Skip to content

परिच्छेद ७ कर कट्टी

मूल्य अभिवृद्धि कर कारोबार तथा बीजकमा आधारित कर प्रणाली हो । यस प्रणालीमा आवद्ध व्यक्तिहरुले आफूले आपूर्ति गर्ने हरेक वस्तु तथा सेवाको कर बीजक जारी गर्नुपर्दछ । यसरी जारी गरिएको बीजकको माध्यमबाट असुल गरेको कर सरकारी कोषमा दाखिला गर्नु त्यस्तो व्यक्तिको कर्तब्य हुन्छ । यसरी असुल गरिएको सम्पूर्ण कर दाखिला गर्नुपर्ने अवस्थामा कर माथि कर लाग्ने करदातामा आफ्नो उत्पादनको लागि आवश्यक सामाग्री अन्य उत्पादकवाट खरिद गर्नुको सट्टा आफैं उत्पादन गर्ने प्रवृत्ति देखा परेर Vertical Integration हुन गई विशेषीकरणका फाइदावाट अर्थतन्त्र वन्चित हुन सक्ने तथा वस्तु वा सेवाको उपभोक्ता मूल्य कर भारको कारणले वृद्धि हुन गई उपभोक्ताले दोहोरो करको भार बहन गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ । यस्तो अवस्था उत्पन्न हुन नदिन मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले करयोग्य आपूर्तिको लागि प्राप्त गरिएका वस्तु तथा सेवामा तिरेको कर बिक्रीमा असुल गरेको करमा कट्टी गर्न पाउने सिद्धान्तलाई अंगिकार गरेको छ । यसै कारणले मूल्य अभिवृद्धि कर प्रणालीको यो व्यवस्थालाई यस प्रणालीको सुन्दर पक्ष मानिएको छ ।

कुनै करयोग्य वस्तु वा सेवाको आपूर्ति गर्ने दर्तावाला व्यक्तिले त्यसरी आपूर्ति गर्ने वस्तु वा सेवा उत्पादन वा खरिद गर्नुपर्ने हुन्छ। कुनै वस्तु वा सेवा उत्पादन गर्दा वा विक्री वितरण गर्दा कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, परिवेष्टन सामाग्री (प्याकिङ्ग सामाग्री), विक्रीयोग्य तयारी वस्तु जस्ता उत्पादन वा विक्री वितरणसँग प्रत्यक्ष सम्बन्धित वस्तु लगायत सो उत्पादन कार्य संचालन गर्ने सन्दर्भमा प्रशासनिक वा बजार प्रबद्र्धन जस्ता सेवा समेत आवश्यक पर्दछ । यसैगरी व्यवसाय संचालन गर्न पुँजीगत प्रकृतिका वस्तु वा सेवा समेत आवश्यक पर्दछ । यसरी खरिद वा प्राप्त गरिने उल्लिखित वस्तु वा सेवा करयोग्य रहेको भए त्यस्ता वस्तु वा सेवा प्राप्त गर्दा प्राप्त गर्ने व्यक्तिले सो वस्तु वा सेवामा करसमेत तिरेको हुन्छ। यसरी तिरेको कर सो व्यक्तिले आफूले उत्पादन वा खरिद गरेको वस्तु वा सेवा बिक्री गर्दा असुल गरेको करमा कट्टी गरी बाँकी कर मात्र दाखिला गरे हुने व्यवस्था ऐनले गरेको छ । जसलाई कर कट्टी पनि भन्ने गरिन्छ। यस परिच्छेदमा कारोवारसँग सम्बन्धित खरिद वा पैठारीमा पाउने कर कट्टी, कर कट्टी नपाउने वस्तु वा सेवा, आंशिक कर कट्टी पाउने वस्तु वा सेवा एवं कर कट्टी सुविधा लिई सक्नु पर्ने अवधि र तरिकाका सम्बन्धमा विस्तृत विवेचना गरिएको छ ।

७.१ कर कट्टी सम्बन्धी व्यवस्था

मूल्य अभिवृद्धि कर ऐन, २०५२ र मूल्य अभिवृद्धि कर नियमावली, २०५३ मा दर्ता भएको करदाताले आफ्नो कर लाग्ने कारोबारसँग सम्बन्धित जुनसुकै वस्तु वा सेवा खरिद वा पैठारी गर्दा तिरेको कर आफूले तिर्नु पर्ने करमा कट्टी गर्न पाउने व्यवस्था रहेको छ । यस सम्बन्धमा ऐनको दफा १७ को उपदफा (१) मा देहाय बमोजिमको व्यवस्था गरिएको छ ।

दफा १७ कर कट्टी: (१) दर्ता भएको व्यक्तिले आफ्नो कर लाग्ने कारोबारसँग सम्बन्धित वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको वा तिर्नुपर्ने करको रकम आफूले उठाएको करको रकमबाट कट्टी गर्न सक्नेछ ।

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३९ मा देहाय बमोजिमको व्यवस्था गरिएको छ ।

नियम ३९. कर कट्टी गर्न पाइने:
(१) दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा संकलन गरेको करबाट सो महिना वा सोभन्दा अगाडी आफ्नो कर लाग्ने वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको कर देहायको अवस्थामा कट्टी गर्न पाउने छः
(क) कर कट्टी दावी गरिएको वस्तु वा सेवा करयोग्य व्यवसायसँग प्रत्यक्ष रुपमा सम्बन्धित भएमा ।
(ख) आन्तरिक खरिद गरिएको भए नियम १७ बमोजिमको कर बीजक प्राप्त गरेको भएमा ।
(ग) आयात गरिएको भए आयात गर्दा कर तिरेको प्रमाणित गर्ने आयात सम्बन्धी कागजातहरु भएमा ।
स्पष्टिकरणः यस खण्डको प्रयोजनको लागि “आयात सम्बन्धी कागजातहरु" भन्नाले प्रज्ञापनपत्र, नगदी रसिद, सामानको बीजक तथा भन्सारको बाटो भई आयात नहुने सेवाको आपूर्तिको हकमा सेवाको बीजक र विभागले समय समयमा तोकेको तत् सम्बन्धी अन्य कागजातहरु सम्झनु पर्दछ ।

कारोबारको सिलसिलामा विभिन्न समयमा विभिन्न प्रकारका वस्तु वा सेवा खरिद वा पैठारी गर्ने गरिन्छ। खरिद वा पैठारी कारोबारमा प्राप्त कर बीजक, प्रज्ञापनपत्र, नगदी रसिद, पैठारी हुने वस्तु वा सेवाको विलहरु सोही कर अवधिको खरिद खातामा प्रविष्टि गर्नुपर्दछ । यसरी खरिद वा पैठारीमा तिरेको कर एक पटक मात्र दावी गर्न पाइने व्यवस्था रहेको छ । दोहोरो पर्ने गरी कर कट्टी दावी गरेको पाइएमा जरिवाना सहित कर निर्धारण गर्नुपर्दछ। कुनै वस्तु वा सेवा खरिद वा पैठारी भएको मितिले १ वर्षभित्र कर कट्टी दावी नगरेमा सो उप्रान्त उक्त वस्तु वा सेवाको खरिद वा पैठारीमा तिरेको कर कट्टी गर्न पाईंदैन । यस सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३९ को उपनियम (२) मा देहायबमोजिमको व्यवस्था रहेको छः

नियम ३९ (२) यस नियम बमोजिम कर कट्टी गर्दा एकपटक मात्र गर्न पाईने छ । यसरी कर कट्टी गर्दा दावी गरिएको मितिभन्दा एक वर्ष अगाडिसम्मको बीजक वा आयातसँग सम्बन्धित कागजातहरु हुनु पर्नेछ ।

खरिद, पैठारी, बिक्री र निकासी कारोवार सधैं एकनासको हुँदैन । कहिले बिक्री र निकासी कारोवार स्थानीय खरिद र पैठारीभन्दा बढी हुन्छ भने कहिले कम हुने गर्दछ । व्यवसायमा यसलाई स्वभाविक नै मानिन्छ । बिक्री र निकासी कारोबार स्थानीय खरिद र पैठारीभन्दा बढी भएको अवस्थामा करदाताको कर दायित्व सिर्जना हुन्छ भने बिक्री र निकासी कारोबार स्थानीय खरिद र पैठारीभन्दा कम भएको अवस्थामा करदाताको कर कट्टी दावी बढी हुन सक्दछ । यस अवस्थामा करदाताले सरकारलाई कर तिर्नुभन्दा सरकारबाट कर फिर्ता दावी गर्ने अधिकार सिर्जना हुने गर्दछ । विद्यमान मूल्य अभिवृद्धि कर प्रणालीमा कुनै करदाताको कुनै कर अवधिमा निजले बिक्री गर्दा संकलन गरेको रकमभन्दा निजले स्थानीय खरिद वा पैठारी गर्दा तिरेको कर रकम बढी भएमा त्यस्तो बढी भएको रकम अर्को कर अवधिमा कट्टी गर्न पाउने अथवा मिलान गर्न पाउने व्यवस्था गरिएको छ। यसरी लगातार ४ महिनासम्म मिलान गर्दा पनि कुनै रकम बाँकी भए उक्त रकम फिर्ता पाउन तोकिए बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेको छ । यस सम्बन्धमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २४ ले देहाय बमोजिमको व्यवस्था गरेको छः

दफा २४. कट्टी गर्न पाउने रकम बढी भएमाः
(१) दर्ता भएको व्यक्तिले कुनै महिनामा दफा १७ बमोजिम कट्टी गर्न पाउने करको रकम सो महिनामा उठाएको करको रकम भन्दा बढी भएमा त्यस्तो बढी रकम यस ऐन बमोजिम सो महिनासम्म बुझाउनु पर्ने कुनै रकम भए त्यसमा मिलान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मिलान गरी बाँकी रहेको रकम दर्ता भएको व्यक्तिले अर्को महिनामा बुझाउनु पर्ने करको रकममा मिलान गर्न सक्नेछ ।
(३) यस दफा वमोजिम लगातार ४ महिनासम्म मिलान गरेर बाँकी रहेको रकम दर्ता भएको व्यक्तिले

एकमुष्ट फिर्ता पाउन तोकिए बमोजिम कर अधिकृत समक्ष निवेदन दिन सक्नेछ । यस सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३९ को उपनियम ( ४ ) मा देहाय बमोजिमको व्यवस्था रहेको छः

नियम ३९ को उपनियम (४) दर्ता भएको व्यक्तिले खरिद वा आयात गर्दा तिरेको कर रकम निजले बिक्री गर्दा संकलन गरेको रकमभन्दा बढी भएमा त्यस्तो बढी भएको जति रकम अर्को कर अवधिमा कट्टी गर्न पाउनेछ । यसरी अर्को कर अवधिमा कट्टी गर्न पाउने रकम लगातार ४ महिनासम्म बाँकी रहेमा एकमुष्ट फिर्ता पाउन निजले अनुसूची - १० बमोजिमको ढाँचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ । यस्तो दरखास्त प्राप्त भएपछि कर अधिकृतले नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ ।

कुनै करदाताले कुनै कर अवधिको कुल बिक्री कारोबार ( करलाग्ने बिक्री, कर छुटको बिक्री र निकासी रकम) को ४० प्रतिशतभन्दा बढी निकासी कारोबार गरेको अवस्थामा निजले सोही अवधिमा कर फिर्ता दावी गर्न पाउने व्यवस्था छ । यस्तो व्यवस्थाले करदाताको नगद प्रवाहमा सकारात्मक प्रभावको कारणबाट वित्तीय लागत कम भई निकासीकर्तालाई प्रोत्साहित गर्ने, निकासी कारोवार प्रतिष्पर्धात्मक हुने र निकासी कारोबारले रोजगारी, आय तथा बिदेशी मुद्राको संचितिमा वृद्धि गर्ने उद्देश्यले द्रुत गतिमा कर फिर्ता गर्ने व्यवस्था गरिएको छ। यस सम्बन्धमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २४ ले देहाय बमोजिमको व्यवस्था गरेको छः

