परिच्छेद २७ करको भुक्तानी
२७.१
करदाताले तिनुपर्नेकर समयमा तिर्ने वातावरणको सिर्जना गर्न कर तिर्ने प्रकृयालाई सरल र स्पष्ट गर्नु आवश्यक हुन्छ । यही आवश्यकतालाई दृष्टिगत गरी ऐनको परिच्छेद १६ र नियमावलीको परिच्छेद ७ ले ऐन बमोजिम कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्तिले तिर्नुपर्ने कर, तिर्ने स्थान, त्यस्तो कर तिर्ने तरिका र समयको सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गरेको छ । आयकर निर्देशिकाको यस परिच्छेदले तिनै व्यवस्थालाई थप स्पष्ट पार्ने उद्देश्य राखेको छ
२७.२ कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति
ऐनले जुन व्यक्तिलाई कर लगाउने व्यवस्था गरेको छ त्यस्ता व्यक्तिलाई नै कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति भनिन्छ । ऐनको दफा ३ मा कर लगाउने व्यक्तिका सम्बन्धमा निम्नानुसार व्यवस्था गरिएको छ ।
३ देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असूल उपर गरिनेछ:
(क) कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति,
(ख) दफा ६८ को उपदफा (३) र (४) बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैर बासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र
(ग) कुनै आय वर्षमा अन्तिम रूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति ।
२७.२.१ ऐन बमोजिम कर लाग्ने आय भएको व्यक्ति
कुनै आय वर्षमा ऐनको दफा १० बमोजिम कर छुटको रकम (Exemption) भएको वा दफा ११ बमोजिम कर सुविधा (Concession) भएको आय बाहेक कुनै व्यवसाय, रोजगारी, लगानी र आकस्मिक लाभबाट भएको आयमा कर लाग्ने हुँदा ती आयलाई कर लाग्ने आय भनिन्छ भने त्यस्तो आय भएको व्यक्तिलाई कर लाग्ने आय भएको व्यक्ति भनिन्छ । कुनै व्यक्तिले कुनै व्यवसाय, रोजगारी, लगानी र आकस्मिक लाभबाट निजलाई भएको आयमध्ये करछुट हुने आय बाहेक अन्य आयमा कर तिर्नुपर्ने हुँदा त्यस्तो व्यक्तिलाई कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति भनिन्छ ।
२७.२.२ कुनै आय वर्षको आय विदेश पठाउने गैर बासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन
नेपालस्थित विदेशी स्थायी संस्थापन भन्नाले कुनै गैर बासिन्दा व्यक्ति (साझेदारी वा कम्पनी वा ट्रष्ट) को नेपालमा रहेको एजेन्टले व्यवसाय गर्ने स्थान, त्यस्तो व्यक्तिको मुख्य उपकरण वा मेशिनरी नेपालमा जडान गरिएको स्थान, त्यस्तो व्यक्तिले नेपालभित्र बाह्र महिनामा एकैपटक वा पटकपटक गरी नब्बे दिनभन्दा बढी सेवा प्रदान गरेको स्थान, त्यस्तो व्यक्तिले नेपालभित्र नब्बे दिनभन्दा बढी समय निर्माण, जडान वा स्थापनाको कार्य गरेको वा सो सम्बन्धी सेवा प्रदान गरेको स्थान लगायत त्यस्तो व्यक्तिले पूर्ण वा आंशिक रूपमा कुनै व्यवसायसञ्चालन गर्ने स्थानलाई जनाउँछ । सरल रूपमा भन्ने हो भने कनै गैर बासिन्दा व्यक्तिले आफ्नो व्यवसायको अभिन्न अंगको रूपमा आफ्नै लगानीमा आफैँ वा अन्य कुनै व्यक्तिमार्फत नेपालभित्र कुनैवस्तु वा सेवाको व्यावसायिक कारोबार गर्ने वा बिक्री पछिको सेवा प्रदान गर्ने उद्देश्यले स्थापना वा सञ्चालन गरेको उत्पादनस्थल, कार्यालय, शाखा, बिक्री वा सेवा केन्द्र, एजेन्सी, आयोजना आदि नेपालस्थितविदेशी स्थायी संस्थापन हुन् । यस्ता संस्थापनले नेपालमा कुनै व्यवसायसञ्चालन गरी कुनै आय आर्जन गरेमा र सो आयको कुनै अंश विदेश पठाएमा त्यसरी विदेश पठाएको रकममा ऐनको अनुसूची-१ को दफा २ को उपदफा (६) अनुसार ५ प्रतिशतले कर लाग्ने हुँदा कुनै आय वर्षको आय विदेश पठाउने गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनलाई कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति भनिन्छ ।
२७.२.३ कुनै आय वर्षमा अन्तिम रूपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति
ऐनको दफा ८७ ८८ ८८ र ८९ बमोजिम पारिश्रमिकको भुक्तानी गर्दा करकट्टी गर्ने रोजगारदाता, लगानी प्रतिफल, सेवा शुल्क, बिक्री बोनसको भुक्तानी दिँदा करकट्टी गर्ने भुक्तानीकर्ता, अवकाश भुक्तानीमा करकट्टी गर्ने अवकाश कोष वा रोजगारदाता, ठेक्का वा करार बापतको भुक्तानी र बीमा प्रिमियम वापत गैर बासिन्दालाई भुक्तानीदिँदाकरकट्टी गर्ने भुक्तानीकर्तालाई भुक्तानीमा करकट्टी गर्ने व्यक्ति भनिन्छ । भुक्तानीमा करकट्टी गर्ने व्यक्तिबाट आफूले प्राप्त गर्नुपर्ने रकमबाट अग्रिम करको रकम कटाई बाँकी रकम वा लाभको रकम प्राप्त गर्ने व्यक्तिलाई करकट्टी हुने व्यक्ति भनिन्छ । भुक्तानीमा करकट्टी गरी भुक्तान गरिएको वा प्राप्त गरिएको रकममध्ये बासिन्दा कम्पनीबाट प्राप्त लाभांश, प्राकृतिक व्यक्तिको बहाल आय, जीवन बीमाबापत प्राप्त रकम, अवकाश भुक्तानीबापत प्राप्त रकम, बैंक वा वित्तीय संस्थाबाट प्राप्त ब्याज, गैर बासिन्दा व्यक्तिले प्राप्त गरेको भुक्तानी, प्रति बैठक बीस हजार रुपैयाँसम्मको बैठक भत्ता, पटके अध्यापन गरे बापत प्राप्त रकम र प्रश्नपत्र तयार गरे वा उत्तर पुस्तिका जाँच गरे बापतको भुक्तानीलाई अन्तिम रूपमा करकट्टी हुने भुक्तानी मानिएको छ । कुनै व्यक्तिले करकट्टी गरी प्राप्त गरेको उपर्युक्त आय वा रकममा कट्टी भएको कर सम्बन्धित कार्यालयमा दाखिला भएको अवस्थामा सो व्यक्तिले आयमा लाग्ने कर चुक्ता गरेको मानिने भई सो आय बापत थप कर तिर्नुनपर्ने र कट्टी गरिएको कर फिर्ता वा अन्य तिर्नुपर्ने करमा मिलान गर्न नपाइने हुँदा ती आय वा रकम वा भुक्तानीलाई अन्तिम रूपमा करकट्टी हुने भुक्तानी भनिएको हो । यसरी अन्तिम रूपमा करकट्टी हुने आय प्राप्त गर्ने व्यक्तिलाई नै अन्तिम रूपमा करकट्टी भईभुक्तानी प्राप्त गर्ने व्यक्ति भनिन्छ । यस्तो व्यक्तिले प्राप्त गर्ने आयमा सो आय बापतको रकम भुक्तानी गर्ने व्यक्तिले भुक्तानी गर्दाकै अवस्थामा करकट्टी गर्ने र त्यसरी कट्टी गरिएको कर करकट्टी हुने व्यक्तिले सो आय बापत तिर्नुपर्ने कर अन्तिम हुने हुँदा त्यस्ता व्यक्तिलाई कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति मानिएको हो ।
