Skip to content

परिच्छेद १८: किस्ताबन्दी र अग्रिम कर

[..........] किस्ताबन्दी [र] 1 अग्रिम कर

९४. किस्ताबन्दीमा कर दाखिला

[(१) कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम तीन किस्तामा कर दाखिला गर्नु पर्नेछ:-

दाखिला गर्नु पर्ने मिति दाखिला गर्न पर्ने कर रकम
पुस महिनाको अन्त्यसम्म अनुमानित करको चालीस प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम
चैत्र महिनाको अन्त्यसम्म अनुमानित करको सत्तरी प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम
असार महिनाको अन्त्यसम्म अनुमानित करको शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम

स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि:
(क) "अनुमानित कर" भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नु पर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नु पर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्झनु पर्छ ।
(ख) "तिर्न बाँकी कर रकम भन्नाले अनुमानित करको यस उपदफामा किस्तामा दाखिला गर्न तोकिएको प्रतिशतले हुने रकमबाट देहायको कुल जम्मा रकम घटाउँदा नपुग हुने रकम सम्झनु पर्छ :-
  (१) सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्वारा त्यस्तो आय वर्षमा दाखिला गरेको कर रकम,
  (२) त्यस्तो आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद १७ बमोजिम उक्त वर्षमा त्यस्तो व्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीहरूबाट कट्टी भएको कर रकम,
  (३) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि उक्त वर्षमा कर कट्टी गर्ने एजेण्ट वा कर कट्टी हुने व्यक्तिले उपखण्ड (२) मा उल्लिखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम कर कट्टी भएको मानिने रकम विभागमा दाखिला गरेको भए त्यस्तो कर रकम, र
  (४) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधि उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दाबी गर्न सक्ने औषधि उपचार खर्चको कर मिलान रकम ।

[(१क) कारोबारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्नेछ:] 3

दाखिला गर्नु पर्ने मिति दाखिला गर्न पर्ने कर रकम
पुस महिनाको अन्त्यसम्म पुस २० गतेसम्मको कारोबारमा तोकिएको दर अनुसार लाग्ने कर
आषाढ महिनाको अन्त्यसम्म असार २० गतेसम्मको यथार्थ कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी त्यस्तो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बुझाउनु पर्ने [समग्र किस्ताको जम्मा] 4 रकम [सात हजार पाँच सय] 5 रुपैयाँभन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनु पर्ने छैन ।

(३) किस्ता दाखिला गर्ने व्यक्तिले यस दफा बमोजिम कुनै आय वर्षमा किस्ताबन्दीका माध्यमबाट दाखिला गरेको कर रकम सो वर्षमा लाग्ने कर बापत कट्टी गर्न पाउनेछ ।] 2

९५. दाखिल गर्नु पर्ने अनुमानित करको विवरण

(१) कुनै आय वर्षमा किस्ता दाखिला गर्नु पर्ने प्रत्येक व्यक्तिले दफा ९४ बमोजिम सो वर्षमा पहिलो कर किस्ता रकम बुझाउनु पर्ने मितिभित्र सो वर्षका लागि सो व्यक्तिको देहायका रकमको अनुमान उल्लेख गरी सोको विवरण [विभागबाट] 6 तोकिएको ढाँचा र तरिकामा विभागमा पेश गर्नु पर्नेछ:
(क) रोजगारी, व्यवसाय र लगानीको प्रत्येक स्रोतबाट उक्त व्यक्तिले सो वर्षमा प्राप्त गर्न सक्ने निर्धारणयोग्य आय तथा त्यस्तो आयको स्रोत,
(ख) सो वर्षमा प्राप्त हुन सक्ने सो व्यक्तिको करयोग्य आय र औषधि उपचार खर्च बापत कर मिलानको रकम नघटाई दफा ४ बमोजिम गणना गरी दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकम,
(ग) गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनको सम्बन्धमा त्यस्तो विदेशी संस्थापनले सो वर्षमा विदेश पठाएको आय रकम र सो आयमा दफा ४ को उपदफा (५) बमोजिम गणना गरिएको दफा ३ को खण्ड (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकम, र
(घ) विभागले तोकेको अन्य कुनै विवरण |