दफा २४ को उपदफा (४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिनाभरिको कुल विक्रीमध्ये चालीस प्रतिशत भन्दा बढी निकासी गरी बिक्री गर्ने दर्ता भएको व्यक्तिले दफा १७ बमोजिम कर कट्टी गर्न पाउने रकम यस अघि यस दफामा तोकिएको कार्यविधि अपनाई फिर्ता पाउन निवेदन दिएमा बुझाउनु पर्ने कुनै रकम बाँकी भए त्यसमा मिलान गरी बाँकी रहेको रकम एकमुष्ट फिर्ता पाउन निवेदन दिन सक्नेछ ।

कर फिर्ता सम्बन्धमा परिच्छेद १३ मा विस्तृत ब्याख्या गरिएको छ ।

ऐन तथा नियमावलीका उपर्युक्त व्यवस्था बमोजिम कर कट्टी पाउने वस्तु तथा सेवा, कर कट्टी पाउने समय, कर कट्टी लिने तरिका, बढी भएको कर मिलान, कर कट्टी दावीलाई प्रमाणित गर्ने कागजातका सम्बन्धमा निम्न अनुच्छेदहरुमा ब्याख्या गरिएको छः

७.२ कर कट्टी पाउने वस्तु वा सेवा

कर लाग्ने कारोबारको उत्पादकत्व अभिवृद्धि गर्न, कर तटस्थता कायम गर्न र लगानीमैत्री प्रणाली बनाउने अभिप्रायले मूल्य अभिवृद्धि कर प्रणालीमा दर्तावाल व्यक्तिले कर लाग्ने कारोबारसँग सम्बन्धित वस्तु वा सेवामा तिरेको मूल्य अभिवृद्धि करको साथ साथै पुँजीगत वस्तु तथा सेवाहरुमा तिरेको मूल्य अभिवृद्धि कर रकम आफ्नो करयोग्य कारोबारबाट असुल गरेको करमा कट्टी गर्न अर्थात् घटाउन पाउने सुबिधा प्रदान गरिएको हुन्छ। त्यसरी कट्टी गर्दा वा घटाउँदा आफूले असुल गरेको कर वढी हुन आएमा बढी भएको हदसम्मको रकम मात्र कर विवरणसाथ दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (१) ले दर्ता भएको व्यक्तिले आफ्नो करयोग्य कारोबारसँग सम्बन्धित कुनै वस्तु वा सेवा उत्पादन वा प्राप्त गर्ने प्रयोजनको लागि गरेको खरिदमा तिरेको सम्पूर्ण कर आफूले तिर्नु पर्ने करमा कट्टी गर्न पाउने व्यवस्था गरेको छ । खरिदमा तिरेको कर भन्नाले कुनै व्यक्तिले कारोबारसँग सम्बन्धित वस्तु वा सेवा उत्पादन गर्ने वा बिक्री बितरण गर्ने प्रयोजनका लागि स्थानीय बजारबाट खरिद गर्दा बिक्रेतालाई तिरेको मूल्य अभिवृद्धि कर वा मुलुक बाहिरबाट पैठारी गर्दा सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरेको मूल्य अभिवृद्धि कर वा ऐनको दफा ८ को उपदफा (२) बमोजिम सेवा प्राप्त गर्दा दाखिला गरेको करलाई सम्झनु पर्दछ । दर्ता भएको व्यक्तिले त्यसरी तिरेको कर निजले आफ्नो वस्तु वा सेवा विक्री गर्दा ग्राहकबाट असुल गरेको करमा कट्टी गरी बाँकी रहेको रकम मात्र दाखिला गरे हुने व्यवस्था ऐनले गरेको छ ।

कारोबारसँग सम्बन्धित वस्तु वा सेवा भन्नाले कुनै करयोग्य कारोवार संचालन गर्न आवश्यक पर्ने वस्तु वा सेवा उत्पादन वा प्राप्त गर्न आवश्यक पर्ने सम्पूर्ण कच्चा तथा सहायक कच्चा पदार्थ, प्याकिङ्ग सामाग्री, ढुवानी खर्च, बीमा खर्च, परामर्श वा प्रशासनिक वा बजार प्रवर्द्धन लगायतका सेवाहरु एवं सो कारोबार संचालन गर्न आवश्यक पर्ने अन्य पुँजीगत प्रकृतिका वस्तु तथा सेवाहरुलाई बुझाउँछ।

कुन वस्तु वा सेवाको कर कट्टी दावी गर्ने र कुन वस्तु वा सेवामा तिरेको कर कट्टी दावी नगर्ने भन्ने विषयको निक्र्यौल आपूर्ति हुने वस्तु वा सेवाको आधारमा गर्नुपर्दछ । खरिद वा पैठारी गरिएका वस्तु वा सेवाको प्रयोग वा प्रशोधनबाट उत्पादन वा निर्माण भई विक्री, विनिमय, हस्तान्तरण वा आपूर्ति हुने वस्तु वा सेवा कर लाग्ने वस्तु वा सेवा हो वा कर छुटका वस्तु वा सेवा हो भन्ने विषयले कर कट्टी दावी गर्न पाउने वा नपाउने भन्ने निर्धारण गर्दछ। यदि आपूर्ति हुने वस्तु वा सेवा करयोग्य हुन् भने त्यस्ता वस्तु वा सेवा उत्पादन वा निर्माण वा खरिद वा पैठारी गर्दा प्रयोग हुने वस्तु वा सेवामा तिरेको मूल्य अभिवृद्धि कर कट्टी दावी गर्न सकिन्छ । कर लाग्ने कारोबारसँग असम्बन्धित वस्तु वा सेवाको खरिद वा पैठारीमा तिरेको कर कट्टी गर्न पाईंदैन । साथै कर

नलाग्ने वस्तु वा सेवासँग सम्बन्धित वस्तु वा सेवाको खरिद वा पैठारीमा तिरेको कर कट्टी गर्न पनि पाइँदैन ।

७.३ कर कट्टी गर्ने समय

दर्ता भएको व्यक्तिले करयोग्य कारोबारसँग सम्बन्धित व्यापारिक एवं पुँजीगत वस्तु वा सेवा खरिदमा तिरेको कर जुन कर अवधिमा तिरेको हो सोही कर अवधिमा कट्टी गर्नुपर्दछ । तर भुलवस वा अन्य कुनै कारणले कुनै व्यक्तिले कुनै खरिदमा तिरेको कर सम्बन्धित कर अवधिमा कट्टी नगरेमा कर कट्टी दावी गर्ने कागजात (स्थानीय खरिदमा कर बीजक र पैठारीमा भन्सार प्रज्ञापनपत्र तथा कर तिरेको नगदी रसिद) जारी भएको मितिले एक वर्षभित्र कर कट्टी गरिसक्नु पर्दछ । उक्त समयावधिभित्र कर कट्टी दावी नगरेमा सो उप्रान्त सम्बन्धित करदाताले कर कट्टी दावी गर्न पाउने छैन । मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३९ को उपनियम (२) मा देहाय बमोजिमको कानूनी व्यवस्था रहेको छः

नियम ३९ को उपनियम (२) यस नियम बमोजिम कर कट्टी गर्दा एकपटक मात्र गर्न पाईनेछ । यसरी कर कट्टी गर्दा दावी गरिएको मितिभन्दा एक वर्ष अगाडिको वीजक वा आयातसँग सम्बन्धित कागजातहरु हुनु पर्नेछ ।

यस सम्बन्धमा निम्न उदाहरणले प्रष्ट पार्नेछः

उदाहरण ७.१

मूल्य अभिवृद्धि करमा दर्ता भएको अल्फा ईन्टरनेशनल प्रा. लि. ले विभिन्न प्रकारका विद्युतीय सामाग्रीको आयात र आन्तरिक खरिद बिक्री गर्ने गरेको रहेछ । निजले गरेको खरिदमध्ये मिति २०७४ । ०५ । ३० र निजले गरेको पैठारीमध्ये २०७४ | ०८ । ३० को पैठारी खरिद खातामा प्रविष्टि गरी कर कट्टी लिन छुट भएको रहेछ । यस अवस्थामा सो प्रा.लि.ले २०७४ | ०५ । ३० को बीजकको कर कट्टी २०७५ भाद्र महिनाभित्र र २०७४।०८।३० को खरिदको कर कट्टी २०७५ मार्ग महिनाभित्र लिई सक्नुपर्दछ । सो कर अवधिपछि ती खरिदमा तिरेको कर सो प्रा. लि. ले कर कट्टी गर्न पाउने छैन ।

७.४ कर कट्टी गर्ने तरिका

करयोग्य कारोबार गर्ने दर्ता भएको व्यक्तिले आफ्नो कारोबारसँग सम्बन्धित खरिदमा तिरेको कर कट्टी गर्ने सन्दर्भमा निजले त्यस्तो खरिद करदाता आफैले प्रमाणित गरेको खरिद खातामा प्रविष्टि गर्नुपर्दछ । खरिद खातामा प्रविष्टि गरे पश्चात् कर बीजक वा भन्सार प्रज्ञापनपत्र, कर तिरेको नगदी रसिद एवं अन्य प्रमाण कागजातहरु सुरक्षित राख्नु पर्दछ । कुनै कर अवधिको लागि गरिएको त्यस्तो करयोग्य खरिदको मूल्य र त्यस्तो खरिदमा तिरेको कर स्पष्ट देखिने गरी कर विवरणमा उल्लेख गर्नुपर्दछ । बिक्री तथा निकासी र स्थानीय खरिद वा पैठारी कारोबार उल्लेख गरी विक्रीमा संकलन गरेको कर र खरिद एवं पैठारीमा तिरेको कर रकम उल्लेख गरी कर विवरण पेश गरेमा सम्बन्धित करदाताले कर कट्टी गरेको मानिनेछ । करदाताले कुनै कर अवधिको आफ्नो कर दायित्व कर विवरणमार्फत यकिन गर्दछ । कर विवरण पेश गर्दा कर लाग्ने वस्तु वा सेवाको आपूर्ति गरी संकलन गरेको करबाट खरिदमा तिरेको कर कट्टी गरी करदाताले आफ्नो कर दायित्व निर्धारण गर्ने गर्दछन् । यस सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३९ को उपनियम (३) मा देहाय बमोजिमको व्यवस्था रहेको छः

नियम ३९ को उपनियम (३) दर्ता भएको व्यक्तिले प्रत्येक कर अवधिको कर विवरण पेश गर्दा निजले वस्तु बिक्री गर्दा संकलन गरेको करबाट वस्तु खरिद वा आयात गर्दा तिरेको कर कटाई बाँकी रहेको रकम कर विवरणसाथ कर कार्यालयमा दाखिला गर्नुपर्नेछ ।

७.५ बढी तिरेको कर मिलान

करयोग्य कारोबार गर्ने कुनै व्यक्तिको कुनै कर अवधिमा विक्रीमा संकलन गरेको करभन्दा खरिदमा तिरेको कर कम भएको अवस्थामा करदाताको कर दायित्व (डेविट अवस्था ) सिर्जना हुन्छ । यसै गरी बिक्रीमा संकलन गरेको करभन्दा खरिदमा तिरेको कर बढी भएको अवस्थामा सो कर अवधिमा निजले खरीदमा तिरेको बढी कर मिलान गर्न बाँकी रहेको ( क्रेडिट अवस्था ) मानिन्छ । यस्तो अवस्थामा सरकारको दायित्व सिर्जना हुन्छ । त्यसरी बढी तिरेको कर त्यस्तो व्यक्तिले सो कर अवधिभन्दा पछाडिको कर अवधिको तिर्नु पर्ने करमा मिलान गर्न सक्दछ। लगातार ४ महिनासम्म मिलान गर्दा पनि मिलान हुन नसकेमा त्यसरी मिलान हुन नसकेको रकम सम्बन्धित दर्तावाल व्यक्तिले फिर्ता दावी गर्न पाउने व्यवस्था समेत ऐन तथा नियमावलीमा रहेको छ ।

यस सम्बन्धमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २४ ले देहाय बमोजिमको व्यवस्था गरेको छः

