अग्रिम कर कट्टी वापत दफा ९३ बमोजिम कर मिलान गर्न दाबी नगरेको,
(ख) व्यवसायबाट प्राप्त आय तीन लाख रुपैयाँ र व्यवसायको कारोबार तीस लाख रुपैयाँभन्दा बढी नभएको,
(ग) ..........
(घ) ..........

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छः

उदाहरण २४.३.२

मानौ, रमेश श्रेष्ठले ललितपुर उपमहानगरपालिकामा किराना पसल सञ्चालन गरिआएका रहेछन् । आ.व. २०७५। ७६ मा निजको कारोबाररु बीस लाख रहेछ । सो वर्ष निजलाई सो व्यवसायबाट रु दुई लाख आय ( मुनाफा) भएको रहेछ । उपर्युक्त व्यवसायको सिलसिलामा निजले एउटा कम्पनीमा रु.६०,०००/- बराबरको सामान आपूर्ति गरेका रहेछन् र सो कम्पनीले निजलाई भुक्तानी गर्दा सो रकमको १५ प्रतिशतले हुने रु.९,०००/- अग्रिम कर समेत कट्टी गरी सोको प्रमाणपत्र समेत उपलब्ध गराएको रहेछ । सो वर्ष निजले स्वीकृत औषधोपचारमा रु.२,०००/- खर्च गरेका रहेछन् । निजले अनुसूची- १ को दफा १ को उपदफा (७) को खण्ड (क) मा उल्लेख भएको पूर्वानुमानित कर तिर्न छनौट गरेको अवस्थामा निजले करको किस्ता र सोको विवरण बुझाइरहनु पर्दैन । तर निजले Medical Tax Credit वापत हुन आउने रु.३००/- (रु.२,०००/- को १५ प्रतिशत) मिलान दाबी गर्न पाउने छैनन् र अग्रिम कर कट्टी गरेको रकम समेत मिलान गर्न पाउने छैनन् ।

(ग) कारोबारको आधारमा कर तिर्ने व्यक्ति

ऐनको दफा ४ को उपदफा (४) बमोजिम कारोबारको आधारमा कर दाखिला गर्नुपर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नुपर्ने व्यवस्था ऐनको दफा ९४ को उपदफा (१क) मा रहेको छ ।

दाखिला गर्नुपर्ने मिति दाखिला गर्नुपर्ने रकम
पुस महिनाको अन्त्यसम्म पुस २० गते सम्मको कारोबारमा तोकिएको दर अनुसार लाग्ने कर
आषाढ महिनाको अन्त्य सम्म असार २० गते सम्मको यथार्थ कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी त्यस्तो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

(घ) अन्तिम रूपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति

दफा ९५ को उपदफा (१) ले अन्तिम रूपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने कुनै व्यक्तिले अनुमानित करको विवरण पेश गर्नु पर्ने व्यवस्था नगरेको हुँदा कुनै आय वर्षमा अन्तिम रूपमा कर कट्टी भइ प्राप्त हुने भुक्तानीमात्र अर्थात अग्रिम कर कट्टी गरी बासिन्दा कम्पनीबाट प्राप्त लाभांश, जीवन बीमा वापत प्राप्त रकम, अवकाश भुक्तानीवापत प्राप्त रकम, बैंक वा वित्तीय संस्थाबाट प्राप्त व्याज, गैर बासिन्दा व्यक्तिले प्राप्त गरेको भुक्तानी र प्रति बैठक बीस हजार रुपैयाँसम्मको बैठक भत्ता वापतको रकममात्र आयको रूपमा प्राप्त गर्ने व्यक्तिले करको किस्ता र सोको विवरण बुझाउनु पर्दैन ।

अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी सम्बन्धीव्याख्या एवम् उदाहरण यसै निर्देशिकाको परिच्छेद १७ मा गरिएको छ ।

(ङ) रोजगारीको आयमात्र भएको व्यक्ति

ऐनको दफा ९४ को उपदफा (१) मा व्यवसाय र लगानीको आय हुने व्यक्तिले मात्र किस्ताबन्दीमा कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । रोजगारीको मात्र आय भएका व्यक्तिले किस्ताबन्दीमा कर तिर्नु पर्दैन, तर बासिन्दा रोजगारदाताका रोजगारकर्ताले प्राप्त गर्ने रोजगारीको आयमा लाग्ने वार्षिक कर समानुपातिक रूपले मासिक रूपमा कट्टीगर्नु पर्दछ। कुनै आय वर्षमा ऐनको दफा ४ को उपदफा (३) मा उल्लिखित अवस्था पूरा गरेको बासिन्दा प्राकृतिक व्यक्तिको जम्मा कर रकम निजको रोजगारदाताले ऐनको दफा ८७ बमोजिम कट्टी गरेको कर रकम बराबर हुन्छ । सो व्यक्तिले प्राप्त गरेको त्यस्तो आयलाई अन्तिम रूपमा करकट्टी भई प्राप्त भएको भुक्तानी सरह मानिने हुँदा त्यस्तो व्यक्तिले करको किस्ता र सोको विवरण बुझाइरहनु पर्दैन । ऐनको दफा ४ को उपदफामा (३) मा उल्लिखित अवस्था तल खुलाइएको छ:

(क) सो आय वर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आयमात्र समावेश भएको,
(ख) सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटामात्र रोजगारदाता भएको, र
(ग) रोजगारदाताले भुक्तानी गरेको औषधि उपचार खर्च वापतको कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दाबी गरेको तथा दफा १२ बमोजिम चन्दा वापत खर्च घटाउन दाबी नगरेको ।

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छः

उदाहरण २४.३.३

मानौ, कमल प्रसाद सिंह (एकल व्यक्ति), नेपाल कमर्सियल्स प्रा.लि.मा कार्यरत एक कर्मचारी रहेछन् । आ.व. २०७६/७७ मा निजले उक्त प्रा. लि. बाट रु.७,५०,०००/- पारिश्रमिक प्राप्त गरेका रहेछन् । सो वर्ष निजले कर छुट हुने संस्थालाई रु.१०,०००/- चन्दा | दिएका रहेछन् । सो वर्ष सो प्रा. लि. ले निजको पारिश्रमिकबाट कट्टी गरी रु ७०,०००।- स्वीकृत अवकाश कोषमा जम्मा गरिदिएको रहेछ । सो बाहेक निजले अन्य स्वीकृत अवकाश कोषमा योगदान गरेका रहेनछन् । उक्त प्रा. लि. ले सो वर्ष निजको आयमा समावेश गरी रु.१,०००/- Medical Insurance वापत भुक्तानी गरेका रहेछन् । यसको अलावा सो वर्ष निजले छुट्टै रु.२,०००।- औषधोपचारमा खर्च गरेका रहेछन् । उक्त प्रा. लि. ले आफूले भुक्तान गरेको पारिश्रमिकमा लाग्ने कर रकम ऐनको दफा ८७ बमोजिम कर कट्टी गरी दाखिला गरेको रहेछ । यस अवस्थामा निजले खर्च गरेको चन्दा वापत छुट दाबी गर्न र औषधोपचारमा खर्च भएको रु.२,०००।- कोMedical Tax Creditवापत हुन आउने रु.३००/- (रु.२,०००/- को १५ प्रतिशत) | मिलान दाबी गर्नको लागि आय विवरण पेस गर्नु पर्दछ । यदि निजले खर्च गरेको चन्दा वापत छुट दाबी नगरेको र थप रु.३००/- Medical Tax Creditमिलान दाबी नगरेको अवस्थामा निजले करको किस्ता र सोको विवरण बुझाइरहनु पर्दैन ।

(च) आकस्मिक लाभ वापतको आय मात्र भएको व्यक्ति

ऐनको दफा ९२ को उपदफा (१) बमोजिम आकस्मिक लाभ वापतको भुक्तानी अन्तिम रूपमा करकट्टी भई प्राप्त हुने भुक्तानी भएको हुँदा र दफा ९५ को उपदफा (१) ले आकस्मिक लाभ वापतको आय भएको व्यक्तिले अनुमानित करको विवरण पेश गर्नुपर्ने व्यवस्था नगरेको हुँदा आकस्मिक लाभ वापतको आयमात्र भएको व्यक्तिले करको किस्ता र सोको विवरण बुझाउनु पर्दैन । यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छः

उदाहरण २४.३.४

मानौ, नेपाल लोटेरी कम्पनीले रु. २० लाख मूल्य पर्ने कार पुरस्कार राखी चिठ्ठा सञ्चालन गरेको रहेछ । उक्त चिठ्ठा गरिब दास भन्ने व्यक्तिलाई परेको रहेछ । उक्त पुरस्कार वापतको कारको बजार मूल्य रु. २० लाखमा उक्त कम्पनीले २५ प्रतिशतले हुने रकम रु. ५ लाख निज गरिब दासबाट असुल गरी पुरस्कार दिएको रहेछ । यसरी आकस्मिक लाभ वापत प्राप्त गरेको आय ऐनको दफा ९२ को उपदफा (१) अनुसार अन्तिम कर कट्टी भई प्राप्त हुने भुक्तानी मानिने हुँदा निजले करको किस्ता तथा विवरण बुझाई रहनु पर्दैन ।

उदाहरण २४.३.५

मानौ, भारतीय नागरिक जोहन सिंहले क्यासिनो विन लि. मा प्रवेश गरी रु.२० लाखको क्यासिनो सिक्का खरिद गरेछन् । निजले सो क्यासिनो सिक्का विभिन्न खेलका खालमा खेली निस्कने बेलामा रु.३० लाखको सिक्का साट्न ल्याएका रहेछन् । क्यासिनो सञ्चालकले सो सिक्का साट्दा विभिन्न खेलमा कमाएको आकस्मिक लाभ रु.१० लाखमा २५ प्रतिशतले हुने रु. २ लाख ५० हजार कट्टा गरी बाँकी रु. २७ लाख ५० हजार (अन्य कुनै रकम कटाउनुपर्ने भए सो समेत कटाई) निज जोहन सिंहलाई भुक्तानी दिनुपर्दछ । यस अवस्थामा निज जोहनको आकस्मिक लाभमा लागेको कर नै अन्तिम हुन्छ ।

