परिच्छेद २२: शुल्क तथा ब्याज
११७. कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने
[(१) कुनै व्यक्तिले देहाय बमोजिमको विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछ:-
(क) दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा प्रति विवरण [पाँच हजार रुपैयाँ वा आय विवरणमा उल्लिखित निर्धारणयोग्य आय रकमको शुन्य दशमलव शून्य एक प्रतिशतले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम,] 2
(ख) अग्रिम कर असुल गर्नु पर्ने कुनै व्यक्तिले दफा ९५क. को - [उपदफा (९)] 3 बमोजिमको विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई विवरण दाखिला गर्नु पर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर असुल गर्नु पर्ने रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम,
(ग) दफा ९६ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित व्यक्तिको हकमा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकम र अन्य व्यक्तिको हकमा सो आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए त्यस्तो रकम नकटाई र कुनै रकम समावेश गर्नु पर्ने भए त्यस्तो रकम समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलव एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ त्यस्तो रकम ।
[..........] 4 ] 1
[(२) कुनै व्यक्तिले कुनै आय वर्षको दफा ८१ बमोजिम राख्नु पर्ने कागजात नराखेमा त्यस्तो व्यक्तिलाई त्यस्तो कागजात नराखेको वर्षको लागि कुनै आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए त्यस्तो रकम नकटाई र रकमहरू समावेश गर्नु पर्ने भए त्यस्तो रकम समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलव एक प्रतिशतले हुने रकम वा एक हजार रुपैयाँमध्ये जुन हुन्छ सो रकम शुल्क लाग्नेछ ।] 5
[(३) अग्रिम कर कट्टी गर्ने कुनै एजेण्टले दफा ९० को उपदफा (१) मोजिमको विवरण पेश नगरेमा त्यस्तो एजेण्टलाई विवरण पेश पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर कट्टी गर्नु पर्ने कर रकमको वार्षिक दुई दशमलव पाँच प्रतिशतले हुने रकम शुल्क लाग्नेछ ।] 6
११८. [किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने] 7
(१) कुनै व्यक्तिले कुनै आय वर्षमा दफा ९४ बमोजिम दाखिला गर्नु पर्ने किस्ता रकम सम्बन्धमा खण्ड (क) मा उल्लिखित रकमभन्दा खण्ड (ख) मा उल्लिखित रकम बढी भएमा यसरी बढी भएमा यसरी बढी भएको रकममा उपदफा (२) बमोजिम ब्याज लाग्नेछ:
(क) त्यस्तो व्यक्तिले कुनै आय वर्षमा तिरेको प्रत्येक किस्ताको रकम,
(ख) त्यस्तो आय वर्षमा प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रूपमा बुझाउनु पर्ने कुल रकमको अनुमान वा संशोधित अनुमान सही भएको भए त्यस्तो रकम र सो रकम सही नभएको भए दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकमको प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रूपमा बुझाउनु पर्ने रकमको [नब्बे प्रतिशत] 8 रकम ।
(२) उपदफा (१) बमोजिमको व्यक्तिलाई सो वर्षको सो किस्ता बुझाउनु पर्ने मितिदेखि देहायको अवधिसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य ब्याजदरले ब्याज लाग्नेछ:
(क) दफा ९९ को उपदफा (१) बमोजिमको कर निर्धारण गर्ने व्यक्तिको हकमा आय विवरण बुझाउनु पर्ने मितिसम्म,
(ख) दफा ९९ को उपदफा (१) बमोजिमको कर निर्धारण नगरेको कारणले विभागले दफा १०१ बमोजिम पहिलो पटक संशोधित कर निर्धारण गरेको व्यक्तिको हकमा दफा १०२ बमोजिम त्यस्तो संशोधित कर निर्धारणको सूचना बुझाएको मितिसम्म |