दफा २४ कट्टी गर्न पाउने रकम बढी भएमा:
(१) दर्ता भएको व्यक्तिले कुनै महिनामा दफा १७ बमोजिम कट्ट गर्न पाउने करको रकम सो महिनामा उठाएको करको रकम भन्दा बढी भएमा त्यस्तो बढी रकम यस ऐन बमोजिम सो महिनासम्म बुझाउनु पर्ने कुनै रकम भए त्यसमा मिलान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मिलान गरी बाँकी रहेको रकम दर्ता भएको व्यक्तिले अर्को महिनामा बुझाउनु पर्ने करको रकममा मिलान गर्न सक्नेछ ।
(३) यस दफा वमोजिम लगातार ४ महिनासम्म मिलान गरेर बाँकी रहेको रकम दर्ता भएको व्यक्तिले एकमुष्ट फिर्ता पाउन तोकिए बमोजिम कर अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

यस सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३९ को उपनियम ( ४ ) मा देहाय बमोजिमको व्यवस्था रहेको छः

नियम ३९ को उपनियम (४) दर्ता भएको व्यक्तिले खरिद वा आयात गर्दा तिरेको कर रकम निजले बिक्री गर्दा संकलन गरेको रकमभन्दा बढी भएमा त्यस्तो बढी भएको जति रकम अर्को कर अवधिमा कट्टी गर्न पाउनेछ । यसरी अर्को कर अवधिमा कट्टी गर्न पाउने रकम लगातार ४ महिनासम्म बाँकी रहेमा एकमुष्ट फिर्ता पाउन निजले अनुसूची (१० बमोजिमको ढाँचामा कर अधिकृतसमक्ष दरखास्त दिनु पर्नेछ । यस्तो दरखास्त प्राप्त भएपछि कर अधिकृतले नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ ।

यस सम्बन्धमा यस निर्देशिकाको परिच्छेद १३ मा विस्तृत व्याख्या गरिएको छ ।

७.६ कर कट्टी दावी प्रमाणित गर्ने कागजातहरु

मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता रहेको व्यक्तिले कुनै खरिदमा तिरेको कर कट्टी दावी गर्न उक्त दावीलाई पुष्टि गर्ने गरी कानून बमोजिमका प्रमाण कागजातहरु सुरक्षित राख्नु पर्दछ । कर कट्टी सुविधालाई निश्चित शर्तहरुसँग आवद्ध गरिएको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा नियमावली, २०५३ ले तोकेका कागजात तथा प्रमाण र निर्धारण गरेका निश्चित शर्तहरु परिपालना गरेको खण्डमा मात्र करदाताले खरिद वा पैठारीमा तिरेको कर कट्टी दावी गर्न सक्दछ । यस सम्बन्धमा ऐनको दफा १७ को उपदफा (६) मा देहायको व्यवस्था रहेको छः

दफा १७(६) यस ऐन बमोजिमको कर कट्टीको सुविधा तोकिए बमोजिमका कागजातहरुद्धारा दावी प्रमाणित भएपछि मात्र दिइनेछ ।

यस सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३९ को उपनियम (१) को खण्ड (ख) र खण्ड (ग) मा देहाय बमोजिमका व्यवस्था रहेको छ ।

नियम ३९ को उपनियम (१) दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा संकलन गरेको करबाट सो महिना वा सोभन्दा अगाडि आफ्नो कर लाग्ने वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको कर देहायको अवस्थामा कट्टी गर्न पाउने छः
(क) कर कट्टी दावी गरिएको वस्तु वा सेवा कर योग्य व्यवसायसँग प्रत्यक्ष रुपमा सम्बन्धित भएमा ।
(ख) आन्तरिक खरिद गरिएको भए नियम १७ बमोजिमको कर बीजक प्राप्त गरेको भएमा ।
(ग) आयात गरिएको भए आयात गर्दा कर तिरेको प्रमाणित गर्ने आयात सम्बन्धी कागजातहरु भएमा ।
स्पष्टिकरणः यस खण्डको प्रयोजनको लागि " आयात सम्बन्धी कागजातहरू' भन्नाले प्रज्ञापनपत्र, नगदी रसीद, सामानको बीजक तथा भन्सारको बाटो भई आयात नहुने सेवाको आपूर्तिको हकमा सेवाको बीजक र विभागले समय समयमा तोकेको तत्सम्बन्धी अन्य कागजातहरु सम्झनु पर्दछ ।

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को उपर्युक्त व्यवस्था अनुसार मुलुकभित्र गरिएको खरिदमा कर कट्टी दावी गर्दा नियमावलीको नियम १७ बमोजिमको कर बीजक प्राप्त भएको हुनु र आयात गरिएको वस्तुको हकमा आयात सम्बन्धी कागजातहरु हुनु अनिवार्य रहेको छ । नियम १७ बमोजिमको कर बीजक तीन प्रति तयार गरिएको हुन्छ। कर कट्टी दावी गर्नको लागि कर बीजक लेखिएको पहिलो प्रति सक्कल वीजक हुनुपर्दछ। दोस्रो वा तेस्रो प्रति बीजकवाट कर कट्टी दावी गर्न सकिंदैन । नियमावलीको नियम ३९ को उपनियम (२) बमोजिम कर कट्टी एक पटक मात्र दावी गर्न पाइने व्यवस्था रहेको हुँदा पहिलो प्रति बीजकबाट मात्र कर कट्टी सुविधा प्रदान गरिएको हो । दोस्रो वा तेस्रो प्रति बीजकबाट कर कट्टी सुविधा दिँदा एउटा खरिद वा पैठारीमा तिरेको कर दोहोरो कट्टी गर्न सक्ने सम्भावना रहन्छ । यस्तो सम्भावनाले कर चुहावट हुने थप अवसर सिर्जना गर्ने भएकोले त्यसलाई नियन्त्रण गर्न कर विजक लेखिएको पहिलो प्रतिबाट मात्र कर कट्टी गर्न पाइने व्यवस्था गरिएको हो ।

यसै गरी कर लाग्ने वस्तु वा सेवा पैठारीको हकमा आयात सम्बन्धी कागजातको आधारमा कर कट्टी दावी गर्न सकिन्छ । मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३९ को उपनियम (१) को खण्ड (ग) ले प्रज्ञापनपत्र नगदी रसिद र वस्तु वा सेवाको बीजक र आन्तरिक राजस्व विभागले समय समयमा तोकेको तत्सम्बन्धी अन्य कागजातहरुलाई आयात सम्बन्धी कागजात भनी तोकेको छ।

पैठारी गर्दा भन्सार अधिकृतले आयातकर्तालाई Demurrage लगाएको अवस्थामा सोको कारणले सिर्जना हुने मूल्य अभिवृद्धि कर सम्बन्धित भन्सार कार्यालयबाट जारी गरिएका प्रमाण कागजात वा निस्साका आधारमा कर कट्टी सुविधा प्रदान गर्न सकिन्छ ।

धरौटीमा आयात गरिएको वस्तु वा सेवामा तिरेको मूल्य अभिवृद्धि कर कट्टी दावी गर्न नपाइने व्यवस्था नियमावलीको नियम ४८ को उपनियम (३) र (४) मा रहेको छ । सो सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ मा देहाय बमोजिमको व्यवस्था रहेको छ ।

नियम ४८ आयातमा कर लाग्ने:
(३) आयात भएको वस्तुको मूल्य आयात हुँदाका अवस्थामा कायम गर्न नसकिएमा त्यस्ता वस्तुहरुमा लाग्ने सबै प्रकारका कर वा महसूललाई पुग्ने गरी धरौटी लिएर मात्र त्यस्ता वस्तु नेपाल भित्र ल्याउने अनुमति दिइनेछ । दर्ता भएको व्यक्तिले आयात गरेको वस्तु वा सेवाको मूल्य कायम नभएसम्म त्यस्तो वस्तु वा सेवामा तिरेको कर कट्टी गर्न पाउने छैन ।
(४) कुनै वस्तु आयात गर्दा धरौटी राखी आयात गरिएको भए मूल्य यकिन भएको मितिले एक वर्षसम्म मात्र कर कट्टी दाबी गर्न सकिनेछ ।

यसै गरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ८ को उपदफा (२) बमोजिम दाखिला गरेको कर, दफा १२क. बमोजिम काठको कारोबारमा तिरेको कर र दफा १५ को उपदफा (३) बमोजिम दाखिला गरेको करको हकमा कर दाखिला गरेको राजस्व भौचर नै कर कट्टी दावी गर्ने प्रमाण हुन् । यस सम्बन्धमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (५ख) ले देहाय बमोजिमको व्यवस्था गरेको छः

दफा १७ को उपदफा (५ख): दफा ८ को उपदफा (२), दफा १२क. र दफा १५ को उपदफा (३) बमोजिम तिरेको कर सम्बन्धित करदातालाई कट्टी गर्न दिइनेछ ।

कुनै कर लाग्ने वस्तु वा सेवा आपूर्ति गरी कर संकलन गरेको र उक्त कर रकम कर विवरणमा समायोजन गरी सो कर अवधिको कर विवरण समेत पेश भइ सकेको अवस्थामा कुनै कर कट्टी दावीलाई प्रमाणित गर्ने कागजातहरु हराएमा वा नष्ट भई कर अधिकृतले माग गरेको बखत सक्कल कर बीजक वा आयात सम्बन्धी कागजात पेश गर्न नसक्ने अवस्था विद्यमान भएमा कर अधिकृतले ती कागजात जारी गर्ने व्यक्ति वा निकायले प्रमाणित गरी दिएको प्रतिलिपिको आधारमा ऐनको दफा २९ को उपदफा (१क) बमोजिम विभागले तोकेको जरिवाना गरी एक पटक कर कट्टी सुविधा प्रदान गर्न सक्दछ । जरिवानाको सम्बन्धमा परिच्छेद १० मा विस्तृत व्याख्या गरिएको छ ।

उपर्युक्त बमोजिमका कागजात हुँदैमा निःशर्त कर दावीयोग्य हुँदैन । कुनै करयोग्य वस्तु वा सेवाको खरिदमा तिरेको कर दावीयोग्य हुन देहायको अवस्था विद्यमान हुनु पर्दछः
(क) सो वस्तु वा सेवा कर कट्टी दावी गर्ने व्यक्तिको कारोबारसँग सम्बन्धित भएको,
(ख) सो वस्तु वा सेवा खरिद गरेको सक्कल कर बीजक र आयात गरेको भए आयात सम्बन्धी कागजात भएको,
(ग) सो वस्तु वा सेवा करयोग्य कारोबारमा प्रयोग गरिएको, (घ) सो वस्तु वा सेवा खरिद गर्ने वा खर्च वहन गर्ने दायित्व सो व्यक्तिमा रहेको ।

७.७ कर कट्टी गर्न नपाउने वस्तु तथा सेवा

मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले करयोग्य कारोबारसँग सम्बन्धित सम्पूर्ण वस्तु तथा सेवाको खरिदमा तिरेको कर कट्टी गर्न पाउने व्यवस्था गरे तापनि केही वस्तु तथा सेवामा तिरेको कर कट्टी गर्न नपाउने व्यवस्था गरेको छ। केही वस्तु वा सेवा करयोग्य कारोबार तथा कर छुट दुबै किसिमको कारोवारसँग सम्बन्धित रहेको हुन्छ भने कतिपय अवस्थामा व्यक्तिगत उपभोग वा व्यवसायिक खरिद भनी खुट्याउन पनि निकै कठिनाई हुने गर्दछ। कर कट्टी सुविधामा हुन सक्ने सम्भावित दुरुपयोगलाई न्युनीकरण गर्ने र मूल्य अभिवृद्धि कर सम्बन्धी कानूनको कार्यान्वयनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले केही वस्तु वा सेवाको खरिदमा तिरेको कर कट्टी गर्न नपाइने व्यवस्था गरिएको छ । यस सम्बन्धमा ऐनको दफा १७ को उपदफा (२) ले देहायको व्यवस्था गरेको छः

दफा १७ को उपदफा (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवसायिक वा व्यक्तिगत प्रयोजनको लागि प्रयोग हुन सक्ने तोकिएका वस्तुहरुका हकमा कर कट्टी गर्न नपाउने वा आंशिक रुपमा मात्र कर कट्टी गर्न पाउने व्यवस्था गर्न सकिनेछ ।

ऐनको उपर्युक्त व्यवस्था बमोजिम कर कट्टी गर्न नपाउने वस्तु तथा सेवाका सम्बन्धमा नियमावलीको नियम ४१ मा देहायको व्यवस्था रहेको छः

