परिच्छेद १२ कर भुक्तानी तथा असूली
मूल्य अभिवृद्धि कर स्वयं कर निर्धारणमा आधारित कर हो । त्यसैले मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले आफूले वस्तु तथा सेवाको आपूर्तिमा संकलन गरेको करमा वस्तु तथा सेवा प्राप्त गर्दा तिरेको कर आफैँले समायोजन गरी खरिदमा तिरेको भन्दा बिक्रीमा संकलन गरेको रकम बढी भएमा बढी भएको हदसम्मको कर रकम दाखिला गर्नुपर्दछ। कर तिर्नुपर्ने दायित्व भएका यस्ता व्यक्तिले आफूले तिर्नुपर्ने प्रत्येक कर अवधिको कर रकम कर अवधि समाप्त भएको मितिले पच्चीस दिन भित्रमा बुझाउनु पर्दछ । यसैगरी, ऐनको दफा २० बमोजिम कर निर्धारण गरी नियमावलीको नियम २९ बमोजिम जारी गरिएको अन्तिम कर निर्धारण आदेशमा उल्लेख भएको रकम सोही आदेशमा उल्लेख भएको मिति भित्रमा दाखिला गर्नुपर्दछ ।
करदाताले आफैले कर निर्धारण गरी दाखिला गर्नुपर्ने कर रकम तोकिएको समयभित्र दाखिला नगरी वा कम कर दाखिला गरी वा कर निर्धारण आदेश बमोजिमको रकम आदेशमा उल्लिखित मिति भित्र सम्बन्धित कार्यालयमा दाखिला नगरेमा त्यस्तो कर रकमलाई कर बक्यौता भनिन्छ । मूल्य अभिवृद्धि कर दाखिला र कर बक्यौता राख्ने व्यक्तिवाट कर असुल गर्ने प्रक्रिया एवं अधिकार सम्बन्धमा ऐनको दफा १९, २१, २३क., २३घ., २६ र ३१ तथा नियमावलीको परिच्छेद १० मा विभिन्न व्यवस्था रहेका छन् । यी कानूनी व्यवस्था अनुसार विभागले कर संकलन गर्ने प्रक्रिया अवलम्बन गरी कर संकलन गर्नुपर्दछ । ऐन नियमका यिनै व्यवस्थाहरुको ब्याख्या यस परिच्छेदमा गरिएको छ ।
१२.१ कर दाखिला गर्ने समय र करको भुक्तानी
करदाताले कर विवरणमार्फत तिर्नुपर्ने भनी घोषणा गरेको मूल्य अभिवृद्धि कर निजको कर अवधि समाप्त भएको २५ दिनभित्र बुझाउनु पर्दछ । करदाताहरुको कर अवधि फरक फरक हुन सक्छन् । कारोबारको प्रकृति र करदाताको प्रकार अनुसार कर अवधि मासिक, द्वैमासिक र चौमासिक कायम गरिएको छ । करदाताले प्रत्येक कर अवधिको कर सो अवधि समाप्त भएको मितिले पच्चिस दिनभित्र बुझाउनु पर्दछ । यस सम्बन्धमा ऐनको दफा १९ मा निम्न व्यवस्था रहेको छ ।
दफा (१९) करको भुक्तानी: (१) करदाताले प्रत्येक कर अवधिको कर सो अवधि समाप्त भएको मितिले पच्चीस दिनभित्र बुझाउनु पर्नेछ।
करदाताले स्वयं कर घोषणा गर्नुका अतिरिक्त कहिलेकाँहि कर प्रशासनले समेत कर दाखिला गर्न आदेश दिन सक्दछ।करदाताले स्वयं कर निर्धारण गरी दाखिला गरेको कर रकम वास्तविक रुपमा दाखिला गर्नुपर्ने कर रकम भन्दा कम हुने गरी दाखिला गरेमा कर अधिकृतले ऐनको दफा २० तथा नियमावलीको नियम २९ अनुसार कर निर्धारण गर्न सक्दछ । यसरी निर्धारण गरिएको रकम कर निर्धारण आदेश प्राप्त गरेको मितिले कर निर्धारण आदेशमा तोकिएको मितिभित्र दाखिला गर्नुपर्दछ । यस सम्बन्धमा नियमावलीको नियम ३० मा निम्न व्यवस्था रहेको छ।
नियम ३० कर, जरिवाना, थप दस्तुर र व्याजको रकम बुझाउनुपर्ने: नियम २९ बमोजिम जारी भएको कर निर्धारण आदेश बमोजिमको रकम सम्बन्धित करदाताले त्यस्तो आदेशमा उल्लिखित मितिभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नुपर्नेछ ।
दर्ता नभएको व्यक्तिले कर उठाउन पाउँदैन । तर कुनै करदाताले जानाजानी वा नजानीकन कर असूल गरेमा कर अधिकृतले त्यस्तो करदातालाई उठाएको कर रकम दाखिला गर्न कर निर्धारण आदेश जारी गर्दछ । त्यस्तो आदेश जारी भएमा सो आदेश जारी भएको मितिले सातदिन भित्र कर दाखिला गर्नुपर्दछ। यस सम्बन्धमा नियमावलीको नियम ३२ मा निम्न व्यवस्था रहेको छ ।
नियम ३२ दर्ता नभएको व्यक्तिले उठाएको करको निर्धारण र असुली:
(१) दर्ता नभएको कुनै व्यक्तिले कर उठाएमा निजले ऐनको दफा १५ को उपदफा (२) बमोजिम उठाएको करको निर्धारण नियम २९ मा उल्लेख भए बमोजिमको प्रक्रिया अपनाई करको निर्धारण गरिनेछ ।
(२) उपनियम (१) बमोजिम कर निर्धारण गरिएको कर त्यस्तो कर उठाउने दर्ता नभएको व्यक्तिले कर निर्धारण आदेश जारी भएको मितिले पन्ध्र दिनभित्र बुझाउनु पर्नेछ ।
कुनै करदाताले तिर्नुपर्ने कर रकम नगद वा गुड फर पेमेन्ट चेक वा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिन्छ। करदाताले गुड फर पेमेन्ट चेकमार्फत भुक्तानी गरेमा सो चेक कार्यालयले बुझेको मिति नै दाखिला भएको मिति मानिन्छ। त्यस्तै विद्युतीय माध्यमबाट भुक्तानी भएकोमा भुक्तानी आदेश भएको मितिमा भुक्तानी भएको मानिनेछ । यस सम्बन्धमा दफा १९ को उपदफा (७) मा निम्न व्यवस्था रहेको छ ।
दफा १९(७): उपदफा (१) मा उल्लिखित म्यादभित्र करको भुक्तानी विद्युतीय माध्यम वा बैंकले प्रत्याभूति दिएको चेक (गुड फर पेमेन्ट चेक) बाट समेत गर्न सकिनेछ । यसरी विद्युतीय माध्यमबाट भुक्तानी भएकोमा भुक्तानी आदेश भएको मितिमा र बैंकले प्रत्याभूति दिएको चेक (गुड फर पेमेन्ट चेक) मार्फत भुक्तानी भएकोमा कार्यालयले बुझेको मितिमा भुक्तानी भएको मानिनेछ ।
कुनै करदाताले भुक्तानी गर्नुपर्ने कर मध्ये दश लाख रुपैया भन्दा बढीको कर भुक्तानी गर्दा चेक, ड्राफ्ट वा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्दछ । यस सम्बन्धमा ऐनको दफा १९ को उपदफा (७) मा निम्न व्यवस्था रहेको छ ।
दफा १९ (७क) : उपदफा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश लाख रुपैयाभन्दा बढीको कर भुक्तानी गर्दा चेक, ड्राफ्ट वा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्नेछ ।
१२.२ तोकिएको म्यादभित्र कर दाखिला नगरेमा थप दस्तुर र व्याज लाग्ने
म्यादभित्र बुझाउनु पर्ने कर रकम नबुझाएमा वा कम बुझाएमा बुझाउन बाँकी रहेको कर रकममा ऐनको दफा १९ को उपदफा (२) अनुसार वार्षिक १० प्रतिशतका दरले थप दस्तुर र दफा २६ अनुसार वार्षिक १५ प्रतिशतका दरले व्याज गणना गरी असूल गर्नुपर्दछ । ऐनले तोकेको म्यादभित्र बुझाउनु पर्ने कुनै रकम म्यादभित्र दाखिला नगरेमा त्यस्तो म्याद नाघेको मितिदेखि बुझाउन बाँकी रकममा थप दस्तुर र व्याज लाग्दछ। थप दस्तुर र व्याजको गणना गर्दा म्याद नाघेको मितिदेखि बुझाउन बाँकी रकममा थप दस्तुरको हकमा वार्षिक १० प्रतिशतका दरले दैनिक र व्याजको हकमा वार्षिक १५ प्रतिशतका दरले मासिक रुपमा गणना गरी असुल गर्नुपर्दछ । थप दस्तुरका सम्बन्धमा ऐनको दफा १९ को उपदफा (२) मा निम्न व्यवस्था रहेको छ ।
दफा १९ को उपदफा (२): करदाताले उपदफा (१) मा उल्लिखित म्यादभित्र बुझाउनु पर्ने कर नबुझाएमा बाँकी रहेको कर रकममा बार्षिक दश प्रतिशतका दरले थप दस्तुर लाग्नेछ।
व्याजका सम्बन्धमा ऐनको दफा २६ मा निम्न व्यवस्था रहेको छः
दफा २६ ब्याजः
(१) यस ऐन बमोजिम बुझाउनु पर्ने कुनै रकम म्यादभित्र दाखिला नगरेमा त्यस्तो म्याद नाघेको मितिदेखि बुझाउन बाँकी रकममा ब्याज लाग्नेछ । त्यस्तो ब्याज दफा ३१क. बमोजिम प्रशासकीय पुनरावलोकन र दफा ३२ बमोजिम पुनरावेदनको लागि निवेदन दिएको अवस्थामा पनि गणना गरिनेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि ब्याजको दर बार्षिक पन्ध्र प्रतिशत हुनेछ ।
ऐन बमोजिम लाग्ने थप दस्तुर, व्याज र जरिवाना रकमलाई समेत ऐनको दफा २७ ले कर सरह हुने भनी उल्लेख गरेकोले कर बक्यौतामा बुझाउन बाँकी मूल्य अभिवृद्धि कर लगायत दफा १९ अनुसार लाग्ने थप दस्तुर, दफा २६ अनुसार लाग्ने व्याज र दफा २९ अनुसार निर्धारण गरिएको जरिवाना रकम समेत समावेश हुन्छन् । सो सम्बन्धी ऐनका व्यवस्थाहरु देहाय अनुसार रहेका छन् ।
दफा १९ को उपदफा:
(२) करदाताले उपदफा (१) मा उल्लिखित म्यादभित्र बुझाउनु पर्ने कर नबुझाएमा बाँकी रहेको कर रकममा वार्षिक दश प्रतिशतका दरले थप दस्तुर लाग्नेछ ।
(५) उपदफा (२) बमोजिमको थप दस्तुरहरु र दफा २६ बमोजिमको व्याज हिसाब गर्दा बुझाउनु पर्ने कर रकमको दायित्व जुन महिनाको कारोबारबाट सिर्जना भएको हो सोही कर अवधीको कर बुझाउनु पर्ने म्याद गुज्रेको मितिदेखि नै गणना गरिनेछ ।
(८) ब्याज, थप दस्तुर र जरिवाना माथि ब्याज असुल गरिने छैन ।
१२.३ कर असूल गर्ने प्रक्रिया
ऐन बमोजिम तोकिएको समयमा कुनै करदाताले कर नबुझाएमा सो कर असूल गर्ने सम्बन्धमा ऐनको दफा २१ मा निश्चित प्रक्रिया तोकिएको छ । महानिर्देशकको पूर्व स्वीकृति लिएर उक्त प्रक्रिया अनुसार कर असूल गर्नुपर्ने व्यवस्था रहेको छ । यी प्रक्रियाहरु अवलम्बन गर्नु पूर्व करदातालाई रकम दाखिला गर्न सूचना जारी गर्नुपर्दछ। सूचना जारी गर्दा समेत कर तिर्न अटेर गरी कर नतिरेमा देहायका कुनै वा सबै तरिका अपनाई कर असूल गर्न सकिने व्यवस्था रहेको छ । यी प्रक्रियाहरु कर बक्यौता राख्ने करदाताबाट कर दाखिला गराउने माध्यम हुन्। कर प्रशासनले करदाता स्वयंलाई कर दाखिला गराउन सूचित गरी उत्प्रेरित गराउनु पर्दछ । सूचित गराउँदा वा अनुरोध गर्दा पनि कुनै करदाताले बक्यौता रकम तिर्न बुझाउन अटेर गरी वा आलटाल गरी कर प्रशासनलाई सहयोग नगरेको खण्डमा देहायका कुनै वा सबै प्रक्रिया अपनाई कर असूल गर्नुपर्दछ । यस सम्बन्धमा ऐनको दफा २१ को उपदफा (१) मा निम्न व्यवस्था रहेको छ ।
दफा २१ करको असुली:
(१) यस ऐन बमोजिमको म्यादभित्र बुझाउर्ने पर्ने कर कुनै करदाताले नबुझाएमा सम्बन्धित कर अधिकृतले देहायका कुनै वा सबै तरिका अपनाई कर असुल गर्न सक्नेछः
(क) करदातालाई फिर्ता गर्नुपर्ने रकम भए त्यसमा कट्टा गरेर ।
(ख) करदाताको चल तथा अचल सम्पत्ति कब्जा गरेर ।
(ग) करदाताको सम्पूर्ण वा केही सम्पत्ति एकै पटक वा पटक पटक गरी सिलबन्दी बोलपत्र वा सार्वजनिक बढाबढद्वारा लिलाम बिक्री गरेर ।
(घ) बैंक तथा अन्य वित्तीय संस्थामा रहेको करदाताको रकमबाट कट्टा गर्न लगाएर ।
(ङ) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था वा स्थानीय तहहरूबाट करदाताले पाउने रकमबाट कट्टा गर्न लगाएर ।
(च) कुनै तेस्रो व्यक्तिले करदातालाई तिर्नुपर्ने रकम दावी गरेर ।
(छ) करदाताको आयात निर्यात र अन्य कारोबार रोक्का गरेर ।
(ज) नेपाल बाहिर जान रोक लगाएर ।
(झ) म्यादभित्र बुझाउनु पर्ने कर नबुझाउने करदाताको नाम प्रकाशन वा प्रसारण वा विभागको वेभसाइटमा सार्वजनिक गरेर ।
(२) उपदफा (१) बमोजिम कर अधिकृतले गरेको कारवाहीको जानकारी चौबिस घण्टाभित्र महानिर्देशकलाई दिनु पर्नेछ ।
(३) कर असुली वा फिर्ता गर्दा एक रुपैयाँभन्दा घटी भएको रकमलाई हिसाबमा गणना गरिने छैन ।
१२.३.१ करदातालाई फिर्ता गर्नुपर्ने रकम भए त्यसमा कट्टा गरेर
यदि कुनै करदाताले कायम भएको बक्यौता रकम समयमा दाखिला नगरेको तर उक्त करदातालाई कुनै रकम फिर्ता गर्नुपर्ने रहेको छ भने त्यस्तो बक्यौता कर रकम करदातालाई फिर्ता गर्नुपर्ने रकमबाट कट्टा गरेर असूल गर्न सकिन्छ। यसरी करदातालाई फिर्ता गर्नुपर्ने रकमबाट कट्टा गरी बक्यौता कर रकम असूल गरिएको जानकारी सम्बन्धित करदातालाई दिनुपर्दछ ।
१२.३.२ करदाताको चल तथा अचल सम्पत्ति कब्जा गरेर
करदाताले तिर्नुपर्ने कर दाखिला गर्नको लागि सूचना दिँदा समेत अटेर गरी बक्यौता कर नतिरेमा करदाताको नाममा रहेका चल तथा अचल सम्पत्ति रोक्का गरेर बक्यौता रकम असूल गर्न सक्ने व्यवस्था ऐनमा रहेको छ।चल सम्पत्ति अन्तर्गत नगद, बैंकको खातामा जम्मा रहेको (Bank Deposit), बिक्रीयोग्य सामान (Trading Goods), शेयर आदि पर्दछन् भने अचल सम्पत्ति अन्तर्गत करदाताको नाममा रहेको जग्गा वा घरजग्गा आदि पर्दछन्। बक्यौता कर असूली प्रयोजनका लागि करदाताको चल तथा अचल सम्पत्ति रोक्का राख्नुपूर्व सम्बन्धित करदातालाई बक्यौता रकम दाखिला गर्नको लागि सूचना दिनुपर्दछ । सूचना दिईसके पछि करदाताको चल वा अचल सम्पत्ति कर दाखिला नगरेसम्म बिक्री वितरण वा हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित कार्यालय वा निकायमा लेखी पठाउनु पर्दछ । यदि करदाताको कुनै सम्पत्ति कुनै व्यक्ति विशेषको संरक्षण वा नियन्त्रणमा छ भन्ने कर अधिकृतले थाहा पाएमा त्यस्तो सम्पत्ति रोक्का गर्न सम्बन्धित व्यक्तिलाई समेत कर अधिकृतले आदेश दिनसक्ने व्यवस्था छ । सम्पत्ति रोक्का राख्ने सम्बन्धमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ५२ ले निम्न व्यवस्था गरेको छ।
नियम ५२ सम्पत्ति रोक्का सम्बन्धी व्यवस्थाः
(१) ऐन र यस नियमावली बमोजिम बुझाउनु पर्ने कर, दस्तूर र ब्याज करदाताले नियम ३० बमोजिमको म्यादभित्र नबुझाएमा कर अधिकृतले ऐनको दफा २१ बमोजिम बक्यौता कर, दस्तुर, जरिवाना वा ब्याज असूल गर्नको लागि सम्पत्ति रोक्का राख्न सक्नेछ ।
(२) उपनियम (१) को प्रयोजनको निमित्त करदाताको सम्पत्ति रोक्का गर्दा देहाय बमोजिम गर्नुपर्नेछ ।
(क) सूचना दिईसकेपछि चल वा अचल सम्पत्ति कर दाखिल नगरेसम्म बिक्री वितरण वा हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित कार्यालयमा रोक्का गर्न लेखी पठाउने ।
(ख) करदाताको कुनै सम्पत्ति कुनै व्यक्ति विशेषको संरक्षणमा वा साथमा छ भन्ने कर अधिकृतले थाहा पाएमा त्यस्तो सम्पत्ति रोक्का गर्न सम्बन्धित व्यक्तिलाई कर अधिकृतले यस नियमको अधीनमा रही आदेश दिने ।
यसरी समयमा कर दाखिला नगर्ने करदाताको नियम ५२ मा उल्लेखित प्रक्रिया पुरा गरी सम्पत्ति रोक्का राख्न सकिने छ ।
१२.३.३ करदाताको सम्पूर्ण वा केही सम्पत्ति एकै पटक वा पटक पटक गरी सिलबन्दी बोलपत्र वा सार्वजनिक बढाबढद्वारा लिलाम बिक्री गरेर
उपरोक्त अनुसार सम्पत्ति रोक्का गरेको अवस्थामा समेत कुनै करदाताले बक्यौता कर रकम तिर्न अटेर गरेमा रोक्का गरेको निजको सम्पत्तिमध्ये केही वा सबै एकैपटक वा पटक पटक गरी लिलाम बिक्री गरेर बक्यौता रकम असूल गर्न सकिन्छ । यस्तो लिलाम बिक्री सिलबन्दी बोलपत्र वा सार्वजनिक बढाबढ गरी गर्न सकिन्छ।रोक्का सम्पत्तिको प्रकृति, बक्यौता रकमको राशी, करदाताको सहयोग र अन्य अवस्थाका आधारमा कुन प्रक्रिया पुरा गरेर बक्यौता कर रकम सहज रुपमा असूल हुन सक्दछ सो प्रक्रिया अवलम्बन गर्नुपर्दछ। करदाताको सम्पत्ति रोक्का गर्दा समेत उपरोक्तानुसार नियम ५२ मा उल्लेखित प्रक्रिया पुरा गर्नुपर्दछ।नियम ५२ अनुसार सम्पत्ति रोक्का गर्दा समेत बक्यौता असूल हुन नसकेको खण्डमा मात्र नियम ५३ अनुसार लिलाम विक्री सम्बन्धी कारवाही अगाडि बढाउनु पर्दछ । लिलाम विक्री सम्बन्धमा नियम ५३ मा उल्लेखित प्रक्रिया पुरा गर्नुपर्दछ । लिलाम बिक्री सम्बन्धमा नियम ५३ मा निम्न व्यवस्था गरिएको छ ।
नियम ५३ लिलाम बिक्री सम्बन्धी व्यवस्था:
(१) नियम ५२ बमोजिमको कारवाही गर्दा पनि कर असुल नभएमा कर अधिकृतले देहाय बमोजिमको प्रक्रिया पुयाई करदाताको सम्पत्ति पूर्ण वा आंशिक रूपमा लिलाम बिक्री गरी कर असुल गर्न सक्नेछ:- (क) लिलाम बिक्री गर्नुपर्ने सम्पत्ति यकीन गरी सो सम्पत्ति र लिलाम बिक्री गर्नुपर्ने कारण तथा लिलाम बिक्री हुने स्थान र मिति समेत उल्लेख भएको सूचना लिलाम हुने मितिभन्दा कम्तिमा पन्ध्र दिन अगावै सार्वजनिक रूपमा प्रकाशित गर्ने । (ख) लिलाम गर्दा लिलाम गर्ने वस्तु रहेको स्थानको गाउँपालिका वा महा/ उपमहा/ नगरपालिकाको एक जना प्रतिनिधि वा नजीकको सरकारी कार्यालयको एक जना प्रतिनिधि र सम्भव भएसम्म करदाता वा निजको प्रतिनिधि समेतलाई साक्षी राख्ने ।
(२) उपनियम (१) बमोजिम लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट सर्वप्रथम लिलाम सम्बन्धी सम्पूर्ण खर्च असुल गरी बाँकी रहन आएको रकमबाट करदाताले तिर्नु पर्ने कर, दस्तुर, जरिवाना र ब्याजको रकम असुल उपर गरी बढी भएजति रकम करदातालाई फिर्ता गर्नुपर्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताको सम्पत्ति लिलाम हुनु अगावै करदाताले लिलाम सम्बन्धी सम्पूर्ण खर्च, तिर्न बुझाउन पर्ने कर, दस्तुर, जरिवाना र ब्याज समेतको सम्पूर्ण रकम दाखिल गर्न ल्याएमा असुल उपर गरी लिलाम बिक्री बन्द गर्नुपर्नेछ ।
(४) नियम ५२ मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताले तिर्नुपर्ने कर असुल गर्न बाँकी छँदै कुनै बैंक वा वित्तीय संस्थामा निजको नाममा रकम जम्मा भएको जानकारी कर अधिकृतलाई प्राप्त भई त्यस्तो रकम असुल भएमा सो बाँकी कारवाही बन्द गर्नुपर्नेछ ।
(५) आंशिक असुली हुने भएमा क्रमशः लिलाम सम्बन्धी खर्च, ब्याज, दस्तुर, जरिवाना र करको रकम असुल गरिनेछ ।
लिलाम बिक्री गर्नुपर्ने सम्पत्तिको मूल्यांकन गरी लिलाम हुने मितिभन्दा कम्तिमा १५ दिन अगाडि लिलाम बिक्री गर्नुपर्ने कारण तथा लिलाम विक्री हुने स्थान र मिति खोली सार्वजनिक रुपमा सूचना प्रकाशित गर्नुपर्दछ । सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु अघि करदातालाई बक्यौता दाखिला गर्न बक्यौता रकम खुलाई लिखित रुपमा सूचित गर्नुपर्दछ ।
सार्वजनिक सूचना गरिसकेपछि सो अनुसार लिलाम बिक्री गर्दा वस्तु रहेको स्थानको गाउँपालिका वा महा/उप-महा/नगरपालिकाको एक जना प्रतिनिधि वा नजिकको सरकारी कार्यालयको एक जना प्रतिनिधि र सम्भव भएसम्म करदाता वा निजको प्रतिनिधि समेतलाई साक्षी रोहवर राख्नु पर्नेछ । स्थानीय तहका प्रतिनिधि उपलब्ध हुन नसकेमा वा असमर्थता जनाएमा नजिकको अन्य सरकारी कार्यालयको प्रतिनिधिको रोहवरमा लिलाम प्रक्रिया अगाडि बढाउन सकिनेछ ।
लिलाम बिक्री गर्ने प्रक्रियामा खर्च भएको सम्पूर्ण रकम समेत करदाताबाट असूल गर्नुपर्ने भएकोले लिलाम बिक्रीबाट प्राप्त रकममध्ये सर्वप्रथम लिलाम बिक्री प्रक्रियामा खर्च भएको रकम कट्टा गरी बाँकि रकमबाट कर बक्यौता असूल गर्नुपर्दछ । लिलाम बढाबढबाट प्राप्त रकमबाट उपरोक्तानुसार लिलाम प्रक्रियामा भएको खर्च र कर बक्यौता असूल भए पश्चात बाँकी रकम सम्बन्धित करदातालाई फिर्ता भुक्तानी गरी दिनुपर्दछ ।
तर लिलाम बिक्रीको प्रक्रिया प्रारम्भ गर्नु पूर्व करदाताले स्वयंले लिलाम बिक्री प्रक्रियामा लागेको सम्पूर्ण खर्च लगायत बक्यौता सबै रकम बुझाउन मञ्जुर भै रकम दाखिला गर्न ल्याएमा करदाताको माग अनुसार लिलाम बिक्री प्रक्रिया बन्द गरी निजको सम्पत्ति करदाता स्वयंलाई फिर्ता दिनुपर्दछ ।
सम्पत्ति रोक्का रहेको सम्बन्धमा कुनै अदालतमा निवेदन वा पुनरावेदन परी रोक्का रहने अवधि लामो हुन गई रोक्का रहेको सम्पत्ति सड्ने, बिग्रने वा नष्ट हुने देखिएमा कर अधिकृतले त्यस्तो माल वा वस्तु तुरुन्त लिलाम बिक्री गरी आएको रकमलाई आम्दानी बाँध्नु पर्नेछ र रोक्का रहेको रकम पछि अदालतको निर्णयबाट करदाताले फिर्ता पाउने ठहरिएमा लिलाम बिक्रीबाट प्राप्त भएको रकममात्र निजलाई फिर्ता दिनुपर्दछ । करदाताले निजको माल वा वस्तु नै पाउँ भनी पछि दाबी गर्न पाउँदैन । सो सम्बन्धमा नियम ५४ मा निम्न व्यवस्था गरिएको छ ।
नियम ५४ तुरुन्त लिलाम गर्नेः नियम ५२ बमोजिम सम्पत्ति रोक्का सम्बन्धमा कुनै अदालतमा निवेदन वा पुनरावेदन परी रोक्का अवधि लामो हुन गई रोक्का रहेको सम्पत्ति सड्ने, बिग्रने वा नष्ट हुने देखिएमा कर अधिकृतले त्यस्तो माल वा वस्तु तुरुन्त लिलाम बिक्री गरी आएको रकमको आम्दानी बाँध्नु पर्नेछ र रोक्का रहेको रकम पछि अदालतको निर्णयबाट करदाताले फिर्ता पाउने ठहरिएमा लिलाम बिक्रीबाट प्राप्त भएका रकम मात्र निजलाई फिर्ता दिइनेछ । करदाताले माल वा वस्तु नै पाउँ भनी दाबी गर्न सक्ने छैन ।
१२.३.४ बैंक तथा अन्य वित्तीय संस्थामा रहेको करदाताको रकमबाट कट्टा गर्न लगाएर
बक्यौता रकम राख्ने करदाताको बैंक तथा अन्य वित्तीय संस्थामा रकम जम्मा रहेको सूचना पाइएमा सो रकमबाट समेत बक्यौता कर असूल गर्न सकिन्छ । यस सम्बन्धमा कर बक्यौता राख्ने करदाताको रकम भएको बैंक तथा वित्तीय संस्थालाई बक्यौता रकम दाखिला गर्नका लागि सूचना जारी गरी माग गर्न सकिनेछ । यस सम्बन्धमा निम्न उदाहरणले प्रष्ट पार्नेछः
उदाहरण १२.१
रामानन्द शर्मा आन्तरिक राजस्व कार्यालय, नयाँ बानेश्वरमा दर्ता रहेछ । निजले सो कार्यालयमा रु.५ लाख मूल्य अभिवृद्धि कर बुझाउन बाँकि रहेछ । बैंकसँग पत्राचार गर्दा एभरेष्ट बैंक लि., बानेश्वरमा | निजको नाममा मुद्दती खातामा रु.१२ लाख रहेको देखिन आयो । पत्राचार गर्दा पनि निजले बक्यौता रकम तिर्न आनाकानी गरेको पाइएकोले निजको नाममा रहेको एभरेष्ट बैंकको मुद्दती खाताबाट रु.५ लाख कट्टा गरी पठाइ दिन एभरेष्ट बैंक लि. लाई पत्र लेखी सो रकम माग गरी बक्यौता रकम असूली गर्न सकिनेछ ।
१२.३.५ नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था वा स्थानीय निकायहरूबाट
करदाताले पाउने रकमबाट कट्टा गर्न लगाएरः कर बक्यौता राख्ने करदाताको नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था वा स्थानीय निकायहरूमा पाउने रकम रहेछ भने निज करदाताले पाउने रकमबाट त्यस्तो बक्यौता रकम कट्टा गर्न लगाएर कार्यालयमा दाखिला गर्न आदेश दिई बक्यौता रकम असूल गर्न सकिनेछ ।
१२.३.६ कुनै तेस्रो व्यक्तिले करदातालाई तिर्नुपर्ने रकम दावी गरेर
कारोबारको सिलसिलामा एउटै करदाताको कुनै व्यक्ति वा निकायबाट लिनुपर्ने रकम हुन सक्छ भने कतै दिनुपर्ने रकम हुन सक्छ। वक्यौता राख्ने करदातालाई कुनै अन्य व्यक्ति वा निकायले निजलाई भुक्तानी दिन बाँकी रकम देखाएको छ भने ती व्यक्ति वा निकायबाट उक्त रकम माग गरी बक्यौता कर रकम असूल गर्न सकिनेछ । यस सम्बन्धमा निम्न उदाहरणले प्रष्ट पार्नेछः
उदाहरण १२.२
सौर्य गार्मेन्ट्सले आन्तरिक राजस्व कार्यालय, ललितपुरमा मूल्य अभिवृद्धि कर वापत रु. १३ लाख तिर्न बाँकी रहेछ । निजलाई कार्यालयबाट सो रकम बुझाउन पटक पटक पत्राचार भएको रहेछ । तर करदाताले सो रकम बुझाउन आलटाल गरेको देखियो । अनुसन्धानका क्रममा निजलाई व्यवसायको सिलसिलामा हरेराम चौधरीले रु. २२ लाख तिर्न बाँकी देखिन आयो । यस अवस्थामा आन्तरिक राजस्व कार्यालय, ललितपुरले हरेराम चौधरीलाई पत्राचार गरी निजले सौर्य गार्मेन्टसलाई तिर्नुपर्ने रकम मध्ये रु.१३ लाख दाखिला गराउन लगाउनु पर्दछ ।
१२.३.७ करदाताको आयात निर्यात र अन्य कारोबार रोक्का गरेर
कर बक्यौता राख्ने करदातालाई कर बक्यौता दाखिलाका लागि सूचना गर्दा समेत कर बक्यौता दाखिला नगरेमा त्यस्ता करदाताले गर्ने आयात निर्यात र अन्य कारोबार रोक्का गर्न सकिन्छ । उपर्युक्तानुसारको कारवाहीबाट करदाताले गर्ने नियमित कारोबार रोक्का भएमा मनोवैज्ञानिक दबाब पर्न गई करदाता स्वयंले बक्यौता कर फरफारक गर्न सक्दछन् । यस सम्बन्धमा निम्न उदाहरणले प्रष्ट पार्नेछः
उदाहरण १२.३
निर्माण सामग्री आपूर्ति गर्ने श्याम इन्टरप्राइजेज आन्तरिक राजस्व कार्यालय, भरतपुरमा दर्ता रहेको | रहेछ । निजले कार्यालयलाई रु. एक करोड तिर्न बाँकी रहेछ । निजलाई रकम दाखिला गर्न पटक पटक | पत्राचार गर्दा पनि निजबाट रकम दाखिला भएको रहेनछ । निजको नियमित कारोबार भैरहेको रहेछ । कार्यालयले बुझदा निजले कारोबारको सिलसिलामा बुटवल स्थित निर्माण कम्पनिलाई रु. दस करोडको सामान आपूर्ति गर्ने सम्झौता गरेको रहेछ । निजको नियमित कारोबार रोक्का गर्दा निजले आपूर्ति गर्नको | लागि खरिद गरी राखिएको सामान आपूर्ति हुन नसक्दा थप आर्थिक दायित्व बढन जाने र सम्झौता अनुसारको कारोबार समेत हुन नसक्ने हुनाले निजलाई बक्यौता कर रकम रु. एक करोड दाखिला गर्न दबाब पर्न जान्छ । बक्यौता रकम असूल गर्न सो प्रभावकारी उपाय हुने सम्झी निजको कारोबार ७ दिनको लागि रोक्का हुने पत्राचार गरेको रहेछ। सात दिनसम्म बिक्री कारोबार बन्द हुँदा निजको | भावी कारोवारमा प्रतिकूल असर हुने आंकलन गरी निजले बक्यौता रकम एक करोड दाखिला गरेछ। सो बक्यौता रकम दाखिला गरेपछि कार्यालयले कारोबार रोक्काको फुकुवा गरेको अवस्था रहेछ ।
१२.३.८ संयुक्त उपक्रमका साझेदारहरुबाट असुल उपर गरेर
दर्ता भएको कुनै संयुक्त उपक्रमको तिर्न बाँकी कर तिर्ने दायित्व मूलतः सम्बन्धित संयुक्त उपक्रमकै रहे पनि ऐनले संयुक्त उपक्रमका साझेदारहरु आफू संलग्न भएको संयुक्त उपक्रमको कर दायित्व बहन गर्न र भुक्तान गर्न जिम्मेवार रहने व्यवस्था गरेको छ । यस सम्बन्धमा ऐनको दफा १०ख को उपदफा (४) मा निम्न व्यवस्था रहेको छः
दफा १०ख. को उपदफा (४): संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा संलग्न व्यक्ति आफू संलग्न रहेको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) को कर दायित्व भुक्तान गर्ने प्रयोजनका लागि संयुक्त वा छुट्टाछुट्टै रुपमा जिम्मेवार हुनेछन् ।
ऐनको उपर्युक्त व्यवस्था अनुसार दर्ता भएको कुनै संयुक्त उपक्रमले आफ्नो कर दायित्व भुक्तान नगरेमा सो संयुक्त उपक्रममा संलग्न व्यक्तिहरुबाट त्यस्तो बक्यौता रकम असुल उपर गरिनेछ । आफ्नो कार्यालयसंग सम्बन्धित संयुक्त उपक्रमका करदाताले दर्ताका बखत कार्यालयमा पेश गरेका अभिलेख अनुसार त्यसका साझेदार दर्ता रहेको आन्तरिक राजस्व कार्यालय पहिचान गरी करचुक्ता लगायतका सेवा बन्द गर्ने, त्यस्ता संयुक्त उपक्रमले संझौता गरेको सरकारी कार्यालय यकिन गरी भुक्तानी रोक्का राख्ने र नियमनकारी निकायसंग पत्राचार गरी नवीकरण रोक्का राख्ने लगायतका कर बक्यौता असूल गर्ने सम्बन्धमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ को पूर्ण कार्यान्वयन गरी बक्यौता असूलीमा क्रियाशीलता अपनाउनु पर्दछ ।
१२.३.९ आंशिक बक्यौता असुली हुँदा हिसाब मिलान गरिने क्रम
मूल्य अभिवृद्धि कर ऐनको दफा २७ ले यस ऐन बमोजिम लाग्ने दस्तुर, ब्याज र जरिवाना यस ऐन बमोजिम लाग्ने कर सरह मानिने व्यवस्था गरेको छ । यसै गरी कर वक्यौताले करदाताले पेश गरेको कर विवरण बमोजिम तिर्नु पर्ने भनी स्वयं घोषणा गरेको कर, कर अधिकृतले दफा २० बमोजिम कर निर्धारण गरी थप माग गरेको कर, दफा १९ बमोजिमको थप दस्तुर, दफा २६ बमोजिमको ब्याज र दफा २९ बमोजिमको जरिवानालाई समेटको छ ।
तिर्नु पर्ने कर कानून बमोजिमको म्यादभित्र दाखिला नगरी तिर्न बाँकी रहेको कर बक्यौता एकमुष्ट रुपमा असुली नहुन पनि सक्दछ । करदाताले तिर्नु पर्ने बक्यौता करको रकम किस्ताबन्दी वा आंशिक रुपमा दाखिला गरेको अवस्थामा उक्त दाखिला भएको रकमबाट सबभन्दा पहिले ब्याज, त्यसपछि थप दस्तुर, त्यसपछि जरिवाना र अन्त्यमा बाँकि कर रकममा कट्टी गर्नुपर्दछ ।