(२) उपदफा (१) मा उल्लिखित व्यक्तिको उपदफा (१) को खण्ड (ख) र (ग) मा उल्लिखित कर रकमको योग सो आय वर्षमा दाखिला गर्नु पर्ने अनुमानित कर हुनेछ ।

(३) उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै आय वर्षमा दाखिला गर्नु पर्ने करको अनुमान गर्न दफा ७१ बमोजिम दाबी गरिने वैदेशिक कर मिलान रकमको गणना गर्दा कुनै व्यक्तिले सो वर्षमा दाखिला गरेको कुनै वैदेशिक कर वा सो वर्षमा दाखिला गर्नु पर्ने भनी निजले अनुमान गरेको विदेशी आयकर मात्र गणना गर्नु पर्नेछ ।

(४) करको किस्ता दाखिला गर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिमको ढाँचामा आवश्यक जानकारी उल्लेख गरी संशोधनका कारणहरू खुलाई संशोधित अनुमान विभागमा पेश नगरेसम्म निजले सो उपदफा बमोजिम गरेको अनुमान सो आय वर्षभरको लागि कायम रहनेछ ।

(५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले उपदफा (४) बमोजिम पेश गरेको संशोधित अनुमान विभाग समक्ष पेश गरेको मिति पछि सो आय वर्षमा दफा ९४ बमोजिम बुझाउनु पर्ने करको किस्ताको हिसाब गर्दा मात्र लागू हुनेछ ।

(६) उपदफा (१) र (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नु पर्ने कुनै व्यक्ति वा करको किस्ता दाखिला गर्नु पर्ने कुनै वर्गले उपदफा (१) बमोजिम अनुमान पेश गर्नु नपर्ने गरी विभागले तोक्न सक्नेछ।

(७) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नु पर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिम कुनै आय वर्षमा अनुमान पेश नगरेमा वा पेश गरिएको अनुमान वा संशोधित अनुमानमा विभाग सन्तुष्ट नभएमा [..........] 7 विभागले देहाय बमोजिम गर्न सक्नेछ:
(क) सौ व्यक्तिको सो वर्षमा दाखिला गर्नु पर्ने अनुमानित करको अनुमान दफा ३ को खण्ड (क) वा (ख) मा उल्लिखित व्यक्तिले गत आय वर्षमा दाखिला गर्नु पर्ने करको आधारमा गर्न सक्नेछ, र
(ख) विभागले खण्ड (क) बमोजिम तयार गरेको अनुमान सो अनुमान तयार गर्न प्रयोग गरेको तरिका र व्यक्तिले पेश गरेको अनुमानमा बिभाग सन्तुष्ट हुन नसकेको भए सोको कारण समेत उल्लेख गरिएको लिखित सूचना विभागले किस्ता दाखिला गर्नु पर्ने व्यक्तिलाई दिनेछ ।

(८) विभागले किस्ता दाखिला गर्नु पर्ने व्यक्तिलाई उपदफा (७) बमोजिम सूचना दिएमा सो वर्षमा सो व्यक्तिले दाखिला गर्नु पर्ने अनुमानित कर रकम विभागले अनुमान गरेको रकम हुनेछ ।

९५क. अग्रिम कर असुल गर्ने

[(१) कमोडिटी फ्युचर मार्केट अन्तर्गत व्यापार गर्ने व्यक्तिबाट सो व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा दश प्रतिशतका दरले हुने रकम कमोडिटी फ्यूचर मार्केट सेवा सञ्चालन गर्ने निकायले अग्रिम कर असुल गर्नु पर्नेछ ।