२७.२.४ अग्रिम कर असुल गर्नुपर्ने व्यक्ति
ऐनको दफा ९५क. बमोजिम कमोडिटी बजारको सञ्चालन गर्ने व्यक्तिले सो व्यवसाय गर्ने व्यक्तिको मुनाफा र लाभ, धितोपत्रको निःसर्गबाट भएको लाभमा करकट्टी प्राप्त गर्ने निकाय र घरजग्गा वा घर वा जग्गाको निःसर्गबाट भएको लाभमा करकट्टी प्राप्त गर्ने सम्बन्धित मालपोत कार्यालयर केही कृषिजन्य वस्तु पैठारीमा करकट्टी प्राप्त गर्ने सम्बन्धित भन्सार कार्यालयलाई अग्रिम कर असुल गर्नुपर्ने व्यक्ति भनिन्छ । अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले सो दफामा व्यवस्था भए बमोजिमकारोबार गर्ने वाकारोबारमा लाभ प्राप्त गर्ने व्यक्तिबाट अग्रिम करको रकम असुल गरी दाखिला गर्नुपर्दछ ।
२७.२.५ कर बुझाउनु पर्ने दायित्व भएका अन्य व्यक्ति
ऐनको परिच्छेद २० ले गरेको कर संकलन सम्बन्धी व्यवस्था बमोजिमको कुनै व्यक्तिले आफूले तिर्नु बुझाउनुपर्ने कर रकम नबुझाएमा त्यस्तो व्यक्तिले बुझाउन बाँकी कर बराबरको रकम देहायका व्यक्तिबाट असुल उपर गरिने प्रबन्ध गरिएको हुँदा ती व्यक्तिलाई समेत ऐनको प्रयोजनका लागि कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ । (क) निकायका अधिकृत कर्मचारी
ऐनको दफा १०७ को उपदफा (२) ले कर बुझाउनुपर्ने समयमा कर नबुझाउने निकायका बहालवाला वा छ महिना अघिसम्म सो निकायमा बहाल रहेको अधिकृत अर्थात सो निकायको व्यवस्थापक वा सो सरहको हैसियतले कार्य गरिरहेको एक वा सोभन्दा बढी व्यक्ति निकायले नबुझाएको कर बराबरको रकम बुझाउन जिम्मेवार हुने व्यवस्था गरेको छ । साथै ती व्यक्तिले बुझाउनुपर्ने रकमलाई करको रूपमा परिभाषित गरिएको हुँदा कर नबुझाउने निकायका बहालवाला वा छ महिना अघिसम्म सो निकायमा बहाल रहेको अधिकृतलाई पनि यस ऐनको प्रयोजनका लागि कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ
(ख) प्रापक
ऐनको दफा १०८ ले कुनै व्यक्तिले बुझाउन बाँकी रहेको कर सो व्यक्तिको सम्पत्तिको प्रापक अर्थात सो व्यक्तिको लिक्विडेटर, सो व्यक्तिको कुनै सम्पत्तिको व्यवस्थापन गर्न प्रापकको रूपमा अदालत बाहिरबाट वा अदालतबाट नियुक्त व्यक्ति, सो व्यक्तिको कुनै सम्पत्ति बन्धकी लिई कब्जामा राख्ने व्यक्ति, मृतक प्राकृतिक व्यक्तिको हकमा निजको सम्पत्तिको प्रत्यक्ष हकवाला, प्रशासक वा दामकाम गर्ने व्यक्ति वा असक्षम प्राकृतिक व्यक्तिको हकमा निजको काम कारबाही गरिदिने कुनै व्यक्तिलाई विभागले दिएको सूचनामा उल्लिखित रकममध्ये सो व्यक्तिले कर बक्यौता रहेको व्यक्तिको सम्पत्ति बिक्री गरी प्राप्त रकमले खामेको हदसम्मको रकम सोही सूचनामा उल्लिखित मितिसम्ममा दाखिला गर्नुपर्दछ । प्रापकले आफूलाई प्राप्त सूचना बमोजिम कर दाखिला नगरेमा त्यस्तो रकम प्रापकबाटै असुल उपर गर्ने व्यवस्था छ । यही व्यवस्थाको कारणले प्रापकलाई कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।
(ग) कर बुझाउन बाँकी रहेको व्यक्तिलाई रकम बुझाउनु पर्ने व्यक्ति
ऐनको दफा १०९ ले कर बुझाउन बाँकी रहेको व्यक्तिले बुझाउन बाँकी करको हदसम्मको रकम सो व्यक्तिलाई रकम बुझाउनु पर्ने व्यक्ति, सो व्यक्तिको लागि वा निजको तर्फबाट द्रव्य राख्ने व्यक्ति, सो व्यक्तिलाई बुझाउने गरी कुनै तेस्रो व्यक्तिको तर्फबाट द्रव्य राख्ने व्यक्ति वा तेस्रो पक्षबाट सो द्रव्य कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउने अख्तियारी पाएको व्यक्तिलाई त्यस्तो रकम बुझाउन विभाग वा कार्यालयले आदेश दिनसक्ने व्यवस्था गरेको हुँदा कर बुझाउन बाँकी रहेको व्यक्तिको बुझाउन बाँकी कर रकम बुझाउन आदेश पाएको व्यक्तिलाई पनि कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।
(घ) गैर बासिन्दा व्यक्तिको एजेन्ट
ऐनको दफा ११० ले कर बुझाउन बाँकी रहेको गैर बासिन्दा व्यक्तिले बुझाउन बाँकी रहेको करको हदसम्मको रकम बुझाउन सो व्यक्तिको कुनै सम्पत्ति आफ्नो कब्जामा राख्ने व्यक्ति वा एजेन्टलाई विभागले आदेश दिन सक्ने व्यवस्था गरेको छ । त्यस्तो आदेश पाएको गैर बासिन्दा व्यक्तिको कुनै सम्पत्ति आफ्नो कब्जामा राख्ने व्यक्ति वा एजेन्टलाई पनि कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।
(ङ) भुक्तानीमा करकट्टी गर्ने व्यक्ति (Withholding Agent)
पारिश्रमिकको भुक्तानीमा रोजगारदाताले लगानी प्रतिफल, सेवा शुल्क, बिक्री बोनसको भुक्तानीमा त्यस्तो रकमको भुक्तानीकतलि, अवकाश भुक्तानीमा अवकाश कोष वा रोजगारदाताले, ठेक्का वा करार बापतको भुक्तानी र बीमा प्रिमियम बापत गैर बासिन्दालाई दिइने भुक्तानीमा त्यस्तो रकमको भुक्तानीकर्तालाई करकट्टी गर्ने व्यक्ति भनिन्छ । अग्रिम करकट्टी गरी करकट्टी गरिएको रकम र सोको विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालयमा बुझाउनुपर्ने व्यवस्था ऐनको दफा ८७ ८८ ८८ ८९२९० ले गरेको छ । ऐनले अग्रिम करकट्टी गरिएको वा गरिनुपर्ने रकमलाई पनि करको रूपमा परिभाषित गरेको हुँदा अग्रिम करकट्टी गर्ने दायित्व भएका उल्लिखित व्यक्ति वा निकायलाई पनिकर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।