उदाहरण २४.३.६

मानौ, नेपालका बासिन्दाबबन सिंह मल्लले मकाउ यात्राका क्रममा त्यहाँको क्यासिनो भेनिसमा विभिन्न खेल खेली ती खेलमा कमाएको आकस्मिक लाभ रु.१० लाखमा मकाउको कानुन बमोजिम रु.१,५०,०००/- कर तिरी बाँकी रु.८,५०,०००/- नेपाल ल्याएछन् । बासिन्दा व्यक्तिले विदेशी स्रोतमा आय आर्जन गरेकाले आर्जित आय रु.१० लाख निजको मकाउ स्रोतको आय मानिन्छ । निजले सो आम्दानीलाई आफ्नो अनुमानित आय विवरण तथा वार्षिक आय विवरणमा समावेश गर्नुपर्दछ । तर त्यहाँ तिरेको कर भने दफा ७१ बमोजिम वैदेशिक कर मिलान दाबी गर्न पाइन्छ ।

२४.४ निर्धारणयोग्य आय र करयोग्य आयको गणना

अनुमानित आय विवरणमा त्यस्तो विवरण पेश गर्ने व्यक्तिको कुनै आय वर्षको व्यवसाय र लगानीको अनुमानित निर्धारणयोग्य आय र अनुमानित करयोग्य आय उल्लेख गर्नुपर्ने हुँदा सो व्यक्तिले सर्वप्रथम आफ्नो सो वर्षभरिको निर्धारणयोग्य आय र करयोग्य आयको अनुमान गर्नुपर्दछ । ऐनको दफा ६ मा निम्नानुसारको आयलाई निर्धारणयोग्य मानिएको छ :

यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको देहायका आयहरुलाई निर्धारणयोग्य आय मानिनेछ:
(क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि सो वर्षमा सो व्यक्तिको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय, र गैर बासिन्दा व्यक्तिको सो वर्षमा आयको स्रोत नेपालमा भएको रोजगारी,
(ख) व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय । तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४वा दुवै दफा बमोजिम कर छुट दिइएको कुनै पनि आय समावेश हुने छैन ।

निर्धारणयोग्य आय भन्नाले कुनै आय वर्षमा कुनै व्यक्तिको ऐनको दफा ७ बमोजिम गणना गरिएको व्यवसायको आय, ऐनको दफा ८ बमोजिम गणना गरिएको रोजगारीको आय तथा दफा ९ बमोजिम गणना गरिएको लगानीको आयबाट तत् तत् शीर्षकका आय गणना गर्ने प्रयोजनका लागि घटाउन पाउने करछुट हुने आय, कट्टी लिन पाउने चन्द्रा खर्च र स्वीकृत अवकाश कोषमा गरेको योगदान बाहेक अन्य रकम घटाउँदा वा कट्टी गर्दा हुन आउने रकमलाई जनाउँछ । त्यस्तै करयोग्य आय भन्नाले व्यवसाय, रोजगारी र लगानीको निर्धारणयोग्य आयबाट कुनै व्यक्तिले करछुट प्राप्त संस्थालाई चन्दा दिएको खर्चमध्ये तोकिएको रकम र प्राकृतिक व्यक्तिको हकमा सो व्यक्तिले स्वीकृत अवकाश कोषमा योगदान गरेको भए तोकिएको हदसम्मको रकम घटाउँदा हुन आउने रकमलाई जनाउँछ । निर्धारणयोग्य आय एवम् करयोग्य आयको गणनाका सम्बन्धमा निर्देशिकाको परिच्छेद ५ मा विस्तृत रूपमा व्याख्या गरिएको छ ।

२४.५ अनुमानित करको गणना

माथि बुँदा २४.४ मा उल्लिखित आयका हरेक शीर्षकको वर्षभरिको अनुमानित करयोग्य आयको गणना गरेपश्चात हरेक आय शीर्षकको त्यस्तो अनुमानित करयोग्य आयमा लाग्ने कर अर्थात अनुमानित करको गणना गर्नुपर्दछ । अनुमानित करको गणना गर्दा ऐनको दफा ४ बमोजिम गर्नुपर्दछ । अर्थात कुनै आयमा लाग्ने करको गणना गर्ने तरिका र किस्ताको रूपमा बुझाउनुपर्ने करको गणना गर्ने तरिका समान रहेको छ । अनुमानित कर भन्नाले अनुमानित करयोग्य आयलाई ऐनको अनुसूची - १ ले सो आयमा लाग्ने भनी तोकेको करको दरले गुणन गर्दा आउने रकम हो । कर गणनाका सम्बन्धमा निर्देशिकाको परिच्छेद २३ मा विस्तृत रूपमा उल्लेख गरिएको छ ।

२४.६ विदेश पठाएको आय र सो आयमा लाग्ने करको गणना

कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापनका हैसियतले कुनै आय विदेश पठाउने व्यक्तिले पनि अनुमानित कर र सोको विवरण पेश गर्नुपर्दछ । विदेश पठाएको आय भनेको गैर बासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापनका हैसियतले काम गर्ने कुनै व्यक्तिले नेपालको स्रोत मानिने कुनै आय आर्जन गरेको भए सो आयमा ऐन बमोजिम लाग्ने कर तिरि सके पछि बाँकी भएको आय उक्त गैर बासिन्दा व्यक्तिलाई पठाउने रकम हो । त्यस्तो व्यक्तिले विदेश पठाएको आयमा पाँच प्रतिशतका दरले कर लाग्ने हुँदा त्यस्तो व्यक्तिको कुनै आय वर्षको अनुमानित कर सो व्यक्तिले सो वर्ष विदेश पठाउने अनुमानित रकमको पाँच प्रतिशतले हुन आउने रकम बराबर हुन्छ । यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ

उदाहरण २४.६.१

मानौं, American Life Insurance Company (ALICO) को शाखा कार्यालयले नेपालको सम्बन्धित निकायबाट ईजाजत लिई नेपालमा व्यवसाय सञ्चालन गरिरहेको गैर बासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापन हो । उक्त निकायले नेपालमा लगानी बीमा गरी आर्जेको मुनाफा सो कम्पनी आफैले वितरण गर्न नमिलेको कारण त्यस्तो रकम आफ्नो Parent Companyलाई पठाएको खण्डमा त्यस्तो रकम विदेशमा पठाएको आय मानिनेछ । त्यस्तो व्यक्तिले विदेश पठाएको आयमा पाँच प्रतिशतका दरले कर लाग्ने हुँदा त्यस्तो व्यक्तिको कुनै आय वर्षको अनुमानित कर सो व्यक्तिले सो वर्ष विदेश पठाउने अनुमानित रकमको पाँच प्रतिशतले हुन आउने रकम बराबर हुन्छ।

२४.७ दाखिला गर्नुपर्ने अनुमानित करको गणना

किस्ता दाखिला गर्नुपर्ने कुनै व्यक्तिको कुनै वर्षको आयका हरेक शीर्षकको अनुमानित करयोग्य आय र करको गणना गरेपश्चात सो व्यक्तिको सो वर्षको जम्मा अनुमानित करको गणना गर्नुपर्दछ । ऐनको दफा ९५ को उपदफा (२) ले अनुमानित करको जम्मा रकमका सम्बन्धमा देहायको व्यवस्था गरेको छ ।

९५(२) उपदफा (१) मा उल्लिखित व्यक्तिको उपदफा (१) को खण्ड (ख) र (ग) मा उल्लिखित कर रकमको योग सो आय वर्षमा दाखिला गर्नुपर्ने अनुमानित कर हुनेछ ।

ऐनको उपर्युक्त व्यवस्था अनुसार कुनै आय वर्षमा करको किस्ता दाखिला गर्नुपर्ने व्यक्तिले किस्ता दाखिला गर्नुपर्ने आय वर्षमा दाखिला गर्नुपर्ने अनुमानित कर भनेको सो व्यक्तिले सो वर्षमा कुनै व्यवसाय वा लगानीको अनुमानित करयोग्य आयमा दाखिला गर्नुपर्ने अनुमानित कर र सो व्यक्तिले कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापनका हैसियतले कुनै आय विदेश पठाएको वा पठाउने भए विदेश पठाउने अनुमानित रकममा दाखिला गर्नुपर्ने अनुमानित कर जोड्दा हुन आउने रकम हो । यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छः

उदाहरण २४.७१

मानौ, सगरमाथा प्रा. लि. ले जुस उत्पादन गरी बिक्री गर्दो रहेछ । आ.व.२०७६।७७ मा सो कम्पनीले आफ्नो सो व्यवसायबाट रु. एक करोड करयोग्य आय आर्जन हुने अनुमान गरेको रहेछ । यस कम्पनीले नेपालको कुनै कम्पनीको ऋणपत्रमा रु. पाँच करोड लगानी गरेको छ र सो वापत हरेक वर्ष रु. पचास लाख ब्याज प्राप्त गर्ने गरेको रहेछ ।

आ.व.२०७६।७७ मा यस कम्पनीले दाखिला गर्नुपर्ने जम्मा अनुमानित कर निम्नानुसार हुन आउँछ ।

आयको शीर्षक अनुमानित करयोग्य आय रु. करको दर अनुमानित कर रु.
व्यवसाय १,००,००,०००/- २० प्रतिशत २०,००,०००/-
लगानी ५०,००,०००/- २५ प्रतिशत १२,५०,०००/-
जम्मा अनुमानित कर - - ३२,५०,०००/-

२४.८ वैदेशिक कर मिलान

कुनै व्यक्तिले कुनै आय वर्षमा दाखिला गर्नुपर्ने अनुमानित करको गणना गर्दा वैदेशिक स्रोतको आयमा समेत कर गणना गर्नुपर्दछ । तर त्यस्तो वैदेशिक आयमा विदेशमा कुनै कर तिरेको वा तिर्नुपर्ने भए सो रकम अनुमानित करको रकम गणना गर्दा घटाउन पाउँछ । यस सम्बन्धमा ऐनको दफा ९५ को उपदफा (३) मा देहायको व्यवस्था छ ।