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "किस्ताबन्दीको रूपमा बुझाउनु पर्ने रकम भन्नाले एक पटक अनुमान पेश गरिसकेपछि संशोधित अनुमान पेश नगर्नेको तथा अनुमान पेश नगरेको कारणले दफा ९५ को उपदफा (७) बमोजिम विभागले अनुमान गरेको हकमा दफा ९४ को उपदफा (१) बमोजिम र संशोधित अनुमान पेश गर्नेको हकमा तथा पेश गरिएको अनुमान वा संशोधित अनुमानमा सन्तुष्ट नभई दफा ९५ को उपदफा (७) बमोजिम विभागले अनुमान गरेको दफा ९५ को उपदफा (५) को व्यवस्था अनुसार गणना गरिएको किस्ताको रकम सम्झनु पर्छ ।
११९. कर नबुझाएमा ब्याज लाग्ने
(१) कर तिर्नु पर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा दाखिला गर्न बाँकी रहेको रकममा यसरी कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि सो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याजदरले ब्याज लाग्नेछ ।
(२) उपदफा (१) बमोजिम तिर्नु पर्ने ब्याज गणना गर्ने प्रयोजनको लागि दफा ९८ बमोजिम दिइएको थप म्यादमा ब्याज छुट पाइने छैन ।
[(३) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले दफा ९५क. को उपदफा (८) वा अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ९० को उपदफा (४) पालना नगरेको कारणले निजले बुझाउनु पर्ने व्याज निजले अग्रिम कर दाखिला गर्नु पर्ने वा अग्रिम कर कट्टी हुने व्यक्तिबाट असुल उपर गरी लिन पाउने छैन ।] 9
[(४) दफा ११०क. बमोजिम दिइएको म्यादभित्र कर नतिरेमा तिर्न बाँकी करमा वार्षिक पाँच प्रतिशतका दरले थप ब्याज लगाई त्यस्तो व्यक्तिबाट असुल उपर गरिनेछ ।] 10
११९क. शुल्क लाग्ने
[यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको कुनै व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई [पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म] 12 शुल्क लाग्नेछ ।] 11
१२०. झुट्टा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्ने
कुनै व्यक्तिले कुनै कुराका सम्बन्धमा विभागमा झुट्टा वा भ्रमपूर्ण विवरण दिएमा वा दाखिला गर्नु पर्ने कुनै कुरा वा वस्तुको जानकारी नदिई वा सो विवरणबाट हटाई विवरणमा उल्लिखित जानकारी भ्रमपूर्ण हुन गएमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछः-
(क) जानाजानी वा लापरबाहीपूर्वक गरेको नभई भूलवस झुट्टा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट हुने घटी कर रकमको पचास प्रतिशत ।
(ख) जानाजानी वा लापरबाही गरेको कारणले झुट्टा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट हुने घटी कर रकमको एक सय प्रतिशत ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि विभागमा दाखिला गरिएको विवरण भन्नाले विभागमा वा यस ऐन बमोजिम कर्तव्यको पालना गर्ने सिलसिलामा विभागबाट अख्तियार प्राप्त अधिकृत समक्ष लिखित रूपमा दाखिला गरिएको विवरण र देहाय बमोजिम दाखिला गरिएको विवरण समेतलाई जनाउँनेछ:-
(क) निवेदन, सूचना, विवरण, उजुरी, बयान वा यस ऐन बमोजिम दाखिला गरिएको, तयार पारिएको दिइएको वा पेश गरिएको अन्य कागजात,
(ख) यस ऐन बमोजिम बाहेक विभाग वा विभागका कुनै अधिकृत समक्ष पेश गरिएको कागजात,
(ग) विभाग वा कुनै अधिकृतले कुनै व्यक्तिलाई सोधेको प्रश्नको उत्तर, वा
(घ) विवरण दिइने कुराको मनासिब जानकारी भएको कुनै व्यक्तिले कुनै अर्को व्यक्ति मार्फत विभाग वा कुनै अधिकृतलाई दिएको जानकारी ।
१२१. मतियारलाई शुल्क लाग्ने
[यस ऐनमा] 13 उल्लिखित कुनै कसुर गर्ने व्यक्तिलाई जानाजान वा लापरबाही गरी मद्दत गर्ने वा सहायता दिने वा दुरुत्साहन गर्ने वा सल्लाह दिने मतियारलाई त्यस्ता व्यक्तिले कम तिरेको करको शतप्रतिशत रकम शुल्क लाग्नेछ ।
१२२. शुल्क तथा ब्याजको निर्धारण
(१) यस परिच्छेद बमोजिम कुनै व्यक्तिले बुझाउनु पर्ने शुल्क तथा ब्याजको निर्धारण विभागले गर्नेछ ।