(च) अग्रिम कर असुल गर्ने व्यक्ति कमोडिटी बजारको सञ्चालन गर्ने व्यक्तिले सो बजारमा कारोबार गरेका व्यक्तिको मुनाफा र लाभमा तथा धितोपत्रको निःसर्गबाट भएको लाभमा करकट्टी प्राप्त गर्ने धितोपत्र विनिमय बजार वा जुन निकायको धितोपत्र निःसर्ग भएको हो सो निकाय, घरजग्गा वा घर वा जग्गाको निःसर्गबाट भएको लाभमा करकट्टी प्राप्त गर्ने सम्बन्धित मालपोत कार्यालयर केही कृषिजन्य वस्तु पैठारीमा करकट्टी प्राप्त गर्ने सम्बन्धित भन्सार कार्यालयलाई अग्रिम कर असुल गर्ने व्यक्ति भनिन्छ । अग्रिम कर असुल गरी सो रकम र सोको विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने व्यवस्था ऐनको दफा ९५क ले गरेको छ । ऐनले अग्रिम कर असुल गरिएको वा गरिनुपर्ने रकमलाई पनि करको रूपमा परिभाषित गरेको हुँदा अग्रिम कर असुल गर्ने दायित्व भएका उल्लिखित व्यक्ति वा निकायलाई पनिकर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।
(छ) अग्रिम करकट्टी हुने व्यक्ति (Withholdee) पारिश्रमिक, लगानी प्रतिफल, सेवा शुल्क, बिक्री बोनस, अवकाश भुक्तानी, ठेक्का वा करार बापतको रकम, बीमा प्रिमियम बापत रकम प्राप्त गर्ने गैर बासिन्दा, धितोपत्रको निःसर्गबाट भएको लाभ र घरजग्गा वा जग्गाको निःसर्गबाट भएको लाभ जस्ता रकम भुक्तानी गर्दा भुक्तानीकर्ताले अग्रिम करकट्टी गर्नुपर्दछ । त्यसैले यस्ता रकम प्राप्त गर्ने व्यक्तिलाई अग्रिम करकट्टी हुने व्यक्ति भनिन्छ । अग्रिम करकट्टी गर्नुपर्ने व्यक्तिले त्यस्तो रकमको भुक्तानी गर्दा करकट्टी नगरेमा वा करकट्टी गरेपनि करकट्टी गरेको रकम कार्यालयमा दाखिला नगरेमा करकट्टी नगरेको अवस्थामा करकट्टी गरेको मानिने रकम र करकट्टी गरेको रकम कार्यालयमा दाखिला नगरेको अवस्थामा त्यसरी दाखिला नगरेको कर रकम कार्यालयमा बुझाउनुपर्ने दायित्व करकट्टी हुने व्यक्तिमा समेत रहने व्यवस्था ऐनको दफा ९० ले गरेको छ । ऐनले अग्रिम करकट्टी गरिएको वा गरिनुपर्ने रकमलाई पनि करको रूपमा परिभाषित गरेको र अग्रिम करकट्टी गर्नुपर्ने व्यक्तिले अग्रिम करकट्टी गर्नुपर्ने रकमको भुक्तानी गर्दा करकट्टी नगरेमा करकट्टी गरेको मानिने रकम र करकट्टी गरेपनि करकट्टी गरेको रकम कार्यालयमा दाखिला नगरेमा दाखिला नगरेको रकम कार्यालयमा बुझाउनुपर्ने दायित्व करकट्टी हुने व्यक्तिमा समेत रहने हुँदा अग्रिम कर कट्टी भईभुक्तानी प्राप्त गर्ने व्यक्तिलाई पनिकर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।
२७.३ तिर्नुपर्ने कर
सामान्यतयाः तिनुपर्ने कर भनेको कर लाग्ने आय भएको व्यक्ति, कुनै आय वर्षको आय विदेश पठाउने गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापन र कुनै आय वर्षमा अन्तिम रूपमा करकट्टी भईभुक्तानी प्राप्त गर्ने व्यक्तिले ऐन बमोजिम तिर्नु बुझाउनुपर्ने कर नै हो । ऐनका दफा २ को खण्ड (ढ) मा कर लाई निम्नानुसार परिभाषितगरेकोछ ।
२(ढ): "कर" भन्नाले यस ऐन बमोजिम लाग्ने कर सम्झनु पर्छ र सो शब्दले देहाय बमोजिमका भुक्तानीलाई समेत जनाउँछ:
(१) कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत विभागले गरेका दफा १०४ को उपदफा (८) को खण्ड (क) मा उल्लिखित खर्चहरु,
(२) अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० बमोजिम बुझाउनुपर्ने रकम वा किस्ताबन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ बमोजिम बुझाउनुपर्ने रकम वा अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले दफा ९५. बमोजिम बुझाउनुपर्ने रकम वा दफा ९९, १०० र १०१ बमोजिम कर निर्धारण भए अनुसार बुझाउनुपर्ने रकम,
(३) दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३) वा (४), दफा १०९ को उपदफा (१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनुपर्ने रकम,
(४) शुल्क तथा ब्याज बापत बुझाउनुपर्ने परिच्छेद- २२ बमोजिमको रकम, र
(५) विभागले आदेश दिए बमोजिम दाखिला गर्नुपर्नेदफा १२९ बमोजिमको जरिवाना रकम ।
आयकर ऐनको उपर्युक्त व्यवस्था बमोजिम तिर्नुपर्ने कर भन्नाले देहायको रकमलाई जनाउँछ ।
१. ऐनको दफा ९६ बमोजिम आय विवरण बुझाएको व्यक्तिले दफा ९९ बमोजिम कर निर्धारण गरे अनुसार तिर्नुपर्ने रकमः
यो ऐन स्वयं कर निर्धारणको सिद्धान्तमा आधारित छ । ऐन बमोजिम कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्तिले आफ्नो कर दायित्वको निर्धारण सर्वप्रथम आफैँ गर्दछ । यही सिद्धान्तको आधारमा ऐनको दफा ९६ बमोजिम आय विवरण बुझाउनुपर्ने करदाता अर्थात कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्तिमध्ये कुनै आय वर्षमा कर तिर्नुनपर्ने व्यक्ति वा कुनै आय वर्षमा अन्तिम रूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति वा कुनै आय वर्षमा एउटा समयमा एउटै बासिन्दा रोजगारदाताबाट पारिश्रमिक प्राप्त गर्ने प्राकृतिक व्यक्ति वा भाडाकासवारी साधन धनी प्राकृतिक व्यक्तिबाहेक अन्य कुनै करदाताले कुनै आय वर्षमा निजले तिर्नुपर्ने करको जम्मा रकम र उक्त वर्षको निजले तिर्न बाँकी करको रकम उल्लेख गरी आय विवरण पेश गरेमा सो करदाताले आफ्नो सो वर्षको करनिर्धारण गरेको मान्नुपर्दछ । आय विवरण पेश गरेको व्यक्तिले सो आयवर्षको निजले तिर्न बाँकी करको रकम भन्नाले आय विवरण बमोजिम निजले तिर्नुपर्ने जम्मा रकममा निजले सो वर्षको लागि किस्ताबन्दीमा दाखिला गरेको कुनै कर भए सो रकम र निजले कुनै अन्य व्यक्तिबाट भुक्तानी प्राप्त गर्दा करकट्टी भएको भए सो करको रकम घटाउँदा बाँकी हुन आउने रकमलाई जनाउँछ र त्यसरी तिर्न बाँकी रकमलाई तिर्नुपर्ने कर भनिन्छ । तर कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश नगरेमा निजले ऐनको दफा ९९ बमोजिम कर निर्धारण गरेको र सो कर निर्धारण बमोजिम बुझाउनुपर्ने कर बुझाएको मान्नु पर्दछ तथा सो आय वर्षको लागि निजले गरेको कर निर्धारण अनुसार निजले कुनै कर रकम तिर्न बाँकी भएको मानिदैन ।