नियम ४१ कर कट्टी गर्न नपाइने वस्तु वा सेवाहरु: (१) ऐनको दफा १७ को प्रयोजनको लागि देहायका वस्तु वा सेवाहरुको हकमा कर कट्टी गर्न पाइने छैन:- (क) पेय पदार्थ, (ख) अल्कोहल वा अल्कोहल मिश्रित पेय पदार्थ जस्तै रक्सी, वियर, (ग) सवारी साधनको लागि पेट्रोल (घ) मनोरञ्जन खर्च

निश्चित रसायन, सामग्री र प्रविधि आदिको संयोजन एवं प्रशोधन गरी निश्चित अवधिसम्म गुणस्तर नास नहुने र उपभोग गर्न सकिने पेय पदार्थलाई हल्का पेय पदार्थ भनिन्छ । कुनै हल्का पेय पदार्थ ( Soft Drink ) मा अल्कोहलको मात्रा नहुने वा भएमा समेत नगन्य मात्रा हुने गर्दछ। यस्ता हल्का पेय पदार्थको खरिदमा तिरेको कर कट्टी वा मिलान गर्न पाईंदैन । तर सिलबन्दी बोतलमा प्याकेजिङ्ग गरिएको खानेपानीलाई मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ४१ को उपनियम (१) को खण्ड (क) बमोजिमको पेय पदार्थ भन्न नकिने र यस्तो पानी खरिदमा तिरेको कर कट्टी दावी गर्न सकिन्छ । किनभने मिनरल वाटर उत्पादन गर्दा वा प्याकेजिङ्ग गर्दा उपर्युक्त हल्का पेय पदार्थ उत्पादन गर्दा प्रयोग हुने रसायन आदि समावेश नहुने, भए पनि ज्यादै नगन्य मात्रामा समावेश हुने र शुद्ध, सफा र स्वस्थ्य खानेपानी उपभोग गर्नु मानव जीवनको लागि समेत अत्यावश्यक रहेको हुँदा बोतलबन्दी वा जारमा सम्वेष्ठन गरिएको मिनरल वाटरलाई नियम ४१ को उपनियम (१) को खण्ड (क) बमोजिमको हल्का पेय पदार्थको कोटीमा राख्नु हुँदैन । यसलाई निम्न उदाहरणबाट प्रष्ट पार्न सकिन्छः

उदाहरण ७.२

कखग प्रा.लि. मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता भएको करदाता हो । उक्त प्रा.लि.ले कम्प्युटर लगायत विभिन्न कार्यालय सामग्रीहरु आपूर्ति गर्दछ । उक्त प्रा. लि. मा कार्यरत कर्मचारी तथा ग्राहकहरुको उपभोग एवं सेवा सत्कारको लागि कोकाकोला, पेप्सी, क्यान जुस, मिनरल वाटर आदि खरिद गरेको छ । कर परीक्षणको समयमा बीजक एवं कागजात छानबिन गर्दा कोकाकोला, पेप्सी, क्यान जुस, मिनरल वाटर वस्तु खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर कट्टी दावी गरेको पाइयो ।

यस्तो अवस्थामा करदाताले कोकाकोला, पेप्सी, क्यान जुस जस्ता पेय पदार्थ ( मिनरल वाटर बाहेक ) खरिदमा तिरेको कर कट्टी दावी गरेकोले कानून बमोजिम नपाउने कर कट्टी दावी गरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७(२) तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ४१ को उपनियम (१ को खण्ड (क) बमोजिमको कानूनी व्यवस्था उल्लंघन गरेको हुँदा उक्त वस्तुमा दावी गरिएको कर रकम सहित ऐन बमोजिम लाग्ने थप दस्तुर, ब्याज र जरिवाना असूल गर्न कर निर्धारण गर्नुपर्दछ ।

यसै गरी अल्कोहलजन्य मिश्रित पेय पदार्थहरु जस्तैः मदिरा, वियर, वाइनजस्ता पेय पदार्थहरु खरिद वा पैठारी गर्दा तिरेको कर कट्टी दावी गर्न पाईंदैन । सवारी साधनको लागि पेट्रोल खरिदमा तिरेको कर कट्टी दावी गर्न पाईंदैन।

यसै गरी सम्बन्धित करदाताले व्यक्तिगत आनन्द एवं सन्तुष्टिको खोजीमा कुनै कला संस्कृति वा कुनै कार्यक्रमको अवलोकन गर्दा प्रवेश शुल्क, सेवा शुल्क, दस्तुर वा यस्तै कुनै खर्च, होटलमा बास बस्दा लाग्ने खर्च,खाना तथा पेय पदार्थमा गरेको खर्च, दैनिक भ्रमण भत्ता वा कुनै व्यक्ति वा निकायलाई कुनै उपहार प्रदान गर्दा भएको खर्च आदिलाई मनोरञ्जन खर्चको रुपमा मानिएको छ । यस्ता मनोरञ्जन खर्चहरुमा तिरेको मूल्य अभिवृद्धि कर नियम ४१ को उपनियम (१) को खण्ड (घ) बमोजिम कट्टी दावी गर्न पाईंदैन । यस विषयलाई निम्न उदाहरणले प्रष्ट पार्नेछः

उदाहरण ७.३

एविसी प्रा. लि. मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता भएको करदाता हो । उक्त प्रा. लि. ले श्रृंगारका विभिन्न प्रसाधनहरुको कारोवार गर्दछ । उक्त प्रा.लि.ले आर्थिक वर्ष समाप्त भएपछि कर्मचारी तथा आधिकारिक बिक्रेताहरुलाई सम्मिलित गराई कुनै पर्यटकीय स्थल घुमाउने गरेको छ । कर परीक्षणको समयमा बीजक एवं कागजात छानबिन गर्दा पर्यटकीय भ्रमण खर्च, विभिन्न पर्यटकीयस्थलको अवलोकनको लागि प्रवेश शुल्क, होटलमा आवास तथा खाना खर्च वापत रु. १० लाख खर्च गरेको र रु. १ लाख ३० हजार मूल्य अभिवृद्धि कर कट्टी दावी गरेको पाइयो । यस्तो अवस्थामा उक्त प्रा.लि.ले कर्मचारी तथा डिलरहरुलाई सम्मिलित गराई पर्यटकीय भ्रमण खर्च, विभिन्न पर्यटकीयस्थलको अवलोकनको लागि प्रवेश शुल्क, होटलमा आवास तथा खाना खर्च वापत रु. १० लाख खर्च गरेको १ लाख ३० हजार मूल्य अभिवृद्धि कर कट्टी दावी गरेकोले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ ( २ ) तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ४१ (१) (घ) | बमोजिमको कानूनी व्यवस्था उल्लंघन गरेको हुँदा उक्त वस्तुमा दावी गरिएको कर जरिवाना सहित असुल गर्न कर निर्धारण गर्नुपर्दछ ।

७.८ आंशिक रुपमा कर कट्टी गर्न पाउने वस्तु तथा सेवा

मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले केही वस्तु तथा सेवामा तिरेको कर आंशिकरुपमा मात्र कर कट्टी गर्न पाउने व्यवस्था गरेको छ । व्यवसायिक एवं व्यक्तिगत दुबै प्रयोजनको लागि प्रयोग हुने केही पुँजीगत प्रकृतिका वस्तु वा सेवाको खरिदमा तिरेको करलाई आंशिक रुपमा कट्टी गर्न दिने गरी कानूनी प्रबन्ध गरिएको छ । यस सम्बन्धमा ऐनको दफा १७ को उपदफा (२) ले देहायको व्यवस्था गरेको छः

दफा १७ को उपदफा (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवसायिक वा व्यक्तिगत प्रयोजनको लागि प्रयोग हुन सक्ने तोकिएका वस्तुहरुका हकमा कर कट्टी गर्न नपाउने वा आंशिक रुपमा मात्र कर कट्टी गर्न पाउने व्यवस्था गर्न सकिनेछ।

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ४१ को उपनियम (२) मा देहाय बमोजिमको व्यवस्था रहेको छः

नियम ४१ को उपनियम (२) देहायका वस्तुहरुमा देहाय बमोजिमको अनुपातमा कर कट्टी गर्न पाइनेछः (क) ...., (ख) अटोमोवाइल्समा खरिद मूल्यको ४० प्रतिशत । (ग) ..... स्पष्टीकरणः खण्ड (ख) को प्रयोजनको लागि “अटोमोवाइल्स' भन्नाले कुनै पनि तीन वा सोभन्दा बढी पांग्रा भएको सडकमा गुड्ने यात्रुवाहक सवारीको साधन सम्झनु पर्दछ ।

मूल्य अभिवृद्धि कर नियमावलीले गरेको उपर्युक्त व्यवस्था बमोजिम तीन वा सोभन्दा बढी पांग्रा भएको यात्रुबाहक सवारी साधन जस्तैः बस, मिनि बस, कार, जीप, भ्यान, डबल क्याब पिक अप, अटो रिक्सा आदिमा तिरेको करमध्ये ४० प्रतिशतले हुन आउने रकम मात्र कर कट्टी गर्न सकिन्छ । तर कर लाग्ने कारोबारसँग प्रत्यक्षरुपले सम्बन्धित मालसामान ढुवानी गर्ने प्रयोजनको लागि प्रयोगमा आउने ट्रक, मिनि ट्रक, डेलिभरी भ्यान, पावर टिलर, सिंगल क्याब पिक अप, ट्याक्टर आदि ढुवानीका साधनमा तिरेको कर भने पूर्णरुपमा कट्टी गर्न पाइन्छ। यसै गरी व्यवसायिक प्रयोजनको लागि दुई पाङ्ग्रे सवारी साधन खरिद गर्दा तिरेको कर पूर्णरुपले कट्टी गर्न सकिन्छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा नियमावली, २०५३ ले केही वस्तु वा सेवाको खरिदमा तिरेको कर कट्टी गर्न नपाइने वा आंशिकरुपमा मात्र कर कट्टी गर्न पाइने व्यवस्था गरे तापनि नियम ४१ को उपनियम (१) र नियम ४१ को उपनियम (२) बमोजिम कर कट्टी गर्न नपाइने वा आंशिकरुपमा मात्र कर कट्टी गर्न पाइने भनी तोकिएका वस्तुको खरिद बिक्री गर्ने मुख्य कारोबार गर्ने व्यक्तिले भने ती वस्तु वा सेवामा तिरेको कर पूर्णरुपमा कट्टी गर्न पाउने व्यवस्था नियमावलीले गरेको छ ।

यस सम्बन्धमा नियम ४१ को उपनियम (३) ले देहाय बमोजिम कानूनी व्यवस्था गरेको छः

नियम ४१ को उपनियम (३) दर्ता भएको व्यक्तिले उपनियम (१) वा (२) को आपूर्ति गर्ने कार्य नै मुख्य रुपमा गर्ने भएमा यस नियमावलीमा व्यवस्थित प्रक्रिया बमोजिम कर कट्टी गर्न बाधा पर्ने छैन ।

यस विषयलाई निम्न उदाहरणले प्रष्ट पार्नेछः

उदाहरण ७.४

अतुल ईन्टरनेशनल प्रा.लि यात्रुवाहक कार आयात गरी स्थानीय वजारमा बिक्री गर्ने प्रयोजनको लागि मूल्य अभिवृद्धि करमा दर्ता भएको रहेछ । निजको मुख्य कारोबार नै यात्रुवाहक कार खरिद बिक्री गर्ने भएकाले त्यस्तो सवारी साधनको खरिदमा तिरेको कर बिक्रीमा संकलन गरेको करबाट नियमावलीको नियम ४१ को उपनियम (३) बमोजिम पुरै कर कट्टी गर्न पाउँछ । त्यस्तै विकास इन्टरप्राइजेज प्रा. लि मदिराजन्य वस्तुहरु आयात र स्थानीय खरिद गरी बिक्री गर्ने प्रयोजनको लागि मूल्य अभिवृद्धि करमा दर्ता भएको रहेछ । निजको मुख्य कारोबार नै मदिराजन्य वस्तुहरु खरिद बिक्री गर्ने भएकाले त्यस्तो मदिराजन्य खरिदमा तिरेको कर बिक्रीमा संकलन गरेको करबाट नियमावलीको नियम ४१ को उपनियम (३) बमोजिम पुरै कर कट्टी गर्न पाउँदछ ।