९५(३) उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै आय वर्षमा दाखिला गर्नुपर्ने करको अनुमान गर्न दफा ७१ बमोजिम दाबी गरिने वैदेशिक कर मिलान रकमको गणना गर्दा कुनै व्यक्तिले सो वर्षमा दाखिला गरेको कुनै वैदेशिक कर वा सो वर्षमा दाखिला गर्नुपर्ने भनी निजले अनुमान गरेको विदेशी आयकर मात्र गणना गर्नु पर्नेछ ।

कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा करयोग्य आय भएको र करको किस्ता दाखिला गर्नुपर्ने व्यक्तिको सो आय वर्षमा वैदेशिक स्रोतको कुनै कर लाग्ने आय प्राप्त भएको वा प्राप्त हुने अवस्था रहेको भए सो वर्षको अनुमानित कर गणना गर्ने प्रयोजनका लागि त्यस्तो आयको समेत अनुमान गर्नुपर्दछ । वैदेशिक स्रोतबाट प्राप्त भएको वा प्राप्त हुने अनुमान गरिएको रकममा ऐनको अनुसूची-१ ले तोकेको दर अनुसार लाग्ने करको गणना गरी जम्मा अनुमानित करको हिसाबगर्नु पर्दछ । तर कर गणना गर्दा समावेश गरिएको वैदेशिक स्रोतको आयमा विदेशमा कुनै कर तिरेको भए वा तिनुपर्ने भए अनुमानित करको हिसाब गर्दा सो तिरेको वा तिर्नुपर्ने अनुमान गरिएको कर रकम घटाउन वा तिर्नुपर्ने अनुमानित करमा मिलान गर्न पाइन्छ । यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छः

उदाहरण २४.८.१

उदाहरण २४.७१ मा उल्लिखित सगरमाथा प्रा.लि.को आ.व. २०७६/७७ मा सो उदाहरणमा उल्लिखित आय बाहेक भारतको कुनै कम्पनीको ऋणपत्रमा रु एक करोड लगानी गरे वापत रु.दश लाख आय हुने र सो आयमा भारतमा रु एक लाख कर तिर्नुपर्ने भए आ.व. २०७६/७७ मा यस कम्पनीले दाखिला गर्नुपर्ने जम्मा अनुमानित कर निम्नानुसार हुन्छ :

आयको शीर्षक रु. अनुमानित करयोग्य आय रु. करको दर अनुमानित कर रु.
व्यवसाय १,००,००,००० २०% २०,००,०००
लगानी ५०,००,००० २५% १२,५०,०००
वैदेशिक स्रोतको लगानी आय १०,००,००० २५% २५०,०००
जम्मा अनुमानित कर - - ३५,००,०००
घटाउने - - -
वैदेशिक स्रोतको आयमा विदेशमा तिर्नुपर्ने कर - - १,००,०००
दाखिला गर्नुपर्ने जम्मा अनुमानित कर - - ३४,००,०००

२४.९ अनुमानित करको विवरणमा संशोधन

अनुमानित करको विवरण पेश गरेको व्यक्तिले सो विवरणमा देखाएको करयोग्य आय र कर अनुमानमा आधारित हुन्छ । निजले आय र करको अनुमान गर्दा लिएका आधारमा परिवर्तन भएमा अनुमान गरेको आय घटबढ हुनसक्छ र सोही अनुरूप कर दायित्वमा पनि घटबढ हुनजान्छ । यस्तो अवस्थामा कुनै व्यक्तिले आफूले पेश गरेको अनुमानित करको विवरणमा संशोधन गर्नसक्तछ । यस सम्बन्धमा ऐनको दफा ९५ को उपदफा (४) र (५) मा देहायको व्यवस्था छ ।

९५(४) करको किस्ता दाखिला गर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिमको ढाँचामा आवश्यक जानकारी उल्लेख गरी संशोधनका कारणहरु खुलाई संशोधित अनुमान विभागमा पेश नगरेसम्म निजले सो उपदफा बमोजिम गरेको अनुमान सो आय वर्ष भरको लागि कायम रहनेछ ।
९५(५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले उपदफा (४) बमोजिम पेश गरेको संशोधित अनुमान विभागसमक्ष पेश गरेको मितिपछि सो आय वर्षमा दफा ९४ बमोजिम बुझाउनु पर्ने करको किस्ताको हिसाब गर्दा मात्र लागू हुनेछ ।

कुनै व्यक्तिले पेश गरेको अनुमानित करको विवरणमा उल्लिखित करयोग्य आय र तिर्नुपर्ने करको अनुमानित रकममा कुनै कारणले घटीबढी भएमा वा घटीबढी हुनसक्ने अवस्था भएमा सो व्यक्तिले आफ्नो अनुमानित करको विवरणमा संशोधन गर्न चाहेमा अर्को अनुमानित करको विवरण भरी पेश गर्नुपर्दछ । त्यसरी कुनै व्यक्तिले अर्को अनुमानित करको विवरण पेश गरेमा सो व्यक्तिले पेश गरेको अघिल्लो अनुमानित करको विवरण खारेज वा संशोधन भएको मानिन्छ र पछिल्लो विवरण सो व्यक्तिको अनुमानित करको विवरणको रूपमा रहन्छ । त्यसरी पेश गर्ने विवरणमा साविकको विवरणमा संशोधन गर्नुपर्नाका कारण स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ । तर कुनै व्यक्तिले पेश गरेको अनुमानित करको संशोधित विवरण निजले सो संशोधन पेश गरेपश्चात बुझाउनुपर्ने अनुमानित करको किस्ताको गणना गर्नमात्र लागू हुन्छ । ऐनको यस व्यवस्था बमोजिम संशोधित अनुमान पेश नगर्ने व्यक्तिले पेश गरेको अनुमानित करको विवरणको आधारमा नै सो व्यक्तिले सो वर्ष दाखिला गर्नुपर्ने किस्ताको गणना गर्नुपर्दछ ।

२४.१० विभागद्वारा अनुमानित करको अनुमान र अनुमानित करको विवरणमा संशोधन

अनुमानित करको विवरण पेश गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण पेश नगरेमा वा कुनै व्यक्तिले पेश गरेको विवरण सन्तोषजनक नभएमा विभागलाई प्राप्त हुने अधिकारका सम्बन्धमा ऐनको दफा ९५ को उपदफा (७) र उपदफा (८) मा निम्न व्यवस्था छ ।

९५(७) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नुपर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिम कुनै आय वर्षमा अनुमान पेश नगरेमा वा पेश गरिएको अनुमान वा संशोधित अनुमानमा विभाग सन्तुष्ट नभएमा .......... विभागले देहाय बमोजिम गर्न सक्नेछ:
(क) सो व्यक्तिको सो वर्षमा दाखिला गर्नुपर्ने अनुमानित करको अनुमान दफा ३ को खण्ड (क) वा (ख) मा उल्लिखित व्यक्तिले गत आय वर्षमा दाखिला गर्नुपर्ने करको आधारमा गर्न सक्नेछ, र
(ख) विभागले खण्ड (क) बमोजिम तयार गरेको अनुमान सो अनुमान तयार गर्न प्रयोग गरेको तरिका र व्यक्तिले पेश गरेको अनुमानमा विभाग सन्तुष्ट हुन नसकेको भए सोको कारण समेत उल्लेख गरिएको लिखित सूचना विभागले किस्ता दाखिला गर्नुपर्ने व्यक्तिलाई दिनेछ ।
९५(८) विभागले किस्ता दाखिला गर्नु पर्ने व्यक्तिलाई उपदफा (७) बमोजिम सूचना दिएमा सो वर्षमा सो व्यक्तिले दाखिला गन ुपर्ने अनुमानित कर रकम विभागले अनुमान गरेको रकम हुनेछ ।

अनुमानित करको विवरण र किस्ताबन्दीमा कर दाखिला गर्नु पर्ने कर्तव्य भएको कुनै व्यक्तिले कुनै आय वर्षको पौष मसान्तभित्र सो वर्षको अनुमानित करयोग्य आय र अनुमानित कर उल्लेख गरी अनुमानित करको विवरण सम्बन्धित कार्यालयमा पेश नगरेमा सम्बन्धित कार्यालय वा कर अधिकृतले सो व्यक्तिले यस आय वर्षमा दाखिला गर्नु पर्ने करको अनुमान गर्न सक्तछ साथै कुनै व्यक्तिले पेश गरेको अनुमानित करको विवरण वा अनुमानित करको संशोधित विवरणमा कार्यालय सन्तुष्ट हुन नसकेमा कार्यालयले सो व्यक्तिले पेश गरेको अनुमानित करको विवरण वा अनुमानित करको संशोधित विवरणमा उल्लिखित करयोग्य आय र अनुमानित करको रकममा संशोधन गर्न सक्तछ । कार्यालयले त्यस्तो अनुमान तयार गर्दा वा कुनै व्यक्तिले पेश गरेको अनुमानित करको विवरण वा अनुमानित करको संशोधित विवरणमा कार्यालयले संशोधन गर्नु परेमा सो व्यक्तिले अघिल्लो आय वर्षमा दाखिला गरेको वा गर्नु पर्ने करलाई समेत आधारको रूपमा लिन सक्दछ । कार्यालय वा कर अधिकृतले तयार गरेको त्यस्तो अनुमानको जानकारी सम्बन्धित व्यक्तिलाई लिखित रूपमा दिनु पर्दछ । सो जानकारीमा कार्यालयले त्यस्तो अनुमान तयार गर्दा लिएको आधार स्पष्ट रूपमा उल्लेख गर्नु पर्दछ । यसरी कुनै व्यक्तिले कुनै वर्षमा दाखिला गर्नु पर्ने करको अनुमान गरी सोको लिखित जानकारी सो व्यक्तिलाई दिइएको अवस्थामा कार्यालयले अनुमान गरेको कर रकम नै सो व्यक्तिले सो वर्षमा दाखिला गर्नु पर्ने अनुमानित करको रकम हुन्छ ।

२४.११ किस्ताबन्दीमा दाखिला गर्नुपर्ने कर

ऐन बमोजिम तिर्नुपर्ने कर किस्ताबन्दीको रूपमा तिर्ने सम्बन्धमा ऐनको दफा ९४ को उपदफा (१) मा निम्न व्यवस्था रहेकोछ ।