२. ऐन बमोजिम किस्ताबन्दीमा कर बुझाउनुपर्ने व्यक्तिले किस्ताबन्दीमा बुझाउनुपर्ने कर रकमः
ऐनको दफा ९४ बमोजिम कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट आय आर्जन गर्ने व्यक्तिले सो आय वर्षमा बुझाउनुपर्ने अनुमानित कर तीन किस्तामा बुझाउनु पर्दछ | बुझाउनु पर्ने जम्माअनुमानित करमध्ये पहिलो किस्तामा चालीस प्रतिशत रकम, दोश्रो किस्तासम्ममा सत्तरी प्रतिशत रकम र तेश्रो किस्तासम्ममा शतप्रतिशत रकम बुझाइसक्नु पर्दछ । यसरी बुझाइने कर रकमलाई किस्ताबन्दी कर भनिन्छ । किस्ताबन्दीमा बुझाउनुपर्ने कर भन्नाले किस्ता बुझाउनुपर्ने अवधिको अनुमानित करमा सो किस्ता दाखिला गर्नुभन्दा अगाडिको अन्य कुनै किस्ताबाट सो आय वर्षमा दाखिला गरेको कर रकम र सो किस्ता दाखिला गर्नुपर्ने मिति अगाडि सो करदाताको सो वर्षको आय गणना गर्दा समावेश हुने भुक्तानीमा कट्टी भएको कर रकम कटाउदा बाँकी हुन आउने रकमलाई बुझाउँछ र त्यसरी बुझाउनुपर्ने रकमलाई तिर्नुपर्ने कर भनिन्छ । तर तीनवटै किस्ताको जम्मा रकम सात हजार पाँच सय रुपैयाँभन्दा कम हुने करदाताले किस्ता बापतको रकम बुझाउनु पर्दैन र त्यस्तो करदाताको किस्ताबन्दी बापत कर तिर्नु पर्दैन ।
कुनै करदाताले कुनै आय वर्षको अनुमानित कर विवरण पेश नगरेमा वा पेश गरेको विवरणमा कार्यालय सन्तुष्ट हुन नसकेमा सो करदाताले अघिल्लो आय वर्षमा दाखिला गरेको वा गर्नुपर्ने करको आधारमा सो करदाताको सो आय वर्षको अनुमानित कर अनुमान गरी सो व्यक्तिलाई सूचना दिएमा सो सूचनामा उल्लिखित रकम नै सो व्यक्तिले अनुमानित करको रूपमा दाखिला गर्नुपर्दछ ।
३. विभाग वा कार्यालयले गरेको संशोधित कर निर्धारण वा संशय कर निर्धारण बमोजिम तिर्नुपर्ने रकम
ऐनको दफा ९९ बमोजिम कर निर्धारण गरेको वा करनिर्धारण गरेको मानिने व्यक्तिले गरेको कर निर्धारणमा विभागले विवरण पेश गर्नुपर्ने मितिले चार वर्षभित्र संशोधन गर्न सक्तछ । त्यस्तै, ऐनको दफा ९६ को उपदफा (५) बमोजिमको अवस्था रहेको करदाता अर्थात टाट पल्टिएको, ऋणमा डुबेको वा विघटन भएको, अनिश्चित समयका लागि नेपाल छोड्ने भएको, नेपालमा गरिरहेको कार्य छोड्न लागेको वा विभागले उपयुक्त सम्झेको करदातालाई कुनै आय वर्षको आय विवरण दाखिला गर्नुपर्ने म्यादभन्दा अगावै विभागले सो आयवर्षको कुनै भागको आय विवरण दाखिला गर्न दिएको आदेश बमोजिम दाखिला हुन आएको आय विवरण बमोजिम भएको करनिर्धारणमा कार्यालयले विवरण पेश गर्नुपर्ने मितिले चार वर्षभित्र संशोधन गर्न सक्तछ । तर उपर्युक्त अनुसार आय विवरण पेश गर्ने करदाताले जालसाजी गरी घटी कर निर्धारण भएको रहेछ भने विभागले जालसाजी गरी विवरण राखेको वा कर निर्धारण गरेको जानकारी प्राप्त भएको एक वर्षभित्र त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्तछ र यस्तो अवस्थामा चार वर्षको हदम्याद लागू हुँदैन ।
त्यस्तै टाट पल्टिएको, ऋणमा डुबेको वा विघटन भएको, अनिश्चित समयका लागि नेपाल छोड्ने भएको, नेपालमा गरिरहेको कार्य छोड्न लागेको वा विभागले उपयुक्त सम्झेको करदातालाई कुनै आय वर्षको आय विवरण दाखिला गर्नुपर्ने म्यादभन्दा अगावै विभागले सो आयवर्षको कुनै भागको आय विवरण दाखिला गर्न आदेश दिएकोमा आदेश बमोजिम आय विवरण दाखिला नगर्ने करदाताको कार्यालयले संशय कर निर्धारण गर्न सक्तछ ।
उपर्युक्त अनुसार संशोधित वा संशय कर निर्धारण गरिएको करदातालाई ऐनको दफा १०२ बमोजिम दिइएको सूचनामा कुनै रकम बुझाउन आदेश दिइएको भए सो आदेशबमोजिम बुझाउनुपर्ने रकमलाई यस ऐन बमोजिम तिर्नुपर्ने कर भनिन्छ ।
४. भुक्तानीमा करकट्टी गरेको वा करकट्टी गरेको मानिने रकम
ऐनको दफा ८७ ले पारिश्रमिकको भुक्तानीमा रोजगारदाताले, दफा ८८ ले लगानी प्रतिफल (भाडा, ब्याज, रोयल्टी, प्राकृतिक स्रोत बापतको रकम), सेवा शुल्क (बैठक भत्ता, व्यवस्थापन वा प्राविधिक सेवा शुल्क समेत सेवा उपलब्ध गराएबापत भुक्तानी दिनुपर्ने रकम ) र बिक्री बोनसको भुक्तानीमा भुक्तानी दिने व्यक्तिले तथा अवकाश भुक्तानीमा अवस्थानुसार अवकाश कोष वा रोजगारदाताले दफा ८९ ले ठेक्का वा करार बापतको भुक्तानीमा र बीमा प्रिमियम बापत गैर बासिन्दालाई गरेको भुक्तानीमा भुक्तानी दिने व्यक्तिले तत् तत् दफामा उल्लिखित विधि र दर अनुसार करकट्टी गर्नुपर्ने व्यवस्था गरेको छ । यस सम्बन्धमा यस निर्देशिकाको परिच्छेद १६ मा विस्तृत रूपमाव्याख्या गरिएको छ । भुक्तानीमा करकट्टी गर्नुपर्ने व्यक्ति वा निकायले भुक्तानीमा कर कट्टी गरेको रकम दफा ९० बमोजिम सम्बन्धित कार्यालयमा बुझाउनु पर्दछ । त्यस्ता रकम भुक्तानी गर्दा भुक्तानीकर्ताले वा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यक्ति वा निकायले भुक्तानीमा कर कट्टी नगरेमा पनि कर कट्टी गर्नुपर्ने समयमा कर कट्टी गरेको मानिन्छ | भुक्तानीमा कर कट्टी नगरेको कर रकम बुझाउने दायित्व कर कट्टी गर्ने र कर कट्टी हुने दुवै व्यक्तिको हुने व्यवस्था छ । त्यसरी भुक्तानीमा कर कट्टी गर्ने वा भुक्तानीमा कर कट्टी हुने व्यक्तिले बुझाउनु पर्ने भुक्तानीमा कर कट्टी गरेको वा भुक्तानीमा कर कट्टी गरेको मानिने रकमलाई यस ऐन बमोजिम तिर्नु पर्ने कर भनिन्छ ।