(२) कुनै खास काम पूरा नगरेकोले वा कुनै विवरणका सम्बन्धमा यस परिच्छेद बमोजिम शुल्क तथा ब्याज बापतको दायित्वको गणना गर्दा यस परिच्छेदको प्रत्येक दफाका हकमा छुट्टाछुट्टै रूपमा गणना गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिम लगाइने शुल्क तथा ब्याज यस ऐन बमोजिम अन्य कुनै कर बुझाउनु पर्ने भए त्यस्तो करमा थप गरिनेछ र त्यस्तो शुल्क तथा ब्याज बुझाउँदैमा परिच्छेद २३ मा उल्लिखित फौजदारी कारबाही सम्बन्धी दायित्वबाट कुनै व्यक्ति मुक्त भएको मानिने छैन ।
(४) यस दफा बमोजिम शुल्क तथा ब्याजको निर्धारण गरिएकोमा विभागले देहायका कुरा खुलाइएको सो निर्धारणको लिखित सूचना सो व्यक्तिलाई दिनेछ । यस्तो सूचना दफा १०२ बमोजिम जारी गरिने सूचनामा संलग्न गरी पठाउन सक्नेछ:-
(क) विभागले शुल्क तथा ब्याज निर्धारण गर्नु परेको कारण,
(ख) बुझाउनु पर्ने शुल्क तथा ब्याज बापतको रकम,
(ग) सो रकम कसरी गणना गरिएको हो सोको तरिका, र
(घ) सो निर्धारण विरुद्ध उजुरी गर्ने समय, स्थान र तरिका ।
(५) यस दफा बमोजिम शुल्क तथा ब्याज निर्धारण गर्दा देहाय बमोजिम हुनेछ:-
(क) दफा १०१ को उपदफा (१) उपदफा (२) उपदफा (३) को खण्ड (ख), उपदफा (४) र (५) मा लेखिएका कुराहरू यस दफा बमोजिम शुल्क तथा ब्याज निर्धारण गर्दा पनि लागू हुनेछ, र
(ख) दफा १०१ को उपदफा (३) को खण्ड (ख), (ग), उपदफा (४), (५) र दफा १०२ मा लेखिएका कुराहरू यस दफाको उपदफा (४) का हकमा पनि लागू हुनेछ ।
-
आर्थिक ऐन, २०७५ द्वारा संशोधित ।
(१) मूल ऐनको व्यवस्थाः
“(१) कुनै व्यक्तिले देहाय बमोजिम नगरेमा त्यस्तो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागको लागि कुनै आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो नकटाई र कुनै रकम समावेश गर्नु पर्ने भए सो समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको डेढ प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक हजार रुपैयाँ प्रति महिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्नेछ ।
(क) दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेकोमा, वा
(ख) दफा ९६ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा ।”(२) आर्थिक अध्यादेश, २०५९ द्वारा उपदफा (१) मा रहेका “डेढ प्रतिशत ” भन्ने शब्दहरुको सट्टा “शून्य दशमलव एक प्रतिशत” र “प्रति महिना” को सट्टा “प्रति वर्षका” भन्ने शब्दहरु राखिएको ।
(३) आर्थिक अध्यादेश, २०६२ द्वारा खण्ड (क) झिकिएको ।
(४) आर्थिक ऐन, २०६४ द्वारा देहाय बमोजिम कायम गरिएको: “(१) कुनै व्यक्तिले देहाय बमोजिमको विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछः-
(क) दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा प्रति विवरण दुई हजार रुपैयाँ, र
(ख) दफा ९६ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित व्यक्तिको हकमा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकम र अन्य व्यक्तिको हकमा सो आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो नकटाई र कुनै रकम समावेश गर्नु पर्ने भए सो समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलव एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम।”(५) आर्थिक ऐन, २०६७ द्वारा संशोधन कायम भएको व्यवस्थाः “(१) कुनै व्यक्तिले देहाय बमोजिमको विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछः-
(क) दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा प्रति विवरण दुई हजार रुपैयाँ, र