९४(१) कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम तीन किस्तामा कर दाखिला गर्नु पर्नेछ:

दाखिला गर्नुपर्ने मिति दाखिला गर्नुपर्ने रकम
पौष महिनाको अन्त्यसम्म अनुमानित करको चालीस प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम
चैत्र महिनाको अन्त्यसम्म अनुमानित करको सत्तरी प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम
आषाढ महिनाको अन्त्यसम्म अनुमानित करको शत प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम

स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि,
(क) “अनुमानित कर” भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नुपर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नुपर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्झनु पर्छ ।
(ख) “तिर्न बाँकी कर रकम” भन्नाले अनुमानित करको यस उपदफामा किस्तामा दाखिला गर्न तोकिएको प्रतिशतले हुने रकमबाट देहायको कुल जम्मा रकम घटाउँदा नपुग हुने रकम सम्झनु पर्छ:
(१) सम्बन्धित किस्ता दाखिला गर्नुपर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्वारा त्यस्तो आय वर्षमा दाखिला गरेको कर रकम,

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छः

उदाहरण २४.११.१

मानौं, ABC Enterprisesले पुष मसान्तमा आ.व. २०७६/७७ को लागि पूर्व अनुमानित गरिएको कर रकम रु. १ लाखको ४० प्रतिशतले हुने रकम रु.४० हजार तोकिएको समयभित्र विवरण सहित सम्बन्धित कार्यालयमा बुझाएका रहेछन् । २०७६ चैत्र मसान्तमा निजले अर्को किस्ता कुल ७० प्रतिशतले हुने रु ७० हजार बुझाउनुपर्नेमा पुष | मसान्तमा बुझाएको रु.४० हजार कटाई बाँकी हुन आउने रु ३० हजार बुझाउनु पर्दछ । तसर्थ यस उदाहरणमा तिर्न बाँकी कर रकम भन्नाले रु. ३० हजारलाई जनाउँदछ ।

(२) त्यस्तो आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नुपर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद १७ बमोजिम उक्त वर्षमा त्यस्तोव्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीबाट कट्टी भएको कर रकम,

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छः

उदाहरण २४.११.२

मानौं, विशाल ईन्टरप्राइजेज प्रा. लि. ले आफ्नो भवनको पहिलो तला ऋण तथा बचत सहकारी संस्थालाई मासिक रु ५० हजारमा भाडामा दिएको रहेछ । उक्त संस्थाले सो ईन्टरप्राइजेज प्रा. लि. लाई भुक्तानी दिँदा अग्रिम कर वापत १० प्रतिशतका दरले हुने रु.५ हजार कट्टा गरी बाँकी हुन आउने रकम रु.४५ हजार भुक्तानी दिने गरेको रहेछ । यस्तो भाडा आय उक्त ईन्टरप्राईजेजको आयमा समावेश हुने रकम भएको हुँदा तिर्नुपर्ने कर रकम गणना गर्दा स्रोतमा कट्टी भएको कर रकम कटाई बाँकी कर रकम मात्र दाखिला गर्नुपर्दछ ।

(३) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो वर्षमा कर कट्टी गर्ने एजेण्ट वा कर कट्टी हुने व्यक्तिले उपखण्ड (२) मा उल्लिखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम कर कट्टी भएको मानिने रकम विभागमा दाखिला गरेको भए त्यस्तो कर रकम, र

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ

उदाहरण २४.११.३

मानौं, रामेश्वर पन्थी एण्ड कम्पनी मू.अ.कर प्रयोजनको लागि दर्ता | नभएको एक कानुनी परामर्श दिने कम्पनी रहेछ । उक्त कम्पनीबाट ने.बै. लि. लाई कानूनी सल्लाह प्रदान गरे वापतरु. ५० हजार भुक्तानीमा अग्रिम कर कट्टा नगरी मिति २०७६।६।२७मा प्राप्त गरेका रहेछ । यस अवस्थामा भुक्तान गरिएको मिति २०७६।६।२७ मा अग्रिम कर कट्टा नगरेको भए पनि अग्रिम कर कट्टा गरेको मानिन्छ । उक्त कम्पनीले भुक्तानी प्राप्त गरेको महिना समाप्त भएको २५ दिन भित्रनै अग्रिम कर रकम वापत १५ प्रतिशतका दरले हुन आउने रकम रु.७,५००/- सम्बन्धित कार्यालयमा | बुझाएको रहेछ भने उक्त कम्पनीले पुष मसान्तमा तिर्नुपर्ने अनुमानित करको रकमबाट रु. ७,५००।- कट्टा गरी बाँकी रकम अर्थात तिर्नुपर्ने रकम दाखिला गर्नुपर्दछ ।

(४) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधि उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दाबी गर्न सक्ने औषधि उपचार खर्चको कर मिलान रकम । यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छः

उदाहरण २४.११.४

मानौं, अधिकारी एण्ड कं. एक लेखापरीक्षक फर्म रहेछ । उक्त फर्मका प्रोप्राइटर श्री कमलेसले मिति २०७६/८/२९ गतेसम्म रु.१५ हजार औषधि उपचार वापत खर्च गरेका रहेछन् । आ.व. २०७६ ७७ को अनुमानित विवरण अनुसार पुष मसान्तमा निजले तिर्नु पर्ने किस्ता रु.४० हजार रहेछ । उक्त किस्ता रकमबाट निजले ऐनको दफा ५१ बमोजिम औषधोपचार खर्च वापतको कर मिलान रकम रु.७५०।- घटाई बाँकी हुन आउने रकम रु.३९,२५०।-बुझाएमा पुष मसान्तको किस्ता कर रकम बुझाउनुपर्ने दायित्व निर्वाह गरेको मानिन्छ ।

किस्ता रकम घटाउन प्रमाण पेश गर्नुपर्ने र यस्तो प्रमाणका सम्बन्धमा नियम ३२ मा निम्नानुसारको व्यवस्था रहेको छ :

देहायका प्रमाणहरु विभागमा पेश गरेको अवस्थामा सो प्रमाणबाट प्रमाणित हुने रकमसम्म ऐनको दफा ९४ को उपदफा (१) बमोजिम गणना गरिएको किस्ता रकमबाट घटाई दाखिला गर्न सकिनेछ:
(क) ऐनको परिच्छेद १७ बमोजिम अग्रिम कर कट्टी गरिएकोमा दफा ९१ को उपदफा (१) बमोजिम जारी गरिएको कर कट्टी प्रमाणपत्र,
(ख) औषधि उपचार वापत कर मिलान दाबी गरेकोमा औषधि उपचार वापत भएको स्वीकृत औषधि उपचार खर्चको बिल भर्पाई ।

कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट करयोग्य आय भएको वा हुने सम्भावना भएको व्यक्तिले आफूले त्यस्तो आय वापत तिर्नुपर्ने कर सोही आय वर्षमा किस्ताबन्दीमा दाखिला गर्नुपर्दछ । किस्तामा बुझाउनुपर्ने यस्तो कर बढीमा तिन किस्तामा बुझाइसक्नु पर्दछ । करको पहिलो किस्ता चालु आ.व. को पौष मसान्तभित्र दोश्रो किस्ता चालु आ.व. को चैत्र मसान्तभित्र र तेश्रो किस्ता चालु आ.व. को आषाढ मसान्तभित्र बुझाउनु पर्दछ । करको किस्ता भन्नाले कुनै व्यक्तिको कुनै वर्षको जम्मा अनुमानित करमध्ये पहिलो, दोश्रो र तेश्रो किस्ता स्वरूप बुझाउनुपर्ने करको रकमलाई बुझाउँछ । कुनै व्यक्तिले कुनै वर्षको किस्ता वापतको कर भुक्तानी गर्दा पहिलो किस्तामा जम्मा अनुमानित करको चालिस प्रतिशतले हुन आउने रकममध्ये तिर्न बाँकी रकम, दोश्रो किस्तामा जम्मा अनुमानित करको सत्तरी प्रतिशतले हुन आउने रकममध्ये तिर्न बाँकी रकम र तेश्रो किस्तामा जम्मा अनुमानित करको सम्पूर्ण रकममध्ये तिर्न बाँकी रकम बुझाउनु पर्दछ । किस्ता दाखिला गर्ने व्यक्तिले उपर्युक्त अनुसार कुनै आय वर्षमा किस्ताबन्दीका माध्यमबाट दाखिला गरेको कर रकम सो वर्षमा लाग्ने करमा कट्टी गर्न वा मिलान गर्न पाउँछ । करको किस्ता बुझाउने प्रयोजनका लागि अनुमानित कर भन्नाले ऐनको दफा ९५ बमोजिम गणना गरिएको कुनै व्यक्तिको कुनै आय वर्षको अनुमानित करयोग्य आयमा दाखिला गर्नुपर्ने अनुमानित कर रकम हो । अनुमानित करको गणनाका सम्बन्धमा निर्देशिकाको यसै परिच्छेदको २४.५ देखि २४.७ मा उल्लेख गरिएको छ ।

कुनै व्यक्तिले कुनै किस्ता वापत दाखिला गर्नुपर्ने रकमको गणना गर्दा सो आय वर्षको लागि आफूले बुझाउनुपर्ने किस्ता कर रकममा बुझाएको कर रकम घटाई गणना गर्नुपर्दछ ।

उदाहरण २४.११.५

उदाहरण २४.७१ मा उल्लिखित कम्पनीले आ.व. २०७६/७७ मा बुझाउनुपर्ने जम्मा अनुमानित कर रु.३२,५०,०००/- मध्ये सो आ.व. को दोश्रो किस्ता सम्ममा रु.२५,००,०००।- बुझाइसकेको छ । अब सो कम्पनीले तेश्रो किस्ता बुझाउन बाँकी छ । सो कम्पनीले आफूले बुकाउन बाँकी तेश्रो किस्ता वापत बुझाउनुपर्ने कर रकमको गणना गर्दा वा किस्ता दाखिला गर्दा बुझाउनुपर्ने जम्मा अनुमानित कर रु.३२,५०,०००/- मा दोश्रो किस्तासम्ममा बुझाइसकेको कर रकम रु.२५,००,०००।– घटाईरु. ७,५०,०००/- मात्र बुझाउनु पर्दछ । तेश्रो किस्ता वापत अनुमानित करको तीस प्रतिशत रकम अर्थात रु.९,७५,०००/- बुझाउनुपर्ने भएतापनि निजले दोश्रो किस्तासम्ममा बुझाउनुपर्ने रकमभन्दा बढीनै रकम बुझाएको र किस्ता वापत अनुमानित करको जम्मा रकम भन्दा बढी कर बुझाउनु नपर्ने हुँदा सो कम्पनीले तेश्रो किस्ताको कर वापतरु. ७,५०,०००/- भन्दा बढी रकम बुझाउनु पर्दैन ।