५. अग्रिम कर असुली गरेको वा अग्रिम कर असुली गरेको मानिने रकम ऐनको दफा ९५क. अनुसार निम्न अवस्थामा अग्रिम कर असुल गर्नु पर्दछः
• कमोडिटी बजारमा कारोबार गरी मुनाफा र लाभ आर्जन गरेका व्यक्तिबाट कमोडिटी बजारका सञ्चालकले,
• कुनै बासिन्दा निकायमा रहेको हित अर्थात कुनै बासिन्दा निकायले जारी गरेको धितोपत्रको निःसर्गबाट कुनै व्यक्तिलाई लाभ भएमा त्यस्तो लाभमा सो धितोपत्र सूचिकृत कम्पनीको भए सूचिकृत गर्ने निकायले र अन्य निकायको हकमा जुन निकायको धितोपत्र निःसर्ग गरिएको हो सोही निकायले,
• कुनै प्राकृतिक व्यक्तिलाई कुनै घरजग्गा वा घर वा जग्गाको निःसर्गबाट कुनै लाभ भएको भए त्यस्तो लाभमा र प्राकृतिक व्यक्ति बाहेक अन्य व्यक्तिको घरजग्गा वा घर वा जग्गाको निसर्गमा सम्बन्धित मालपोत कार्यालयले,
• ऐनमा उल्लेख भएका कृषिजन्य वस्तु पैठारीमा सम्बन्धित भन्सार कार्यालयले ।
अग्रिम करकट्टी गरी असुल गर्नुपर्ने व्यक्ति वा निकायले अग्रिम कर कट्टी गरेको रकम दफा ९५क.(१०) बमोजिम सम्बन्धित कार्यालयमा बुझाउनु पर्दछ । त्यस्ता रकम भुक्तानी गर्दा भुक्तानीकर्ताले वा अग्रिम कर असुल गर्नुपर्ने व्यक्ति वा निकायले अग्रिम कर असुल नगरेमा पनि कर असुल गर्नुपर्ने समयमा कर असुल गरेको मानिन्छ । अग्रिम कर असुल गरेर पनि नबुझाएको रकम बुझाउने जिम्मेवारी सो कर असुल गर्ने व्यक्तिको हुन्छ । अग्रिम कर असुल नगरेको कर रकम बुझाउने दायित्व कर असुल गर्ने र कर भुक्तानी हुने दुवै व्यक्तिको हुने व्यवस्था छ । त्यसरी अग्रिम कर असुल गर्ने वा हुने व्यक्तिले बुझाउनुपर्ने अग्रिम कर असुल गरेको वा असुल गरेको मानिने रकमलाई ऐन बमोजिम तिर्नुपर्ने कर भनिन्छ ।
६. ऐन बमोजिम लाग्ने शुल्क:
कुनै व्यक्तिले बुझाउनुपर्ने देहाय बमोजिमका विवरण नबुझाएमा वा ढिला बुझाएमा वा देहायका कसूर गरेमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्ने व्यवस्था छ ।
(१) दफा ११७(१)(ग) बमोजिमको शुल्क: दफा ९६ बमोजिम दाखिला गर्नुपर्ने आय विवरण आय वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र वा विवरण दाखिला गर्ने म्याद थप पाएको भए थप म्यादभित्र नबुझाएमा पूर्वानुमानित कर तिर्ने व्यक्तिको हकमा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकम र अन्य व्यक्तिको हकमा सो आय वर्षको आयको गणना गर्दा समावेश गर्नुपर्ने सबै आय रकमको शून्य दशमलव एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम ।
(२) दफा ११७(१)(क) बमोजिमको शुल्क: दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षको अनुमानित करको विवरण सो आय वर्षको पौष मसान्तभित्र दाखिला नगरेमा प्रति विवरण पाँच हजार रुपैयाँ वा आय विवरणमा उल्लिखित निर्धारणयोग्य आय रकमको शून्य दशमलव शून्य एक प्रतिशतले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम ।
(३) दफा ११७(१)(ख) बमोजिमको शुल्क: दफा ९५क को उपदफा (९) बमोजिम दाखिला गर्नुपर्ने अग्रिम कर असुलीको विवरण अग्रिम कर असुल भएको वा हुनुपर्ने महिना समाप्त भएको पच्चीस दिनभित्र नबुझाएमा कर कट्टी भएको हुनुपर्ने रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम ।
(४) दफा ११७(३) बमोजिमको शुल्क: दफा ९० बमोजिम दाखिला गर्नुपर्ने अग्रिम कर कट्टीको विवरण कर कट्टी भएको वा हुनुपर्ने महिना समाप्त भएको पच्चीस दिनभित्र नबुझाएमा कर कट्टी भएको वा हुनुपर्ने रकमको वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुने रकम ।
(५) दफा ११७(२) बमोजिमको शुल्कः दफा ८१ बमोजिम राख्नुपर्ने कागजात नराखेमा कागजात नराखेको आय वर्षको सबै आय रकमको शून्य दशमलव एक प्रतिशतका दरले हुने रकम वा एक हजार रुपैयाँका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम ।
(६) दफा ११९क. बमोजिमको शुल्कः यस ऐन र ऐन अन्तर्गत बनेका नियमका कुनै व्यवस्थालाई पालना नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म शुल्क लाग्ने ।
(७) दफा १२० बमोजिमको शुल्कः कुनै करदाताले विभाग वा कार्यालयमा दिएको विवरण वा जानकारी भूलवश झुट्टा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट घटी हुनगएको कर रकमको पचास प्रतिशत र जानाजानी वा लापरवाही गरेको कारणले त्यस्तो विवरण वा जानकारी भुट्टा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट घटी हुन गएको कर रकमको शतप्रतिशत ।
(८) दफा १२१ बमोजिमको शुल्क: ऐन अनुसार कसूर मानिने कुनै कार्य गर्न कुनै व्यक्तिले कसैलाई प्रोत्साहन गरेमा निजले प्रोत्साहन गरेको कारणले कुनै करदाताले कम तिरेको कर बराबरको रकम । उपर्युक्त बमोजिम बुझाउनुपर्ने शुल्कको रकमलाई यस ऐन बमोजिम तिर्नुपर्ने कर
भनिन्छ ।
७. ऐन बमोजिम लाग्ने ब्याजः
कुनै व्यक्तिले बुझाउनुपर्ने कर तोकिएको समयमा नबुझाएमा त्यस्तो व्यक्तिलाई दाखिला गर्न बाँकी रकममा कर दाखिला गर्नुपर्ने समय र कर दाखिला गरेको समयबीचको अवधिभरका लागि वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था ऐनको दफा ११९ ले गरेको छ । यस अनुसार कुनै करदाताले दाखिला गर्नुपर्ने किस्ता बापतको कर वा आय विवरण बमोजिम दाखिला गर्नुपर्ने कर समयमा दाखिला नगरेमा वा कुनै कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले कर कट्टी गरेको वा कर कट्टी गरेको मानिने कर रकम समयमा दाखिला नगरेमा उपर्युक्त अनुसारको दरले ब्याज लाग्दछ र त्यस्तो ब्याजलाई यस ऐन बमोजिम तिर्नुपर्ने कर भनिन्छ ।