(२) प्रचलित कानून बमोजिम दर्ता भई धितोपत्रको खरिद विक्रीको कारोबार गर्ने बासिन्दा निकाय बाहेक अन्य कुनै व्यक्तिलाई कुनै बासिन्दा निकायमा रहेको हितको निःसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ:
(क) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले [बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय पैंसठ्ठी दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत,] 9 [बासिन्दा निकायको हकमा लाभ रकमको दश प्रतिशत र अन्यको हकमा लाभ रकमको पच्चीस] 10 प्रतिशतका दरले,
(ख) नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित निःसर्ग भएको हो सोही निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत, [बासिन्दा निकायको हकमा लाभ रकमको पन्ध्र प्रतिशत र अन्यको हकमा लाभ रकमको पच्चीस] 11 प्रतिशतका दरले ।
[..........] 12

[(२क) उपदफा (२) को खण्ड (क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गर्नु पर्नेछ ।] 13

[(३) उपदफा (२) को खण्ड (ख) बमोजिमको हित निःसर्ग भई कम्पनी रजिष्ट्रार कार्यालयले शेयर अभिलेखीकरण गर्दा लाभ रकममा अग्रिम कर दाखिला भएको प्रमाण पेश भएपछि मात्र अभिलेखीकरण गर्नु पर्नेछ ।] 14

[(४) ..........] 15

(५) कुनै प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्ग बापत भएको पुँजीगत लाभमा मालपोत कार्यालयले रजिस्ट्रेशनका बखत देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ:
(क) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको छ भने [पाँच प्रतिशतका दरले] 16,
(ख) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वमित्व पाँच वर्षभन्दा कम भएको छ भने [सात दशमलव पाँच प्रतिशतका दरले] 17

[(६) उपदफा (५) मा लेखिएदेखि बाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवनको निःसर्ग भएको मूल्यमा मालपोत कार्यालयले रजिष्ट्रेशनका बखत एक दशमलव पाँच प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।] 18

[(६क) विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बासिन्दा बैङ्क वा वित्तीय संस्थाले त्यस्तो परीक्षा शुल्क बापतको रकममा विदेशी मुद्राको सटही सुविधा दिएको बखत पन्ध्र प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।] 19

[(६ख) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।] 20

[(६ग) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले व्यक्तिगत रुपमा नेपाल बाहिर परामर्श सेवा प्रदान गरे बापत विदेशी मुद्रामा कुनै भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।] 21

[(६घ) व्यवसाय सञ्चालनमा संलग्न नरहेको बासिन्दा प्राकृतिक व्यक्तिले सामाजिक सञ्जालमा श्रब्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।] 22

[(७) व्यापारिक प्रयोजनको लागि पैठारी हुने भन्सार दरबन्दीको भाग १ मा पर्ने राँगा, भैंसी, खसी, बोका, भेडा, च्याङ्ग्रा, भाग ३ मा पर्ने जीवित, ताजा तथा हिमीकृत गरिएको माछा, भाग ६ मा पर्ने ताजा फुलहरु, भाग ७ मा पर्ने ताजा तरकारी, आलु प्याज, [सुख्खा तरकारी, लसुन, बेबी कर्न] 24 र भाग ८ मा पर्ने ताजा फलफूलहरुमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा पाँच प्रतिशत [तथा भाग २ को मासु, भाग ४ को दूधजन्य पदार्थ, अण्डा, मह, भाग १० को कोदो, फापर, जुनेलो. चामल, कनिका, भाग ११ को मैदा, आँटा तथा पिठो, भाग १२ को जडिबटी, उख र भाग १४ को वनस्पतिजन्य उत्पादनमा दुई दशमलव पाँच प्रतिशत] 25 अग्रिम आयकर भन्सार बिन्दुमै असुल उपर गरिनेछ ।] 23