२४.१२ वार्षिक लाग्ने करमा किस्ताबन्दी कर कट्टी मिलान गर्न पाउने

ऐनको दफा ९४ को उपदफा (३) बमोजिम किस्तावन्दीका माध्यमबाट दाखिला गरेको रकम र अग्रिम करकट्टी भएको रकम सो वर्षमा लाग्ने कर वापत कट्टी पाउन निम्नानुसारको व्यवस्था गरेको छ :

९४(३) किस्ता दाखिला गर्ने व्यक्तिले यस दफा बमोजिम कुनै आय वर्षमा किस्ताबन्दीका माध्यमबाट दाखिला गरेको कर रकम सो वर्षमा लाग्ने कर वापत कट्टी गर्न पाउनेछ ।

कुनै व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम किस्तावन्दी रुपमा दाखिला गरेको कर रकमर अग्रिम करकट्टी भएको रकम सो आय वर्ष को आय विवरण अनुसार लाग्ने वास्तविक कर रकममा मिलान गर्न पाउँनेछ ।

उदाहरण २४.१२.१

माथि उदाहरण २४.११.५ मा उल्लिखित कम्पनीले आ.व. २०७६/७७ मा बुझाउनु पर्ने जम्मा अनुमानित कर रु ३२,५०,०००/- मध्ये सो आ.व. को दोश्रो किस्ता सम्ममा रु.२५,००,०००।- बुझाइ सकेको छ । अब सो कम्पनीले तेश्रो किस्ता बुझाउन बाँकी छ । सो कम्पनीले यस आ.व. मा प्राप्त गर्नुपर्ने व्याज २०७७ आषाढ २० गते प्राप्त गरिसकेको छ र सो ब्याज भुक्तानी दिंदा भुक्तानीकर्ताले रु.१,५०,०००/- कर कट्टी गरेको छ । सो कम्पनीले आफूले बुझाउन बाँकी तेस्रो किस्ता वापत बुझाउनुपर्ने कर रकमको गणना गर्दा वा किस्ता दाखिला गर्दा बुझाउनुपर्ने जम्मा अनुमानित कर रु. ३२,५०,०००/- मा दोश्रो किस्ता सम्ममा बुझाइ सकेको कर रकम रु.२५,००,०००/- र ब्याज भुक्तानी गर्दा भुक्तानीकर्ताले कर कट्टी गरेको रकम रु.१,५०,०००/- समेत जम्मा रु.२६,५०,०००।- घटाई | रु.६,००,०००/- मात्र बुझाए पुग्छ ।

२४.१३ किस्ताबन्दीमा कर दाखिला गर्नु नपर्ने

विभागले तोकेको व्यक्तिले किस्ताबन्दी एवम् अनुमान पेश गर्नु पर्दैन । यस सम्बन्धमा ऐनको दफा ९५ को उपदफा (६) मा निम्नानुसारको व्यवस्था गरेको छ:

९५(६) उपदफा (१) र (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नुपर्ने कुनै व्यक्ति वा करको किस्ता दाखिला गर्नु पर्ने कुनै वर्गले उपदफा (१) बमोजिम अनुमान पेश गर्नु नपर्ने गरी विभागले तोक्न सक्नेछ ।

विभागले अनुमानित करको विवरण आवश्यक नपर्ने करदाता तोक्ने प्रक्रियाको सम्बन्धमा नियम ३३ मा निम्नानुसारको व्यवस्था गरेको छ:

ऐनको दफा ९५ को उपदफा (६) को प्रयोजनको लागि विभागले देहायका व्यक्तिहरुलाई ऐनको दफा ९५ को उपदफा (१) बमोजिमको अनुमानित करको विवरण पेश गर्नु नपर्ने गरी तोक्न सक्नेछ:
(क) ऐनको दफा ९६ बमोजिम विवरण दाखिला गर्नु नपर्ने व्यक्ति,
(ख) ऐनको दफा ४ को उपदफा (३) बमोजिमको व्यक्ति, र (ग) ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित व्यक्ति ।

उपर्युक्त बमोजिम देहायका व्यक्तिले आफूले तिनुपर्ने कुनै कर रकम किस्ताबन्दीको रूपमा दाखिला गर्नुपर्दैन ।
१. पूर्वानुमानित कर तिर्ने व्यक्ति समेत कुनै आय वर्षमा बुझाउनुपर्ने जम्मा कर सात हजार पाँच सयरुपैयाँभन्दा कम भएको व्यक्ति,
२. कुनै आय वर्षमा प्राप्त आय अन्तिम रूपमा करकट्टी भई हुने भुक्तानीमात्र भएको व्यक्ति,
३. ऐनको दफा ४ को उपदफा (४) बमोजिम रोजगारीको आय मात्र भएको व्यक्ति, र
४. आकस्मिक लाभ वापतको आयमात्र भएको व्यक्ति ।

२४.१४ किस्ताबन्दीमा कर दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा लाग्ने ब्याज

किस्ताबन्दीमा कर दाखिला सो आयवर्षमा हुने अनुमानित आय र सोमा लाग्ने करको आधारमा गर्नुपर्दछ । किस्ताबन्दी कर दाखिला गर्ने प्रयोजनको लागि सो वर्ष तिर्नुपर्ने अनुमानित कर गणना गर्न अनुमानित विवरण दाखिला गर्नुपर्दछ । व्यक्तिले पेश गरेको अनुमानित करको विवरणको आधारमा नै सो वर्ष किस्ताबन्दीमा तिर्नुपर्ने करको यकिन हुन्छ । किस्ताबन्दीमा कर दाखिला गर्दा अनुमानित विवरण सत्य र यथार्थपरक होस र कुनै पनि व्यक्तिले हचुवामा अनुमानित विवरण पेश नगरोस भन्ने उद्देश्यले वास्तविक कर दायित्व भन्दा घटी किस्ता वापत रकम भुक्तानी गर्ने व्यक्तिलाई व्याज लाग्ने निम्न व्यवस्था ऐनको दफा ११८ ले गरेको छ ।

दफा ११८(१) कुनै व्यक्तिले कुनै आय वर्षमा दफा ९४ बमोजिम दाखिला गर्नुपर्ने किस्ता रकम सम्बन्धमा खण्ड (क) मा उल्लिखित रकमभन्दा खण्ड (ख) मा उल्लिखित रकम बढी भएमा यसरी बढी भएको रकममा उपदफा (२) बमोजिम ब्याज लाग्ने छ:
(क) त्यस्तो व्यक्तिले कुनै आय वर्षमा तिरेको प्रत्येक किस्ताको रकम,
(ख) सो आय वर्षमा प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रूपमा बुझाउनुपर्ने कुल रकमको अनुमान वा संशोधित अनुमान सही भएको भए त्यस्तो रकम र त्यस्तो रकम सही नभएको भए दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नुपर्ने कर रकमको प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रूपमा बुझाउनुपर्ने रकमको नब्बे प्रतिशत रकम ।

दफा ११८(२) उपदफा (१) बमोजिमको व्यक्तिलाई सो वर्षको सो किस्ता बुझाउनुपर्ने मितिदेखि देहायको अवधिसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य ब्याजदरले ब्याज लाग्ने छ:
(क) दफा ९९ को उपदफा (१) बमोजिमको कर निर्धारण गर्ने व्यक्तिको कमा आय विवरण बुझाउनु पर्ने मितिसम्म,
(ख) दफा ९९ को उपदफा (१) बमोजिमको कर निर्धारण नगरेको कारणले विभागले दफा १०१ वमोजिम पहिलो पटक संशोधित कर निर्धारण गरेको व्यक्तिको हकमा दफा १०२ बमोजिम त्यस्तो संशोधित कर निर्धारणको सूचना बुझाएको मितिसम्म ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “ किस्ताबन्दीको रूपमा बुझाउनुपर्ने रकम” भन्नाले एक पटक अनुमान पेश गरी सकेपछि संशोधित अनुमान पेश नगर्नेको तथा अनुमान पेश नगरेको कारणले दफा ९५ को उपदफा (७) बमोजिम विभागले अनुमान गरेको हकमा दफा ९४ को उपदफा (१) बमोजिम र संशोधित अनुमान पेश गर्नेको हकमा तथा पेश गरिएको अनुमान वा संशोधित अनुमानमा सन्तुष्ट नभई दफा ९५ को उपदफा (७) बमोजिम विभागले अनुमान गरेको दफा ९५ को उपदफा (५) को व्यवस्था अनुसार गणना गरिएको किस्ताको रकम सम्झनुपर्छ ।

ऐनको दफा ३ खण्ड क र ख अनुसार कर तिर्नुपर्ने दायित्व भएको व्यक्तिले अनुमानित करको विवरण पेश गरी सोही आधारमा किस्ताबन्दीको रूपमा कर तिर्नुपर्दछ । अनुमानित विवरण मसान्तभित्र दाखिला गर्नुपर्ने व्यवस्था भएकोले सो समयमा व्यक्तिले अनुमान गरेको कारोबार एवम् आय पूर्ण रूपले यथार्थ हुन नसक्ने अवस्थालाई विचार गरी कम किस्ता दाखिला गरे वापतब्याज गणना गर्दा किस्ताबन्दी वापत दाखिला गरेको कर रकम वास्तविक कर दायित्वको ९० प्रतिशतसम्म दाखिला भएको छ भने व्याज नलाग्ने व्यवस्था समेत ऐनमा रहेको छ । कुनै व्यक्तिले अनुमानित कर कम देखाई किस्ताबन्दी कर दाखिला गरेको अवस्था र ऐनको दफा ११८ अनुसार लाग्ने ब्याजको गणना सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट पारिएको छ ।