९. दाबी वा लिलाम खर्च:
कर बक्यौता राख्ने व्यक्ति वा करदाताले तिर्न बाँकी कर असुल गर्ने प्रयोजनका लागि विभाग वा कार्यालयले सो व्यक्तिको कुनै सम्पत्ति दाबी गर्दा वा लिलाम बिक्री गर्दा कुनै खर्च भएको भए कार्यालय वा विभागले सो खर्च बराबरको रकम सो कर बक्यौता राख्ने व्यक्तिबाट असुल उपर गरि लिन पाउँछ र त्यस्तो रकमलाई यस ऐन बमोजिम तिर्नुपर्ने कर भनिन्छ ।
दफा १२९ बमोजिम बुझाउनुपर्ने जरिवानाको रकमः ऐनको परिच्छेद २३ मा उल्लिखित कसूरमध्ये कर दाखिला नगरेको वा झुट्टा वा भ्रमपूर्ण विवरण दिएको वा कर प्रशासनमा बाधा विरोध गरेको वा ऐनको पालना नगरेको वा ती कसूरमा मतियार रहेको कुनै व्यक्ति वा करदाताले विभाग वा कार्यालयले अदालती कारबाहीको प्रक्रिया सुरु गर्नु अगावै उपर्युक्तमध्ये आफूले गरेको कुनै कसूर लिखित रूपमा स्वीकार गरेमा निजले स्विकारेका सबै कसूर गरे बापत लाग्ने जरिवाना रकममा नबढ्ने गरी जरिवाना दाखिला गर्न विभागको महानिर्देशकले सो व्यक्तिलाई आदेश दिन सक्तछ र त्यसरी जरिवानाको रकम दाखिला गर्न आदेश पाएको व्यक्तिले सो आदेश बमोजिम तिर्नुपर्ने जरिवाना रकमलाई यस ऐन बमोजिम तिर्नुपर्ने कर भनिन्छ ।
१०. विभागले दिएको आदेश बमोजिम कुनै दोश्रो वा तेश्रो पक्षले बुझाउनुपर्ने रकमः
कर बक्यौता राख्ने निकायको कुनै व्यवस्थापक सो निकायले बुझाउन बाँकी कर बुझाउन जिम्मेवार हुन्छ । त्यस्तै कर बक्यौता राख्ने व्यक्तिको प्रापकलाई सो व्यक्तिको कर बक्यौता बराबरको रकम बुझाउन विभागले सूचित गरेमा सूचना बमोजिमको रकम बुझाउन सो प्रापक जिम्मेवार हुन्छ । कर बक्यौता राख्ने व्यक्तिलाई कुनै रकम बुझाउनुपर्ने व्यक्ति वा गैर बासिन्दा व्यक्तिको कर बक्यौता रहेकोमा सो व्यक्तिको एजेन्टलाई कर बक्यौता राख्ने व्यक्तिले बुझाउन बाँकी रहेको करको हदसम्मको रकम बुझाउन विभागले आदेश दिन सक्तछ र आदेशमा उल्लिखित रकम बुझाउनु त्यसरी आदेश पाएको व्यक्तिको कर्तव्य हुन्छ । यसरी उपर्युक्त उल्लिखित कुनै व्यक्तिले ऐन वा विभागीय आदेशबमोजिम बुझाउनुपर्ने रकमलाई यस ऐन बमोजिम तिर्नुपर्ने कर भनिन्छ
२७.४ कर तिर्नुपर्ने स्थान र तरिका
ऐनको दफा ८५ को उपदफा (१) मा कर तिर्नुपर्ने व्यक्तिले कर तिर्ने स्थान र कर तिर्ने तरिकाको सम्बन्धमा देहायको व्यवस्था गरेको छ ।
८५(१): यस ऐन बमोजिम तिर्नुपर्ने कर तोकिएको स्थान र तरिका बमोजिम बुझाउनु पर्नेछ र त्यसरी तिर्नुपर्ने कर विद्युतीय माध्यमबाट समेत तिर्नुपर्ने गरी विभागले तोक्न सक्नेछ ।
ऐनको उक्त व्यवस्थाको अधीनमा रही नियमावलीको नियम २९ ले कर तिर्नुपर्ने व्यक्तिले कर तिर्ने स्थान र करतिर्ने तरिकाको सम्बन्धमा देहायको व्यवस्था गरेको छ ।
नियम २९(१): कुनै व्यक्तिले ऐन बमोजिम तिर्नुपर्ने कर देहायको स्थानमा देहाय बमोजिम तिर्नु पर्नेछ:
(क) विभागले कुनै व्यक्तिलाई कर तिर्ने स्थान सूचित गरेको भए सोही स्थानमा,
(ख) खण्ड (क) बाहेकका अन्य अवस्थामा सरकारी कारोबार गर्न मान्यता प्राप्त बैंक वा विभागमा ।नियम २९(२) : कुनै व्यक्तिले उपनियम (१) बमोजिम सरकारी कारोबार गर्न मान्यता प्राप्त बैंकमा कर बुझाएको भए सोको जानकारी विभागमा दिनु पर्नेछ ।
नियम २९(३) उपनियम (१) बमोजिम कर बुझाउँदा देहाय बमोजिम बुझाउन सकिनेछ:
(क) विभागमा भुक्तानी गर्दा विभागले तोकेको सीमासम्म नगद र सो सीमा भन्दा बढी भएमा चेक वा ड्राफ्टबाट, वा
(ख) सरकारी कारोबार गर्न मान्यता प्राप्त बैंकमा भुक्तानी गर्दा नगद, चेक, ड्राफ्ट वा विद्युतीय माध्यमबाट ।नियम २९(४): उपनियम (३) बमोजिम चेकबाट कर बुझाएकोमा कुनै कारणले सो चेकको भुक्तानी नभएमा सो चेकबाट भुक्तानी प्राप्त गर्न विभागले भुक्तानी मितिसम्म गरेको सम्पूर्ण खर्च बापत विभागले तोकेको रकम सो चेक बुझाउने व्यक्तिले विभागमा बुझाउनु पर्नेछ । यसरी विभागले खर्चको रकम तोक्दा भुक्तानी मितिसम्म कर बापत लाग्ने ब्याज, शुल्क तथा जरिवानाको रकम समेत समावेश गर्नु पर्नेछ ।
२७.५ कर भुक्तानी गर्ने समय
ऐनको दफा ८५ को उपदफा (२) ले ऐन बमोजिम तिर्नु बुझाउनुपर्ने कर रकम तिर्नु बुझाउनुपर्ने समयका बारेमा देहायको व्यवस्था गरेको छ ।
८५(२): यस ऐन बमोजिम तिर्नुपर्ने कर उपदफा (१) का अधीनमा रही देहायको समयमा बुझाउनु पर्नेछ:
८५(२)(क) अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्नेले दफा ९० को उपदफा (४) मा उल्लिखित समयमा,
अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्ने व्यक्तिले जुन महिनामा अग्रिम कर कट्टी गर्नुपर्ने हो सो महिना समाप्त भएको पच्चीस दिनभित्र कर रकम जम्मा गर्नुपर्दछ ।
८५(२)(ख) किस्ताबन्दीमा कर बुझाउनु पर्नेले दफा ९४ को उपदफा (१) मा उल्लिखित समयमा,
किस्ताबन्दीमा बुझाउनुपर्ने व्यक्तिले अनुमानित कर रकमको प्रथम किस्ता पौष मसान्तभित्र, दोश्रो किस्ता चैत्र मसान्तभित्र एवम् तेश्रो तथा अन्तिम किस्ता सो आ.व. को असार मसान्तभित्र बुझाउनु पर्दछ ।
८५(२)(ग) निर्धारण गरिएका कर बुझाउनु पर्नेले
(१) दफा ९९ बमोजिमको कर निर्धारण सम्बन्धमा आय विवरण बुझाउनुपर्ने मितिमा, स्वयं कर निर्धारण गर्ने व्यक्तिले आय विवरण अनुसार कूल कर रकमबाट किस्ता दाखिला सहित अग्रिम दाखिला गरेको रकम घटाई बाँकी नपुग कर रकम आय विवरण साथ अर्थात आय वर्ष समाप्त भएको तीन महिनाभित्र दाखिला गर्नुपर्दछ ।