(ख) अग्रिम कर असुल गर्नु पर्ने कुनै व्यक्तिले दफा ९५क. को उपदफा (५) बमोजिमको विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई विवरण दाखिला गर्नु पर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर असुल गर्नु पर्ने रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम,
(ग) दफा ९६ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित व्यक्तिको हकमा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकम र अन्य व्यक्तिको हकमा सो आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो नकटाई र कुनै रकम समावेश गर्नु पर्ने भए सो समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलव एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम।”(६) आर्थिक ऐन, २०७१ द्वारा संशोधन कायम भएको: “ (१) कुनै व्यक्तिले देहाय बमोजिमको विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछः-
(क) दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा प्रति विवरण दुई हजार रुपैयाँ,
(ख) अग्रिम कर असुल गर्नु पर्ने कुनै व्यक्तिले दफा ९५क. को उपदफा (५) बमोजिमको विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई विवरण दाखिला गर्नु पर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर असुल गर्नु पर्ने रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम,
(ग) दफा ९६ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित व्यक्तिको हकमा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकम र अन्य व्यक्तिको हकमा सो आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो नकटाई र कुनै रकम समावेश गर्नु पर्ने भए सो समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलव एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम,
(घ) कर छुट प्राप्त संस्थाले तोकिएको म्यादभित्र वित्तीय विवरण दाखिला नगरेमा आयमा देखाएको रकमको प्रति वर्ष शून्य दशमलव एक प्रतिशतका दरले रकम । " ↩ -
आर्थिक ऐन, २०७६ द्वारा संशोधित । साविकमा “दुई हजार रुपैयाँ” भन्ने शब्दहरु रहेका। ↩
-
आर्थिक ऐन, २०७७ द्वारा संशोधन । ↩
-
आर्थिक ऐन, २०७१ द्वारा थप भएकोमा आर्थिक ऐन, २०७५ द्वारा झिकिएको । ↩
-
आर्थिक ऐन, २०६६ द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनद्वारा निरन्तरता कायम भई आर्थिक ऐन, २०७५ ले संशोधन कायम गरेको। (१) मूल ऐनको व्यवस्थाः “(२) कुनै व्यक्तिले कुनै आय वर्षको दफा ८१ बमोजिम राख्नु पर्ने कागजात नराखेमा त्यस्तो व्यक्तिलाई त्यस्तो कागजात नराखेको वर्षको लागि कुनै आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो नकटाई र रकमहरू समावेश गर्नु पर्ने भए सो समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको डेढ प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक हजार रुपैयाँ प्रति महिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्नेछ।” ↩
-
आर्थिक ऐन, २०७५ द्वारा संशोधन। मूल ऐनको व्यवस्थाः “(३) अग्रिम कर कट्टी गर्ने कुनै व्यक्तिले दफा ९० को उपदफा (१) बमोजिमको विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर कट्टी गर्नु पर्ने कर रकमको वार्षिक डेढ प्रतिशतले हुने रकम शुल्क लाग्नेछ ।” ↩
-
आर्थिक अध्यादेश, २०६२ द्वारा संशोधन ।
(१) मूल ऐनको व्यवस्थाः “११८. किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्नेः (१) कुनै व्यक्तिले यस उपदफाको खण्ड (क) बमोजिम दाखिला गरेको किस्ताबन्दी कर रकम खण्ड (ख) बमोजिम किस्तामा दाखिल गर्नु पर्ने कर रकमभन्दा कम भएमा सो कम रकममा उपदफा (२) बमोजिम ब्याज लाग्नेछः-