उदाहरण २४.१४.१

नेपाल विकास कम्पनी भन्ने कम्पनीले आ.व. २०७६ । ७७ को लागि २०७६ | पौष मसान्तमा अनुमानित कर रु.५०,००,०००/- हुने गरी विवरण दाखिला गरेको रहेछ । सो अनुमानित विवरणको आधारमा कम्पनीले पौष मसान्तमा रु.२२,००,०००/-, चैत्र मसान्तमा रु.१७,००,०००।-तथा आषाढ मसान्तमा रु.१७,००,०००/- गरी रु.५६,००,०००/- किस्ताबन्दीको रूपमा कर दाखिला गरेको रहेछ । उक्त कम्पनीले आय वर्षको अन्त्यको आफ्नो आय अनुसार दाखिला गर्नुपर्ने कर दायित्व रु. ६०,००,०००/- भएछ । यस अवस्थामा अनुमानित कर तथा वास्तविक भुक्तानी गर्नुपर्ने कर दायित्वमा रु.१०,००,०००/- ले फरक परेको छ । आयकर ऐन, २०५८ को दफा ११८ (१) ले वास्तविक कर दायित्वको ९० प्रतिशत भुक्तान गरेको अवस्थामा व्याज नलाग्ने व्यवस्था गरेको तथा नेपाल विकास कम्पनीले भुक्तानी गरेको किस्ताबन्दी ९० प्रतिशतले हुने रु.५४,००,०००/- भन्दा बढी भएकोले उक्त कम्पनीले ऐनको दफा ११८ को व्याज भुक्तानी गर्नु पर्दैन ।

उदाहरण २४.१४.२

उदाहरण २४.१४. १ मा उल्लिखित नेपाल विकास कम्पनीको आय वर्षको अन्त्यमा तिर्नुपर्ने कर दायित्व रु.८०,००,०००/- भएछ । उक्त कम्पनीले अनुमानित कर विवरणको आधारमा किस्ताबन्दी वापत तिरेको कर रु.५०,००,०००/- वास्तविक कर दायित्व रु.८०,००,०००/- को ९० प्रतिशतले हुनेरु. ७२,००,००० भन्दा कम भएकोले यस अवस्थामा नेपाल विकास कम्पनीले ऐनको दफा ११८ (२) अनुसार निम्नानुसार गणना गरिएको ब्याज रु. १,२८,२५०/- दाखिला गर्नु पर्दछ ।

विवरण पहिलो किस्ता ४० प्रतिशतले दोश्रो किस्ता ७० प्रतिशतले तेश्रो किस्ता १०० प्रतिशतले
किस्ता रकम रु. ३२,००,००० ५६,००,००० ८०,००,०००
११८(१) (क) अनुसार तिरेको रकम रु. २२,००,००० ३९,००,००० ५६,००,०००
११८(१)(ख) अनुसार न्यूनतम तिनुपर्ने रकम रु. २८,८०,००० ११,४०,००० १६,००,०००
ब्याज लाग्ने रकम रु. ६,८०,००० ११,४०,००० १६,००,०००
ब्याज रकम रु. २५,५०० ४२,७५० ६०,०००
कुल ब्याज रकम रु. - - १२८,२५०

२४.१५ पूँजीगत लाभमा अग्रिम कर असुल गर्नु

पर्ने पूँजीगत लाभमाअग्रिम कर असुलीका सम्बन्धमा देहायका व्यवस्था रहेका छन् ।

२४.१५.१ कमोडिटी फ्यूचर मार्केट

ऐनको दफा ९५क.ले कमोडिटी फ्युचर मार्केटमा भएको मुनाफा र लाभ, शेयर बिक्रीमा भएको लाभ तथा प्राकृतिक व्यक्तिको घर जग्गा बिक्रीमा भएको लाभमा सो लाभ प्राप्त भएको विन्दुमा नै अग्रिम कर असुल गर्ने गराउने व्यवस्था गरेको छ ।

९५क.(१) कमोडिटी फ्यूचर मार्केट अन्तर्गत व्यापार गर्ने व्यक्तिबाट सो व्यक्तिले सो व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा दश प्रतिशतका दरले हुने रकम कमोडिटी फ्युचर मार्केट सञ्चालन गर्ने निकायले अग्रिम कर असुल गर्नु पर्नेछ ।

कमोडिटी फ्यूचर मार्केट भविष्यमा हुने मूल्य वृद्धि वा मूल्यमा आउने गिरावटबाट हुन सक्ने फाइदा र घाटालाई विश्लेषण गरी Future Contract गरी निश्चित शर्तका आधारमा गरिने व्यापारलाई कमोडिटी फ्यूचर मार्केट वा कमोडिटी एक्सेञ्ज पनि भनिन्छ। यस व्यापारका चार पक्ष हुन्छन । कमोडिटी फ्यूचर मार्केट सेवा सञ्चालन गर्ने कम्पनी, त्यस कम्पनीमा व्यापार वा सेवा प्रवर्द्धन गर्ने ब्रोकर कम्पनी, जोखिम बहन गर्ने Clearing Agent वा Clearing Member Company र व्यापार गर्ने व्यक्ति । यो व्यापारको नियन्त्रण व्यवस्थापन बजार सेवा उपलब्ध गराउने कम्पनीले गर्दछ । व्यापार गर्ने व्यक्ति वा Client ले ब्रोकर (दलाल) मार्फत व्यापार गर्ने सम्झौता गर्दछ र निश्चित वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्यको आधारमा निश्चित अवधि पश्चात बिक्री गर्ने शर्तमा खरिद सम्झौता गरिन्छ । सम्झौता गर्दा निश्चित प्रतिशत धरौटी राख्नु पर्दछ । बिक्री गर्ने मितिमा त्यो वस्तुको बजार मूल्य वृद्धि भएमा फाइदा र घटेमा घाटा हुन्छ । दलालले खरिदकर्ता र बिक्रेताबीच सम्झौता गराउने कार्य गर्दछ । उनी बीचमा सम्झौता नभएमा Clearing Agent ले खरिद गर्दछन । समान्यतयाः यसमा वस्तुको हस्तान्तरण गरिदैन तर वस्तु नै लिन चाहेमा आवश्यक प्रक्रिया पूरा गरी वस्तु डेलिभरी गर्ने गरिन्छ । यस्तो फ्यूचर मार्केट सेवा उपलब्ध गराए वापत Client अर्थात व्यापार गर्ने व्यक्तिबाट सेवा शुल्क सेवा सञ्चालन गर्ने कम्पनी र दलालले लिने गर्दछन भने व्यापार गर्नेलाई वस्तुको मूल्य घटबढको आधारमा मुनाफा वा घाटा हुन्छ । सेवा प्रदायक (कमोडिटी फ्यूचर मार्केट सेवा सञ्चालन गर्ने कम्पनी, त्यस कम्पनीमा व्यापार सेवा प्रवर्द्धन गर्ने ब्रोकर कम्पनी) लाई भुक्तान गरेको सेवा शुल्कमा सो सेवा प्रदायक मू.अ.कर मा दर्ता भएमा ऐनको दफा ८८(१) (४) बमोजिम १.५% का दरले एवम् मू.अ.करमा दर्ता नभए ऐनको ८८(१) अनुसार १५% का दरले अग्रिम कर कट्टि गर्नुपर्दछ । जोखिम बहन गर्ने Clearing Agent वा Clearing Member Companyले ऐनको दफा ३७(१) बमोजिम गणना गरेको मुनाफा र लाभमा दफा ९५क. (१) अनुसार १०% ले अग्रिम कर असुल गर्नु पर्दछ । बजारको नियन्त्रण तथा व्यवस्थापन बजार सेवा उपलब्ध गराउने कम्पनी (Commodity Exchange) को हुने हुँदा जोखिम बहन गर्ने Clearing Agentवा Clearing Member Company ले प्राप्त गर्ने मुनाफा र लाभमा अग्रिम कर असुल गरी दाखिला गर्ने दायित्व पनि सोही कम्पनीको रहन्छ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ,

उदाहरण २४.१५.१

मानौं, Nepal Commodity Exchange Limited (NCEL)कमोडिटी फ्यूचर मार्केट सेवा सञ्चालन गर्ने कम्पनी हो । यस कम्पनीमा २० भन्दा बढी ब्रोकर आबद्ध रहेछन । जसमा Himal Broker Company P. Ltd. पनि एउटा रहेछ । यस ब्रोकर कम्पनीमा कृष्ण प्रसाद भन्ने व्यक्तिले मिति २०७३ | ४|१५ मा १ किलो सुन खरिद गर्ने सम्झौता गरेका रहेछन् । सो दिन १ किलो सुनको अन्तर्राष्ट्रिय बजार मूल्य रु. २५ लाख रहेछ । सम्झौता अनुसार २ महिना पश्चात अर्थातमिति २०७६ ६ १५ माकृष्ण प्रसादले बिक्री गर्ने प्रावधान रहेछ । कृष्णप्रसादले सम्झौता मितिमा उक्त सुनको बजार मूल्यको १० प्रतिशतले हुने रकम रु.२,५०,०००/- ब्रोकर मार्फत NCELमा जम्मा गरेका रहेछन् । खरिद सम्झौता गर्दा सेवा शुल्क रु.१०,०००/- भुक्तानी गरेका रहेछन् । उक्त सेवा शुल्कमा मू.अ.कर प्रयोजनको लागि दर्ता भएमा ऐनको दफा ८८(१) (४) बमोजिम १.५% का दरले र मू.अ.करमा दर्ता नभएको भए ऐनको दफा ८८(१) अनुसार १५% का दरले अग्रिम कर कट्टी गर्नुपर्छ । सम्झौताको अन्त्य ( मिति २०७६/६/१५) मा मानौं, १ किलो सुनको बजार मूल्य २७ लाख रहेछ । यस कारोबारमा कृष्णप्रसादलाई भएको लाभ रु.१ लाख ९० हजार (रु. २७ लाख - रु. २५ लाख रु.१० हजार) मा १० प्रतिशतले हुने रु.१९ हजार अग्रिम कर असुल गरी NCEL ले सम्बन्धित कार्यालयमा दाखिला गर्नुपर्दछ ।