(२) दफा १०० को उपदफा (२) बमोजिम गरिएको कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम बुझाएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र, विभागले संशय कर निर्धारण गरेको खण्डमा संशय कर निर्धारण भएको व्यक्तिलाई सो सम्बन्धमा ऐनको दफा १०२ बमोजिम बुझाइएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र सो व्यक्तिले बाँकी कर बुझाउनु पर्दछ ।
(३) दफा १०१ बमोजिम भएको संशोधित कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम बुझाएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र ।
विभागले संशोधित कर निर्धारण गरेको खण्डमा संशोधित कर निर्धारण भएको व्यक्तिलाई सो सम्बन्धमा ऐनको दफा १०२ बमोजिम बुझाइएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र सो व्यक्तिले बाँकी कर बुझाउनु पर्दछ ।
८५(२)(घ) दफा १०४ को उपदफा (८), दफा १०९ को उपदफा (१) वा दफा ११० को उपदफा (१) बमोजिम जारी भएको सूचना बमोजिम विभागलाई बुझाउनुपर्ने रकमहरुको सम्बन्धमा सो सूचनामा उल्लिखित मितिमा,
कुनै व्यक्तिको बक्यौता कर असुल गर्ने प्रयोजनका लागि विभागले सो व्यक्तिको कुनै सम्पत्ति दाबी गर्दा वा लिलाम बिक्री गर्दा भएका खर्चका सम्बन्धमा कर बक्यौता रहेको व्यक्तिलाई ऐनको दफा १०४ को उपदफा (८) बमोजिम दिइएको सूचनामा उल्लिखित मितिमा सो व्यक्तिले माग गरिएको रकम (कर) बुझाउनु पर्दछ ।
दफा १०९ को उपदफा (१) बमोजिम कर बक्यौता रहेको व्यक्तिलाई रकम बुझाउनुपर्ने व्यक्ति र दफा ११० को उपदफा (१) बमोजिम कर बक्यौता रहेको गैर बासिन्दा व्यक्तिको एजेन्टलाई विभागले जारी गरेको सूचना बमोजिम ती व्यक्तिले बुझाउनुपर्ने कर बुझाउन जारी गरेको सूचनामा उल्लिखित मितिसम्ममा बुझाउनु पर्दछ ।
८५(२)(ङ) दफा १०७ को उपदफा (२) बमोजिम कुनै निकायले कर नबुझाई कायम हुन आएको दायित्वको सम्बन्धमा सो निकायबाट जुन समयमा कर बुझाउनु पर्ने हो सोही समयमा,
कुनै निकायले कर नबुझाई कायम हुन आएको कर दायित्व बुझाउन ऐनको दफा १०७ को उपदफा (२) बमोजिम सो निकायबाट नबुझाईएको कर जुन समयमा बुझाउनुपर्ने हो सोही समयमा बुझाउन सो निकायको जिम्मेवार एक वा सो भन्दा बढी अधिकृत वा व्यवस्थापक जिम्मेवार हुनेछन् ।
८५(२)(च) दफा १०८ को उपदफा (३) वा (४) बमोजिम माग गरिएको रकमको सम्बन्धमा क्रमशः लिलाम बिक्री गरी रकम मिलान गरिएको वा मिलान गर्न नसकिएको मितिले सात दिनभित्र र
कर बक्यौता रहेको व्यक्तिको बुझाउन बाँकी करको हदसम्मको रकम बुझाउन विभागले ऐनको दफा १०८ को उपदफा (२) को सूचना दिए बमोजिम ऐनको दफा १०८ को उपदफा (३) अनुसार प्रापकले त्यस्तो व्यक्तिको कुनै सम्पत्ति बिक्रीबाट प्राप्त रकममध्ये कर तिर्न छुट्याएको रकम सो प्रापकले त्यस्तो सम्पत्तिको बिक्रीबाट प्राप्त रकममध्ये बक्यौता कर रकम छुट्याएको मितिले सात दिनभित्र बुझाउनु पर्दछ । यदिसो व्यक्तिले सम्पत्तिको बिक्रीबाट प्राप्त रकममध्ये कर तिर्न नछुट्याए पनि यसरी सम्पत्ति बिक्रीबाट छुट्याउनुपर्ने मितिले सात दिनभित्र त्यस्तो रकम बुझाउनु पर्दछ ।
८५(२)(छ) दफा १२२ बमोजिम निर्धारण गरिएका शुल्क तथा ब्याजको सम्बन्धमा निर्धारणको सूचनामा उल्लिखित मितिमा
दफा १२२ बमोजिम विभाग वा कार्यालयले निर्धारण गरे अनुसार तिनुपर्ने शुल्क तथा ब्याज, त्यस्तो शुल्क तथा ब्याज निर्धारण भएको व्यक्तिलाई बुझाइएको ऐनको दफा १०२ बमोजिमको कर निर्धारणको सूचना वा अन्य सूचनामा तोकिएको म्यादभित्र त्यस्तो रकम बुझाउनु पर्दछ । ऐन बमोजिम बुझाउनुपर्ने कर र समय तलको तालिकामा दिइएको छ:
ऐन बमोजिम तिर्नुपर्ने कर र बुझाउनुपर्ने समय
| सि.नं. | कर वा रकमको विवरण | बुझाउनुपर्ने समय |
|---|---|---|
| १ | भुक्तानीमा कर कट्टी गर्ने व्यक्तिले तिर्नुपर्ने भुक्तानीमा कर कट्टी गरेको कर रकम वा भुक्तानीमा कर कट्टी गर्ने वा भुक्तानीमा कर कट्टी हुने व्यक्तिले तिर्नुपर्ने भुक्तानीमा कर कट्टी गर्ने व्यक्तिले तिर्न बाँकी अग्रिम कर वा असुल गरेको कर रकम वा अग्रिम कर असुल नगरे पनि कर कट्टी वा असुल गरेको मानिने रकम | जुन महिनामा भुक्तानीमाकर कट्टी गर्नुपर्ने हो सो महिनासमाप्त भएको पच्चीस दिनभित्र जुन महिनामा अग्रिम कर असुल गर्नुपर्ने हो सो महिना समाप्त भएको पच्चीस दिनभित्र |
| २ | (क) किस्ताबन्दीमा बुझाउनुपर्ने अनुमानित कर (करदाताले गणना गरेको वा विभागले अनुमान गरेको रकम) प्रथम किस्ता दोश्रो किस्ता तेश्रो किस्ता |
किस्ता तिर्नुपर्ने आ.व. को पौप मसान्तभित्र किस्ता तिर्नुपर्ने आ.व. को चैत्र मसान्तभित्र किस्ता तिर्नुपर्ने आ.व. को असार मसान्तभित्र |
| (ख) कारोबारको आधारमा कर दाखिला गर्नुपर्ने करदाताका लागि (करदाताले गणना गरेको वा विभागले अनुमान गरेको रकम): प्रथम किस्ता दोश्रो किस्ता |
किस्ता तिर्नुपर्ने आ.व. को पौष मसान्तभित्र किस्ता तिर्नुपर्ने आ.व. को असार मसान्तभित्र |
|
| ३ | ऐनको दफा ९६ बमोजिम आय विवरण बुझाएको र दफा ९९ बमोजिम कर निर्धारण गरेको व्यक्तिले आय विवरण अनुसार तिर्न बाँकी कर रकम | आय विवरण बुझाउनुपर्ने मिति अर्थात आयवर्ष समाप्त भएको तीन महिनाभित्र |
| ४ | दफा १०० को उपदफा (२) बमोजिम गरिएको संशय कर निर्धारण अनुसार तिर्नुपर्ने कर | संशय निर्धारण भएको कर व्यक्तिलाई ऐनको दफा १०२ बमोजिम बुझाइएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र |
| ५ | दफा १०१ बमोजिम गरिएको संशोधित कर निर्धारण अनुसार तिर्नुपर्ने कर | संशोधित कर निर्धारण भएको व्यक्तिलाई ऐनको दफा १०२ बमोजिम बुझाइएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र |