७.९ समानुपातिक कर कट्टी सम्बन्धी व्यवस्था

करयोग्य कारोबार गर्ने कुनै व्यक्तिले कर लाग्ने कारोबारसँग सम्बन्धित खरिदमा तिरेको सम्पूर्ण कर कट्टी गर्न पाइने व्यवस्थाका सम्बन्धमा माथि उल्लेख गरी सकिएको छ । तर कहिलेकाँहि कुनै व्यक्तिले कर लाग्ने कारोबार मात्र नगरी कर नलाग्ने कारोबार समेत गरेको अवस्था हुन सक्दछ । कुनै व्यक्तिले कर लाग्ने र कर छुट हुने दुबै किसिमको मिश्रित कारोबार गरेमा निजले कर लाग्ने वस्तु वा सेवासँग प्रत्यक्ष वा सोझो सम्बन्ध भएका वस्तु वा सेवामा तिरेको कर निजले पूर्ण रुपमा कट्टी गर्न सक्दछ । यस सम्बन्धमा ऐनको दफा १७ को उपदफा (३) मा देहायको व्यवस्था रहेको छः

दफा १७ को उपदफा (३) कुनै महिनामा कारोबार भएको वस्तु वा सेवाको पूर्ण अंश कर लाग्ने कारोबारमा प्रयोग नभएमा उक्त वस्तु वा सेवामा पहिले तिरेको कर कट्टी सो वस्तु वा सेवाको कर लाग्ने कारोबारमा प्रयोग भएको अंशमा मात्र तोकिए बमोजिम प्रदान गरिनेछ ।

यस सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ४० को उपनियम (३) ले देहायको व्यवस्था गरेको छः

नियम ४० को उपनियम (३) कुनै करदाताले करलाग्ने वस्तु वा सेवा तथा कर छुट भएको वस्तु वा सेवा दुबैको कारोबार गरेको रहेछ भने त्यस्तो करदाताले कर लाग्ने वस्तु वा सेवासँग प्रत्यक्ष रुपमा सम्बन्धित खरिद वा आयातमा तिरेको कर मात्र कट्टी गर्न पाउनेछ ।

यसै गरी कर छुट हुने वस्तु वा सेवासँग प्रत्यक्ष र सोझो सम्बन्ध स्थापना गर्न सकिने वस्तु वा सेवा खरिदमा तिरेको कर भए उक्त कर कट्टी दावी गर्न पाईंदैन ।

कर लाग्ने र कर छुट कारोबारसँग प्रत्यक्ष वा सोझो सम्बन्ध स्थापना गर्न नसकिने वस्तु वा सेवाको खरिदमा तिरेको करलाई निजको कुल कारोबार ( कर लाग्ने स्थानीय विक्री तथा निकासी बिक्री र कर छुट हुने स्थानीय बी तथा निकासी बिक्री समेतको कुल कारोबार) मा कर लाग्ने स्थानीय बिक्री तथा निकासी बिक्री कारोबार जोड्दा हुन आउने जम्मा कर लाग्ने कारोबारको अनुपात के कति स्थापित हुन्छ सोही अनुपातमा मात्र कर कट्टी दावी गर्नुपर्दछ । यदि सो अनुपात गणना नगरी कानूनले दिएको सुविधाभन्दा बढी कर कट्टी दावी गरेको पाइएमा जरिवाना सहित कर निर्धारण गरी असुल उपर गर्नुपर्दछ । यस सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ४० को उपनियम (४) ले देहायको व्यवस्था रहेको छः

नियम ४० को उपनियम (४) कर लाग्ने वा कर छुट भएको दुबै प्रकारका वस्तु वा सेवाको कारोबार गर्ने करदाताले उपनियम (३) बमोजिम कर लाग्ने वस्तु वा सेवाको बिक्रीसँग खरिद वा आयात भएको वस्तुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेमा त्यस्तो करदाताले बिक्री गरेको कुल मूल्य कर लाग्ने कारोबारको मूल्यको समानुपातिक हिसाबबाट खरिद वा आयातमा तिरेको कर कट्टी गर्न सक्नेछ ।

समानुपातिक कर कट्टी सुविधाको गणना गर्ने सन्दर्भमा कर लाग्ने र कर छुट हुने मिश्रित कारोबारको अनुपात कहिले गणना गर्ने भन्ने विषय महत्वपूर्ण हुने गर्दछ । प्रशासनिक सहजता र कानूनको प्रभावकारी कार्यान्वयन गर्न समानुपातिक कर कट्टीको गणना आर्थिक वर्षको अन्त्य अर्थात प्रत्येक आषाढ महिनाको कर विवरण पेश गर्दा समायोजन गर्नु व्यवहारिक हुन्छ । मिश्रित रुपमा प्रयोग हुने वस्तु वा सेवाको खरिद गर्दा सम्बन्धित कर अवधिमा पूर्ण कर कट्टी दावी गर्ने र उक्त वस्तु वा सेवाको प्रयोग कर लाग्ने र कर छुट हुने वस्तु वा सेवामा कुन अनुपातमा प्रयोग भयो भन्ने विषय प्रत्येक आर्थिक वर्षको अन्त्यमा निक्र्यौल गरी अघिल्ला कर अवधिमा दावी गरिएको बढी कर रकमलाई आषाढ महिनाको कर विवरणको अन्य थपघट महलको डेविटतर्फ उल्लेख गरी समायोजन गर्नुपर्दछ ।

समानुपातिक कर कट्टी गर्दा विगतमा लिएको कर कट्टीको समेत समानुपातिक हिसाव गरी कर कट्टी पाउने र नपाउने करको गणना गर्नुपर्दछ । कुनै नयाँ व्यवसाय स्थापना गर्ने सिलसिलामा ठूलो मात्रामा पुँजीगत खर्च गरिएको हुन्छ र सोही बमोजिम ठूलो रकम कर कट्टी दावी गरिएको हुन्छ । प्रारम्भिक अवस्थामा कर लाग्ने बिक्री नहुने तर कर लाग्ने खरिद वा पैठारी हुने हुँदा क्रेडिट रकम वृद्धि भइरहेको हुन्छ । यस अवस्थामा करयोग्य र कर छुट कारोवारको अनुपात यकिन नहुने हुँदा समानुपातिक कर कट्टीको हिसाब गर्न सकिदैन ।

दर्ता भएको व्यक्तिले व्यवसायिक कारोवार प्रारम्भ भए पश्चात् कर लाग्ने बस्तु वा सेवासँग प्रत्यक्ष रुपमा सम्बन्धित खरिद वा आयातमा तिरेको कर कट्टीलाई कायम राखी पहिले दावी गरेको बाँकी करलाई कर विवरण मार्फत डेविटतर्फ समायोजन गर्नुपर्दछ । कथंकदाचित करयोग्य र करछुट दुबै प्रकारको कारोबार गर्ने करदाताको करयोग्य बिक्रीसँग करयोग्य खरिदको प्रत्यक्ष सम्बन्ध स्थापित हुन नसक्ने अवस्था भएमा करयोग्य कारोबार र कर छुटको कारोबारको अनुपातको आधारमा कट्टी पाउने र नपाउने कर गणना गरी पुँजीगत खरिद वा अन्य खरिदमा पहिले दावी गरेको कर समायोजन गर्नुपर्दछ । उपर्युक्त दुइवटा विधिहरु अनुसार समानुपातिक रुपमा कर गणना हुन नसक्ने अवस्था परेमा कर अधिकृतले अन्य वैकल्पिक तरिकाबाट कर गणना गर्न विभागसँग निर्देशन माग गर्न सक्तछ । यसरी अनुमति माग भई आएमा कर अधिकृतबाट पेश भएको तरिकाबाट यथार्थ रुपमा समानुपातिक करको गणना हुन सक्ने नसक्ने विषयमा छानविन गरी विभागले सो तरिका अनुसार वा अन्य कुनै उपयुक्त तरिका अनुसार करको समानुपातिक रुपमा गणना गर्न कर अधिकृतलाई निर्देशन दिनुपर्दछ। यस सम्बन्धमा नियमावलीको नियम ४०को उपनियम (५) मा देहायको व्यवस्था रहेको छः

नियम ४० को उपनियम (५) उपनियम (४) बमोजिम करको गणना गर्दा समानुपातिक रुपमा गणना हुन नसक्ने भन्ने कर अधिकृतलाई लागेमा निजले अर्को बैकल्पिक तरिकाद्धारा गणना गर्न विभागसँग निर्देशन माग गर्न सक्नेछ ।

यस विषयलाई निम्न उदाहरणले स्पष्ट पार्नेछः

उदाहरण ७.५

कुनै समूह कम्पनीले कर्पोरेट अफिसको लागि ७,००० वर्ग फिटको ७ तले आधुनिक, उच्च प्रविधि र सुविधायुक्त भवन निर्माण गरेको छ । उक्त समूहमा ७ वटा विभिन्न उद्योग र व्यापारिक कम्पनीहरु आवद्ध भई संचालनमा रहेका छन् । ४ वटा कम्पनी कर लाग्ने कारोबार गर्दछन र मूल्य अभिवृद्धि करमा दर्ता रहेका छन् । २ वटा कम्पनी कर नलाग्ने वस्तु वा सेवाको कारोवार गर्दछन् र मूल्य अभिवृद्धि करमा दर्ता छैनन्। १ कम्पनीले कर लाग्ने र कर छुट हुने दुबै किसिमका वस्तु वा सेवाको कारोबार गर्दछन्। मानौं उक्त कर्पोरेट भवन मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता रहेको कुनै एक कम्पनीको स्वामित्वमा रहने गरी निर्माण गरिएको छ । उक्त कम्पनीको वित्तीय विवरण अनुसार उक्त भवनको मूल्य रु. १ अर्व रहेको छ । साथै उक्त भवन निर्माण गर्दा खरिद गरेको वस्तु वा सेवामा तिरेको मूल्य अभिवृद्धि कर रु. १३ करोड ऐनको दफा १७ बमोजिम कट्टी दावी गरेको छ । उक्त ७ तले भवनको माथिल्लो २ तला कर्पोरेट अफिसको रुपमा संचालन भएको पाइयो । कर्पोरेट अफिसले समूहमा आवद्ध सबै ७ कम्पनीको मुख्य कार्यालयको रुपमा कार्य गर्दछ । अन्य ५ तला भवनलाई अन्य व्यक्ति वा निकायलाई बहालमा लगाएको (Rented Out) पाइयो । उपर्युक्त अवस्थामा समानुपातिक कर कट्टीको हिसाब कसरी गर्ने भन्ने विषय मुख्य रहेको छ । यस सम्बन्धमा कुल ७ तला (औसतमा ७,००० वर्ग फिट क्षेत्रफल ) भवनमध्ये २ तला ( औसतमा २००० वर्ग फिट क्षेत्रफल ) मात्र कर्पोरेट अफिसको रुपमा प्रयोग भएको छ । कर्पोरेट अफिसले भवनको करिब २८.५७ प्रतिशत भाग मात्र प्रयोग गरेको देखियो । कुल दावी गरिएको कर कट्टी रकम रु. १३ करोडको २८.५७ प्रतिशतले हुने रकम रु.३,७१,४२,८५७ गणना गर्नुपर्दछ ।

७.१० कर कट्टी लिएका वस्तु करयोग्य कारोबारमा प्रयोग हुन छाडेमा

कुनै व्यक्तिले कुनै समयमा करयोग्य कारोबारमा प्रयोग गर्ने उद्देश्यले खरिद गरेका पुँजीगत वस्तु लगायतका अन्य करयोग्य वस्तु वा सेवा कुनै कारणले ती वस्तु वा सेवाको उपयोगिताको अवधि समाप्त नहुँदै करयोग्य कारोबारमा प्रयोग हुन छाडेमा ती वस्तु वा सेवा प्रचलित बजार मूल्यमा बिक्री भएको मानी कर असुल उपर गरिने व्यवस्था ऐनले गरेको छ । यस सम्बन्धमा ऐनको दफा १७ को उपदफा (४) ले देहाय बमोजिमको व्यवस्था गरेको छः

दफा १७ को उपदफा (४) यस दफा बमोजिम कर कट्टी सुविधा प्रदान गरिने वस्तु वा सेवाको तोकिए बमोजिमको उपयोगिताको अवधि समाप्त हुनुभन्दा अगावै कर लाग्ने कारोबारमा प्रयोग हुन छाडेमा तोकिए बमोजिम सो वस्तु वा सेवा तत्काल बजार मूल्यमा बिक्री भएको मानी कर असुल उपर गरिनेछ ।

मूल्य अभिवृद्धि कर क्रेडिट लिएको वस्तु वा सेवाको उपयोगिताको अवधि समाप्त हुनु पूर्व नै मूल्य अभिवृद्धि कर लाग्ने कारोबारमा प्रयोग गर्न छाडेमा त्यस्तो वस्तु वा सेवालाई तत्काल बजार मूल्यमा बिक्री भएको मानी मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ । यो व्यवस्था कर चुहावट विरुद्धको व्यवस्था (Specific Anti Avoidance Rule) हो। यो व्यवस्थाको अभावमा करदाताले मूल्य अभिवृद्धि कर लाग्ने व्यवसाय गर्ने उद्देश्यले दर्ता गर्ने र खरिद गरेको वस्तु वा सेवामा कर कट्टी दावी गर्ने र पछि गएर कर नलाग्ने वस्तुको कारोबार गर्न सक्ने अवस्था हुन्छ। यसले गर्दा त्यस्तै कारोबार गर्ने अन्य व्यक्तिहरुको कारोबारको लागत भन्दा त्यस्ता करदाताको लागत घटी हुने संभावना रहने हुँदा अन्य प्रतिष्पर्धीहरु विस्थापित हुन सक्ने हुन्छ ।

करयोग्य कारोबार गर्ने करदाताले व्यवसायिक प्रयोजनको लागि निर्माण गर्ने सम्पत्तिहरु आफैंमा भने कर नलाग्ने हुने तर त्यस्तो सम्पत्तिहरु सिर्जना गर्ने वा निर्माण गर्ने क्रममा कर क्रेडिट लिएको हुन्छ। जस्तैः भवन निर्माणमा तिरेको कर कट्टी दावी । कर लाग्ने कारोवार गर्ने प्रयोजनको लागि निर्माण गरिएको भवनलाई कर नलाग्ने कारोबारमा प्रयोग हुन थालेको अवस्थामा तत्कालै उक्त भवन निर्माण गर्ने क्रममा खरिद गरिएका वस्तु वा सेवामा तिरेको कर दावी गरिएको भए त्यस्तो सम्पत्ति तत्कालको बजार मूल्यमा बिक्री भएको मानी कर असुल गर्नुपर्दछ।यस्तो वस्तु वा सेवाको वजार मूल्य निर्धारण गर्दा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १३ तथा नियमावलीको नियम २२ को अधिनमा रही गर्नुपर्दछ । माथिको दफामा दुई वटा विषय प्रमुख रहेका छन् । ती हुन:
(क) वस्तु वा सेवाको तोकिए बमोजिमको उपयोगिताको अवधि समाप्त भएको जानकारी, र
(ख) तत्काल बजार मूल्यमा विक्री भएको मान्न बजार मूल्यको जानकारी ।

यस दफाको प्रभावकारी कार्यान्वयनको लागि आयकर ऐन, २०५८ मा रहेको स्थिर सम्पत्तिको ह्रासकट्टी अवधिलाई मूल्य अभिवृद्धि कर प्रयोजनको लागि उपयोगिता अवधि मान्न सकिन्छ । यस विषयलाई निम्न उदाहरणले अझ स्पष्ट पार्नेछः

उदाहरण ७.६

मानौं, कुनै करदाताको आ.व. २०७०।७१ को वित्तीय विवरण अनुसार मूल्य रु.१० करोडको फर्निचर खरीद गरेको देखिन्छ । उक्त फर्निचर खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर रु. १ करोड ३० लाख मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ बमोजिम कट्टी दावी गरी आ.व. २०७३।७४ को अन्त्यसम्ममा बिक्रीमा संकलन गरेको करबाट मिलान गरिसकेको छ । उक्त करदाताले पेश गरेको २०७४ साल आषाढ महिनाको कर विवरणको कर दायित्व रु.५०,००० कर विवरण पेश गर्ने समयभित्र दाखिला गरिसकेको छ। उक्त करदाताले आ.व. २०७४।७५ को शुरुआतबाट साबिकमा गर्दै आएको कर लाग्ने कारोबार बन्द गरी कर छुटको कारोबार मात्र गर्दै आएको छ र मासिक शुन्य विवरण पेश गरिरहेको छ ।

मूल्य अभिवृद्धि कर ऐन तथा नियमावलीमा पुँजीगत वस्तुमा तिरेको कर एकमुष्ट रुपमा सोही कर अवधिमा कर कट्टी दावी गर्न सकिने व्यवस्था रहेको छ । तर आयकर ऐनमा Matching Principles को आधारमा उक्त सम्पत्तिको वर्षेनि ह्रास खर्च उपलब्ध गराउने व्यवस्था रहेको छ । शुरुमा सबै कर कट्टी दावी गर्ने तर पछि कर लाग्ने कारोबार गर्न छाडेमा वा कारोबार बन्द गरेको अवस्थामा पहिले कट्टी गरेको कर के कसरी कर हिसाब मिलान गर्ने भन्ने विषयमा जटिलता उत्पन्न हुन सक्दछ ।

(क) मूल्य अभिवृद्धि कर ऐन, २०५२ ऐनको दफा १७ को उपदफा (४) ले दफा १७ बमोजिम कर कट्टी सुविधा प्रदान गरिने वस्तु वा सेवाको तोकिए बमोजिमको उपयोगिताको अवधि समाप्त हुनुभन्दा अगावै कर लाग्ने कारोबारमा प्रयोग हुन छाडेमा तोकिए बमोजिम सो वस्तु वा सेवा तत्काल बजार मूल्यमा बिक्री भएको मानी कर असुल उपर गरिने व्यवस्था गरेको हुँदा कर कट्टी दावी गरेको व्यवसायिक प्रयोजनको सो फर्निचर तत्काल बजार मूल्यमा विक्री भएको मानी २०७४ श्रावण महिनामा मू.अ.कर निर्धारण गर्नुपर्दछ। (ख) यसरी उपर्युक्त बमोजिम कर निर्धारण गर्दा ऐनको दफा १९ र दफा २६ को क्रमशः थप दस्तुर व्याज तथा दफा २९ मा उल्लिखित जरिवाना लाग्ने व्यवस्था समेत आकर्षित हुनेछ ।

७.११ प्रयोग भई सकेका वस्तुहरुमा पाउने कर कट्टी सम्बन्धी व्यवस्था

ऐनले प्रयोग भईसकेका वस्तुहरु अर्थात पुराना वस्तुहरुमा पाउने कर कट्टी सुविधा नयाँ वस्तुहरुको हकमा पाउने कर कट्टीको सुविधाभन्दा भिन्न हुने व्यवस्था गरेको छ । नयाँ करयोग्य वस्तुहरु दर्तावाला व्यक्तिहरुवाटै बिक्री वितरण हुने तर पुराना वस्तुहरु दर्तावाला व्यक्तिहरुबाटै बिक्री वितरण हुन्छन् भन्ने कुनै निश्चितता हुने भएको कारणले ऐनले नयाँ र पुराना वस्तुहरुमा प्राप्त हुने कर कट्टी सुविधा बीच विभेद गरेको देखिन्छ। यस सम्बन्धमा ऐनको दफा १७ को उपदफा (५) मा देहायको व्यवस्था रहेको छः

दफा १७ को उपदफा (५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रयोग भैसकेका वस्तुहरुको कारोबार गर्ने दर्ता भएको व्यक्तिले पाउने कर कट्टी सुविधा तोकिए बमोजिम हुनेछ । ऐनको उपर्युक्त व्यवस्था अनुसार प्रयोग भएका वस्तुमा प्राप्त हुने कर कट्टीको सुविधाका सम्बन्धमा नियमावलीको नियम ३३ मा देहाय बमोजिम हुने गरी तोकिएको छ ।

नियम ३३ प्रयोग भैसकेका वस्तुहरुको कर निर्धारण तरीका:
(१) प्रयोग भैसकेका वस्तुहरुको कर निर्धारण त्यस्ता वस्तुहरुको बिक्री मूल्य र खरिद मूल्य बीचको बचतमा मात्र गरिनेछ । त्यस्ता वस्तुको बिक्रेताले देहाय बमोजिमका स्थायी अभिलेख त्यस्ता वस्तु खरिद वा बिक्री गर्दाकै अवस्थामा तयार गरी राख्नु पर्नेछ । (क) खरिद सम्बन्धीः (अ) खरिद मिति, (आ) वस्तुको पूर्ण जानकरी हुने किसिमको व्यहोराको उल्लेख, (ई) करको दर (इ) कर बाहेकको खरिद मूल्य, (उ) करको रकम, (ऊ) तिरेको कूल रकम । (ख) बिक्री सम्बन्धी: (अ) बिक्री भएको मिति, (आ) कर बाहेकको बिक्री मूल्य, (इ) खरिद मूल्य र बिक्री मूल्य विचको फरक, (ई) करको दर (उ) करको रकम, (ऊ) प्राप्त गरेको कूल रकम ।
(२) उपनियम (१ मा उल्लेख गरेको खरिद मूल्य भन्नाले कर सहितको मूल्यलाई जनाउने छ ।
(३) प्रयोग भैसकेका प्रत्येक वस्तुहरु बिक्री गर्दा बीजक जारी गरी खरिद र बिक्रीको छुट्टा छुट्टै अभिलेख राख्नु पर्नेछ ।
(४) दर्ता भएको व्यक्तिले उपनियम (१), (२) र (३) मा उल्लेख भएको अभिलेख सन्तोषजनक ढंगले राखेको नपाईएमा त्यस्तो करदाताले बिक्री गरेको कूल बिक्री मूल्यमा कर लगाई अर्को कर विवरणसँगै त्यस्तो कर दाखिला गर्ने गरी कर अधिकृतले लिखित आदेश दिन सक्नेछ ।

यस विषयलाई निम्न उदाहरणले प्रष्ट पार्नेछः

उदाहरण ७.७

प्रयोग भएका गाडी, मोटरसाईकल, टि.भि. र रेफ्रिजरेटरको कारोबार गर्ने अपार ईन्टरनेशनल प्रा. लि. मूल्य अभिवृद्धि करमा दर्ता भएको निजी कम्पनी रहेछ । उक्त कम्पनीले पूरानो गाडी, मोटरसाईकल, टि. भि. र | रेफ्रिजरेटरहरु उपभोक्तासँग सोझै खरिद गरी केही मर्मत सुधार गरी वा नगरी पुनः उपभोक्तालाई बिक्री गर्ने गरेको रहेछ । यसरी उक्त कम्पनीले धापासीमा वसोवास गर्ने राम बहादुरसँग एउटा टक्सन गाडी रु.२० लाखमा खरिद गरी त्यसमा सामान्य मर्मत सम्भार गरी रु. २५ लाखमा नयाँ वानेश्वर बस्ने हरि बहादुरलाई बिक्री गरेको रहेछ। यस्तो अवस्थामा उक्त कम्पनीले जारी गर्ने मूल्य अभिवृद्धि कर बीजकमा खरिद र विक्रीको फरक रु.५ लाख भएकोले सोमा मात्र मूल्य अभिवृद्धि कर असूल गर्नुपर्दछ ।

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ४४ बमोजिम प्रयोग भईसकेका वस्तुहरुको कारोबार गर्ने कुनै व्यक्तिले कुनै दर्ता नभएको व्यक्तिसँग खरिद गरेका वस्तुहरु र दर्ता भएको व्यक्तिसँग खरिद गरेको भए पनि सो खरिदमा तिरेको कर कट्टी गर्न नपाउने व्यवस्था गरेको छ । भन्नुको अर्थ पुरानो वस्तुहरुको कारोबार गर्ने व्यक्तिले खरिद गरेका वस्तुहरु कर तिरी खरिद गरेको र ती वस्तुहरु कारोबारसँग सम्बन्धित रहेको भए पनि सो खरिदमा तिरेको कर ऐनको दफा १७ को उपदफा (१) बमोजिम कर कट्टी दावी नगरी ऐनको दफा १७ को उपदफा (५) को अधिनमा रही नियमावलीको नियम ३३ र ४४ ले गरेका व्यवस्था बमोजिम कर असुल उपर गर्नुपर्दछ। प्रयोग भैसकेका वस्तुहरुको कर कट्टी सम्वन्धी व्यवस्थाको लागि नियम ४४ मा निम्नानुसार व्यवस्था रहेको छ । नियमा ४४ प्रयोग भैसकेका वस्तुहरुको कर कट्टी सम्बन्धी व्यवस्थाः ऐनको दफा १७ को उपदफा (५) को प्रयोजनको लागि प्रयोग भैसकेका वस्तुहरु मध्ये दर्ता नभएको व्यक्तिसँग खरिद गरेका वस्तुहरु र दर्ता भएको व्यक्ति भएपनि ऐनको दफा १७ मा परेका र व्यक्तिगत प्रयोगमा समेत ल्याइएका वस्तुहरुको खरिदमा तिरेको कर कट्टी गर्न पाइने छैन ।

७.१२ वित्तीय पट्टा अन्तर्गत भएको खरिदमा तिरेको कर कट्टी सम्बन्धी व्यवस्था

सवारी साधन, मिल मेसिनरी, उपकरणहरु जस्ता पुँजीगत वस्तुहरु कुनै बैंक वा वित्तीय संस्था वा उत्पादक वा वितरकसँग ऋण सम्झौता गरी वित्तीय पट्टा अन्तर्गत खरिद गर्ने प्रचलन पनि रहेको छ । वित्तीय पट्टा अन्तर्गत खरिद गरिने सम्पत्ति वापतको मूल्य निश्चित समय सारिणी अनुसार भुक्तानी गर्ने र पूर्व शर्त अनुसारको समयावधिभित्र भुक्तानी गरे पश्चात सो सम्पत्ति खरिदकर्ताको हुन्छ । यस किसिमको खरिदमा बिक्रेताले सामान्यतया खरिदकर्ताको नाममा नै बीजक जारी गर्ने तर वित्तीय पट्टा उपलब्ध गराउने व्यक्तिले पूर्व शर्त अनुसार रकम भुक्तानी नभए सम्म लिनुपर्ने रकमको प्रत्याभुतिको लागि कागजी स्वामित्व आफ्नो नाममा राखेको हुन्छ। ऋण उपलब्ध गराउने व्यक्ति (जस्तै कुनै बैंक वा वित्तीय संस्था ) का नाममा बीजक जारी गर्ने हुँदा उक्त वस्तुको स्वामित्व खरिदकर्तामा नभई ऋण प्रदान गर्ने व्यक्तिमा रहेको देखिन्छ । बीजकबाट उक्त अवस्था देखिए पनि वित्तीय पट्टा अन्तर्गत करयोग्य वस्तुको खरिदमा तिरेको कर ऋणदाता कुनै बैंक वा वित्तीय संस्थाले नभई ऋणी (खरिदकर्ता) ले कट्टी गर्न पाउने व्यवस्था ऐनले गरेको छ । यस सम्बन्धमा ऐनको दफा १७ को उपदफा ५क. मा देहायको व्यवस्था रहेको छ ।

दफा १७ को उपदफा (५) उपदफा (२) को अधिनमा रही वित्तीय पट्टा अन्तर्गत ऋण सम्झौता गरी पैठारी वा खरिद गरिएका पुँजीगत वस्तुहरुमा तिरेको कर सम्बन्धित करदाताले कट्टी गर्न पाउनेछ ।

ऐनको उपर्युक्त व्यवस्था अनुसार कर कट्टी नपाउने वा आंशिक कर कट्टी पाउने गरी ऐनले व्यवस्था गरेका वस्तुहरुमा तिरेको कर सोही बमोजिम र सो बाहेकका अन्य वस्तुहरु वित्तीय पट्टा अन्तर्गत खरिद गरिएको अवस्थामा खरिदकर्ताले त्यस्तो खरिदमा तिरेको सम्पूर्ण कर कट्टी गर्न पाउँदछ । यस विषयलाई निम्न उदाहरणले प्रष्ट पार्नेछः

उदाहरण ७.८

बुटवल डिर्पाटमेण्टल स्टोर प्रा. लि मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाता हो । डिर्पाटमेण्टल स्टोरले कारोबार संचालनको लागि आर्थिक वर्ष २०७३।७४ मा लागि नेपाल बैंक लिमिटेडसँग वित्तीय पट्टा अन्तरगत ऋण संझौता गरी सामान डेलिभरी भ्यान र अर्को एक थान टोयटा कार खरिद गरेको रहेछ । त्यस्तो भ्यान नेपाल बैंकको स्वामित्वमा भएको भए तापनि कर कट्टीको सुविधा पाउँछ । तर यसरी कर कट्टी | लिँदा सामान डेलिभरी भ्यान पूर्णरुपमा व्यवसायीक प्रयोजनको लागि प्रयोग हुने भएको कारण शत् प्रतिशत र | टोयटा कारको हकमा नियम ४१ को उपनियम (२) बमोजिम व्यक्तिगत प्रयोग पनि हुन सक्ने भएको र के कति व्यवसायिक र के कति व्यक्तिगत प्रयोजनको लागि भन्ने किटान गर्न नसकिने भएको हुँदा ४० प्रतिशतमात्र कर कट्टीको सुविधा पाउँछ । यसका साथै उक्त प्रा. लि. ले करयोग्य र कर छुटको कारोबार पनि गर्ने गरेको अवस्थामा त्यस्तो करयोग्य र करछुटको वार्षिक कारोबारको अनुपातको आधारमा कर कट्टी पाउने ४० प्रतिशत करलाई शत् प्रतिशत मानी करयोग्य र कर छुटको कारोबारको अनुपातको आधारमा कर कट्टी पाउँदछ ।

७.१३ दाखिला गरेको कर कट्टी गर्न पाउने व्यवस्था

दर्तावाला व्यक्तिले कारोबारको सिलसिलामा कुनै निकायमा आफुले दाखिला गरेको कर वस्तु वा सेवाको आपूर्ति गरी संकलन गरेको करमा कट्टी गर्ने सुविधाबाट वंचित हुन नपरोस भनी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (५ख) मा देहाय बमोजिम बिशेष व्यवस्था गरिएको छः

दफा १७ को उपदफा (५) दफा ८ को उपदफा २ दफा १२क. र दफा १५ को उपदफा (३) बमोजिम तिरेको कर सम्बन्धित करदातालाई कट्टी गर्न दिइनेछ ।

मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता भएको कुनै व्यक्तिले ऐनको दफा ८ को उपदफा (२) वमोजिम नेपाल वाहिरको दर्ता नभएको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्दा भुक्तानीका वखत दाखिला गरेको कर, ऐनको दफा १२क. बमोजिम राष्ट्रिय वनको काठ लिलामी, छोडपूर्जी वा चिरान आदेश पाए वापत सम्बन्धित वन कार्यालयमा दाखिला गरेको कर र दफा १५ को उपदफा (३) बमोजिम सोही उपदफामा उल्लेखित मूल्य अभिवृद्धि करमा दर्ता नभएको कुनै निकायमा दाखिला गरेको कर निजले बिक्रीमा संकलन गरेको करबाट कट्टी गर्न सक्दछ।

कर लाग्ने कारोबारको निमित्त खरिद, पैठारी वा उत्पादन भएका वस्तुमा तिरेको कर कट्टी एक पटक मात्र गर्न पाइन्छ। यस सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३९ को उपनियम (२) मा देहाय बमोजिमको व्यवस्था रहेको छः

नियम ३९ को उपनियम (२) यस नियम बमोजिम कर कट्टी गर्दा एक पटक मात्र गर्न पाइनेछ । यसरी कर कट्टी गर्दा दावी गरिएको मितिभन्दा एक वर्ष अगाडिको बीजक वा आयातसँग सम्बन्धित कागजातहरु हुनु पर्नेछ ।

७.१४ दर्ताका बखत मौज्दातमा रहेको करयोग्य वस्तुहरुको कर कट्टी

मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता भएको व्यक्तिले करयोग्य वस्तु तथा सेवा आपूर्ति गर्दा कर वीजक जारी गर्नुपर्दछ। करयोग्य वस्तु वा सेवाको कारोबार गरेको तर विभिन्न कारणवस मूल्य अभिवृद्धि करमा दर्ता नरहेको कुनै व्यक्ति मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता भएमा निज व्यक्तिले दर्ता हुँदाका बखत विभिन्न वस्तु मौज्दातमा रहेको हुन सक्दछ । दर्ता भएको मितिमा मौज्दातमा रहेका यस्ता वस्तु खरिद गर्दा निज करदाताले आपूर्तिकर्तालाई मूल्य अभिवृद्धि कर तिरेको हुन सक्दछ । मूल्य अभिवृद्धि करमा दर्ता भए पश्चात् मौज्दातमा रहेका यस्ता वस्तु बिक्री गर्दा पनि निजले मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ । कुनै करयोग्य वस्तु वा सेवा आपूर्ति गर्दा मूल्य अभिवृद्धि कर संकलन गरिन्छ भने उक्त वस्तु वा सेवा खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न पाउनु पर्ने आधारभूत सिद्धान्त नै हो । यहि सिद्धान्तलाई आत्मसात गर्दै मूल्य अभिवृद्धि करमा दर्ता हुँदाका बखत मौज्दातमा रहेका वस्तुको खरिदमा तिरेको कर कट्टी गर्न पाउने गरी कानूनी प्रबन्ध गरिएको छ । मौज्दातमा रहेका वस्तुमा तिरेको कर कट्टी गर्ने सुविधा नदिँदा दर्ता पश्चात् यस्ता वस्तु विक्री गर्दा कर असूल गर्नुपर्ने कारणले गर्दा कर माथि कर लाग्ने अवस्था सिर्जना हुने, यस्ता वस्तुमा दोहोरो कर भार पर्न गई उपभोक्तालाई बढी कर भार पर्न जाने र दर्तावाला व्यक्ति बीच समान व्यवहार कायम नहुने अवस्था सिर्जना हुने भएकोले दर्ता हुँदाका बखत मौज्दातमा रहेका वस्तुमा कर कट्टी सुविधा प्रदान गरिएको छ । यस सम्बन्धमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (७) मा देहाय बमोजिम व्यवस्था रहेको छः

दफा १७ को उपदफा (७) दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको वा तिर्नु पर्ने कर कट्टी गर्ने व्यवस्था तोकिए बमोजिम हुनेछ ।

यस सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ४३ ले देहाय बमोजिम व्यवस्था गरेको छः

नियम ४३. निवेदन दिनुपर्नेः
(१) करदाताले करकट्टीको लागि दर्ता भएको पन्ध्र दिनभित्र अनुसूची- १६ बमोजिमको ढाँचामा कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहाय बमोजिमका कागजात संलग्न गर्नुपर्नेछः- (क) दर्ता हुँदाका बखत मौज्दात रहेको भए सामानको विवरण, (ख) दर्ता हुनुभन्दा एकवर्ष अघिसम्मका कर बीजक र प्रज्ञापनपत्र भए तत् सम्बन्धी विवरण, (ग) अन्य आवश्यक प्रमाण ।
(३) उपनियम (१) बमोजिमको दाबी कर अधिकृतद्वारा स्वीकृत भएमा सम्बन्धित करदाताले नियम ३९ को उपनियम (४) बमोजिम कट्टी गर्न पाउनेछ ।
(४) उपनियम (१) बमोजिमको दाबी गरिएको कर पहिला नै कट्टा गरिएको पाइएमा ऐन र यस नियमावली बमोजिम कर अधिकृतले त्यस्तो करदातालाई कारबाही गर्न सक्नेछ ।

यस विषयलाई निम्न उदाहरणले प्रष्ट पार्नेछः

उदाहरण ७.९

एबिसी जनरल स्टोरले हल्का पेय पदार्थ लगायत विभिन्न खाद्यान्य वस्तुको खुद्रा कारोबार गर्दछ। उक्त स्टोरको वार्षिक कारोबार रु. ५० लाखभन्दा बढी भएको कारणले २०७५ साल श्रावण ३० गतेदेखि लागु हुने गरी मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता भएको छ । दर्ता भएको मितिमा विभिन्न खाद्यान्न सामग्री बाहेक रु. २ लाख मूल्य बरावरका चिनी, चियापत्ती र हल्का पेय पदार्थ मौज्दातमा रहेका छन् । मौज्दातमा रहेका वस्तु तथा अन्य वस्तुहरु खरिद गर्दा रु. ५० हजार मूल्य अभिवृद्धि कर तिरेको प्रमाण ( कर बीजकहरु) सुरक्षित रहेका छन् । यस्ता अवस्थामा मौज्दातमा रहेका वस्तुको कर कट्टी दावी गर्न देहाय बमोजिमको प्रक्रिया पूरा गर्नुपर्दछः

१) करदाताले मूल्य अभिवृद्धि कर दर्ता भएको मितिले १५ दिनभित्र अर्थात् २०७५ भाद्र १३ गतेभित्र मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को अनुसूची १६ बमोजिमको ढांचामा मौज्दात घोषणा गर्नुपर्दछ। १५ दिनभित्र यसरी मौज्दात घोषणा नगरेमा उक्त वस्तुमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी पाईंदैन ।

२) मौज्दात घोषणा गर्दाका बखत उक्त वस्तुहरु खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि करको प्रमाण अर्थात् रु.२६ हजार मूल्य अभिवृद्धि कर तिरेको सक्कल कर वीजक पेश गर्नुपर्दछ । करदातासँग रु.५० हजार कर तिरेको कर बीजक भए तापनि केही वस्तु बिक्री भई सकेको हुँदा उक्त वस्तुमा तिरेको कर कट्टी दावी गर्नु हुदैन । मूल्य अभिवृद्धि करमा दर्ता हुँदाका बखत मौज्दातमा रहेका वस्तुमा तिरेको कर मात्र कट्टी गर्न पाइने भएकोले रु.२६ हजार कर तिरेको कर बीजक मात्र पेश गर्नुपर्दछ।

३) मौज्दात घोषणा भए पश्चात् कर अधिकृतले उक्त वस्तुको भौतिक गणना गर्ने र प्रमाण कागजातको छानविन गर्ने कार्यमा सहयोग गर्नुपर्दछ । सम्बन्धित कर अधिकृतले देहाय बमोजिमको प्रक्रिया पूरा गर्नुपर्दछः
१) करदाताले दर्ता भएको मितिले १५ दिनभित्र उपर्युक्त प्रक्रिया पूरा गरी मौज्दात घोषणा गरे नगरेको छानविन गर्ने,
२) करदाताको कारोबारस्थलको स्थलगत निरीक्षण गरी घोषित वस्तु र सोको मौज्दात, मौज्दातमा रहेका वस्तु खरिद गर्दा प्राप्त भएका सक्कल कर बीजकको छानविन गरी पुष्टि भएको हदसम्मको मौज्दात र सोमा तिरेको कर बराबरको क्रेडिट एडभाइस जारी गर्ने,
३) जारी भएको क्रेडिट एडभाइसलाई तोकिएको कर विवरणको अन्य थपघट महलको क्रेडिट महलमा उल्लेख गरी क्रेडिट समायोजन गरे नगरेको छानविन गर्ने ।

७.१५ कर कट्टी दावी र दर्ता निलम्बन हुने व्यवस्था

दर्ता भएको कुनै व्यक्तिले लगातार छ महिनासम्म कर विवरण पेश नगरेमा त्यस्तो व्यक्तिको नाम सार्वजनिक गरी सो व्यक्तिको मिलान हुन बाँकी कर तथा कर कट्टी लिन बाँकी कुनै रकम भए सो रकम निलम्बन गर्न सकिने कानूनी व्यवस्था रहेको छ । यसको साथै निजको मूल्य अभिवृद्धि कर दर्ता समेत निलम्बन हुने व्यवस्था रहेको छ। यस सम्बन्धमा ऐनको दफा १७ को उपदफा (८) ले देहायको व्यवस्था गरेको छः

दफा १७ को उपदफा (८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लगातार छ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको कर कट्टी गर्नुपर्ने रकम बाँकी भ रोक्का राख्न र निजको दर्ता समेत निलम्वन गर्न सकिनेछ ।

ऐनको उक्त व्यवस्था बमोजिम लगातार छ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको कर वा दर्ता निलम्बन गर्दा देहायको प्रकृया अपनाउनु पर्दछः
(क) त्यस्ता करदाताको नाम विभागको वेबसाइट वा राष्ट्रिय पत्र पत्रिका वा संचार माध्यममा प्रकाशन/प्रशारण गर्ने,
(ख) सो सूचनामा कर विवरण पेश नगरेको अवधिको विवरण सूचना प्रकाशन भएको मितिले एक महिनाभित्रमा पेश गर्ने अन्यथा कर कट्टी गर्नुपर्ने रकम र दर्ता निलम्बन हुने जानकारी दिने,
(ग) तोकिएको मिति भित्रमा कर विवरण पेश गरेमा विवरण र कर बुझिलिने र अवस्था अनुसार व्याज, थप दस्तुर र जरिवाना समेत असुल उपर गर्ने,
(घ) तोकिएको मिति भित्रमा कर विवरण पेश नगरेमा करदाताको कर कट्टी गर्न पर्ने (क्रेडिट) रकम वा दर्ता निलम्बन गर्न विभागको करदाता सेवा शाखामा लेखि पठाउने,
(ङ) निलम्बनका लागि लेखि आए बमोजिम करदाता सेवा शाखाले निलम्बन गरी विभागको सूचना प्रविधि शाखा र कार्यालयलाई जानकारी गराउने,
(च) निलम्बन सम्बन्धी निर्णयको सूचना विभागको वेबसाइट वा राष्ट्रिय पत्र पत्रिका वा संचार माध्यममा प्रकाशन प्रशारण गर्ने ।

७.१६ नोक्सानी भएको वस्तुमा तिरेको कर कट्टी सम्बन्धी व्यवस्था

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (४) बमोजिम कर कट्टी दावी गरिएका वस्तुको उपयोगिता समाप्त हुनुभन्दा अगावै कर लाग्ने कारोबारमा प्रयोग हुन छाडेमा उक्त वस्तु प्रचलित बजार मूल्यमा बिक्री भएको मानी कर संकलन गर्नुपर्ने तर तोकिएको उपयोगिता अवधि समाप्त भए पश्चात् त्यस्तो वस्तु आपूर्ति योग्य नहुने हुँदा त्यस्तो वस्तुमा दावी गरिएको करले स्वत निरन्तरता पाउँछ । उक्त दफामा यस किसिमको व्यवस्था भए तापनि ऐनको दफा १६ख. ले केही विशेष कारण वा अवस्थाले हानी वा नोक्सानी भई त्यस्तो वस्तुको प्रयोग वा आपूर्तिको सम्भावना नभएमा तोकिए बमोजिमको प्रक्रिया पुरा गरी पहिले लिएको क्रेडिट नियमित गर्न सकिन्छ ।

कुनै पनि व्यवसायमा बिक्री वा अन्य प्रयोजनका लागि खरिद वा उत्पादन भएका वस्तुहरु बिकी विनिमय वा हक हस्तान्तरण हुनुभन्दा अगावै हराउने, बिलाउने, वाष्पिकरण हुने, नष्ट हुने, गुणस्तर एवं उपयोगिता अवधि समाप्त हुने वा अन्य कारणहरुवाट करयोग्य वस्तुहरु नोक्सान हुने गर्दछ । कर कट्टी दावी गरी सकेका तर विभिन्न कारणले कुनै करयोग्य वस्तु नोक्सान भई करयोग्य कारोवारमा प्रयोग नहुने अवस्था सिर्जना भएमा तोकिए बमोजिम कर कट्टी सुविधा पाउन सक्ने कानूनी व्यवस्था रहेको छ । यस सम्बन्धमा ऐनको दफा १६ख. ले देहायको व्यवस्था गरेको छः

दफा १६ख. नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्ने: आगजनी, चोरी, दुर्घटना, टुटफुट वा ध्वंसात्मक गतिविधिको कारणले हानि नोक्सानी भएको वा उपयोग गर्ने म्याद सकिएको वस्तुमा तिरेको मूल्य अभिवृद्धि कर तोकिए बमोजिम कट्टी गर्न सकिनेछ ।

यस सम्बन्धमा नियमावलीको नियम ३९.क. मा देहाय बमोजिमको व्यवस्था रहेको छः

नियम ३९क. नोक्सानी भएको वस्तुमा तिरेको कर कट्टी गर्नेः
(१) देहायका अवस्था परी कुनै वस्तु ह नोक्सानी भएमा त्यस्तो वस्तुमा तिरेको कर कट्टी गर्नको लागि देहाय बमोजिमको अवधिभित्र कर अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ:
(क) आगजनी चोरी दुर्घटना टुटफुट ध्वंसात्मक गतिविधिका कारणले हानि नोक्सानी भएमा त्यस्तो अवस्था भएको मितिले तीस दिनभित्र ।
(ख) उपयोग गर्ने म्याद सकिएको वस्तुको हकमा साउनदेखि असोजसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको कार्तिक पच्चीस गतेभित्र, कार्तिकदेखि पुससम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको माघ पच्चीस गतेभित्र, माघदेखि चैतसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको वैशाख पच्चीस गतेभित्र र वैशाखदेखि असारसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको साउन पच्चीस गतेभित्र ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन छानविन गर्दा हानि नोक्सानी भएको वा उपभोग गर्ने म्याद सकिएको देखिएमा कर अधिकृतले त्यस्तो हानि नोक्सानी भएको वा उपभोग गर्ने म्याद सकिएको वस्तुमा तिरेको करकट्टी गर्न दिन सक्नेछ ।
तर बीमा गरिएको वस्तुको हकमा क्षतिपूर्ति प्राप्त गरेको हदसम्म हुने रकम करदाता स्वयंले करकट्टी गर्न सक्नेछ ।

करयोग्य कारोबार गर्ने व्यक्तिले कुनै करयोग्य वस्तु खरिद गर्दा तिरेको कर खरिद गर्दा कै समयमा करकट्टी लिई सकेको हुन्छ। करकट्टी लिए पश्चात त्यस्तो वस्तु उपर्युक्त मध्ये कुनै कारणले नोक्सान भई करयोग्य कारोबारमा प्रयोग हुन नसक्ने भई मौज्दातबाट कट्टा गर्नु परेमा वा कम मूल्यमा बिक्री गर्नु परेमा सो वस्तुमा कट्टी गरिएको करले मान्यता पाउन त्यस्तो व्यक्तिले उक्त वस्तु नोक्सान भएको प्रमाण सहित ३० दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्दछ । यसरी पर्न आएको निवेदनको सम्बन्धमा छानविन गर्दा हानी नोक्सानी भएको पुष्टि भएमा कर अधिकृतले त्यस्तो पुष्टि भएको नोक्सानी रकमले खामेसम्म कर कट्टीलाई अनुमोदन गर्न सक्दछ । तर बीमा गरिएको वस्तुको हकमा सम्बन्धित बीमा कम्पनीबाट प्राप्त क्षतिपूर्ति रकमको हदसम्मको नोक्सानीमा कर कट्टी गर्न पाउँछ । यसरी कर अधिकृतले छानविन गर्दा कर लाग्ने वस्तुहरु हानी नोक्सानी भएको पुष्टि भएको अवस्थामा करदाताले मूल्य अभिवृद्धि कर कट्टी सुविधा पाउछ।

बाढी (प्राकृतिक प्रकोप) को कारणले मौज्दातमा भएका सामानको क्षति मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६ख. मा उल्लिखित दुर्घटनाको कारणले भएको हानी नोक्सानी सरह भएको हुने हुँदा त्यसरी क्षति भएका सामानको कर कट्टी तथा मौज्दात सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३९.क. को व्यवस्था बमोजिम गर्नुपर्दछ ।