२४.१५.२ धितोपत्र बिक्रीको लाभ

९५क.(२) प्रचलित कानुन बमोजिम दर्ता भई धितोपत्रको खरिद बिक्रीको कारोबार गर्ने बासिन्दा निकाय बाहेक अन्य कुनै व्यक्तिलाई कुनै बासिन्दा निकायमा रहेको हितको निः सर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ:
(क) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीनसय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीनसय पैंसठ्ठी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको दश प्रतिशत र अन्यको हकमा लाभ रकमको पच्चीस प्रतिशतका दरले, सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण २४.१५.२

मानौं, बासिन्दा प्राकृतकि व्यक्ति अनिलसँग मिति २०७७०६।०१ मा खरीद |गरेको Nepal Stock Exchange Ltd. मा सूचीकृत Standard Chartered Bank Nepal Ltd. को रु.१००।- दर अंकित ५०० थान साधारण शेयर रहेछ । उक्त शेयर बिक्री गर्न स्टक ब्रोकर ( शेयर (दलाल) लाई अनुरोध गरेका रहेछन् । उक्त शेयर निज अनिलले प्रति शेयर १,०००/- मा खरिद गरेका रहेछन् । शेयर खरिद गर्दा रु.४,०००/- ब्रोकर कमिशन समेत अनिलले तिरेका रहेछन् । शेयर दलालले उक्त शेयर मिति २०७८/०७२० मा प्रति शेयर रु.७,०००/- मा बिक्री गरी दिएको रहेछ । शेयर बिक्री गर्दा ब्रोकरलाई कमिशन वापत रु.१७,५००/- तिरेका रहेछन् । उक्त शेयरमा अनिलको ३६५ दिनभन्दा बढी स्वामित्व रहेको अवस्थामा निजको लाभ निम्नानुसार गणना गरी अग्रिम कर असुल गरी बाँकी रकम भुक्तानी दिनु पर्दछ ।

उक्त शेयर बिक्रीमा लाभको गणना निम्नानुसार हुनेछ:
बिक्री मूल्य: ५००x रु ७,००० लागत (outgoings) = रु.३५,००,०००/-
शेयर मूल्य ५०० x रु.१,००० = रु.५,००,०००/-
जोड :
शेयर दलाल कमिशन
खरिदमा रु.४,०००/-
बिक्रीमा रु.१७,५००/-
कुल लागत (outgoings) रु.५,२१,५००/-
शेयर बिक्री वापत लाभ: रु.२९,७८,५००/-

शेयर बिक्री वापत Nepal Stock Exchange Ltd. ले सम्बन्धित दलाल मार्फत ५ प्रतिशतका दरले हुने रु. १,४८,९२५/- अग्रिम कर असुल गरी बाँकी रकम रु.३३,३३,५७५।- निज अनिललाई निम्नानुसार भुक्तानी दिनु पर्दछ ।

बिक्री मूल्य रु. ३५,००,०००/-
न्यूनः
बिक्रीमा शेयर दलाल कमिशन रु. १७,५००/-
स्रोतमा कर कट्टी हुने रकम रु. १,४८,९२५/-
जम्मा भुक्तानी रु. ३३,३३,५७५/-

त्यस्तै यदि उक्त शेयर मिति २०७८।०५।२० मा बिक्री गरी दिएको रहेछ भने ३६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको अवस्थामा निजको लाभ निम्नानुसार गणना गरी अग्रिम कर असुल गरी बाँकी रकम भुक्तानी दिनु पर्दछ ।

उक्त शेयर बिक्रीमा लाभको गणना निम्नानुसार हुनेछ :
बिक्री मूल्य लागत (outgoings): ५००x रु७,००० रु.३५,००,०००/-
शेयर मूल्य ५०० x रु.१,००० = रु.५,००,०००/-
जोड:
शेयर दलाल कमिशन
खरिदमा रु.४,०००/-
बिक्रीमा रु.१७,५००/-
कुल लागत (outgoings): रु.५,२१,५००/-
शेयर बिक्री वापत लाभ : रु.२९,७८,५००/-

शेयर बिक्री वापत Nepal Stock Exchange Ltd. ले सम्बन्धित दलाल मार्फत ७.५ प्रतिशतका दरले हुने रु. २,२३,३८८ - अग्रिम कर असुल गरी बाँकी रकम रु. ३२,५९,११२/- निज अनिललाई निम्नानुसार भुक्तानी दिनु पर्दछ ।

तर, यदि उक्त शेयर बिक्री बासिन्दा प्राकृतिक व्यक्तिले नगरी कुनै बासिन्दा निकायले गरेको भए १० प्रतिशत र गैर बासिन्दा व्यक्तिले गरेको भए २५ प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्दछ ।

(ख) नेपाल धितोपत्र बोर्डमा सूचिकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित निःसर्ग भएको हो सोही निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको पन्ध्र प्रतिशत र अन्यको हकमा लाभ रकमको पच्चीस प्रतिशतका दरले ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएको छः

उदाहरण २४.१५.३

मानौं, नेपाल बैंक लि.ले नेपाल धितोपत्र बोर्डमा सूचिकरण | नभएको पूर्वाञ्चल ग्रामीण विकास बैंकमा रहेको शेयर शिनास कम्पनीलाई रु. ११४ । - का दरले २,००,०००/- कित्ता बिक्री गरेको रहेछ । उक्त शेयरको लागत मूल्य रु.१००/- रहेछ । यस अवस्थामा नेपाल बैंक लिमिटेडबाट शेयर नामसारी गर्ने निकायले अग्रिम कर निम्नानुसार असुल गर्नु पर्दछ ।
बिक्री मूल्य : ११४ x २,००,०००/- = रु.२,२८,००,०००/-
न्यून लागत मूल्य १००x२,००,००० = रु.२,००,००,०००/-
लाभ : रु.२८,००,०००/-

यसरी दफा ३७ अनुसार गणना गरिएको लाभ रकम रु.२८,००,०००/- मा १५ प्रतिशतका दरले अग्रिम कर असुल गरिनु पर्दछ । यसरी लाभमा कर कट्टा गर्नुपर्ने दायित्व पूर्वाञ्चल ग्रामीण विकास बैंकको हुनेछ ।

तर, यदि उक्त शेयर उक्त निकायको हिताधिकारी बासिन्दा प्राकृतिक व्यक्तिले बिक्री गरेको भए लाभ रकममा १० प्रतिशतका दरले र गैर बासिन्दा व्यक्तिले बिक्री गरेको भए २५ प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्दछ ।

९५क.(२क) उपदफा (२) को खण्ड (क) बमोजिमको लाभ गणना गर्दा जुन निकायको हित निसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गर्नु पर्नेछ ।

यो प्रणाली अन्तर्गत कुनै एक व्यक्तिको लागि कुनै कम्पनीको एक मात्र आधार मूल्य हुनेछ । कुनै व्यक्तिले कुनै एक कम्पनीको विभिन्न मूल्यमा शेयर खरिद गरेको छ भने उक्त व्यक्तिको लागि उक्त कम्पनीको लागि भारित औषत गणना कुल लागतलाई कुल शेयर संख्याले भाग गरेर निकालिन्छ । लगानीकर्ताको लागि वास्तविक लागतका आधारमा Weighted Average Cost गणना गरिन्छ ।

उदाहरण २४.१५.४

मानौ ABC कम्पनीमा युक्त प्रसाद सुवेदीको देहाय बमोजिमको शेयर खरिद बिक्रीको अवस्थामा Weighted Average Cost देहाय बमोजिम गणना गरिन्छ ।

ABC Company

S.N Particular No. of Share Cost per Share Amount Cost in Total Balance Share Weighted cost per Share
1 IPO 100 100 10,000 10,000 100 100
2 Bonus 50 100 5,000 15,000 150 100
3 Secondary Buy 200 400 80,000 95,000 350 271.43
4 Secondary Sale -50 300 -15,000 80,000 300 266.67
5 Secondary Buy 70 350 24,500 104,500 370 282.43
6 Right Share 50 100 5,000 109,500 420 260.71
7 Secondary Buy 500 300 150,000 259,500 920 282.07
8 Sale -200 350 -70,000 189,500 720 263.19

यसरी माथि उल्लिखित भारित औसत गणना गर्दा प्रत्येक लगानीकर्ताको वास्तविक लागतका आधारमा पुँजीगत लाभकर गणना गरिन्छ ।

९५क(३) उपदफा (२) को खण्ड (ख) बमोजिमको हित निःसर्ग भई कम्पनी रजिष्ट्रार कार्यालयले शेयर अभिलेखीकरण गर्दा लाभ रकममा अग्रिम कर दाखिला भएको प्रमाण पेश भएपछि मात्र अभिलेखीकरण गर्नु पर्नेछ ।
९५क .........

