Skip to content

परिच्छेद १२: अवकाश बचत सम्बन्धी विशेष व्यवस्था

६३. अवकाश कोषको स्वीकृति

(१) अवकाश कोष राख्न चाहने बासिन्दा व्यक्तिले अवकाश कोष राख्ने स्वीकृतिको लागि विभाग समक्ष निवेदन दिएमा विभागले तोकिए बमोजिम स्वीकृति प्रदान गर्नेछ ।
[तर नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापना भएको नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषले अवकाश कोष राख्न चाहेमा त्यस्तो कोष, कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम स्थापना भएको कर्मचारी सञ्चय कोष र निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम स्थापना भएको निवृत्तभरण कोषले अवकाश कोष सञ्चालन गरेमा त्यस्तो कोषको लागि स्वीकृति लिनु पर्ने छैन ।] 1

(२) स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा सो कोषमा गरेको अवकाश योगदान आफ्नो करयोग्य [आयको गणना गर्दा घटाई पाउन दाबी गर्न सक्नेछ] 2

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा कुनै व्यक्तिबाट घटाई पाउन दाबी गरिएको रकम तोकिएको अवकाश योगदानको सीमाभन्दा बढी हुने छैन ।

६४. अवकाश कोषमा कर

(१) अवकाश कोषको आय निर्धारण गर्ने प्रयोजनको लागि यस ऐन बमोजिम समावेश हुने वा कट्टी हुने रकमहरू कोषको आय गणना गर्दा समावेश वा कट्टी गर्नु पर्नेछ ।
तर,-
(क) सो कोषमा प्राप्त योगदान सो कोषको आम्दानी हुने छैन र त्यस्ता योगदानलाई गणनामा समावेश गरिने छैन ।
(ख) अवकाश भुक्तानीहरू सो कोषको खर्च हुने छैन र त्यस्ता भुक्तानीलाई आयको गणना गर्दा कट्टी गर्न पाइने छैन ।
(ग) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित सो कोषको दायित्व हुने छैन ।

(२) स्वीकृत अवकाश कोषको आयमा कर लाग्ने छैन ।

(३) कुनै स्वीकृत अवकाश कोष त्यस्तो कोषको रूपमा नरहेमा त्यस्तो कोषले खण्ड (क) बमोजिमको रकमबाट खण्ड (ख) बमोजिमको रकम घटाई हुने रकममा [अनुसूची-१ को दफा २ को उपदफा (१) मा उल्लिखित] 3 करको दर अनुसार हुन आउने रकम कर बुझाउनु पर्नेछः-
(क) सो कोषबाट स्वीकृत अवकाश कोषको रूपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधि बीच सो कोषमा जम्मा भएको सबै अवकाश योगदानहरू र उपदफा (२) लागू नभएको भए करयोग्य आय मानिने सबै आय रकम,
(ख) सो कोषबाट स्वीकृत अवकाश कोषको रूपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधि बीच सो कोषले भुक्तानी दिएको सबै अवकाश भुक्तानी रकम ।

६५. अवकाश भुक्तानीहरू

(१) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृत अवकाश कोषमा रहेको [योगदानमा आधारित] 4 हितबाट भएको [वा नेपाल सरकारबाट भएको अवकाश भक्तांनी] 5 आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछ:-
(क) सो कोषमा रहेको हित बापत सो कोषले गरेका अवकाश भुक्तानीहरूलाई आयमा समावेश गर्नु पर्नेछ, र
(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यदि त्यस्तो भुक्तानी एकमुष्ट रूपमा गरिएको छ भने यसरी गरिएको भुक्तानी रकमबाट सो भुक्तानी रकमको पचास प्रतिशत वा पाँच लाख रूपैयाँमध्ये जुन बढी हुन्छ सो रकम घटाई हुने भुक्तानीलाई सो प्राकृतिक व्यक्तिको गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ मानिनेछ ।
[स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "योगदानमा आधारित हित" भन्नाले दफा ६३ को उपदफा (३) बमोजिम तोकिएको सीमाभित्र रही गरिएको अवकाश योगदानसँग सम्बन्धित हितलाई सम्झनु पर्दछ ।] 6

(२) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृति नलिएको अवकाश कोषमा रहेको हितबाट भएको लाभ गणना गर्ने प्रयोजनका लागि देहाय बमोजिम हुनेछ:- (क) बासिन्दा व्यक्तिबाट रकम भुक्तानी गरिएकोमा अन्तिम रूपमा हुने कर कट्टीको रूपमा सो हिताधिकारी उपर सो रकममा कर लाग्नेछ, र (ख) गैरबासिन्दा व्यक्तिले रकम भुक्तानी गरेकोमा सो हिताधिकारीको आय गणना गर्दा सो रकम समावेश गर्नु पर्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ" भन्नाले स्वीकृति नलिएको अवकाश कोषलाई सो कोषमा रहेको हित बापत हिताधिकारी प्राकृतिक व्यक्तिबाट बुझाइएको अवकाश योगदानहरूको रकमभन्दा सो कोषबाट सो व्यक्तिको हित बापत सो व्यक्तिलाई गरिएको अवकाश भुक्तानी बढी भए यस्तो बढी भए जतिको रकम सम्झनु पर्छ ।
[तर, हिताधिकारीको योगदान नहुने कुनै कोष (नन् कन्ट्रीबुटी फण्ड) बाट भएको भुक्तानीलाई स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ मानिने छैन ।] 7

६६. ..........

[..........] 8


  1. आर्थिक अध्यादेश, २०५९ द्वारा थप भई आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम गरेकोमा आर्थिक ऐन, २०७६ द्वारा संशोधन । आर्थिक अध्यादेश, २०५९ द्वारा थप भएको व्यवस्थाः “तर नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापना भएको नागरिक लगानी कोषले अवकाश कोष राख्न चाहेमा त्यस्तो कोषले र कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम स्थापना भएको कर्मचारी सञ्चय कोषले अवकाश कोष सञ्चालन गरेमा त्यस्तो कोषको लागि स्वीकृति लिनु पर्ने छैन ।” 

  2. आर्थिक अध्यादेश, २०६० द्वारा संशोधित व्यवस्थालाई त्यसपछिका आर्थिक अध्यादेश तथा आर्थिक ऐनहरुले निरन्तरता दिएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । मूल ऐनमाः “आयबाट घटाई पाउन दाबी गर्न सक्नेछ” भन्ने शब्दहरु रहेका । 

  3. आर्थिक अध्यादेश, २०६० द्वारा संशोधित व्यवस्थालाई त्यसपछिका आर्थिक अध्यादेश तथा आर्थिक ऐनहरुले निरन्तरता दिएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । मूल ऐनमा “कम्पनीलाई लाग्ने” भन्ने शब्दहरु रहेका । 

  4. आर्थिक ऐन, २०७५ द्वारा थप । 

  5. आर्थिक अध्यादेश, २०५९ द्वारा थप (“वा श्री ५ को सरकारबाट भएको अवकाश भुक्तानी” भन्ने शब्दहरु थप भएकोमा आर्थिक ऐन, २०६३ द्वारा “श्री ५ को सरकार” भन्ने शब्दहरुको सट्टा “नेपाल सरकार” भन्ने शब्दहरु कायम) भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा थप कायम । 

  6. आर्थिक ऐन, २०७९ द्वारा थप । 

  7. आर्थिक ऐन, २०६४ द्वारा थप भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा थप कायम । 

  8. आर्थिक अध्यादेश, २०६० द्वारा खारेज गरेकोमा आर्थिक ऐन, २०७५ द्वारा खारेज कायम । मूल ऐनको व्यवस्थाः
    “६६. अवकाश कोषमा रहेको हित बापतका खर्च र आम्दानीहरूः
    (१) कुनै अवकाश कोषमा कुनै प्राकृतिक व्यक्तिको हितको रूपमा रहेको कुनै सम्पत्ति बापत गरिएको खर्चमा देहायका रकम समावेश गर्नु पर्नेछः-
    (क) सो प्राकृतिक व्यक्तिले हितको सन्दर्भमा गरेको सबै अवकाश योगदानहरू, र
    (ख) सो कोषबाट दफा ६४ को उपदफा (३) बमोजिम कर दाखिला गरिएकोमा सो कोष स्वीकृत अवकाश कोषको रूपमा स्वीकृत भएको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको बीचको अवधिमा उपदफा (२) बमोजिम सो सम्पत्ति बापतका आम्दानीहरूमा समावेश गरिएको रकम । तर उपरोक्त रकमहरू दफा ३८ मा उल्लिखित खर्चमा समावेस भएको हुनु हुँदैन ।
    (२) कुनै स्वीकृत अवकाश कोषमा कुनै व्यक्तिको हितको रूपमा रहेको कुनै सम्पत्ति बापतका आम्दानीहरूमा सो हितका सम्बन्धमा गरिएका अवकाश योगदानहरू बापत दफा ६३ को उपदफा (२) बमोजिम सो व्यक्तिबाट दाबी गरिएका छुटहरू समावेश गर्नु पर्नेछ।”