| ६ | कुनै व्यक्तिको बक्यौता कर असुल गर्ने प्रयोजनका लागि विभागले सो व्यक्तिको कुनै सम्पत्ति दाबी गर्दा वा लिलाम बिक्री गर्दा भएका खर्च | त्यस्ता खर्चका सम्बन्धमा कर बक्यौता रहेको व्यक्तिलाई ऐनको दफा १०४ को उपदफा (८) बमोजिम दिइएको सूचनामा उल्लिखित मितिमा |
| ७ | दफा १०९ को उपदफा (१) बमोजिम कर बक्यौता रहेको व्यक्तिलाई रकम बुझाउनुपर्ने व्यक्ति र दफा ११० को उपदफा (१) बमोजिम कर बक्यौता रहेको गैर बासिन्दा व्यक्तिको एजेन्टलाई विभागले जारी गरेको सूचना बमोजिम ती व्यक्तिले बुझाउनुपर्ने रकम | विभागले ती व्यक्तिलाई रकम बुझाउन जारी गरेको सूचनामा उल्लिखित मिति |
| ८ | कुनै निकायले कर नबुझाई कायम हुन आएको कर दायित्व बुझाउन ऐनको दफा १०७ को उपदफा (२) बमोजिम जिम्मेवार सो निकायका एक वा सोभन्दा बढी अधिकृत वा व्यवस्थापकले बुझाउनुपर्ने सो निकायको बक्यौता रहेको कर रकम | सो निकायबाट नबुझाइएको कर जुन समयमा बुझाउनुपर्ने हो सोही समयमा |
| ९ | कर बक्यौता रहेको व्यक्तिको बुझाउन बाँकी करको हदसम्मको रकम बुझाउन विभागले ऐनको दफा १०८ को उपदफा (२) को सूचना दिए बमोजिम ऐनको दफा १०८ को उपदफा (३) अनुसार प्रापकले त्यस्तो व्यक्तिको कुनै सम्पत्तिको बिक्रीबाट प्राप्त रकममध्ये सो व्यक्तिको कर तिर्न छुट्याएको रकम | सम्पत्तिको विक्रीबाट प्राप्त रकममध्ये रकम छुट्याएको मितिले सात दिनभित्र |
| १० | कर बक्यौता रहेको व्यक्तिको बुझाउन बाँकी करको हदसम्मको रकम बुझाउन विभागले ऐनको दफा १०८ को उपदफा ( २) बमोजिम दिएको सूचना बमोजिम सो व्यक्तिको प्रापकलेत्यस्तो व्यक्तिको कुनै सम्पत्तिको बिक्रीबाट प्राप्त रकममध्ये सो व्यक्तिको कर तिर्न कुनै रकम नछुट्याएमा र ऐनको दफा १०८ को उपदफा (४) बमोजिम प्रापकले व्यक्तिगत रूपमा सो रकम तिर्नुपर्ने भएमा | सम्पत्तिको बिक्रीबाट प्राप्त रकममध्ये कर बापत कुनै रकम छुट्याउनुपर्ने मितिले सात दिनभित्र |
| ११ | दफा १२२ अनुसार विभागले निर्धारण गरे अनुसार तिर्नुपर्ने शुल्क तथा ब्याज | शुल्क तथा व्याज निर्धारण भएको व्यक्तिलाई बुझाइएको ऐनको दफा १०२ बमोजिमको कर निर्धारणको सूचना वा अन्य सूचनामा तोकिएको म्यादभित्र |
| १२ | दफा ११९ बमोजिम विभागले दिएको आदेश बमोजिम बुझाउनुपर्ने जरिवानाको रकम | सोही आदेशमा उल्लिखित मितिमा |
ऐन बमोजिम असुल उपर गर्नुपर्ने कर बुझाउनुपर्ने मिति प्रभावित नहुने सम्बन्धमा ऐनको दफा ८५ को उपदफा (३) मा देहायको व्यवस्था गरेको छ ।
८५(३): देहायका अवस्थामा कर बुझाउनुपर्ने मिति प्रभावित हुने छैन:
(क) कर असुलउपर गर्न परिच्छेद२० बमोजिम विभागले गरेको कारबाही, वा
(ख) यस ऐन बमोजिम अन्य कारबाही गर्न प्रारम्भ गरिएकोमा ।
ऐन बमोजिम बुझाउनुपर्ने करको परिभाषाभित्र पर्ने हरेक प्रकारका रकम जुन मिति वा समयमा बुझाउनुपर्ने गरी ऐनले व्यवस्था गरेकोछ सोही मिति र समयसम्ममा बुझाउनु पर्दछ । कुनै करदाताले कर बापतको रकम बुझाउनुपर्ने समयभन्दा पछाडि बुझाएमा त्यस्तो ढिला बुझाइएको शुल्क, व्याज तथा जरिवाना बाहेक अन्य कर रकममा करदाताले सामान्य व्याज दरले (वार्षिक पन्ध्र प्रतिशतका दरले) ब्याज भुक्तान गर्नुपर्दछ । कर बापत बुझाउनुपर्ने कुनै रकम कुनै करदाताले समयमा नबुझाएमा त्यस्तो बुझाउन बाँकी कर र त्यसमा लाग्ने व्याज असुलउपर गर्न विभागले सो करदाताको कुनै सम्पत्ति रोक्का वा लिलाम बिक्री गर्न वा निजले अन्य कुनै व्यक्तिबाट प्राप्त गर्नुपर्ने रकममध्येबाट असुल उपर गर्न सक्तछ ।
२७.६ बुझाउनु पर्ने करको प्रमाण
ऐन बमोजिम तिर्नु बुझाउनुपर्ने कुनै कर समयमा नतिर्ने वा बक्यौता राख्ने करदाता वा व्यक्तिबाट त्यस्तो बक्यौता कर असुल उपर गर्न विभागले ऐनको परिच्छेद २० वा २३ बमोजिमको कारबाही गर्नुपर्दछ । यस्तो कारबाही प्रारम्भ गरिएको कर बक्यौता रहेको व्यक्तिले आफूले कुनै कर तिर्न बाँकी नरहेको वा विभागले दाबी गरे अनुसारको रकमभन्दा बक्यौता कर रकम कम रहेको दाबी गर्न सक्तछ। यस सम्बन्धमा ऐनको दफा ८६ ले देहायको व्यवस्था गरेको छ ।
८६ कुनै व्यक्तिको नाम, ठेगाना र सो व्यक्तिले बुझाउनुपर्ने करको रकम उल्लेख गरी बिभागको अधिकृतले हस्ताक्षर गरेको प्रमाणपत्र नै देहायका काम कारबाहीमा सो व्यक्तिबाट बुझाउनुपर्ने कर रकमको निमित्त पर्याप्त प्रमाण हुनेछ:
(क) कर असूलउपर गर्न परिच्छेद - २० बमोजिम विभागले गरेको कारबाही, वा
(ख) परिच्छेद-२३ बमोजिम कुनै कसूर सम्बन्धी कारबाही ।
विभागको कुनै अधिकृतले कर बुझाउन बाँकी रहेको कुनै करदाता वा व्यक्तिको विभागमा रहेको अभिलेख बमोजिमको नाम, ठेगाना र निजले बुझाउन बाँकी करको रकम उल्लेख गरी सो करदाता वा व्यक्तिलाई जारी गरेको कुनै प्रमाणपत्र (सो करदाता वा व्यक्तिलाई जारी गरिएको सूचना वा पत्र) मा उल्लिखित रकम सो करदाता वा व्यक्तिले बुझाउनुपर्दछ । कुनै करदाता वा व्यक्तिलाई निजले बुझाउनुपर्ने करको रकम उल्लेख गरी ऐनको दफा ९० को उपदफा (८) बमोजिम जारी गरिएको आदेश वा दफा ९५ को उपदफा (७) र दफा १०२ बमोजिम जारी गरिएको सूचनालाई बुझाउन बाँकी करको प्रमाणको रूपमा लिन सकिन्छ । त्यसरी सूचना वा पत्र जारी गरिएको करदाता वा व्यक्तिले सो सूचना वा पत्रमा उल्लिखित रकम नबुझाएमा विभाग वा कार्यालयले उक्त रकम असुल उपर गर्न ऐनको परिच्छेद २० वा २३ बमोजिम असुलीको कारबाही प्रारम्भ गर्नसक्तछ । त्यस्तो कारबाही प्रारम्भ गर्न विभागको कुनै अधिकृतले कर बक्यौता रहेको करदाता वा व्यक्तिलाई जारी गरेको सूचना वा पत्र नै त्यस्तो व्यक्ति वा करदाताले कर बुझाउन बाँकी रहेको प्रमाणित गर्न पर्याप्त मानिन्छ ।