[(८) उपदफा (१), (२), (५) र (६) बमोजिम अग्रिम कर असुल गर्नु पर्ने व्यक्ति वा निकायले अग्रिम कर असुल नगरेको भए पनि असुल हुनु पर्ने समयमा सो कर असुल गरेको मानिनेछ । ] 26

[(९) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चीस दिनभित्र विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ ।] 27

[(१०) उपदफा (९) मा उल्लिखित विवरणसँग अग्रिम कर असुल गरिएको रकम वा उपदफा (८) बमोजिम असुल गरेको मानिएको रकम सोही उपदफा बमोजिमको म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।] 28

[(११) देहाय बमोजिमको अवस्थामा अग्रिम कर दाखिला गर्नु पर्ने र असुल गर्नु पर्ने व्यक्ति दुवै जना संयुक्त रूपमा र छुट्टाछुट्टै रूपमा त्यस्तो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन्:
(क) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले अग्रिम कर असुल नगरेमा, र
(ख) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले [उपदफा (८)] 30 बमोजिम असुल गरेको मानिने रकम [उपदफा (१०)] 31 बमोजिम विभागमा दाखिला नगरेमा ।] 29

(१२) [उपदफा (११)] 32 बमोजिम अग्रिम कर दाखिला गर्नु पर्ने व्यक्तिले [उपदफा (९)] 33 मा उल्लिखित म्याद समाप्त भएको पच्चीस दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ।

[(१३) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले असुल नगरेको अग्रिम कर [उपदफा (१०)] 35 बमोजिम विभागमा दाखिला गरेको भए त्यसरी दाखिला भएको कर रकम बराबरको रकम त्यस्तो कर दाखिला गर्नु पर्ने व्यक्तिबाट असुल उपर गर्न पाउनेछ ।] 34

[(१४) यस दफा बमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नु पर्ने व्यक्तिले तिर्नु पर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ ।] 36] 8


  1. आर्थिक ऐन, २०६७ द्वारा थप भई त्यसपछिका आर्थिक ऐनबाट निरन्तरता कायम भएको र आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम | 

  2. आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई निरन्तरता कायम भई आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम। मूल ऐनको व्यवस्थाः “९४. किस्ताबन्दीमा कर दाखिला:
    (१) कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम तीन किस्तामा कर दाखिला गर्नु पर्नेछः-

    दाखिला गर्नु पर्ने मिति दाखिला गर्न पर्ने कर रकम
    पुस महिनाको अन्त्यसम्म तिरिसकेको करभन्दा बढी हुन आउने अनुमानित करको ४०%
    चैत्र महिनाको अन्त्यसम्म तिरिसकेको करभन्दा बढी हुन आउने अनुमा करको ७०%
    असार महिनाको अन्त्यसम्म तिरिसकेको करभन्दा बढी हुन आउने अनुमानित करको १००%

    स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि,
    (क) “अनुमानित कर” भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नु पर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नु पर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्झनु पर्छ ।
    (ख) “तिरिसकेको कर” भन्नाले देहायको कुल जम्मा सम्झनु पर्छ:
      (१) सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्वारा सो आय वर्षमा दाखिला गरेको कर रकम,
      (२) सो आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद-१७ बमोजिम सो वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीहरूबाट कट्टी भएको कर रकम,
      (३) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो वर्षमा कर कट्टी गर्ने एजेण्ट वा कर कट्टी हुने व्यक्तिले उपखण्ड (२) मा उल्लिखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम कर कट्टी भएको मानिने रकम विभागमा दाखिला गरेको भए त्यस्तो कर रकम, र
      (४) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधि उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दाबी गर्न सक्ने औषधि उपचार खर्चको कर मिलान रकम ।" 

  3. आर्थिक ऐन, २०७२ द्वारा थप । 

  4. आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई निरन्तरता कायम भई आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । साविकमा “किस्ताको रकम” भन्ने शब्दहरु रहेका । 

  5. आर्थिक ऐन, २०७६ द्वारा संशोधित । साविकमा “पाँच हजार” भन्ने शब्दहरु रहेका । 

  6. आर्थिक अध्यादेश, २०५९ द्वारा थप भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा कायम । 

  7. आर्थिक अध्यादेश, २०५९ द्वारा संशोधन । साविकमा रहेको “वा उपदफा (६) बमोजिम करको किस्ता बुझाउन कुनै व्यक्तिले अनुमान पेश गर्नु नपर्ने गरी तोकिएकोमा” भन्ने शब्दहरु झिकिएको । 

  8. आर्थिक ऐन, २०७६ द्वारा संशोधन । आर्थिक ऐन, २०६७ द्वारा थप भई देहाय बमोजिम संशोधनः
    (१) आर्थिक ऐन, २०६७ द्वारा दफा ९५क. थप हुँदाका बखत यस उपदफामा कायम रहेको व्यवस्थाः “(६) उपदफा (५) मा उल्लिखित विवरणसँग अग्रिम कर असुल गरिएको रकम वा उपदफा (३) को खण्ड (क) बमोजिम असुल गरेको मानिएको रकम सोही उपदफा बमोजिमको म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ।”
    (२) आर्थिक ऐन, २०७३ द्वारा संशोधन कायम भएको व्यवस्था: “(६) उपदफा (५) मा लेखिएदेखि बाहेक अन्य कुनै ब्यक्तिको स्वामित्वको जग्गा वा भवन निःसर्ग बापत भएको लाभमा मालपोत कार्यालयले रजिष्ट्रेशनका बखत दश प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।”
    (३) आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको व्यवस्थाः “(६) उपदफा (५) मा लेखिएदेखि बाहेक अन्य कुनै ब्यक्तिको स्वामित्वको जग्गा वा भवन निःसर्ग बापत भएको लाभमा मालपोत कार्यालयले रजिष्ट्रेशनका बखत दश प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।” 

  9. आर्थिक अध्यादेश, २०७८ द्वारा संशोधन भएकोमा आर्थिक ऐन, २०७८ द्वारा संशोधन कायम। संशोधन हुनुअघि “बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको पाँच प्रतिशत” भन्ने शब्दहरु रहेका । 

  10. आर्थिक ऐन, २०७५ द्वारा संशोधन । साविकमा “अन्यको हकमा लाभ रकमको दश प्रतिशतका दरले” भन्ने शब्दहरु रहेका । 

  11. आर्थिक ऐन, २०७५ द्वारा संशोधन । 

  12. आर्थिक ऐन, २०७० द्वारा प्रतिबन्धात्मक वाक्यांश थप भएकोमा आर्थिक ऐन, २०७३ द्वारा झिकिएको वाक्यांशः “तर सामूहिक लगानी कोष (म्युच्युअल फण्ड) द्वारा लगानी गरिएको हितको निःसर्गको हकमा भने यो उपदफा लागू हुने छैन ।" 

  13. आर्थिक ऐन, २०७६ द्वारा थप । 

  14. आर्थिक ऐन, २०७३ द्वारा संशोधन साविकको व्यवस्थाः “(३) कुनै प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्ग बापत भएको पुँजीगत लाभमा मालपोत कार्यालयले रजिस्ट्रेशनका बखत देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ:
    (क) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको छ भने दुई दशमलव पाँच प्रतिशतका दरले,
    (ख) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्षभन्दा कम भएको छ भने पाँच प्रतिशतका दरले,” 

  15. आर्थिक अध्यादेश, २०७८ द्वारा झिकिएकोमा आर्थिक ऐन, २०७८ द्वारा संशोधन कायम ।
    (१) साविकको व्यवस्थाः “ (४) उपदफा (१), (२) र (३) बमोजिम अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले अग्रिम कर असुल नगरेको भए पनि असुल हुनु पर्ने समयमा सो कर असुल गरेको मानिनेछ ।”
    (२) आर्थिक ऐन, २०७३ द्वारा संशोधित व्यवस्थाः “(४) उपदफा (२) मा माथि जुनसुकै कुरा लेखिएको भए तापनि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) द्वारा लगानी गरिएको हितको निःसर्गको हकमा अग्रिम कर असुल गरिने छैन ।” 

  16. आर्थिक ऐन, २०७९ द्वारा संशोधन। संशोधन हुनुअघि "दुई दशमलव पाँच प्रतिशतका दरले" भन्ने शब्दहरु रहेका । 

  17. आर्थिक ऐन, २०७९ द्वारा संशोधन । संशोधन हुनुअघि "पाँच प्रतिशतका दरले" भन्ने शब्दहरु रहेका । 

  18. आर्थिक ऐन, २०७६ द्वारा संशोधित । संशोधन हुनुअघिको व्यवस्था: “(६) उपदफा (५) मा लेखिएदेखि बाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवनको निःसर्ग बापत भएको लाभमा मालपोत कार्यालयले रजिष्ट्रेशनका बखत दश प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।” 

  19. आर्थिक ऐन, २०७७ द्वारा थप । 

  20. आर्थिक अध्यादेश, २०७८ द्वारा थप भएकोमा आर्थिक ऐन, २०७८ द्वारा संशोधन सहित थप कायम। आर्थिक अध्यादेश, २०७८ द्वारा थप भएको व्यवस्था: “(६ख) कुनै व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त भएका बखत सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।” 

  21. आर्थिक ऐन, २०७८ द्वारा थप । 

  22. आर्थिक ऐन, २०७८ द्वारा थप । 

  23. आर्थिक ऐन, २०७५ द्वारा थप । 

  24. आर्थिक ऐन, २०७६ द्वारा थप । 

  25. आर्थिक ऐन, २०७६ द्वारा संशोधित । 

  26. आर्थिक ऐन, २०७५ द्वारा संशोधित । 

  27. आर्थिक ऐन, २०७५ द्वारा संशोधित । 

  28. आर्थिक ऐन, २०७६ द्वारा संशोधित।

    (१) आर्थिक ऐन, २०६७ द्वारा दफा ९५क. थप हुँदाका बखत यस उपदफामा कायम रहेको व्यवस्थाः “(१०) यस दफा बमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नु पर्ने व्यक्तिले तिर्न पर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ ।

    (२) आर्थिक ऐन, २०७३ द्वारा संशोधन कायम भएको व्यवस्थाः “ (१०) देहाय बमोजिमको अवस्थामा अग्रिम कर दाखिला गर्नु पर्ने र असुल गर्नु पर्ने व्यक्ति दुवै जना संयुक्त रुपमा र छुट्टाछुट्टै रुपमा त्यस्तो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन्:
    (क) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले अग्रिम कर असुल नगरेमा, र
    (ख) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले उपदफा (७) बमोजिम असुल गरेको मानिने रकम उपदफा (९) बमोजिम विभागमा दाखिला नगरेमा ।

    (३) आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको व्यवस्थाः “ (१०) उपदफा (८) मा उल्लिखित विवरणसँग अग्रिम कर असुल गरिएको रकम वा उपदफा (७) बमोजिम असुल गरेको मानिएको रकम सोही उपदफा बमोजिमको म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ।” 

  29. आर्थिक ऐन, २०७५ द्वारा संशोधित । 

  30. आर्थिक ऐन, २०७६ द्वारा संशोधित । 

  31. आर्थिक ऐन, २०७६ द्वारा संशोधित । 

  32. आर्थिक ऐन, २०७६ द्वारा संशोधित । 

  33. आर्थिक ऐन, २०७६ द्वारा संशोधित । 

  34. आर्थिक ऐन, २०७५ द्वारा संशोधित । 

  35. आर्थिक ऐन, २०७६ द्वारा संशोधित । 

  36. आर्थिक ऐन, २०७५ द्वारा संशोधित ।