परिच्छेद ५ अवकाश बचत सम्बन्धी विशेष व्यवस्था
२०. अवकाश कोषको स्वीकृति
(१) अवकाश कोषको स्वीकृतिको लागि ऐनको दफा ६३ बमोजिम निवेदन प्राप्त भएमा उपनियम (२) को अधीनमा रहीं विभागले स्वीकृति दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विभागले स्वीकृति प्रदान गर्दा सो अवकाश कोषले देहायका शर्तहरू पालना गर्नु पर्ने गरी स्वीकृति प्रदान गर्न
सक्नेछ:
(क) अवकाश कोषमा जम्मा गरिएको वा अवकाश कोषलाई प्राप्त हुने रकम स्वीकृत लगानीमा मात्र लगानी गर्नु पर्ने,
[(क१) चुक्ता पुँजी कम्तीमा एक करोड रुपैयाँ हुनु पर्ने,] 1
[(क२) [अवकाश कोष सञ्चालन गर्ने निकायको] 3 हिताधिकारी कामदार वा कर्मचारीको सङ्ख्या कम्तीमा एक हजार हुनु पर्ने,] 2
(ख) अवकाश कोषले कर्मचारी वा कामदारको तर्फबाट रोजगारदाताबाट अवकाश योगदान स्वीकार गर्ने भएमा सो कोषको व्यवस्थापन रोजगारदाताभन्दा स्वतन्त्र रूपमा भएको हुनु पर्ने, तर सोही कोषका कर्मचारी वा कामदारको हकमा यो खण्ड लागू हुने छैन ।
(ग) अवकाश योगदान रकम आषाढ महिनामा खर्च लेखेको भए खर्च लेखेको एक महिनाभित्र र अन्य महिनाको हकमा खर्च लेखेको पन्ध्र दिनभित्र अवकाश कोषमा जम्मा गर्नु पर्ने.
(घ) अवकाश कोषको हिताधिकारीलाई देहायका अवस्थामा मात्र अवकाश भुक्तानी गर्न सकिने:
(१) कर्मचारी वा कामदार सेवाबाट अवकाश प्राप्त गरेमा,
(२) हिताधिकारीको उमेर अन्ठाउन्न वर्ष पुगेमा, वा
(३) हिताधिकारीको मृत्यु भएमा वा निज स्थायी रूपमा अपाङ्ग भएमा ।
(ङ) महालेखापरीक्षकको विभागबाट स्वीकृति पाएको लेखापरीक्षकबाट सो अवकाश कोषको वार्षिक रूपमा लेखापरीक्षण गराउनु पर्ने ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “स्वीकृत लगानी” भन्नाले देहाय बमोजिम भएको लगानी सम्झनु पर्छ:
(क) प्रचलित कानून बमोजिम स्थापना भएको नागरिक लगानी कोषमा गरिएको लगानी,
(ख) नेपाल सरकारले जारी गरेको ऋणपत्रमा गरिएको लगानी,
(ग) बैक सम्बन्धी प्रचलित कानून अन्तर्गत सञ्चालन भएका बैङ्कमा गरिएको लगानी,
(घ) बैङ्कसँग सहवित्तीयकरणको आधारमा गरिएको लगानी, र
(ङ) आफ्ना शेयरहोल्डर बाहेकका हिताधिकारीलाई गरिएको लगानी ।
(३) विभागबाट स्वीकृति प्राप्त गरेको स्वीकृत अवकाश कोषले उपनियम (२) का शर्तहरू पालना नगरेमा सो कोषलाई दिएको स्वीकृति विभागले रद्द गर्न सक्नेछ ।
(४) [..........] 4
(५) [..........] 5
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका रकमका सम्बन्धमा देहाय बमोजिम हुनेछः- (क) ऐन प्रारम्भ हुनुभन्दा अघिका आय वर्षहरूमा कर्मचारी वा कामदारको सञ्चय कोष वा नागरिक लगानी कोषमा जम्मा भएको साँवा ब्याज लगायतका रकममा र सो अवधिसम्म पाकेको उपदान तथा सञ्चित बिदा बापतको रकममा कर छुट हुने, र (ख) ऐन प्रारम्भ हुँदाका बखत सेवामा रहेका कर्मचारी वा कामदारलाई सेवाबाट अवकाश हँदा निजहरूको सेवा शर्त सम्बन्धी नियम अनुसार भुक्तानी हुने एक लाख असी हजार रुपैयाँसम्मको औषधि उपचार खर्च रकमलाई सो कर्मचारी वा कामदारको आयमा समावेश नगरिने ।
२१. अवकाश योगदानको सीमा
कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा तीन लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एकतिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्नेछ ।
[तर योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले सो कोषमा योगदान गर्दा पाँच लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एकतिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्नेछ ।] 6
-
दोस्रो संशोधनद्वारा थप । ↩
-
दोस्रो संशोधनद्वारा थप । ↩
-
चौथो संशोधनद्वारा थप । ↩
-
सातौं संशोधनद्वारा झिकिएको । मूल नियमको व्यवस्थाः “ ( ४ ) उपनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम सञ्चालन भइरहेका सञ्चय कोष, उपदान कोष वा नागरिक लगानी कोषलाई २०५९ साल पौष मसान्तसम्मको लागि स्वीकृत अवकाश कोष मानिनेछ ।” ↩
-
सातौ संशोधनद्वारा झिकिएको । मूल नियमको व्यवस्थाः “ ( ५ ) उपनियम (४) बमोजिमको अवधिभित्र सो उपनियममा उल्लिखित कोषले यस नियम बमोजिम विभागबाट स्वीकृति लिनु पर्नेछ। सो अवधिभित्र स्वीकृति नलिएमा सो अवधि पछि त्यस्तो अवकाश कोष अस्वीकृत अवकाश कोषमा परिणत हुनेछ । " ↩
-
दशौ संशोधनद्वारा थप । ↩