(क) किस्ताबन्दी कर दाखिला गर्नु पर्ने व्यक्तिले दफा ९४ बमोजिम कुनै वर्षमा दाखिला गर्नु पर्ने किस्ताबन्दी करको सम्बन्धमा दफा ९५ बमोजिम गणना गरेको अनुमानित वा संशोधित कर रकम,
(ख) सो वर्ष दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकमको नब्बे प्रतिशतले हुने कर रकम ।
(२) उपदफा (१) बमोजिमको व्यक्तिलाई सो वर्षको पहिलो किस्ता बुझाउनु पर्ने मितिदेखि दफा ९९ बमोजिम कर निर्धारण भई कर बुझाउनु पर्ने मितिसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य ब्याजदरले ब्याज लाग्नेछ ।
(३) खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएमा यसरी बढी भएको प्रत्येक अवधिको रकममा सामान्य दरले (२)उपदफा (२) बमोजिम ब्याज लाग्नेछः-
(क) कुनै व्यक्तिको कुनै आय वर्षमा प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रूपमा बुझाउनु पर्ने कुल रकमको • अनुमान वा संशोधित अनुमान सही भएको भए सो रकमको नब्बे प्रतिशत रकम, (ख) सो आय वर्षमा तिरेको किस्ताहरूको रकम । "(२) आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन गरेको व्यवस्था: “११८. किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्नेः
(१) कुनै ब्यक्तिले कुनै आय वर्षमा दफा ९४ बमोजिम दाखिला गर्नु पर्ने किस्ता रकम सम्बन्धमा खण्ड (क) मा उल्लिखित रकमभन्दा खण्ड (ख) मा उल्लिखित रकम बढी भएमा यसरी बढी भएको रकममा उपदफा (२) बमोजिम ब्याज लाग्नेछः-
(क) सो व्यक्तिले कुनै आय वर्षमा तिरेको प्रत्येक किस्ताको रकम,
(ख) सो आय वर्षमा प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रूपमा बुझाउनु पर्ने कुल रकमको अनुमान वा संशोधित अनुमान सही भएको भए सो रकम र सो रकम सहि नभएको भए दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकमको प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रूपमा बुझाउनु पर्ने रकमको असी प्रतिशत रकम ।
(२) उपदफा (१) बमोजिमको व्यक्तिलाई सो वर्षको सो किस्ता बुझाउनु पर्ने मितिदेखि सो बढी रकम नबुझाएसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य ब्याजदरले ब्याज लाग्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिमको व्यक्तिले त्यस्तो बढी रकम दफा ९९ बमोजिम कर निर्धारण भई कर बुझाउनु पर्ने मितिसम्म पनि दाखिला नगरेमा सो व्यक्तिलाई सो वर्षको सो किस्ता बुझाउनु पर्ने मितिदेखि सोही दफा बमोजिम कर निर्धारण भई कर बुझाउनु पर्ने मितिसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य ब्याजदरले ब्याज लाग्नेछ ।” ↩ -
आर्थिक ऐन, २०६७ द्वारा “असी प्रतिशत” भन्ने शब्दहरुको सट्टा “नब्बे प्रतिशत” भन्ने भन्ने शब्दहरु राखी संशोधन गरेकोमा सो व्यवस्थालाई आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । ↩
-
आर्थिक ऐन, २०६७ द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनद्वारा निरन्तरता कायम भई आर्थिक ऐन, २०७५ ले संशोधन कायम गरेको । मूल ऐनको व्यवस्थाः “(३) अग्रिम कर कट्टी गर्ने एजेण्टले दफा ९० को उपदफा (४) पालना नगरेको कारणले निजले बुझाउनु पर्ने ब्याज निजले अग्रिम कर कट्टी हुने व्यक्तिबाट असुल उपर गरी लिन पाउने छैन ।” ↩
-
आर्थिक ऐन, २०६८ द्वारा थप भई त्यसपछिका आर्थिक ऐनद्वारा निरन्तरता कायम भई आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम गरेको । ↩
-
आर्थिक अध्यादेश, २०६२ (माघ) द्वारा थप भई त्यसपछिका आर्थिक ऐनद्वारा निरन्तरता कायम भई आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम गरेको । ↩
-
आर्थिक ऐन, २०७३ द्वारा संशोधन । साविकमा “ दफा १२८ बमोजिम तोकिएको जरिवाना सरहको” भन्ने शब्दहरु रहेका । ↩
-
आर्थिक ऐन, २०६७ द्वारा संशोधित । साविकमा “परिच्छेद २३ मा” भन्ने शब्दहरु रहेका। ↩