२४.१५.३ प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्गमा पुँजीगत लाभ

ऐनको दफा ९५क को उपदफा (५) मा पुँजीगत लाभमा अग्रिम कर असुलीको प्रावधान उल्लेख गरिएको छ । यस दफामा जग्गा तथा घरजग्गा (गैर व्यावसायिक करयोग्य सम्पत्ति) को निःसर्गमा कर लाग्ने व्यवस्थालाई थप प्रष्ट पारिएको छ । ऐनको दफा २ को खण्ड (द) मा गैर व्यावसायिक करयोग्य सम्पत्तिलाई निम्नानुसार परिभाषित गरिएको छ:

“गैर व्यावसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्तिबाहेकका जग्गा, भवन तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्झनु पर्छ:
(१) व्यावसायिक सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापारिक मौज्दात,
(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन -
  (क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र
  (ख) सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कुल दश वर्ष वा दश वर्ष भन्दा बढी बसोबास गरेको,
  स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “निजी भवन” भन्नाले ष्भवन, भवनले ओगटेको जग्गा र सो भवनले ओगटेको क्षेत्रफल बराबरको थप जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ त्यसलाई सम्झनु पर्छ ।
(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,
(४) कुनै प्राकृतिक व्यक्तिको दश लाखरुपैयाँभन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन, वा
(५) तीन पुस्ताभित्र भएको खरिद बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति ।

गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गको लाभ अर्थात पुँजीगत लाभ (जग्गा तथा घरजग्गा) मा कर कट्टीको प्रावधानका सम्बन्धमा ऐनको दफा ९५.क.(५) मा निम्नानुसार व्यवस्था गरेको छ ।

९५क.(५) कुनै प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवननिःसर्ग वापत भएको पुँजीगत लाभमा मालपोत कार्यालयले रजिस्ट्रेशनका बखत देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ:
(क) निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्ष वा सो भन्दा बढी भएको छ भने दुई दशमलव पाँच प्रतिशतका दरले ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण २४.१५.५

मानौं, रमेश बगालेले मिति २०६७।८।१५ मा रु ३० लाख पर्ने घरजग्गा खरिद गरेका रहेछन् । निजले उक्त घरजग्गा मिति २०७४ | ७|४ मा रु.५२ लाखमा बिक्री गरेका रहेछन् । निजले बिक्री गरेको उक्त घरजग्गाको पुँजीगत लाभ निम्नानुसार हुन्छः इन्कमिंग (बिक्री मूल्य) रु.५२,००,०००/- आउट गोइंग (खर्च) रु.३०,००,०००/- लाभ: रु.२२,००,०००/-

यसरी गणना गरिएको लाभ रकम २२,००,०००/- मा २.५ प्रतिशतका दरले हुने कर रु. ५५,०००/- निज रमेश बगालेलाईखरिदकर्ताले भुक्तानी गर्दा मालपोत कार्यालयले रजिस्ट्रेशनका बखत अग्रिम कर असुल गर्नु पर्दछ । यसरी कट्टा भएको अग्रिम कर निज रमेश बगालेले आय विवरण पेस गरी आफ्नो कुल कर दायित्वसँग समायोजन गर्न सक्दछ ।

उदाहरण २४.१५.६

मानौं, माथि उदाहरण २४.१५ ५ मा उल्लेख भएको घर जग्गा रमेश बगालेले मिति २०६३।४।१५ मा (अर्थात बिक्री मितिको १० वर्ष अगाडि) खरिद गरेका रहेछन् र अविछिन्न रूपमा बसोबास समेत गरिआएका रहेछन् भने त्यस्तो घर जग्गालाई ऐनको दफा २ को खण्ड (द) को उपखण्ड (२) बमोजिम गैर व्यावसायिक करयोग्य सम्पत्ति नमानिने हुँदा त्यस्तो घरजग्गा बिक्रीमा अग्रिम कर (पुँजीगत लाभकर) असुल गर्नु पर्दैन ।

उदाहरण २४.१५.७

मानौं, माथि उदाहरण २४.१५ ५ मा उल्लेख भएको घर जग्गा रमेश बगालेले मिति २०७०/४/१५ मा खरिद गरेका रहेछन् र सो घर जग्गा मिति २०७३।४।२० रु.९ लाखमा बिक्री गरेका रहेछन् भने त्यस्तो घर जग्गालाई ऐनको दफा २ को खण्ड (द) उपखण्ड (२) बमोजिम गैर व्यावसायिक करयोग्य सम्पत्ति नमानिने हुँदा त्यस्तो घर जग्गा बिक्रीमा अग्रिम कर (पुँजीगत लाभकर) असुल गर्नु पर्दैन ।

(ख) निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्ष भन्दा कम भएको छ भने पाँच प्रतिशतका दरले । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएको छः

उदाहरण २४.१५.८

मानौं, कुनै घरजग्गा रमेश बगालेले मिति २०७३।४।१५ (अर्थात बिक्री मितिको ५ वर्ष भन्दा कम) मा रु.४० लाखमा खरिद गरेका रहेछन् । निजले उक्त घरजग्गा मिति २०७६ । १०।१५ मा रु.५२ लाखमा बिक्री गरेका रहेछन् भने निजले बिक्री गरेको उक्त घरजग्गामा निम्नानुसारले अग्रिम कर पुँजीगत लाभकर असुल गर्नुपर्दछ ।
बिक्री मूल्य रु.५२,००,०००/-
खर्च रु.४०,००,०००/-
लाभ: रु.१२,००,०००/-

यसरी गणना गरिएको लाभ रकम १२,००,०००/- मा ५ प्रतिशतका दरले हुने कर रु.६०,०००/- निज रमेश बगालेलाईखरिदकर्ताले भुक्तानी गर्दा मालपोत कार्यालयले रजिस्ट्रेशनका बखत अग्रिम कर असुल गर्नुपर्दछ । यसरी असुल भएको अग्रिम कर निज रमेश बगालेले आय विवरण पेश गरी आफ्नो कुल कर दायित्वसँग समायोजन गर्न सक्दछ ।

९५क.(६) उपदफा (५) मा लेखिएदेखि बाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवनको निःसर्ग भएको मूल्यमा मालपोत कार्यालयले रजिष्ट्रेशनका वखत एक दशमलव पाँच प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।
नोट: जग्गा तथा घरजग्गाको निःसर्ग वा बिक्री वा हस्तान्तरणमा भएको लाभमा लाग्नेअग्रिम करका सम्बन्धमा यस विभागबाट जारी भएको "जग्गा तथा घरजग्गा निःसर्गमा पुँजीगत लाभ कर सम्बन्धी निर्देशिका, २०७२ (पहिलो संशोधन, २०७६)" मा विस्तृत व्याख्या गरिएको छ । सो निर्देशिका विभागको वेबसाइटमा समेत उपलब्ध छ ।

२४.१५.३क. विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट अग्रिम कर असुली

९५क. (६क) विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बासिन्दा बैंड वा वित्तीय संस्थाले त्यस्तो परीक्षा शुल्क वापतको रकममा विदेशी मुद्राको सटही सुविधा दिएको बखत पन्ध्र प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।

२४.१५.३ख. व्यवसाय सञ्चालनमा संलग्न नरहेका बासिन्दा प्राकृतिक व्यक्तिको विद्युतीय सेवा वापतको आयमा अग्रिम कर असुली

९५क. (६ख) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

२४.१५.३ग. व्यवसाय सञ्चालनमा संलग्न नरहेका बासिन्दा प्राकृतिक व्यक्तिको परामर्शसेवा बापतको आयमा अग्रिम कर असुली

९५क.(६ग) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले व्यक्तिगत रुपमा नेपाल बाहिर परामर्श सेवा प्रदान गरे बापत विदेशी मुद्रामा कुनै भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैंङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।

२४.१५.३घ. व्यवसाय सञ्चालनमा संलग्न नरहेका बासिन्दा प्राकृतिक व्यक्तिको सामाजिक सञ्जाल मार्फत वापतको आयमा अग्रिम कर असुली

९५क.(६घ) व्यवसाय सञ्चालनमा संलग्न नरहेको बासिन्दा प्राकृतिक व्यक्तिले सामाजिक सञ्जालमा श्रब्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैंङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।

२४.१५.३ख. भन्सार विन्दुमै अग्रिम कर असुली

९५क. (७) व्यापारिक प्रयोजनको लागि पैठारी हुने भन्सार दरबन्दीको भाग १ मा पर्ने राँगा, भैसी, खसी, बोका, भेडा, च्याङग्रा, भाग ३ मा पर्ने जीवित, ताजा तथा हिमिकृत गरिएको माछा, भाग ६ मा पर्ने ताजा फूलहरू, भाग ७ मा पर्ने ताजा तरकारी, आलु प्याज सुख्खा तरकारी, लसुन, बेबी कर्न र भाग ८ मा पर्ने ताजा फलफूलहरूमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा पाँच प्रतिशत तथा भाग २ को मासु, भाग ४ को दूधजन्य पदार्थ, अण्डा, मह, भाग १० को कोदो, फापर, जुनेलो, चामल, कनिका, भाग ११ को मैदा, आँटा तथा पिठो, भाग १२ को जडिवुटी, उखु र भाग १४ को वनस्पतिजन्य उत्पादनमा दुई दशमलब पाँच प्रतिशत अग्रिम आयकर भन्सार विन्दुमै असुल उपर गरिनेछ ।

२४.१५.४ अग्रिम कर असुली र व्यवस्थापन

अग्रिम कर असुली गर्ने व्यक्ति वा अग्रिम कर तिर्ने व्यक्तिले पालना गर्नुपर्ने अन्य व्यवस्था निम्नानुसार रहेका छन् :

९५क. (८) उपदफा (१), (२), (५) र (६) बमोजिम अग्रिम कर असुल गर्नुपर्ने व्यक्ति वा निकायले अग्रिम कर असुल नगरेको भए पनि असुल हुनुपर्ने समयमा सो कर असुल गरेको मानिनेछ ।
९५क. (९) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चीस दिनभित्र विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ ।
९५क. (१०) उपदफा (९) मा उल्लिखित विवरणसँग अग्रिम कर असुल गरिएको रकम वा उपदफा (८) बमोजिम असुल गरेको मानिएको रकम सोही उपदफा बमोजिमको म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।
९५क. (११) देहाय बमोजिमको अवस्थामा अग्रिम कर दाखिला गर्नुपर्ने र असुल गर्नुपर्ने व्यक्ति दुवै जना संयुक्त रूपमा र छुट्टाछुट्टै रूपमा त्यस्तो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन्:
  (क) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले अग्रिम कर असुल नगरेमा, र
  (ख) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले उपदफा (८) बमोजिम असुल गरेको मानिने रकम उपदफा (१०) बमोजिम विभागमा दाखिला नगरेमा ।
९५क. (१२) उपदफा (११) बमोजिम अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले उपदफा (९) मा उल्लिखित म्याद समाप्त भएको पच्चीस दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ । ९५क.(१३) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले असुल नगरेको अग्रिम कर उपदफा (१०) बमोजिम विभागमा दाखिला गरेको भएत्यसरी दाखिला भएको कर रकम बराबरको रकम सो कर दाखिला गर्नुपर्ने व्यक्तिबाट असुल उपर गर्न पाउनेछ ।
९५.क. (१४) यस दफा बमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले तिर्नुपर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ ।